Author: Vishwanews.com

  • मौलाकाली र सिद्धार्थ केवलकारलाई सरकारी बन प्रयोग गर्न स्वीकृत

    मौलाकाली र सिद्धार्थ केवलकारलाई सरकारी बन प्रयोग गर्न स्वीकृत

    काठमाडौं । सरकारले मौलाकाली र सिद्धार्थ केवलकारका लागि बन प्रयोग गर्न स्वीकृत दिएको छ ।

    मन्त्रीपरिषदको बैंठकले मौलाकाली केवलकारका लागि नवलपुर जिल्ला बर्दघाट सुस्तापूर्व नवलपुरको गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वन समेतको कुल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको हाे ।

    यस्तै सिद्धार्थ केवलकारका लागि रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूलजम्म २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

  • पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर

    पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर

    काठमाडौं । सरकारले डिजेल र पेट्रोलको प्रति लिटर पाँच रुपैयाँ बढाएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको हो ।

    बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

    गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

  • नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

    नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो ।

    पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् ।

    प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक रुपमै भनिसकेका छन् । आगामी २० गते खाली राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको ठाँउमा खतिवडालाई नै दोहोयाने अडानमा प्रधानमन्त्री ओली देखिएका छन् ।

    नेकपाका नेता युवराज ज्ञावालीले पार्टीले गरेको निर्णय सर्वसम्मत हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन् ।

  • अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

    अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

    अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको छ ।

    स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले अनुसार विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्।

    गोलीकाण्डमा मारिने पाँचैजना कम्पनीका कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ । मोल्सन कूर्सले कूर्स र मिलर बियर उत्पादन गर्दै आएको छ ।

    आक्रमणकारीको ‘सेल्फ–इन्फेक्टेड वुण्डस्’ कारण मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दा रहेको उल्लेख छ।

    आक्रमकारीको उद्देश्य खुलेको छैन। स्थानीय समय अनुसार बुधबार अपराहन्न कम्पनीको परिसरमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

  • अमेरिकामा १४ जनालाई कोरोना संक्रमण, सान फ्रान्सिस्कोमा आपतकाल

    अमेरिकामा १४ जनालाई कोरोना संक्रमण, सान फ्रान्सिस्कोमा आपतकाल

    काठमाडौं । अमेरिकामा अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश यात्राका क्रममा भएको र दुईजनामा व्यक्ति–व्यक्तिबीचबाट सरेको थियो।

    अमेरिकी शहर सान फ्रान्सिस्कोमा कोरोना भाइरस संक्रमण फैलिनसक्ने संभावनालाई मध्यनजर गरी स्थानीयरुपमा आपतकाल घोषणा गरिएको छ।

    त्यहाँ कोरोनाको कुनै संक्रमणका बिरामी नभेटिए पनि सो घोषणा गरिएको हो।

    क्यालिफोर्नियाको चौथो ठूलो शहर फ्रान्सिस्कोमा कोरोना भाइरसबाट सुरक्षाको तयारीलाई अझ तीव्र पार्न र त्यसबाट आइपर्नसक्ने खतराबाट जनचेतना फैलाउन त्यस्तो निर्णय गरिएको बताइएको छ।

    ‘अझै पनि यहाँ एउटा पनि संक्रमण भएको पुष्टि भएको छैन, तर विश्वमा परिस्थिति निकै छिटो परिवर्तन भइरहेको छ र हामीले तयारीलाई तीव्र पार्नैपर्छ,’ त्यहाँका मेयर लन्डन ब्रिडले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले समुदायहरुमा कोरोना फैलिनसक्ने संभावनाप्रति सचेत र तयार रहन बुधबार आग्रह गरेको थियो।

  • नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

    नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ।

    निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन्।

    यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन्।

    उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउनसक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ।

    चीनको केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको जनाईएको छ ।

  • रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास

    रुसी टेनिस खेलाडी मारिया सारापोभाले लिईन् सन्यास

    काठमाडौं । चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई हराएकी थिइन् ।

    लगातार ११ वर्ष सर्वाधिक धेरै कमाइ गर्ने महिला खेलाडी बनेकी सारापोभाले सन् २०१५ मा मात्र ३० मिलियन अमेरीकी डलर कमाइ गरेकी थिइन् ।

    उनले पाँच पटक ग्राण्डस्लाम जितेकी छिन् । जसमा दुई पटक फ्रेन्च ओपन, एक एक पटक यूएस, विम्बल्डन र अष्ट्रेलियन ओपन रहेका छन् ।

  • ट्रम्पको भारत भ्रमणः कश्मीर विवादमा किन बोलेनन् ?

