Author: Vishwanews.com

  • थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

    थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

    रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ ।

    यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

    बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ । इटालीमा कोरोनाले ज्यान लिनेको संख्या अब १४८ पुगेको छ।

    कोरोना भाइरसबाट चीनबाहिर सबैभन्दा ठूलो क्षति इटालीमा भएको छ ।

    संसारभर हालसम्म ३ हजार २ सय जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    ९५ हजार मानिसमा यसको संक्रमण पुष्टी भएको छ । इटालीका सम्पूर्ण राज्यमा संक्रमण फैलिसकेको छ । इटालीले विद्यालय र कलेजहरु बन्द गरिसकेको छ ।

    बिहीबार बेलायतमा पनि एक जनाको ज्यान गएको संचारमाध्यमले लेखेका छन् ।

    पछिल्लो समय चीनमा यस रोगको संक्रमणबाट मर्नेको संख्यामा उल्लेख्य कमी आउँदा यूरोपमा भने तिब्र रुपमा फैलिएको छ ।

  • के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो ।

    मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।

    किनकी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसमेत उनको साथमा छिन् ।

    जमैकन सुन्दरी टोनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।

    नेपाल आएकै दिन उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भेटेका छन् ।
    भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव छ की भन्ने विषयमा छलफल भएको बताइएको छ । यद्दपी यो प्रारम्भिक छलफल थियो ।

    सरकारले समन्वय गर्ने र निजी क्षेत्रले आयोजना गर्ने मोडलमा प्रतियोगिता नेपालमा आयोजनाको सम्भावनाबारे छलफल गरिएको छ ।

    मन्त्री भट्टराईले नेपालमा भेन्यू हेर्न, स्थानीय आयोजकसँग छलफल गर्न र उपयुक्त भए प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

    विश्वभर चर्चा हुने सौन्दर्य प्रतियोगिता नेपालमा आयोनाको सम्भावना हेर्नकै लागि विश्व सुन्दरी आयोजना गर्ने संस्थाका प्रतिनिधि नेपाल आएको बताइएको छ ।

    टोनीले तीन दिनको नेपाल बसाईको अवधिमा सिन्धुपाल्चोकस्थित सोलसिङ गाउँमा सञ्चालित स्वावलम्बन प्रोजेक्ट अवलोकन गर्नेछिन् ।

    उनी आज प्रोजेक्टको अवलोकनमा जाने कार्यक्रम छ ।

  • ललितपुरमा आइतबारसम्म यसकारण हुँदैछ विद्युत आपूर्ति कटौती

    ललितपुरमा आइतबारसम्म यसकारण हुँदैछ विद्युत आपूर्ति कटौती

    ललितपुर । ललितपुरका विभिन्न स्थानमा विद्यूत आपूर्ति प्रभावित हुँदैछ । कतिपय स्थानमा नियमित विद्यूत आपूर्ति नहुँदा लाइन काटिने भएको छ ।

    नेपाल विद्यूत प्राधिकरणका अनुसार वितरण लाइन सुधारको काम भइरहेका कारण बिहीबार साँझबाटै आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

    प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरण भएको ११ केभी क्षमताको लाइन सुधार गर्न लागिएको छ ।

    सोही कारण यस भेगमा विद्यूत कटौती हुने भएको छ । बिहीबारबाट आइतबारसम्म हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने भएको छ ।

    यस फिडरबाट विद्यूत आपूर्ति भएको फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध आउने भएको छ ।

    सो फिडरबाट वितरण भएको नियमित समस्या आउन थालेपछि प्राधिकरण यो क्षेत्रको सुधारमा लागेको हो ।

    केही महिनायता बढी माग र कमजोर आपूर्ति व्यवस्थापनका कारण राजधानीमा समस्या आउन थालेपछि प्राधिकरणले उपकरणमा सुधार र क्षमता बिस्तारको काम तिब्र बनाएको छ ।

  • भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी

    भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी

    नयाँ दिल्ली । भारत सरकारले विद्यूतीय हाजिर बन्द गरेको छ । हातबाट कोरोना भाइरसको संक्रमण फैलने भएकाले भारतको राजधानी नयाँ दिल्लीमा कार्यालयहरुका अब विद्युतीय हाजिरी बन्द गरिएको हो ।

    खासगरी जहाँ औलाको छापबाट हाजिर हुने सिस्टम जडान छ, त्यहाँ अब हातबाट हुने विद्यूतीय हाजिरी बन्द भएको हो ।

    उता, भारत सरकारले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी समेत जारी गरेको छ । अत्यावश्यक काम नपरेसम्म विदेश भ्रमणमा नजान भारत सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

    दिल्ली सरकारले कोरोनाको संक्रमण हुने डरले राजधानीमा होली मनाउन प्रतिवन्ध लगाएको छ । दिल्लीमा मार्च महिनाभर विद्यालयसमेत बन्द हुने भएका छन् ।

    भारतमा अहिलेसम्म ३० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

    यद्दपी कुनै पनि बिरामीको ज्यान भने गएको छैन ।

    तर, ठूलो जनसंख्या तथा कमजोर स्वास्थ्य प्रणाली रहेको भारतमा कोरोना फैलियो भने ठूलो क्षति हुने आंशका भने रहेको छ । किनकी राजधानी नयाँ दिल्लीमा मात्र २ करोड भन्दा धेरै जनसंख्या रहेको छ ।

  • नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

    नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

    काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ ।

    भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ ।

    यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो ।

    यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको थियो । रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो ।

    बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई व्यवस्थित बनाउने निर्णय समेत गरेको छ ।

    बढी मानिस आवत जावत हुने नेपाल र भारतका ३७ वटा नाकामा समेत स्वास्थ्य टोली पठाएर चेकजाँच गर्ने निर्णय यस संयन्त्रले गरेको हो । प्रदेशहरुमा समेत स्वास्थ्य टोली खटाउने निर्ण भएको छ ।

  • प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

    प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो ।

    प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ ।

    सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज गर्न सकिन्छ । प्रधानमन्त्रीको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य खतरामुक्त र अपेक्षित सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् ।

    स्वास्थ्य खतरामुक्त रहेपनि संक्रमणको जोखिम रहने भएकाले अस्पतालमै राख्ने निर्णयमा अस्पताल पुगेको हो ।

    प्रधानमन्त्री डिस्चार्ज भएसकेपछि पनि एक महिनासम्म बाहिर जान सक्नेछैनन् । उनले घरमै आराम गरी बस्नु पर्नेछ ।

    प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको औषधी चलाइन्छ । प्रधानमन्त्रीले जाउलो खान थालेका छन् ।

    उनी दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छन् । उता, प्रधानमन्त्रीलाई मृगा्रला दिएकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।

    उनले मामालाई कस्तो छ भन्दै प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राखेकी थिइन् ।

  • भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम रोकेको छ । विदेशमा हुने सबै प्रकारका यस्ता कार्यक्रम रोकिएका हुन् ।

    तर, नेपाल भ्रमण वर्षलाई भने के गर्ने भन्ने सम्बन्धमा अझै अन्यौल कायम छ । यही संकेत सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

    उनका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको नेपाललाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित पारेको हो ।

    भ्रमण वर्षका कार्यक्रम तत्कालका लागि स्थागित गर्ने निर्णय भएको छ । तर, यो अभियान के गर्ने भन्नेबारे भने कुनै निर्णय भइसकेको छैन ।

    कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, त्यसका आधारमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने उनले उल्लेख गरे ।

    बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनका दौरान अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिएको भएपनि अन्य निर्णय नभएको स्पष्ट पारे ।

    सरकारले भ्रमण वर्ष लक्षित अन्तर्राष्ट्रिय प्रवर्द्धन रोक्ने निर्णय गरेपनि भ्रमण वर्ष अभियान, भ्रमण वर्ष सचिवालय, यसका पदाधिकारीका सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोनाको संक्रमणसँगै पर्यटक आगमन खस्कने पक्का भएको छ ।

  • अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

    अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

    काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ ।

    बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

    सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाउने घोषणा गरेको थियो ।

    यो सुविधा वाणिज्य बैंकमा मात्र उपलब्ध हुने भएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि भने आफै बनाउन सक्ने छन् ।

    कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गर्नुपर्ने प्रावधान राखिएको छ ।

    सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गर्न समेत राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ । कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्ने भएको छ ।

  • इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

    इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?

    काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो ।

    संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ ।

    टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस गेलसहित विश्वस्तरीय खेलाडी यस पटक नेपाल आउने तयारीमा थिए ।

    प्रतियोगिता आउन पनि एक सातामात्र बाँकि रहेको अवस्थामा आयोजकले विश्वभर फैलिएको कारोना भाइरसका कारण प्रतियोगिता स्थागित गरिएको जनाएको छ ।

    क्रिस गेलसहित विश्वका १६ स्टार खेलाडी नेपाल आउने पक्का भएको थियो । केही खेलाडीको सरप्राइज नाम सार्वजनिक गर्ने तयारी समेत थियो ।

    तर, प्रतियोगिता नै स्थगित गर्नुपरेपछि त्यसले खेलप्रेमीलाई निरास मात्र बनाएर एक प्रकारको माहौलसमेत प्रभावित भएको छ ।

    १ चैतमा यो प्रतियोगता उद्घाटनको तयारी थियो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित भएको घोषणा गरेको हो ।

    खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिएको आयोजकको भनाई छ ।

    आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक आमिर अख्तरका अनुसार अर्को सूचना जारी नभएसम्म प्रतियोगिता स्थगित भएको हो ।

  • अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

    अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

    क्विन्सल्याण्ड । अष्ट्रेलियामा फेरी एक नेपालीको समुन्द्रमा डुबेर ज्यान गएको छ । केही महिना अगाडीसमेत यहाँ दुई नेपाली समुन्द्रमा डुबेर ज्यान गुमाउन बाध्य भएका थिए ।

    अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको स्थानीय प्रशासनले पुष्टी गरेको छ ।

    बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले तानेको थियो । उनी किनारमा उत्रन सकेनन् । छालले तानेर बेपत्ता पारेपछि उनका साथीहरूले उद्धारकर्मीलाई बोलाएका थिए ।

    उद्धारकर्मीले ५ मिनेटको खोजीपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव फेला पारेका थिए ।

    निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत रहेको बताइएको छ ।

    उनीहरु पाँच जनाको समूहमा पौडी खेल्न निस्किएका थिए । निकेसको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको छ ।

    उनको शव नेपाल पठाउने तयारी भइरहेको गैरआवासीय नेपाली संघले उल्लेख गरेको छ ।

  • इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

    इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

    रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ ।

    बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् ।

    यसले विश्वचर्चित फूटबल लीग सिरी–ए समेत स्थगित हुने भएको छ । चीनबाट फैलिएको कोरोनाले इटालीमा चीनपछि सबैभन्दा ठूलो क्षति गरेको छ ।

    इटलीका २० राज्यमध्ये १९ राज्यमा यसको संक्रमण फैलिइसकेको छ । इटलीमा मात्र अहिलेसम्म कोरोनाबाट १ सय ७ जनाको मृत्यु भएको छ ।

    यस मुलुकमा ३ हजारभन्दा बढी मानिसमा संक्रमण फेला परेको छ ।

    इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले स्वास्थ्य सेवा खतरामा रहेको उल्लेख गरेका छन् ।

    इटलीका मूख्य पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । इटली पर्यटन व्यवसायबाट सर्वाधिक आम्दानी गर्ने मुलुकमध्ये एक हो ।

  • अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल

    अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल

    क्यालिफोर्निया । कोरोना भाइरसका कारण अमेरिकामा मात्र ११ जनाको ज्यान गएको छ । बिहीबार मात्र एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ ।

