ओली र नेपाल समूहको भेलामा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेताहरु बिच्किएका छन् ।

यसले अन्ततः नेकपा भित्रको विवादलाई उत्कर्षमा पुर्याएको हो । यसै सन्दर्भमा सोमबार नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तथा त्यसपछि ती नेता पक्षघर गुटको भेलामा समेत कुनै सहमति जुट्न सकेन् ।

भेलामा सहमति जुट्न नसकेपछि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पद धरापमा पर्ने देखिएपछि प्रधानमन्त्री पदको बचाउमा सबै उपाय अपनाउने योजनामा छन् ।

वरिष्ठ नेता माधव कुमार नेपाल भने संकटको समयमा आफ्नो गुटको नेतासमेत आफ्नो गुटलाई बलियो बनाउन सौदाबाजीमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।