काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ ।
शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुने समेत स्पष्ट पारे । अहिले लाखौं मानिस शहरमा कमाई खाने माध्यम बन्द भएपछि आफ्नो जन्मस्थान जान खोजिरहेका छन् । तर, लकडाउनका कारण जान सकिरहेका छैनन् ।
उनीहरुलाई न राज्यले शहरमा व्यवस्थापन गर्न सकेको छ, न घर जाने वातावरण नै बनाउन सकेको छ । प्रधानमन्त्रीले भने लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने उल्लेख गरे ।
लापरबाही स्वीकार्य नहुने भन्दै उनले संक्रमण फैलिन नदिन सबै सचेत हुन पर्ने बताए ।
भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्ह्वान समेत गरेका छन् ।
उनले सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन् ।