Author: Vishwanews.com

  • कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस

    कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस

    लण्डन । कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनालाई परास्त गर्न सफल भएका छन् ।

    अन्ततः उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि एक साता अगाडी उनीलाई अस्पताल भर्ना गरिएको थियो ।

    तीन दिन सम्म उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा आइसियूमा राखेर उपचार गर्नु परेको थियो । निको भएपनि उनी केही दिन भने आराम गरी घरमै बस्ने भएका छन् ।

    स्वास्थ्य टिमको सल्लाह अनुसार उनले काममा जान दिन तय गर्ने भएका छन् ।

    पछिल्लो दिनमा बेलायतमा कोरोनाको संक्रमण तिब्र रुपमा भइरहेको छ । उनले सेन्ट थोमस अस्पतालबाट पाएको हेरचाहका लागि धन्यवादसमेत व्यक्त गरेको संचारमाध्यमले जनाएका छन्।

    कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चैत १४ देखि जोनसोन आइसोलेसनमा बसेका थिए।

    त्यसको १० दिनसम्म पनि भाइरसका लक्षण निरन्तर देखिएपछि उनलाई चैत २३ गते आइतबार अस्पताल भर्ना गरिएको थियो ।

  • एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

    एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको सरकारलाई बुझाउनु पर्ने सबै कर चुक्ता गरेको छ ।

    एनसेल प्रालिबाट आइतबार मात्र १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको ठूला करदाता कार्यालयले जनाएको छ । अब कम्पनीले सरकारलाई तिनुपर्ने लाभकर चुक्ता भएको कार्यालयले जनाएको छ ।

    ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएको हो ।

    यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ कर बुझाएको छ । एनसेलले तीन किस्तामा कर बुझाएको छ ।

    एनसेलले कर तिरेसगै पुँजीगत लाभकर सम्बन्धी २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको ठूला करदाता कार्यालयले उल्लेख गरेको छ ।

  • विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

    विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

    काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ ।

    यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

    तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको छ ।

    विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गरेको छ । जसमा आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने अनुमान गरिएको छ ।

    यसले आगामी दुई आर्थिक वर्षसमेत प्रभावित हुने देखिएको छ । विश्व बैंकले दक्षिण एसियाली क्षेत्रमै कोभिड १९ ले नराम्रो प्रभाव पार्ने बताएका छ ।

    यसमा पनि पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक बढी प्रभावित बन्दैछन् । यसबाट माल्दिभ्सको अर्थतन्त्रमा १३ प्रतिशसम्मको ऋणात्मक अवस्था आउने देखिएको छ ।

    भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत घट्ने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदर पनि ऋणात्मकमा जाने भएको विश्वबैंकले उल्लेख गरेको छ ।

    खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने विश्व बैंकको भनाई रहेको छ ।

    कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवन कष्टकर बन्ने देखिएको छ ।

    होटेल तथा रेष्टुरेन्ट, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसलाई कोभिडले नराम्रोसँग प्रभावित बनाउनेछ ।

  • नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

    नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् ।

    चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाको सम्मानमा सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीले आह्वान गरेका हुन् ।

    संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको आग्रहलाई प्रधानमन्त्रीले समेत स्वीकार गर्दै यस्तो आह्वान गरेका हुन ।

    उनले उक्त कार्यक्रमलाई समर्थन गर्दै ट्वीट गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।

    प्रधानमन्त्तीले भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

    नेपालमा सोमबार नयाँ वर्ष परेको छ । तर, कोरोना भोइरसका कारण नयाँ वर्षमा कुनै गतिविधि हुने छैनन् ।

  • कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

    कोरोना महामारीबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो

    काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।

    स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ ।

    विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा. सापकोटाले जनाए ।

    संक्रमित हुनेमा देशमा अमेरिका ५ सय, युके १ सय, स्पेन १८, युएई १०, जर्मनी ४, पोतुगल ८, अष्ट्रेलिया ९, साउदी अरब ४, कुवेत ५, जापान १, मलेसिया १, म्यानरमार १ र हङकंङ १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

