Author: Vishwanews.com

  • अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ ।

    यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ ।

    सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ ।

    सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ ।

    यसका लागि निजीका डाक्टरले पनि सरकारी डाक्टरसरह सुविधा पाउने भएका छन् । यस्ता जनशक्ति कम्तीमा तीन महिनाका लागि खटाइने भएको छ ।

    अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढी सुविधा र सम्मान आवश्यक परे राष्ट्रलाई आवश्यक परेका बेला उनीहरुको दक्षता उपयोग गर्ने तयारीमा सरकार रहेको हो ।

    नेपालको राष्ट्रिय समाचार संस्था रासससँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिए ।

    मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीको अभाव हुन नदिन सबै उपाय अवलम्बन गरिएको समेत बताएका छन् ।

    अहिलेकै स्वास्थ्य क्षेत्रमा भएकै जनशक्तिको पनि उचित परिचालन नभएको र स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लकडाउनको सुरुका अवधिमा सीमित सङ्ख्यामा भएको परीक्षणलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिएको उनले बताएका छन् ।

    अहिले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र काठमाडौ‌ं बाहिरका १० स्थानमा कोरोनाको भाइरसको परीक्षण भइरहेको छ ।

  • कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् ।

    उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ ।

    संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन समेत उनीहरुले माग गरेका छन् ।

    संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिसांसद ६ करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।

    कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तलब समेत नकाट्न सुझाव दिएका छन् ।

    नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरेका हुन् ।

    सरकारले कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणको दायरा बढाउनु पर्ने उनीहरुको सुझाव रहेको छ ।

    उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

    नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्थाको माग गरेका छन् ।

  • सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने ।

    काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो ।

    तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले विरोध गरे ।

    यातायात व्यवसायीले पनि सरकारको यस निर्णयमा साथ नदिने बताए । त्यसपछि संघीय सरकार आफ्नो निर्णयबाट फिर्ता भयो । त्यति सम्म त ठिकै छ ।

    निर्णय फिर्ता भएसँगै उपप्रधानमन्त्री इश्वर पोखरेलको नाममा एक विज्ञप्ती सार्वजनिक गरियो ।

    जहाँ संचारमाध्यमले हुँदै नभएको निर्णयलाई अफवाह फिजाएको उल्लेख छ । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सामाजिक संजालबाट यथार्थ सार्वजनिक गरेको छ ।

    जसअनुसार सरकारले यातायात खुलाउने निर्णय गरेको थियो । तर, प्रदेश सरकारहरुको विरोध पछि निर्णय फिर्ता लिइएको अपडेट गरिएको छ ।

    तर, इश्वर पोखरेलले निर्णय गरेर पनि होइन भन्दै गरेको प्रचारको भने आलोचना भइरहेको छ ।

    कोरोना भाइरस (कोभिड १९) को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ ।

    लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका थिए । सोहीकारण संघीय सरकारले दुई दिन यातायात खुलाउने तयारी गरेको थियो ।

  • बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो ।

    बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

    यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

    जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

    संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ । यहा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।

  • कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ ।

    २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६ नयाँ संक्रमित फेला परेका छन् ।

    अब अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ रहेको तथ्यांक छ ।

    अमेरिका पछि स्पेनमा मृतकको संख्या बढेको छ। पछिल्लो समय इटलीमा भने मृत्युदर घटेको छ । चीनले भने कोरोनाबाट मुक्त भई मूख्य प्रभावित शहर वुहान नै लकडाउनबाट खुला गरेको छ ।

    स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ४७ जनाको मृत्यु भएको छ ।

    यस मुलुकमा संक्रमितको संख्या १ लाख ४८ हजार रहेको छ । इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण भएको छ ।

    इटालीमा सर्वाधिक १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भई घर फर्किएको इटलीले जनाएको छ ।

    फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ५९ पुगेको छ । १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

    देश जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ जना पुगेको छ । यहाँ २ हजार सय ४९ जनाको ज्यान गइसकेको छ ।

    विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ।

    बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । नेपालमा कूल ९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

  • विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ ।

    बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए ।

    घेब्रेससले महामारीमा कुशल नेतृत्व लिन चीन र अमेरिकासँग आग्रहसमेत गरे ।

    उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको ज्यान जाने चेतावनी समेत दिए ।

