Author: Vishwanews.com

  • अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

    अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

    काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्यामा तीन हजारको आंकडा नाघेको छ। कोरोनाबाट बढी मानिस मर्ने सूचिमा सोमबारसाँझ सम्म अमेरिका चौथो स्थानमा छ ।

    पहिलो स्थानमा इटली, त्यसपछि स्पेन र त्यसपछि चीन रहेका छन् । चीनपछि अमेरिकामा बढी मानिसको ज्यान गएको छ। अब अमेरिकामा समेत करीव चीनकै हाराहारी मानिसको ज्यान गएको छ ।

    चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । अमेरिकामा सोमबार साँझसम्म ३ हजार १ सय ६५ जनाले ज्यान गुमाए ।

    अमेरिकामा संसारकै सबैभन्दा धेरै संक्रमित पुगेका छन् । यस मुलुकमा कूल १ लाख ६४ हजार २ सय ५३ मा कोरोना भाइरसको संक्रमण पुगेको छ ।

    इटलीमा सोमबारसम्म ११ हजार ५ सय ९१ जनाको ज्यान गइसकेको छ । तर, इटलीमा थप संक्रमण भने तिब्र रुपमा घटिरहेको छ ।

    यसलाई चिकित्सकहरुले सकारात्मक रुपमा लिएका छन् । इटलीमा १ लाख १ हजार ७ सय संक्रमित छन्। अमेरिकामा भने यस भाइरसका कारण एकलाखभन्दा माथिको ज्यान जाने चेतावनी विशेषज्ञहरुले यसअघि नै दिइसकेका छन् ।

    विश्‍वभरमा कोरोना भाइरसबाट कुल ३७ हजार हजार आठ सय १५ मानिसको ज्यान गइसकेको छ । कूल ७ लाख ८५ हजार ७ सय ७७ मानिसमा यसको संक्रमण देखिएको छ ।

  • काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

    काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

    काठमाडौं । स्थानीय सरकारले काठमाडौं महानगरपालिकाका असहाय तथा गरीब परिवारलाई राहत वितरण गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको छ ।

    महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले यस्तो मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बस्ने असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिले खाना, खाजा खान नपाएको अवस्थामा उनीहरुलाई निःशुल्क राहत उपलब्ध गराइने भएको छ ।

    तर, यसका लागि उनीहरु असहाय भएको पहिचान गरिनेछ ।

    अभिभावकविहिन, आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थल अरुको सहायतामा रहेका व्यत्तिले मात्र यस्तो राहत प्राप्त गर्ने छन् ।

    आयस्रेत नभएका, दैनिक गुजारा गर्न मुस्किल पर्ने र वडाले अतिविपन्नको वर्गमा राखी प्रमाािण्त गरेका व्यक्तिले समेत महानगरपालिकाबाट राहत पाउने भएका छन् ।

    कोरोनाको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण अहिले दैनिक कमाएर खाने श्रमिक वर्ग समस्यामा परेका छन् ।

    संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा लामो समययता दैनिक ज्याला मजदुरी गर्दै आएका तथा काठमाडौंमा घर, जग्गा नभएका भरिया र मजदुरले समेत राहत पाउने भएका छन् ।

  • लकडाउन अवधिमै जीप दूर्घटना

    लकडाउन अवधिमै जीप दूर्घटना

    काठमाडौं । रामेछापमा जीप दूर्घटना भएको छ । दूर्घटनामा करीव ३ दर्जन मानिस घाइते भएका छन् ।

    रामेछापको खाँडादेवी, १ राकाथुम भन्ने स्थानमा मंगलबार बिहान जिप दुर्घटना भएको हो ।

    जीप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    लकडाउनको समयमा खाली सडक भएका बेला पनि जीप दूर्घटना भएको हो ।

    चालकसँग प्रशासनको अनुमती भए नभएको बुझ्ने काम भइरहेको प्रहरीको भनाई छ । लकडाउन लम्बिएपछि भक्तपुर क्षेत्रमा रहेका मजदुर रामेछाप गाँउतर्फ लागेको बताइएको छ ।

  • सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

    सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

    काठमाडौं । नेपालमा मदिरा आयात रोकिएको छ । सरकारले सोमबार बिहानबाट लागु हुने गरी विभिन्न वस्तुको आयातमा रोक लगाएको छ । त्यसमध्ये अब विदेशबाट मदिरा नेपाल आउने छैन ।