  • नेपालमा थप तीन जनामा कोरोना पुष्टी

    नेपालमा थप तीन जनामा कोरोना पुष्टी

    काठमाडौं । लगातार एक सातासम्म कोरोना नदेखिएको नेपालमा एकै दिन थप तीन जनामा कोरोनाको पुष्टी भएको छ ।

    पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षणले नतिजा पोजेटिभ देखाएको हो ।

    वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । त्यहाँ पोजेटिभ रिपोर्ट आएपछि पुनः जाँच गर्न राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।

    उनीहरु भारतीय नागरिक हुन । कूल २४ जना भारतीयसहित ३३ जनाको नमुना संकलन बिहीबार परीक्षण गर्न हेटौंडा प्रयोगशाला ल्याइएको थियो ।

    तीन जनामा प्रारम्भिक रिपोर्ट आएपछि काठमाडौं पठाइएको थिया । यससँगै अब नेपालमा संक्रमितको संख्या १२ पुगेको हो ।

  • डडेलधुरा अस्पतालको आइसुलेसनबाट आमाछोरा फरार

    डडेलधुरा अस्पतालको आइसुलेसनबाट आमाछोरा फरार

    डडेलधुरा । कोरोना भाइरसको संक्रमण भएको आंशकामा आइसुलेसनमा राखेर उपचार गराइराखेका दुई बिरामी डडेलधुरा अस्पतालबाट भागेका छन् ।

    स्थानीय प्रशासनका अनुसार उनीहरु शनिबार दिउँदो अस्पताललाई जानकारी नै नगराई भागेका हुन् । भागेका मध्ये आमा छोरा रहेको बताइएको छ ।

    छोरा भारतबाट नेपाल आएका थिए । कोरोनाको आंशका पछि उनीहरुको नमुना परिक्षणका लागि काठमाडौं पठाएर उनीहरुलाई आइसुलेसन वार्डमा भर्ना गरिएको थियो ।

    तर, रिर्पोट नआउँदै उनीहरु भागेका हुन् । सरकारलाई भारतमा रोकिएका नेपाली भित्राउन ठूलो दवाव छ ।

    स्वयमः नेपाली नेपाल आइसकेपछि क्वारेन्टानइ वा आइसुलेसनमा बस्न नमान्दा समाजमा चूनौति थपिएको छ ।

    उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतबाट धेरै नेपाली भित्रिएको सुदुरपश्चिममा कोरोनाको संक्रमण समाजमा फैलिएको आंशकामा अहिले परिक्षण तिब्र बनाइएको छ ।

  • बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

    बेलायतमा कोरोनाबाट थप एक नेपालीको ज्यान गयो

    लण्डन । कोरोना भाइरसले विश्वभर करीव एक दर्जन नेपालीको ज्यान गइसकेको छ । यसमा एक नेपाली बेलायतमा थप भएका छन् ।

    बेलायतमा शनिबार पूर्वगोरखा सैनिकको मृत्यु भएको हो । स्जाङजा वालिङ घर भई अहिले बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको पुष्टी भएको छ ।

    उनी ग्रेट वेष्टर्न अस्पताल उपचार्थ भर्ना भएका थिए । मृतक मल्ल सन् २००४ देखि बेलायतमा थिए । उनी छोराबुहारीसगँ बस्दै आएको बताइएको छ ।

    चार दिनअघि रुघाखोकी र पखालाबाट ग्रस्त भई अस्पतालमा भर्ना भएका उनलाई शनिबार अस्पतालले मृत घोषणा गरेको हो ।

    बेलायतमा पछिल्ला दिनमा कोरोनाको संक्रमण तिब्र रुपमा बढिरहेको छ । यूरोपमा स्पेन र इटलीमा केही थामिएको संक्रमण फ्रान्स र बेलायतमा त्रिब रुपमा बढिरहेको छ ।

  • सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

    सीमा नाका झन कडा, भावनामा बगेर लकडाउन खुल्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा अझ बढी कडाई गरिने बताएका छन् । उनले भावनामा बगेर लकडाउन समेत नखुल्ने स्पष्ट पारेका छन् ।

    कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका सबै कदमललाई अझ कडाईका साथ लागु गरिने प्रधानमन्त्रीको भनाई छ ।

    शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री ओलीले भावकु कुरा गरेर नहुने समेत स्पष्ट पारे । अहिले लाखौं मानिस शहरमा कमाई खाने माध्यम बन्द भएपछि आफ्नो जन्मस्थान जान खोजिरहेका छन् । तर, लकडाउनका कारण जान सकिरहेका छैनन् ।

    उनीहरुलाई न राज्यले शहरमा व्यवस्थापन गर्न सकेको छ, न घर जाने वातावरण नै बनाउन सकेको छ । प्रधानमन्त्रीले भने लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ गरिने उल्लेख गरे ।

    लापरबाही स्वीकार्य नहुने भन्दै उनले संक्रमण फैलिन नदिन सबै सचेत हुन पर्ने बताए ।

    भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाई छ ।

    प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्ह्वान समेत गरेका छन् ।

    उनले सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन् ।

  • अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

    दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।

    संक्रमणपछि उनीहरुलाई आइसोलेसन राखेर उपचार गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार उनीहरु सबै ८ जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

    सबै निको भएका कारण अहिले अष्ट्रेलियामा कोरोना संक्रमित नेपाली नरहेको दूतावसले जनाएको छ ।

    अष्ट्रेलियामा करीव १ लाख २० हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० हजार विद्यार्थी हुन्।

    आंशिक काम गरेर कलेज शुल्क तिर्नुपर्ने नेपाली विद्यार्थी कोरोनाका कारण भने समस्यामा परेका छन् । अहिले अष्ट्रेलियामा स्टोर र मेडिकल बाहेकका सबै क्षेत्र बन्द भएका कारण नेपालीको रोजिरोटी गुमेको छ ।

  • एक सातायता नेपालमा देखिएन थप संक्रमण

    एक सातायता नेपालमा देखिएन थप संक्रमण

    काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ ।

    नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ ।

    त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ६ सय ९ जनाको परिक्षण भएको थियो ।

    उपत्यका बाहिरका १० वटा प्रयोगशालामा कुल २८८ वटा नमुना परिक्षण भएका थिए । ती कुनै पनि परिक्षणमा कोरोनाको पुष्टी भएन ।

    यससँगै नेपालमा अघिल्लो शनिबार यता कोरोनाको संक्रमण डरलाग्दो गरी नफैलिएको पुष्टी भएको छ । सरकारले नेपालमा कोरोना रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

    देशभित्र आवतजावत गर्न नपाउने गरी लकडाउन घोषणा गरिएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ ।

    एक जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    नेपालमा अहिले देशभर क्वारेन्टानइमा ८ हजार ८२ जना मानिस रहेका छन् । आइसोलेसनमा ८२ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

    सबै जिल्लामा परिक्षणको दायरा बढाइएको र अहिले दैनिक औसतः ८ सय नमुना परिक्षण भइरहेको मन्त्रालयको भनाई छ ।

  • कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

    कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

    काठमाडौं । दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गत कोभिड १९ आपतकालिन कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

    यस कोषमा भारतले १ करोड डलर हालेको थियो । नेपालले १० लाख डलर सहयोग घोषणा गरेको थियो ।

    सार्क कोभिड १९ आपतकालिन कोषको प्रतिवद्धतामा सबै सदस्य राष्ट्रले समय, तरिका र त्यसको कार्यन्वयनका बारेमा निर्णय गर्नुपर्ने भन्दै पाकिस्तानले रकमको घोषणा गरेको हो ।

    पाकिस्तानले सबैभन्दा अन्तिममा रकमको घोषणा गरेको हो ।

    तर, पाकिस्तानले यसै साता कोरोना भाइरस संक्रमणबाट यस क्षेत्रको व्यापारमा पर्नसक्ने सम्भावित असरका बारेमा छलफल गर्नका लागि बोलाइएको सार्क राष्ट्रबिचको भिडियो सम्मेलनमा भाग लिन भने अस्वीकार गरेको थियो।

