Author: Vishwanews.com

  • अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

    अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास पाइने

    काठमाडौं । सरकारले लकडाउनमा सवारी पारसको दुरुपयोग बढेको भन्दै पास वितरणमा कडाई थालेको छ ।

    अब जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मृत्यु संस्कारमा सहभागी हुन जान आफन्तबाहेक अरुले पास पाउने छैनन् ।

    लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने कार्यालयले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको उल्लेख गरेका छन् ।

    परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने उनको भनाई छ ।

  • सागमा पदक विजेता खेलाडीको खातामा गयो पुरस्कार रकम

    सागमा पदक विजेता खेलाडीको खातामा गयो पुरस्कार रकम

    काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको खातामा घोषित पुरस्कारवापतको रकम पठाएको छ ।

    गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले पुरस्कारको घोषणा गरेका थिए ।

    उनको घोषणा अनुसारको रकम बुधबार सम्बन्धित खेलाडीको खातामा पठाइएको हो ।

    युवा तथा खेलकुद मन्त्रालयका अनुसार सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम पठाइएको छ । पुरस्कारस्वरुप १९ करोड ५३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयको भनाई छ ।

    यो रकम प्रशिक्षक र संघका लागि घोषित पुरस्कार बीना नै हो ।

    सरकारी कार्यविधि अनुसार सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था रहेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा स‍ंशोधन गरिएको थियो ।

    टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिइएको छ ।

    मंसिर तेस्रो साता सम्पन्न सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको हो । यो साग नेपालको इतिहासमा सबैभन्दा सफल थियो ।

  • उपत्यकाका मासु पसल धमाधम कारवाहीमा, दुई लाख जरिवाना

    उपत्यकाका मासु पसल धमाधम कारवाहीमा, दुई लाख जरिवाना

    काठमाडौं । संकटको समयमा अधिक मूल्य लिएर उपभोक्तालाई ठगी गर्ने पसललाई सरकारले धमाधम कारवाही गरिरहेको छ । उपभोग्य वस्तु बढी मूल्यमा बिक्री गर्ने पसलको मूख्य निसाना अहिले मासु पसल रहेका छन् ।

    खासगरी खसीको मासुलाई १८ सय रुपैयाँ प्रतिकिलोसम्म बिक्रि गरेपछि सरकारले यस्ता पसलमाथि कारवाही गरिरहेको छ ।

    उनीहरुमाथि सरकारले दुई लाख रुपैयाँ जरिवाना गरिरहेको छ । बुधबार काठमाडौंको स्वयम्भुमा रहेको वुद्ध स्टोरलाई जरिवाना तिराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    अनुगमनका क्रममा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरिएको पाइएपछि तत्काल जरिवाना गराइएको हो ।

    वाणिज्य विभागले सामाखुशीको एक मासु पसललाई समेत दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

    सामाखुसी टाउन प्लानिङ्गस्थित टाउन प्लानिङ छाप्रो मिट सपलाई जरिवाना तिराईएको हो ।

    यसअघि बानेश्वरको आइकालु मीटसपलाई समेत २ लाख जरिवाना तिराइएको थियो ।

    संकटमा आपूर्ति कम हुँदा मौकाको फाइदा उठाउने व्यापारीले मूल्य बढाउने गर्छन् ।

  • वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

    वीरगन्जमा अत्यावश्यक सामानको किनमेल ७ बजेसम्म मात्र

    वीरगन्ज । कोरोनाबाट प्रभावित क्षेत्र वीरगञ्जमा सर्वसाधारणको उपस्थितिलाई अब कम गरिने भएको छ । बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने गरी स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

    खाद्यान्न, दूध, ग्यास, तरकारीजस्ता अत्यावश्यक वस्तुको किनमेल बिहान ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार जारी गरेको सूचना अनुसार औषधि पसल मात्र २४ सै घण्टा खुला हुनेछन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक वस्तुको पसलबाहेक गल्ली, ठेलागाडा र चोकमा भने कुनै पनि सामानको बिक्री वितरण गर्न नपाइने भएको छ ।

    वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो । यसबाहेक वीरगन्जमा काम गर्ने एक महिनामा कैलाली पुगेपछि कोरोना देखिएको हो ।

    तर, उनीहरुमा कसरी कोरोना आयो भन्ने खुलेको छैन । वीरगन्जमा कोरोना देखिएपछि यहाँ प्रशासनले कडाई गरेको हो ।

  • नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

    नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

    काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई हाक्ने जिम्मेवारी पूर्वसचिव सुशील घिमिरेलाई दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी भूमिकासहितको अध्यक्ष पद दिएको हो ।

    करीव ४० अर्ब ऋण बोकेको यो कम्पनीलाई माथि उकास्न घिमिरेको भूमिका महत्वपूर्ण हुने छ ।

    किनकी उनी नेपाल एयरलाइन्समा करीव १८ महिना संचालक समिति अध्यक्षको भूमिकामा समेत रहेर काम गरिसकेका छन् ।

    २०७१ सालमा नेपाल सरकारको सचिवको भूमिकाबाट सेवानिवृत्त भएका उनी अहिले लक्ष्मी बैंकको अध्यक्षको भूमिकामा समेत रहेका थिए ।

    नेपाल एयरलाइन्ससँग अहिले चार वटा अन्तराष्ट्रिय जहाज रहेका छन् । तर, जहाजको अभावले यस कम्पनीले सोचेजती व्यापार गर्न सकेको छैन ।

    यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको समितिमा समेत उनी संयोजक थिए ।

    उनले नै नेपाल एयरलाइन्समा निजीकरणको विषयलाई पुनः प्रवेश गराएका हुन् ।

  • कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

    कुवेतमा कोरोना संक्रमित नेपाली १४ पुगे

    कुवेत । धेरै नेपाली कामदार रहेको कुवेतमा कोरोनाबाट नेपाली नागरिक संक्रमित हुने क्रम बढेको छ । बुधबारको तथ्यांक अनुसार कुवेतमा बसिरहेका १४ जना नेपालीमा कोरानाको संक्रमण भएको छ ।

    कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

    कुवेतले सबै संक्रमितलाई समान व्यवहार गरी उपचार भने गरिरहेको छ । कुवेतले आफ्ना नागरिकसरह नै आप्रबासी कामदारलाई समेत उपचार गरिरहेको नेपाली दूतावासले जनाएको छ ।

    सङ्क्रमित नेपालीको स्वास्थ्य बारे कुवेती स्वास्थ्य मन्त्रालयसँग दूतावासले नियमित समन्वय गरिरहेको समेत बताइएको छ ।

    कुवेतमा अहिलेसम्म १४ सय ५ जनामा कोरोना सङ्क्रमण भएको छ । २ सय ६ जना भने उपचारपछि निको भइसकेका छन् ।

    ११ सय ९६ जनाको अस्पतालमा उपचार जारी छ । यस मुलुकमा तीन जनाको कोरोनाका कारण ज्यान गएको तथ्यांक रहेको छ ।

  • नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

    नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र अहिलेसम्मकै बढी मानिसमा कोरोना परीक्षण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो ।

    तर, यस परीक्षणबाट कुनै पनि मानिसमा कोरोनाको संक्रमण पुष्टी भएन । यसअघि मंगलबार दुई जनामा कोरोना पुष्टी भएसँगै नेपालमा कूल संक्रमित १६ पुगेको छ । तर, बुधबार भने नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जानकारी दिइको छ ।

    अहिलेसम्म नेपालमा कूल १६ हजार मानिसको कोरोना भाइरस परीक्षण भएको छ ।

    मन्त्रालयका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८ हजार ९ सय २९ र पीसीआर विधिबाट ६ हजार ८ सय ७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरीएको हो ।

    अहिले देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा भने कुल ११७ जना रहेको तथ्यांक छ ।

    अहिले देशका अधिकांश जिल्लामा आरडीटी टेस्ट भइरहेको छ । पीसीआर विधिबाट भने देशका विभिन्न एक दर्जन ल्यावमा परीक्षण भइरहेको छ ।

  • सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

    सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

    काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ ।

    कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो ।

    परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ ।

    कागेश्‍वरी मनोहरा नगरपालिकाका अनुसार बेलायतको लण्डनबाट आएका परिवार बसेको ब्लक ए टावरमा रहेका सबै अपार्टेमन्टका करिब ३ सयजनाको परीक्षण बुधबार सम्पन्न भएको छ ।

    सबै व्यक्तिमा कोरोना नेगेटिभ देखिएको हो। त्यहाँ पाँचवटा ब्लक छन्। सबै ब्लकमा बस्ने मानिसलाई परीक्षणको तयारी छ ।