    क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सानफ्रान्सिस्कोबाट मेक्सिको गएका यात्रु थिए ।

    क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको हो । अमेरिकामा १६ वटा राज्यका १५० भन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ ।

    अमेरिकामा ज्यान गएका कूल ११ मध्ये १० जना भने वाशिङ्गटन डिसी राज्यका बासिन्दा हुन् ।

    कोरोना भाइरसले पछिल्लो समय टेक्सास र नेब्रास्कामा समेत आफ्नो उपस्थिति देखाइसकेको छ ।

    संक्रमण बढेसँगै वाशिङ्गटन र फ्लोरिडा राज्यमा आपतकाल घोषणा गरिएको थियो ।

    वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि आपतकाल घोषणा गरिएको थियो । कोरोनाको भाइरस चीनबाट प्रारम्भ भएको हो ।

    यसले विश्वभर ९४ हजार बढीलाई संक्रमित बनाइसकेको छ । ८० हजार जना चीनमा मात्रै संक्रमित छन् ।

    विश्वभर यस रोगका कारण ३ हजार २ सय जनाको ज्यान गएको छ । चीनमा २ हजार ९ सय ८१ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

  • जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

    जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

    गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो ।

    जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप बुधबार राति दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको ज्यान गएको हो ।

    गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते छन् ।

    जीप सडकबाट २ सय मिटर तल झरेको छ ।

  • जन्तीबस दुर्घटनामा ४ को मृत्यु

    जन्तीबस दुर्घटनामा ४ को मृत्यु

    हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको छ ।

    अर्का एक युवकको भने सनाखत भएको छैन । जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस दुर्घटनामा परेको थियो ।

    ३ जनाको घटनास्थलमा र एक जनाको भने उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २६ जना घाइते भएका छन् ।

  • यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो ।

    कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।

    होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।

    त्यसो त भारतमा पनि दिल्ली सरकारले राजधानीमा होलीका औपचारिक कार्यक्रममा प्रतिवन्ध लगाएको छ । बुधबार दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

    अहिले भाइरस संक्रमणको डर सबैतिर भएको र विभिन्न सञ्चार माध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू सचेत हुनुपर्ने भन्दै औपचारिक कार्यक्रम र भीडभाड नगर्न स्थानीय प्रशासनले सचेत बनाएको छ ।

    उता, स्वास्थ्य मन्त्रालयले समेत यो रोगको संक्रमणबाट बच्न भीडभाडमा नजान आग्रह गरेको छ ।

    होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ । यो वर्षको होली आगामी २६ फागुनमा परेको छ ।

  • सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

    सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

    काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो ।

    ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो।

    यसअघि फागुन १२ मा सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमान बनाएको थियो।

    बुधबार तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकराी दिएको छ ।

    चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

    मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ।

  • विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

    विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

    काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो ।

    यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्काको ज्यान गएको हो ।

    दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा दुर्घटनामा परेको थियो ।

    जीप सडकबाट ४ सय मिटर तल खसेको थियो ।

    सिराहामा दुई वटा मोटरसाइकल ठक्कर खादा सडक दुर्घटना भएको छ । सडकमा पछारिएका युवकलाई बसले किचेको थियो । यस घटनामा एक जनाको ज्यान गएको छ ।

    पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार,४ स्थित सडक खण्डमा दुर्घटना भएको हो ।

    पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.३३ प. २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

    दुईवटा मोटरसाइकल ठक्कर खाएपछि सडकमा पछारिएका युवाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

    दुर्घटनामा को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालक सिरहा, लहान नगरपालिका १९ का २६ वर्षिय मोहमद लुतफुर रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका, १४ का २६ वर्षिय आरजु राई घाइते भएकी छन् ।

    विराटनगर– १९ मिलनचोकमा मंगलबार राती टिपरको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

    मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम सरदार र उनकी ६ वर्षकी नातिनी आरोही सरदार रहेको अटोमा टिपरले ठक्कर दिएको थियो ।

