Author: Vishwanews.com

  • होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो ।

    सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए ।

    होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।

    तर, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालक भने कारबाहीमा परेका छन् प्रहरीका अनुसार ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाहीमा परेका हुन् ।

    मापसे गर्ने, तीन जना सवार मोटरसाइकल र कागजात नबोकेका चालक प्रहरी कारवाहीमा परेका हुन ।

    प्रहरीले होलीको दिन विशेष सतर्कताका साथ कारवाही चलाउने गरेको छ । प्रहरीको यो कारवाही प्रभावकारी समेत हुने गरेको छ । पछिल्ला वर्ष होलीमा हुने दूर्घटनामा उल्लेख्य कमी आएको छ ।

  • चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

    चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

    काठमाडौं । चीनमा गत डिसेम्बरबाट शुरु भएको कोरानो भाइरसको संक्रमणबाट ३६ सय भन्दा बढीका ज्यान गइसकेको छ ।

    दिन प्रतिदिन तिब्रताका साथ फैलिएको यस रोगले चीनमामात्र करीव ९० हजार मानिसमा संक्रमण फैलियो । तर, सोमबार चीनमा नयाँ संक्रमण हुने दर अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ ।

    चीनको बुहानभन्दा बाहिर संक्रमण देखिएको छैन । महामारीको रूप लिएको कोरोनाभाइरसलाई चीनले करीव नियन्त्रणमा लिएको देखिएको छ । आइतबार चीनभित्र ४० जनामा मात्र थप संक्रमण पुष्टी भएको छ ।

    यो अहिलेसम्मकै कम हो । यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएको बताइएको छ । चीनले बुहानभन्दा बाहिर भने करीव संक्रमण नियन्त्रणमा लिइको छ ।

    हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आएका चार जनामा देखिएको र स्थानीयमा नदेखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

    चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ । आइतबार मात्र वुहानमा कोरोनाको संक्रमितले ज्यान गएको बताइएको छ ।

    नयाँ संक्रमितको संख्या घट्नुलाई चिनियाँ अधिकारीहरूले रोगविरुद्धको सफल आन्दोलन भनेका छन् । फेब्रुअरी ४ मा सर्वाधिक एकैदिन ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।

  • यूएइमा पनि नेपालीमा कोरोना

    यूएइमा पनि नेपालीमा कोरोना

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा समेत नेपालीमा कोरानाको संक्रमण देखिएको छ । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित पुष्टी भएको यूएईको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका हुन् । दुई नेपाली, तीन इटाली, दुई बंगलादेशीसँगै रुस, सिरिया र भारतका एकएक नागरिकमा संक्रमणको पुष्टी भएको हो ।

    मन्त्रालयका अनुसार अब यूएईमा संक्रमित हुने ५९ पुगेका छन् । त्यसमध्ये १२ जना भने निको भएर उपचारपछि घर फर्किसकेका छन् ।

    त्यसमध्ये पाँच जना सोमबार नै घर फर्किएका हुन् । यूएइमा ठूलो संख्यामा नेपाली छन् ।

    उनीहरुमा संक्रमित फैलिएमा नेपालसमेत प्रभावित हुन सक्छ । तर, पछिल्ला दिनमा खाडी मुलुकले सबै देशका नागरिकमाथि यात्रामा कडाई गरेका छन् ।

  • अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना

    अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना

    तास्मानिया । अष्ट्रेलियामा नेपालीमाथि पनि कोरोनाको संक्रमण भेटिएको छ । संचारमाध्यमका अनुसार तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो ।

    उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको साथमा रहेका अन्य चार जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

    उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएको बताइएको छ । स्थानीय अस्पतालले उनमा कोरोनको पुष्टी गरेको छ ।

    यद्दपी स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । अस्पतालका सबै नियम पालना गरेका कारण बिरामीमा जोखिम कम हुन्छ ।

    यता, नेपाली सोसाइटी अफ तास्मानियाले समेत सम्भावित संक्रमणबाट बच्न नेपालीलाई छ । सचेत गराएको छ ।