    परीक्षण गरिएकामध्ये कोरोना संक्रमित परिवारको फ्ल्याटमा सहयोगीको काम गर्दै आएका दुईजनाको भने पिसिआर प्रविधिबाट परीक्षण गरिने भएको छ ।

    त्यसका लागि उनीहरुको स्वाब जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

    चैत ५ मा बेलायतबाट आएका एकै परिवारका आमा र छोरालाई कोरोना पोजेटिभ देखिएको छ। बुहारीमा भने कोरोना नेगेटिभ देखिएको छ । अपार्टमेन्टलाई अहिले प्रहरीले सिल गरेर राखेको छ ।

  • अमेरिकामा कोरोना संक्रमित ६ लाख माथि

    अमेरिकामा कोरोना संक्रमित ६ लाख माथि

    न्यूयोर्क । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित मानिसको संख्या ६ लाख नाघेको छ ।

    बुधबार बिहानसम्मको तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ६ लाख ८ हजार नाघेको हो । अमेरिकामा मृत्यु हुने मानिसको संख्या २५ हजार ९ सय ८१ पुगेको छ ।

    अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार १ सय २९ जनाको मृत्यु भएको छ ।

    अमेरिकाको न्युयोर्कमा मात्र संक्रमित २ लाख नाघेको छ ।

    यस राज्यमा मात्र १० हजारभन्दा ढी मानिसको ज्यान गएको छ । अमेरिकाले भाइरसको संक्रमण फैलन रोक्न सबै राज्यमा आपतकाल घोषणा गरिएको छ ।

    कोरोना भाइरसको कारण अहिले विश्वभर १९ लाख ८० हजारभन्दा धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् ।

    विश्वभर १ लाख २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

  • लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

    लकडाउनको पिडा-विदेशमा आफन्तको शव, नेपाल ल्याउन पाइएन

    काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि चालिएको कदम लकडाउन । यसले अन्ततः समाज र व्यक्तिका धेरै पाटोमा असर पार्न थालेको छ ।

    मानिसहरुले जोहो गरेर राखेको खाद्यान्न सकिन लागेको छ । धेरै मानिसका योजना र सपना चकनाचुर पारिदिएको छ । यो त सामान्य समस्या भयो ।

    अहिले कतिपयलाई आफन्त गुमाउनुको पिडामा मृत शरीर समेत देख्न नपाउने अवस्था लकडाउनका कारण सिर्जना भएको छ ।

    सरकारी तथ्यांक अनुसार गैरआवासीय नेपालीबाहेक विदेशमा कामको सिलसिलामा गएर मृत्यु भएका ६५ जना नेपालीको शव नेपाल आउन नपाएर अलपत्र परेका छन् ।

    त्यो शवलाई न परिवारले उतै अन्तिम संस्कारको अनुमति दिन सक्छन् । किनकी आफन्तको एक झलक हेर्ने मन सबैलाई हुन्छ ।

    न त लकडाउनले बन्द भएको जिन्दगीले यात्रा नै सहज बनाएको छ । विश्वव्यापी कोरोना महामारीका कारण नेपाल पनि यसबाट अछुतो छैन ।

    अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध । यस्तो बेला नेपाल फर्कन रोइकराइ गरिरहेका श्रमिक त जसो तसो बाच्लान, प्राय त्याग गरिसकेका नेपालीको समेत मृत शरीर नेपाल आउन नपाएर रोकिएको हो ।

    नेपाल सरकार पनि लकडाउनमा मृत शरीर नेपाल ल्याउनु भन्दा जहा छन् त्यही अन्तेष्टी गर्न परिवारहरुलाई आग्रह गरिरहेको छ ।

    नेपालमा दैनिक औसतः दुई जना नेपालीका मृत शरीर भित्रने गरेको छ । अर्थातः हरेक साल ६ सय देखि ८ सयसम्म नेपाली नागरिकले विदेशमा ज्यान गुमाउने गरेका छन् ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार अहिले साउदी अरबमा २५ जना नेपालीका शव नेपाल ल्याउन सकिएको छैन ।

    मलेसियामा १२ देखि १५ जना, यूएईमा ११ जना कतारमा ८ जना र कुवेतमा ६ जना नेपालीको शव रहेको छ । सेसेल्स र दक्षिण कोरियामा पनि एक–एक जना नेपालीको शव रहेको छ ।

  • चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

    चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

    काठमाडौं । हावाहुरी र चट्याङले मुलुकभरको विद्यूत प्रसारण लाइनमा असर गरेको छ । बुधबार राती पौने ९ बजे देभैभर लाइन गएको हो ।

    यसले करिब १५ मिनेट देश अन्धकार बनेको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    अवरुद्ध सेवा सूचारु गर्न तत्काल प्राविधि खटिएका थिए । करीव एक घण्टा भित्र देशभरकै प्रसारण लाइनमा विद्युत आइसकेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार केन्द्रीय प्रणाली नै अवरुद्ध भएकाले देशभर विजुली गएको हो । प्राधिकरणका अनुसार चट्याङ तथा हावाहुरीका कारण कुनै आयोजना सटडाउन भएपछि माग र आपूर्तिको सन्तुलन नमिल्दा यसरी समस्या सिर्जना हुन्छ ।

  • नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

    नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

    काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो ।

    यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ ।

    कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै सरेको पाइएको छ । एक जनाको स्रोत भने अझै खुलेको छैन ।

    वीरगन्जमा चिया पसल चलाउने एक महिनामा कैलाली पुगेपछि कोरोना देखिएको छ । उनको मुल स्रोत भने पत्ता लाग्न सकेको छैन ।

    मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्‍यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।

    पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको छ ।

    तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो ।

    र्‍यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ । अहिले देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा बसेका छन् । ९९ जना भने आइसोलेशनमा छन्।

  • र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ

    र्यापिड टेस्टले काभ्रेका दुई युवामा देखायो कोरोना पोजेटिभ

    काभ्रे । नेपालमा लकडाउन शुरु हुनु अगाडी नै छिरिसकेका काभ्रेका दुई युवामा र्यापिड टेस्टका दौराना कोरोनाको लक्षण पोजेटिभ पाइएको छ । अब उनीहरुको पीसीआर विधिबाट फाइनल परीक्षण गरिने छ ।

    उक्त परीक्षणसमेत समेत पोजेटिभ देखाएमा भने उनीहरुमा कोरोना पुष्टी हुनेछ । उनीहरु दुबै जनालाई मंगलबार धुलिखेल अस्पताल ल्याइएको छ ।

    आजै उनीहरुको पीसीआर विधिबाट परीक्षण गरिदैछ । अस्पताल स्रोतका अनुसार वेथानचोक ५ का २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए ।

    उनी होम क्वारेन्टाइनमा बसेका थिए । उता, मण्डनदेउपुर–३ का २३ वर्षका युवक समेत चैत ७ मा दुबईबाट नेपाल आएका थिए ।

    नेपालमा ११ चैतबाट लकडाउन शुरु भएको हो । विदेशबाट आएपनि घरमै क्वारेन्टाइनमा बसेको युवाले बताएका छन् ।

    सरकारले अहिले अधिकांश जिल्लामा र्यापिड टेस्ट थालेको छ । पहिलो चरणमा विदेशबाट फर्किएका मानिसमा परीक्षण थालिएको हो ।

  • नेपालमा १२ दिन बढ्यो लकडाउन

    नेपालमा १२ दिन बढ्यो लकडाउन

    काठमाडौं । नेपालमा लकडाउन १२ दिन थप भएको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिसम्म आन्तरिक तर्फको हवाई उडान समेत बन्द हुने भएको छ ।

    अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द छ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

    त्यसयता नेपालमा कूल १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार मात्र दुई जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    पछिल्लो समय र्यापिड टेस्टको दायरा बढेपछि विदेशबाट नेपाल फर्किएर अस्पतालमा चेकजाँच नगराई बसेका व्यक्तिमा धमाधम कोरोनाको पोजेटिभ देखिएको छ ।

    सोहीकारण सरकारले परिक्षण र लकडाउनलाई सँगसँगै लैजान लागेको हो ।

    लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिइने छ । त्यसबोहक अन्य कामका लागि भने बाहिर जान पाइने छैन ।

    उता, भारत सरकारले समेत लकडाउन ३ मे सम्म लम्ब्याएको छ । सरकारले सीमा नाकालाई अझ कडाई गर्ने निर्णय समेत गरेको छ ।

  • सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

    सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

    भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

    आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ ।

    भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै परिवारका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै यस अपार्टमेन्ट र आसपासका क्षेत्रमा भने सन्त्रास शुरु भएको छ ।

