Author: Vishwanews.com

  • सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ ।

    उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ ।

    कोरोना भाइरस फैलिएमा त्यसको रोकथामका लागि यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार बसेको थियो ।

    सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०\२० वटा आईसीयू वेड थप गर्ने भएको छ ।

    प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी निर्णय सरकारले गरेको छ ।

    बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ ।

    जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००\१०० आइसोलेटेड बेड तयार हुने भएको छ ।

    भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाउने निर्णय समेत गरेको छ ।

    बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीको भत्ता बढाउने निर्णय समेत गरेको छ । बैठकले २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिदको निर्णय समेत गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान हुने विमानस्थलमा प्रस्थान गर्ने यात्रुको स्क्यान गरिने भएको छ । भारतसँगको सीमा नाकामा कडाई गर्ने निर्णय समेत सरकारले गरेको छ ।

  • पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण

    पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण

    काठमाडौं । संसारभर महामारीका रुपमा फैलिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको छैन । तर, नेपाल बाहिर भने यस भाइरसले नेपालीलाई संक्रमणको शिकार बनाइसकेको छ ।

    पछिल्लो समय यूरोपमा यो भाइरसको फैलावट तिब्र छ । सोही क्रममा पोर्चुगलमा एक नेपाली नागरिकमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    पोर्चुगलमा कृषि मजदूरका रुपमा कार्यरतएक नेपालीमा संक्रमण पुष्टी भएको संचारमाध्यमले लेखेका छन् ।

    फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले पुष्टी गरेका छन् । यद्दपी उनको परिचय खुलाइएको छैन ।

    पछिल्ला दिनमा पोर्चुगलमा धेरै नेपाली पुगेका छन् । यस मुलुकमा २ सय ४५ जनामा कोरोना पुटी भएको छ ।

    केही दिन अगाडी यूएईमा दुई नेपाली कामदारमा कोरोना देखिएको थियो । उनीहरुलाई नेपाल ल्याउने पहल भइरहेको दूतावासले जनाएकाा छ ।

    अवस्था सामान्य रहेका कारण नेपालमै ल्याएर उपचारको पहल भइरहेको दूतावासको भनाई छ । यसबाहेक नेपाल भित्र भने कोरोना छिरिसकेको पुष्टी भएको छैन ।

  • कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

    कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

    कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ ।

    यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो ।

    कतारले कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयास्थित क्याम्पलाई क्वारेन्टाइनमा रुपान्तरण गरेको छ ।

    गत बिहीबारबाट कामदारलाई शिविर बाहिर ननिस्कन भनिएको छ । यहाँ आठ वटा भवनमा कामदारलाई राखिएको छ ।

    डाक्टरले नियमित स्वास्थ्य चेकजाँच गरिरहेका छन् । उनीहरुलाई अस्पतालबाटै खानाको व्यवस्था गरिएको छ ।

    कुनै पनि कामदार नभागुन भनेर सुरक्षा व्यवस्था भने कडा बनाइएको छ ।

    पछिल्ला दिनमा खाडी र अरबी मुलुकहरुमा समेत कोरोनाको संक्रमण तिबरु रुपमा फैलिरहेको छ । यद्दपी इरान बाहेक अन्य मुलुकमा ज्यान भने गइसकेको छैन । कतारमा सार्वजनिक यातायात बन्द गरिएको छ ।

    वायुसेवा कम्पनीहरुले सयौं उडान कटौती गरिसकेका छन् ।

  • इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो

    इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो

    रोम। विश्वभर कोरोना भाइरस फैलिने क्रम तीब्र छ । विश्व स्वास्थ्य संठगनका अनुसार आइतबारसम्म कोरोनाले १ सय ५७ देशमा आफ्नो उपस्थिति देखाइसकेको छ । रोगको संक्रमणबाट मर्नेको संख्या ६५ सय नाघिसकेको छ ।

    कोरोना चीनको वुहानबाट ३१ डिसेम्बरमा पहिला पटक देखिएको थियो । तीन महिनाको बीचमा यस रोगले ६ हजार पाँच सय १५ जनाको ज्यान लिएको छ ।

    आइतबार एकै दिन कोरोनाले संसारभर ६ सय ८२ जनाले ज्यान गुमाए । इटलीमा विगत २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ ।

