कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ ।

२४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६ नयाँ संक्रमित फेला परेका छन् ।

अब अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ रहेको तथ्यांक छ ।

अमेरिका पछि स्पेनमा मृतकको संख्या बढेको छ। पछिल्लो समय इटलीमा भने मृत्युदर घटेको छ । चीनले भने कोरोनाबाट मुक्त भई मूख्य प्रभावित शहर वुहान नै लकडाउनबाट खुला गरेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ४७ जनाको मृत्यु भएको छ ।

यस मुलुकमा संक्रमितको संख्या १ लाख ४८ हजार रहेको छ । इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण भएको छ ।

इटालीमा सर्वाधिक १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भई घर फर्किएको इटलीले जनाएको छ ।

फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ५९ पुगेको छ । १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

देश जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ जना पुगेको छ । यहाँ २ हजार सय ४९ जनाको ज्यान गइसकेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । नेपालमा कूल ९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।