अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा भाग लिन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

२० कात्तिक, काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महा सम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।
आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। प्रत्येक चार वर्षमा आयोजना हुने महासम्मेलन संस्थाको सर्वोच्च नीति निर्धारण गर्ने सम्मेलन हो। यसले संघको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व निर्धारण गर्दछ।

महासम्मेलनका क्रममा हुने संघको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्ने कार्यक्रम रहेको छ। यस सहभागिताले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्नेछ।

महासम्मेलनको अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटवार्तामा सम्बन्धित मुलुकहरूले दूरसञ्चार क्षेत्रको विकास र सुधारमा हासिल गरेका उपलब्धि, सफल अभ्यास तथा अनुभव आदानप्रदान गर्नुका साथै आपसी हितका क्षेत्रमा सम्भावित प्राविधिक तथा संस्थागत सहकार्यका अवसरहरूबारे छलफल गरिनेछ।

विशेषगरी दूरसञ्चार पूर्वाधारको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगजस्ता विषयमा अन्तर्राष्ट्रिय अनुभव र सहकार्यका सम्भावनाहरू पहिचान गर्न भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा सक्रिय सहभागिता जनाउँदै नेपालको डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको छ।