लक्ष्मण खनाल
यूएई
काठमाडौंको स्वयम्भू, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको यो ठाउँमा धेरैका बाल्यकालका कथा जोडिएका छन् । त्यही स्वयम्भूको मध्यमवर्गीय परिवारमा जन्मिएका राम मोक्तानको जीवनकथा पनि यहीँबाट शुरु हुन्छ । सामान्य पारिवारिक वातावरणमा हुर्किएका मोक्तानले बाल्यकालमा ठूलाठूला सपना देखेका थिए वा थिएनन्, त्यो अलग विषय हो । तर समयक्रममा उनले भोगेका चुनौती, गरेका निर्णय र अवसरलाई समात्दै अघि बढ्ने दृढताले उनको जीवनलाई एउटा लामो संघर्षमय यात्रामा रुपान्तरण ग¥यो ।
नेपाली सेनामा कार्यरत बाबु र गृहिणी आमाका तीन सन्तानमध्येका एक रामले आफ्नो बाल्यकाल स्वयम्भूमै बिताए । एक दिदी र एक बहिनीसँगै हुर्किएका उनले पारिवारिक स्रोत सीमित भए पनि शिक्षाको अवसर पाए । आमाबाबुले आफूले सकेको समय, श्रम र आर्थिक स्रोत व्यवस्थापन गरेर छोराछोरीको शिक्षामा लगानी गरे ।
२०४७ को एसएलसीपछि उच्च शिक्षाको यात्रालाई निरन्तरता दिने क्रममा उनी काठमाडौंको पिपल्स कलेजमा आईकम अध्ययनका लागि भर्ना भए । आईकम उत्तीर्ण गरेपछि संयुक्त पाटन क्याम्पसमा बीकम अध्ययन शुरु गरे । अध्ययनलाई निरन्तरता दिँदै उनले विभिन्न ठाउँमा अध्यापनको कामसमेत गर्न थाले । त्यो समय सम्झिँदा मोक्तानको स्मृतिमा आज पनि एउटा अंक ताजा छ– दुई हजार रुपैयाँ । ‘त्यो बेला दुई हजार रुपैयाँ तलब थियो । झण्डै तीन वर्ष मैले पढाएँ’, उनी विगत सम्झन्छन् । आजको हिसाबले सामान्य लाग्न सक्ने त्यो रकम त्यतिबेला उनको जीवनमा महत्वपूर्ण आम्दानी थियो । अध्ययनसँगै काम अनि आत्मनिर्भर बन्ने अभ्यास पनि ।

चिसो स्वयम्भूबाट तातो दुबईको सडकसम्म
८ अप्रिल १९९८ मा राम मोक्तान दुबई पुगे । स्वयम्भूको चिसो वातावरणमा हुर्किएका रामका लागि दुबईको तातो मौसम र नयाँ परिवेश आफैंमा चुनौतीपूर्ण थियो । नेपालमा बसेर कल्पना गरेको विदेश र वास्तविक विदेशबीचको अन्तर उनले पुगेपछि महसुस गरे ।
दुबई पुगेपछि मार्केटिङसम्बन्धी काम गर्ने भनिएको थियो । तर कामको वास्तविक स्वरुपमा पुग्दा महिला र पुरुष कामदारका जिम्मेवारी फरक रहेछन् । महिलाले इन्डोर र पुरुषले आउटडोर काम गर्नुपर्ने व्यवस्था थियो । रामले आउटडोर काम गर्न थाले ।
काठमाडौंको तुलनात्मक रुपमा चिसो वातावरणमा जन्मे–हुर्केका उनलाई दुबईको गर्मीमा बाहिर काम गर्नु सहज थिएन । तर जीवनमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई कठिनाइसँग सम्झौता गर्न सिकायो । उनको शुरुआती तलब ९०० दिराम थियो । त्यतिबेला एक दिरामको मूल्य करिब १४ नेपाली रुपैयाँ पर्ने उनी सम्झन्छन् । आजको तुलनामा रकम सानो देखिए पनि त्यस समयको यूएईको जीवनयापनको लागत पनि तुलनात्मक रुपमा कम थियो ।
