Author: Vishwanews.com

  • कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

    कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संसार लडिरहेको छ। विश्वभरका लाखौं डाक्टर र नर्स यस रोगलाई परास्त गरी मानव जीवनको रक्षामा अहोरात्र खटिएका छन् ।

    सुरक्षाकर्मी, सफाईकर्मी र अन्य प्रत्यक्ष संलग्नको सूचि लामो छ । यस अभियानमा खटिएका मध्ये नेपालकी चेली डा. रुना झाको नाम यतिबेला अन्तर्राष्ट्रिय चर्चामा आएको छ ।

    कोभिड १९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघ, यूएन वुमेनले सार्वजनिक गरेको छ ।

    जसमा उनी अटाउन सफल भएकी हुन् । डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक हुन् ।

    नेपालमा कोभिड १९ परीक्षणमा उनले नेतृत्व गरिरहेकी छिन्।

    देशभरबाट आउने नमुनालाई अन्तिम परीक्षण गरी कोभिड भए नभएको प्रमाणित गर्ने निकायमा रहेर उनले निडरका साथ निर्वाह गरिरहेको भूमिकाले अन्तर्राष्ट्रिय चर्चा पाएको हो ।

    उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्छ । रातमा अबेरसम्म प्रयोगशालामा बसेर काम गर्नु चानचुने हिम्मतले पुग्दैन ।

    प्राविधिक काममा आफै खटिने उनले आफ्नो टोलीको यातायात, खानेकुरा र अन्य बन्दोवस्तीको व्यवस्थापनमा समेत जुट्नुपर्छ ।

    चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनबाट उनको टोलीले परीक्षण थालेको थियो त्यसयता निरन्तर उनी काममा जुटेकी छिन् ।

    यस सूचिमा जोर्डनमा नयाँ प्रविधिको प्रयोग गरी चर्चामा आएका अमल अल महाईराह र महाडील दबाइबेहको नाम रहेको छ ।

    चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान गर्ने यान शेङ्लियानको नाम समेत यस सूचिमा जोडिएको छ ।

    काजकस्तानमा हिंसामा परेकालाई सहयोग गर्ने डिना स्माइलोभाको नाम सूचीमा रहेको छ ।

    क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयासमा र्‍याङ्किया हेनरीको नाम समेत यस सूचिमा जोडिएको छ ।

  • ३४ लाखमा पुग्यो कोरोना संक्रमण

    ३४ लाखमा पुग्यो कोरोना संक्रमण

    काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ ।

    शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा यसको संक्रमण छ । १० लाख ८० हजार १०१ जना मानिस भने उपचारपछि घर फर्केका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको ज्यान गएको छ । यस अवधिमा ९४ हजार ५३७ संक्रमित थपिएका छन् ।

    कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा भएको छ । यहाँ ६६ हजार मानिसको ज्यान गइ सकेको छ ।

    यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिए ।

    यहाँ संक्रमित ११ लाख ३१ हजार १५ पुगेको छ । नेपालमा ५९ जनाका संक्रमण भएको छ । शुक्रबार मात्र नयाँ २ बिरामी भेटिएका हुन् ।

    १६ जना भने निको भएर घर फर्केका छन् ।

  • ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

    ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

    काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् ।

    शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको भनाई छ ।

    ओली प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । प्रधानमन्त्रीलाई ढाल्ने तयारी भएको र एउटा हस्ताक्षरले ठूलो काम गर्ने भन्दै ओलीले भट्टलाई हस्ताक्षरका लागि दवाव दिएको भट्टले संचरमाध्यमसँग बताएकी छिन् ।

    आफुलाई सन्चो नभएकाले हस्ताक्षर गर्न नगएको बताउँदा समेत ओलीले चर्को स्वरमा गालीजन्य भाषा प्रयोग गरेको उनले बताएकी छिन् ।

    आफु राष्ट्रिय सभाको सदस्य भएको र त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका नहुने बताउँदा समेत ओलीले संयमता अपनाउन नसकेको उनको भनाई छ । ७० वर्षिय सांसद भट्टलाई ओलीले भोलीका दिनमा जे पनि हुने भन्दै धम्की दिएको उनको दावी छ ।

    नेपालमा यतिबेला प्रधानमन्त्रीमाथि दवाव बढेको छ । विगतका सहमति पालना नगरी दुबै पद ओगटेर बसेका उनीमाथि एक व्यक्ति एक पद लागु हुने पर्ने दवाव छ ।

