Author: Vishwanews.com

  • कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

    कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन

    काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई भरपुर सहयोगको आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपाललाई हतोत्साही नहुन आग्रह गरेकी छिन् ।

    आवश्यक स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउँदैछ । यसका लागि विशेष विमानहरु ल्याउने तयारी समेत भइरहेको छ ।

    नेपालमा आइतबार मात्र थप एक कोरोना संक्रमित पुष्टी भएको थियो । कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालमा मानिसहरु त्रासमा छन् । सरकारले नेपाललाई आजबाट पुरै लकडाउन गरेको छ ।

    राजदूत यान्छीले यस अवस्थामा चीन नेपालको साथ मै रहेको बताएकी हुन् । उनले नेपालको लागि चीनले प्रार्थना गरिरहेको समेत उल्लेख गरेकी छिन् ।

    चिकित्सा सामग्रीहरूको सहयोगका लागि चीनले प्रयास गरिरहेको उनको भनाई रहेको छ । गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको त्रासबाट चीन अब माथि उठिसकेको छ ।

    तर, विश्वभर यसको त्रास अभ बढिरहेको छ । चीनमा ३ हजार २ सय ७७ मानिसको ज्यान गएको थियो ।

    तर, अहिले मृत्युदर र नयाँ बिरामी देखिने क्रमश करीव शून्यमा झरिसकेको छ । चीन आफू कोरोनाबाथि माथि उठेपछि विश्वका अन्य प्रभावित मुलुकलाई सहयोगमा निरन्तर जुटिरहेको छ ।

  • मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

    मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

    काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो ।

    नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

    खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । मानिसको आवागमन पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ । अब उडान समेत रोकिएका छन् ।

  • कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

    कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती

    काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवती कतार एयरवेज चढेर नेपाल आएको खुलेको छ । नेपाल पर्यटन बोर्डले यसको पुष्टी गरेको हो । कतार एयरवेजबाट चैत ४ (१७ मार्च)मा कूल ४६४ यात्रु नेपाल आएका थिए ।

    कतार एयरवेजले त्यस दिन तीन उडान गरेको थियो । त्यसमध्ये एक उडानमा उनी थिइन् । यद्दपी सरकारी निकायले भने उडान नम्बर सार्वजनिक गरेका छैनन् ।

    उनी आएको जहाजका यात्रुलाई स्वतःरुपमा अस्पताल पुगेर जचाउन आग्रह गरिएको छ । लक्षण देखिएमा तत्काल अस्पताल जान समेत आह्वान गरिएको छ ।

    नेपालमा यसअघि एक जनामा मात्र कोरोना पुष्टी भएको थियो । उनी भने निको भएर घर फर्किएका छन् ।

  • देशभरका जिल्लामा धमाधम लकडाउन

    देशभरका जिल्लामा धमाधम लकडाउन

    काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ ।

    यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन घोषणा गरेका छन् ।

    काठमाडौं उपत्यका बाट बाहिरिने र भित्रने सबै सबै सवारी साधनलाई रोक्ने तयारी गरिएको छ । राजधानीमा समेत मानिसको आवागमन बन्द गर्ने तयारी गरिएको छ ।

    सोमबार नेपालमा थप एक जनामा कोरोनाको पुष्टी भएसँगै सरकारले आवागमन रोक्ने तयारी गरेको हो ।

    स्थानीय तहहरुले भने पहाड र तराईमा आवागमन रोक्ने गरी धमाधम निर्णय गरिसकेका छन् । यसले कम्तिमा एक साता मुलुक ठप्प हुने देखिएको छ ।

    यता, नेपाली सेनाले समेत आवश्यक परे लकडाउनको तयारीमा उत्रनु पर्ने भन्दै त्यसका लागि तयार रहन सबै निकायलाई सचेत गराइसकेको छ । लकडाउन कार्यान्वयनमा सेना समेत परिचालन हुन सक्छ ।

  • फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

    फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

    काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

    मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक युवामा कोरोना पोजिेटिभ देखिएको थियो ।

