सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

काठमाडौं । नेपालले भारततर्फको सीमा नाका तत्काल नखोल्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुसँगको ब्रिफिङमा उक्त जानकारी गराएका हुन् ।

बुधबार प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संघीय सांसदसँग छलफल गरेका थिए । सोहीक्रममा प्रधानमन्त्रीले उक्त स्पष्टोक्ती दिएका हुन् ।

दुई अध्यक्षले छुट्टा छुट्टै प्रदेशका सांसदसँग फरक फरक समयमा भेट गरे । सामाजिक दूरी कायम गर्न यस्तो गरिएको बताइको छ । छलफलमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही र लकडाउनबारे छलफल भएको थियो ।

बुधबार दिनभरजसो छलफल चल्ने भएको छ । छलफलमा प्रधानमन्त्रीले तत्काल सीमा नाका नखुल्ने बताएका छन् ।

उनले लकडाउनको स्वरुप भने केही खुकुलो हुने संकेत दिएका छन् । सरकारले पछिल्लो समय ल्याएका दुई अध्यादेशबारेमा समेत प्रधानमन्त्रीले सरकारको धारणा राखेका छन् । अध्यादेशपछि नेकपा भित्रै यसको विरोध भइरहेको छ ।

छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ समेत सहभागी भएका छन्।