कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ ।

नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार विदेशमा अहिलेसम्म ८ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको संस्थाले जनाएको छ ।

विदेशमा १ सय भन्दा बढी नेपाली यस भाइरसको संक्रमणमा परेका छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । बहराइन, पोर्चुगल, स्पेन, यूएईमा बढी नेपाली प्रभावित भएका छन् ।