    प्रहरीले अपार्टमेन्टलाई पूर्णतया सिल गरेको छ । मानिसहरु अब बाहिर निस्कने पाउने छैनन् ।

    यहाँ करीव ५ सय १० परिवारका करिब १५ सय मानिस बसोबास गर्छन् । उनीहरुमा कोरोनाको परिक्षण शुरु गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

    गत ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएको प्रहरीले जनाएको छ । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् ।

    अपार्टमेन्टमा ६ वटा ब्लक छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार रहेको प्रहरीले जनाएको छ । संक्रमितहरुमा शुरुमा लक्षण देखिएको थिएन । त्यसकारण उनीहरु १४ दिनको कडा क्वारेन्टाइनपछि भने बाहिर ओर्लने, घुम्ने गर्थे ।

    अपार्टमेण्टमा साझा लिफ्ट समेत प्रयोग गरेका थिए । यसले उनीहरुले नचाहँदा नचाहँदै पनि संक्रमण अन्य व्यक्तिमा फैलिएको आशंका बढेको छ । संक्रमित व्यक्ति तीन जना नै बेलायतबाट दोहा हुँदै चैत ५ गते राति नेपाल आएका थिए ।

    अपार्टमेन्टमा आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेको संक्रमितहरूले बताएका छन् । १४ दिनको कोर्स पुरा गरेपछि उनीहरू तल कम्पाउन्डमा र गेटबाहिर निस्किन थालेको बताएका छन् ।

  • भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

    भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

    काठमाडौं । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमण र नेपालमा हुन सक्ने अनाधिकृत प्रवेश रोक्न सीमा नाकामा सुरक्षा बल थप हुने भएको छ ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमामा बल खटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमाको सुरक्षामा खटाउन गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

    गृह मन्त्रालय स्रोतका अनुसार सोमबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगको भेटमा गृहमन्त्री बादलले भीआइपीका नाममा अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

    दुबै संगठनले गृहमन्त्रीको निर्देशन अनुसार विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन गरिरहेका छन् ।

    यसअघि सशस्त्र प्रहरीले करीव २ हजार अतिरिक्त फौजलाई सीमा नाकामा तैनाथ गरिसकेको छ ।

    अहिले कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएको अनुमान छ ।

    पहाडी भेगमा कम सुरक्षा थ्रेट भएका स्थानमा रहेका पोष्टबाट पनि सुरक्षाबललाई अब तराईमा झारिने भएको छ ।

  • मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ ।

    जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ ।

    मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो काठमाडौंमा समेत पानी पर्ने सम्भावना छ ।

    यसअघि सोमबार राती नै काठमाडौंसहित देशका विभिन्न स्थानमा ठूलो आँधिसहित वर्षा भएको छ । काठमाडौंमा गतराति २ मिलीमिटर बर्षा मापन गरिएको छ ।

    अहिले उपत्यकाको न्युनतम तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । काठमाडौंको अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।

    पानी पर्दा मकै छर्ने तयारीमा रहेका कृषकलाई भने फाइदा पुग्छ ।

  • नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

    नेपालमा थपिदैछ लकडाउन, आज मन्त्रीपरिषद् बैठक

    काठमाडौं । सरकारले नेपालमा लकडाउन लब्याउने तयारी गरेको छ । सोही प्रयोजनका लागि आज मन्त्रीपरिषद् बैठक समेत बोलाइएको छ ।

    बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता लकडाउन थप्ने निर्णय गर्ने तयारी गरिएको छ ।

    सरकारले अन्तिमपटक थपेको लकडाउनको अवधि भोली सकिदैछ । मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या पछिल्लो साता बढेको छ ।

    सोहीकारण सरकारले लकडाउन थपेर यसको कार्यान्वयन अझ कडा बनाउने तयारीमा जुटेको हो । सरकारले पछिल्लो दिनमा परीक्षणको दायरा समेत बिस्तार गरेको छ ।

    अहिले दैनिक २ हजार हाराहारीमा परिक्षण हुने गरेको छ । सरकारले ११ चैतमा पहिलो पटक लकडाउन घोषणा गरेको थियो ।

    त्यसयता दुई पटकसम्म लकडाउनको अवधि लम्बिसकेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रिमित हुनेको संख्या १४ पुगेको छ।

