न्युयोर्क
अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्यु भएका लास पोको पार्ने थप एक लाख थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो अर्डर गरेको अधिकारीहरुले बताएका छन् ।
फिमाले अप्रिल २१ तारिखका दिन ५१ लाख अमेरिकी डलरको लास पोको पार्ने थैलो अर्डर गरेको हो भने, त्यो भन्दा ठ्याक्कै १ हप्ता अगाडि उसले अर्को १ लाख थैलो मगाएको थियो ।गत महिना १ लाख मानिसको अमेरिकामा कोरोनाका कारण मृत्यु हुने अनुमानित आँकडा बताएका राष्ट्रपति ट्रम्पले सोमबार ६० देखि ७० हजारको मृत्यु हुने अनुमान लगाएका थिए । यद्यपी बुधाबार दिउँसोसम्म अमेरिकामा झन्डै १० लाख ५० हजार संक्रमित र ६१ हजारको मृत्यु भै सकेको छ ।फिमा प्रबक्ताले वाल स्ट्रीट जर्नललाई भनेका छन् – कोरोना संक्रमणको सुरुदेखि नै फिमा संक्रमणको सबैभन्दा खराब स्थितीको राष्ट्रिय परादृष्यलाई ध्यानमा राखेर काम गर्दै आएको छ । सबैभन्दा खराब अवस्था भएको अवस्थामा पनि सामानहरुको माग पूर्ती गर्न सकियोस् भनेर त्यति मात्रामा थैलो मगाइएको हो ।
क्यालिफोर्नियास्थित आपूर्तीकर्ता कम्पनीले फिमाले मगाएको १ लाख थैलो आगामी सोमबारसम्म डेलिभरी दिने दुई पक्षको अनुबन्धित पत्रमा जनाइएको छ ।