रामका अनुसार त्यतिबेला करिब ४०० दिराममा खान र बस्नको आधारभूत खर्च व्यवस्थापन गर्न सकिन्थ्यो । यूएईमा अहिले जस्तो भीडभाड र नेपाली श्रमिकको बाक्लो उपस्थिति पनि थिएन । त्यो समयको यूएई आजको जस्तो थिएन । विदेशी कामदारको विस्तार हुँदै थियो, तर नेपालीको संख्या निकै कम थियो ।
मेहनतले बदलिएको जिम्मेवारी
रामको विदेश यात्राको अर्को महत्वपूर्ण पक्ष उनको कामप्रतिको लगनशीलता थियो । उनले शुरुआत आउटडोर कामबाट गरे पनि केही समयमै आफ्नो क्षमता देखाउने अवसर पाए । कम्पनीमा काम थालेको करिब १५ महिनामै उनी स्टोरमा क्यासियरका रुपमा काम गर्न थाले । आउटडोर कामको तुलनामा स्टोरभित्रको जिम्मेवारी उनका लागि सहज बन्दै गयो । तर उनको प्रगति त्यतिमै रोकिएन ।
क्यासियरको जिम्मेवारी सम्हालेको करिब ६ महिनामै उनी सिफ्ट इन्चार्ज बने । काम सिक्ने, जिम्मेवारी बहन गर्ने र नयाँ वातावरणमा आफूलाई ढाल्ने उनको क्षमताले उनलाई क्रमशः माथिल्लो जिम्मेवारीतर्फ लैजान थाल्यो । विदेशमा पुगेपछि केवल तलबका लागि काम गर्नेभन्दा पनि काम सिक्दै अघि बढ्ने उनको सोंचले उनलाई फरक बाटोमा पु¥यायो । त्यसको करिब दुई वर्षपछि उनी सोही कम्पनीमा सुपरभाइजर बने । सन् २००० मा सुपरभाइजरको जिम्मेवारी पाएका उनले त्यसपछि पनि एउटै पदमा सीमित भएर बस्नुपरेन । जिम्मेवारी र अनुभव बढ्दै जाँदा उनको कामको दायरा पनि विस्तार हुँदै गयो ।
कम्पनीका विभिन्न मल्टिपल स्टोरमा काम गर्ने अवसर उनले पाए । फरक–फरक स्टोर, फरक वातावरण र फरक जिम्मेवारीले उनको व्यावसायिक अनुभवलाई थप फराकिलो बनाउँदै लग्यो । यो क्रम सन् २००५ सम्म निरन्तर चल्यो ।

सफलतासँगै उठेको अर्को प्रश्न
सन् २००० देखि सुपरभाइजरको जिम्मेवारी सम्हाल्दै आएका रामका लागि सन् २००५ सम्म आइपुग्दा कामको अनुभव निकै फराकिलो भइसकेको थियो । कम्पनी, स्टोर सञ्चालन, कर्मचारी व्यवस्थापन र ग्राहकसँगको व्यवहार लगायतका विषयमा उनले पर्याप्त अनुभव हासिल गरिसकेका थिए ।
तर मानिसको जीवनमा एउटा बिन्दु यस्तो आउँछ, जहाँ प्राप्त उपलब्धिभन्दा अगाडिको बाटो महत्वपूर्ण बन्न थाल्छ । रामको मनमा पनि त्यही प्रश्न उठ्न थाल्यो– अब यही कम्पनीमा थप के गर्ने ? सुपरभाइजरको जिम्मेवारीमा रहेर उनले आफ्नो भविष्यका सम्भावनाबारे सोंच्न थाले । आफूले सिकेको अनुभवलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न उनको मनमा गहिरिँदै गयो ।
त्यो समय यूएईमा व्यक्तिगत रुपमा अगाडि बढ्नका लागि आवश्यक केही प्रक्रियासमेत अहिलेको तुलनामा फरक थिए । उदाहरणका लागि, ड्राइभिङ लाइसेन्स लिनका लागि पनि कम्पनीबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्ने व्यवस्था थियो । त्यसैले विदेशमा अवसर खोज्नु भनेको केवल विदेश पुग्नु मात्र थिएन । त्यहाँ पुगिसकेपछि पनि विभिन्न प्रशासनिक, व्यावसायिक र सामाजिक सीमाभित्र रहेर आफ्नो बाटो बनाउनुपर्ने अवस्था थियो ।