    उनी उपचार पछि निको भएर घर फर्किसकेका छन् । १९ वर्षिय युवती फ्रान्सबाट कतार हुँदै ४ चैतमा नेपाल आएकी थिइन् । उनीसँगै कतारसम्म आएकी भियतनामकी एक साथिमा कोरोनाको पुष्टी भएपछि उनी टेकु अस्पतालमा जाँचका लागि स्वयम पुगेकी थिइन् ।

    जाँच गर्दा उनमा कोरोनाको पुष्टी भएको हो । आइतबार साँझ उनको अन्तिम रिपोर्ट आएको थियो । उनको अन्तिम रिपोर्टले कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेको हो ।

    मन्त्रालयका अनुसार ति युवतीको सम्पर्कमा आएका आफन्तहरुलाई आइसोलेसनमा राखिएको छ । साथै उनी आएको जहाजमा भएका सबै मानिसहरुलाई जाँचका लागि टेकु अस्पतालमा आउन आह्वान समेत गरिएको छ ।

  • कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित

    कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित

    काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय ८० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३ लाख ३६ हजार मानिस यस भाइरसकोे चपेटामा आइसकेका छन् ।

    यसमध्ये आइतबार अमेरिकामा सर्वाधिक नयाँ बिरामी भेटिए । आइतबार एक दिनमै अमेरिकामा ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका हुन् ।

    विश्वभर आइतबार एकै दिन १ हजार ६ सय जनाको ज्यान गयो । यसमध्ये सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको ज्यान गएको छ ।

    यस भाइरसका कारण इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ नाघेको छ ।

    इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ।

    आइतबार इटलीमा साढे ५ हजार थप संक्रमित भेटिए । स्पेनमा ३ हजार, जर्मनीमा साढे २ हजार तथा फ्रान्समा १५ सय भन्दा बढी संक्रमित थपिएका छन्।

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ छ ।

  • भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो

    भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो

    काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो ।

    सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ ।

    जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको नमुना संकलन गरेर पठाउने थैली समेत १ लाख थान नेपालले मगाएको छ ।

    मोनिटर सहितको भेन्टीलेटर १ सय वटा, ल्याब सहितको मोबाइल एम्बुलेन्स १० वटा, मोबाइल एम्बुलेन्स ५ वटा ,रगतमा अक्सिजनको मात्रा देखाउने मेसिन २० वटा, अक्सिजन प्लान्ट ५ वटा समेत मगाइएको छ ।

    इन्ट्युबेटिङ सेट २ हजार वटा, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल पञ्जा २ लाख वटा मगाएको स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । चीनबाट १९ प्रकारका स्वास्थ्य समाग्री र उपकरण मगाइएको हो ।

    भारतबाट १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण मगाइएको मन्त्रालयले जनाएको छ ।

    यसमा विभिन्न खालका व्यक्तिगत सुरक्षा सामाग्रीहरु १ लाख ६० हजार वटा, एन ९५ मास्क १ लाख ५० हजार वटा, इन्फारेड थर्मोमिटर १० हजार थान, अक्सिजन प्लान्ट ५ थान रहेका छन् ।

    भारतबाट ३ सय किलो बराबरको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल मास्क २ लाख वटा मगाइएको छ।

    नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि सरकारले यसविरुद्ध तयारी भने व्यापक पारेको छ ।

  • नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

    नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

    काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट  अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ ।

    राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् ।

    स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले स्थलमार्गको प्रवेश समेत रोक्ने निर्णय गरेको हो ।

    यसले कम्तिमा १० दिन अब नेपालमा कुनै पनि मुलुकबाट सबै नागरिकको प्रवेश बन्द हुने भएको हो । यस बीचमा नेपाली नागरिकसमेत नेपाल आउन पाउने छैनन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको यस रोगको संक्रमणका कारण संसारभर १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

    यसले ३ लाख भन्दा बढी मानिस प्रभावित बनेका छन् । यद्दपी कोरोनाको संक्रमण नेपालमा भने भित्रिसकेको छैन ।

