काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक सबै प्रकारका आवतजावत पूर्ण रुपमा बन्द गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
खान नपाएर कसैलाई पनि गाउँ जानु पर्ने अवस्था नहोस भन्दै उनले सम्बन्धित स्थानमा खाद्यान्न पुर्याउने व्ववस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
लकडाउन झण्डै एक महिनाभन्दा बढी लम्बिएपछि दैनिक कमाएर गुजारा गर्नेहरुमा पिडा थपिएको छ । उनीहरु काठमाडौं या शहरी इलाकामा गुजारा नचल्ने भएपछि हिँडेरै घरतर्फ लागेका छन् ।
सोही परिस्थितिका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन् ।
बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।
प्रधानमन्त्रीले भने कोरोना विरुद्ध हेलचेक्राइ गर्न नमिल्ने भन्दै उदार हुनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे ।
आवतजावत बन्द भनेकै एक ठाउँबाट अर्को ठाउँमा जान रोक्नु भएको भन्दै उनले यदि खान नपाएरै जान लागेको भए जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।