आज विभिन्न सञ्चारमाध्यममा पत्रकारमाथि धरपकड, सरोकारवालाको गम्भीर आपत्ति

आज विभिन्न सञ्चारमाध्यममा सरकारले प्रहरी परिचालन गरि धरपकड गरेको छ । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमा प्रवेश गरी धर्ना दिएका थिए ।

सो घटनाको आज सरोकारवालाले कडा निन्दा गरेका छन् । सरकारकै संस्था प्रेस काउन्सिल नेपालले सरकारको यो कदमको कडा विरोध गरेको छ । साथै, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सो कदमको कडा विरोध गरेको छ । उता, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको उल्लेख गरेका छन् ।


‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’