    इरानमा १ सय १३ जनाको निधन भएको छ । स्पेनमा एकै दिन ९६ जनाले ज्यान गुमाए ।

    कोरोनाको संक्रमण रहेका उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको समेत ज्यान गएको इटलीका सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

    मेयर भ्यालोटीको शुक्रबार ज्यान गएको हो । उनी ७० वर्षीय थिए । ७ मार्चमा उनी अस्पताल भर्ना भएका थिए ।

    इटलीमा यस भाइरसको संक्रमणबाट ५० वर्षमुनीका नागरिकको ज्यान गएको छैन । इटलीमा मात्र यस भाइरसले १ हजार ८ सय ९ को ज्यान गएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९० नयाँ संक्रमित भेटिएका छन् । इरानमा १ हजार २ सय ९ जना नयाँ संक्रमित देखिएका छन् ।

    यस मुलुकमा कूल मृतकको संख्या ७ सय २४ पुगेको छ । संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ । जर्मनीमा आइतबार मात्रै थप एक हजार २सय १४ जनामा संक्रमण देखिएको । जर्मनीमा कूल ११ जनाको मृत्यु भएको छ ।

    चीनमा २४ घण्टा भित्र १४ जनामा संक्रमण देखिएको । त्यहाँ थप १४ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको विव स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

  • बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो ।

    निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले १० बजे सडकमा अति धेरै ट्राफिक जाम हुने गरेको छ ।

    मन्त्रालयले आइतबार स्कूलहरु ९ बजे नै संचालन गर्ने सम्बन्धमा निजी विद्यालय सञ्चालकका प्रतिनिधिसँग छलफल गरेको छ ।

    छलफलमा मन्त्रालयले विद्यालय सञ्चालनको समय परिवर्तनको प्रस्ताव गरेको हो ।

    अहिले १० बजेबाट ५ बजेसम्म स्कूल चल्ने गरेका छन् । छलफलमा निजी तथा आवासीय विद्यालय एसोसिएशनका प्रतिनिधीले सरकारको प्रस्तावका सम्बन्धमा संघभित्र छलफल गर्नुपर्ने बताएका थिए ।

    सामुदायिक विद्यालयसहित सबै विद्यालय एकै समयमा खुल्ने नीति ल्याउनु पर्ने उनीहरुको भनाई छ ।

    काठमाडौँमा स्कूलले विद्यार्थी ओसार्दा सडकमा एकसाथ धेरै बस निस्कन्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

    सरकारले अब नजिकको स्कूलमा मात्र विद्यार्थीलाई पढाउने अविभावकलाई प्रोत्साहित गर्ने गरी नयाँ समय अगाडी सारेको हो । यसले बसले यात्रु बोक्ने बाध्यता कम हुनेछ ।

  • पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

    पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

    पोखरा । आइतबार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राती करीव साढे ९ बजे भूकम्पको धक्का महशुस गरिएको हो । कास्कीको पुरै भूभाग, म्याग्दी र स्यांगजासम्म भूकम्पको धक्का महशुस गरिएको छ ।

    भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो।

    स्थानीयहरु भूकम्पपछि घरबाहिर निस्कएका थिए । २०७२ पछि यति ठूलो धक्का महशुस भएको प्रतिक्रिया स्थानीयले दिएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

  • प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् ।

    उनका अनुसार अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ ।

    स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गरिएको छ । अहिले भारतसँग नेपालका चार वटा नाकामात्र खुला भएका छन् । अन्य नाका बन्द छन् ।

    तेस्रो मुलुकका नागरिक त्रिभुवन विमानस्थलबाट मात्र नेपाल छिर्न पाउँछन् । विमानस्थलबाट आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा राखिने भएको छ ।

    तर, उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्नु पर्छ । होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गरिने छ ।

    लक्षण देखिएमा अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ आए सबै उपचार सरकारले गर्नेछ । उनका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको परीक्षा ५ चैतमा सकिनेछ । त्यसपछि विद्यालय एक महिना बन्द हुनेछन् ।

  • कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ ।

    उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ ।

    कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ ।

    आजबाट नेपाल आउने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति लागु गरेको सरकारले विदेशबाट नेपाल आउन समेत कडाई गरिसकेको छ ।