    एक जिल्लादेखि अर्को जिल्लासम्म जाने सवारी साधन रोकिए पनि एउटै शहर भित्रको आवतजावत भने रोकिएको छैन ।

  • भारतमा कोरोनाबाट मर्ने ७ पुगे

    भारतमा कोरोनाबाट मर्ने ७ पुगे

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार गुजरातमा ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । यसको पुष्टी भारतीय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।

    कोरोनाबाट संक्रमित भएको वृद्धको उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    यद्दपी उनी मिर्गौला र दमका बिरामी समेत थिए । गुजरातमा मृत्यु हुने उनी पहिलो व्यक्ति बनेका छन् । कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएको बताइएको छ ।

    सोहीकारण पनि भारतमा अहिले त्रास बढेको छ । आइतबार नै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका ३८ वर्षीय पुरुषको ज्यान गएको छ ।

    कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति बनेका छन् । उनी समेत दुबै मिर्गौला काम नलाग्ने गरी बिरामी भएका थिए ।

    भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यस मुलुकमा अहिलेसम्म ३४१ जना कोरोना संक्रमित मानिस भेटिएका छन् । भारतमा संक्रमण बढेपछि नेपालमा पनि सचेतना बढाइएको छ ।

  • कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

    काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ ।

    रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।

    प्रधानमन्त्रीको पनि तलवबाट एक महिनाको रकम हालिने भएको छ । यो कोषमा रकम राख्न सरकारले सार्वजनिक आह्वान समेत गरेको छ ।

    सरकारले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय गरेको छ ।

    सोही बैठकले सीमा नाकालाई समेत बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारपछि फर्केर पहिलो पटक मन्त्रीपरिषद् बैठक राखेका हुन् ।

  • एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन् ।

    भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले भने आनकानी गर्दै आएको छ ।

    यसबीचमा धेरै ठूलो सख्यामा नेपालीहर घर फर्किसकेका छन् । भारतमो कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । बिहारमा समेत यसबाट मानिसको ज्यान गएको छ । सोहीकारण नेपालले नाका बन्द गर्ने निर्णय लिएको हो ।

    शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा निष्कर्ष निकालेको संचारमाध्यमले उल्लेख गरेका छन् । भारतले आइतबार मध्यरातिबाट अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गरेको छ ।

    नेपालको यो निर्णयले नियमित वस्तु आपूर्तिमा भने असर नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

  • वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

    वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

    वीरगन्ज । आइतबार साँझ एकाएक समाचार फैलियो, वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भयो ।

    संक्रमणको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएको खबर सार्वजनिक भयो । तर, यो खबर झुटो सावित भएको छ ।

    उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी गराएको छ ।

    यद्दपी उनको रिपोर्ट नै नआएको र बाहिर हल्ला मात्र फिजिएको अस्पतालको भनाई छ । उनको उपचार भने जारी रहेको बताइएको छ ।

    वीरगञ्जका व्यापारी उनी केही दिनअघि अस्पतालमा भर्ना भएको परिवारले जनाएको छ ।

    भारतीय टेलिभिजन च्यानलमा भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गर्दै समाचार प्रकाशन गरेका छन् । नेपालमा भने अहिलेसम्म कोरोनाको पुष्टि भएको छैन ।

  • आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

    आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

    नयाँ दिल्ली । आज भारत सरकारको आह्वानमा जनता कर्फ्यु जारी रहेको छ । कोरोना भाइसविरुद्ध लड्न प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रस्ताव गरेका थिए । उनले जनतालाई घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।

    उनले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार जनता कर्फ्युको घोषणा गरेका हुन् । आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्नेछ ।

    कर्फ्यु घोषणापछि सडक सुनसान बनेका छन्। मानिसहरु घरबाट बाहिर निस्किएनन् । उनीहरुले सरकारको घोषणाको पालना गरेका छन् ।

    केन्द्र सरकारको निर्णय अन्य सरकारहरुले समेत अनुशरण गरेका छन् ।

    प्रधानमन्त्री मोदीले भिडभाड कम गर्न र भाइरसको संक्रमण घटाउन मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ३ सय भन्दा बढी संक्रमित पुष्टी भइसकेको छ ।

