Author: Vishwanews.com

  • नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

    नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

    काठमाडौं । नेपालमा कोरोना परीक्षण भएका मानिसको संख्या ४९ हजार नाघेको छ । नेपालमा कूल ४९ हजार ३ सय ३६ वटा नमुना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल ४९ हजार ३ सय ३६ वटा नमुनापरीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको छ । तर, कुनै पनि नमुनामा पोजेटिभ नतिजा आएन् ।

    देशभरका सबै जिल्लामा आरडिटी परीक्षण भइरहेको छ ।

    अहिलेसम्म प्रदेश नम्बर १ मा ४ हजार १६०, प्रदेश २ मा ५ हजार ४४, बाग्मती प्रदेश ७ हजार ४६७, गण्डकी प्रदेशमा ४ हजार ८७१, प्रदेश ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २०४ वटा नमुनाहरु परीक्षण भएका छन्।

    यी नमुनाबाट ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२ जना भने निको भएर घर फर्किसकेका छन् ।

  • लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

    लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

    काठमाडौं । लकडाउनको सफल कार्यान्वयनका कारण नेपालमा कोरोना संक्रमण नियन्त्रण भित्रै रहेको सरकारले विश्लेषण गरेको छ ।

    उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालिएको हो ।

    लकडाउनकै कारण संक्रमण फैलिन नपाएको सरकारको निष्कर्ष रहेको छ । यद्दपी शनिबार लकडाउनबारे समितिले कुनै निर्णय लिएन ।

    मन्त्रीपरिषद् बैठकले यसबारेमा निर्णय लिने भएको छ । शनिबार सिंहदरबारमा बसेको बैठकमा लकडाउनलाई निरन्तरता दिनु पर्ने विषयमा भने एकमत रहेको बताइएको छ ।

    प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको उल्लेख गरे ।

    उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दे उनले नेपाल सही ट्र्याकमा रहेको बताए । लकडाउनको अवस्थालाई छिमेकी मुलुकहरूको अवस्थालाई हेरी तय गरिने उनले बताए ।

  • नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो

    नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो

    काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान माथिको प्रतिबन्ध थप गरेको छ । अब मे १५ अर्थात् जेठ २ गतेसम्म सबै प्रकारको व्यवसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

    यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो ।

    लकडाउनको बारेमा भने भोलिको मन्त्रिपरिषद्को बैठकले नै निर्णय गर्ने बताइएको छ । लकडाउनका सम्बन्धमा भने कुनै सूचना सार्वजनिक गरिएको छैन । लकडाउनको अवधि १५ वैशाखमा सकिदैछ ।

  • नेपाल कोरोना जोखिमबाट एक तह सुधार

    नेपाल कोरोना जोखिमबाट एक तह सुधार

    काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह सुधार भएको छ । विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको अतिउच्च जोखिमपूर्ण क्षेत्रबाट सुधार गर्दै जोखिमपूर्ण क्षेत्रमा राखेको हो ।

    कोरोना रोकथाम तथा नियन्त्रणमा नेपालले लिएको निर्णय तथा गरेका कार्यबाट यसको जोखिम क्रमश कम हुँदै गएको संगठनको निष्कर्ष रहेको छ ।

    छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो।

    तर, पछिल्लो समय नेपालले लिएका कदमले यसको जोखिम न्यूनिकरणमा सहयोग गरेको हो । नेपालले सीमा नाका बन्द गरेको छ ।

    नेपालमा लकडाउनको कार्यान्वयन समेत अन्य मुलुकको तुलनामा नेपालमा सन्तोषजनक रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

    नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना टरेको हो ।

    सोहीकारण नेपाल कोभिड १९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा सुधार भएको हो । नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोरोनाको परीक्षण समेत व्यापक बढाइएको छ ।

    सरकारले देशभर २५ वटा हब हस्पिटल कोरोनाको उपचारका लागि तोकेको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ।

    नेपालमा अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ।

    अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ। तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा ११ जना उपचारपछि घर फर्किसकेका छन्।

  • भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

    भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले लकाउन खुकुलो पारेको छ । यससँगै नेपालमा पनि लकडाउनको प्रवृत्तिबारे आज समिक्षा भइरहेको छ ।