    तर, सम्भावित जोखिमसँग लड्न तयारीको काम समेत उत्तिकै भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले १२० देशमा पुगेको छ । तर, चीनको छिमेकी मुलुक नेपालमा भने एक जनामा मात्र संक्रमण पुष्टी भएको थियो ।

    उनी पनि निको भएर फर्किएका छन् । त्यसपछि नेपाल अहिले कोरोनामुक्त छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम बारे भएका प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिए ।

    उनले कोरोनाको संक्रमण नै नेपाल प्रवेश नहोस भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार हुने गरी व्यवस्थापन मिलाइएको छ ।

    वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । उनले नडराइकन सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

    रोगको संक्रमण भइहालेमा सरकारले निशुल्क उपचार गर्ने समेत उनले जानकारी गराए ।

    नेपालमा अहिलेसम्म ४ सय ६४ जनामा कोरोना परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएकोछ ।

    कोरोनाको सम्भावित जोखिमका आधारमा सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने उनले बताए । अहिले काठमाडौं उपत्यका भित्र सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड रहेका छन् ।

  • भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव

    भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव

    काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो ।

    वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापनाको प्रस्ताव गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राखे । उनले यस कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा समेत गरेका छन् ।

    अन्य देशबाट स्वेच्छिक रुपमा योगदान गर्न सक्ने उनको प्रस्ताव छ । यस कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने उनले प्रस्ताव गरेका छन् ।

    यस प्रस्तावसँगै भारतीय प्रधानमन्त्रीले सार्कको साझा नेताका रुपमा उभ्याउन आफूलाई सफल भएका छन् ।

    भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको समेत उनले जानकारी दिए । भारतीय प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्न भारत तयार रहेको उल्लेख गरे ।

    वार्तामा आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको सबै मुलुकले स्वागत गरे । अन्य मुलुकबाट रकमको घोषणा भएको छैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नु पर्ने बताए ।

  • आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ ।

    अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो ।

    कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको हो ।

    अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल झर्ना साथ क्वारेन्टाइनमा बस्नका लागि एक फारम भर्नुपर्छ । विभागका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था स्वयमले मिलाउनु पर्छ ।

    क्वारेन्टानमा बसे वा नबसेको अनुगमन हुनेछ । नेपालमा तेस्रो मुलुकबाट आउने नागरिकको अनअराइभल भिसा बन्द गरिएको छ ।

    उनीहरुले दूतावासमा गएर निरोगिताको प्रमाणपत्र देखाएमात्र नेपाल आउन पाँछन् । त्यसरी आएकालाई समेत क्वारेन्टाइनमा राख्न लागिएको हो ।

    त्यसो त तेस्रो मुलुकका नागरिकले अब नेपाल आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्न पाउँछन् ।

    आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो ।

    यसलाई चिकित्सकीय उपचारमा जानु भन्दा पनि सचेतनाको एक प्रक्रिया मानिन्छ । रोग लागेको भेटिएमा मात्र अस्पतालमा जानुपर्छ । क्वारेन्टाइनमा बसको अवधीमा समेत स्वास्थ्य जाँच भने गराउनु पर्छ ।

  • नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ ।

    भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला हुनेछन् ।

    आयात निर्यात वा सामानको ढुवानी भने सबै नाका निर्वाध हुनेछ । मानिसको आवात जावत रोकिएको हो ।

    भारतको निर्णयले स्थानीय तहमा जावतजावत प्रभावित हुनेछ । हरके दिन हजारौं मानिस सीमा वारपार गर्छन् ।

    नेपालमा वा भारतमा निर्वाचन हुने समयमबाट बाहेक नाका बन्द भएको थिएन् । यसअघिको नाकाबन्दीको समयमा पनि मानिस रोकिनु परेको थिएन ।

  • यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो

    यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो

    पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् ।

    फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल  टावर भ्रमणमा रोक लगाइएको छ ।

    कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    चीनपछि सबैभन्दा बढी मानिस इटलीमा मरेका छन् । यहाँ शनिबारसम्म १४ सय ४० जना मानिसको ज्यान गएको छ ।

    युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। इटलीमा अहिले पनि १५१८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    कोरोनाकै काण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको मृत्यु भएको छ । उता, चीनमा भने यो रोगको संक्रमण करीव नियन्त्रणमा आइसकेको छ ।

    फ्रान्समा क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसल बन्द गरिएको छ ।

  • आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने

    आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने

    काठमाडौं । आज सार्क क्षेत्रका सरकार प्रमुखहरु भिडियो वार्तामा जोडिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क मुलुकका सबै सरकार प्रमुखहरु एक आपसमा भिडियो वार्ता गर्न लागेका हुन् ।

    खासगरी कोरोना भाइरसको संक्रमणबाट बच्न साझा रणनीति बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका थिए ।

    आइतबार साँझ सार्क क्षेत्रका नेताहरु भिडियो वार्तामा जोडिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले छलफल गर्ने कार्यालयको भनाई छ ।

    आइतबार साँझ हुने वार्तामा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने भएका छन् । उनी अस्वस्थताका वावजुत वार्तामा सहभागी हुन लागेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा ओली उपस्थित हुनेछन् ।

    भिडिओ कन्फरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

    अहिले सार्कको अध्यक्ष नेपाल छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै मोदीको प्रस्तावको टुइटमार्फत स्वागत गरेका थिए ।

  • हिमेश पन्त बने कमेडी च्याम्पियन

    हिमेश पन्त बने कमेडी च्याम्पियन

    काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट धादिङका हिमेश पन्त विजयी भएका छन् ।

    उनले २५ लाख नगद, कारसहित उपाधी समेत जिते । शनिबार सम्पन्न फाइनलमा उनले दुई प्रतिस्पर्धीलाई उछिनेका हुन् ।

    फाइनलमा तीनजना बीच प्रतिस्पर्धी गराइएको थियो । फाइनलमा गेष्टको रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए ।

    उनले सुमन कोइराला र खड्गबहादुर पुन मगरलाई हराउँदै उपाधी जितेका हुन् । नेपालमा पहिलो पटक आयोजना गरिएको यो टेलिभिजन शो सर्वाधिक रुचाइएको कार्यक्रममा पर्न सफल भएको थियो ।

  • कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ ।

    कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् ।

    प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको डल्लुबाट कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेको प्रहरीले उल्लेख गरेको छ ।

    यसैगरी काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेका छन् मञ्जुश्री सप्लायर्सबाट ३ रुपैयाँ पर्ने एउटा मास्कलाई ३१ रुपैयाँमा होलसेल दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरिरहेको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

    कोरोनाको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा सामान बेच्ने गिरोह सक्रिय रहेका छन् ।

  • तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी

    तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी

    काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ ।

    आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ ।

    यो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगिसकेको छ । अब आयोजना अन्तर्गत प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाले उल्लेख गरेको छ । यो आयोजना स्वदेशी लगानीमा बनेको हो ।

    आयोजनाको क्षमता भने ४५६ मेगावाट हो । आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थलको अवस्था पत्ता लगाउन पानी भर्ने तयारी छ ।

    बाँधमा पानी जम्मा गरेर संरचनाको परीक्षण गर्न लागिएको हो । आयोजनाका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ । आयोजनाले आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

    अहिले मुख्य सुरुङमा अन्तिम चरणको ढलानको काम भइरहेको छ । सबैभन्दा कठिन मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।

  • इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

    इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

    रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

    यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य भएपनि अहिले इटलीमा भयाभह अवस्था सिर्जना गरेको छ ।

    हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।

    यस देशमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको संगठनले जनाएको छ ।

    डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । इटलीपछि इराना बढी संक्रमित देखा परेका छन् ।

    यसैबीच, चीनले शुक्रबारसमेत ९ जना विशेषज्ञ डाक्टरसहित सयौं टन सहायता सामग्री बोकेको जहाज इटली पठाएको छ ।

    इटलीमा फैलिएको महामारी नियन्त्रणमा चीनले सहयोगको हात बढाएको छ ।

    यूरोपेली मुलुकमा कोरोनाको सन्त्राससँगै संगठनले यूरोपलाई कोरोनको इपिसेन्टर घोषणा गरेको छ । यसको मतलव अब चीन यसको संकटबाट उम्किएको छ ।

  • कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल

    कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल

    वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

    उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो ।

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ । संगठनले अब कोरोनाको इपीसेन्टर यूरोप भएको समेत घोषणा गरेको छ । किनकी चीन यो संक्टबाट माथि उठिसकेको छ ।

    संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्ने भएको छ । केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्ने राष्ट्रपति ट्रम्पको भनाई छ ।

    आगामी साता अमेरिकाका लागि महत्वपूर्ण रहेको भन्दै उनले कोरोना नफैलिन सचेत रहेका समेत उल्लेख गरे । उनले सरसफाईमा ध्यान दिन, आवश्यक काम नपरेसम्म घरबाहिर नजान समेत सर्वसाधारणलाई सचेत गराएका छन् ।

    यसअघि अमेरिकाीले यूरोपबाट हुने सबै उडान बन्द गरिसकेको छ ।
    विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म कोरोनाबाट १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् । ५ हजार जनाको ज्यान गएको छ ।

  • कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

    कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

    काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ ।

    कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।

    उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। चारजनामध्ये दुई पुरुष र दुई महिला हुन् ।

    यससँगै नेपाल अहिले पनि कोरोनामुक्त क्षेत्रकै रुपमा स्थापित हुन सफल भएको छ । नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको थियो ।

    तर, उनी उपचार पछि घर फर्किसकेका छन् । त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छैन ।

    छिमेकी मुलुक चीनमा उत्पत्ती भएर संसारभर फैलिएपनि यो संक्रमणबाट नेपाल भने चोखो रहेको छ ।

    नेपालबाहिर भने नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ । उनीहरु सम्बन्धित मुलुकमै उपचारार्थ रहेका कोरोनाबाट नेपाल अहिलेसम्म सुरक्षित रहन सफल भएको छ ।

  • औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण

    औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण

    काठमाडौं । सरकारले औषधी र ग्यासको पर्याप्त मौज्दाद रहेको भन्दै अतिरिक्त किनेर स्टोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

    कोरोनाको संक्रमण भित्रने त्रासमा सर्वसाधारणले औषधी र ग्यासको अतिरिक्त भण्डारण गर्न थालेपछि सरकारी निकायले यसरी मौज्दाद घरमा नगर्न सचेत गराएका हुन् ।

    औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको जानकारी गराएको छ ।

    आवश्यकता भन्दा धेरै खरिद गर्दा बजारमा औषधी नै नपाउने अवस्था देखिएको विभागको भनाई छ ।

    विभागसँग अझै ६ महिनालाई पुग्ने अत्यावश्यक औषधी रहेको बताइएको छ । उता, नेपाल आयल निगमले समेत बजारमा नियमित आपूर्ति भइरहेका कारण भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

    ग्यासको अतिरिक्त भण्डारण बढेपछि बजारमा ग्यास सिलिण्डर नै नपाउने अवस्था सिर्जना भएको छ ।

    आपूर्ति व्यवस्थ प्रभावित नभएको र नहुने भन्दै उपभोक्तलाई अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो ।

    नेपालमा नाकाबन्दीका बेला सरकारले आपूर्ति सहज गर्न नसकेको डर नागरिकमा छ ।

    सोहीकारण कोरोना भाइरसको संक्तमण पछि भारतले नाकाबन्दी गर्ने र त्यसले आपूर्ति प्रभावित हुने डर नागरिकमा छ । तर, सरकारले भने यो पटक आपूर्ति व्यवस्था प्रभावित नहुने स्पष्ट पारिसकेको छ ।

  • नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

    नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

    काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गरिरहेको नियमित उडानको तालीका हेरफेर गरेको छ । कतिपय गन्तब्यको उडान कटौती भएको छ भने कतिपय गन्तब्यको उडान रद्द गरिएको छ ।

    कम्पनीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती भएको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने नेपाल एयरलाइन्सले स्पष्ट पारेको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण नेपाल एयरलाइन्सले विभिन्न रुटमा आफ्नो उडान तालीका परिवर्तन गरेको जनाएको छ ।

    नेपाल एयरलाइन्सले बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ । मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

    थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरिएको छ । हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले काठमाडौं दोहा उडान फागुन २७ गते देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।