    पाकिस्तानले यस्तो काम सार्क सचिवालयले गर्नुपर्ने बताउँदै छलफलमा आउन अस्वीकार गरेको थियो।

    भारतले सचिवालयको नाममा पाकिस्तानले औपचारिक हिसाबले कोरोना सम्बन्धी छलफल दबाउन खोजेका आरोप लगाउँदै आएको छ ।

    कोरोना कोषमा भारतले श्रीलंकाले ५० लाख डलर, बंगलादेशले १५ लाख डलर, नेपाल तथा अफगानिस्तानले दश–दश लाख डलर एवं मालदिभ्स र भुटानले एक–एक लाख डलर जम्मा गर्ने घोषणा गरेका छन् ।

    यो कोष बनाउने प्रस्ताव भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।

  • हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

    हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ

    काठमाडौं । श्री एयरलाइन्सको जहाज शनिबार काठमाडौंबाट सुडानका लागि उडेको छ । यो जहाज नेपाली सेनाले चार्टर्ड गरेको हो ।

    श्री एयरलाइन्सका अनुसार एक सैन्य अधिकारीको सुडानमा भएको शव लिन यो जहाज सुडानतर्फ गएको हो । हृदयघातका कारण उनको निधन भएको थियो ।

    त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजले सैनिकको शव बोकेर आइतबार काठमाडौं आइपुग्ने बताइएको छ ।

    लकडाउन र अन्तराष्ट्रिय उडानमा लागेको प्रतिवन्धका कारण अहिले आकिस्मक उडानमा विमान चार्टर्ड गर्नुको विकल्प छैन ।

    यो विमान राष्ट्रसंघीय शान्ती मिसन र नेपाली सेनाको समन्वयमा चार्टर्ड गरिएको हो ।

    शनिबार नै क्यानडाका नागरिक लिएर कतार एयरवेज काठमाडौंबाट उडेको छ । २ सय २ जना क्यानेडियन नागरिक लिन कतार एयरवेज नेपाल आएको थियो ।

  • भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

    भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्तमण हरेक दिन बढ्दो क्रममा रहेको छ ।

    कोभिड–१९बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको हो ।

    भारतमा सबैभन्दा धेरै प्रभावित प्रदेश महाराष्ट्र हो । यहाँ अहिलेसम्म १ सय १० जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    मन्त्रालयकाअनुसार अहिले भारतमा समग्र संक्रमितको संख्या ७ हजार ४ सय ४७ पुगेको छ । भारतमा संक्रमितको संख्या बढ्दा त्यसबाट सबै प्रकारको जोखिम नेपालले पनि भोग्नुपर्ने हुन्छ ।

  • मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ ।

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्।

    उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए ।

    दोस्रो पटक मिगौला प्रत्यारोपणपछि उनी शनिबार दोस्रो पटक नै आफ्नो कार्यालय पुगेका हुन् ।

    यसअघि उनले सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुसँग भिडियो वार्ताका लागि आफ्नो कार्यालयमा पुगेका थिए ।

    पछिल्लो समय भने प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाएका छन् । सोहीक्रममा उनले मूख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

    सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    मुख्यमन्त्रीसँगको भिडियो संवादमा ओली क्याबिनेटका मन्त्री र सल्लाहकार सहभागी थिए ।

    भिडियो संवादमा कोभिड १९ को जोखिम, सुरक्षा रणनीति र दुवै तहका सरकारको तयारीबारेमा संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ ।

    संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् ।

    लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा रहेर पनि बस्ने भएकाले लकडाउन खोल्दा परिणाम झन खतरानाक हुन सक्ने चेतावनी संगठनको रहेको छ ।

    अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका छन् ।

    संगठनले लकडाउनका कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेको समेत उनले जनाएका छन् ।