    त्यसमाथि उनले पार्टीमा सल्लाह नगरी सरकारबाट धमाधम लिएका निर्णय जनताबीच अलोकप्रिय बनेपछि नेताहरु ओलीको विकल्प खोज्ने अभियानमा छन् ।

    यता, प्रधानमन्त्री भने आफ्नो पद जोगाउन हरसम्भव प्रयत्न गरिरहेका छन् ।

  • ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

    ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीले सात वटा घर जलेर नष्ट भएका छन् ।

    पाँच वटा घुम्ती पसलसमेत जलेका छन् । भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । ट्याक्सी काउन्टर लाइनमा रहेको यस पसलबाट यहाँका नयाँ बनेका घरसमेत जलेका छन् ।

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घरहरुमा सल्किएको आगोले घर भित्रका ग्यास सिलिन्डर विस्फोट हुँदा रातको समयमा अझ बढी जोखिम बढेको प्रहरीले जनाएको छ ।

    आगलागी फैलन नदिन केही घर सेनाले आफैले भत्काउनु परेको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नियमित आगलागीका घटनाबाट पिडित क्षेत्र हो ।

    यहाँ २०७१ सालमा लागेको आगोले ३५ घर जलेर नष्ट भएका थिए ।

  • आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

    आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

    काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक राजनीतिक कार्ड फ्ँयाकेका छन् ।

    जसमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने उल्लेख छ । यो निर्णय पनि कोरोना भाइरसको सन्त्रास सकिएपछि कार्यान्वयनमा ल्याउने भन्ने उल्लेख छ ।

    माधव नेपाललाई अध्यक्ष घोषणा गर्न त कुनै समस्या भएन् । यद्दपी अहिले पनि नेकपामा दुई अध्यक्ष छन् । तर, बामदेवलाई प्रधानमन्त्री बनाउने भन्दै धेरै पापड पेल्न बाँकी छ ।

    यो अवस्थामा प्रधानमन्त्रीको कार्ड केवल आफ्नो सत्ता बचाउन मात्र हो या साच्चिकै उनी परिवर्तन चाहन्छन् भन्ने टुंगो भने आज लाग्नेछ ।

    किनकी शनिबारका लागि नेकपाको सचिवालय बैठक आह्वान गरिएको छ । बैठक अगाडी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निक सक्रिय बने ।

    प्रधानमन्त्रीको नयाँ खेल पछि प्रचण्ड र माधव नेपालको समूह करीव एकै स्थानमा छ । यसको मतलव केपी ओली अहिले एक्लिएका छन् ।

    उनी बामदेवलाई फकाउने प्रयत्नमा छन् । सचिवालय बैठक अगाडी शुक्रबार चिनियाँ राजदुत होउ यान्छीले यी तीनै जना नेतालाई भेटेकी छिन् ।

    अर्थातः चीनले समेत केही न केही संकेत उनीहरुलाई दिइसकेको छ । ८ वैशाखमा दुई विवादित विधेयक ल्याएपछि प्रधानमन्त्रीसँग सहयोद्धा नेताहरु विच्किए ।

    एकातर्फ विगतका सहमति पालना नगर्ने, अर्कोतर्फ संचारमाध्यम,  आलोचक र विपक्षीको मुख थुन्दै तानाशाह प्रवृत्ति देखाएको भन्दै प्रधानमन्त्रीको आलोचना पनि उत्तिकै भइरहेको छ ।

    प्रधानमन्त्री ओलीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपालसँग बालुवाटारमा छलफल समेत गरिसकेका छन् ।

    प्रचण्ड र नेपालबीच पनि शुक्रबार छुट्टै छलफल भइसकेको छ । यसअघि बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो।

  • भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो ।

    मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

    अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ । भारतले रेड, ओरेन्ज र ग्रीन जोन छुट्याएको छ ।

    जहाँ अतिप्रभावित क्षेत्रलाई रेड जोनमा राखिएका छ । यहाँ लकडाउन कडा हुनेछ । यसको पालना अनिवार्य गर्नुपर्ने भएको छ ।

    १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट पाइने छैन । लकडाउनमा पनि रेल र बस संचालनमा रोक लगाइएको छ ।

    स्कुल, कलेज तथा अन्य भेला हुने स्थान पनि बन्द हुने छन् । तर, ओरेन्ज र ग्रीन जोनमा भने लकडाउन केही खुकुलो हुने भएको छ ।