परदेशमा नेपाली अनुहारको खोजी
आज यूएईमा नेपाली समुदायको उपस्थिति ठूलो छ । नेपाली भाषा, संस्कृति, खानपान र समुदायसँग सम्बन्धित गतिविधि सहजै भेटिन्छन् । तर राम मोक्तानले यूएईमा आफ्नो शुरुआती दिन बिताउँदा अवस्था निकै फरक थियो । त्यतिबेला यूएईमा नेपालीको संख्या अत्यन्तै कम थियो । उनको वरिपरि प्रायः फिलिपिनो र भारतीय नागरिकहरु भेटिन्थे । काम गर्ने ठाउँमा पनि उनीहरुकै बाहुल्य थियो । त्यसैले परदेशमा कतै नेपाली अनुहार देखिनु पनि उनका लागि ठूलो भावनात्मक घटना हुन्थ्यो । ‘एकजना नेपाली देख्दा पनि मनमा घरै गएजस्तो आनन्द आउँथ्यो’, राम ती दिन सम्झँदै भन्छन् ।
परदेशमा आफ्नो देशको मान्छे भेटिनु केवल संयोग थिएन । त्यो घरको सम्झना, आफ्नो भाषा र संस्कृतिको सम्झना तथा आफू एक्लो नभएको अनुभूति थियो । आज यूएईमा नेपालीको बाक्लो उपस्थिति देख्दा रामलाई आफ्नो प्रारम्भिक दिन अझ स्पष्टसँग सम्झना हुन्छ । त्यतिबेला नेपाली समुदाय सानो थियो, अवसर सीमित थिए र विदेशमा आफ्नो पहिचान बनाउने यात्रा झनै कठिन थियो ।
संघर्षबाट अवसरसम्म
सन् २००५ सम्म एउटै कम्पनीमा विभिन्न जिम्मेवारी सम्हालिसकेपछि राम मोक्तानको मनमा एउटा कुरा स्पष्ट हुँदै गयो– अनुभव मात्र पर्याप्त छैन, अब सीप र औपचारिक शिक्षालाई पनि आफ्नो यात्राको आधार बनाउनुपर्छ । यूएईमा काम गर्दै आएका नेपालीका लागि त्यतिबेला उच्च शिक्षा हासिल गर्नु सामान्य विषय थिएन ।
ड्राइभिङ लाइसेन्सका लागि कम्पनीको एनओसी आवश्यक पर्ने अवस्था थियो ।
त्यसपछि उनले आफ्नो समयलाई अझ व्यवस्थित गर्दै अध्ययनतर्फ ध्यान केन्द्रित गरे । सन् २००६ देखि २००८ सम्मको अवधि उनको जीवनमा अर्को महत्वपूर्ण अध्याय बन्यो । यही अवधिमा उनले आफ्नो व्यावसायिक जीवनलाई नयाँ दिशामा लैजाने उद्देश्यका साथ अध्ययनलाई प्राथमिकता दिए । नेपालमा रहँदादेखि नै कम्प्युटर र प्रविधिसँग सम्बन्धित विषयमा उनको रुचि थियो । त्यसैले उनले आफ्नो पुरानो रुचिलाई औपचारिक शिक्षामा परिणत गर्ने निर्णय गरे ।
कम्प्युटर नेटवर्किङ, हार्डवेयर लगायतका विषय समेटिएको सूचना प्रविधि अध्ययन रोज्दै उनले मणिपाल विश्वविद्यालयबाट बीएस्सी आईटी अध्ययन पूरा गरे । विदेशमा पूर्णकालीन काम गर्दै उच्च शिक्षा हासिल गर्नु सजिलो थिएन । कामको जिम्मेवारी र पढाइलाई सँगसँगै अघि बढाउन अनुशासन, समय व्यवस्थापन र निरन्तर मेहनत आवश्यक थियो । रामले यही चुनौतीलाई अवसरका रुपमा लिए । उनको हातमा डिग्री र सीप दुवै आएपछि उनको व्यावसायिक यात्राको स्वरुप पनि बदलिन थाल्यो ।