    कोरोना भाइरसको महामारीसँग जुध्नु स्रोतको जोहो गर्नुपर्ने भन्दै सरकारले अनावश्यक वस्तु तथा अतिविलासिताका सामानको आयात रोक्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदले मदिरा, मरिच र छोगडाको आयातमा तत्काल रोक लगाउने निर्णय गरेको हो । यो निर्णय अर्को निर्णय नभएसम्मका लागि भएको हो ।

    त्यसकारण अब विदेशबाट अत्यावश्यक सामग्री मात्र आयात हुने भएको छ । त्यसमा मंहगा गाडीको आयात पनि रोकिएको छ ।

    भारतबाट आउने ढुवानीलाई भने सरकारले रोकेको छैन । तर, मानिसहरुको आवतजावत रोकिएको छ । लकडाउन २५ चैतसम्म लम्बिदा सीमा नाका समेत सोही अवधिसम्म रोकिएका छन् ।

  • बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

    बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

    बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ ।

    यी दुई मुलुक खेलकुद र त्यसमा पनि फूटबलमा लागि संसारमै चर्चित छन् ।

    तर, कोरोनाका कारण यो सिजन नराम्रोसँग प्रभावित भएको छ ।  यी दुई मुलुकमा संसारका समकालिन चर्चित दुई फूटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले व्यवसायीक फूटबल खेल्छन् । यी दुई खेलाडीको पहलमा सोमबार दुई सकारात्मक समाचार सार्वजनिक भएको छ ।

    मेसीले आफ्ना खेलाडी तथा व्यवस्थापन पक्षबाट बार्सिलोनाका खेलाडीको तलव तत्कालका लागि ७० प्रतिशत कटौती गर्न सहमति जुटाएका छन् । यसले क्लवलाई ठूलो राहत प्रदान गर्नेछ ।

    उनले इन्स्टाबाट यो खबर सार्वजनिक गरेका छन् । कोरोनाका कारण लालिगा अनिश्चितकालका लागि बन्द भएको छ । उता, इटालियन क्लब युभेन्टसले खेलाडीलाई चार महिनाको तलब नदिने भएको छ ।

    यसका लागि क्लवका खेलाडीले सहमति जनाएका छन् । कोरोनाभाइरसका कारण इटालीको फुटबललगायत सबैखाले गतिविधि प्रभावित भएको छ ।

    खेल नभएपछि क्लब धरासायी बन्दै गइरहेका छन् । तलब कटौतीबाट क्लवलाई ९० मिलियन युरो करिब एक अर्ब ४३ करोड राहत हुने भएको छ ।

    तलब कटौती गर्ने प्रस्तावमा मुख्य प्रशिक्षक माउरिजियो सारी र स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सहमति दिएका थिए ।

    अब खेलाडीले मार्च, अप्रिल, मे र जुनको तलब पाउने छैन । कोरोनाका कारण स्पेन र इटलीमा सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।

  • नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

    नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

    काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लगिने भएको छ । अमेरिकी दूतावासका अनुसार मंगलबार कतार एयरवेजको जहाज अमेरिकी नागरिकलाई लैजान नेपाल आउने निश्चित भएको हो ।

    पदयात्रा तथा अन्य प्रयोजनमा नेपालमा रहेका अमेरिकी पर्यटक फिर्ता जान सक्ने भएका छन् । दूतावासले अहिले धमाधम घर फर्कन चाहने नागरिकबाट फारम भराइरहेको छ । यसअघि यूरोपेली यूनियनका मुलुकहरुले तीन वटा चार्टर्ड फ्लाइटमार्फत आफ्ना नागरिक घर लगिसकेका छन् ।

    अष्ट्रेलियाले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेको छ । उसले पनि आगामी १ अप्रिल नेपालबाट आफ्ना नागरिकलाई फिर्ता लैजान भएको हो ।

    कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।

    सोहीकारण विदेशीहरु नेपालमा अलपत्र नपरुन भन्ने उद्देश्यले उनीहरुलाई व्यवस्थापन भने गरिएको छ ।

  • भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    मुम्बई । भारतमा प्रधानमन्त्री राहत कोष स्थापना गरी कोरोनाविरुद्धको अभियान शुरु गरिएको छ ।

    यस दौरान बलिउड कलाकारले ठूलो धनराशी सहायताको घोषणा गरिरहेका छन् । यसमो अग्रपंक्तीमा आउने कलाकार अक्षय कुमार हुन् ।

    वर्तमान समयका सबैभन्दा व्यस्त अभिनेता अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोगको घोषणा गरेका छन् ।

    अभिनेता बरुण धवनले प्रधानमन्त्री राहत कोषमा ३० लाख भारु सहयोगको घोषणा गरेका छन् । गायक गुरु रन्धवाले २० लाख रुपैयाँ यस कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

    अभिनेता सनी देवलले ५० लाख रुपैयाँ यस कोषमा राख्ने घोषणा गरिसकेका छन् । हेमा मालिनीले एक करोड रुपैयाँ सहायताको घोषणा गरेकी छिन् ।

    गायक कुमार सानुले ५ लाख भारु सहयोग गरेका छन् । हास्यकलाकार कपिल शर्माले यस कोषमा ५० लाख भारु राहत दिएका छन् ।

    कलाकार ऋतिक रोशनले २० लाख रुपैयाँ सहायताको घोषणा गरेका छन् ।

  • कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

    कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

    काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण मृत्यु हुने मानिसको संख्या ३४ हजार नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ८ सय २१ जनाको ज्यान गएको छ ।

    स्पेनमा ६ हजार ८ सय ७५ नयाँ संक्रमित थपिए । यस मुलुकले अहिलेसम्म ६ जार ८ सय मानिसलाई गुमाइसकेको छ । यहाँ कूल संक्रमित ८० हजारभन्दा माथी छन् ।

    अमेरिकामा आइतबार मात्र १८ हजार थप संक्रमित फेला परे । यहाँ संसारका सबै मुलुकभन्दा बढी संक्रमित रहेका छन् ।

    १ लाख ४१ हजार ८ सय अमेरिकी नागरिकमा यो रोगको संक्रमण देखिएको छ । अमेरिकामा आइतबार मात्र २ सय ५५ जनाको मृत्यु भयो ।

    यस मुलुकमा कूल २ हजार ४ सय मानिसले ज्यान गुमाए । इटलीमा आइतबार ७ सय ५६ जनाको मृत्यु भयो ।

    ५ हजार भन्दा बढी नयाँ संक्रमित थपिए । इटलीमा अहिलेसम्म १० हजार ७ सय मानिसको ज्यान गएको छ । यहाँ संक्रमितको संख्या ९७ हजार ६ सय रहेको छ ।

    जर्मनीमा संक्रमितको संख्या ६२ हजार नाघेको छ । फ्रान्समा ४० हजार मानिसमा कोरोना क्रमण देखिएको छ ।

    यस भाइरसले ३३ हजार ९ सय मानिसको ज्यान लिइसकेको छ । संक्रमण भने ७ लाख मानिसमा पुगिसकेको छ ।

  • कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

    कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

    काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ ।

    उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ ।

    सरकारले अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब ९ करोड ऋण लिने भएको छ ।

    सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने २९ मिलियन अर्थात् ३अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायता पनि लिने निर्णय गरेको हो ।

    एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम समेत सरकारले स्वीकार गरेको छ । सरकारले आर्थिक प्याकेजमा अन्य स्रोत भने आन्तरिक स्रोतबाट जुटाउने भएको छ ।

    यसमा वार्षिक बजेट रकम रकमान्तर, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम प्रयोग हुने भएको छ ।

    सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा भने संस्थानबाटै व्यहोरिने भएको छ ।

  • सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

    सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

    काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ ।

    स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    उद्योगहरुको विद्युतमा ३० देखि ५० प्रतिशतसम्म छूट दिने, घरबेटीलाई एक महिनालाई घरभाडा छूट दिन आग्रह गर्ने र छूट दिएको घरभाडाको घरबाहल कर छूट दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

    क्वारेन्टाइनमा राखेका बिरामीको खाना खर्च तथा अन्य व्यवस्थापनको जिम्मा पनि सरकारले लिने भएको छ ।

