Author: Vishwanews.com

  • बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मात्र १६ जना नेपालीको मृत्यु भएको छ ।

    लन्डनस्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् ।

    बेलायतमा १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

    कोरोनाको संक्रमणको आशंकामा करीव ४० जना नेपाली भने आइसोलेनमा घरमै रहेको दूतावासले जनाएको छ ।

    दूतावासले संकटको बेला सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आह्वान गरेको छ ।

  • कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् ।

    कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् ।

    यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये एक जना पुरुष शूरुवाती दिनमै निको भएर घर फर्केका थिए । आज दुई जना घर फर्किएका छन् ।

    बागलुङकी ६५ वर्षीया महिला नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन्। उनको धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

    चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ ।

    बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई चैत २० मा कोरोना संक्रमण पुष्टि भएको थियो।

  • उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

    उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

    विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ ।

    एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ ।

    १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ । संक्रमण नदेखिएका चार जनालाई मोरङस्थित टाँडीमा बनाइएको क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

    कोसी अस्पताल विराटनगरले कोरोना अस्पतालमा भर्ना भएका बिरामीको उपचारका लागि ५ जना चिकित्सक खटाएको छ ।

    त्यहा नर्स र सहयोगी कर्मचारी समेत खटिनेछन् । ४ चिकित्सकले दैनिक ६, ६ घण्टाका दरले ड्युटी गर्ने र एक जनाले चौबिसै घण्टा ड्युटी गर्ने गरी सेड्यूल मिलाइएको अस्पतालले जनाएको छ ।

    उनीहरुलाई सात दिनपछि भने होम क्वारेन्टाइनमा पठाइने छ । १२ जनामा शुक्रबार कोरोना पुष्टी भएको हो । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक हुन् ।

  • सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ ।

    यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकमा दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    अस्पतालका अनुसार भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ ।

    दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ बर्षीय अर्का युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

    काठमाडौंमा दोस्रो संक्रमित भने अस्पतालबाट डिस्चार्ज भएकी छिन् । नेपालमा कुल ३० जनामा संक्रमण देखिए पनि सबैको अवस्था सामान्य रहेको छ ।

  • नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

    नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

    काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् ।

    शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

    निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उनको प्रतिक्रिया छ ।

    उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

    काठमाडौं घर भएकी युवती चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

    फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामी साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी आफै स्वास्थ्य जाँच गराउन टेकु पुगेकी थिइन । उनको नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीसँगै आएका अन्य दुई जनामा समेत कोरोना पुष्टी भएको हो । नेपामा अब कोरोना संक्रमित मध्ये २ जना निको भएर घर फर्किएका छन् ।

    नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । २८ जना भने अस्पतालमा छन् ।

  • भारतमा कोरोना नियन्त्रण उन्मुख

    भारतमा कोरोना नियन्त्रण उन्मुख

    नयाँ दिल्ली । अप्रिल पहिलो साता भारतीय राज्यहरुबाट निकै डरलग्दो तथ्यांकहरु आइरहेका थिए । जहाँ कोरोनाको संक्रमण हरेक तीन दिनमा दोब्बरले बढिरहेको थियो ।

    तर, अप्रिल दोस्रो साता सकिँदासम्म भारतमा नयाँ संक्रमणको दर निकै घटेको छ । संक्रमणको तुलनामा मानिसको मृत्युदर समेत नगन्य रहेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले यसलाई शुभसंकेत भनेको छ । जसले भारतमा कोरोना अब नियन्त्रण उन्मुख रहेको देखाउने भारतीय अधिकारीहरुको दावि छ ।

    भारतमा १ अर्ब ३० करोड मानिस छन् । यहाँ लकडाउन छ । यति ठूलो जनसंख्यालाई घर भित्र थुनेर राख्दै एक महामारीको नियन्त्रण भारतजस्तो मुलकमा निकै चूनौतिपूर्ण काम हो ।

    तर, खासगरी स्थानीय सरकारहरुको सक्रियतामा भारतले सफलता पाइरहेको छ । दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो।