    उच्चस्तरीय समन्व समितिले आ नेपालमा लकडाउन के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने बताइएको छ । भारतमा भने खुद्रा पसल खुला भएका छन् ।

    भारतीय गृहमन्त्रालयले त्यसका लागि अनुमति दिएको छ। नेपालमा मात्र ४९ जनामा कोराना देखिएको छ । भारतमा भने २४ हजारमा कोरोना देखिएको छ ।

    तर, भारतले भने लकडाउन खुकुलो पर्ने भएको छ । भारतले मध्यरातमा जारी गरेको निर्देशनअनुसार कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक प्रकृया पूरा गरेर खुद्रा पसल खोल्न अनुमति दिएको हो।

    बस्तीमा रहेका स्टोर तथा खुद्रा पसलहरु लकडाउनको अवधीमा पनि खुला राख्न अनुमति दिएको हो।

    तर, मल्टिप्लेक्ससहितका बजार खुला गर्न भने अनुमति दिइएको छैन। भारतमा मे ३ सम्मका लागि लकडाउन जारी रहेको छ ।

  • चितवनका युवकले पनि जिते कोरोना, निको हुने १२ औं बिरामी

    चितवनका युवकले पनि जिते कोरोना, निको हुने १२ औं बिरामी

    चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका( ८ का २७ वर्यीय युवकले पनि कोरोनालाई जित्न सफल भएका छन् ।

    उनको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनलाई शनिबार नै डिस्चार्जको तयारी गरिएको छ । यससँगै उनी कोरोनालाई जित्ने १२ औं बिरामी हुनेछन् ।

    उनको भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ । चितवनमा ति युवक र उनकी ६३ वर्षीया आमामा कोरोना देखिएको थियो ।

    आमाको भने दुबै रिपोर्ट पोजेटिभ आएको छ । सोही कारण उनलाई केही दिन अस्पताल राखिने भएको छ ।

    गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा छोराको र्‍यापिड टेस्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो ।

    भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

    नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

  • भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

    भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

    नयाँ दिल्ली । भारतमा पछिल्लो केही दिनयता कोरोनाको फैलावटले तिब्रता लिएको छ । यस मुलुकमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको हो ।

    १११ जना विदेशीबाहेक अरु सबै भारतीयमा कोरोना लागेको हो । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

    त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६२१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहारमा पनि २२३ जनामा भाइरसको संक्रमण पुष्टी भएको छ । भारतमा अहिलेसम्म ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३०१ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै गुजरातमा १२७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।

    भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

  • बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

    बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

    बाग्लुङ । बेल्जियमबाट नेपाल आउने क्रममा कोरोना संक्रमित भएकी बाग्लुङकी १९ वर्षीय युवतीले समेत कोरोनालाई जित्न सफल भएकी छिन् ।

    यससँगै अब नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

    चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो।

    महिला यसअघि नै निको भएर घर फर्किसकेकी छिन् । युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

    यसअघि चारवटा परीक्षणमा भने उनमा कोरोना पोजेटिभ थियो। नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा मानवीय क्षति भएको छैन ।

  • नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

    नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

    काठमाडौं । नेपालमा ४९ औं व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी गराएको छ ।

    उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल लैजाने भएको छ । उनीसँगै नेपालमा कूल संक्रमितको संख्या ४९ पुगेको हो ।

    यसमध्ये १० जना निको भएर घर फर्किएका छन् । संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए ।

    विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो ।

    श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

    परिवारका अन्यको भने नेगेटिभ आउँदा बुबामा मात्र कोरोना देखिएको हो ।

  • देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

    देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउने व्यक्तिमाथि कारवाही गर्न माग गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले उक्त माग गरेका हुन् । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए ।

    केही बेर प्रधानमन्त्री र देउवाबीच भेटवार्ता भएपछि नेकपा अध्यक्ष प्रचण्ड समेत सोही अवसरमा पुगेका थिए । त्यसपछि नेतात्रयबीच छलफल भएको थियो ।

    भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

    ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’ देउवाले प्रधानमन्त्रीसँग भनेका छन् ।

    समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको सामाजिक सन्जालमा लेखेका थिए ।