    ३१ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए।

    हाल यो संक्रमणले महामारीको रुप लिइसकेको छ। विश्वभर भेटिएका १६,९९,६३१ जनामा संक्रमण पुष्टी भएको छ । यसबाट १ लाख २ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

  • कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ ।

    कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ ।

    इटलीमा १८ हजार ८ सय मानिसको ज्यान गएको छ । अर्थातः अब कोरोनाबाट विश्वमा सबैभन्दा ठूलो मानवीय क्षति अमरिकाले भोगिरहेको छ ।

    किनकी पछिल्ला दिनहरुमा यूरोपमा यसको संक्रमणको दर र मृत्युदर पनि निरन्तर घटिरहेको छ । तर, अमेरिकाले चालेका सबै कदम असफल भइरहेका छन् ।

    अमेरिकामा मात्र संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ रहेको छ । शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

    त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । यहा १ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

    न्युजर्सीमा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना महामारीका कारण शनिबार बिहानसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

    फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १, १ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ । स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

    स्पेनमा ६३४ र इटलीमा ५७० जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ।

    इटलीमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय रहेको छ । विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । नेपालमा ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

  • १० एसएसपीको भयो डीआइजीमा बढुवा

    १० एसएसपीको भयो डीआइजीमा बढुवा

    काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ ।

    गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ ।

    बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा भर्ना भएका अधिकृतहरु रहेको गृह मन्त्रालयल् जनाएको छ ।

    बढुवा सिफारिसको १ नम्बरमा घनश्याम अर्याल रहेका छन् । त्यसपछि प्रकाशजंग कार्की र वसन्तकुमार पन्तको नाम सिफारिस भएको छ ।

    इश्वरबाबु कार्की समेत बढुवाको सिफारिसमा परेका छन् ।

    शहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी पनि बढुवा सूचीमा रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    डीआईजीको दरबन्दी घटेपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।

    अन्ततः सरकारले प्रहरी अधिकृतहरुको बढुवा टुंगो लगाएको हो । अब प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटेर १४ कायम भएको छ ।

    प्रहरीमा ४ जना डीआईजी भने अहिले पनि कार्यरत छन् ।

  • लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

    लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

    मस्को । कोरोना भाइरसका कारण संसारभर हरेक जसो मुलुक लकडाउनमा छन् । जसले गर्दा आर्थिक गतिविधि र यातायात ठप्प प्राय भएका छन् । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको छ ।

    सोहीकारण पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठन कोरोना भाइरस लकडाउनका कारण तेलको मागमा आएको गिरावटको प्रतिरोधमा उत्पादन कटौती गर्न सहमत भएका छन्।

    यो समूहले मे र जूनमा उत्पादन १० करोड ब्यारेल कटौती गर्ने सहमति गरेको छ।

    ओपेक प्लस तथा पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठनहरुबिच बिहीबार भिडियो वार्ता भएको थियो। वार्ताले उक्त सहमति जुटाएको हो ।

    वार्ताका क्रममा रुस र साउदी अरेबीयाबिच सहमति देखिएपनि तेलको उत्पादनमा भने सहमति भएको छ । सोहीकारण एक दिनमा १० करोड ब्यारेल वा विश्वव्यापी आपूर्तिमा १० प्रतिशत कटौती गर्न सहमत भएका हुन् ।

  • नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

    नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका दुई वटै जहाज आज दुई गन्तब्यमा उडेका छन् ।

    निगमको एक जहाज जापानका करीव २ सय नागरिकलाई बोकेर नारितातर्फ उडेको छ । अर्को जहाज भने चीनको ग्वाङ्जाओ तर्फ उडेको हो ।

    चीनबाट यो जहाजले मेडिकल सामान ल्याउने छ । यहाबाट नेपाल एयरलाइन्सले निजी क्षेत्रका व्यवसायीको अर्डरमा सामान ल्याउँदैछ ।

    शुक्रबार साँझ ८ बजे निगमको जहाज जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको हो ।

    यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पुर्‍याएर शनिबार नेपाल फर्कने छ ।

    नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवासमेत थालेको थियो । तर, शुक्रबारको उडान भने र्चार्टड हो ।