    यस मुलुकमा अहिसम्म ४ सय ५२ जना संक्रमितको ज्यान गएको छ । भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    सोहीकारण संक्रमितको तुलनामा मर्ने मानिस ज्यादै कम छन् । यहाँ १ हजार ७ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । भारत युरोप र अमेरिकाको तुलनामा यो भाइरसको नियन्त्रणको युद्धमा धरै हदसम्म सफल देखिएको छ ।

    भारतका कतिपय प्रदेश र जिल्लामा एक जना मानिसको पनि कोरोना संक्रमणका कारण ज्यान नगएको तथ्यांक छ ।

    भारतले २५ मार्चबाट देशभर लकडाउन घोषणा गरेको हो ।

    यस २१ दिनको अवधिमा संक्रमण धेरै हदसम्म काबुमा राख्न सफल भएको भारतीय स्वास्थ्य मन्त्रालयको भनाई छ । भारतमा कोरोना संक्रमणको फैलने दर कम भएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल पहिला साता हरेक तीन दिनमा कोरोना संक्रमण दर दोब्बरको हिसाबले बढेको थियो । तर हाल यो दर हरेक ६ दशमलव २ दिनमा झरेको छ । भारतका १९ राज्यमा कोरोना संक्रमित कम छन् ।

  • वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

    वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ ।

    संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ ।

    सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।

    चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस उत्पत्ति भएको बताइएको छ ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोसले जीवित जनावरको बिक्री हुने बजारलाई प्रतिवन्ध लगाउन र मानिसको स्वास्थ्य दृष्टिकोणबाट तोकिएका मापदण्ड पुरा भएपछि मात्र खोल्न अनुमति दिनुपर्ने उनको सुझाव छ ।

    टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेकोमा सचेत गराएका छन् ।

    डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको बताएको छ । यसमा अध्ययनकर्ता लागिपरेका छन् ।

  • अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

    अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ ।

    शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।

    यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै अगाडी पुगेको छ ।

    अमेरिकामा अहिलेसम्म यस भाइरसको संक्रमणका कारण ३७ हजार मानिसले ज्यान गुमाएका छन् । चीनको वुहानबाट उत्पत्ति भएको यो भाइरसको औषधी अहिलेसम्म पत्ता लागेको छैन ।

    संसारभरका सबैजसो मानिसलाई यसले त्राहीमाम बनाएको छ । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म २ लाख ३० हजारभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।

    यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ३१ पुगेको छ । न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस संक्रमित छन् । यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ४० रहेको छ ।

    अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमित भने निको भएका छन् ।

    कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघेको छ । अहिलेसम्म १ लाख ५४ हजारभन्दा धेरै मानिसले संसारभर ज्यान गुमाएका छन् ।

    नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये पनि १५ जना भारतीय नागरिकमा संक्रमण भएको छ ।

    १ जना नेपाल भित्रै रहेका नागरिकमा फैलिएका यो संक्रमण अन्य व्यक्ति भने विदेशबाट नेपाल फर्किएका हुन् । नेपालमा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    काठमाडौं । नेपालको ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा कोरोनाको परीक्षण शुरु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍यापिड डायग्नोस्टिक विधिबाट ७५ जिल्लामा परीक्षण शुरु भएको छ ।

    अब सोलुखुम्बु र डोल्पा जिल्लामा मात्र यस्तो परिक्षण शुरु हुन बाँकि रहेको छ ।

    र्‍यापिड डायग्नोस्टिक विधिबाट पोजेटिभ आएको व्यक्तिको स्वाव संकलन गरी थप परीक्ष्णका लागि काठमाडौंसहित देशभर रहेका एक दर्जन ल्यावमध्ये पायक पर्ने ल्यावमा पठाउने गरिन्छ ।

    मन्त्रालयका अनुसार प्रदेशहरुमा थप ३० हजार यापिड डायग्नोस्टिक किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार र्‍यापिड टेष्ट सोलखुम्बु र डोल्पामा समेत शुरु गर्ने तयारी छ ।

    नेपालमा अहिलेसम्म भएका परीक्षणबाट ३० जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार मात्र १४ जना थप संक्रमित भेटिएका हुन् ।

  • राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

    राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

    काठमाडौं । राष्ट्रपति कार्यालयले कोरोना संकटका बीच एक उदाहरणीय कार्य गरेको छ । कार्यालयले आफ्नो खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारलाई नै फिर्ता गरेको छ ।

    कार्यालयका नाममा विनियोजन भएको वार्षिक बजेटबाट साढे ९ करोड रुपैयाँ सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६\०७७ का लागि छुट्याइएको बजेटमध्ये उक्त रकम फिर्ता भएको जानकारी दिएका छन् ।

    कोरोना भाइरस (कोभिड १९) का कारण विशेष परिस्थिति उत्पन्‍न भएकाले कार्यालयको विभिन्‍न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्‍चित कोषमा जम्मा गरिएको उनको भनाई छ ।

    सरकारले २० चैतसम्म पनि ठेक्का नलागेका विभिन्न १४ शीर्षकको बजेट सबै निकायमा रोक्का गरिसकेको छ ।

  • जनकपुरमा दुई महिलाले सडकमा छरे नोट, कोरोना फैलाउने प्रयासको आंशका

    जनकपुरमा दुई महिलाले सडकमा छरे नोट, कोरोना फैलाउने प्रयासको आंशका

    जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाले सडकमा नेपाली रुपैयाँका नोट छर्दै हिँडेपछि स्थानीयमा त्रास बढेको छ ।

    प्रहरीका अनुसार उनीहरुले शुक्रबार दिउँसो साढे १२ बजेतिर सडकमा नेपाली नोट छर्दै हिँडेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ।

    शुक्रबार मध्यान्ह साढे १२ बजेको समयमा जनकपुर उपममहानगरपालिका ६ महावीर चोकस्थित सडकमा अपरिचित दुई महिलाले १० रुपैयाँ दरका करिब १५ वटा नोट छरेको प्रहरीको भनाई छ ।

    बाटोमा नोट छरेर भागेका ती महिलाको प्रहरी चौकी जनकपुरधामबाट प्रहरी नायब निरीक्षकको टोलीले खोजी थालेको बताइएको छ ।

    प्रहरीले ती महिला कोरोना संक्रमणसम्बन्धी शंकास्पद हुन सक्ने बताएको छ। ती नोट बरामद गरी आवश्यक अनुसन्धानको लागि ल्याएर परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

    ‘नोट छर्ने महिलाहरुको खोजी भइरहेको छु, जिप्रका धनुषाले भनेको छ ‘नोट छरिएको क्षेत्रलाई सेनिटाइजसमेत गरिएको छ। अफवाह र गलत समाचारमा विश्‍वास नगर्न पनि अपिल गर्दछौं।’

  • बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    काठमाडौं । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

    अब यस मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार २७ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।

    बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भइसकेको छ । तीन जनाको अवस्था गम्भीर छ । ७ सय ३ जना भने निको भइसकेका छन् ।

    दूतावासका अनुसार बहराइनमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको भन्दै नियमको पालना गर्न दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ ।

    यसका साथै बहराइनमा गैरकानूनी रुपमा बसेका सबै नागरिकले सन् २०२० भित्रै बैधानिक कागजपत्र देखाएर बैधानिक हुन समेत सक्ने जानकारी दूतावासले जनाएको छ ।

    बहराइनमा क्वारेन्टाइनसम्बन्धी नियमको उल्लंघन गरेमा तीन महिनासम्म जेल सजायसमेत हुने भन्दै सचेत रहन दूतावासले आह्वान गरेको हो ।

  • बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

    बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवनमा बेलायतबाट फर्किएका आमाछोरामा कोरोना पुष्टी भएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये भने ६ जना भारतीय रहेको बताइएको छ ।

    उनीहरु एक मस्जिदमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि चिकित्सकसहितको टोलीले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

    यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । नेपालको पहिलो संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा विदेशबाट फर्केर पनि अस्पतालमा स्वास्थ्य चेकअप नगराएका कारण उनीहरुमार्फत समुदायमा जोखिम बढेको छ ।