पेट्रोलियम कम्पनीको हेड अफिससम्म
सीप र शैक्षिक योग्यता थपिएपछि रामको करिअरले नयाँ गति लियो । सन् २००८ मा उनी बढुवा हुँदै कम्पनीको हेड अफिस पुगे । उनी अब मानव संसाधन अर्थात् एचआरसम्बन्धी काममा प्रवेश गरे । सन् २००८ देखि २००९ सम्म उनले एचआरमा काम गरे । लामो समयसम्म कर्मचारी व्यवस्थापन, संस्थागत प्रक्रिया र कार्यालय सञ्चालनसँग सम्बन्धित विषयमा काम गर्दा उनले व्यवसायको अर्को पक्ष बुझ्ने अवसर पाए ।
सन् २०१० देखि २०१४ मा उनी आईटी कोअर्डिनेटरको जिम्मेवारीमा पुगे । आईटीमा अध्ययन गरेको ज्ञान र पहिलेको कार्यअनुभवलाई जोडेर काम गर्ने अवसर उनले पाए । वर्षौंसम्म एउटै संस्थामा काम गरेर अनुभव, जिम्मेवारी र आफ्नो स्थान बनाइसकेका काम खोज्दै हिँड्दा उनले आफूलाई थप स्वअध्ययनमा केन्द्रित गरे । आफूले जानेका विषयलाई पुनः रिपिट गर्नेे, नयाँ कुरा सिक्ने र आफ्नो सीपलाई बजारको आवश्यकताअनुसार परिमार्जन गर्ने काम उनले जारी राखे । त्यो समय उनका लागि कठिन थियो, तर त्यही कठिन समयले उनलाई अर्को अवसरका लागि तयार पनि पारिरहेको थियो ।

युनिलिभरबाट नेस्लेसम्मको यात्रा
सन् २०१५ मा रामले युनिलिभरमा काम शुरु गरे । उनले फिल्ड म्यानेजरका रुपमा जिम्मेवारी सम्हाले । यसपटक उनले नयाँ कम्पनी, नयाँ संरचना र नयाँ कार्यशैलीमा आफूलाई अनुकूल बनाए । सन् २०१५ देखि २०२५ सम्म उनले युनिलिभरमा निरन्तर काम गरे । दश वर्ष लामो यो यात्राले उनलाई बजार, बिक्री, ग्राहक, व्यवस्थापन र फिल्डस्तरको व्यावसायिक संरचनाबारे थप अनुभव दियो ।
१९९८ मा यूएई प्रवेश गर्दा ९०० दिरामको तलबबाट शुरु भएको उनको यात्रा आज व्यवस्थापन तहको जिम्मेवारीसम्म आइपुगेको छ । तर रामका लागि पद र तलब मात्र सफलताको मापदण्ड होइनन् । उनले आफ्नो यात्राबाट एउटा फरक निष्कर्ष निकालेका छन्– सीप र शिक्षा जीवनमा जुनसुकै समयमा नयाँ ढोका खोल्न सक्छन् । विदेशमा लामो समय बिताए पनि परिवारप्रतिको सम्बन्ध र जिम्मेवारी उनको जीवनको महत्वपूर्ण पक्ष बनेको छ ।
केही शब्द, जुन अझै बिर्सन सकेका छैनन्
रामको जीवनमा धेरै सुखद उपलब्धि छन् । तर केही घटनाहरु यस्ता छन्, जसलाई सम्झँदा आज पनि उनको मन दुख्छ । उनका अनुसार त्यसमध्ये एउटा घटना सन् २०१५ को हो । त्यतिबेला उनी नयाँ जागिरको खोजीमा थिए । आईटी अध्ययन पूरा गरिसकेका र स्किल वर्कका लागि अन्तरवार्ता दिइरहेका थिए । त्यही क्रममा एक भारतीय नागरिकले गरेको प्रश्नले उनलाई गहिरो चोट पु¥यायो । उनले नेपाली नागरिकको क्षमतालाई लिएर आश्चर्य व्यक्त गर्दै नेपालीहरु यस क्षेत्रमा कसरी आए भन्ने आशयको प्रश्न गरेका थिए । नेपालीहरु आफ्नोमा गार्ड र घरायसी काममा मात्र देखेको उल्लेखसमेत गरेका थिए ।