    डब्ल्यूएचओले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने सुझाव दिए ।

    जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो ।

    जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो ।

    अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

  • अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ ।

    यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् ।

    यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट र अफिसियल झण्डा प्रयोग गर्न पाउने छैनन् ।

    सरकारले अर्को सूचना नआउँदासम्मका लागि ती सुविधा खोस्ने निर्णण गरेको हो ।

    ब्यापारी शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूत हुन् । चीनमा निर्मित थर्मल गनको कालोबजारी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

  • कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ ।

    संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ ।

    नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार विदेशमा अहिलेसम्म ८ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

    अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको संस्थाले जनाएको छ ।

    विदेशमा १ सय भन्दा बढी नेपाली यस भाइरसको संक्रमणमा परेका छन् ।

    नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । बहराइन, पोर्चुगल, स्पेन, यूएईमा बढी नेपाली प्रभावित भएका छन् ।

  • वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ ।

    बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो ।

    सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार मानिस गुमायो । तर, बुधबारबाट अवस्था सामान्य भएको छ ।

    बुधबार बिहानबाटै बुहानमा बस, रेल र विमान फेरि सञ्चालनमा आए । सेवा सूचारु भएसँगै यात्रु साविकझै यात्रा गरेका थिए ।

    विमान तथा रेल चल्ने भएपछि मंगलबार राति विमानस्थल तथा रेल्वे स्टेसनबाहिर मान्छेको लाइन लागेको थियो।

    संचारमाध्यमहरुका अनुसार बुधबारमात्रै २७६ वटा रेल बुहानबाट छुटेका छन् । ती रेल ग्वाङडोङ, सिचुवानलगायत प्रान्तका शहरमा गएका हुन् ।

    एकै दिन रेलमा ५५ हजार बढी यात्रुले यात्रा गरेका छन् । यहाँ तीव्र गतिको बुलेट ट्रेन जी ४३१ पनि बुधबारदेखि सञ्चालनमा आएको छ।

    उक्त बुलेट ट्रेन बिहान ७ बजे नानिङ शहरका लागि छुटेको थियो। बुहानको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बुधबारबाट नै संचालनमा आयो ।

    यहाँ बुधबार करीव २ सय उडान अवतरण भएका छन् । एक महिना अगाडीसम्म निकै दर्दनाक रहेको बुहान अब भने सामान्य बनेको हो ।

  • प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

    संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीकै सम्बोधनको सेरोफेरोमा रहेर सांसद थापाले बुधबार यी प्रश्न सार्वजनिक गरेका हुन् ।

    संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको उनको भनाई रहेको छ । उनले कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको प्रतिक्रिया समेत दिएका छन् ।

    परीक्षण किट गुणस्तरहीन भएको भन्दै उनले परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी के छ भनेर सोधेका छन् ।

    दार्चुलापारि धार्चुलास्थित भारतीय भूमिमा नेपाली असुरक्षित रहेको भन्दै थापाले उनीहरुलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा के सोचेर जीवन या वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको हो भन्नेबारे पनि थापाले प्रश्न गरेका छन्।

    ‘के वैयक्तिक स्वतन्त्रताविनाको जीवन कल्पना गर्न सकिएला ?,’ थापाको प्रश्न रहेको छ ।

    थापाले विदेशमा रहेका नेपालीको अवस्थाबारे के भइरहेको छ भन्नेबारे पनि प्रश्न राखेका छ । कृषिको काममा भएका व्यवस्था, सुरक्षाकर्मीको सुरक्षाजस्ता विषयलाई समेत सांसद थापाले चासो दिएका छन् ।

  • कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

    कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

    बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए ।

    उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।

    महामारीका बेला सबैभन्दा ठूलो भूमिका चिकित्सकको हुन्छ । तर, संकटकै समयमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही थालिएको हो ।

    अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला बिरामीको सेवामा नखट्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।

    नेपालमा कोरोना देखिन थालेपछि चिकित्सक डरले सेवामा आउन छाडेका हुन् ।

    अस्पतालका अनुसार रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की निलम्बनमा परेका हुन् ।

    उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित रहेको बताइएको छ ।

    चिकित्सक अनुपस्थित भएको थाहा पाएसँगै प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

    मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदा बाहेकका कुनै पनि बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