    त्यसमा पनि विकसित र सचेत मुलुकबाटै फर्किएका नागरिकले बढी वेवास्थ गरेका छन् । यसै समस्याले गर्दा पछिल्लो समय विदेशबाट फर्केर लुकेर बसिरहेका मानिसको खोजी गर्न स्थानिय तहरु सक्रिय भएका छन् ।

  • पैदल यात्रु रोकिने, जहाँ छन् त्यही खाद्यान्न पुर्याउन प्रधानमन्त्रीको निर्देशन

    पैदल यात्रु रोकिने, जहाँ छन् त्यही खाद्यान्न पुर्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक सबै प्रकारका आवतजावत पूर्ण रुपमा बन्द गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

    खान नपाएर कसैलाई पनि गाउँ जानु पर्ने अवस्था नहोस भन्दै उनले सम्बन्धित स्थानमा खाद्यान्न पुर्‍याउने व्ववस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

    लकडाउन झण्डै एक महिनाभन्दा बढी लम्बिएपछि दैनिक कमाएर गुजारा गर्नेहरुमा पिडा थपिएको छ । उनीहरु काठमाडौं या शहरी इलाकामा गुजारा नचल्ने भएपछि हिँडेरै घरतर्फ लागेका छन् ।

    सोही परिस्थितिका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन् ।

    बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।

    प्रधानमन्त्रीले भने कोरोना विरुद्ध हेलचेक्राइ गर्न नमिल्ने भन्दै उदार हुनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे ।

    आवतजावत बन्द भनेकै एक ठाउँबाट अर्को ठाउँमा जान रोक्नु भएको भन्दै उनले यदि खान नपाएरै जान लागेको भए जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

  • चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

    चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

    काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) उत्पत्ति भएको शहर चीनको वुहानमा महामारीबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएका छन् ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकालाई यसमा गणना गरिएको छ ।

    चीनले वुहानबाट मात्र १२ सय ९० जना थप भएको उल्लेख गरेको छ ।

    महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना नभएका, घरमै मृत्यु भएका र दोहोरिएका समेत जोडेर फाइनल नतिजा निकालिएको चीनले उल्लेख गरेको छ ।

    यसअघि चीनले यथार्थ विवरण लुकाइरहेको आरोप लागिरहेको थियो ।

    यसलाई स्वयमः चीनले समेत स्वीकार गरेको छ । चीनले वुहानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै ३ हजार ८ सय ६९ पुगेको उल्लेख गरेको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन नसकेका हुन् ।

    अहिले दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

  • ओपनिङ अप अमेरिका अगेन योजना सार्वजनिक

    ओपनिङ अप अमेरिका अगेन योजना सार्वजनिक

    काठमाडौं । अमेरिकी सरकारले अमेरिकालाई पुनः खुला गर्ने सम्बन्धमा योजना सार्वजनिक गरेको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई पुनः सामान्य अवस्थामा फर्काउने योजना सार्वजनिक गरेका हुन् । जनजीवन सामान्य बनाउन उनले तीन चरणको प्रस्ताव गरेका हुन् ।

    ‘ओपनिङ अप अमेरिका अगेन’ नाम दिइएको यो योजनामा स्कुल र कार्यालय फेरि खोल्ने प्रयोजनका लागि तीन चरणमा काम गर्ने प्रस्ताव गरिएको छ ।

    केन्द्र सरकारको यो प्रस्तावमा अब राज्यले आफ्ना सुझाव दिनु पर्र्ने भएको छ । १४ दिनको मा एक चरणको योजना कार्यान्वयन गरिने भएको छ ।

    लामो समय बन्द गरेर राख्दा अर्थव्यवस्था नै धरासायी हुन सक्ने भन्दै अमेरिकालाई पुनः सूचारु गर्ने प्रयास थालिएको हो ।

    योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोलिने भएको छ ।

    यसपछि सङ्क्रमण दर घटेसँगै दोस्रो चरणको योजना कार्यान्वयन थालिने भएको छ ।

    त्यसबेला सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने भएपनि ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा हुन नपाउने नियाम ल्याइएको छ ।

    तेस्रो चरणमा भने सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति पाउने छन् । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