    पार्टी फुटाउने उद्देश्यले काठमाडौंको म्यारियट होटलमा आफ्ना नेताहरुलाई बन्धक बनाएको र आफूहरुले उद्दार गरेको समाजवादीका नेताहरुले बताउने गरेका छन् ।

    समाजवादीका नेताहरुले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको बताउने गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी विधेयक फिर्ता लिएको छ ।

    देउवाले भने गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवाद दिएका छन् । मुलुक कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव दिएका छन् ।

    सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि माग गरेका छन् । समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको भनाइ छ ।

    यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथाशीघ्र पुर्‍याउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान दिन, कि गाउँ जान दिन पनि देउवाले माग गरेको कांग्रेसले उल्लेख गरेको छ ।

  • मलेसियामा दुई जना नेपालीले जिते कोरोना

    मलेसियामा दुई जना नेपालीले जिते कोरोना

    क्वालालाम्पुर । मलेसियामा दुई जना नेपालीले कोरोना सङ्क्रमणबाट मुक्त हुन सफल भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीले कोरोनालाई जित्दै निको निको हुन सफल भएका हुन् ।

    मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको दूतावासले जनाएको छ । एक जनाको भने उपचार जारी रहेको छ ।

    उनको समेत स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३५ सय ४२ जना निको भइसकेका छन् । यहाँ ९५ जनाको मृत्यु भएको छ । १९ सय ६६ जनाको उपचार जारी रहेको छ ।

  • नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

    नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

    काठमाडौं । नुनमा समेत बढी मूल्य खान खोजेपछि एक स्टोर्सले २ लाख जरिवाना तिर्नु परेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर नुन बिक्री गरेको अभियोगमा इमाडोलमा एक स्टोर्टलाई जरिवाना तिराएको हो । विभागका अनुसार कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको छ ।

    विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएको हो ।

    विभागले मूल्यसूची नराखी सामान बिक्री गरेका ज्ञानेश्वरस्थित राजेन्द्र मिट शप, इमाडोलस्थित मुकेश जुस तथा फलफुल पसल र बाबुलाल फलफुल तथा तरकारी पसललाई ५०–५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले संकटमा कालोबजारी गर्नेमाथि निरन्तर अनुमगन तथा कारवाही गरिरहेको छ ।

  • उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

    उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

    उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो ।

    त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ । किट आउने क्रममा रहेका कारण शनिबारबाट परीक्षणलाई व्यापक बनाउने तयारी नगरपालिकाले गरेको हो ।

    जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा समेत परीक्षण हुने भएको छ । २८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर टाढा पर्छ ।

    शुक्रबार भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो। लगत्तै बाँकी चार जनामा पनि संक्रमण पुष्टि भयो।

    त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ। १२ जना संक्रमित भुल्केका हुन् भने संक्रमण पुष्टि भएका अधिकांश भारतीय हुन् ।

  • श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो

    श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो

    काठमाडौं । श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । शुक्रबार उक्त मुलुकको राष्ट्रिय ध्वजाबाहक जहाज काठमाडौं आएको थियो । श्रीलंकन एयरले अपरान्ह १२ बजे कोलम्बाका लागि उडान भरेको हो ।

    श्रीलंकाले केही दिन यता भारत, पाकिस्तान र श्रीलंकाबाट आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेको छ । नेपालमा अन्तराष्ट्रिय व्यवसायिक उडान बन्द भएपछि यहाँ फसेका नागरिकलाई देशहरुले चार्टर्ड उडानबाट फिर्ता लगिरहेका छन् ।

    यसअघि अमेरिका, यूरोप, तथा अष्ट्रेलियाले यहाँबाट नागरिकहरु फिर्ता लगिसकेका छन् । बंगलादेश, माल्दिम्भ र श्रींलकाले समेत नागरिकहरुलाई फिर्ता लगेका छन् ।

  • सरकारले दुबै अध्यादेश गर्यो  फिर्ता

    सरकारले दुबै अध्यादेश गर्यो फिर्ता

    काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेश आएसँगै सरकारको व्यापक आलोचना भएको थियो । सोहीकारण सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था अनुसार अध्यादेश फिर्ता गरिएको हो ।

    सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित समेत भएको थियो ।

    अध्यादेश फिर्ता लिन नेकपा भित्रैबाट अत्यधिक दवाव आएपछि सरकार पछि हटेको हो ।

  • अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

    अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज

    वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ ।

    संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् ।

    यो राहत साना ब्यापारी र अस्पताललाई लक्षित गर्दै ल्याइएको हो । यसले राहत र परीक्षणमा सहयोग पुग्ने अपेक्षा सरकारको रहेको छ । कोभिड १९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । यहाँ अहिलेसम्म ८ लाख ४७ हजार मानिस संक्रमित भइसकेका छन् ।

    अमेरिकामा मृत्युसमेत धेरै भएको छ । यहाँ अहिलेसम्म ४९ हजार ८ सय जनाको मृत्यु भएको तथ्यांक रहेको छ । अमेरिकाले अघिल्लो महिना समेत राहत प्याकेज ल्याएको थियो ।

    अघिल्लो महिना अहिलेसम्मको ठूलोे २० खर्ब डलरको राहत प्याकेज ल्याइएको थियो । अहिले साना ब्यापारी र अस्पतालका लागि राहत दिन प्याकेज ल्याइएको हो ।

    कोरोनाले अमेरिकामा बेरोजगारी दर बढाएको छ । नयाँ प्याकेजअनुसार ३ खर्ब १० अर्बको कोष साना व्यापारी र ७५ अर्ब अमेरिकी डलर अस्पतालका लागि हो ।

  • आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

    आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो

    काठमाडौं । आज नेपालमा महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । २०७२ साल वैशाख १२ गते करीव १२ बजे गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

    गोरखाको बारपाकमा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट मुलुकले ७ खर्बभन्दा माथिको आर्थिक क्षति बेहोरेको थियो ।

    त्यसबेला गोखरासहित कुल ३२ जिल्ला प्रभावित भएका थिए । १४ जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरिएको थियो ।

    भूकम्प स्मृति दिवसका उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

    कोरोना भाइरस विरुद्धको यस लडाइमाविनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुने विश्वास प्रधानमन्त्रीको रहेको छ ।

    प्रधानमन्त्रीका अनुसार निजी आवासतर्फ करिब पाँच लाख घरको पुनःनिर्माण सम्पन्न भएको छ । एक लाख ९० हजार घर पुनःनिर्माणको क्रममा छन् ।

    हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भईसकेको छ । थप ७० वटाको योजना स्वीकृत भई पुनःनिर्माणको क्रममा छन् ।

    पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल ६६९ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको । १४५ पुनःनिर्माणको क्रममा छन् ।

    सम्पदा क्षेत्रका १७० मध्ये १०१ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदा पुनःनिर्माणको क्रममा रहेका छन् । ३४९ सरकारी भवनको पुनःनिर्माण गरिएको छ र ४९ पुनःनिर्माणको क्रममा छन् ।

    भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ ।

    करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ ।

    ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौँ तल्ला ढलान भइसकेको छ ।

    सम्पदा क्षेत्रमा पुनःनिर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल भएको प्रधानमन्त्रीको दावी छ ।

    ३२ जिल्लाका सम्पदाको पुनःनिर्माण ४३।७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनःनिर्माण ५९ प्रतिशत सम्पन्न भएको छ ।

  • जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

    जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

    काठमाडौं । समाजवादी पार्टीलाई फुटाएर केही नेतालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको दाउपेच योजनामै सिमित भएको छ ।

    महेश बस्नेतसहित आफ्ना दुई सांसद र पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रयोग गरी संघीय सांसदलाई काठमाडौं ल्याएर पार्टी फुटाउने कसरत गर्दा पनि समाजवादी पार्टी फुटेन ।

    बरु समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । ओलीले पार्टी फुटाएर फूटको राजनीति गर्न चाहेको खुलासा भएसँगै दुई दलले रातारात एकता प्रक्रिया टुंग्याएका हुन् ।

    समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेको छ ।

    यस पाटीले बिहीबार नै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएको छ ।

    फलस्वरुप पार्टी फूटाएर राज गर्न खोजेका प्रधानमन्त्रीको योजना तुहिएको हो ।

    यही प्रयोजनका लागि प्रधानमन्त्रीले दल दर्ता सम्बन्धी विधेयक नै ल्याउनु परेको थियो । यसैबीच प्रधानमन्त्री बीना प्रचण्ड निवास खुमलटारमा नेकपाका उच्च नेताहरुको भेला भएको छ ।

