Author: Vishwanews.com

  • कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

    कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड

    काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ ।

    यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने सरकारले राखेको रकमभन्दा बाहेक हो ।

    कार्यालयका अनुसार बिहीबार साँझ सम्म कोषमा १ अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। कोषमा बिहिबार मात्रै ८४ करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ थपिएको थियो ।

    प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सार्वजनिक गरेको विवरण अनुसार कोषमा नेपाल आयल निगमले ५० करोड र नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेका छन् ।

    कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ राखेका छन् ।

    नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख सहयोग गरेको छ । नागरिक लगानीकोषले २ करोड रुपैयाँ राखेको छ ।

    कोषमा नेपाल पुनर्वीमा कम्पनीले १ करोड १ लाख ११ हजार दिएको छ ।

    एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको रकम भने कोषमा आइपुगको छैन ।

    सरकारी निकायबाट धमाधम रकम आएपनि केही बैंकबाहेक निजी क्षेत्रका कर्पोरेट हाउसहरुले भने सरकारी कोषमा रकम जम्मा गरेका छैनन् ।

  • कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

    कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो ।

    बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

    संगठनले यस रोगबाट मर्नेको संख्या ३ हजार नाघेपछि विश्वव्यापी महामारी घोषणा गरेको थियो । त्यसबेला यो रोगबाट चीन मात्र लडिरहेको थियो ।

    अहिले भने पुरै संसार यो रोगको संक्रमणविरुद्ध लड्नु परेको छ । यस भारइबाट अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जना संक्रमित भएका छन् ।

    इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित रहेको आंकडा छ ।

    जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ रहेको छ । मृतक भने इटलीमा धेरै छन् । इटलीमा कोरोना भाइरसल अहिलेसम्म १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ ।

    स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा बेलायत र फ्रान्समा मृत्युदर बढी रहेको छ ।

    इटलीमा नयाँ संक्रमण हुन दर घटिरहेको छ ।

  • रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो

    रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो

    मस्को । रूस सरकारले उक्त देशमा जारी गरेको लकडाउनको अवधी बढाएको छ । यस मुलुकमा लगातार कोरोनाको संक्रमण बढेसँगै लकडाउनको अवधि समेत बढाइएको हो ।

    अब रूसमा ३० अप्रिलसम्म नै लकडाउन जारी रहने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले यस्तो घोषणा गरेका हुन ।

    रुसको मस्कोमा अवस्था गम्भीर रहेको बढाइएको छ । अन्य स्थानमा भने स्थिति नियन्त्रणमै रहेको बताइएको छ ।

    सोहीकारण देशभर यस भाइरसको संक्रमण फैलन नदिन लकडाउन घोषणा गरिएको हो । पुटीनका अनुसार स्थानीय प्रशासनको अनेक कोशिसका वावजुत मुलुकमा संक्रमण रोकिएको छैन ।

    पछिल्लो तथ्यांक अनुसार रुसमा २४ घण्टा भित्र ७ सय ७१ नयाँ बिरामी देखिएका छन् । यस मुलुकमा कुल ३ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको छ ।

    यद्दपी यूरोप र अमेरिकाको तुलनामा रुपमा यो भाइरसको संक्रमण निकै नियन्त्रित देखिएको छ ।

    कोरोना भाइरसविरुद्ध चीनपछि रुसले पनि निरन्तर सफलता पाउँदै गएको बताइएको छ ।

    खासगरी यी मुलुकले नागरिकको आवतजावतलाई छिट्टै नियन्त्रण गर्न सकेका कारण भाइरसले फैलन अवसर पाएन ।

  • रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

    रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा उजुरी दिएका छन् ।

    उपप्रधानमन्त्री तथा कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिएका ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकलाई विपक्षी बनाउदै उजुरी परेको हो ।

    ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार सरकारले खारेज गरेको छ ।

    ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यका सामान ल्याउने सम्झौता गरेको थियो ।

    १० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने तयारी थालेको छ ।

    गत आइतबार सामान काठमाडौं आएपछि विवाद बाहिरिएको थियो । सरकारले बुधबार विवादित खरीद सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।

