वासिङ्टन, २४ कात्तिक (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताएका छन् । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उनले बताए ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताए ।
आठ महिनादेखि जारी युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । मध्यावधि निर्वाचनमा उहाँको रिपब्लिकन पार्टीले कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो ।
ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक सङ्केत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताए । तर आवश्यक परे अमेरिकी सेना जुनसुकै बेला कारबाही गर्न तयार रहेको उनको भनाइ थियो । इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारे ।
यसैबीच, कतारका अधिकारीहरूले गत साता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन् । इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने सर्त राख्दै आएको छ ।
अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले युद्धसम्बन्धी आगामी निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताएका छन् । युद्ध सुरु गर्न कङ्ग्रेसको अनुमति नलिएको भन्दै उनीमाथि आलोचना भइरहेको छ । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गरेका थिए ।
ट्रम्पले इरानसँग बलियो सम्झौताको प्रगति भए पुनः आक्रमणको सम्भावना कम रहेको बताएका छन् ।
तर सैन्य कारबाही पुनः सुरु भए इरानका ३८ वटा पुलसहितका पूर्वाधारलाई निशाना बनाउने चेतावनी उनले दिएका छन् । युद्ध अन्त्यको सङ्केत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमण जारी राखेको छ । गत साता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुईपटक आक्रमण गरिएको थियो । अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिबार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ ।