रामका लागि त्यो टिप्पणी केवल एउटा व्यक्तिको प्रश्न थिएन । उनले त्यसलाई नेपालीको क्षमता र व्यावसायिक पहिचानप्रतिको पूर्वाग्रहका रुपमा अनुभव गरे । उनलाई त्यो घटना आज पनि पीडादायी लाग्छ । तर त्यही घटनाले उनलाई एउटा कुरा अझ बलियोसँग महसुस गरायो– नेपालीले आफूलाई सीप, शिक्षा र व्यावसायिक दक्षतामार्फत प्रमाणित गर्नुपर्छ ।
नेपाली समुदायमाझ राम
रामको जीवनको अर्को महत्वपूर्ण पक्ष उनको सामाजिक सक्रियता हो । विदेशमा व्यक्तिगत सफलता हासिल गरेपछि धेरै मानिस आफ्नो परिवार र करिअरमा मात्र केन्द्रित हुन्छन् । तर रामले भने आफ्नो समय, स्रोत र अनुभवको केही हिस्सा नेपाली समुदायका लागि पनि खर्चिए । विदेशमा बसेर पनि नेपाली समुदायका लागि केही गर्नुपर्छ भन्ने सोंचले उनलाई विभिन्न सामाजिक संस्थासँग जोड्यो ।
उनको प्राथमिकतामा नेपाली समुदायलाई विभाजित गर्नु होइन, एकताबद्ध गर्नु रह्यो । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने, अप्ठ्यारोमा परेकालाई उद्धार गर्ने, राहत उपलब्ध गराउने र आवश्यक पर्दा नीतिगत विषयमा समेत सहयोग गर्ने काममा उनले सक्रिय भूमिका खेले । यिनै कामले उनलाई व्यक्तिगत रुपमा आत्मसन्तुष्टि दिएको उनी बताउँछन् ।

सन् २००५ देखि सामाजिक नेतृत्व
रामको सामाजिक यात्रालाई हेर्दा सन् २००५ एउटा महत्वपूर्ण वर्ष हो । उनी तामाङ समाज यूएई स्थापनाका संस्थापकहरुमध्ये एक हुन् । संस्थाको नेतृत्वमा समेत उनले जिम्मेवारी सम्हाले । तामाङ समाजको अध्यक्षका रुपमा दुई पटक काम गरिसकेका उनले त्यसपछि नेपाली समाजमा पनि विभिन्न पदाधिकारीका रुपमा काम गरे ।
यसरी उनको सामाजिक यात्रा कुनै एउटा संस्थामा सीमित रहेन ।
समुदायका विभिन्न तह र संरचनामा काम गर्ने क्रममा उनले विदेशमा रहेका नेपालीका समस्या नजिकबाट देखे । रोजगार, कानुनी समस्या, आर्थिक कठिनाइ, स्वास्थ्य समस्या, पारिवारिक संकट तथा मृत्युजस्ता संवेदनशील अवस्थामा नेपालीहरुलाई पर्ने कठिनाइ उनले प्रत्यक्ष अनुभव गरे । त्यसले उनको सामाजिक भूमिकालाई अझ जिम्मेवार बनाउँदै लग्यो । सन् २०२५ देखि उनी नेपाली समाज यूएईको अध्यक्षका रुपमा काम गरिरहेका छन् ।
दुःखमा परेका नेपालीका सहारा
नेपाली समाज यूएईको नेतृत्वमा पुगेपछि पनि रामको प्राथमिकता औपचारिक पदमा सीमित छैन । लामो समयदेखि बिरामी रहेका नेपालीलाई सहयोग गर्नेदेखि उपचार तथा उद्धारमा सहजीकरण गर्ने, आर्थिक समस्यामा परेकालाई सम्भव सहयोग जुटाउने र विभिन्न कारणले अलपत्र परेकालाई घर फर्काउन पहल गर्ने काममा उनी सक्रिय छन् ।