  • कोरोनाले अमेरिकामा मात्र साढे २३ हजारको मृत्यु

    कोरोनाले अमेरिकामा मात्र साढे २३ हजारको मृत्यु

    न्यूयोर्क । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्र करीव २४ हजार मानिसको ज्यान गएको छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण सोमबार साँझसम्म २३ हजार ६ सय ४० जना मानिसिको ज्यान गएको छ ।

    यो कुनै पनि मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको सर्वाधिक मानवीय क्षति हो । विश्वभर भने मृत्यु हुनेको संख्या १ लाख १९ हजार पुगेको छ ।

    पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ ।

    अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकापछि इटलीमा बढी मानवीय क्षति भएको छ ।

    यस मुलुकमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अमेरिकाको न्यूयोर्कमा १ लाख ९५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

    यहाँ मृतकको संख्या १० हजार भन्दा बढी रहेको छ ।

    न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भएको तथ्यांक रहेको छ ।

  • भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने

    भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने

    जेनेभा । कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म यसको संक्रमण नियन्त्रणमा आउन नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने संगठनको भनाई छ ।

    भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा राख्न सकिएपनि पूर्णरुपमा निर्मुल गर्न भने नसकिने डब्लुएचओले जानकारी गराएको छ ।

    डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा दौरान कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको सेमेत उल्लेख गरे ।

    पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोपको आवश्यकता तत्काल देखिएको उनको भनाई छ ।

    सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिस मात्र मरेका थिए ।

    २०१९ डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलोचोटी देखिएको कोरोना भाइरसले चार महिनामा २० लाख मानिस संक्रमित भएका छन् ।

    १ लाख १९ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि पत्ता लागेको छैन ।

    डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

  • र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

    र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

    पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ ।

    ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो ।

    र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

    पोखरामा पिसिआर मेसिन मार्फत गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

    आइतबार नै स्वाब टेष्टका लागि पोखरा पठाइएको थियो । रिपोर्ट सोमबार दिउँसो आएको हो ।

    र्‍यापिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय विज्ञहरु बताउँछन् ।

    ठूलो संख्यामा टेष्ट गर्दा किट मार्फत र्‍यापिड टेष्ट गरिन्छ । र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पिसिआर मेसिनबाट टेष्ट गरेपछि मात्र भेरिफाई गर्ने गरिन्छ ।

  • जुल्याहा शिशुको नाम कोरोना र भाइरस

    जुल्याहा शिशुको नाम कोरोना र भाइरस

    हुम्ला । कोरोना भाइरसको संक्रमण विश्वव्यापी छ । यसले नेपाल पनि अछुतो छैन ।

    यसै सन्दर्भमा हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम नै कोरोना र भाइरस राखिएको छ।

    संसारभर फैलिएको कोरोना र नेपालमा समेत यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले बच्चाको नाम यस्तो राखिएको अभिभावकले जनाएका छन् ।

    अस्पतालका अनुसार पहिले छोरी जन्मिएकी छिन् । उनको नाम कोरोना राखिएको छ । पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ ।

    नाम राख्नमा आमा र बुवा हस्तबहादुर सहमत भएका हुन् । जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।

  • बढ्दैछन् कोरोना संक्रमित, तर लकडाउन तोड्ने उत्तिकै

    बढ्दैछन् कोरोना संक्रमित, तर लकडाउन तोड्ने उत्तिकै

    काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित देशभर कोरोनाको संक्रमण निरन्तर बढिरहेको छ ।

    पछिल्लो २ दिनमा ५ जना थप संक्रमित बढे । तीन जना उच्च जोखिममा रहेका छन् । उनीहरुको परिक्षण जारी रहेको छ ।

    तर, यसले काठमाडौंबासीलाई कुनै मतलव नभएको जस्तो भान हुन्छ ।

    किनकी साँझ परेपछि तरकारी किन्ने बाहना र बिहान मर्निग वाकमा जाने बाहनामा हजारौं मानिस सडकमा निस्कन्छन् ।

    सोमबार मात्र लकडाउन उल्लङ्घन गर्ने ७७५ महिलासहित दुई हजार ९९३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार यो संख्या सोमबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको मात्र हो । उनीहरुलाई तीन घण्टा कोरोना भाइरसबारे प्रशिक्षण दिएर प्रहरीले छाड्ने गरेको छ ।