  • आजबाट अन्तराष्ट्रिय उडान बन्द

    आजबाट अन्तराष्ट्रिय उडान बन्द

    काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ ।

    यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए ।

    संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले विदेशबाट नेपालसँगको सम्पर्क विच्छेद गर्न लागेको हो ।

    अब आकस्मिक सेवाका उडान, एयर एम्बुलेन्सलगायत उड्नै पर्ने सेवाबाहेक अन्य सबै सेड्यूल उडान रोक्ने निर्णय गरेको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत २१ गतेसम्म सबै उडान तथा अवतरण बन्द हुन लागेको जानकारी गराएको हो । अब भारतीय स्थल नाकाबाट आउने यात्रुबाहेक सबै विदेशी यात्रुको आवागमन रोकिने भएको छ ।

  • प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

    काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् ।

    आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ ।

    त्यसमध्ये नेदरल्याण्डबाट आएका एक नेपालीसमेत रहेको पाइएपछि तिब्र विवाद भएको थियो । करीव एक घण्टा यात्रुलाई जहाज भित्रै राखिएको थियो ।

    पछि पर्यटन मन्त्रालयको समन्वयमा यात्रुलाई बाहिर निकालियो । उनीहरुमध्ये ३ जनालाई खरीपाटीस्थित क्वारेन्टाइनमा पठाइयो ।

    अन्य यात्रुलाई भने होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ । यसअघि पनि वायुसेवा कम्पनीहरुले पटक पटक प्रतिवन्धित मुलुकबाट यात्रु ल्याएका छन् ।

    यसरी आएका यात्रुलाई खरीपाटी पठाइएको छ भने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने तयारी छ ।

    शनिबार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा ल्याएका थिए ।

    उनीहरु पनि प्रतिवन्धित मुलुकबाट आएका थिए । कोरोनाको संक्रमणको जोखिमले अहिले सरकारले यात्रामा कडाई गरेको छ ।

  • इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक

    इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक

    रोम । कोरानो भाइरसबाट सबैभन्दा बढी प्रभावित इटलीमा अवस्था दर्दनाक बन्दै गएको छ । शनिबार आएको आंकडाले संसारलाई झस्काउँछ । किनकी यहाँ एकै दिन ७९३ जनाले ज्यान गुमाउनु परेको छ ।

    चीनमा कोरोनाको त्रास कम भएसँगै इटली यतिबेला कोरोनाको इपिसेन्टर मानिएको छ । शनिबार कोरोनाले अहिलेसम्म कै सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ ।

    संचारमाध्यमहरुक अनुसार शनिबार मृत्यु हुने ७९३ सहित इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।

    चीनमा यो भन्दा १ हजार ५६४ कम मानिस मरेका छन् । चीनले भने धेरै हदसम्म यो रोगको संक्तमणलाई नियन्त्रणमा लिएको छ ।

    इटलीमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ ।

    यहाँ अझै २ हजार ८ सय ५७ मानिस गम्भीर अवस्थामा रहेका छन् । इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेको छ ।

    फलस्वरुप सरकारले यस भेगमा थप कडाइ गर्ने बताएको छ । शनिबार अबेर राति नयाँ जारी गरिएको छ ।

    जसअनुसार यहाँ सबै किसिमका खेल तथा शारीरिक गतिविधि बन्द भएका छन् । यहाँ चिनियाँ विशषज्ञको टोली नै खटेको छ ।

    तर, कमजोर व्यवस्थापनका कारण इटलीमा भयाभह अवस्था आएको उनीहरुको भनाई रहेको छ ।

  • बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

    बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) नेपालमा आएको छैन । तर, नेपाली नागरिक भने यसको संक्रमणबाट अछुतो छैनन् । बेलायतमा कोराना कै कारण एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

    बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनी संखुवासभा पुख्र्यौली भएका व्यक्ति हुन् ।

