काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ ।
यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ ।
सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको छ ।
सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ ।
यसका लागि निजीका डाक्टरले पनि सरकारी डाक्टरसरह सुविधा पाउने भएका छन् । यस्ता जनशक्ति कम्तीमा तीन महिनाका लागि खटाइने भएको छ ।
अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढी सुविधा र सम्मान आवश्यक परे राष्ट्रलाई आवश्यक परेका बेला उनीहरुको दक्षता उपयोग गर्ने तयारीमा सरकार रहेको हो ।
नेपालको राष्ट्रिय समाचार संस्था रासससँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिए ।
मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीको अभाव हुन नदिन सबै उपाय अवलम्बन गरिएको समेत बताएका छन् ।
अहिलेकै स्वास्थ्य क्षेत्रमा भएकै जनशक्तिको पनि उचित परिचालन नभएको र स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लकडाउनको सुरुका अवधिमा सीमित सङ्ख्यामा भएको परीक्षणलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिएको उनले बताएका छन् ।
अहिले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र काठमाडौं बाहिरका १० स्थानमा कोरोनाको भाइरसको परीक्षण भइरहेको छ ।