१७ कात्तिक, काठमाडौं । पूर्वाधार समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा आज राष्ट्रिय राजमार्गका आयोजनाहरुको समीक्षा बैठक आयोजना गरिएको छ । काठमाडौंमा बसेको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल भएको थियो।
उक्त बैठकमा पूर्वाधार विकास समिति सदस्य माननीय राजकिशोर महत्तो, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महत्तो, सडक विभागका महानिर्देशक डा. विजय जैशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिवालय सदस्य दिनेश चमार, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेश कुमार दास तथा नागढुङ्गा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकले सडक निर्माणमा अवरोध सिर्जना गरिरहेका विद्युत् पोल तथा रुख व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई समयसीमाभित्र समस्या समाधान गर्न निर्देशन दिएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र स्थानान्तरण गर्न तथा नागढुङ्गा–मुग्लिन सडक खण्डमा रहेका विद्युत् पोल एक महिनाभित्र सार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने उल्लेख छ। साथै, सम्बन्धित सडक खण्डमा पोल स्थानान्तरणका लागि आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई निर्देशन दिइएको छ।
त्यसैगरी, राजमार्गका विभिन्न खण्डमा रहेका रुखहरू समयमै कटान हुन नसक्दा सडक निर्माण कार्यमा ढिलाइ तथा अवरोध उत्पन्न भइरहेको विषयलाई गम्भीरतापूर्वक लिँदै यसको शीघ्र समाधानका लागि कृषि तथा वन तथा वातावरण मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय भएको छ।
बैठकले बुटवल–गोरुसिङ्गे सडक खण्डमा रहेका विद्युत् पोलसमेत दुई महिनाभित्र स्थानान्तरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने तथा सडक विभागलाई आवश्यक साइट उपलब्ध गराउन निर्देशन दिएको छ।
बैठकमा सडक पूर्वाधार निर्माणका क्रममा देखिएका अन्तरनिकायगत समन्वयका समस्या समाधान गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।