  • १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

    १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

    काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् ।

    तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ ।

    धार्चुला, रुपैडिहा लगायत क्षेत्रमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन ।

    त्यसो त नेपालमा रहेका भारतीय नागरिक समेत घर फर्किन नेपाल र भारतको सीमा नाकामा पुगेर अड्किएका छन् । तर, नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति यसअघि नै भइसकेको छ ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले सीमा पारी आएका नेपालीलाई सोही स्थानमा १४ दिनको क्वारेन्टाइनमा नबसेसम्म नेपाल आउन नदिने निर्णय गरेको हो ।

    सरुवा रोगको संक्रमण मुलुक भित्र फैलन नदिन यस्तो निर्णय गर्नु परेको सरकारको भनाई छ । भारतीय सीमा क्षेत्रमा आइपुगेकालाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

  • आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

    काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ ।

    यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ ।

    कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो ।

    बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो ।

    तर, उद्योगहरुले कामदारलाई आवासीय सुविधा दिनुपर्नेछ । उनीहरु बस्ने र काम गर्ने स्थानमा समेत सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने शर्त राखिएको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सुरक्षा मापदण्ड पुरा गरी उद्योगहरु खुल्ने भएका छन् ।

    अन्य उद्योग चलाउनु परेमा भने स्थानीय प्रशासनको अनुमति चाहिने भएको छ ।

  • नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

    नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

    काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ ।

    नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् ।

    सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो ।

    यसअघि बुधबार अष्ट्रेलियाले आफ्ना नागरिकलाई नेपाल एयरलाइन्समार्फत फिर्ता लगेको थियो । उक्त जहाज आज काठमाडौं अवतरण गर्दैछ ।

    यता, नेपाल एयरलाइन्सको वाइडबडी जहाज आजै दोस्रो लटको मेडिकल किट लिन चीनको ग्वानझाउ उडेको छ ।

    यो जहाजले बिहीबार राती कोरोना संक्रमणको रोकथामका लागि आवश्यक सामगी लिएर आउनेछ । यी सामग्री नेपालमा निजी क्षेत्रले अर्डर गरेका हुन् ।

  • नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

    नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।

    यस विमानबाट नेपाल आएका तीन जनामा कोरोना देखिएको छ । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको पुष्टी भएको छ ।

    अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    उनीहरु एकसाथ बेल्जियमबाट नेपाल आएका थिए । त्यसपछि यती एयरलाइन्सको विमानबाट काठमाडौं हुँदै पोखरा पुगेका थिए ।

    एकदिन पोखरा बसेपछि उनीहरु दुबैजना जिप चढेर बाग्लुङ पुगेको खुलेको छ । बागलुङ अस्पताल स्रोतकाअनुसार महिलामा दमको समस्या रहेको बताइएको छ ।

    संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । सबै व्यक्ति विदेशबाट नेपाल आएका हुन् । त्यसमध्ये दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएको खुलेको छ ।

  • अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

    अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

    काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ ।

    सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् ।

    प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबाबाट कोरोना परीक्षण शुरु भएको हो । पोखरामा बुधबार कोरोना परीक्षण सुरु भएको हो ।

    हेटौंडामा प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्थापन भइसकेको छ । यो प्रयोगशाला बिहीबारबाट संचालन हुनेछ ।

    प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबारबाटै कोरोना परीक्षण सुरु हुने मन्त्रालयको भनाई छ ।

    प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    काठमाडौंमा भने कोरोना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ । यसअघि काठमाडौं बाहिरबाट नमुना टेकुमै ल्याउनु पर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ ।

  • कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

    कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

    नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ ।

    किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो ।

    मंगलबार ३ जनाले मात्र ज्यान गुमाएकोमा बुधबार एकै दिन २३ जना मानिसको ज्यान गएको हो । भारतमा कुल मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    भारतमा बुधबार मात्र ६ सय १ जना संक्रमित भेटिए । यो पनि अहिलेसम्मकै सबैभन्दा धेरै हो । भारतमा कोरोना भाइरसबाट संक्रमित बिरामी भने करिब दुई हजार पुगेका छन् ।