    भेला तथा भोज आयोजना नगर्न समेआग्रह गरिएको छ । संक्रमण भेटिएपनि नेपाली खतरामुक्त रहेको र आत्तिनु पर्ने अस्था नरहेको नेपाली सोसाइटीले उल्लेख गरेको छ ।

    तर, सतर्क रहेर रोग सर्नबाट टाढै बस्न सचेत गराइएको हो । नेपाली दूतावासले समेत विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन आग्रह गरेको छ ।

    दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको हो ।

    विश्वका १ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोनाका कारण संसारभर ३७ सय मानिसले ज्यान गुमाइसकेका छन् ।

  • इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु

    इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु

    काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ । त्यसमध्ये इटाली र इरानको संख्या ठूलो छ। संक्रमित रहेको तुलनामा चीनमा भने कम मात्र मानिस मरेका छन् ।

    आइतबार मात्र थप ४ हजारमा यसको संक्रमण देखिएको छ । तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ३० पुगेको छ।

    संक्रमितको संख्या १ लाख १० हजार ६६ पुगेको छ। हालसम्म ६२ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किएको तथ्यांक छ ।

    आइतबार स्पेनमा सात र चीनमा २२ जनाको ज्यान गएको बताइएको छ । कोरोनाले हालसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ पुगेको छ।

    इटलीमा ३ सय ६६, इरानमा १ सय ९४, फ्रान्समा १९, अमेरिकामा २२, दक्षिण कोरियामा ५० तथा स्पेनमा १७ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।

    इटालीमा आइतबार मात्र १ हजार ४ सय ९२ संक्रमित थपिएका छन् । यो भाइरसको संक्रमण १ सय ८ देशमा फैलिइसकेको छ।

    नेपालमा भने एक जनामा देखिएको भएपनि उनी उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

  • आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ ।

    केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस वर्ष भने सरकारले सकभर होली नखेल्ने सर्वसाधारणसँग आह्वान गरेको छ ।

    होलीले कोरोना भाइरसको संक्रमण सर्ने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो । आजबाट वसन्त ऋतुको आगमन हुने मानिन्छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग यो पर्वको महिमा जोडिएको छ ।

    शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्न थालिएको जानकार हरु बताउँछन् ।

    यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउने गरिन्छ ।

    उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचार गरिने विश्वास रहेको छ । चीरका खरानी लिन समेत तछाडमछाड हुने गरेको छ ।

    यो वर्ष राजधानी काठमाडौंसहित सदरमुकामहरुमा औपचारिक होली कार्यत्रम आयोजना हुने छैनन् । यसका लागि सरकारले अनुमती नै दिएको छैन । त्यसरी होली खेलेको पाइएमा सरकारले कारवाही समेत गर्न सक्नेछ ।

  • कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक

    कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक

    दोहा । कतार सरकारले कोरोनाको सतर्कता भन्दै १४ देशका नागरिकलाई रोक्ने निर्णय गरेको छ । यसमा नेपाल पनि समावेश रहेको छ ।

    कतारको यो निर्णयसँगै अब नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतार प्रवेश नेपालीका लागि तत्कालका लागि कठिन हुने भएको छ ।

    कोरोनाको संक्रमण बढ्दै गएको र यसबाट बच्न १४ देशका नागरिकलाई कतार प्रवेश रोकिएको कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जानकारी दिएको छ ।

    कतारमा अहिले पनि लाखौं नेपाली कार्यरत रहेका छन् । यद्दपी यो प्रतिवन्ध भने अल्पकालीन हो ।

    कतारले नेपालसहित बंगलादेश, चीन, इजिप्ट, भारत र इरानका नागरिकलाई प्रवेश रोकेको छ ।

    यसैगरी इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकका नागरिकलाई समेत तत्काल प्रवेश रोकिएको छ । कतारमा १२ जनाको यो रोगको संक्रमण देखिएको भएपनि मानिसको ज्यान भने गइसकेको छैन ।

  • महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित

    महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित

    मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो ।

    समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने घरेलु मैदानको फाइदा उठाउँदै अष्टेलिया हावी भयो ।

    मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

    अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन जोड्न सफल भयो । १८५ रनको लक्ष्य पछ्याएको भारत १९.१ ओभरमा ९९ रन बनाएपछि अलआउट भयो ।

    भारतका लागि दीप्ती शर्माले ३३ रन जोडिन्। वेद कृष्णमुर्तीले १९ तथा रिचा घोषले १८ रन र स्मृति मन्धनाले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    अष्ट्रेलियाकी मेगान स्कटले ४ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर बेथ मुनीले सर्वाधिक ७८ रन जोडेकी थिइन् ।

  • पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    काठमाडौं । पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिए । पारसको राजशी रवाफ समाप्त भइसकेको धेरै भइसक्यो, तर उनी आफ्नो स्टाटसलाई मेन्टेन गर्न नसकेका कारण आम नागरिकका नजरमा भने आलोचित पात्र हुन् ।

    शनिबार भने उनी अलि भिन्न रुपमा प्रस्तुत भए । पशुपतिनाथ मन्दिर परिसरमा उनले झाडु समातेर सरसफाइ गर्न लागे ।

    लामो समय लागू औषधको कूलतमा फसेका पारसको शारीरिक अवस्था कमजोर देखिन्छ । तर, झाडु लिएर सुरसफाई गरिरहेको उनको तस्वीर भने अहिले भाइरल भइरहेको छ ।

    पशुपतिमा पारस शाहलाई बोल्न आग्रह गरिएको थियो । तर, उनी बोलेनन् । उनलाई झाडु र पन्जा दिएर पन्जा लगाउन भनिएको थियो ।

    तर, पारसले पन्जा नलाई सिधै झाडु समातेर बडार्न थालेका थिए । उनले सरसफाई अभियानको शुभारम्भ गरेका थिए ।

  • होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी

    होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी

    काठमाडौं । नेपाल आयल निगमले बिदाको दिनमा समेत ग्यास ढुवानीलाई निरन्तर दिने भएको छ । कोरोना भाइरस त्रिभने र त्यसले नाका ठप्प हुने त्रासका कारण उपभोक्ता अहिले घरघरमा रहेका अतिरिक्त रित्तो सिलिन्डर भर्न लाइन लाग्न थालेका छन् ।

    सोहीकारण माग अनुसारको आपूर्तिका लागि बिदाको दिनमा समेत आयात जारी राख्ने निर्णयमा निगम पुगेको हो ।

    निगमका अनुसार ठूला सहरमा ग्यासको माग ह्वात्तै बढेको छ । माग अनुसारको आपूर्ति गर्दै उपभोक्ताको त्रास चिर्नसमेत पर्याप्त आपूर्ति गर्नु परेको निगमका अधिकारीहरुले जनाएका छन् ।

    निगमले फागुन २६ र २७ मा समेत निरन्तर ग्यास उपलब्ध गराउन भारतीय आयल कर्पोरेसन्सलाई आग्र गरेको थियो ।

    नेपालमा सार्वजनिक बिदाका बावजुत निरन्तर ग्यास आपूर्ति हुने भएको छ । दुई दिनमा करिब एक सय बुलेटमा ग्यास आयात हुने भएको छ ।

    सरकारलाई सचेत गराउने उद्देश्यले संचरमाध्यमबाट उपभोग्य सामानको चिन्ता गर्दै लेखिएका सामग्रीले अहिले उपभोक्तामा नकारात्मक असर पुगेको छ ।

    उनीहरुले अहिले नै त्रास आइसक्यो भन्दै खाद्यान्न तथा ग्यास मौज्दाद राख्न थालिसकेका छन् । सोही कारणमा बजारमा सामानको अभाव देखिन थालेको हो ।

  • बजार अनुगमनमा निस्किए उद्योगमन्त्री

    बजार अनुगमनमा निस्किए उद्योगमन्त्री

    काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ ।

    बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् ।

    वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना, खाद्य स्टोर तथा औषधि पसलमा पुगेर बिक्रेता र ग्राहकसँग आपूर्ति अवस्थाबारे बुझेको थियो ।