    त्यसपछि अस्पतालले कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

  • अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी

    अमेरिकी राष्ट्रपतिबाट डब्लूएचओको आलोचना, सहयोग रोक्ने चेतावनी

    वासिंटन डिसी । विश्व स्वास्थ्य संगठन चीन परस्त भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । उनले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग समेत रोक्ने चेतावनी दिएका छन् ।

    संगठनले कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको उनको आरोप छ ।

    मंगलबार ह्वाईट हाउसमा नियमित प्रेस ब्रिफिंगका दौरान राष्ट्रपति ट्रम्पले अमेरिकाबाटै धेरै रकम लिइरहेको संगठनकै गलत सुझावका कारण अमेरिकामा कोरोनाको संक्रमण बढेको उनको भनाई रहेको छ ।

    संगठनले चीनप्रति सदासायता राख्दै व्यवहार गरेको राष्ट्रपतिको आरोप छ । डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको प्रतिक्रिया दिएको थियो ।

    लगत्तै राष्ट्रपति ट्रम्पको कडा टिप्पणी आएको हो । यसअघि संगठनले सीमाना बन्द गर्न नहुने सुझाव दिएको स्मरण गर्दै राष्ट्रपतिले सोहीकारण संक्रमण फैलन सहयोग पुगेको बताए ।

    संगठनको कुरा नमानी अमेरिकाले तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेकै कारण अमेरिकामा संक्रमण कम भएको समेत उनले बताएका छन् ।

    गत वर्षको डिसेम्बर अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखिएको थियो ।

    त्‍यसपछि जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्‍न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दिएको थियो ।

    हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो ।

    त्‍यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए। कोरोनाबाट अहिले अमेरिका सबैभन्दा बढी प्रभावित भइरहेको छ ।

  • लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

    लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

    काठमाडौं । सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ । बुधबारसम्म कूल २३६६ जनाको नमुना परिक्षण भएको छ । त्यसमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लगातार  चौथो दिन नेपालमा थप संक्रमित भने फेला परेनन् ।

    सरकारले अहिले काठमाडौंस्थित केन्द्रिय प्रयोगशालासहित देशभर १० स्थानबाट कोरोनाको परिक्षण थालेको छ ।

    जसले गर्दा पछिल्लो एक सातामा दोब्बरले नमुना परिक्षण भएको छ । तर, नेपालमा थप संक्रमित नभेटिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

    सरकारले यसअघि भेटिएका संक्रमितको नजिकका परिवार, उनीहरुले संगत गरेका व्यक्तिको पहिचान र परिक्षणलाई समेत तिब्रता दिएको बताएको छ ।

    संसारभर १४ लाखभन्दा बढी मानिसमा फैलिएको यो रोगको संक्रमणले पौने १ लाख मानिसको ज्यान गइसकेको छ ।

    सरकारले अहिले सुदुरपश्चिमका कैलाली र कंचनपुर तथा बागलुंगमा समुदाय स्तरमा परिक्षण बढाएको छ ।

  • अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु

    अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको मृत्यु

    न्यूयोर्क । कोरोनाको इपीसेन्टर अमेरिकामा एकै दिन सर्वाधिक जिन्दगीको अन्त्य भएको छ । । यसले कोरोनाको उच्चतम रुप यहाँ देखिएको छ ।

    मंगलबार अमेरिकामा १९ सय ५२ जनाको ज्यान गयो । उक्त अवधिमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परे ।

    यसले कोरोनाको संक्रमण अमेरिकाको नियन्त्रणबाट बाहिर गएको देखिएको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ ।

    संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ। अमेरिकापछि फ्रान्स, बेलायत, इटली, स्पेनलगायत मुलुकमा धेरै मानिसको ज्यान गएको छ ।

    कोरोनाको संक्रमण क्रमः भारतमा समेत फैलिरहेको छ । भरातमा कुल संक्रमित ५ हजार नाघिसकेको छ ।

  • विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

    विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

    काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८ जना भने सन्चो भइसकेका छन् ।

    इटलीमा अहिलेसम्म मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । संक्रमितको संख्या १ लाख ३५ हजार ४ सय ८६ पुगेको छ ।

    स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ । संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको छ ।

    यहाँ संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ । यो मुलुकमा विश्वकै बढी संक्रमित रहेका छन । अमेरिकाको न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यस शहरमा मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ ।

