काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र अहिलेसम्मकै बढी मानिसमा कोरोना परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो ।
तर, यस परीक्षणबाट कुनै पनि मानिसमा कोरोनाको संक्रमण पुष्टी भएन । यसअघि मंगलबार दुई जनामा कोरोना पुष्टी भएसँगै नेपालमा कूल संक्रमित १६ पुगेको छ । तर, बुधबार भने नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जानकारी दिइको छ ।
अहिलेसम्म नेपालमा कूल १६ हजार मानिसको कोरोना भाइरस परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८ हजार ९ सय २९ र पीसीआर विधिबाट ६ हजार ८ सय ७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरीएको हो ।
अहिले देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा भने कुल ११७ जना रहेको तथ्यांक छ ।
अहिले देशका अधिकांश जिल्लामा आरडीटी टेस्ट भइरहेको छ । पीसीआर विधिबाट भने देशका विभिन्न एक दर्जन ल्यावमा परीक्षण भइरहेको छ ।