    उडानका टिकट खरीद गरेका यात्रुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध हुने नीति ल्याएको छ ।

    टिकट उडानको मिति १ पटक परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल एयरलाइन्सले शुक्रबार जानकारी गराएको हो ।

  • बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

    बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने

    काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने घोषणा गरेको छ । आइतबारबाट ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने भएको कम्पनीले जानकारी दिएको छ ।

    भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ ।

    तर, यो निर्णयले नेपाली यात्रुलाई भने प्रभाव पार्दैन । तर, यात्रामा झण्झट हुने र कोरोनाबाट बच्न भन्दै बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको हो ।

    टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बुद्धले विगत दुई वर्षदेखि वनारसमा नियमित उडान गरिरहेको छ ।

  • कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

    कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

    काठमाडौं । नोवल कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ५ हजार नाघेको छ । डिसेम्बर अन्तिम साताबाट फैलिन थालेको यो रोगको संक्रमणले छोटो समयमै हजारौं मानिसको ज्यान लिएको हो ।

    ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको भाइरसले शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ हजार ८० जनाको ज्यान गएको छ ।

    यो तथ्यांक ३९ देशमा भएको मृत्युको हो । यसमध्ये सर्वाधिक मानिसको ज्यान चीनमा गएको छ । यो भाइरस १३२ देशमा फैलिएको छ ।

    चीनमा मात्र ३ हजार १७७ जनाको ज्यान गएको तथ्यांक रहेको छ । चीन बाहिर १ एक हजार ९ सय ३ पुगेको छ । यो भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य महामारी घोषणा गरेको छ ।

    संक्रमण देखिएको मध्ये ७० हजार ७ सय १६ जना मानिस निको भएर घर फर्किएका छन् ।

    अहिले विभिन्न मुलुकमा ६२ हजार ३६० जना उपचारको क्रममा रहेका छन् । यसमध्ये अब चीनमा मात्र १३ हजार ४८७ कोरोना संक्रमित छन् ।

    यहाँ ८० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको अधिकांश निको भएर फर्किसकेका छन् । अहिले चीनमा नयाँ बिरामी देखिन छाडेका छन् भने मर्नेको संख्या समेत नियन्त्रण भित्र आइसकेको छ ।

    तर, यूरोप र अमेरिकी मुलुकमा भने तिब्र रुपमा फैलिरहेको छ ।

  • अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

    अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

    काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो ।

    अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

    अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । उनी मुस्कुराएका थिए । चिकित्सकहरुका अनुसार बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनु पर्ने भएको छ ।

    एक महिनासम्म उनको परीक्षण जारी रहने छ । नियमित भेटघाट र बाहिर हिँडडुल गर्न भने अझै केही समय पाउने छैनन् ।

    संक्रमणको डरले चिकित्सकले यस्तो सुझाव दिएका हुन् । चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको जोखिम रहन्छ । प्रधानमन्त्री १९ फागुनमा अस्पताल भर्ना भएका हुन् ।

  • श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द

    श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द

    काठमाडौं । सरकारले श्रम स्वीकृति बन्द गरेको छ । संसारभर कोरोनाका भाइरसको सन्त्रास बढेसँगै विदेश जाने नेपालीलाई स्वदेशमै रोक्न सरकारले यस्तो नीति लिएको हो ।

    यसअघि बढी संक्रमण भएका र नेपालीलाई प्रवेशमा रोक लगाएका मुलुकमा मात्र रोकिएको श्रम स्वीकृति अब सबै मुलुकका लागि बन्द भएको हो ।

    यसबाट वैदेशिक राजेगारीमा जाने नेपालीको रोजगारी प्रभावित हुने भएको छ । यसले अर्थतन्त्रमा भने निकै नरकारात्मक प्रभाव पार्नेछ ।

    तर, नेपालीको स्वास्थ्यमा ध्यान राख्दै सरकारले श्रम स्वीकृति रोक्न्ने निर्णय लिएको बताएको छ । अहिले वैदेशिक रोजगारीमा करीव ४५ लाख नेपाली रहेको अनुमान छ ।

  • कोरोनाले भारतमा पनि लियो ज्यान

    कोरोनाले भारतमा पनि लियो ज्यान

    कर्नाटक । नेपालको छिमेकी मुलुक चीनबाट शुरु भएको कोरोना भाइरसले अर्को छिमेकी मुलुक भारतमा पनि ज्यान लिएको छ ।