    ट्रम्पको भारत भ्रमणः कश्मीर विवादमा किन बोलेनन् ?

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदिने भारत भ्रमणले विश्वभर नै चर्चा पायो । वाशिङटन र नयाँ दिल्लीबीच अनेकौं मतभेद रहे पनि भ्रमणमा भने तामझामले झपक्कै छोपेको थियो ।

    सोमवार भारतीय भूमिमा टेकेदेखि बेलुका राजधानी दिल्लीमा होटेलको प्रेसिडेन्सियल सुइटसम्म ट्रम्पले आफ्नो वरिपरि स्वागतका लागि पंक्तिबद्ध मानिस मात्र देखे ।

    अहमदाबादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्प र उनकी पत्नी मेलानियालाई एयर फोर्स वान विमानको भर्‍याङमै पुगेर स्वागत गरे । त्यसपछि ट्रम्पको प्रतिनिधिमण्डललाई महात्मा गान्धीको साबरमती आश्रम लगियो अनि उनले आफ्नो राजनीतिक करीयरको सबभन्दा ठूलो सम्बोधन गरे ।

    मोदीले ११ मिनेटको संक्षिप्त स्वागत भाषण गरेका थिए भने ट्रम्पले करिब २४ मिनेट भाषण गरेका थिए । आफ्नो भाषणमा ट्रम्पले मोदीलाई असल मित्र तथा दरो वार्ताकारको रुपमा चित्रण गरे ।

    साथै, भारतीय लोकतन्त्र र विविधतापूर्ण समाजको प्रशंसा गरे । ट्रम्पले स्वामी विवेकानन्ददेखि क्रिकेटर सचिन तेन्दुलकर, विराट कोहली र भारतीय सिनेमा ‘दिलवाले दुल्हनियाँ ले जाए’सम्मको नाम लिन भ्याए । ट्रम्प साबरमती आश्रम पुगेर स्टेडियम आएका थिए । नमस्ते ट्रम्प कार्यक्रमपछि ताज महल घुम्न आग्रा गए ।

    त्यसपछि ट्रम्प परिवार दिल्ली पुगेको थियो । तर ट्रम्प दिल्ली जाँदै गर्दा दिल्लीका मुस्लिम बहुल उत्तरी इलाकामा नागरिकता कानूनको विरुद्धमा प्रदर्शन भइरहेको थियो । दुई समूह र प्रहरीबीचको झडपमा १० जनाको मृत्यु भइसकेको थियो । पछिल्लो विवरण अनुसार झडपमा परी १७ जनाको ज्यान गइसकेको छ ।

    ट्रम्प भारत भ्रमण गर्ने ७ औं राष्ट्रपति हुन् । ट्रम्पभन्दा अघि आइजनआवर, रिचार्ड निक्सन, जिमी कार्टर, बिल क्लिन्टन, बुस जुनियर र बाराक ओबामाले भारत भ्रमण गरेका थिए । ओबामाले आफ्नो राष्ट्रपतीय कार्यकालमै दुईपटक भारत भ्रमण गरेका थिए ।

    सन् १९९० अघि भारतका लागि अमेरिकाको महत्व कम थियो । शीतयुद्ध कालमा भारत सोभियत धुरीको राज्य थियो । सोभियत संघको पतनपछि भारतले अमेरिकासँगको सम्बन्धमा विशेष जोड दिन थालेको हो । शीतयुद्धकालमा पाकिस्तान अमेरिकाको नजिक थियो । ट्रम्पको मटेरा सम्बोधनमा यो यथार्थको छाप लेखिन्थ्यो ।

    ट्रम्पले पाकिस्तानलाई पनि सँगसँगै लिएर हिंड्ने बताएका थिए । उनले इस्लामिक अतिवादी आतंकवाद र आईएसको विरोध गरे तर कश्मिर मामिला र पाकिस्तानको बारेमा कुनै नकारात्मक अभिव्यक्ति दिएनन् । बरु भारत यो क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सुरक्षा साझेदार हुने धारणा राखे । भ्रमणको दोस्रो दिन अमेरिका र भारतबीच २.६ बिलियन डलर बराबरको हेलिकप्टर खरिदको सम्झौता भएको छ । यी हेलिकप्टर भारतले अमेरिकासँग किन्नेछ ।

  • महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

    महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    काठमाडौंको याक एण्ड यती होटलमा आयोजित एक कार्यक्रमकाबीच ढकालले औपचारिक रुपमा उम्मेद्धारी घोषणा गरेका हुन ।

    उम्मेद्धारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफ्नो उम्मेद्धारी महासंघलाई सबल र सुदृढ बनाउन रहेको बताएका छन् । उनले आफु विजयी भएमा जिल्ला तथा नगरमा रहेका महासंघलाई अझ सशक्त र क्रियाशिल बनाउने बताए ।

    ‘सम्मृद्धिको आधार, राज्य-निजी क्षेत्र साझेदार’ भन्ने मुल नारालाई आत्मसाथ गरी अगाडी बढेका ढकालले निजी क्षेत्रसँगको सहकार्य विना देशको आर्थिक विकाश संभव नरहेको बताए ।

    उनले देशमा औद्योगिक वातावरण तयार गर्न , वैदेशिक लगानी भित्र्याउन र व्यवसायिको हकहितमा काम गर्न महासंघले सधै सरकार र व्यवसायिबीच पुलको रुपमा रहेर काम गर्ने बताए ।

    सरकारको कर नितीले साना व्यवसायि मारमा परेको बताउँदै उनले यसका लागि पारदर्शि र बैज्ञानीक आधारमा कर निर्धारण गर्नु पर्ने कुरामा जोड दिए ।

    झण्डै एकदशकदेखि पदीय जिम्मेवारी सहित नेपाल उद्योग बाणिज्य महासंघमा कृयाशील उपाध्यक्ष ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए ।

    केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ढकाल महासंघ अन्तर्गत रोजगारदाता परिषद्का सभापति पनि हुन् ।

    कार्गो व्यवसायबाट व्यवसाय सुरु गरेका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ। ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स ,उर्जा, अटोमोबाइल, सूचना- प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना ‘आइएमई ग्रुप’ का अध्यक्ष हुन्।

    व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशील रहेका छन्। पश्चिमाञ्चल विकास मंचका अध्यक्ष समेत रहेका ढकाल नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत हुन् ।

    ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष पनि हुन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत हुन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा यहि चैत २८ र २९ गते हुने भएको छ । यो पटकको साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् ।

    ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा जिल्ला नगर,वस्तुगत तथा एशोसियटका व्यवसायीहरु सहभागीता रहेको थियो । ।

  • दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित, नेपाल ८ नम्बरमा

    दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित, नेपाल ८ नम्बरमा

    काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

    विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो ।

    यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।

    विश्वका गरिब देशका सहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।

    जसमा दूषित हावा हुने सहरहरुको सूचीमा भारत नै शिर्ष स्थानमा परेको छ । नयाँ रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शिर्ष तीस शहरमध्ये २१ वटा भारतका छन् ।

    एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ ।

    गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नागेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि तीन गुणा बढी हो ।

    अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेका छन् । देशव्यापी रिपोर्टमा भने बांग्लादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ । त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् ।

    नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पीएम ४४.५ रहेको छ ।

    विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणको अवस्था धनी देशमाभन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ ।

    सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ । तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

    बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

  • दिल्ली हिंसा :  ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

    दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

    भारत । भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ ।

    सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए ।

    यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । झण्डै सय जना घाइते भएका छन् ।

    प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।

    नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो ।

  • अमेरिकामा  कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी !

    अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी !

    अमेरिका । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संयुक्त राज्य अमेरिकामा फैलिने उच्च स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो भाइरस मान्छेमा सरेको थियो ।

    त्यसपछि विश्वकोे विभिन्न देशमा फैलिएको कोरोना भाइरस अमेरिकामा अहिलेसम्म ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमणबाट जोगिनका लागि सबै अमेरिकी तयार अवस्थामा रहनु पर्ने उच्च स्वास्थ्य अधिकारीले बताएका छन् ।

    स्वास्थ्य अधिकारीले अमेरिकी कंग्रेससँग तत्काल अर्बौँ डलर बराबरको बजेट कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि छुट्याउन आग्रह गरेको छ ।

    तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोना भाइरस संक्रमणको अवस्था ‘निश्चित रुपले नियन्त्रण’ मा रहेको बताएका छन् । र पनि कोरोना भाइरसको संक्रमणको डरका कारण अमेरिकी स्टक मार्केट लगातार घटिरहेको छ ।

  • बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

    बार्सिलोना नापोलीसँग बराबरीमा रोकियो

    काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

    नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना एक–एक गोलको बराबरीमा रोकिएको छ ।

    बार्सिलोनाको लागि ग्रिजम्यानले गोल गर्दै हारबाट जोगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलको ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए र बार्सिलोनालाई हारबाट जोगाए ।

  • अमेरिका-भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता

    अमेरिका-भारतबीच तीन अर्ब अमेरिकी डलरको रक्षा सम्झौता

    नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको बताएका छन् । दुई देशका प्रतिनिधिबीच भएको वार्तापछि भएको संयुक्त प्रेस कन्फरेन्समा राष्ट्रपति ट्रम्पले यसको जानकारी दिएका हुन् ।

    ट्रम्पले दुवै देशका नेताबीच आफ्नो नागरिकलाई कट्टर इस्लामी आतंकवादु बाट बचाउन प्रतिबद्ध भएको र अमेरिकाले यसका लागि थप काम गरिरहेको बताए । उनले यस विषयमा पाकिस्तानसँग पनि कुरा भइरहेको बताए । उनले भने, “पाकिस्तानमा रहेको आतंकवादु लाई अन्त्य गर्न विषयमा पाकिस्तानसँग कुरा भइरहेको छ ।”

    ट्रम्प र मोदी दुबै नेताले द्विपक्षी व्यापारले दुई अंकको आर्थिक वृद्धि भएकोमा खुसी व्यक्त गरे । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै देशबीच अन्य कयौं सम्झौता हुने जानकारी दिएका थिए । उनले भने, “दुबै नेताबीच भएको यो पाँचौं भेटघाट हो । जुन निकै सार्थक र सकारात्मक भएको छ ।”

    प्रधानमन्त्री नरेन्द्र मोदीले भारत(अमेरिकाबीच २१औं शताब्दिकै महत्त्वपूर्ण साझेदारी भएको बताए । उनले भने, “रक्षा, उर्जा, प्रविधि र व्यापारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भने, “मैले कार्यभार सम्हालेपछि अमेरिकी निर्यात ६० प्रतिशत बढेको छ ।” उनले भारतको उर्जा आवश्यकतालाई पूरा गर्ने सम्झौता भएको जानकारी दिए । जसअन्तर्गत एक्सन मोबिलले भारतसँग मिलेर प्राकृतिक ग्यास वितरण सुधार्ने सम्झौता भएको छ ।

    प्रधानमन्त्री मोदीले अमेरिका भारतका लागि तेल र ग्यासको स्रोत भएको स्वीकार गरे ।

    दुई दिने भ्रमणका लागि भारत पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भारत यात्राको अनुभव शानदार भएको बताएका थिए । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “भारत यात्रा मेरा लागि सम्मानीय रह्यो । नरेन्द्र मोदीलाई भारतीयहरु निकै माया गर्छन् ।”

    प्रधानमन्त्री मोदीले पनि राष्ट्रपति ट्रम्पको भारत यात्रा आफ्नालागि सम्झनायोग्य भएको बताए । – बीबीसी

  • रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन,मुख्य दोषी को ?

    रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन,मुख्य दोषी को ?

    काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको अन्तिम छानबिन प्रतिवेदनले देखाएको छ ।

    घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षीय पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।

    प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफलाई युफोरियाको प्रभावको कारण भनेको छ ।

    उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ ।

    मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

    हेलिकप्टरमा काठमाडौं–तेह्रथुम–काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथीभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै चुहानडाँडाबाट पाथीभरा उडान भर्दा त्यो रुटको मौसम प्रतिकूल रहेको र पाइलटले भिजुअल फ्लाइट रुललाई पूर्ण रुपमा पालन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै नागरिक उड्डय प्राधिकरण तथा हेलिकप्टर कम्पनीको नियममा अति विशिष्ट व्यक्ति सवार हुँदा के गर्ने भन्ने नीति नभएको पनि उल्लेख गरिएको छ ।

