काठमाडौं । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
अब यस मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार २७ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।
बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भइसकेको छ । तीन जनाको अवस्था गम्भीर छ । ७ सय ३ जना भने निको भइसकेका छन् ।
दूतावासका अनुसार बहराइनमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको भन्दै नियमको पालना गर्न दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ ।
यसका साथै बहराइनमा गैरकानूनी रुपमा बसेका सबै नागरिकले सन् २०२० भित्रै बैधानिक कागजपत्र देखाएर बैधानिक हुन समेत सक्ने जानकारी दूतावासले जनाएको छ ।
बहराइनमा क्वारेन्टाइनसम्बन्धी नियमको उल्लंघन गरेमा तीन महिनासम्म जेल सजायसमेत हुने भन्दै सचेत रहन दूतावासले आह्वान गरेको हो ।