    भारतमा कोरोना भाइरसको जोखिम फैलन नदिन २१ दिनको लकडाउन जारी रहेको छ ।

  • जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध

    जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध

    टोकियो । जापानले थप यात्रा प्रतिवन्धको घोषणा गरेको छ । आफ्नो मुलुकभित्र करीव नियन्त्रणमै रहेको कोरोना भाइरसको संक्रमण मुलुक भित्र फैलन नदिन भन्दै जापानले बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

    जापान सरकारले ७३ देशका नागरिकलाई आफ्नो देश आउन रोकेको छ । प्रधानमन्त्री सिन्जो आवेले यस्तो घोषणा गरेका हुन् ।

    उनकाअनुसार अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियालगायत मुलुकबाट मानिसहरु जापान आउन पाउनेछैनन् ।

    अत्यावश्यक बाहेकका भ्रमण नगर्न उले स्वदेशी नागरिकलाई समेत आह्वान गरेका छन् ।

    जापानको राजधानी टोकियोमा बुधवार कोरोना भाइरसका ६५ संक्रमित भेटिएपछि जापानले विदेशी नागरिकमाथि कडाई गरेको हो । जापानमा मङ्गलवार ७८ जना नयाँ संक्रमित भेटिएका थिए ।

    जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या करीव तिन हजार पुगेको छ । यहाँ ७८ जनाको मृत्यु भएको छ ।

  • एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

    एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

    काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ ।

    ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ ।

    यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

    स्पेनमा ८ हजार बढी नयाँ संक्रमित बुधबार थपिएका छन् । इटलीमा बुधबार थप साढे ४ हजार संक्रमित भेटिए ।

    इटलीमा भने नयाँ संक्रमित आउने दर घटिसकेको छ । तर, अमेरिका र स्पेनमा भने यो दर तिब्र रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण बुधबार एकै दिनमा करीव ५ हजार मानिसको ज्यान गएको छ ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार भन्दा मानिसले ज्यान गुमाए । स्पेनमा बुधबार एकैदिन ९ सय २३ जनाको मृत्यु भयो ।

    स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय पुगेको छ । यहाँ कुल संक्रमित १ लाख ४ हजार रहेका छन् । इटलीमा बुधबार ७ सय २७ जनाको मृत्यु भएको छ ।

    यहाँ कुल १३ हजारले ज्यान गुमाएका छन् । इटलीमा कुल संक्रमितको संख्या १ लाख १० हजार पुगेको छ ।

    फ्रान्समा एकै दिन ५ सय जनाले ज्यान गुमाए । बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ।

    विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ। यसबाट करीव २ लाख मानिस उपचारपछि निको भएका छन् । संसारभर करीव ४७ हजार मानिसले ज्यान गुमाएका छन् ।

  • अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो

    अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो

    न्यूयोर्क । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । यो संख्या संसारमा कुनै एक देशमा भएको सर्वाधिक संक्रमण हो ।

    संचारमाध्यमहरुका अनुसार अमेरिकामा बुधबार साँझसम्म २ लाख १३ हजार ३ सय ७२ जनामा यसको पुष्टी भइसकेको छ ।

    यो भाइरसको संक्रमण अमेरिकामा तिब्र रुपमा बढिरहेको छ । अमेरिकामा ४ हजार ७ सय ५७ जनाको निधन भइसकेको छ ।

    यसमा पनि न्यूयोर्कमा बढी क्षेत्र प्रभावित बनेको छ । कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै मानिसहरुको ज्यान गएको छ।

    उक्त मुलुकले १३ हजार १ सय ५५ जना नागरिक गुमाइसकेको छ । अमेरिकाको न्यूयोर्कबाहेक अन्य राज्यमा पनि अझ डरलाग्दो अवस्था आउन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन् ।

    संक्रमितको संख्या बढेसँगै स्वास्थ्य सामग्रीको अभाव अमेरिकामा पनि उस्तै छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कलाई स्टेरिलाइज गरेर पटक–पटक प्रयोग गर्न सकिने समेत बताइसकेका छन् । यसले उक्त मुलुकमा भएको स्वास्थ्य सामग्रीको अभावलाई दर्शाएको छ ।

