काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन ।
काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ ।
उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको छ ।
उनले बसमा आउँदै गरेका मानिसलाई नरोक्न स्थानीय प्रशासनलाई फोन गरेरै काठमाडौंबाट पठाएका थिए ।
मंगलबार दोलखा तथा रामेछापतर्फ हजारौं मानि घर फर्किए । उनीहरुलाई पनि स्थानीय तहले बसको व्यवस्था गरेको बताइएको छ ।
मंगलबार नै अर्घाखाँचीमा नेता टोपबहादुर रायमाझीको पहलमा बस गएका छन् । सरकारले लकडाउन अवधिमा घरमै बस्न आग्रह गरेपनि हजारौं मानिस सडकमा जम्मा भएर बसको प्रतिक्षा गर्ने गरेका छन् ।
प्रशासनले समेत अब ती नागरिकलाई नरोक्ने अघोषित नीति लिएको देखिन्छ । सम्भव भएसम्म व्यवस्थापन गरी घरमै पठाउने संकेत प्रशासनले गरेको छ ।
यसको मतलव नेपालमा अझै लकडाउन कडा र लामो हुने सम्भावना छ । त्यसकारण शहरी मजदुरलाई सरकारले भित्रभित्रै घर पठाउन लागेको छ । यसरी घरमा पुगेका व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ ।
यसैबीच, काठमाडौंबाट हिँडेका मजदुर बोकेको बस रामेछापमा दुर्घटना भएको छ ।
दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् । बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । यो बस दोलखातर्फ जादै थियो ।