  • अमेरिकामा मात्र ३३ हजार मानिसको ज्यान गयो

    अमेरिकामा मात्र ३३ हजार मानिसको ज्यान गयो

    न्यूयोर्क । कोरोना भाइरस संक्रमणले अमेरिकामा मात्र करीव ३३ हजार मानिसको ज्यान गएको छ ।

    शुक्रबार बिहानसम्म ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ। अमेरिकाको न्यूयोर्क शहरमा ११ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ ।

    अमेरिका कोरोना संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगेको छ ।

    अमेरिकामा मात्र २ करोड १० लाख जना बेरोजगार बनेका छन् । अमेरिकामा यो सबैभन्दा धेरै बेरोजगारी हो ।

    संसारभर फैलिएको यस भाइरसको प्रभाव यूरोप र अमेरिकामा बढी भएको छ ।

  • कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

    कुवेतमा भिषा अवधि सकिए स्वतः तीन महिना थपिने

    काठमाडौं । कुवेतमा रहेका सबै विदेशी नागरिकको भिषा अवधि तीन महिना थपिने भएको छ ।

    मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वतः थप गर्ने निर्णय कुवेत सरकारले गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा लागु हुने भएको छ । प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि यो नियम लागू हुने भएको छ ।

    कुवेतमा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् । लकडाउनका कारण भिषा सकिएको भए अब त्यसको अवधी तीन महिना थपिदा यो नियमबाट नेपाली पनि लाभान्वित हुने भएका छन् ।

  • विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

    विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा संकटमा रहेका नेपालीलाई उद्दार गरी घर फिर्तिको वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

    खासगरी सीमावर्ती क्षेत्रमा हजारौं नेपाली नागरिक घर आउने सरकारको आदेश कुरेर बसेका छन् ।

    प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

    अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विदेशमा रहेका नेपालीलाई विना भेदभाव उद्दार गर्न अन्तरिम आदेश गरेको हो ।

    सर्वोच्चले केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय नेपालीले सरकारसँग गुहार समेत मागिरहेको विषयलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सचेत गराएको छ ।

    अदालतले कोरोनाको महामारी फैलिएका मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको त्यहाँको नेपाली राजदूताबास वा श्रम सहचारीमार्फत संक्रमित नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न समेत निर्देशन दिएको छ ।

  • खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ

    खुसीको खबर : नेपालकी छैठौं संक्रमित ६५ वर्षिय महिलामा कोरोना नेगेटिभ

    पोखरा । बिहीबार एक खुसीको खबर सार्वजनिक भएको छ ।

    धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाले कोरोनामाथि जीत हात पारेकी छिन् ।

    पहिलो र दोस्रो परीक्षण्मा कोरोना पोजेटिभ आएकोमा तेस्रो परीक्षण्बाट भने नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उनको थ्रेट स्वाब परीक्षण गरिएको थियो ।

    तेस्रो परीक्षण नतिजा नेगेटिभ आएको बताइएको छ । उनी नेपालको छैटौं कोरोना संक्रमित हुन्। पाँचौ संक्रमित बागलुंगकै एक १९ वर्षिय युवतीसँगै उनी बेल्जियमबाट नेपाल आएकी थिइन् ।

    युवतीसमेत सोही अस्पतालको आइसोलेसनमा उपचारार्थ छिन् । युवतीको भने चौथो पटक गरिएको परीक्षणमा पनि कोरोनाको संक्रमण पोजेटिभ नै आएको छ ।

    नेगेटिभ रिपोर्ट आएकी महिलाको २४ घण्टाभित्र पुनःथ्रेट स्वाव संकलन गरी परीक्षणका लागि पठाइदैछ ।

    चौथो परीक्षणमा समेत नेगेटिभ आएमा भने उनी अस्पतालबाट डिस्चार्ज हुनेछिन् । अस्पताल भर्ना भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

    उनी निको भएमा त्यसले अन्य युवामा समेत उत्साह थप्नेछ । किनकी विश्भर बढी उमेरका मानिसमा कोरोनाको संक्रमण डरलाग्दो पाइएको छ ।

    नेपालमा भने विदेशबाट फर्केका युवामा बढी संक्रमण छ ।

  • लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

    लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन ।

    यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ ।

    पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि र र्‍यापिड डाइग्नोस्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार स्वाब परीक्षण (पीसीआर) विधिबाट ३ सय ६९ जना र र्‍यापिड डायग्नोस्टिक (आरडीटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको हो ।

    विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्‍यापिड परीक्षण भएको छ । अहिलेसम्म दुवै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएको छ ।

    जसमा पीसीआर विधिबाट ७ हजार २ सय ४० र आरडीटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।

    देशभरी नै सरकारले आरडीटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण भएको छैन ।

  • सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

    सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

    दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ ।

    यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए ।

    उनलाई सरकारले घर आउन दिएन । सोहीकारण उनी रोकिएकै स्थानमा आमाको किरिया बसे । यो खबर सार्वजनिक भएपछि सरकारले उनलाई घरसम्म लैजाने भएको छ ।

    यसका लागि प्रक्रिया थाल्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

    दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्ट आमाको मृत्युपछि भारतको धार्चुलास्थित आश्रय स्थलमा मै किरियामा बसेका छन् ।

    नेपाल सरकारले उनलाई घर फर्काउने निर्देशन दिएपनि भारत सरकारको अनुमति चाहिने भएकाले उनलाई बिहीबार घर ल्याउन भने सकिएन ।

    दार्चुलाबाट शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको छ । लकडाउन घोषणापछि दार्चुलापारि धार्चुलामा साढे पाँच सयभन्दा बढी नेपाली रोकिएका छन् ।

  • चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान

    चैतमा नेपाल आएका सबैलाई कोरोना परीक्षणमा आउन सरकारको आह्वान

    काठमाडौं । कोरोना प्रभावित मुलुकबाट फर्किएपछि पनि स्वास्स्थ्य जाँच नगरी बसिरहेका सबै व्यक्तिलाई सरकारले कारोनाको परीक्षणको दायरामा आउन आह्वान गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) विधिको परीक्षणमा सहभागी हुन आह्वान गरेको हो ।

    मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैले र्‍यापिड टेस्ट गर्नुपर्ने बताएको हो ।

    कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले पनि र्‍यापिड टेस्टमा सहभागी हुनुपर्ने भएको छ ।

    अब सरकारले कोरोनालाई सम्भावित क्षेत्रको पहिचानमा   लैजाने योजना बनाएको छ ।

    त्यसअनुसार अतिप्रभावित क्षेत्रलाई सिल गरेर अन्य क्षेत्र वा कम प्रभावित क्षेत्रलाई क्रमशः खुला गर्ने रणनीतिमा सरकार जाने भएको छ ।

    लामो समय लकडाउनमा जाँदा त्यसले अन्य समस्या निम्त्याउने भन्दै सरकारले सम्भावित जोखिमपूर्ण क्षेत्रमा कोरोनाको परीक्षणलाई तिब्र बनाउन लागिएको हो ।

  • डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

    डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

    काठमाडौं । बुधबार ड्यूटी सकेर खाना खान जाने क्रममा डाक्टरलाई लकडाउन उल्लंघनको अभियोगमा कुटपिट गर्ने प्रहरीमाथि संगठनले कारवाही थालेको छ ।

    सोहीक्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरमाथि प्रहरीले बुधबार साँझ लाठि बर्साएको थियो ।

    लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई गरेको कुटपिटको घटना बुधबार नै सार्वजनिक भएको थियो ।

    लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको नेपाल प्रहरीले जनाएको छ । लम्साललाई छानबिनका लागि रानीपोखरी तानिएको बताइएको छ ।

    यसअघि संगठनले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति समेत गठन गरेको थियो ।

    समितिले अनुसन्धान थाल्नु अगाडी नै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

    घटनामा प्रहरीबाट कमजोरी भएको संलग्न प्रहरी कर्मचारीले स्वीकार गरिसकेका छन् । डाक्टरले आफु डाक्टर भएको कार्ड देखाउँदा समेत प्रहरीले कुटपिट गरेको जानकारी गराएका थिए ।

  • चीन उडे नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी

    चीन उडे नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी

    काठमाडौं । नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज बिहीबार साँझ चीन उडेका छन् ।