    चिकित्सक, नर्स तथा बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने सुरक्षाकर्मी र सफाईकर्मीको बीमा आगामी असार मसान्तसम्म २५ लाख पुर्याइएको छ ।

    व्यक्तिगत सुरक्षाको जिम्मा पनि राज्यले लिने भएको छ । अस्पतालमा उपकरण तथा औषधी र क्षमता अभिवृद्धिमा सरकारले सहयोग गर्ने भएको छ ।

  • केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

    केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

    नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् ।

    आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् ।

    अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा आउन सक्ने छैन ।

    उनले चेतावनी दिँदै शहरबाट गाउँमा कोरोना लिएर नजान आग्रह गरे । दिल्ली सरकारले पर्याप्त व्यवस्था गरेको भन्दै शहरमै बसेर लकडाउन कार्यान्वयनमा सघाउन आग्रह गरे ।

    उनले उद्योगी, व्यवसायीलाई आफ्ना कर्मचारीलाई पुरा तलव दिन र कर्मचारी भोकै नराख्न निर्देशन दिए ।

    ‘मैले पहिला पनि भनिसकेको छु, तलव त पुरा दिनु पर्नेनै छ, अब कोही कर्मचारी भोकै नरहुन, यसमा सचेत रहनु, उनले भने ।

    उनले सबै ठेकेदारलाई समेत सोही आग्रह गरेका छन् । दिल्लीमा दैनिक ४ लाख मानिसलाई निशुल्क खाना उपलब्ध भएको भन्दै यो सुविधा गरिब र असहायका लागि भएको उनले बताए ।

    केही हुने खाने मानिस समेत लाइनमा आएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । उनले दिल्लीका घरबेटीलाई गरिब मानिससँग तत्काल भाडा नलिन समेत आह्वान गरे ।

    अहिले भाडा नलिन र स्थिति सामान्य भएपछि पनि भाडा तिर्न नसके सबै घरबेटीको भाडा दिल्ली सरकारले तिरिदिने घोषणा उनले गरेका छन् ।

  • लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

    लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

    काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि लकडाउनको अवधि बढाइएको छ ।

    यसअघि सरकारले घोषणा गरेको लकडाउन पालना गरेकोमा सरकारले धन्यवाद दिएको छ ।

    अब चैत २६ गतेसम्म लकडाउन जारी रहने सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । २५ चैतसम्म अन्तराष्ट्रिय सीमा नाका समेत बन्द हुने भएको छ । तर, ढुवानी भने रोकिने छैन ।

  • क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

    क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

    काठमाडौं । सरकारले तोकिएको अवधि भित्र अनिवार्य क्वारेन्टाइनमा नबस्नेमाथि कानूनी कारवाही शुरु गर्ने भएको छ ।

    खासगरी विदेशबाट फर्केका व्यक्तिले निर्वाध घुम्ने, डुल्ने गरेको र स्थानीय तहमा क्वारेन्टाइनमा बस्न अटेरी गरेको खबर सार्वजनिक भएको छ ।

    शनिबार बागलुंगमा कोरोना प्रभावित पुष्टी भएकी युवती ज्वरो आउँदा पनि क्वारेन्टाइनमा नबसेको र गाउँमा निर्वाध डुलेको खबर सार्वजनिक भएको थियो ।

    यो देशभर नै जारी छ । सोहीकारण सरकारले क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्ति बाहिर डुलेको भेटिए सरुवा रोगसम्बन्धी कानूनी प्रावधान अनुसार पक्राउ गरी कारवाही गरिने चेतावनी दिएको छ ।

    सरुवा रोगको फैलावट हुन नदिन प्रभावित देशबाट आएका व्यक्ति अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकमार्फत सरकारले यस्तो चेतावनी दिएको हो ।

  • विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

    विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

    काठमाडौं । सरकारले विदेशमा रहेका आफ्ना छोराछोरीलाई पैसा पठाउने सुविधा नेपालमा रहेका अविभावकलाई दिने भएको छ ।

    तर विदेशमा रहेका नेपाली विद्यार्थी अब तत्काल नेपाल भने आउन भने पाउने छैनन् ।

    कोभिड १९ सम्बन्धि उच्चस्तरीय संयन्त्रको बैठकले विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन दिने निर्णय गरेको हो ।

    यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । कोरोनाका कारण धेरै नेपाली विद्यार्थी विदेशमा अलपत्र परेका छन् ।

    काम गर्ने स्थान बन्द भएका कारण धेरैको रोजिरोटी गुमेको हो । यसले गर्दा विदेशमा दैनिकी नै संचालनमा समस्या परिरहेको गुनासो नेपाली विद्यार्थीले गरेका छन् ।

    विदेशमा लाखौंको संख्यामा नेपाली विद्यार्थी रहेका छन् । कोरोनको संक्रमणको डरले उनीहरुलाई भने नेपाल भने नल्याइने भएको छ ।

    जहाँ जुन अवस्थामा छन्, सोही स्थानमा सुरक्षित रहन सरकारले आग्रह गरेको छ ।

  • १५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

    काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान १५ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    यसअघि १ अप्रिलसम्म मात्र स्थगन भएको हवाई उडान कोरोनाको जोखिम भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई साता लम्ब्याउने निर्णय भएको हो ।

    कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले लकडाउनको अवधि थप्ने सिफारिस समेत गरेको छ ।

    सरकारको यो निर्णयसँगै थप दुई साता नेपाल अन्तराष्ट्रिय समुदायसँगको हवाई सम्पर्कबाट अलग रहने भएको छ । अहिले नेपालमा आकस्मिक सेवा र उद्दारको काममा मात्र हवाई सेवा संचालन भइरहेको छ । अन्य सेवा ठप्प रहेको छ ।

  • आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

    आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

    काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए ।

    उनका अनुसार सरकारले कोरोना विशेष अस्पताल तोकेका बाहेक अन्य सबै अस्पतालले आकस्मिक उचारका लागि बिरामी फिर्ता पठाउन पाउने छैनन् ।

    हरेक अस्पतालले संक्रमणकालिन अवस्थामा सोही बमोजिमक काम गर्नु पर्ने भन्दै आफ्नो दायित्वबाट पर नसर्न सरकारले आग्रह गरेको छ ।

    निर्देशन नमाने अस्पतालहरुमाथि कडा रुपमा सरकार उत्रन सक्ने समेत उल्लेख गरिएको छ ।

    यसअघि देशका विभिन्न स्थानबाट नियमित बिरामीलाई अस्पतालले फिर्ता पठाएको, गेटबाटै छिर्न नदिएको जस्ता गुनासो आइरहेको छ । यसलाई सम्बोधन गर्दै सरकारले सबै अस्पतालले उपचार गर्नुपर्ने बताएको छ ।

  • कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

    बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन ।

    रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो ।

    बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको हो ।

    उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइए पनि रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।

    उनी चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थिए । चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना गएको अस्पताल स्रोतले जनाएको छ ।

    उनी १३ चैतमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।

  • अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

    अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

    न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) परीक्षण अब ५ मिनेटमै सम्भव हुने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको दावि गरेको छ ।

    यसले संक्रमितको छिटो पत्ता लाग्ने र फैलावट कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले विकसित तथा विकाससिल, सबै मुलुकमा परीक्षण झण्झटिलो रहेको छ ।

    नतिजा आउन समेत लामो समय लागिरहेको छ । कम्पनीका अनुसार अब ५ मिनेटमै यस मेसिनले कोरोनाको नतिजा दिने भएको छ ।

    प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति समेत दिएको छ ।

    दैनिक ५० हजारका दरले यो मेसिन उत्पादन थाल्ने तयारी कम्पनीले गरेको छ । कम्पनीका अनुसार मेसिनको परिक्षण अमेरिकामा शुरु भइसकेको छ ।

    तर, विश्वसनीयताको भने नतिजा सार्वजनिक गरिएको छैन । कोरोना भाइरसको भने अझै पनि औषधी पत्ता लागिसकेको छैन ।

  • लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

    लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

    काठमाडौं । लकडाउन तोडेर मानिसहरुले आवतजावत बढाएपछि प्रहरीले कडा कारवाहीको तयारी गरेको छ । आजबाट लकडाउन तोडेमा अब दुई घण्टा सडकमै उभिनु पर्ने भएको छ ।