    तर, अमेरिकामा लकडाउन गर्नेबारे भने कुनै योजना नरहेको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । यहाँ अहिले बाहिरबाट आउने मानिसहरुलाई रोकिएपनि मुलुक भित्र भने निर्वाध आवतजावत भइरहेको छ ।

    लकडाउनपछि देशको अर्थव्यवस्थामा असर पर्नसक्ने भन्दै राष्ट्रपति लकडाउनको पक्षमा पुगेका छैनन् ।

    उनले धेरै मानिसको परिक्षणबाटै यस भाइरसको संक्रमणसँग जुध्ने योजना रहेको स्पष्ट पारेका छन् ।

  • स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

    स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

    काठमाडौं । कोरोनाको नयाँ इपिसेन्टर बनेको स्पेनमा कोरोना प्रभावितको संख्या १ लाख नाघेको छ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको अमेरिका र इटली पछि स्पेनमा बढी मानिसलाई संक्रमण भएको छ ।

    बुधबार यहाँ संक्रमितको आंकडा १ लाख नाघेको हो । बुधबार स्पेनमा ६ हजार २ सय १३ जना नयाँ संक्रमित फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    स्पेनमा कोरोना भाइरसको संक्रमण १ लाख २ हजार १ सय ३६ जनामा पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा डरलाग्दो गरी फैलिरहेको छ ।

    स्पेनमा अहिलेसम्म ९ हजार ५३ जनाले ज्यान गुमाएका छन् । यो संख्या इटलीपछि बढी हो । स्पेनमा कोरोना संक्रमितमध्ये २२ हजार ६ सय ४७ जना भने उपचारपछि निको भइसकेका छन् ।

    अझै ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस मुलुकमा ७० हजार ४ सय ३६ जनाको उपचार भइरहेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम  संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो ।

    कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको खपत उल्लेख्य घटेको छ । जसले गर्दा मूल्यमा समेत गिरावट आइरहेको छ ।

    १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको १२ बजे रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मटितेलमा साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो ।

    काठमाडौंमा अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा आएको छ ।

    हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटेर ७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको बाह्यतर्फको मूल्य  अब प्रतिलिटर ०.९५ डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

  • विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द

    विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द

    काठमाडौं । सरकारले विवादित बनेको कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । सम्झौता अनुसार तोकिएको समयमा सामग्री आपूर्ति गर्न नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेको हो ।

    स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका दौरान उनले यस्तो जानकारी गराएका हुन् ।

    कोरोना भाइरसको परिक्षण तथा संक्रमणसँग मुकाविला गर्न विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यस समुहसँग खरीद सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार केही सामग्री नेपाल ल्याइ समेत सकेको छ ।

    विना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिद सम्झौता भएको भन्दै आलोचना भएको थियो । मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेर सामान ल्याइएको श्रेष्ठले जानकारी दिए ।

    ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरिएको उनको भनाई छ । यस समूहले पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र सामान ल्याएको छ ।

    मूल्य भने १८ प्रतिशत बराबरको तिरिएको थियो । बिहीबार दोस्रो खेप ल्याउनु पर्नेमा त्यो समयमा ल्याउने सम्भावना नदेखिएपछि सम्झौता रद्द गरिएको हो ।

    उनका अनुसार ओम्नी समूहलाई कालो सूचीमा राख्ने निर्णय समेत भएको छ । यस समूहबाट ५ करोड धरौटीसमेत जफत गरिएको विभागको भनाई छ ।

    विभागले बिहीबारबाट नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर बिहीबा प्रस्ताव आह्वान हुने भएको छ ।

    यसबीचमा सस्तोमा सामान दिने भन्दै प्रचारमा उभिएका व्यापारीलाई प्रस्ताव हाल्न समेत सरकारले आह्वान गरेको छ ।

  • पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

    पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा थप कोरोना संक्रमित नभेटिएको सरकारले बताएको छ । देशभर कूल ११ सय ३३ परिक्षण भएकोमा कूल ५ जनामा कोरोना देखिएको छ ।

    तर, पछिल्लो तीन दिनयता कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए ।

    उनका अनुसार देशभर आइसुलेसनमा ९९ बिरामी रहेका छन् ।

    ५ जनामा पुष्टी भएका मध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । सरकारले अहिले कोरोनाको परिक्षण हुने स्थान बिस्तार गरेको छ ।

    यसले दायरा समेत फराकिलो भएको उनले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितसको नजिकमा रहेका मानिसको परिक्षण गर्ने काम ८४ प्रतिशत सम्पन्न भएको छ ।

    पछिल्लो समय धनगढीमा भेटिएका संक्रमितको नजिकका आफन्तसहित कूल १२ जनाको नमुना परिक्षणका लागि पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ ।

  • लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

    लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

    काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ ।

    यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ ।

    महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ । यसअवस्थामा कुनै पनि व्यक्ति अब भारतबाट नेपाल छिर्न सक्दैनन् ।

    नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको बताइएको छ ।

    यसअनुसार अब भारतीय नागरिक नेपालमा छन् भने भारत छिर्न पाउने छैनन् । नेपाली पनि आफ्नो मुलुक छिर्न पाउनै छैनन् ।

    सहमतिपछि सुनौली नाकामा रोकिएकाहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइन र दार्चुलामा रोकिएकालाई भारतको धार्चुलास्थित क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

    सीमाना बन्दका कारण नेपालमै रोकिएका भारतीय नागरिकमध्ये भैरहवामा १५१ जनालाई नेपालले व्यवस्थापन गरिरहेको छ ।

    रौतहटमा ६० जना रहेका छन् । उनीहरुको जिम्मा नेपालले लिनेछ ।

  • आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

    आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

    काठमाडौं । नेपाल एयरलाइन्स आज इतिहासमै पहिलो पटक अष्ट्रेलिया पुग्दैछ । नेपालबाट साँझ २६४ यात्रु बोकेर अष्ट्रलिया उड्ने नेपाल एयरलाइन्सको जहाज ब्रिस्बेनमा जान लागेको हो ।

    यसअघि यो जहाज सिड्नी जाने तयारी थियो । तर, ब्रिस्बेनमा धेरै यात्रु भएपछि गन्तब्य परिवर्तन गरिएको हो ।

    अष्ट्रेलियाको आकासमा नेपाल एयरलाइन्स पहिलो पटक पुग्न लागेको हो । यसले भविश्यमा नेपाल एयरलाइन्सले सेवा बिस्तारमा समेत सहयोग पुग्नेछ ।

    नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई नेपालस्थित दूतावासले नेपाल एयरलाइन्स चार्टर्ड गरी स्वदेश फर्काउन लागेको हो ।

    आगामी १५ दिन नेपालमा अन्तराष्ट्रिय उडान नहुने भएपछि यहाँस्थित विदेशी नागरिकलाई ति मुलुकले जहाज चार्टर्ड गरि फिर्ता लगिरहेका छन् ।

  • पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

    पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

    लिस्बन । पोर्चुगलमा एकै पटक ८ जना नेपालीका कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको हो । संचारमाध्यमहरुका अनुसार उनीहरु मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ मा बस्दै आएका थिए।

    उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरिरहेका थिए ।

    तर, ठिक नभएपछि परिक्षण गरिएको थियो । परिक्षणमा उनमा कोरोना देखिएको थियो । त्यसपछि कोठामा बस्ने सबैको परिक्षणमा उनीहरु संक्रमित भेटिएका हुन् ।

    सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बताइएको छ । ८ जनामध्ये २ जनालाई अस्पताल भर्ना गरिएको छ ।अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ।

    सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको संचारमाध्यमले लेखेका छन् । उनीरुसहित पोर्चुगलमा ९ जनामा सङ्क्रमण पुष्टी भएको छ ।

  • कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

    कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकमा ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो संख्या चीनमा कोरोनाका कारण मर्ने मानिसको संख्या भन्दा धेरै हो ।