    वि.स.२०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

  • लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा

    लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसिया टप ११ मा परेका छन् ।

    बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आयोजना गर्न लागेको वर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच खेल्नको लागि सन्दीप पनि एसिया टप ११ मा परेका हुन् ।

    एसिया टप ११ मा भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली कप्तान रहेको छन् । कोहलीका साथै एसिया टप ११ मा केएल राहुल, शिखर धवन, तमिम इकवाल, लिटोन दास, ऋषभ पन्त, मुस्फिकर रहिम, थिसरा परेरा, रासिद खान, मास्तफिजुर रहमान, लासिथ मालिंगा, मोहम्मद सामी, कुलदिप यादव र मुजिर उर रहमान रहेका छन् ।

    यस्तै, साउथ अफ्रिकाका खेलाडी फाफ डुप्लेसिसको कप्तानीमा रहेको वल्र्ड टप ११ मा क्रिस गेल, रोज टेलर लगायतका क्रिकेटरहरु रहेका छन् ।

  • नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

    नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

    काठमाडौं । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन्।

    जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ।

    श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ। काठमाडौं उपत्यकाभित्रको १ सय ७२ रोपनी जग्गा गुम्न पुगेको खुलेको छ।

    तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रस्ट अध्यक्षसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारको पालामा उपत्यकामा रहेका १ सय ७२ रोपनी जग्गा विभिन्न व्यक्तिलाई बाँडिएको थाहा भएको हो।

    बाबुराम प्रधानमन्त्री तथा विजयकुमार गच्छदार गृहमन्त्री (नेपाल ट्रस्टका अध्यक्ष) भएका बेला २०६९ कात्तिक २ गते थानकोट, मातातीर्थ, सतुंगल र बालाजु क्षेत्रको जग्गा मोहीको नाममा गर्ने निर्णय भएको थियो। ‘उक्त जग्गा फिर्ता ल्याउन र दोषीलाई कारवाही प्रक्रिया अघि बढिसकेको छ’, पोखरेलले पत्रकार सम्मेलनमा जनाए ।

  • निर्यात बढ्दा सुधारियो व्यापार घाटा

    निर्यात बढ्दा सुधारियो व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा आइपुग्दा नेपालको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट आउने वस्तुको व्यापार ३ दशमलव ५६ प्रतिशतले कमी आएको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ ।

    गत वर्ष सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

    चालु आवको सुरुदेखि नै निर्यात व्यापार भने उकालो लागेको छ ।

    माघ महिनासम्म यो प्रवृत्ति कायम देखिएको छ । सात महिनामा निर्यात २२ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।

    सात महिनामा नेपालले गत वर्षको समिक्षा अवधिमा भन्दा यस वर्ष १२ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ ।

    माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    गत वर्ष यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव ३३ प्रतिशतले सुधार भएको छ ।

    चालू आर्थिक बर्षको सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

  • नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णय

    नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णय

    काठमाडौं । नेपाल वायुसेवा निगमलाई अब कम्पनी मोडलमा संचालनको तयारी गरिएको छ ।

    पूर्णसरकारी स्वामित्वको कम्पनी नेपाल एयरलाइन्सले नाफा कमाउन सकिरहेको छैन । करीव ४० अर्ब ऋण समेत रहेको छ ।

    यस अवस्थामा कम्पनी नाफामा जान नसक्ने भन्दै यसलाई कम्पनीमा लैजाने निर्णय भएको हो ।

    संचालक समितिले कम्पनी मोडलमा लैजाने प्रस्ताव गरी मन्त्रालयमा पठाउने निर्णय गरेको छ । अब अर्थ मन्त्रालयले स्वीकृति दिएमा यो प्रस्ताव मन्त्रीपरिषद् जानेछ ।

    नेपाल एयरलाइन्सलाई निजीकरण गर्दा २५ प्रतिशत शेयर बिक्रि गरिनेछ । ७५ प्रतिशत शेयर सरकारकै नाममा रहेन छ ।

    २५ प्रतिशतमध्ये ३ प्रतिशत कर्मचारी र २२ प्रतिशत सरकारी संस्थान तथा वित्तीय कम्पनीहरुबाट लगानी हुने गरी शेयर संरचनाको प्रस्ताव गरिएको छ ।