    विराटनगरको घिनाघाट– विराटचोक सडक खण्डको मिलनचोकमा को १ ख २९१७ नम्बरको टिपरले मिलचोकबाट झोराहाट तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिँदा चालक बाबुराम र नातिनी आरोहीको ज्यान गएको हो ।

    उनीहरुको ज्यान गएपछि आक्रोशित स्थानीयले मंगलबार राति टिपरमा आगजनी गरी सडक अवरुद्ध गरेका थिए ।

  • अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

    अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

    काठमाडौं । राजिनामा दिएको २४ घण्टा नबित्तै अर्थमन्त्री डा. युवराज खतिवडाको पदमा पुनबहाली भएको छ ।

    उनले साविकमा जस्तै अर्थ र सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् ।

    त्यसलगत्तै उनी मन्त्रालय पुगेर कार्यभार ग्रहण गरे । उक्त अवसरमा उनले आफू कमाण्डरको आदेश अनुसार फिल्डमा खटिएको भन्दै आदेश जारी रहेसम्म खटिने उल्लेख गरे ।

    मंगलबार राष्ट्रियसभा सदस्यका रुपमा उनको दुई वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि उनले पदबाट राजिनामा दिएका थिए ।

    कार्यकाल सकिएपनि उनी सोही पदमा फर्किएका हुन् । मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    पदभार ग्रहण गर्दै अर्थमन्त्रीले बजेट निर्माण, आर्थिक नीति अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने एक योद्धाका रुपमा आफूलाई प्रस्तुत गरे ।

    लडाइँमा बेलासम्म लडिरहने, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन भन्दै उनले आफु युद्ध जितेर मात्र फर्कने उल्लेख गरे ।

    उनी सांसद नभएपनि आगामी ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् । त्यसपछि या संघीय संसदको सांसद बन्न पर्छ, नभए पुनः राजिनामा गर्नुपर्छ । त्यसपछि पनि उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन फेरी नियुक्ती गर्नुपर्छ ।

  • प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

    प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

    उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो ।

    अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा मिगौैला भएका छन् । सामान्यतया प्रत्यारोपणपछि पनि पुरानो मिर्गौला शरीरबाट निकाल्ने गरिदैन । त्यसले अझ जोखिम निम्तने चिकित्सकहरु बताउँछन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ ।

    प्रधानमन्त्रीको शरीरका मुख्य सूचकांक ठिक छन् । प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षबाट आइसीयूमा सारिएको छ । यता मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् ।

    प्रधानमन्त्रीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    खासगरी सरकार प्रमुखबाट स्वदेशी चिकित्सक र अस्पताललाई विश्वास गर्दै स्वदेशमा गराएको उपचारको भने सामाजिक संजालमा खुलेर प्रशंशा भएको छ ।

    प्रा. डा. अनन्तकुमार, डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायत टोली उपचारमा खटिएका छन् । डा अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्यलगायतसमेत प्रधानमन्त्रीको उपचारमा खटिएका छन् ।

  • प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

    प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

    उनको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ । मिर्गौला प्रत्यारोपणपछि बिरामी ५ देखि ६ दिनसम्म अस्पतालमै रहनुपर्छ ।

    प्रधानमन्त्री अस्पतालको एनेक्स वार्डको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा उपचारार्थ भर्ना भएका छन् ।

    यस अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन छन् । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी छिन् ।

    उनको १२ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका समकक्षीहरूले सफल शल्यक्रियाको शुभेच्छा व्यक्त गरेका छन् ।

    भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै स्वास्थ्य लाभको कामना गरेका थिए ।

  • उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

    उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाबारे सचेतना तीव्र बनाइएको छ । विभिन्न कार्यालयले आफ्ना कर्मचारीलाई भित्र प्रवेश गराउने बेला ज्वरो नाप्न थालिएको छ ।

    मंगलबार धेरै जसो ठूला कार्यालयका कर्मचारीले ज्वरो नापेको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

