१६ कात्तिक, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारहरूको प्रत्यक्ष स्थलगत अवलोकन पछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजनामा कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गरेका हुन् । अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवाला पक्षहरूसँग पूर्वाधार निर्माणका पछिल्ला विकासक्रम र बाँकी कामबारे छलफल गरे ।
ूनिरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ, निरीक्षणपछि उनले भने, हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन्। देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता देखिएको छ। मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको काउन्टडाउन सुरु भएको घोषणा समेत गरे ।
लामो समयदेखि विविध कारणले रोकिएको राष्ट्रिय खेलकुदलाई अब कर्णालीको भूगोलले नयाँ उचाइ दिने भन्दै उनले समग्र खेल क्षेत्र र खेलाडीहरू पूर्ण रूपमा उत्साही रहेको उल्लेख गरे । दसौँ राष्ट्रिय खेलकुद लक्षित सुर्खेत भ्रमणको क्रममा मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग पनि आइतबार छलफल गरेका थिए ।