    मन्त्री भट्ट नेतृत्वको टोलीले जावलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाटलगायत स्थानमा स्थलगत अवलोकन गरी उपभोक्ता तथा विक्रेताको समस्या र बजारमा वस्तुहरुको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

    बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्याबारे सरकारको गम्भीर रहेको भन्दै समस्या आफूलाई जानकारी गराउन आग्रह गरेका थिए ।

    दैनिक उपभोग्य सामानको अभाव नखड्किने भन्दै उनले उपभोक्तालाई समेत ढुक्क हुन आग्रह गरेका छन् ।

  • कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

    कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

    काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ ।

    तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ ।

    दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय ३ देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार यस्तो जानकारी दिएको छ ।

    संगठनका अनुसार अहिले चीनमा संक्रमण क्रमशः घटिरहेको छ । तर, इरान र इटाली भने सबैभन्दा बण्ी प्रभावित भइरहेका छन् ।

    चीनमा मात्र मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको छ । चीनमा ८० हजार ६ सय ९६ जना मानिसमा यसको संक्रमण फैलिएको थियो ।

    ५७ हजार ८३ जना संक्रमित भने उपचार पछि घर फर्किएका छन् । चीनपछि इटालीमा इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण देखिएको छ ।

    यस मुलुकमा शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको कूल संख्या २ सय ३३ पुगेको छ। इरानमा ५ हजार ८ सय २३ जनामा संक्रमण हुँदा १४५ जनाले ज्यान गुमाएका छन् ।

    त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ । यहाँ सात हजार १ सय २४ जनामा संक्रमण पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    चीनले करीव करीव नियन्त्रणमा ल्याइसकेको यो रोगको संक्रमणले अब युरोप र एसियाका अन्य मुलुकमा नराम्रोसँग प्रभाव जमाइरहेको छ ।

    इटालीपछि पछिल्लो समय फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा केरोनाको फैलावट डरलाग्दो देखिएको छ । जापानमा ६ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोनाकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको निधन भएको छ ।

  • आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै

    आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै

    काठमाडौं । आज ११४ औं नारि दिवस मनाईंदैछ । नेपालसहित संसारभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।

    नारी मुक्ति आन्दोलनमा खटिएकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।

    यस वर्ष कोरोना भाइरसका कारण सरकारले नारी दिवसमा आयोना गर्ने विशेष कार्यक्रम भने स्थगित गरेको छ ।

    तर, अनौपचारिक क्षेत्रबाट भने विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । कोरोना भाइरसको त्रासका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् ।

    यस प्रस्तावलाई सम्मेलनले पारित गरेसँगै सन् १९११ बाट महिला दिवस मनाउन लागिएको हो । नेपालमा आज महिला हक र अधिकारको विषयलाई लिएर अनौपचारिक क्षेत्रमा अनेक कार्यक्रम राखिएका छन् ।

  • नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने

    नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने

    काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ ।

    शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ ।

    साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ । कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको तथ्यांकमा उल्लेख छ ।

    यसले नेपालको १० महिनाको माग धान्न सक्छ । अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुने गरेको छ । नुनको आयात समेत बीना व्यवधान भइरहेको संस्थानले जनाएको छ ।

    कर्पोरेशनका अनुसार चिनीको मौज्दाद समेत पर्याप्त छ । सोहीकारण अनावश्यक भण्डारण नगरी कृतिम अभाव सिर्जनाको वातावरण नगर्न आग्रह गरेको छ ।

    कर्पोरेशनसँग भएको चिनीले पाँच महिनाको माग धान्न सक्छ । अहिले दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा स्टक रहेको र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको बताइएको छ ।

    नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दाद रहेको छ ।

    दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दाद रहेका कारण तत्काल नेपालमा उपभोग्य सामानको अभाव नहुने सरकारी निकायसले स्पष्ट पारेका छन् ।

    केही दिन यता कोरोनाको त्रासले मानिसले अतिरिक्त सामान किनेर थुपार्ने थालेसँगै सरकारी स्टक पर्याप्त रहेको उल्लेख गरेको हो ।

  • अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ ।

    भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

    मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् ।

    उनले सुपरम्यान जीपलाइन गरिन् । धरान ४ तर्फको भेडेटारबाट सुरुवाती बिन्दु राखिएको छ । देवीथानमा ल्याण्डिङ बिन्दु बनाइएको छ ।

    जीपलाइन ६ सय ५० मिटर लामो रहेको छ । उचाई भने १५० मिटरसम्म रहेको छ । यसको दूरी करीव ४५ सेकेण्डमा पार हुने भएको छ ।

    वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले यहाँ जीपलाइन शुरु भएको हो । यसको लागत ३ करोड भएको कार्यक्रममा जानकारी दिइयो ।

    जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम गरी तीन वटा प्रडक्ट विकास गरिएको छ । यो जीपलाइन धुलिखेल जीपलाइन कै एक शाखा हो ।

    सोही समूहले विभिन्न स्थानमा जीपलाइनको विकास र बिस्तार गरिरहेका छन् ।

  • सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

    सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

    धनकुटा । धनकुटामा तमोर नदिले एक युवकलाई बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार एक युवक बेपत्ता भएको प्रहरीले पुष्टी गरेको छ ।

    भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका भिनित कुमार नमोर नदीमा खसेका थिए ।

    त्यसपछि उनलाई नदीले बगाएर वेपत्ता पारेको हो । उनी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत थिए ।

    शनिबार साथीहरुसँग घुम्न धनकुटा पुगेका उनीहरुले सेल्फी लिने क्रममा कुमार चिप्लएर नदीमा खसेका थिए ।

    बेपत्ता युवकबारे खोजी जारी रहेपनि अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । असुरक्षित रुपमा सेल्फी लिँदा अकालमा मानिसहरुको ज्यान जाने गरेको छ ।

  • पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान

    पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान

    इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् ।

    यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ ।

    देशको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाको ठूलो प्रभाव देखिएको छ । यहाँ डुबानले धेरै मानिसको ज्यान लिएको छ ।

    पूर्वी पञ्जाब राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा दुई बालबालिकासहित पाँच जनाको ज्यान गएको तथ्यांक रहेको छ ।

    भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रको जनजीवन प्रभावित भइरहेको छ ।

    पाकिस्तानी मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि ठूलो वर्षा भएका कारण उक्त भेगमा संकट उत्पन्न भएको हो ।

    अन्य मुलुकहरु कोरोनाबाट प्रभावित भइरहेका बेला पाकिस्तानमा भने प्राकृतिक प्रकोपले ठूलो संख्यामा मानिसको ज्यान लिएको हो ।

  • प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव

    प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् ।

    राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    राष्ट्रपति सीले दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको सम्बन्ध अझ मजवुत हुनुपर्ने उल्लेख गरेका छन् ।

    सम्बन्धलाई गतिशील पार्न र दुई देशका जनताको हितमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको राष्ट्रपतिको भनाई छ ।

    प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । उनी अहिले उपचारको सिलसिलामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका छन् ।

    प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भूटानी प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले स्वास्थ्य लाभको कामना गर्दै शुभकामना सन्देश पठाइसकेका छन् ।

  • प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

    प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

    काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

    प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको छ ।

    प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउने र फिजियोथेरापीको काम समेत भइरहेको उनले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीका भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको अस्पतालको भनाई छ । उता, प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमासमेत सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि सबै भाइटल र ल्याब सूचक सामान्य अवस्थामा छन्।

  • कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

    कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

    काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न नागरिकलाई आग्रह गरेको हो ।

    कोरोनाबारे भ्रमपूर्ण समाचार आइरहेको गृहको भनाई छ । हालसम्म नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरू पत्ता नलागेको र यसको प्रसार समुदायमा भएको अवस्था समेत नरहेको गृहले जनाएको छ ।

    यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलाग्न मन्त्रालयले अनुरोध गरेको छ ।

    कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न समेत गृहले सचेत बनाएको छ ।

    कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत गृहले अनुरोध गरेको छ । बढी भीडभाड हुने स्थानमा नजान र स्वास्थ्यको आफै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

  • कोरियाले घटायो नेपालीको कोटा

    कोरियाले घटायो नेपालीको कोटा

    काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदार कम लैजाने भएको छ । आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने जानकारी दिएको छ । अब कृषि क्षेत्रमा कोरियाले कामदार नलैजाने भएको हो ।

    एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार वार्ता भएको थियो ।

    उक्त वार्तामा दक्षिण कोरियाली पक्षले कामदारको कोटा घटाइएको जानकारी नेपाली पक्षलाई गराएको थियो ।

    आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने भने पनि यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका कामदार भने जान पाउने छन् ।

    गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा मात्र ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको इपीएस कोरियाको तथ्यांक रहेको छ ।

    दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा उत्तीण गर्नेलाई कोरिया लैजान थोको हो ।

    ईपीएस लागू भएयता ६३ हजार बढी नेपाली रोजगारीका सिलसिलामा कोरिया पुगेका छन्। अहिले करिब ४० हजार नेपाली कोरियामा रहेको अनुमान छ ।

    कोरिया नेपालीका लागि आकर्षक रोजगारीको केन्द्र समेत हो ।

  • सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् ।

    विश्‍व शान्ति स्थापनामा फौज पठाउने विश्‍वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ ।

    १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा उस्किलएको हो । यसअघि नेपाल पाँचौ स्थानमा थियो ।

    अहिले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनामा विभिन्‍न १२ द्वन्द्वग्रस्त देशमा नेपाली सुरक्षाकर्मी खटिएका छन् । नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरि कूल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी शान्ती सेनाका रुपमा विदेशमा सक्रिय छन् ।

    नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेको तथ्यांक छ ।

    पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

    हालसम्म १ लाख २९ हजार ८९९ जना सैनिक यो मिसनमा खटिएका छन् ।

    नेपाली सेनाबाट १ हजार ४०१ जना महिला शान्ति सैनिकले समेत भाग लिइसकेका छन् । अहिले १८१ जना महिला विभिन्‍न मिशन खटिएको तथ्यांक छ ।

  • औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

    औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो ।

    त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ ।

    नेपाल औषधि उत्पादक संघका अनुसार कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन दिइने छैन ।

    नेपालमा जस्तो सुकै परिस्थिति आएपनि तीन महिनासम्म पुग्ने औषधि स्टकमा रहेको छ ।

    त्यसपछी पनि औषधि उत्पादन गर्ने कक्चा पदार्थ पर्याप्त रहेको संघले उल्लेख गरेको छ ।

    संघका महासचिव विप्लव अधिकारीका अनुसार भूकम्प र नाकाबन्दीका समयमा समेत अभाव नभएको औषधि अहिले होला की भनेर चिन्ता नलिन आग्रह गरे ।

    नेपालमा एलोपेथिक औषधिका ६२ उद्योग सञ्‍चालनमा छन् । ४२ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् ।

    भारतले समेत नेपालमा निर्यात नरोक्ने बताइसकेको छ । यसअघि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

    तर, ती औषधि नेपालमा समेत उत्पादन सम्भव भएका औषधि हुन् ।

    अहिले तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको संघले उल्लेख गरेको छ ।

    सरकारले भने बिपदमा मात्र औषधिको महत्व बुझ्ने गरेको भन्दै संघले गुनासो समेत गरेको छ।

  • आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात

    आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात

    काठमाडौं । पश्चिमी न्युनचापीय प्रणाली प्रवेश गरेका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

    शनिबार दिनभर जसो पानी पर्नेछ । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

    राजधानीमा शुत्रबार रातीबाटै पानी पर्न लागेको हो । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात हुनेछ।

    शुक्रबार काठमाडौंको चन्द्रागरि लगायत उच्च डाँडाहरुमा भने बाँक्लो हिँउ परेको थियो ।

