भिसाको उद्देश्य विपरीत काम गर्ने ५ अमेरिकीसहित १० विदेशी निष्काशनमा

२० कात्तिक, काठमाडौं । सरकारले भिसाको उद्देश्यविपरित काम गरेको भन्दै ५ अमेरिकीसहित १० नागरिकलाई नेपालबाट निष्काशन गर्ने निर्णय गरेको छ । मोरङ्ग जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं. ७ बरगाछी स्थित मर्सी डेभलपमेन्ट नामको संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका १ जना नावालक सहित १० जना विदेशी नागरिकहरूलाई ३ वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशनको निर्णय विभागले गरेको हो ।

पर्यटक भिसामा नेपाल आएका नीजहरुले भिसाको उद्देश्य विपरितका कार्य गरी अध्यागमन कानुनको उल्लङ्घन गरेको कसूरमा जनही रु ५०,००० जरिवाना गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ । निष्काशन हुनेमा ५ जना संयुक्त राज्य अमेरिका, २ जना ब्राजिल र ३ जना क्यानडाका नागरिकहरु रहेका छन्। नीजहरुमध्ये नाबालकलाई नीजको आमा बुवासँगै प्रस्थान गराउने निर्णय भएको छ।