    निगमको अर्को वाइड बडी जहाज साँझ ६ बजे चीनको ग्वाङ्जाओका लागि उडेको हो । शुक्रबार त्रिभुवन विमानस्थलमा कूल ४ वटा विशेष उडान भए ।

    बेलायतको टाइटन एयरवेजले २४२ ब्रिटिश नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । कोरियन एयरले पनि शुक्रबार कोरियाली नागरिक बोकेर काठमाडौंबाट उडान भरेको छ ।

  • कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

    कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

    काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो ।

    नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

    ‘आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

    आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत दुई मुलुकका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

    भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि समेत प्रधानमन्त्रले मोदीलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् ।

    पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले कोरोनाबाट प्रभावित मुलुकका समकक्षीसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो लिइरहेका छन् ।

  • चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

    चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

    काठमाडौं । सरकारले चिकित्सक र सुरक्षाकर्मीको तलव सुविधा नकाट्ने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो स्पष्टिकरण दिएको हो ।

    मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव नकाटिएको बताए ।

    यता, प्रहरी प्रधान कार्यालयले भने यसअघि अधिकृत तहभन्दा माथिका कर्मचारीको तलव कटौती गरी कोरोना कोषमा राख्ने निर्णय गरेको थियो ।

    प्रवक्ता देवकोटाले उच्च मनोवलका साथ सेवामा खटिन समेत सबैमा आह्वान गरेका छन् । मन्त्रालयले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई समेत स्वेच्छिक रुपमा यस अभियानमा आवद्ध हुन पनि आग्रह गरेको छ ।

    सरकारका विभिन्न निकायबाट आफ्नो कार्यालयका कर्मचारीको तर्फबाट तलव योगदान भइरहेको छ । कोरोना कोषमा सरकारी निकायबाटै ठूलो सहयोग आएको छ । निजी क्षेत्र भने संकटको बेला पनि मौनजस्तै रहेको छ ।

  • लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो ।

    तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ ।

    अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ । आफूलाई कारोनाको आंकका गरी अस्पतालसम्म धाउने बिरामी, संक्रमण देखिएका बिरामीका आफन्त, उनीहरुले संगत गरेका व्यक्तिलगायतमा अहिले परिक्षण भइरहेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका कूल ६ सय ३० जनामा नेगेटिभ देखिएको छ ।

    यस अवधिमा उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । यो पछिल्ला दिनहरुमा भएको सबैभन्दा धेरै परिक्षण हो ।

    उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको छ । अझै ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा छन् ।

    नतिजाबाट ९ जनामा पोजेटिभ देखिएको छ । बिहीबारबाट र्‍यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको हो ।

    सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको परिक्षण किटको जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

    चार जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    उपत्यकाबाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ ।

    कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरी पठाएको छ ।

  • भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ ।

    बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ ।

    भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ ।

    २१ दिनको लकडाउन घोषणा गरेको भारतमा लकडाउन कार्यान्वयनमा चूनौति थपिएको छ । किनकी यहाँ बहुसंख्यक मानिस अति गरिबीको चपेटामा छन् ।

    निम्न वर्गिय परिवारले हरेक दिन काम गरेर पेट पाल्नु पर्ने समस्या रहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा प्रभावित राष्ट्र हो ।

    महाराष्ट्रमा अहिलेसम्म १ हजार ३ सय ६४ संक्रमित पुष्टी भइसकेको छ । यहाँ ९८ जनाको मृत्यु भएको छ ।

    तामिलनाडुमा अहिलेसम्म ८ सय २४ जना मानिसमा संक्रमण भएको छ । यहाँ ८ जनाको ज्यान गएको छ ।

    दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ रहेको छ । दिल्लीमा ७ सय २० संक्रमित फेला परेका छन् ।

    तेलंगानामा संक्रमितको संख्या ४ सय ७१ रहेको छ । मध्यप्रदेशमा संक्रमितको संख्या ४ सय ११ छ । यहाँ मृत्यु हुने मानिसको संख्या ३३ पुगिसकेको छ ।