    भारतको कर्नाटकमा ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । भारतको स्वस्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

    मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरब बसेर घर फर्किएका थिए ।

    घर फर्किएसँगै श्वासप्रश्वास र निमोनियाबाट ग्रस्त भएका थिए । त्यसपछि अस्पताल पुगेका उनलाई कोरोना संक्रमण पुष्टी गरेको छ ।

    कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।

    भारतमा ७४ मानिसमा कोरोना भाइरस देखिएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना बिरामी थपिएका छन् ।

  • अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

    अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द  गरेको छ । नेपालमा नियमित आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन, समारोहलाई मे ३१, २०२० सम्म स्थगित गर्ने निर्णय सरकारले गरेको हो ।

    खासगरी नेपाल आउन भिसा सुविधा रोकेपछि सरकारले सभा सम्मेलन पनि बन्द गरेको हो । कोरोना सन्त्रासका कारण संसारभर यस्ता गतिविधि ठप्प भएका छन् ।

    यसले नेपाल पनि अछूतो रहेन । यसबीचमा नेपाल भ्रमण वर्षका थुप्रै कार्यक्रम आयोजनाको तयारी रहेको थियो ।

    तर, कोरोनाले भ्रमण वर्ष नै प्रभावित बनाइदिएको छ । फेब्रुअरीसम्म करीव १ लाखको संख्यामा आएका पर्यटक मार्चबाट करीव ९० प्रतिशत घट्ने अनुमान रहेको छ ।

    संसारभर मुलुकहरुले आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएका छन् । सरकारले नागरिकलाई भीडभाडमा नजाने र सीनेमा हलमा समेत नजान आग्रह गरेको छ ।

  • गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

    गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

    काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ ।

    कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो ।

    सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने भएको छ ।

    नेपाल आउन चाहने गैर आवासीय नेपालीले अब नेपाल आइपुग्नु भन्दा कम्तिमा ७ दिन अगाडीको स्वास्थ्य जाँचको प्रमाणपत्र सहित सम्बन्धित मुलुकको नेपाली कूटनीतिक नियोगबाट भिसा लिनु पर्ने भएको छ ।

    कोरोनाले यूरोप र अमेरिकामा बढी आक्रमण थालेसँगै सरकारले नेपाल प्रवेश गर्ने विदेशीको भिसा सुविधा समेत रद्द गरिसकेको छ ।

  • रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

    काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो ।

    यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ ।

    बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो । तर, सरकारले कोरोना भाइरसको संक्रमण भित्रन नदिने भन्दै पर्वताराहणका रोक लगाउने निर्णय गरेको हो ।

    यसअघि चीनले पनि आफ्नो तर्फबाट आरोहणअनुमति नदिने निर्णय गरेको छ । सगरमाथामा आरोहणका लागि बाटो बनाउन टोली लागिसकेका छन् ।

    आधार शिविरमा पुगिसकेको यो टोली यसपटक आरोहणमा जाने नेपालीलाई मात्र सहयोग गर्न सक्नेछ ।

  • दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने

    दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारको टाउको दुखाई बनेको छ ।

    ठूलो जनसंख्या भएको भारतमा एकसाथ धेरै जनामा यो भाइरस संक्रमण हुने डरले स्कूल, कलेज तथा सिनेमा हल बन्द गरिएको छ ।

    बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरे ।

    जारी रहेका परीक्षासमेत बन्द भएका छन् । यसअघि सरकारले भारतमा पर्यटक भिसा बन्द गरेको थियो ।

    बिहीबारसम्म भारतमा ७३ जनामा यसको संक्रमण पुष्टी भएको छ । बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमार्फत सबै एकजुट भएर यस रोगविरुद्ध मुकाविला गर्ने बताएका छन् ।

    उनका अनुसार कोरोनाको संक्रमण अन्त्य नभएसम्म केन्द्र सरकारका कुनै पनि मन्त्रीले विदेश भ्रमण गर्ने छैनन् । उनले आफ्ना नागरिकलाई समेत अत्यावश्यक नभएसम्म विदेश नजान सुझाव दिएका छन् ।