    चीनमा ३ हजार ३ सय ५ मानिसको ज्यान गएको तथ्यांक रहेको छ । अहिले कोरोनाको मूख्य महामारी यूरोप र अमेरिकामा सरेको छ । चीन र युरोपपछि कोरोनाको इपिसेन्टर अमेरिका बनेको हो ।

    धेरै मानिस इटली र स्पेनमा मरेका छन् । अमेरिकामा संसारका सबैभन्दा धेरै संक्रमित छन् । यस मुलुकमा कूल संक्रमितको २० प्रतिशत रहेको छ ।

    अमेरिकामा कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

    डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा संक्रमण देखिएको छ । यो संक्रमण विश्वका सबैजसो मुलुकमा फैलिएको छ ।

  • संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

    संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् ।

    यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

    सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

    कोरोना महामारीका कारण विश्वव्यापी मन्द्यीप्रक्षेपण राष्टसंघले गरेको छ । यसले अहिलेसम्मकै ठूलो आर्थिक मन्दी आउने र यसको परिणाम भयाभह हुने अनुमान उनको छ ।

    राष्ट्रसंघले निम्न र मध्यमस्तरका देशलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग गर्न राहत कोष स्थापनाको समेत जानकारी दिएका छन् ।

    यस भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको भन्दै कोभिड–१९ कठिन परीक्षा भएको समेत उल्लेख गरको छन् । यसको समाना सबै मिलेर गर्नुपर्ने उनको भनाई छ ।

    समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न उनले सरोकारवाला सबैसँग आग्रह गरेका छन् । कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको मृत्यु भएको छ । ८ लाख ५० हजार मानिस संक्रमति छन् ।

  • पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

    पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

    काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् ।

    उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् ।

    जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् । उनका अनुसार पूर्वराजाले हिमानी कोषलाई उक्त रकम दिनेछन् । हिमानी कोषले सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्नेछ ।

    पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा समेत गरेका छन् ।

    उनको यो उदारताको सामाजिक संजालमा समेत खुलेर प्रसंशा भइरहेको छ । पूर्वराजाले कोरोना विरुद्धको अभियान अझ अझ प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिएका छन् ।

    लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै उनले यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।

    महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

    आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले उच्च सराहना गरेका छन् ।

  • अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

    अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ ।

    कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्।

    तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन नहुने उनको भनाई छ । कोरोना रोकथाम गर्न चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आरोप सरकारमाथि लागेको छ ।

    यसै सन्दर्भमा कांग्रेसले यस्तो सचेत गराएको हो ।

    यस्तो छ कांग्रेसको पत्र :

    ‘अख्तियारलाई स्मृति पत्र, संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्वु,  तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्‍न’

    सरकारले भने यस खरीदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।

  • खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

    खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् ।

    अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिए ।

    उनका अनुसार पछिल्लो २४ घन्टामा ६७ जनामा कोरोना परीक्षण भएको छ । मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।

    जसमध्ये पाँच जनामा मात्र कोरोना संक्रमण पुष्टी भएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना उपचारत रहेका छन् ।

    उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवक रहेका छन् ।

    उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

    यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।

    चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले उल्लेख गरेको छ ।

  • निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

    निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

    काठमाडौं । निजी अस्पतालहरु कोरोनाको संक्रमणसँगै बिरामीको उपचार गर्ने दायित्वबाट क्रमशः पन्छिरहेका छन् । कतिपय अस्पतालमा ज्वरोको समेत उपचार गर्न नमानेर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ ।

    यसै सन्दर्भमा सर्वोच्च अदालतले निजी अस्पताललाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश गरेो छ ।

    सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले रिट दायर गरेका थिए ।

    रिटमा मंगलबार प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले निजी अस्पतालले अनिवार्य कोरोनको उपचार गर्नुपर्ने आदेश दिएको हो ।

    अदालतको आदेशसँगै अब कुनै पनि निजी अस्पतालले कोरोनाको उपचारबाट उम्कन पाउने छैनन् ।