विदेशमा सबैभन्दा कठिन अवस्था भनेको मृत्यु हुने नेपालीको शव नेपाल पठाउने विषय पनि हो । परिवार आर्थिक तथा अन्य कारणले अन्तिम संस्कार गर्न नसक्ने अवस्थामा समेत उनले सहयोग र समन्वय गर्ने गरेका छन् । चाहे कोभिडको बेला होस् वा नेपालको जाजरकोटको भूकम्प वा हालैको बाढी होस्, रामले विदेशस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग मिलेर समाजको सेवामा योगदान पु¥याउँदै आएका छन् ।
कहिलेकाहीँ कुनै नेपाली ठगीमा पर्छन् । कहिलेकाहीँ रोजगारीको आशामा विदेश आएर अलपत्र पर्छन् । कसैको कागजातमा समस्या हुन्छ, कसैलाई आर्थिक समस्या पर्छ । यस्ता अवस्थामा सहयोगका लागि फोन आउने क्रम रामका लागि नयाँ होइन । दुःखमा परेका नेपालीको उद्धार, ठगीमा परेकाको सहारा र अलपत्र परेकालाई सहयोग गर्नु उनको दैनिकीजस्तै बनेको छ । उनका लागि सामाजिक सेवा केवल संस्थाको कार्यक्रम होइन, परदेशमा रहेका नेपालीबीचको मानवीय जिम्मेवारी पनि हो ।
सीप सिकेर आउन सुझाव
आफ्नो लामो वैदेशिक जीवनलाई फर्केर हेर्दा रामले नेपाली युवाका लागि एउटा महत्वपूर्ण सन्देश दिएका छन् । उनको विचारमा विदेशमा अवसरको कमी छैन । तर अवसर समात्न आवश्यक तयारी भने नेपालमै गर्नुपर्छ । ‘हामीसँग नभएको हाम्रो सीप हो, थ्योरी हो । यी दुई कुरा सुधार गरेर विदेश आयौं भने हामी धेरै अगाडि जान सक्छौं’, उनी भन्छन् । उनका लागि यो भनाइ केवल अनुभवबाट आएको सामान्य सुझाव होइन । आफ्नै जीवनको यात्राले प्रमाणित गरेको निष्कर्ष हो ।
विदेश आउने नेपालीलाई सम्भव भएसम्म सीप र प्रमाणपत्र लिएर आउन आग्रह गर्छन् । दुवै सम्भव नभए कम्तीमा कुनै एउटा उपयोगी सीप सिकेर आउन उनको सुझाव छ । उनका अनुसार सीप र प्रमाणपत्र भएको व्यक्तिका लागि अवसरको दायरा फराकिलो हुन्छ । नेपाली युवाले सीप हासिल गर्नुपर्छ भन्ने उनको धारणा व्यक्तिको प्रयासमा मात्र सीमित छैन । त्यसका लागि राज्यको भूमिका पनि महत्वपूर्ण रहेको उनी मान्छन् । युवालाई विदेश जानुअघि आवश्यक सीप, भाषा, कामको प्रकृति, कानुनी प्रक्रिया, तलब, सुविधा र सम्भावित जोखिमबारे जानकारी दिने व्यवस्था बलियो बनाउन आवश्यक छ ।
विदेश जानु भनेको केवल टिकट काटेर अर्को देश पुग्नु होइन । कुन देशमा कुन प्रकारको रोजगारी उपलब्ध छ ? आफ्नो योग्यता र सीपसँग कुन काम मेल खान्छ ? तलब तथा सुविधा कस्तो छ ? कम्पनीको अवस्था कस्तो छ ? कानुनी प्रक्रिया के हो ? कामका लागि आवश्यक कागजात के–के हुन् ? विदेश पुगेपछि आफ्नो अधिकार र जिम्मेवारी के हुन् ? यी प्रश्नको उत्तर खोजेर मात्र विदेश आउनुपर्ने उनको सुझाव छ । उनले बुझेका छन्– विदेशमा सफल हुन केवल भाग्य पर्याप्त हुँदैन । शिक्षा, सीप, मेहनत, अनुशासन र सही निर्णय आवश्यक हुन्छ ।