    नेपालका निजी कम्पनीले यी दुई जहाज कार्गो उडानका लागि चार्टर्ड गरेका हुन् । मेडिकल सामग्री लिएर यी जहाज शुक्रबार बिहान काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि पनि नेपाल एयरलाइन्सल चीनमा दुई पटक चार्टर्ड उडान गरिसकेको छ । नेपाल एयरलाइन्सले चीनको ग्वानझाओबाट मेडिकल सामान नेपाल ल्याइरहेको छ ।

    यी जहाजले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी मेडिकल सामग्री लिएर काठमाडौं आउनेछन् ।

    उता, शुक्रबार श्री एयरलाइन्सको जहाज मेडिकल सामग्री नै लिन सिंगापुर उड्न तयारीमा छ । त्यसका लागि प्रक्रिया थालिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

    यो उडान भने श्री एयरलाइन्सले सरकारका लागि निशूल्क गरिदिन लागेको बताइएको छ ।

    सिंगापुरमा एक संस्थाले सरकारलाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

  • काठमाडौंमा लकडाउनमा कडाई, साँझ पसल खोल्न नपाइने

    काठमाडौंमा लकडाउनमा कडाई, साँझ पसल खोल्न नपाइने

    काठमाडौं । सरकारले काठमाडौंमा लकडाउनको कार्यान्वयनलाई अझै कडाई गरेको छ । बुधबारबाट प्रहरीले सडकमा चेकजाँच कडा पारेको छ ।

    खाद्यान्न तथा तरकारी पसलहरुसमेत अब बिहान मात्र खुला हुने भएका छन् ।

    कोभिड १९ सम्बन्धित उच्चस्तरीय समितिले काठमाडौंमा जोखिमको बढ्दो अवस्थालाई आंकलन गर्दै लकडाउनको कार्यान्वयनमा कडाई गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार सरकारी संयन्त्रले सडक तथा विभिन्न स्थानमा कडाई थालेको हो । काठमाडौंसहित देशैभर लकडाउनको उल्लंघन गरेमा १ महिना कैदसम्मको सजाय कार्यान्वयनमा ल्याउने निर्णय सरकारले गरेको थियो ।

    कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो कदम उठाउनु परेको हो ।

    नेपालमा १५ वैशाखसम्म लकडाउन कायम रहेको छ । ११ चैतबाट लकडाउन शुरु भएको हो । नेपालमा अहिलेसम्म कूल १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

  • सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

    सहयोग रोक्ने अमेरिकी चेतावनी दुखदः : डब्लूएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनीप्रति दुख व्यक्त गरेको छ ।

    अमेरिकी राष्ट्रपतिले संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग कटौतीको घोषणा गरेका थिए ।

    उनको यस निर्णयको विश्वभर आलोचना भएको छ । राष्ट्रसंघले समेत संकटको समयमा संगठनलाई सहयोग कटौती गर्न नहुने बताइसकेको छ ।

    डब्लूएचओले समेत वर्तमान समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको भन्दै सहयोग काट्नु दुखद भएको उल्लेख गरेको छ ।

    अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । डब्लूएचओले बेलैमा सही परामर्श नदिएको र चीन परस्त भएको आरोप अमेरिकाको छ ।

    डब्लुएचओका प्रमुख डा. ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदमप्रति प्रतिक्रिया दिदैं अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र भएको र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखिएको उल्लेख गरे ।

    अमेरिकी सहयोग बन्द भएपछि त्यसले डब्लुएचओको कामलाई पार्ने प्रभावको बारेमा समीक्षा भइरहेको समेत उनले जानकारी दिए । अमेरिकाले डब्लूएचओको सबैभन्दा ठूलो दाता हो ।

  • यूरोपमा थामिदैछ कोरोना कहर, लकडाउन खुला गर्ने तयारीमा मुलुकहरु

    यूरोपमा थामिदैछ कोरोना कहर, लकडाउन खुला गर्ने तयारीमा मुलुकहरु

    काठमाडौं । केही साता अघि दैनिक हजारौं मानिसको ज्यान लिएर त्राहिमाम बनाएको कोरोना भाइरस अब यूरोपेली मुलुकमा भने थामिने क्रममा आएको छ । इटली र स्पेनमा नयाँ संक्रमण तथा मृत्युदरमा समेत ब्रेक लागेको छ ।