    सर्वोच्चले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन आदेश गरेको हो ।

    ‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैनु, सर्वोच्चको आदेशमा उल्लेख छ, त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मका बेड, आइसीयू, भेन्टिलेटरसहित कोरोना भाइरसका बिरामीको उपचार चाहिने आवश्यक व्यवस्था मिलाउनू।’

  • भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

    भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

    काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगन गरेको छ । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष स्थगित भएको जानकारी गराएका हुन् ।

    सरकारले यसअघि अप्रिलसम्म मात्र यो कार्यक्रम स्थगित गरेको थियो । अब भने औपचारिक रुपमा स्थगित भएको सचिव अधिकारीले जनाएका छन् ।

    उनका अनुसार सरकारले ९ चैतमा भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । सरकारले १ वैशाखबाट भ्रमण वर्षको सचिवालयसमेत विघटनको निर्णय गरेको छ ।

    यस सचिवालयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य संयोजक तोकिएका थिए ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।

    तर, कोरोनाका कारण यो वर्ष अभियान सफल हुन सकेन । सरकारले कूल ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्ष घोषणा गरेको हो । यसअभियानको १ जनवरीमा औपचारिक शुभारम्भ भए हो ।

  • एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

    एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

    काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो ।

    कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ ।

    ठूला करदाता कार्यालयका अनुसार यस कम्पनीले अझै सरकारलाई साढे १४ अर्ब बुझाउनु पर्छ । यो रकम एकै पटक बुझाउनु पर्ने रकम हो ।

    तर, कम्पनीले किस्ताको सुविधा सरकारसँग माग गरेको थियो ।

    देशमा आर्थिक संकट रहेको र कोरोनासँग लड्नुपर्ने समयमा आएको यो रकमले सरकारलाई भने केही रहात दिएको छ । ठूला करदाता कार्यालयका अनुसार बाँकि रकम लकडाउन लगत्तै तिर्न आदेश दिइएको छ ।

  • ३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

    ३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

    काठमाडौं । नेपालमा रहेका अमेरिकी नागरिक फिर्ता भएका छन् । मंगलबार साढे १ बजे त्रिभुवन विमानस्थबाट ३ सय २ जना अमेरिकी नागरिकलाई बोकेर कतार एयरवेजको जहाज कतारतर्फ उडेको हो ।

    यो जहाज दोहामा इन्धन भरेर डल्लासतर्फ लाग्नेछ । सोमबार दिनभर देशभर रहेका अमेरिकी नागरिकलाई काठमाडौंमा जम्मा पारिएको थियो ।

    उनीहरु आज सबै प्रक्रिया पुरा गरी नेपालबाट बाहिरिएका हुन् । यसअघि यूरोपका नागरिकलाई समेत कतार एयरवेजले लगेको थियो ।

    बुधबार अष्ट्रेलियाका नागरिकलाई नेपाल एयरलाइन्सले फिर्ता लैजाँदै छ । नेपालमा अन्तराष्ट्रिय उडान १५ दिन बन्द हुने भएपछि यहाँ अड्किएका नागरिकलाई धमाधम स्वदेश फिर्ता गरिदैछ ।

  • २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

    २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

    काठमाडौं । २०७७ सालमा शनिबारसहित कूल ६७ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले आगामी वर्षको पात्रो सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

    यस वर्ष कूल ५२ दिन शनिबार पर्नेछ । त्यो बाहेक दशैंमा ५ दिन बिदा हुने भएको छ ।

    तिहारमा तीन दिन बिदा राखिएको छ भने अन्य दिन मात्र ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।

    २०७७ सालको दशैंको टीका १० कात्तिकमा परेको छ । तिहारको भाइटिका १ मंसिरका दिन मनाइने भएको छ ।

    दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशैभर सार्वजनिक बिदा तोकिएको छ । तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक बिदा राखिएको पात्रोमा उल्लेख छ ।

    शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवसका दिन सार्वजनिक बिदा तोकिएको छ ।

    फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशैभर सार्वजनिक बिदा राखिएको छ ।

    चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक बिदा हुने पात्रोमा उल्लेख छ ।