    दुई घण्टा सडकमा उभ्याएर प्रहरीले सडकमै कक्षा संचालन गर्ने भएको छ । भारतमा लकडाउन तोडेर निस्कनेमाथि प्रहरीले भाडा बर्साउने गरेको छ । तर, नेपालमा भने प्रहरीलाई सार्वजनिक स्थानमा भाटा हान्ने अधिकार छैन ।

    सोहीकारण प्रहरीले सम्झाउने र कक्षा दिने गरिरहेको थियो । सोहीकारण लकडाउनलाई मानिसले सामान्य रुपमा लिएर निस्कने गरेका थिए ।

    शनिबारबाट पक्राउ गर्न थालेको प्रहरील अब भने सडकमा उभ्याउने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आह्वान गर्दै सरकारले लकडाउन घोषणा गरेको छ ।

    आइतबार मात्र लकडाउन उल्लघंन गर्ने ६ सय भन्दा बढी व्यक्ति प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई दुई घण्टा सडकमा ‘होल्ड’ गरेर सचेतना कक्षा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ गरेर राख्दा जोखिम देखिएपछि प्रहरीले लकडाउन उलंघन गर्नेलाई जहाँ भेटिन्छ त्यहाँ उभ्याउने नीति लिएको हो । आइतबार बिहान ७ः३० बजेसम्म ५ सय १२ पुरुष र १ सय ५ महिला सडकमा निस्किएपछि समाएर सडकमै रोकिएको छ ।

    यसअवधिमा १ सय सवारी साधन कारवाहीमा परेका छन् । यो नीति काठमाडौंका तीन जिल्लामा लागु भएको छ ।

  • भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

    भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

    काठमाडौं । कोरोनाले शक्ति सम्पन्न मुलुकहरुलाई त्राहीमाम बनाइरहेको छ । चीनदेखि लिएर अमेरिका र यूरोप यसको मूख्य तार्गेट बनेको छ ।

    यस भाइरसले यी मुलुकका सर्वसाधारण मात्र नभई उच्च पदस्थ अधिकारीलाई समेत उत्तिकै सताएको छ । बेलायती राजकुमार, प्रधानमन्त्रीदेखि क्यानडाका प्रधानमन्त्रीकी पत्नीसम्म यसको संक्रमणबाट बच्न सकेका छैनन् ।

    यसैबीच स्पेनमा कोरोनाको संक्रमणबाट राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको ज्यान गएको छ । उनको शुक्रबार निधन भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेको संचारमाध्यमको भनाई छ । उनका कुनै सन्तान थिएनन् ।

    भतिजाभतिजीको आश्रयमा रहेकी हँदै आएकी थिइन्। यूरोपमा इटलीपछि सबैभन्दा बढी स्पेन प्रभावित भएको छ । यहाँ ५ हजार भन्दा बढी मानिसको कोरोनाका कारण ज्यान गएको छ ।

  • कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

    कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ ।

    शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो ।

    संगठनका अनुसार २४ घण्टा भित्र ३५ सय ७ जना मानिसले यो सुन्दर धर्ति छाड्न बाध्य भएका छन् । शनिबार पनि इटाली स्पेनमा धेरै मानिसले ज्यान गुमाए ।

    इटलीमा एकै दिन ८ सय ८९ र स्पेनमा एकै दिन ८ सय ४४ जनाको ज्यान गयो । इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको छ ।

    स्पेनमा ५ हजार ९ सय ४७ जनाको ज्यान गएको छ । अमेरिकामा शनिबार ५ सय १५ जनाको ज्यान गयो ।

    अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित छन् । यस देशमा १ लाख २३ हजार ४ सय २८ जनामा संक्रमण भएको छ ।

    संसारभर शनिबारसम्म ३० हजार ८ सय ५१ जनाले ज्यान गुमाएका छन् । ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भएको छ ।

    १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा शनिबारसम्म ५ जनामो कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् । ४ जनाको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

    नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनबाट कोरोना भाइरसको संक्रमणसँग जुध्ने मेडिकल किट नेपाल ल्याएको छ ।

    शनिबार अपरान्ह चीन उडेको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    जहाजले चीनको ग्वांझाउबाट सामान ल्याएको हो । यो जहाज नेपाल सरकारले चार्टर्ड गरेको हो ।

    कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीईसहितका सामग्री काठमाडौं आएका छन् ।