    नेपाल एयरलाइन्सको सर्वसाधारणले समेत शेयर पाउने छन् । तर, त्यो शेयर भने ७५ प्रतिशत भित्रबाटै सरकारले सर्वसाधारणका लागि शेयर खोल्न सक्ने प्रस्ताव गरिएको छ ।

    नेपाल एयरलाइन्ससँग पुरानो गौरव निकै उज्ज्वल रहेपछि वर्तमान कमजोर भएका कारण कम्पनी घाटामा गएको हो । पछिल्लो समय नयाँ जहाज आएपछि भने केही राम्रो संकेत देखाएको छ ।

  • ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

    ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

    नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् ।

    यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ ।

    राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।

    दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको हो ।

    सरकार समर्थकले ‘जय श्रीराम’ नारा लगाएका थिए । त्यसको विरोधीसमेत प्रदर्शनमा उत्रिएपछि दुई पक्षबीच झडप भएको हो।

    झडप नियन्त्रणका क्रममा प्रहरीको समेत ज्यान गएको हो । पसल, घर र सवारी साधनमा आगो लगाइएको छ।

    प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको हो । त्यसक्रममा एक जना व्यक्तिले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

    दिल्लीमा पछिल्ला दिनमा हिंसाका घटना बढेका छन् । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको हो ।

  • डोनाल्ड ट्रम्पले भने : इन्डिया लभ यू

    डोनाल्ड ट्रम्पले भने : इन्डिया लभ यू

    अहमदावाद । दुई दिने भारत भ्रमणको सिलसिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आइपुगेका छन् ।

    सोमबार अपरान्ह अहमदावादस्थित विमानस्थलमा अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।

    भारत सरकारले उनको स्वागतमा अहमदावादस्थित मोटेर रंगशालामा विशेष कार्यक्रमको आयोजना गर्यो ।

    यो कार्यक्रमको नाम नमस्ते ट्रम्प राखिएको छ । करीव १ लाख मानिसलाई रंगशालामा उतारेर टम्पको भब्य स्वागत गरिएको हो ।

    विमानस्थलदेखि रंगशालासम्म करीव २२ किलोमिटर सडक यात्रा ट्रम्पले गरेका थिए ।

    सडकमा उनलाई हजारौं मानिसले स्वागत गरे । पाँच महिनाअघि मोदी र ट्रम्पबीच अमेरिकामा ‘हाउडी मोदी’ कार्यक्रममा भेट भएको थियो ।

    ट्रम्प सोमबार बिहान ११.३७ मा एयरफोर्सको विशेष विमान चढेर अहमदावाद एयरपोर्टमा ओर्लिएका थिए।

    ट्रम्प परिवार र मोदी अहमदावादमा झण्डै तीन घण्टा संगै रहे । अहमदावाद ओर्लिनेबित्तिकै मोदी र ट्रम्प साबरमती आश्रम पुगेका थिए ।

    ११ मिनेटसम्म ट्रम्प र मेलिनिया त्यहाँ टहल्लिएका थिए । त्यहा रहँदा ट्रम्पले चर्खासमेत चलाए ।

    त्यसपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुन अहमदावादको स्टेडियममा पुगेका थिए ।

    कार्यक्रममा मोदीले २१ मिनेट र ट्रम्पले २७ मिनेट भाषणा गरेका थिए । ट्रम्पले भाषणका सिलसिलामा भारतीय जनतालाई भनेका थिए, आइ लभ यू इन्डिया ।

    उक्त कार्यक्रमपछि आगरास्थित ताजमहल हेर्न ट्रम्प पुगेका थिए । उनी सोमबार नै दिल्ली आएका छन् ।

  • सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् ।

    नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ ।

    ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो ।

    विपक्षीले आफ्नो अस्तित्व रक्षाका लागि मात्र यो सबै हतकण्ठा गरिरहेको उनको भनाई छ ।

    प्रधानमन्त्रीको अनुसार विपक्षी कुखुराका चल्ला जस्तै हुन् ।

    ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

    संसदमा विधेयक पेश हुने भन्दै त्यहाँ छलफल गर्नुको साटो जनतामा भ्रम छर्ने र सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको उनको भनाई छ ।

    संसदमा विषयवस्तुमा छलफल गर्नुको साटो कुरै नबुझी विरोध गर्ने गरेको उनको भनाई छ ।

    मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयक संसदमा दर्ता भएपनि यसको विरोधमा दलहरु उभिएका छन् । प्रधानमन्त्रीले यो प्रवृत्तिको आलोचना गरेका हुन् ।

  • सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

    सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

    बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप छानविनको आवश्यकता औल्याएका छन् ।

    निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र यस काण्डमा एक्लै संलग्न हुन नसक्ने भन्दै छानविनको आवश्यकता औल्याएका हुन् ।

    एक अर्बको डील मन्त्री एक्लैले गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय छानविनको माग गरेका छन् ।

    कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभाका लागि बुटवलमा पुगेका उनले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नहुने तर्क गरे ।

    यस काण्डलाई सामान्य रुपमा लिन नहुने भन्दै बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार नभएको उल्लेख गरे ।

    ७० करोड रुपैया घुसको डिल गर्दैगर्दाको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

    ‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको भन्दै देउवाले प्रधानमन्त्रीको समेत आलोचना गरे ।

    भ्रष्टाचारका अनेकन काण्ड आइरहेको तर सरकार भने भ्रष्टाचारी लुकाउन नीतिगत रुपमै लागेको उनले उल्लेख गरे ।

  • कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

    कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

    काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

    सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो ।

    ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरील पुष्टी गरेको छ ।

    दुर्घटनामा घाइते भएकालाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार ।

    हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए ।

    त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले काटेको केक सार्वजनिक भयो, यो विषय अहिले सामाजिक संजालमा आलोचनाको विषय बनेको छ ।

    ओलीको जन्मदिनमा बनाइएको केकमा नेपालको नक्सा रहेको छ । उनले त्यो नक्सा काटेका छन् भने उच्च पदस्थ अधिकारीले केक खाएका छन् ।

    यसलाई धेरैले देशप्रतिको अपमान भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

    यो केक अर्डर गर्ने निकायलाई प्रधानमन्त्रीले नै यस्तो केक बनाउने दिएका थिए वा स्थानीय सरकारहरुले चाकडी गरेका हुन भन्ने त खुलेको छैन । तर, गोकुल बास्कोटा काण्ड नसेलाउँदै अब फेरी केक काण्डले माहोल तताउने निश्चित रहेको छ ।

  • अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

    अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

    काठमाडौं । कोटेश्वरमा अधिक सवारी जाम हुँदा आवागमन प्रभावित बन्दै गएपछि ट्राफिक प्रहरीले लेन कार्यान्वयनमा नयाँ नियम ल्याएको छ ।

    अब सूर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनका लागि छुट्टै लेन हुने भएको छ ।

    यी सवारी साधनले बायाँ लेनबाट मात्र सवारी साधन चलाउन पाउने भएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ लेनको नियम सार्वजनिक गरेको हो । अब दाहिने लेनबाट निजी तथा साना सवारीसाधन मात्रै गुडाउन पाइनेछ ।

    यो प्रावधान १४ फागुनदेखि लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले उल्लेख गरेको छ ।

    उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा एक सुझाव समिति गठन गरिएको थियो ।

    उक्त समितिले दिएको प्रतिवेदनका आधारमा महाशाखाले नयाँ नियम बनाउन लागेको हो । तिब्र गतिमा सवारी चलाउने र ट्राफिक जामका कारण यो सडक खण्ड असुरक्षित समेत बन्दै गएको छ ।

  • आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

    आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

    अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ ।

    बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ ।

    यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने भएको छ ।

    सन् २०१५ बाट निर्माण थालिएको यो रंगशालामा १ लाख १० हजार मानिसले कुर्सीमै बसेर खेल हेर्न सक्ने क्षमता रहेको छ ।

    यस रंगशालामा हजारौं मानिसले उनको जयजयकार गर्नेछन् । भारत उड्नुअघि आफू भारत भ्रमणमा उत्साहित रहेको प्रतिक्रिया राष्ट्रपति ट्रम्पले दिएका छन् ।

    ट्रम्पका साथमा श्रीमती, छोरी तथा ज्वाइसमेत भारत आएका छन् । उनीहरु अहमदावादस्थित विमानस्थलमा उत्रिने छन् ।

    नमस्ते ट्रम्पको कार्यक्रम सकिएपछि राष्ट्रपतिको टोली आग्रास्थित ताजमहल पुग्नेछ ।

    त्यहा करीव १ घण्टा बिताएपछि उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीमा उच्चस्तरीय भेटवार्ताका कार्यक्रम राखिएका छन् । आफ्नो कार्यकालमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन् ।

