अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।

संक्रमणपछि उनीहरुलाई आइसोलेसन राखेर उपचार गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार उनीहरु सबै ८ जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

सबै निको भएका कारण अहिले अष्ट्रेलियामा कोरोना संक्रमित नेपाली नरहेको दूतावसले जनाएको छ ।

अष्ट्रेलियामा करीव १ लाख २० हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० हजार विद्यार्थी हुन्।

आंशिक काम गरेर कलेज शुल्क तिर्नुपर्ने नेपाली विद्यार्थी कोरोनाका कारण भने समस्यामा परेका छन् । अहिले अष्ट्रेलियामा स्टोर र मेडिकल बाहेकका सबै क्षेत्र बन्द भएका कारण नेपालीको रोजिरोटी गुमेको छ ।