    प्रहरीका अनुसार काठमाण्डौबाट दुई हजार ३६३, ललितपुरबाट ६१० र भक्तपुरबाट २० जना प्रहरीको नियन्त्रणमा परेका हुन् ।

    आइतबार २१४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २२१ वटा सवारी साधन समेत कारवाहीमा परेका छन् । सरकारले लकडाउन घोषणा गरेको छ ।

    यसबेला अतिआवश्यक काम नपरेसम्म बाहिर नजान सरकारले आह्वान गरेको छ ।

  • कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

    कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

    काठमाडौं । नेपालमा कोरोनाको परिक्षण ५२ जिल्लामा बिस्तार भएको छ । सरकारले ५२ जिल्लाबाट कोभिड–१९ को परीक्षण सुरु गरेको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण शुरु गरिएको छ ।

    अहिले पीसीआरबाट देशभर ११ स्थानमा परीक्षण हुने गरेको छ । अब बाँकी २५ जिल्लामा समेत परीक्षण शुरु गर्ने तयारी सरकारको छ ।

    सरकारले परिक्षणको दायरा बढाएसँगै संक्रमितको संख्यामा समेत वृद्धि भएको देखिएको छ । सोमबारसम्म कूल १४ जनाका संक्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार दुवै विधिबाट सोमबारसम्म कूल १० हजार ९८२ जनाको परीक्षण भएको छ ।

    यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार पर्सामा आइतबार संक्रमित देखिएका तीन जना व्यक्तिका आफन्त, नातेदार र नजीकका मानिसको निगरानी गर्न शुरु गरिएको छ ।

    नेपालमा अहिलेसम्म कैलालीमा ६, बागलुङ्ममा २, काठमाडौँमा २, पर्सामा ३ र रौतहटमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

  • बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

    बेलायतबाट फर्किएका पेप्सीकोलाका तीन जनामा कोरोनाको लक्षण

    काठमाडौं । बेलायतबाट फर्किएपछि पनि घरमै लुकेर बसिरहेका एकै परिवारका तीन जनामा कोरोनाको लक्षण देखिएको छ । उनीहरुको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएको छ ।

    विदेशबाट फर्किएपछि पनि अस्पताल जचाउन नगएका उनीहरुबारे छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनीहरु आएपछि नै छिमेकीमा भने त्रास बढेको बताईको छ ।

    उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । अहिले तीन जनालाई नै अस्पतालमा भर्ना गरिएको छ ।

    उनीहरु आमा, छोरा र बुहारी रहेको बताइएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

    पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालले जनाएको छ ।

    उनीहरु २८ दिनअघि बेलायतबाट आएर बसेका थिए । तर, अस्पताल गएका थिएनन् । लक्षण बढ्दै गएपछि छिमेकीले खबर गरेका हुन् ।

    सनसीटीको ब्लक एमा उनीहरु बस्ने गरेका थिए । अहिले अर्पाटमेन्टलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

  • कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

    कैलाली र रौटहतमा भेटिए कोरोना संक्रमित, कूल संक्रमण १४ जनामा

    काठमाडौं । नेपालमा कैलाली र रौटहतमा कारोना भाइरस (कोभिड–१९)का एक एक जना संक्रमित फेला परेका छन् । सोमबार दुई जनामा बढेसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ पुगेको छ ।

    वीरगन्जमा चिया पसल गरेर बस्ने एक ६५ वर्षिय महिलामा कोरोना देखिएको हो । उनी कैलाली निवासी रहेको बुझिएको छ ।

    यता, भारतको राजधानी नयाँ दिल्लीबाट नेपालमा लकडाउन भएकै समयमा भित्रिएका एक युवामा समेत संक्रमणको पुष्टी भएको छ ।

    १९ वर्षिय युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेर घरमा पुगेको प्रहरीले जनाएको छ ।

    परिवारका समस्यले उनलाई सिधै क्वारेन्टाइनमा पठाएका थिए ।

    उनीहरु जनकपुरबाट आएका थिए । क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगिएको थियो । त्यसमध्ये १९ वर्षका युवकमा संक्रमण देखिएको हो ।

  • लकडाउनले घरभित्रै थुनेको नयाँ साल

    काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर हर्षोल्लासपूर्ण तरिकाले मनाइँदैछ।

    सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्ति हो । त्यसकारण यस दिनलाई धार्मिक र सामाजिक मान्यता अनुसार पनि वर्षका जेठो दिन मानिन्छ ।

