१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी दिनहरुमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार (कार्तिक १८)कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा पनि आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