    उनी सपरिवार बेलायतमा बस्ने गरेको बताइएको छ । लण्डनबाट उत्तर पश्चिम २१ किलोमिटर पर पर्ने हृयारो सहरमा बस्दै आएका उनको संक्रमणका कारण मृत्यु भएको पुष्टी भएको छ ।

    उनको मंगलबार साँझ लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो । उनी सेवा निवृत्त भएपछि बेलायत नै बस्दै आएका थिए ।

    लिलाबहादुर मधुमेह र उच्च रक्तचापबाट पीडित भएको बताईएको छ । उनको दुई वर्ष अगाडी मृगौला प्रत्यारोपण गरिएको थियो ।

    अचानक बिरामीले थलिएका उनलाई अस्पतालले कोरोनाको संक्तमण भएको पुष्टी गरेको हो ।

    संचारमाध्यमहरुका अनुसार लिलाबहादुरकी श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली बनेका छन् ।

    कोरोना भाइरसले संसारभर १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

  • सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

    सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा

    काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् ।

    नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित गर्दै कृतज्ञता व्यक्त गरेका छन् । यो कोष स्थापनामा भारतीय प्रधानमन्त्री मोदीले सक्रियता जनाएका थिए ।

    उनकै पहलमा सार्क मुलुकका राष्ट्र प्रमुखहरुबीच भिडियो वार्ता भएको थियो । सोही बेला मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए ।

    मोदीले ट्वीट गर्दै ओलीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउने उल्लेख गरेका छन् ।

    भारतले कोषमा १ करोड अमेरिकी डलर जम्मा गरेको छ । कोषमा सार्क सदस्य देशले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउने भएका छन् ।

  • चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

    काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन ।

    उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर यी मुलुकका लागि सहायताको घोषणा उनले गरेका हुन् ।

    शनिबार विहान ट्वीट गरेका थिए । उनले यी सामान पुर्‍याउन सहज नभए पनि सम्पन्न गरिने उल्लेख गरेका छन् ।

    उनका अनुसार नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाले यो सहायता पाउने भएका छन् ।

    यसअघि माले अमेरिकामा स्वास्थ्य सामग्री सहायता पठाएका थिए । उनी एसियाका सबैभन्दा धनी व्यापारी हुन् ।

  • कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए ।

    यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

    प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगर पक्राउ परेका हुन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ ।

    तर कोरोना संक्रमणको पुष्टि नेपालमा भएको छैन ।

    उनले भने नेपालमा संक्रमण्ले मानिसको मृत्यु भएपनि अस्पताल र सरकारले लुकाएको भन्दै अफवाह फैलाएका थिए । प्रहरीले अब यसरी अफवाह फैलाउनविरुद्ध कडा कारवाहीको तयारी गरेको छ ।

  • कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

    काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ ।

    आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ ।

    काठमाडौं छाड्नेको संख्या बढेसँगै वायुसेवा कम्पनीले भाडा बढाएका छन् । तराईका ठूला विमानस्थलमा यात्रुको चाप उत्तिकै बढेको हो ।

    राजमार्गहरु व्यस्त भएका छन् । सरकारले कोरोना संक्रमणको डरले विद्यालय बन्द गरेको छ । एसइइ परीक्षासमेत स्थगित भएको छ ।

    यससँगै शहर छाडेर गाउँ फर्कनेको ताँती लागेको हो । सरकारले काठमाडौंमा समेत घर भित्रै बस्न र अत्यावश्यक नपरेसम्म घर बाहिर ननिस्कन जनतालाई आह्वान गरेको छ ।

    २५ जना भन्दा बढीको संख्यामा भेला नहुन समेत आग्रह गरिएको छ । ९ चैतबाट विदेशबाट आउने हवाईजहाज र १० चैतबाट लामो दूरीमा सडक यात्रा समेत गर्न नपाउने गरी प्रतिवन्ध लागिसकेको छ ।

    अहिले बसपार्क र विमानस्थलमा अधिक भीड बढेको छ । यी स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आह्वान गरिएको छ ।

  • भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित

    भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित

    नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० जनाले बढेको छ ।

    नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपनि नेपालमा भने सिमाना रोक्ने विषयमा कुनै तयारी गरिएको छैन ।