    र्जमनीमा समेत अब कोरोना नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो समय बेलायत र फ्रान्समा बढी मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण भित्रै रहको सम्बन्धित सरकारहरुले जनाएका छन् ।

    नर्वे र बेल्जियमले समेत लकडाउनलाई केही खुकुलो बनाउन लागेको जानकारी दिएका छन् । जर्मन चान्सलर एन्जेला मार्केलका अनुसार देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाइएको छ ।

    यस मुलुकमाकोरोना महामारी नियन्त्रणउन्मुख रहेको छ । उनका अनुसार जर्मनीमा आगामी सातादेखि पसलहरू खुल्ने भएका छन् ।

    आगामी मे ४ देखि विद्यालय सञ्चालनमा ल्याउने योजना रहेको छ । धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध आगामी अगस्ट ३१ सम्म जारी रहने छ ।

    लकडाउन खुकुलो पारेपनि बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्युजस्ता मानिसको ठूलो संख्या जम्मा हुने स्थान भने बन्द नै रहने भएका छन् ।

    जर्मनी कोरोनाबाट प्रभावित हुने विश्वको चौथो मुलुक हो । यहाँ अहिलेसम्म १ लाख ३४ हजार ७ सय ५३ जना मानिसमा संक्रमण देखिएको छ । ३ हजार ८ सय ४ मानिसको ज्यान गएको छ ।

  • अमेरिकामा ३३ लाख मानिसमा कोरोना परीक्षण, केही राज्य खुला गर्ने तयारी

    अमेरिकामा ३३ लाख मानिसमा कोरोना परीक्षण, केही राज्य खुला गर्ने तयारी

    वासिंटन । अमेरिकामा करीव ३३ लाख मानिसमा कोरोनाको परीक्षण गरिएको छ ।

    सम्भावित अधिकांश नागरिकको परीक्षण सम्पन्न भएको र केही राज्य अब छिट्टै खुला गर्ने तयारी गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् ।

    उनले अमेरिकामा कोरोना भाइरस महामारीको उत्कर्ष पार भइसकेको बताउँदै अब क्रमशः राज्यहरु खुला गर्दै जाने योजना रहेको बताएका हुन ।

    उनका अनुसार केही राज्य यसै महिनाबाट पुनः संचालनमा आउनेछन् । दैनिक मिडिया ब्रिफिङका क्रममा उनले राज्यहरु खुला गर्ने विषयमा गभर्नरहरुसँग छलफल जारी रहेको समेत जानकारी दिए ।

    उनका अनुसार बिहीबार नै यसको घोषणा गर्ने तयारी रहेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    यहाँ २८ हजारभन्दा धेरैको मानिसले ज्यान गुमाएका छन् । यो कुनै पनि मुलुकमा कोरोनाका कारण भएको सबैभन्दा ठूलो क्षति हो । उनले छिट्टै उत्साहजनक समाचार आउने समेत उल्लेख गरेका छन् ।

  • अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    अफगानिस्तानबाट नेपालीको उद्दार गरिने

    काठमाडौं । सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको उद्दार गरी स्वदेश फर्काउने भएको छ । अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघीय निकायहरुमा कार्यरत नेपालीको उद्दार गर्न लागिएको हो ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रक्रिया पुरा गरी उनीहरुलाई स्वदेश फर्काइने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रसंघले नै त्यहा रहेका आफ्ना नागरिकलाई उद्दार गर्न अनुरोध गरेको छ । सोहीकारण उपयुक्त प्रक्रिया पुर्‍याएर नेपाल ल्याउने निर्णय बैठकमा भएको छ ।

    यहाँ औपचारिक ढंगले करीव ६० देखि ७० जना सम्म नेपाली कार्यरत रहेको अनुमान सरकारको छ ।

    बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै उल्लंघन गरेमा जेल सजायसम्मको कारवाहीमा जाने निर्णय गरेको छ ।

    लकडाउनसँगै परीक्षणको दायरा समेत अझ बढाउने निर्णय सरकारले गरेको हो ।