    न्यूयोर्कमा संक्रमित १ लाख ३८ हजार ८ सय ३६ छन् । फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ । संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७ सय ७ जनाको मृत्यु भएको छ ।

    बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० पुगेको छ । यहाँ संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ । नेपालमा यस रोगबाट ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

    पछिल्लो तीन दिन यता भने नेपालमा संक्तमित देखिएका छैनन् ।

  • शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ

    शंकर ग्रुपका मालिक कालोबजारी गर्दागर्दै पक्राउ

    काठमाडौं । संकटको समयमा केही पैसावाल मानिसले धेरै गरिब मानिसहरुको उद्धार गर्न सक्छन् ।

    त्यसकारण त भनिन्छ, ‘तिमलाई भगवानले दिएको पैसा थोरै भएपनि अफ्ठयारोमा परेका मानिसका लागि प्रयोग गर, सामान्य अवस्थामा अझै धनी बन्नेछौं ।’

    यो त भनाई भयो । नेपालमा भने संकटमा राज्य र जनतालाई केही मात्रामा भएपनि सहयोग गर्नु त कता हो कता उद्योगी व्यवसायी नै कालोबजारीमा लिप्त भेटिन्छन् ।

    आज यसको उदाहरण प्रहरीले रंगेहात फेला परेको हो । मंगलबार ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका छन् ।

    पाँच हजार रूपैयाँ पर्ने थर्मल गन उनले १५ हजार रूपैयाँमा बिक्री गर्न खोजेका थिए । प्रहरी आफै उनको ग्राहक बनेर अग्रवाललाई समातेको हो ।

    प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ । शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात टन स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो ।

    त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले प्राप्त गरेको थियो ।

    त्यसपछि प्रमाण जुटाउन प्रहरीले आफै ग्राहक बनेर उनीसँग सामान मगाएको थियो ।

    उनी कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत समेत हुन् । उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेको अवस्थामा पक्राउ परेका हुन् ।

    प्रहरीले उनी पक्राउ लगत्तै निवास र कार्यालयमा खानलासी लिएको थियो । शंकर समुहको उत्पादन जगदम्बा स्टील तथा सिमेन्टसमेत थुर्पै रहेका छन् ।

  • राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

    राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

    काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् ।

    तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ ।

    राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको भन्दै त्यसको आलोचना भइरहेको छ । सोहीकारण सरकारले सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।

    कोरोनाको महामारीका कारण विश्व नै संकटमा परेको छ । यसबाट बच्न सरकारले ११ चैतबाट लकडाउन घोषणा गरेको हो ।

    कतिपयले भने स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउनु पर्ने पीपीई लगाएर फोटो सामाजिक सन्जालमा राखिरहेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै स्थानीय तहहरुलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    गरिब तथा विपन्न नागरिकले राहत महसुस गर्ने गरी काम गर्न तर प्रचारमा ध्यान नदिन यस्तो निर्देशन दिइएको हो ।

    केही स्थानीय तहमा स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग जनप्रतिनिधि तथा अन्य असम्बन्धित व्यक्तिहरुले समेत गर्ने गरेको तथा राहत वितरणका गतिविधिहरु समेत सार्वजनिकीकरणको लागि मात्र केन्द्रित गर्ने जस्ता गतिविधिहरु भएको बुझिएको हुँदा यसबाट जनमानसमा राम्रो सन्देश नजाने विषयलाई आत्मसात गरी यस्ता कृयाकलापहरु नगर्ने र नगराउने तथा यस्ता गतिविधिहरु निरुत्साहित गर्ने गरी सरकारले निर्देशन जारी गरेको हो ।

  • अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो

    अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो

    काठमाडौं । सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडान अवतरण थप १५ दिन प्रतिवन्ध लगाएको छ । यसअघि ३ वैशाखसम्म रहेको प्रतिवन्ध अब वैशाख १८ सम्म पुगेको हो ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याएको हो । सरकारले आन्तरिक उडानका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन ।

    सरकारको यो निर्णयले चार्टर्ड उडान, आकस्मिक अवस्थामा हुने उडान, एयर एम्बुलेन्स र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हुने उडान भने रोकिने छैन ।