    अहिलेसम्म भारतमा ६ सय २० संक्रमित निको भएर घर फर्किएका छन् ।

    भारतमा संक्रमण फैलिरहँदा त्यसले नेपालमा भने जोखिम बढाएको छ । किनकी नेपालको दक्षिणी भेगमा खुला सिमाना रहेको छ ।

    बोर्डरहरु सिल गरिएको भए पनि मानिसहरु अनाधिकृत रुपमा छिर्न सक्ने सम्भावना भने रहेको छ ।

    सोहीकारण नेपालको केन्द्र सरकारले सशस्त्र प्रहरी बलको तैनाथी सीमा क्षेत्रमा बढाइदिएको छ ।

  • कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

    कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलव योगदान गरेका छन् ।

    प्रधानमन्त्रीको एक महिनाको तलव बराबर ७७ हजार २ सय ८० रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ७० हजार ६ सय ३० रुपैयाँ जम्मा गरेका छन् ।

    प्रेस सल्लाहकार सूर्य थापाबाट ६७ हजार ३० रुपैयाँ कोषमा जम्मा भएको कार्यालयले जनाएको छ ।

    आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेले ६४ हजार ७ सय २६ रुपैयाँ, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले ६५ हजार १ सय ४० रुपैयाँ, र स्वकीय सचिव राजेश बज्राचार्यबाट ६० हजार ६ सय ८० रुपैयाँ जम्मा गरिएको छ ।

    प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्या सिंहले ११ हजार २ सय ८८ रुपैयाँ जम्मा गरेकी छन्। कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।

    बिहीबार मात्रै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको तर्फबाट ८० लाख १४ हजार रुपैयाँ कोषमा आएको छ ।

    सर्वोच्च अदालतले ३१ लाख ६१ हजार कोषमा राखेको छ । लक्ष्मी बैंकले ३० लाख र सलेवेज डिपार्टमेन्ट स्टोरले २५ लाख रुपैयाँ राखेको कार्यालयको तथ्यांक् छ ।

    कर्मचारी संचयकोषका कर्मचारीको तर्फबाट २१ लाख ६ हजार, क्षमादेवी कन्स्ट्रक्सनबाट १० लाख ११ हजार, उच्च अदालतबाट ५ लाख ६४ हजार रुपैयाँ प्राप्त भएको छ ।

    बिहीबारसम्म कोषमा १ अर्ब ९१ करोड ५० लाख चार हजार १ सय ९७ रुपैयाँ जम्मा भइसकेको छ ।

  • ओमानका सबै नेपाली सुरक्षित

    ओमानका सबै नेपाली सुरक्षित

    मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् ।

    किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ ।

    मस्कटस्थित नेपाली दूतावासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभेटएको भन्दै खुसीको खबर सार्वजनिक गरेको छ ।

    ओमान ठूलो संख्यामा नेपाली कामदार रहेको मुलुक मध्ये एक हो । कोरोना भाइरसबाट ओमानमा ४५७ जना सङ्क्रमित छन् ।

    दुई जनाको मृत्यु भइसकेको छ । ७१ जना निको भएका छन । कोरोनाबाट संसारका अन्य मुलुकमा भने ९ जना नेपालीको ज्यान गइसकेको ।

    विभिन्न मुलुकमा १ सय भन्दा बढी नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

    ओमानले चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । यस समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन दुतावासले सबै नेपालीमा आग्रह गरेको छ।

    ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले उल्लेख गरेको छ ।

  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ ।

    यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    धेरै मानिस मर्ने मुलुकको सूचिको दोस्रो स्थानमा अमेरिका रहेको छ । १६ हजार ५ सय १३ जनाको ज्यान गएको छ ।

    स्पेनमा १५ हजार ४ सय ४७ जनाको ज्यान गएको तथ्यांक छ । फ्रान्समा १२ हजार दुई सय २८ जनाले ज्यान गुमाउनु परेको छ ।