    यससँगै अब सरकारले उपत्यका बाहिर समेत कोरोनाको परीक्षण बिस्तार गर्ने भएको छ ।

    उता, चिनियाँ सरकारका तर्फबाट नेपाल सरकारलाई प्रदान गरिएको राहत सामग्री समेत नेपालतर्फ पठाइएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएी छिन् ।

    उनका अनुसार सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको छ ।

    यस जहाजमा चिनियाँ धनाढ्य ज्याक माको फाउन्डेसन र अलिबाबा फाउन्डेसनबाट प्राप्त सामग्री समेत आउने भएका छन् ।

  • उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

    उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन ।

    प्रवक्ता देवकोटाका अनुसार शनिबारबाट दुई वटा कल सेन्टर संचालनमा ल्याइएको छ । १११५, ११३३ निशुल्क कल गरेर परामर्श लिन सकिने भएको छ ।

    आजसम्म कलसेन्टरमा ६ हजार भन्दा बढीले चासो राखिसकेको मन्त्रालयको भनाई छ ।

    यसैबीच नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार नै ग्वांझाउ गएको छ ।

    यो जहाज शनिबार बिहान काठमाडौं आइ पुग्नेछ । जहाजमा कोरोनाको परिक्षण सम्बन्धी मेडिकल सामग्री, चिकित्सकको सुरक्षाका साधन तथा किटहरु आउने बताइएको छ ।

    आज सरकारले नेपाल एयरलाइन्सलाई चार्टर्ड गरेको हो । अब यसपछि भने निजी क्षेत्रबाट जहाजको चार्टर्ड गरी मेडिकल किट ल्याइदैछ ।

  • धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

    धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

    काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।

    यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो ।

    उनी २० मार्चमा इमिरेट्स एयरको जहाज चढेर दिल्ली आएका थिए । दिल्लीबाट भिस्तारा एयरको जहाज चढी काठमाडौं झरेका थिए ।

    त्यसपछि उनी धनगढी पुगेका थिए । उनको समेत उपचार जारी रहेको देवकोटाले जनाए ।

    नेपालमा शनिबारसम्म कोरोनाको कूल ९ सय परीक्षण भएको छ । जसमा ५ जनामा पोजेटिभए देखिएको हो ।

  • नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

    नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् ।

    कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र अवस्था पनि सामान्य रहेको उनले जानकारी दिए । उनको बारे विस्तृत विवरण खोजी कार्य जारी रहेको उनले बताए ।

    मन्त्रालयले परिक्षणको दायरा बढाउने र क्वारेन्टाइनको दायरा बढाउने कामलाई उच्च प्राथमिकता दिने प्रवक्ता देवकोटाले बताए ।

    यसअघि पनि नेपालमा देखिएका चार वटा संक्रमण विदेशबाट नेपाल फर्किएका नागरिक नै थिए । त्यसमध्ये एक युवती फ्रान्सबाट आएकी थिइन् ।

    दुई युवा खाडी मुलुकबाट फर्केका हुन् । एक जना भने चीनबाट फर्किएका थिए । चीनबाट फर्किएका युवा भने निको भइसकेका छन् । अन्यको उपचार जारी छ ।

  • नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

    नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

    काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो ।

    शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।

    ति जहाजले ३ सय ३ र ३ सय ५ जना गरी कूल ६ सय ८ जना यूरोपेली मुलुकका नागरिकलाई नेपालबाट फिर्ता लगिएको हो ।

    नेपालबाट स्वीडेन, जर्मनी र फ्रान्सका पर्यटक फिर्ता गएका छन् । यसअघि शुक्रबार समेत कतार एयरवेजले ३ सय ५ जना पर्यटकलाई फिर्ता लगेको थियो ।

    अकस्मात घोषित लकडाउनका कारण सयौं पर्यटक नेपालमा अलपत्र परेका थिए ।

    यसअघि शनिबार बिहानैबाट आन्तरिक उडानका जहाजले पोखरा र लुक्लाबाट यात्रुलाई काठमाडौं ल्याएका थिए ।

    नेपाल एयरलाइन्सले मात्र लुक्लामा शनिबार ५ उडान गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले नेपालमा लकडाउन घोषणा गरेको हो ।

  • नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

    नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

    नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ ।

    शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो ।

    जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो ।

    शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका स्वाबको परिक्षणका लागि स्वास्थ्य मन्त्रालयले नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज पठाएको थियो ।

    नेपालगन्जमा गएको जहाज दूर्घटनामा परेपछि नेपाल एयरलाइन्सले आफ्नो अर्को ट्वीनअटर जहाज पठाएर त्यहा गएका डाक्टर, पाइलटको उद्दार गरेको छ ।

    यस घटनामा सबै सुरक्षित भएपनि जहाज भने परीक्षण पछि मात्र उडान योग्य हुनेछ ।

  • स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

    स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

    बार्सिलोना । स्पेनमा चार जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित मध्ये स्पेन पनि एक मुलुक हो ।

    कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको संचार माध्यमले जनाएका छन् ।

    स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका नेपालीमा कोरोना पोजेटिभ देखिएको हो ।

    उनीहरु अस्पतालमा छन् । बार्सिलोनास्थित साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपाली सान्पाओ अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

    तीनजना नेपाली हस्पितालेद क्षेत्रमा उपचारका लागि भर्ना भएको संचारमाध्यमले लेखेका छन् ।

    संक्रमित नेपालीको विस्तृत विवरण खुलाइएको छैन। उनीहरु पुरुष रहेको बताइएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । स्पेनमा चीनमा भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    यूरोपमा स्पेन र इटली कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन् । स्पेनबाहेक यूइर्एमा समेत नेपालीहरु कोरोनाबाट ग्रसित छन् ।

  • कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

    कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

    काठमाडौं । कोरोना भाइरसले अहिले अमेरिकार यूरोपेली मुलुकलाई आक्रान्त बनाएको छ । शुक्रबार यी मुलुकबाट अझ डरलागे तथ्यांकहरु आएका छन् ।

    अमेरिकामा मात्र एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अब १ हजार ६ सय ९५ पुगेको छ ।

    इटली, स्पेन र चीनपछि अमेरिकामा धेरै मानिसको ज्यान गएको हो । शुक्रबार अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

    यसले अमेरिकाले संक्रमण रोक्न चालेका सबै कदम फेल भएको प्रमाणित गरेको छ । अब अमेरिकामा मात्र संक्रमितको संख्या एक लाख नाघेको छ ।

    यो कुनै पनि मुलुकमा भएको सबैभन्दा ठूलो संक्रमण हो । धेरै मानिसको ज्यान गएको इटलीमा समेत यति धेरै मानिसमा संक्रमण भइसकेको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेका थिए ।

    यसअघि कोरोनालाई निकै हल्का रुपमा लिएका ट्रम्प अहिले भने केही गम्भीर बन्न थालेको जानकारहरु बताउँछन् ।

    कोरोनाको संक्रमण करीव ६ लाख मानिसमा पुगिसकेको छ । शुक्रबारसम्म २७ हजारमानिसले ज्यान गुमाइसकेका छन् ।

  • यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

    यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

    यूएई । यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार यसको पुष्टी गरेको हो । शुक्रबार मात्र यस मुलुकमा ७२ जना नयाँ संक्रमित फेला परेका थिए ।

    त्यसमध्ये दुई जना नेपाली कामदार रहेका छन् । यूएइमा कूल संक्रमित ४ सय ५ जना भएको छ । यूएइमा यसअघि दुई जना नेपाली कामदारमा कोरोना देखिएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

    दुई जना नेपालीसहित ५५ जनाको यूएइमा सफल उपचार भइसकेको छ ।

    यूएइमा उक्त मुलुकभन्दा बाहिरी कामदार तथा श्रमिकमा बढी रोगका संक्रमण देखिएको छ । कतिपय पर्यटकसमेत रहेका छन् ।

    शुक्रबार नेपाल सहित श्रील‌ंका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विडेन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिकमा कोरोना पुष्टी भएको मन्त्रालयको भनाई छ ।

    यूएइमा अहिले लकडाउन घोषणा भएको छ । स्वास्थ्य र खाद्य क्षेत्रका डेलिभरी सेवा, बैंक र विमानस्थल मात्र खुला छन् । यहाँ सरकारको नीति नमाने कडा कानूनि कारवाहीको प्रावधान रहेको छ ।