    नयाँ वर्षले हरेक पटक उत्साह बोकेर आउँछ । पुरानो खराब प्रवृत्तिलाई त्याग गर्दै नयाँ संकल्प लिने दिनका रुपमा पनि यसलाई लिने गरिन्छ ।

    साथिभाई इष्टमित्र बीच शुभकामना आदानप्रदान, नाचगान, घुमघाम गरेर समेत मनाउने परम्परा रहिआएको छ । तर, यस पटक भने माहौल फरक रहेको छ ।

    यो दिन सरकारले सार्वजनिक बिदा दिन्छ । तर, नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट बच्न घर भित्र थुनिएको तेस्रो साता चलिरहेको छ ।

    घुमघाम त परै जावस, सडकसम्म निस्कने छूट पनि नेपालीमा छैन । यस अवस्थाका कोरोनाले नयाँ वर्षको उल्लाह खोसिदिएको छ ।

    सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुन्छ ।

    नेपाल भित्र मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीमा समेत नयाँ वर्षको उत्तिकै रौनक हुन्छ । नयाँ सालको उपलक्ष्यमा पूजाआजामा जाने परम्परा रहेको छ ।

    तर, यस वर्ष मन्दिर सम्म जाने छूट पनि नेपालीलाई हुने छैन ।

    यस दिन पशुपतिनाथ, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा विशेष थिए ।

    लकडाउनका कारण यी सबै जात्रा रोकिएका छन् । देशभर आयोजना हुने रमाइला मेलाहरुसमेत स्थगित भएका छन् ।

  • राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ

    राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा प्रयासबाट कोरोना भाइरसविरुद्ध जीत प्राप्त हुने बताएकी छिन् ।

    नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नयाँ वर्षमा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई अझ सशक्त बनाउनु पर्ने बताएकी छिन् ।

    उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताएकी छिन् ।

    राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणमा एक जुट भई लाग्न नेपालीलाई आह्वान समेत गरेकी छिन् ।

    कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने उनको भनाई छ ।

    उनले यसबाट अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने उल्लेख गरेकी छिन् ।

  • नयाँ वर्षमा प्रधानमन्त्रीको लोकप्रिय निर्णय, कोरोना नसकिएसम्म पारिश्रमिक नलिने

    नयाँ वर्षमा प्रधानमन्त्रीको लोकप्रिय निर्णय, कोरोना नसकिएसम्म पारिश्रमिक नलिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म तलव नलिने घोषणा गरेका छन् ।

    नयाँ वर्षमा देशबासीलाई उपहारस्वरुप उनले तलव नलिने घोषणा गरेका हुन् । उनले बुझ्ने सबै तलव सिधै कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

    नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

    ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको बताएका छन ।

    आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको स्मरण गर्दै प्रधानमन्त्रीले मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् ।

    देशमा आएको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयासको आवश्यकतामा उनको जोड रहेको छ ।

  • नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

    नेपालमा साढे ८ हजार जनामा कोरोना परिक्षण, १२ जनामा पुष्टी

    काठमाडौं । नेपालमा अहिलेसम्म साढे ८ हजार मानिसमा कोरोना परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय भन्दा बढी मानिसको नमुना परीक्षण गरिएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर मेसिनबाट ५ हजार १८४ र र्‍यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको हो।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यी परिक्षणबाट १२ जनामा पोजेटिभ भाइरस देखिएको छ । तीन जनामा आइतबार मात्र पुष्टी भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार २० वटा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ६२८ वटा परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ ।

    काठमाडौंबाहिर पीसीआर मेसिनबाट १ हजार १६४ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    सबै प्रदेशमा पीसीआर मेसिन र र्‍यापिट टेष्ट किट सबै जिल्लामा पुगिसकेको छ । धेरै जिल्लामा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आउने क्रम जारी रहेको प्रवक्ता देवकोटाको भनाई रहेको छ ।

    आइतबारसम्म देशभर ७ हजार ९७३ जना क्वारेन्टाइनमा रहेका छन्। बागलुंगमा थप एक जनाका कोरोनाको पोजेटिभ देखिएको छ ।

    थप परिक्षणका लागि काठमाडौं ल्याइएको छ । त्यो पुष्टी भएका नेपालमा कूल १३ जनामा कोरोना पुष्टी हुनेछ ।