  • श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    काठमाडौं । प्रहरी बर्दीमा टिकटक भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापामाथि कारबाही थालेको छ ।

    उनीमाथि विभागीय कारवाहीको तयारी भएको कार्यालयले जनाएको छ । भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयका इञ्चार्ज रहेका उनको स्थानमा कार्यालयले सई राजु प्रसाईंलाई खटाएको छ ।

    वास्तवमा आफैले टिकटक बनाउनुभन्दा पनि श्रीमतीले श्रीमानको बर्दी लगाएर टिकटकमा अभिनय गरी श्रीमानकै आइडीबाट टीकटकमा अपलोड गरेपछि थापामाथि विभागीय कारवाही हुने भएको हो ।

    थापाले आफूले टिकटक नै नचलाउने प्रतिक्रिया विभिन्न संचारमाध्यममा दिएका छन् । तर, उनको भिडियो श्रीमतिले सार्वजनिक गरिदिएपछि उनीमाथि फसाद आइपरको हो ।

    प्रहरी बर्दीको दुरुपयोगको कारवाही उनीमाथि हुनेछ । किनकी उनले आफ्नो बर्दी श्रीमतीलाई लगाउन दिएको खुलेको छ ।

    भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ। अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको र भिडियो प्रहरी कार्यालय भित्रैको देखिएको छ ।

    त्यसकारण पदको दुरुपयोग भएको पाइएको कार्यालय स्रोतको भनाई छ । पछिल्लो समय धेरै महिला तथा किशोर किशोरी टिकटकको लतमा फसिसकेका छन् ।

  • वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

    वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ ।

    यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ ।

    गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।

    उनको शर्तअनुसार शनिबार कमिटी गठन भएको हो । कमिटीले संविधान संशोधनको वातावरण बनाउने छ ।

    तर, प्रमुख प्रतिपक्षी कांग्रेस भने यस प्रावधानको विरोधमा उत्रिएको छ ।

    मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसले प्रतिक्रिया दिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन् । उनले गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन, भनियो हुन्न, जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो, तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’

  • शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो ।

    उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् ।

    किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन ।

    त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा उनले कार्यभार निरन्तरता दिन कानूनी अड्चन रहेको छ ।

    किनकी संविधानअनुसार सांसद नभएको मानिस मन्त्री हुने प्रावधान छैन । त्यसो त दोस्रो कार्यकालका लागि राष्ट्रपतिबाट उनको पुनः नियुक्ति भएमा भने अर्थमन्त्री पद यथावत रहन सक्छ ।

    तर, नेकपाले राष्ट्रिय सभा सांसदमा बामदेव गौतमलाई ल्याउन लागेको खबर एकाएक सार्वजनिक भएपछि यसको प्रभाव शेयर बजारमा परेको छ ।

    आइतबार सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको कीर्तिमान बनेको छ ।

    नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाट कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको हो ।

    सूचक समेत एकै दिन ६९.५६ अंकले बढेको छ । नेप्से परिसूचक ३० महिनायताकै उच्च बिन्दुमा पुग्दा १५०४ अंकमा दिनको कारोबार बन्द भएको छ ।

    विश्लेषकहरु आजको परिवर्तनलाई वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासँग तर्सिरहेका लगानीकर्ताको प्रभाव मान्छन् ।

    किनकी अर्थमन्त्रीले नीतिगत रुपमा कुनै निर्णय नलिएपनि शेयर कारोबारलाई अनुत्पादक ठान्ने उनको परम्परागत सोचबाट लगानीकर्ता तर्सिरहेका छन् ।

    आइतबार सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ।

    विकास बैंक ८५ र लघुवित्त ५५ अंकले वृद्धि भएको हो । दिनभर भएको कारेबारबाट १४२ कम्पनीका सेयरधनीले कमाएका छन्।

    गुमाउने २७ कम्पनीका लगानीकर्ता रहेको छन् । १२ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लियो ।

    तारागाउँ रिजेन्सी, वरुण हाइड्रो, पञ्चकन्या माइ, नेशनल हाइड्रो र ओरेन्टल होटलका लगानीकर्ता गुमाउने तर्फ परेका छन् ।