हुम्ला । कोरोना भाइरसको संक्रमण विश्वव्यापी छ । यसले नेपाल पनि अछुतो छैन ।
यसै सन्दर्भमा हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम नै कोरोना र भाइरस राखिएको छ।
संसारभर फैलिएको कोरोना र नेपालमा समेत यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले बच्चाको नाम यस्तो राखिएको अभिभावकले जनाएका छन् ।
अस्पतालका अनुसार पहिले छोरी जन्मिएकी छिन् । उनको नाम कोरोना राखिएको छ । पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ ।
नाम राख्नमा आमा र बुवा हस्तबहादुर सहमत भएका हुन् । जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।