    फागुन अन्तिमको गर्मीमा समेत हिँउ परेपछि शुक्रबार चन्द्रागिरि पुग्नेहरु दंग देखिएका थिए ।

    काठमाडौं उपत्यकामा शुक्रबार राति पनि पानी २ मिलिमिटर वर्षा मापन भएको महाशाखाको तथ्यांक छ ।

    शनिबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस कायम देखिएको छ ।

    पानी परेपनि काठमाडौंमा भने तापक्रम घट्नै देखिएको छैन । तर, हिमाली र उच्च पहाडी भेगमा भने चिसा बढाउने भएको छ ।

    वर्षासँगै बैतडीको उच्च भेगमासमेत ठूलो हिमपातले जनजीवन प्रभावित भएको छ ।

  • वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने

    वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने

    काठमाडौं । नेपाली आन्तरिक वायुसेवा कम्पनीले कर्मचारीको सेवा सुविधा कटौती गर्ने भएका छन् । सेवा सुविधा कटौती गर्नुका साथै बेतलवी बिदामा बस्न समेत प्रोत्साहन गर्ने नीति कम्पनीले लिने भएका छन् ।

    कोरोना भाइरसका कारण पर्यटक आगमन ८० प्रतिशतसम्म ओरालो लागेको छ ।

    यस अवस्थामा व्यवसाय नचल्ने र खर्च धान्न मुस्किल पर्ने भन्दै व्यवसायीले कर्मचारीको सेवा सुविधा कटौतीको तयारी गरेका हुने । उनीहरुले सरकारसँग बैंकको ब्याजमा सहजिकरण गर्न समेत माग गरेका छन् ।

    अब मागको तुलनामा आपूर्तिसमेत धेरै भएका कारण जहाजहरु ग्राउन्डेड समेत गरिने भएको छ । आवश्यक नभएको अवस्थामा सबै जहाज चलाउनुको साटो बन्द गर्न लागिएको वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सचालक संघ (आयोन)ले जानकारी दिएको छ ।

    वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका हुन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालका मूख्य पर्यटकीय स्रोत बजार सबैभन्दा बढी प्रभावित भएका छन् ।

    त्यसमा पनि संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारभर पर्यटन सेवा नराम्रोसँग प्रभावित भएको छ ।

    यसले आन्तरिक वायुसेवा कम्पनीको व्यापार उल्लेख्य घटेको वायुसेवा सञ्चालकहरुको भनाई छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ४ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् ।

    सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।

    नजिकिएको बसन्तु ऋतुको पर्यटक बुकिङ समेत धमाधम रद्द भइरहेको अवस्थामा आगामी दिनमा अझै नराम्रोसँग व्यवसाय प्रभावित हुने आंकलन कम्पनीहरुको रहेको छ ।

    खासगरी नेपालको स्रोत बजार चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी मुलुकमा कोरोनाले प्रभाव देखाइसकेको छ ।

  • आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

    आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

    काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ ।

    बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ ।

    त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

    विमानस्थलमा ज्वरो नाप्ने उपकरणले यात्रुको ज्वरो नाप्ने र बिरामी भए सोही विमानस्थलबाट सिधै अस्पताल पठाइने भएको छ ।

    विमान भित्र थप यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले स्वास्थ चेकजाँच कडा गर्न लागेका हुन् ।

    बुद्ध एयरका अनुसार शुक्रबारबाट सबै यात्रुको ज्वरो नाप गर्न थालिएको छ ।

    विमान चढ्न जानुअघि ‘चेक इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्यो भन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई घर पठाउन थालेका छन् । बुद्धले काठमाडौंबाट उड्नु अघि र अन्य गन्तब्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको बताएको छ ।

    सिम्रिक एयरले समेत अब ज्वरो नापेर मात्र यात्रुलाई चढाउने भएको छ । कम्पनीहरुले ज्वरो आएमा हवाई यात्रा नगर्न र त्यसको साटो टिकट रद्द गरी पैसा फिर्ता लैजान आहृवान गरेका छन् ।

  • ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री

    ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री

    काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ ।

    किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो ।

    ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस सकिएर नभई अतिरिक्त मौज्दाद राख्नका लागि ग्याँस किन्न आएका थिए ।

    तर, सरकारले भने ग्याँसको अभाव नहुने भन्दै ढुक्का हुन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइनमा नबस्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

    उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना नै गर्नु परेको छ । उनले हटलाइनको व्यवस्था गरी तत्काल ग्याँस पाउने व्यवस्था हुने भन्दै उपभोग्य सामानको अतिरिक्त जोहो गर्नुपर्ने आवश्यकता नभएको स्पष्ट पारेका छन् ।

    उनका अनुसार आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था हुने भएको छ । उनले घरमा थप सिलिण्डर राख्नु पर्ने आवश्यकता नरहेको भन्दै सबै सामान यथावत रुपमा उपलब्ध हुने आश्वासन दिए ।

    नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको समेत उनले स्पष्ट पारे । बजारमा भने नागरिकले सरकारको विश्वास नगरी अतिरिक्त सामान थुपार्न थालेका छन् । यसले बजारमा व्यापारीलाई फाइदा गरेको छ ।

  • गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य

    गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य

    काठमाडौं । विजय कुमार गच्छदार समूहका एक दर्जन नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् । उक्त समूहका ११ जना केन्द्रीय सदस्य कांग्रेसमा थपिएका हुन् ।

    काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जानकराी गराएको छ ।

    रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्द्रकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रिय सदस्य बनेका छन् ।

    पछिल्लो समय सभापति देउवाले पार्टीलाई पूर्णता दिन धमाधम मनोनित गर्ने काम गरिरहेका छन् ।

  • चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

    चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

    काठमाडौं । कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ ।

    कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् ।

    उनका अनुसार खोपका लागि भाइरसबारे व्यापक अनुसन्धान गरिएको छ । भाइरसबारे अनुसन्धान गर्ने र बुझ्ने काम भइरहेको भन्दै उनले सोहीकारण अनुसन्धानमा केही ढिलाई समेत भइरकेको उल्लेख गरेका छन् ।

    आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले दावि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी भएको बताइएको छ ।

    कोरोना एक अज्ञात भाइरस हो । यो कसरी सर्छ र संक्रमण बढ्छ भन्नेबारे चिकित्सकले यकिन बताउन सकेका छैनन् । मानिसबाट मानिसमा सर्दा कुन माध्यमबाट सर्छ भन्ने समेत यकिन पत्ता लागेको छैन ।

    सोहीकारण खोप तयार पार्न समेत चूनौति थपिएको छ । तर यस रोगको संक्रमणबाट संसारभर ३२ सय मानिसले ज्यान गुमाइसकेका छन् ।

    करीव १ लाख मानिसमा संक्रमण देखिएको छ । पछिल्लो समय चीनमा संक्रमण र मृत्युको दर कम भएपनि विश्वका अन्य भूभागमा तिब्र रुपमा फैलिएको छ ।

  • बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण

    बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण

    लण्डन । कोरोना भाइरसले बेलायतमा एक जनाको ज्यान लिएको छ । बेलायतमा एक ७० वर्षिय वृद्धाको ज्यान गएको हो ।

    उनी बेलायतमा यस रोगको संक्रमणबाट निधन हुने पहिलो व्यक्ति हुन् । बेलायती स्वास्थ्य मन्त्रालयका अधिकारीले यसको पुष्टी गरेका छन् । अघिल्लो बुधबार अस्पताल भर्ना भएकी उनको बिहीबार ज्यान गएको हो ।

    बेलायतमा कोरोना संक्रमित एक सय १६ पुगिसकेका छन् । बेलायती अधिकारीहरुका अनुसार देशमा कोरोनाको संक्रमण चिन्ताजनक रुपमा फैलिरहेको छ ।

    पछिल्लो २४ घण्टामा ३० भन्दा बढी संक्रमित बढेसँगै बेलायतमा चिन्ता अझ बढाइदिएको हो । संसारभर ९० हजार मानिसलई यस रोगले संक्रमित पारेको छ ।