    यता, चपक्रथमा गुड्ने विजुली बसमा समेत यात्रुको ज्वरो नाप्न थालिएको छ । यो बस सुन्दर यातायातले चलाएको हो ।

    एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट झर्ने मात्रै बनाइएको र बसमा चढ्दा ज्वरो नाप्ने गरिएको छ ।

    बिएके कम्पनीले चीनका विभिन्न सहर तथा आफ्ना गाडी चल्ने थाइल्यान्ड, मकाउ, अमेरिकालगायत देशमा पनि यस्ता इन्फ्रारेड थर्मोमिटर पठाएको छ ।

    सोही थर्मोमिटर प्रयोग गरी ज्वरो नाप्न लागिएको छ । यता, वायुसेवा कम्पनीले समेत अब ज्वरो आएका व्यक्तिलाई हवाई यात्रा नगर्न र विमानस्थलमा नआउने सचेत गराएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै वायुसेवा कम्पनीहरुले यस्तो सचेतना सार्वजनिक गरेका हुन् ।

  • कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

    कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

    काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् ।

    तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका छन् ।

    उनी निमोनियाबाट प्रभावित भएको बताइएको छ । स्पेनमा पहिलो पटक मानिसको ज्यान गएको हो । स्पेनमा संक्रमितको संख्या १ सय ६५ पुगेको हो । अहिलेसम्म विश्वभर ६५ भन्दा बढी मुलुकमा कोरोना संक्रमितको संख्या पुगिसकेको छ ।

  • विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

    काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

    विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो ।

    आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउन आग्रह गरेको हो ।

    मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिकोत्वसलगायत औपचारिक कार्यक्रम आयोजना नगर्न समेत सचेत गराएको छ ।

    यस्ता कार्यक्रमले एक अर्कामा संक्रमण बढ्न सक्ने मन्त्रालयको भनाई छ ।

    अर्कोतर्फ कोरोनाले बालबालिका र वृद्धवृद्धामा छिटो आक्रमण गर्छ ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिमयुक्त मुलुकमा राखेको छ । यद्दपी मुलुक भित्र अहिले बिरामी भने देखिएका छैनन् ।

  • कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

    कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

    काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ ।

    टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए ।

    तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार अस्पताल भर्ना भएका थिए । उनीहरु सबै नेपाली नागरिक भएको बताइएको छ ।

    डिस्चार्ज भएका मध्ये एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका थिए । अस्पतालका मंगलबार थप दुई जना अस्पताल भर्ना भएका छन् उनीहरुलाई समेत कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको छ ।

    उनीहरुमध्ये पनि एक जना दक्षिण कोरिया र अर्का एक जना मध्यपूर्वबाट आएको अस्पतालले जनाएको छ । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ ।

    दक्षिण कोरिया, इरान र इटालीजस्ता देशमा यस रोगको संक्रमणबाट मानिसको ज्यान समेत गइसकेको छ । विश्वस्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको  छ ।

  • प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

    प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ ।

    यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् ।

    यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै निवासमा पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

    यसअघि सोमबार प्रधानमन्त्रीले आफू पूण रुपमा ठिक भएर आउने र थाती रहेका सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

    अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

    उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो ।

    पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर अर्थमन्त्री फर्किएका थिए । उनले राजिनामा गरेपनि पुनः अर्थमन्त्रीमा नियुक्ति हुँदैछन् ।

    यो पद आगामी ६ महिना कायम रहनेछ । त्यसपछि भने उनी स्वतः बिदा हुने भएका छन् ।

    संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

    अर्थमन्त्रीको पुननियुक्ति र सपथसमेत बुधबार हुने स्रोतको भनाई रहेको छ ।

  • १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

    १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ ।

    ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ ।

    १५ औं योजनामा समावेस गरिएका यस्ता आयोजना सम्पन्न गर्न कूल १९ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये कतिपय आयोजना चालु अवस्थामा रहेका छन्, कतिपय अब संचालनको तयारीमा छन् ।