    चीनबाट शुरु भएको यो भाइरसले यूरोप र अमेरिकामा ठूलो मानवीय क्षति भएको हो । तुलनात्मक रुपमा गरिब मुलुकभन्दा धनी मुलुक यस भाइरसको चपेटामा आएका छन् ।

    संसारभर कोरोना भाइरसबाट १५ लाख ९६ हजार मानिस संक्रमित भएका छन् ।

    अमेरिकामा सबैभन्दा बढी ४ लाख ५२ हजार संक्रमित भइसकेका छन् । स्पेनमा १ लाख ५३ हजार मानिसमा सक्रमण भएको छ ।

    इटालीमा १ लाख ४३ हजार मानिसलाई यसको संक्रमण पुष्टी भएको छ । विश्वभर ३ लाख ५४ हजार संक्रमित भने निको भएका छन् ।

    निको हुनेहरु धेरैजसो चीनमा छन् । चीनमा ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

    जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ । नेपालमा संक्रमितको ९ रहेको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् ।

  • नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो ।

    भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।

    भारतीय सीमामा सशस्त्रका १ सय २० वटा चेकपोस्ट रहेका थिए । अहिले ८ सय ५ वटा अस्थायी चेकपोस्ट थपिएको छ ।

    काठमाडौंबाट थप जनशक्ति पठाएर सीमानामा खटाइएको छ । अहिले सीमानामा करिब साढे पाँच हजार सशस्त्र प्रहरी खटिएका छन्।

    उनीहरुको काम भारतबाट कुनै पनि व्यक्तिलाई नेपालतर्फ छिर्न नदिने हुने छ । किनकी भारतमा कोरोनाको संक्रमण बढ्दा अनाधिकृत रुपमा नेपाल आउन सक्ने जोखिम हुन्छ ।

    नेपाल र भारतमा खुला सीमाना रहेको छ । सरकारले काठमाडौंका तालिमकेन्द्र, बाहिनी र तालिम सकेर बसेको टोलीलाई सीमा सुरक्षामा खटाएको छ

  • शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो ।

    तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ ।

    लकडाउन गरिरहेको सरकारले परिक्षण समेत सँगै बढाउँदै कोरोना संक्रमणविरुद्ध लड्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइ सकिएको छ । सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरेको छ ।

    किटले १५ मिनेटमै परीक्षणको नतिजा दिने बताएको छ । यसरी संकलन भएको किटको गुणस्तर जाँच्न कैलाली र कञ्चनपुरबाट २ सय नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

    त्यसमध्ये ६६ नमुना परिक्षण गरिएको हो । नेपालमा करीव २४ सय परिक्षण भइसकेको छ । जसमा ९ जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमा पनि १ जना निको भइसकेका छन् । कोरोना पोजेटिभ बिरामीको समेत कोरोनाको लक्षण नदेखिएको र स्वस्थ रहेको बताइएको छ ।

  • फिफा वरियतामा नेपाल यथास्थानमा

    फिफा वरियतामा नेपाल यथास्थानमा

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरियताक्रममा नेपाल साविककै स्थानमा रहन सफल भएको छ ।

    बिहीबार सार्वजनिक वरियता अनुसार नेपाल १७०औँ स्थानमा रहेको छ । यसअघि पनि यसै स्थानमा थियो ।

    कोरोना भाइरसका कारण विश्वभर गत महिना विश्वभर मात्र चार वटा खेल भएका थिए । त्यसकारण धेरै जसो देशको वरीयता परिवर्तन भएको छैन ।

    दक्षिण एशियाली राष्ट्रमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्। भारत १०८औँ स्थानमा रेहेको छ ।

    माल्दिभ्स १५५औँ स्थानमा रहेको छ। नेपालपछि भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन् । भुटान १८९औँ स्थानमा छ ।

    बङ्गलादेश १८७औँ स्थान र पाकिस्तान २००औँ स्थानमा छ । सबैभन्दा पुछारमा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ।

    वरियताको शीर्ष स्थानमा बेल्जियम छ । फ्रान्स दोस्रो स्थानमा छ। ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको फिफाले जनाएको छ ।