    अहिले नेपालमा रहेका नागरिक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेको छ । यी जहाजले विदेशबाट खाली आएर यहाँबाट विदेशी नागरिक भने लैजान सक्छन् ।

  • विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ ।

    विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो ।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको हो ।

    उनीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सर्वोच्चले आदेश गरेको हो ।

    अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठलगायतले समस्यामा परेका नेपालीलाई स्वदेश फकार्उनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।

    रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभएमा भने सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था मिलाउन सरकारका नाममा आदेश गरेको छ ।

    खासगरी नेपालको सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र छन । उनीहरुलाई खान, बस्न र उपचारको समेत समस्या छ ।

    अदालतको आदेशपछि सीमानामा रहेका नेपालीले नेपाल आउन चाहे नेपाल ल्याउनु पर्नेछ ।

    नेपाल आउन नचाहनेका लागि भने जहाँ छन्, त्यही व्यवस्थापन गर्नुपर्ने भएको छ ।

    ‘विदेशमा खाना बस्न, र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू’ आदेशमा उल्लेख छ ।

    उक्त कार्य तत्काल सम्भव नभएको अवस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहित रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू भन्ने आदेशसमेत अदालतले दिएको छ ।

    विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतले आदेश दिएको छ । नेपाल र भारत सीमानामा दुई हजार एक सय ४७ नागरिक अलपत्र छन् ।

  • प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे ।

    सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्ने भन्दै त्यसका लागि तयार रहनु आग्रह गरेका छन् । सरकारले पहिलो पटक ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

    त्यो लकडाउन १८ चैतसम्मका लागि थियो । तर, कोरोनाका संक्तमित बढ्दै गएपछि लकडाउन २५ चैतसम्म सारिएको थियो । तर, त्यसपछि पनि लकडाउन भने लम्बिएर ३ बैशाखसम्म पुगेको छ ।

    प्रधानमन्त्रीका अनुसार अबको दुई साता कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि समेत भएको भन्दै सचेत गराएका छन् ।

    प्रधानमन्त्रीले मेडिकल सामग्री खरीदमा भएको अनियमितता र त्यसपछि भएको सरकारको आलोचनाको समेत बचाउ गरेका छन् ।

    सरकारले स्वास्थ्य सामाग्री आपूर्तिको जिम्मा अहिले नेपाली सेनालाई दिएको छ । तर, प्रधानमन्त्रीले भने आरोप निराधार रहेको र मिथ्या प्रचार भएको भन्दै सरकारको बचाउ गरेका छन् ।

    सरकारका कामबारे संवैधानिक अंगहरुहरुले अध्ययन गर्ने भन्दै उनले कामै गर्न नसक्ने वा प्रक्रिया सुरु हुन नसक्ने गरी ‘आधारहीन’ प्रश्न गर्दा काम गरिरहेकाहरुलाई निरुत्साहित गर्न खोजिएको उनले बताए ।

    मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै भएको उनको भनाई छ ।

  • अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

    अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ ।

    कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो ।

    अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर, लकडाउनका कारण अन्य स्थानमा भने तरकारीको अभाव रहेको छ ।

    भीड नियन्त्रण गर्दै कोरोनाको संक्रमण घटाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ११ स्थानमा तरकारी बेच्ने ठाउँ उपलब्ध गराइएको छ ।

    महानगरपालिकाका अनुसार काठमाडौंमा कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल नजिकको चोक, तिनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधीभर अस्थायी तरकारी बजार लाग्ने भएको छ ।

    ११ ठाउँबाट थोक बिक्रि हुने भएको छ । यहाँबाट खुद्रा बिक्रि गर्ने व्यापारीले लैजान सक्ने भएका छन् ।

    यस्तो बजार बिहान ८ बजेसम्म मात्र चल्नेछ । सबै स्थानमा ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध हुने भएका छन् ।

    यसअघि कालिमाटीमा अधिक भिडभाड बढेको भन्दै महानगरपालिकाले त्यहा भित्र खुद्रा पसल बन्द गरेको छ ।

  • यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

    काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् ।

    सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन ।

    युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् ।

    प्रधानमन्त्रीले यूएईमा रहेका नेपाली कामदारको सुरक्षा र कोरोनाका कारण उनीहरुको रोजगारी समस्याका सन्दर्भमा त्यहाका राजकुमारसँग आग्रह गरेका हुन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको बाहुल्य रहेका मुलुकका सरकार प्रमुखहरुसँग सम्वाद गरी उनीहरुको सुरक्षामा चासो दिइरहेका छन् ।