    बिहीबार साँझ भएको उक्त भेलाले सरकारद्धारा दल विभाजन सम्बन्धीका ल्याएको विधेयक फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ ।

  • पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

    पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

    बाँके । बाँकेमा खेल्दाखेल्दै ३ जना बालकको पानीमा डुबेर ज्यान गएको छ । बाँकेको बैजनाथपुरस्थित नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार बैजनाथपुर गाउँपालिका, २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको ज्यान गएको छ ।

    बैजनाथपुर २ पित्तमारीमा निर्माणाधिन क्षेत्रीय कारागार नजिकै उनीहरु नालामा पौडी खेल्ने क्रममा नालामा डुबेको बताइएको छ ।

    पछिल्लो केही दिनयता लगातार परेको पानीले नालामा पानीको बहाव बढेको र थुनिएको नालामा डुब्दा उनीहरुको ज्यान गएको प्रहरीको अनुमान छ ।

    घटनाबारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । नेपालका विभिन्न स्थानमा अहिले निरन्तर वर्षा भइरहेको छ

  • कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

    कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

    काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ ।

    कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ ।

    राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक रिहा हुने पक्का भएको छ ।

    कतारको जेलमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका व्यक्ति छुट्न लागेका हुन् ।

    कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीबार एकै दिन ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    यहा १० जनाले ज्यान गुमाइसकेका छन् । कतारमा लाखौं नेपाली कामदार रहेका छन ।

  • भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८

    भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार भोजपुरमा थप एक जनालाई कोभिड–१९ को संक्रमण पुष्टी भएको हो ।

    यसअघि रौटहतकी एक महिला र जनकपुरका एक किशोरमा बिहीबार नै कोरोना देखिएको थियो । भोजपुरमा भने हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

    उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको बताइएको छ ।

    नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना उपचार पछि घर फर्किसकेका छन् । ३८ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

  • नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज

    नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज

    कैलाली । नेपालमा एकै दिन तीन जनाले कोरोनालाई जित्दै अपस्तालबाट डिस्चार्ज हुन सफल भएका छन् । बिहीबार साँझ कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् ।

    उनी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की स्थायी बासिन्दा हुन् । सेती प्रादेशिक अस्पतालले उनलाई बिहीबार साँझ डिस्चार्ज गरेको हो ।

    यसअघि बिहीबार दिउँसो ८१ वर्षिय वृद्धा र ५८ वर्षिय पुरुषले कोरोनालाई जित्दै घर फर्किएका थिए । कैलालीमा महिलाको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

    यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् । पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अब धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

    उनी निको भएपछि सुदुरपश्चिम तत्कालका लागि कोरोनामुक्त हुनेछ । किनकी उनीहरुपछि यस क्षेत्रमा कोरोना देखिएको छैन ।

    यससँगै अब नेपालमा कूल १० जनाले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कूल ४७ जनामा कोरोना देखिएको छ ।

  • नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

    नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

    काठमाडौं । नेपालमा बिहीबार दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ ।

    ९ जना भने निको भएर घर गइसकेको छन् । मन्त्रालयका अनुसार बिहीबार उदययुरमा ५५ वर्षीया महिला र जनकपुरमा १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

    पछिल्लो समय नेपालमा उदयपुरमा बढी मानिसमा संक्रमण देखिएको छ । त्यसपछि वीरगन्जमा संक्रमित रहेका छन् । सुदरपश्चिम भेगमा भने कोरोनाको प्रभाव कम भएको छ ।

  • नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

    नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

     

    काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् ।  उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति  डिस्चार्ज भएका हुन् । उनीहरु  आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

    पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा–छोरामा देखिएको कोरोना भाइरस पछि अपार्टमेण्टमा सबै सबैको परीक्षण गरिएको थियो । तर, उक्त परीक्षणमा भने कसैलाई पनि कोरोना देखिएन ।

    यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

    त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उक्त परिवारको ५२ वर्षीया बुहारीमा भने रिपोर्ट नेगेटिभ आएको थियो । अब नेपालमा कूल  ९ जनालाई कोरोनाको संक्रमण निको भएको छ ।

  • आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

    आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

    काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ ।

    आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् ।

    आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो दिनलाई महत्वपूर्ण दिन मानिन्छ ।

    आमा हुनेहरुले आमालाई उपचार दिने, मिठो खुवाउने र सत्कार पकट गर्छन भने आमा नभएकाले आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    आज दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गर्छ ।

    तर, यस वर्षभने कोरोना संक्रमणका कारण उक्त मेला बन्द भएको छ । सोहीकारण घरघरमा आमालाई मिठो खुवाएर नयाँ कपडा उपहार दिएर यो पर्व मनाइदैछ ।

  • समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

    समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

    काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता हुने भएको छ । यससम्बन्धी सहमति पत्रमा बुधबार राती सम्झौता भएको छ ।

    नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिने भएको छ । पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने गरी सहमति भएको छ ।

    चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने गरी मध्यरातमा सहमति गरिएको हो । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा सहमति जुटेको हो ।

    सहमति पत्रमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका हुन् । पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा लेखिएको छ ।

    सरकारले सोमबार पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो ।

    त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

    पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

  • प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप

    प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप

    काठमाडौं । पार्टी फुटाउने प्रयोजनका लागि आफ्ना नेता तथा पूर्वस्वास्थ्थ राज्मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ ।

    सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीको आरोप छ ।

    यससँगै केन्द्रिय राजनीतिमा अध्यादेशको तरंग देखिन थालेको छ ।

    सम्भवत बिहीबारसम्म राष्ट्रिय राजनीतिमा केही न केही परिवर्तनको सम्भावना रहेको बताइएको छ ।

    साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको पार्टीले उल्लेख गरेको छ ।

    यता, समाजवादी पार्टी र राजपाबीच एकताको प्रक्रिया चलिरहेको छ । रातारात एकता प्रक्रिया टुंग्याउने तयारीमा नेताहरु जुटेका छन् ।

  • नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ ।

    बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमान चढेर नेपाल आएका थिए ।

    पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी चैत १२ मा अस्पताल भर्ना भएका हुन् । लगातार दुई परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

    उता सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

    उनलाई चैत २२ मा कोरोना पुष्टी भएपछि अस्पताल ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो ।

    संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाहीलाई निको भएर घर फर्किसकेका छन् ।

    अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिला मात्र अस्पतालमा छिन् । सुदुरपचिममा नयाँ संक्रमण देखिएको छैन ।

  • नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण

    नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण

    काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् ।

    उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

    यो समुहमा यसअघि १२ जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि मंगलबार सोही स्थान वरपर बस्ने थप ११ जनामा कोरोना पुष्टी भएको थियो ।

    बुधबार ३ जनामा संक्रमण पुष्टी भएसँगै अब नेपालमा कूल संक्रमित ४५ पुगेका छन् ।

    संसारभर कोरोनाले तिब्र फैलाावट लिइरहेको समयमा नेपालमा भने उदयपुरमा आक्रमण बढाएको छ ।

  • सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

    सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

    काठमाडौं । नेपालले भारततर्फको सीमा नाका तत्काल नखोल्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुसँगको ब्रिफिङमा उक्त जानकारी गराएका हुन् ।

    बुधबार प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संघीय सांसदसँग छलफल गरेका थिए । सोहीक्रममा प्रधानमन्त्रीले उक्त स्पष्टोक्ती दिएका हुन् ।

    दुई अध्यक्षले छुट्टा छुट्टै प्रदेशका सांसदसँग फरक फरक समयमा भेट गरे । सामाजिक दूरी कायम गर्न यस्तो गरिएको बताइको छ । छलफलमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही र लकडाउनबारे छलफल भएको थियो ।

    बुधबार दिनभरजसो छलफल चल्ने भएको छ । छलफलमा प्रधानमन्त्रीले तत्काल सीमा नाका नखुल्ने बताएका छन् ।

    उनले लकडाउनको स्वरुप भने केही खुकुलो हुने संकेत दिएका छन् । सरकारले पछिल्लो समय ल्याएका दुई अध्यादेशबारेमा समेत प्रधानमन्त्रीले सरकारको धारणा राखेका छन् । अध्यादेशपछि नेकपा भित्रै यसको विरोध भइरहेको छ ।

    छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ समेत सहभागी भएका छन्।