    आयोगले १५ औं योजनामा राख्न गेमचेन्जर आयोजना विभिन्न मन्त्रालयबाट माग गरेको थियो । देशको समग्र विकासमा योगदान गर्नसक्ने स्पष्ट आधार, त्यस्ता आयोजनाको निर्माण अवधि र लागतसहितको अवधारणापत्र मन्त्रालयबाट आएपछि त्यसलाई १५ औं योजनामा राखिएको हो ।

    आयोगका अनुसार यी आयोजनालाई ९ क्षेत्रमा विभाजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना र समृद्धिका लागि वन कार्यक्रम गेम चेन्जर आयोजनाका रुपमा रहेको छ ।

    यसैगरी ,जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम, औद्योगिक पूर्वाधार विकास आयोजना र स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजनालाई समेत यसमा राखिएको छ ।

    सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना, राष्ट्रपति महिला सशक्तीकरण परियोजना र माथिल्लो अरुण जलविद्युत आयोजना अर्को गेम चेन्जर आयोजना हुन ।

    राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना, पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनालाई समेत यसमा राखिएको छ ।

    प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, नयाँ शहर विकास आयोजना, शहरी करिडोर आयोजना र डिजिटल नेपाल र राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रमलाई गेम चेञ्जर आयोजनाका रुपमा अघि बढाएको छ।

  • नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

    नाइजेरियामा लुटेराले लिए ५० को ज्यान

    नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् ।

    गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।

    स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र समुह कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा पसेको थियो ।

    आइतबार बिहान मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेर उनीहरुले धनमाल लुटेका छन् ।

    गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया र धनमाल लुटेको बताइएको छ । साना बच्चाहरुलाई भने अपहरण गरी लगिएको छ ।

    लुटेराहरूले स्थानीयका घर समेत भत्काइदिएका छन् ।

    नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा आक्रमण गरेको र त्यसकै बदलामा गाउँलेको हत्या भएको अनुमान गरिएको छ ।

    स्थानीयले लुटेर लुकेको स्थानका सम्बन्धमा सेनालाई सूचना दिएकै कारण स्थानीयलाई मारेको बताइएको छ ।

  • कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

    कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

    वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् ।

    चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको हो ।

    वासिङ्टन राज्यले अघिल्लो सातामात्र कोरोना संक्रमणका कारण राज्य भित्र आपतकाल घोषणा गरेको थियो।

    यस राज्यमा मात्र १८ जनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

    तर, यस राज्यमा मात्र करीव १५ सय मानिसमा संक्रमण फैलिसकेको अनुमान गरिएको छ । राज्यले भने यसको पुष्टी गरेको छैन ।

    राज्यमा कतिपय स्थानमा विद्यालय बन्द गरिएका छन् । बिरामी राख्न होटेलहरु प्रयोग गर्न थालिएको छ ।

    अमेरिकामा पाँच राज्यमा कोरोनाभाइरसका संक्रमित भेटएको पुष्टी भइसकेको छ ।

    वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा मामला फेला परेका छन् ।

    देशभर करीव १ सय मानिसमा संक्रमणको पुष्टी भएको छ । चीनबाट फैलिएको यो भाइरसले अहिले संसारभर ६५ भन्दा बढी मुलुक प्रभावित भइसकेका छन् ।

  • विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

    विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो ।

    अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ ।

    चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु पर्ने भएकाले विमानस्थलभित्र प्रवेशमा कडाई गरिएको कार्यालयको भनाई छ ।

    विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन र आउनै परे मास्क अनिवार्य लगाउन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    यात्रुलाई ल्याउन र पुर्‍याउन आउने मानिसले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

    कोरोनाको संक्रमण नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको र विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो नियम ल्याउनु परेको विमानस्थल कार्यालयले उल्लेख गरेको छ ।

    पछिल्लो केही दिन यता नेपाल सरकारले समेत कोरोनासम्बन्धमा उच्च सतकर्ता अपनाउन थालिसकेको छ ।