    यसअघि उनले बहराइनका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका थिए । यूएइमा करीव २ हजार मानिसमा कोरोना भइसकेको छ । त्यसमध्ये अधिकांश आप्रबासी रहेका छन् ।

  • प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

    प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

    काठमाडौं । सरकारले आजबाट सकिएको लकडाउनलाई थप ८ दिन लब्याउने निर्णय लिएको छ ।

    यससँगै अब ३ वैशाखसम्म मुलुक अहिलेकै अवस्थामा ठप्प रहनेछ । यसै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार आज उनले सरकारले गरेको लकडाउनको औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् ।

    साथै, सरकारले कारोना संक्रमणसाग लड्न गरेका प्रयास र प्राप्त उपलब्धीमा समेत चर्चा गर्ने बताइएको छ ।

    सोमबार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्न लागेको मन्त्रिपरिषद् बैठकबाट जानकारी गराएका थिए ।

    उनले सम्बोधनका क्रममा स्वास्थ्यकर्मीलाई ढाडस दिनेछन् भने लकडाउनको पालना गरी संक्रमणविरुद्ध सचेत रहन सर्वसाधारणलाई अपिल गर्ने भएको छन् । नेपालमा ९ जनामा संक्तमण देखिएको छ ।

  • कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् ।

    सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा यसको संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये नेपालमा ९ जनामा संक्रमण पुष्टी भएको छ । २ लाख ५३ हजार ७ सय जना भने निको भएर घर फर्किसकेका छन् ।

    संसारभरका मुलुकमध्ये सबैभन्दा धेरै मानिस इटलीमा मरेका छन् । सोमबार इटलीमा ६ सय ३६ जनाको ज्यान गएको छ ।

    इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार ५ सय २३ पुगेको छ । यस मुलुकमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ रहेको छ ।

    सोमबार ३ हजार ५ सय ९९ नयाँ संक्रमित देखिए । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

    अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८ पुगेको छ । अमेरिकाको न्युयोर्कमा मात्र ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार ५ सय ७ रहेको छ । फ्रान्समा सोमबार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा एकै दिन धेरै जनाको मृत्यु भएको पहिलो पटक हो । अब फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।

     

    जर्मनीमा संक्रमित संख्या १ लाख ३ हजार ३ सय ७४ र मृतक संख्या १ हजार ८ सय १० पुगेको छ । इरानमा ३ हजार ७ सय ३९ को ज्यान गएको छ ।

  • निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ ।

    सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा उनीहरुलाई सरकारी अस्पतालले स्वागत गर्नेछन् ।

    कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सरकारले शतप्रतिशत भत्ताको निर्णय गरिसकेको छ ।

  • भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

    भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

    काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

    पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ ।

    भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिए ।

    निर्णय अप्रिल १ देखि लागू हुने भएको छ । प्रस्ताव पारित भएपछि सांसदको १२ महिनाको तलबमा ३० प्रतिशत कटौती हुनेछ ।

    उनीहरुले भत्ता पनि पाउने छैनन् । कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्च गरिने भएको छ ।

    सांसदको तलव कटौतीसँगै राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गरेका हुन् ।

    सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्म निलम्बित भएको हो ।

    यसरी निलम्बन भएका कोषहरुको रकम कोरोना भाइरसको संक्रमण हटाउन प्रयोग गरिने भएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ सय ९३ नयाँ संक्रमित व्यक्ति फेला परेका छन् ।

    भारतमा संक्रमितको संख्या ४ हजार नाघेको छ । भारतमा समग्र मृतकको संख्या १ सय ९ पुगेको छ ।

  • २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन ।

    २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ ।

    जसमध्ये ९ जनामा मात्र कोरोनाको पुष्टी भएको छ । उनीहरुमध्ये पनि एक जना भने घर फर्किसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ९ जनाको नमुनाको रिपोर्ट भने आउन बाँकि रहेको छ ।

    देशभर कूल ३० हजार ५ सय ६६ क्यारेन्टाइन बेड उपलब्ध रहेका े छ । जहाँ अहिले ९ हजार १ सय ६८ जना व्यक्ति बसेका छन् ।