    अहिले औपचारिक रुपमा ४ वटा मात्र सिमा नाकाबाट नेपाल प्रवेश खुला रहेको भएपनि सबै तर्फ खुला सिमाना भएका कारण मानिसहरु निर्वाध प्रवेश गरिरहेका छन् ।

    भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या २५० पुगेको संचारमाध्यमले उल्लेख गरेका छन् । भारतका २२ राज्यमा कोरोनाको संक्रमण देखिएको छ ।

    महाराष्ट्रमा बढी बिरामी देखिएका छन् । मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरिसकेको छ ।

    यी शहर महाराष्ट्रमा पर्छन् । दिल्लीमा समेत उच्च सतकर्ता अपनाइएको छ । भारतले आइतबारदेखि सबै अन्तराष्ट्रिय उडान बन्द गरेको छ ।

    आइतबार भारतमा ‘जनता कर्फ्यू’ घोषणा गरिएको छ । यस दिन कुनै पनि नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गरिएको छ ।

  • इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

    इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

    रोम । यूरोपको इपिसेन्टर बनेको इटालीमा कोरोना भाइरस (कोभिड–१९)ले ठूलो मानवीय क्षति निम्त्याएको छ ।

    यस भाइरसको संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको विश्व स्वास्थ संगठनले पुष्टी गरेको छ । यो संख्या मृत्युको कीर्तिमानी संख्या हो ।

    संसारमा कुनै पनि मुलुकमा अहिलेसम्म यति ठूलो संख्यामा मानिस मरेका थिएनन् । शुक्रबार भएको हताहतीसँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या ४ हजार नाघेको छ ।

    इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित भएको बताइएको छ ।

    अझै २ हजार ६ सय ५५ मानिसको अवस्था गम्भीर रहेको संचारमाध्यमले उल्लेख गरेका छन् । इटलीमा उत्तरी क्षेत्र लोम्बार्डी बढी प्रभावित बनेको हो ।

    यहाँ अवस्था भयावह बनेको छ । सरकार सेना परिचालनको तयारीमा छ । मानिसले अनुशासन पालना नगरेकै कारण इटलीमा बढी भयाभह अवस्था आएको बताइएको छ ।

  • चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ ।

    संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् ।

    चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो अस्पताल आकस्मिक अवस्थामा उपयोगमा ल्याउन सकिने भएको छ ।

    यता, बुटबलमा समेत १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म निर्माण सम्पन्न हुने भएको हो ।

    बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदैछ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन लागिएको हो ।

    नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा यसको निर्माणमा खटिएका छन् । पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

    उता, प्रदेश १ सरकारले विराटनगरमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल निर्माण गरी संचालनमा ल्याउने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रदेश सरकारले तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण थालेको हो । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल बनाइने भएको छ ।

    यस अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने गरी तयारी गरिएको हो ।

    अस्पताललाई आवश्यक पर्ने सामाग्री भने तत्कालका लागि विराटनगरमा रहेका अस्पतालबाटै जोहो हुने छ प्रदेश १ मा ४४० जना अटाउने क्वारेन्टाइन समेत निर्माण भइसकेको छ ।

    प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाँडीमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना अटाउने क्वारेन्टाइनस्थल तयार पारिसकेको छ । अहिले कोरोना विरुद्ध देशभर तिब्रताका साथ काम भइरहेका छन् ।

  • ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

    काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् ।

    यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कुनै पनि ढुवानीका साधन रोकिने छैनन् । यसले बजारमा सामानको आपूर्ति रोकिने छैन ।

    जहाज बन्द भएपछि हुने कठिनाइका सम्बन्धमा पनि विशेष व्यवस्थामार्फत व्यवस्थापन गरिने भएको छ । जहाज बन्द हुँदा विमानस्थलमै अलपत्र परेका नेपाली तथा विदेशी यात्रुलाई सम्बन्धित दूतावाससँगको समन्वयमा क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन मिलाउने भएका छन् ।

