डेमोक्रेटिक पार्टीमा नयाँ चरणको एकता, सिनेटर स्यान्डर्सद्वारा पूर्व उपराष्ट्रपति बाइडेनलाई समर्थन घोषणा

न्यूयोर्क/

सिनेटर बर्नी स्यान्डर्सले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिका लागि औपचारिक समर्थन (इन्डोर्स)को घोषणा गरेका छन् । गतसाता राष्ट्रपतिय होडबाट बाहिरिएका स्यान्डर्सले आउँदो नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन बाइडेनलाई आफुले सक्दो समर्थन गर्ने घोषणा गरेका हुन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिय टिकटको होडमा बाइडेन र स्यान्डर्स मूख्य प्रतिश्पर्धी थिए । मार्च ३ मा सम्पन्न १४ राज्यको प्राइमरी (सुपर ट्युज्डे) चुनावपछि लगातार बाइडेनसँग डेलिगेट्स गणनामा पछि परेपछि स्यान्डर्सले गतसाता आफ्नो उम्मेद्वारी अन्त्य गरे । त्यसबेला अब बाइडेन डेमोक्रेटिक पार्टीको उम्मेद्वार बन्ने बताए पनि स्यान्डर्सले समर्थनको घोषणा गरेका थिएनन् ।

सोमबार दिउँसो दुई नेताबीच सम्पन्न भिडियो कन्फरेन्समा स्यान्डर्सले बाइडेनलाई समर्थनको घोषणा गरेका हुन् । बाइडेनले देशको अर्थतन्त्रबारे बिशेष अतिथीसँग सोमबार दिउँसो २ बजे (अमेरिकाको पूर्वी क्षेत्रको समय अनुसार) भिडियो वार्ता गर्ने भन्दै सामाजीक सञ्जालमा जानकारी दिएका थिए । तर,  अतिथी को हुन् भन्ने खुलाइएको थिएन ।

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका करोडौँ अमेरिकी नागरिक देखी बन्द भएका कम्पनी खुलाउनेसम्मको बृहत्तर योजना बारे छलफल गर्ने भन्दै बाइडेनले स्यान्डर्सलाई भिडियो कन्फरेन्समा स्वागत गरेका थिए । कुराकानीको सुरुवातमै स्यान्डर्सले बाइडेनलाई इन्डोर्सको घोषणा गरे । ‘म सबै अमेरिकीलाई आह्वान गर्न चाहन्छु, डेमोक्र्याट, स्वतन्त्र एवं रिपब्लिकन सबैलाई एकबद्ध भएर तिम्रो (बाइडेन) उम्मेद्वारीलाई साथ दिन अनुरोध गर्दै आफ्नो समर्थन घोषणा गर्छु’ स्यान्डर्सले भनेका थिए ।

त्यसपछि बाइडेनले आफु र स्यान्डर्सबीच छ वटा नीतिगत योजनामा सहमति भएको जानकारी दिए । जस अन्तर्गत न्यूनतम पारिश्रमीक प्रतिघण्टा १५ डलर पुर्याउने देखि सार्वजनिक विश्वविद्यालय एवं कम्युनिटी कलेजहरुमा ट्युसन शुल्क हटाउनेसम्मका योजना रहेका छन् । यी योजना लामो समय देखि स्यान्डर्सले उठाउँदै आएका थिए । स्यान्डर्सले आफ्ना प्रोग्रेसिभ समर्थकको भोट बाइडेनलाई जाओस् भन्ने अभियप्रायले नीतिगत सहमति आह्वान गरेका थिए ।

सन् २०१६ को चुनावको तुलनामा डेमोक्र्याटहरुबीच यसपाली चाँडै सहमति देखिएको छ । यसपालीका पार्टीका तर्फबाट राष्ट्रपतिय उम्मेद्वारीमा प्रभाव देखाएका उम्मेद्वारमध्ये सिनेटर एलिजावेथ वारेन बाहेक सबैले बाइडेनलाई समर्थन घोषणा गरि सकेका छन् । अघिल्लो पटक स्यान्डर्सले अन्तिम समयसम्म हलारी क्लिन्टनसँग प्रतिश्पर्धा गरेका थिए । यसपाली वारेन र पूर्व राष्ट्रपति बाराक ओबामाको समर्थन पनि बाइडेनलाई छिट्टै आउने अपेक्षा गरिएको छ । अहिलेसम्मका सबै मत सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा अघि देखिएका छन् । त्यसमाथि कोरोना भाइरस संक्रमणप्रति ट्रम्पले देखाएको सुस्तताले उनीप्रति क्रुद्ध जनमत बढेको छ ।