    अझै पनि तेब्बर संख्यामा सम्भावित संक्रमितलाई राख्ने गरी क्वारेन्टाइन तयार भएको मन्त्रालयले जनाएको छ ।

    देशभर आइसोलेसन बेड भने ३ हजार २ सय ५९ रहेको छ । अहिले आइसोलेसनमा भने ९५ जना बिरामी रहेका छन् ।

    सरकारले सुदुरपश्चिम र बागलुंगमा भने र्यापिड टेस्टको तयारी गरेको छ । यसका लागि टोलीहरु खटिइसकेको मन्त्रालयले जनाएको छ ।

    र्यापिड टेस्ट भने २० हजार मानिसमा गरिने भएको छ ।

  • देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त

    देशले पायो नयाँ गभर्नर, महाप्रसाद अधिकारी नियुक्त

    काठमाडौं । देशले १८ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई प्राप्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    यससँगै आगामी पाँच बर्षे कार्यकालका लागि अधिकारी गभर्नर बनेका हुन् । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि सोमबार तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

    सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अधिकारी र पुर्वसचिव केशव भट्टराईको नाम थियो । मन्त्रीपरिषद्ले अधिकारीलाई नियुक्त गरेको छ ।

    अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडाका प्रिय पात्रसमेत हुन ।

    उनीहरुबीचमा लामो सहकार्य समेत भएको छ । अधिकारी यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

    गभर्नरलाई प्रधानन्यायाधिसले सथप ग्रहण गराउने प्रावधान रहेको छ । अधिकारी अघिल्लो पटक चिरन्जिवी नेपाल गभर्नर हुने समयमा समेत गभर्नरको सिफारिसमा परेका थिए । उनीसँगै नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस भएका थिए।

    नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर चैत ५ मा बिदा भइसकेका छन् ।

    चैत १८मा अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएका थिए ।

    अधिकारीले बिजिनेस एड्मिनिस्ट्रेसन स्नातक पास गरेका छन् । उनले भारतबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री समेत प्राप्त गरेका छन् । उनीसँग करीव ३० वर्षको बैंकिंग अनुभव रहेको छ ।

  • लकडाउन ३ वैशाखसम्म लम्बियो

    लकडाउन ३ वैशाखसम्म लम्बियो

    काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ ।

    लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो ।

    तर, उक्त अवधि पनि पूरा नहुँदै २५ गतेसम्म थपिएको थियो । तर, यो अवधिमा पनि कोरोना संक्रमण नघटेपछि सरकारले लकडाउन घोषणा गरेको हो ।

    यसअघि सरकारले स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलिएको आंशकामा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म समेत जान नसक्ने गरी कडाइ गरेको छ ।

    यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन लब्याउने सिफारिस गरेको थियो ।

    लकडाउन बढाउन र तिब रुपमा परिक्षण बढाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

    मन्त्रीपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले पाएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रदेश २ सँग समन्वय गर्ने भएका छन् ।

    खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने गरी तोकिएको छ ।

  • फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु

    फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु

    मनिला । कोरोना भाइरसको त्रासका बीच सबैजसो मुलुकले लकडाउन घोषणा गरेका छन् । तर, केही उच्छृंकल मानिसका कारण प्रहरीलाई लकडाउन कार्यान्वयनमा समस्या परिरहेको छ ।

    त्यसकारण प्रहरीले लकडाउन तोड्ने मानिसमाथि अनेक प्रकारका कारवाही गरिरहेको छ ।

    भारतमा लकडाउन तोड्नेलाई प्रहरीले लाठिले चुट्ने गरेको छ । नेपालमा मानिसहरुलाई सडकमा दुई घण्टा उभ्याएर क्लास दिने गरिन्छ ।

    तर, फिलिपिन्समा भने प्रहरीले गोली नै चलाउनु परेको छ ।

    जसका कारण एक जनाको ज्यान गएको छ । संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार भएको थियो । जसमा एक जनाको ज्यान गएको हो ।

    दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको थियो ।

    लकडाउन नतोड्न आग्रह गर्दा प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली हान्नु परेको बताइएको छ ।

    बुधबार राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउन सक्ने अधिकार प्रहरीलाई दिएका थिए ।

    कोरोनाको संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने भएका कारण संसारभर लकडाउनमा कडाई गरिएको छ ।