    सरकारले कोरोनाको संक्रमण भित्रन नदिन व्यापक तयारी गरेको उनले जानकारी दिए । भित्रिहालेमा समेत प्रभावकारी उपचारको व्यवस्थापन हुने उनको भनाई छ ।

    संसारका अधिकांश मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना नेपालमा भने देखा परिसकेको छैन । तर, सरकारले तयारीको काम तिब्र बनाएको छ ।

  • ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

    यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

    देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गने समेत उनले घोषणा गरेका छन् ।

    आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

    मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी थप कदम पनि चाल्न सकिने उनले उल्लेख गरे ।

  • कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

    कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । कोरोना (कोभिड–१९)ले चीनमा भन्दा इटलीमा धेरै मानिसको ज्यान लिएको छ । बिहीबार इटलीले चीनलाई उछिनेको हो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ इटलीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

    बिहीबार मात्र इटलीमा थप ४ सय २७ को ज्यान गएको छ । इटलीले हरेक दिन कीर्तिमान राखिरहेको छ ।

    मानिसहरुको मृत्युका कारण यहाँको जनजीवन समेत नराम्रोसँग प्रभावित बनको छ । कुल संक्रमितको संख्या इटलीमा भन्दा चीनमा बढी छ ।

    चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ । त्यसकारण मृत्युदर इटलीको धेरै भएको हो ।

    बिहीबार इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिए । चीनमा भने बिहीबार ३ जनाको मात्र ज्यान गएको छ ।

    देशभर कोरोनाका ३९ नयाँ बिरामी भेटिए । यो संक्रमणबाट बिहीबार सम्म कूल १० हजार ४८ मानिसको ज्यान गएको छ ।

    पछिल्लो समय चीले लगभग नियन्त्रणमा ल्याएको यो रोगको संक्रमण्बाट यूरोप र अमेरिका बढी प्रभावित भइरहेको छ ।

  • तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

    तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

    काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

    बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन बाँकि छ ।

    भर्खरै कोरोाको सन्त्रासबाट माथि उठ्दै गरेको चीनलाई पछिल्लो समय प्राकृतिक विपत्तीले दुख दिन थालेको छ । तिब्बतमा केही दिन अगाडी समेत ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

  • निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

    निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

    नयाँ दिल्ली । भारतमा  निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई आज सबेरै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न पुष्टी ६ जनामध्ये एक जनाले जेलमै आत्महत्या गरेका थिए ।

    एक जना घटना हुने समय नाबालक रहेका कारण सुधार गृहमा पठाइएको थियो । अन्य चार जनालाई भने आज बिहान साढे ५ः३० बजे दिल्लीमा मृत्युदण्ड दिइयो ।

    अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    अदालतले  फाँसीको सजाय सुनाएछि उनीहरुले सर्वोच्चमा अपिल गरेका थिए ।  अपिललाई सर्वोच्चले खारेज गरेसँगै उनीहरुको कारवाहीको फैसला कार्यान्वयनमा आएको हो । निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराइदिएका हुन् ।

    निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको थियो ।

    राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो ।

    २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले  मृत्युदण्डको सजायलाई निरन्तरता दिएका थिए ।

  • आजबाट सहुलियत पसल संचालन

    आजबाट सहुलियत पसल संचालन

    काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् ।

    उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेका हुन् ।

    सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी सुपथ मूल्यमा पाइने भ्एको छ ।

    मन्त्री भट्टका अनुसार सरकारसँग अहिले करिब ६ महिनालाई पुग्गे खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी मौजदात छ ।

    ग्यास आयातमा समस्या छैन । व्यवसायीको कमजोरीले ग्यासको वितरणमा देखिएको समस्या केही दिनमै हल हुने उनले बताए ।

    सरकारले सतुगंल, कालीमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्यका पसल संचालनमा आउँदैछन् ।

    ललितपुरमा भने शनिबारसम्म पसल संचालनमा आइसक्ने भएको छ ।

    बालाजु र चाबहिलमा पनि पसल संचालनको तयारी रहेको छ ।