    ग्रीन र ओरेन्ज जोनमा ई कमर्समार्फत सुरक्षित रुपमा हुने व्यापारलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यक बाहेकका सामान पनि आपूर्ति हुने भएका छन् ।

    ग्रीन जोनमा आधा मात्र यात्रु राखेर बस समेत चलाउन सकिने भएको छ । ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नुपर्नेछ ।

    भारतमा पछिल्लो दिनमा कोरोनाको फैलावट तिब्र छ ।

    तर, चरम गरिबीको रेखामुनी ठूलो जनसंख्या रहेको यस मुलुकमा लकडाउनलाई लामो समय कायम राख्न भने ठूलो समस्या रहेको छ ।

    यहाँ अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। ११ सय ५४ जनाले ज्यान गुमाएका छन् । भारतमा ९ हजार ६८ जनाले कोरोना जितिसकेका छन् ।

  • नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

    नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ ।

    आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो ।

    पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले एमसीसीका कतिपय प्रावधान संशोधन नगरी पास गर्न नहुने सुझाव समेत दिएको छ ।

    कार्यदलले कूल ११ बुँदा संशोधन गर्न सुझाव दिएको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको र यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको नेकपा कार्यदलको निष्र्कष रहेको छ ।

    ‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसँग घनिष्ट रुपमा जोडिएको बताइएको छ ।

    एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच प्रष्ट नभएसम्म पास गर्न नहुने समेत सरकारलाई सुझाव दिएको छ ।

    कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने विषय नेपालको संविधान तथा नेपाल कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य भएको समेत प्रतिवेदनमा उल्लो गरिएको छ ।

    यस प्रतिवेदनमा भने परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले भने फरक मत राखेका छन् ।

    उनले परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश हुने, शिविरहरू खडा हुने, यसले भूराजनीतिक द्वन्द्व सिर्जना हुने, यस परियोजनाले अन्य छिमेकी मुलुकहरूसँग नेपालले गरेका सम्झौताहरू अवरुद्ध हुने, सम्झौता अमूक सम्झौताभन्दा पनि बढी ‘राष्ट्रघाती भएको भन्दै गरिएका प्रचार भने भ्रामक रहेको उल्लेख गरेका छन् ।

    नेकपामा एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चर्किएपछि नेकपा केन्द्रीय समितिको पूर्ण बैठकले कार्यदल गठन गरेको हो ।

    यस कार्यदलले ९ फागुनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । कांग्रेस नेतृत्वको सरकारका पालामा सम्झौता भएका कारण एमसीसी पास हुनुपर्ने पक्षमा भने कांग्रेस रहेको छ ।

  • नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोनाका दुई संक्रमित थपिएका छन् । शुक्रबार रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।

    यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएका थिए ।

    उनी चोर बाटोबाट प्रहरीको आँखा छलेर नेपाल आएका थिए । उनी नेपाल आउँदा सीमा नाका बन्द थियो । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका हुन् ।

    उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका कारण उनले धेरै जनाका कोरोना नसारेको पुष्टी भएको छ ।

    यहाँ पनि समुदायमा भने कोरोनाको भाइरस देखिएको छैन । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेश नं ५ मा पहिलो पटक संक्रमण देखिएको हो ।

  • कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

    कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

    वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् ।

    कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए ।

    यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने गर्न नमिल्ने राष्ट्रपति ट्रम्पको दावि छ ।

    नियमित प्रेस भेटघाटका क्रममा उनले यस्तो दाव गरेका हुन् । त्यसअघि उनले बुधबार समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा समेत यसको दावि गरेका थिए ।

    तर, ट्रम्पको दाविलाई चीन सरकार मातहतको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने निराधार बताउँदै आएको छ ।

    विज्ञहरूले भने यो भाइरस ल्याबबाट नभएर मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताइसकेका छन ।

    केही समय यता भाइरसका कारण चीन र अमेरिकाको सम्बन्ध चिसिएको छ ।

    चीनसँग निजक भएको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनको समेत सहयोग रोक्का गरिदिएका छन् । तर, कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका नै बनेको छ ।

  • श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

    श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् ।

    विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत उल्लेख गर्दै उनले यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको बताएका छन् ।

    दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न उनले सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

    देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनुपर्ने कर्तव्य सबैको भएको समेत उनले उल्लेख गरेका छन् ।

    सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने दिनको रूपमा हरेक वर्ष मे १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ।

    नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट श्रमिक आन्दोलन शुरु भएको हो । उनले विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई समेत स्मरण गरेका छन् ।

  • विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ ।

    ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्या‌ंकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

    ३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी भएको छ । १० लाख ३९ हजार संक्रमित भने कोरोनालाई जित्दै घर फर्केका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र विश्वभर ५ हजार ८ सय मानिसको ज्यान गएको छ । यसअवधिमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिए ।

    अमेरिकामा कोरोना कारण २४ घण्टा भित्र २ हजार २ सय १ जनाले ज्यान गुमाए । यस दिन ३० हजार ८ सय २५ जना नयाँ संक्रमित थपिएका छ् ।

    अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार पुगेको छ ।

    स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए । २ सय ६८ जनाको मृत्यु भएको छ । यस मुलुकमा मृत्यु हुने मानिसको संख्या भने उल्लेख्य घटेको छ ।

    स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्।

    इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएका छन् । २ सय ८५ जनाको मृत्यु भएको छ। इटलाीमा २७ हजार २ सय ६७ को मृत्यु भइसकेको छ ।

    बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यस दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाए ।

    फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिए । २ सय ८९ जनाको मृत्यु भएको छ । नेपालमा कुल ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो ३ दिनयता नेपालमा नयाँ संक्रमण देखिएको छैन । १६ जना घर फर्किसकेका छन् ।

  • अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्‍त्री

    अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्‍त्री

    काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् ।

    शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् ।

    यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य नहुने उनको भनाई छ ।

    त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्दै उनले आश्वस्त पार्न खोजेका छन् । प्रधानमन्त्रीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको समेत उल्लेख गरेका छन् ।

    श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको समेत उनको भनाई छ । सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग समेत श्रमजीवी वर्ग भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

    कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उनको भनाई छ ।

    एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर र बजार पसेका, तर शहर र बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिक विभिन्न मुलुकमा कार्यरत रहेको उनले स्मरण गरेका छन् ।

    युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति भएको भन्दै कोरोना भाइरसको महामारीका कारण सबैको रोजगारीमा समस्या आएको बताएका छन् ।

    न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिक छन् । यसबाट सिर्जना भएको पीडाप्रति आफु जानकार तथा संवेदनशील रहेको उनले बताएका छन् ।

  • सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर

    सन्दर्भ मजदुर दिवस : रोजिरोटीकै समस्यामा छन मजदुर

    काठमाडौं । कोभिड १९ को कहरले आज विश्व घर भित्र थुनिएको छ । आर्थिक गतिविधिमा ब्रेक लागेको छ ।

    यसले औपचारिक क्षेत्रमा रोजगारी गर्ने केही सिमित मानिस र व्यापार व्यवसायबाट बचत गर्न सक्ने व्यक्ति बाहेक आम मजदुरको हालत भने कमजोर बनाइदिएको छ ।

    सामाजिक सुरक्षा प्रणाली बलियोसँग लागु भएका मुलुकमा मजदुरका लागि केही सुहलियत भएपनि खासगरी नेपालजस्ता विकाससिल मुलुकमा भने मजदुरले एक छाक खानकै लागि समेत अरुको सहारा लिनु परेको छ ।

    दैनिक भारी बोकेर होस वा मजदूरी गरर खाने मानिसले आफूसँगै परिवारको समेत भोक मेटाउन नसकेपछि शहर छाडी पैदलै गाउँ जानेको ताती केही दिनअघि सम्म सामान्य थियो ।

    ट्रेड युनियन महासंघ नेपालले श्रमिकका समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गरेको छ ।

    मजदुर दिवसको अवसर पारी शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनल कोरोनाको बहानामा धेरै उद्योग, प्रतिष्ठानहरु, होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रका श्रमिकहरुलाई रोजगारीबाट निकालिएको उल्लेख छ ।

    सोहीकारण लकडाउन अवधिको पारिश्रमिक दिलाइदिन आग्रह समेत गरेको हो ।

    उता, सरकारले भने दोस्रो चरणको आर्थिक प्याकेजमार्फत कामा आएका मजदुरलाई बैशाखमा सबै प्रतिष्ठानले आधा तलव उपलब्ध गराउने र बाँकि रकम अवस्था सामान्य भएपछि भुक्तानी गर्न आह्वान गरेको छ ।

  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

    काठमाडौं । बहराइनमा नेपालीमाथि कोरोनाको संक्रमण निरन्तर बढ्दो छ । बिहीबार मात्र बहराइनमा रहेका थप ३१ जना नेपालीमा कोरोना पुष्टी भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    यस मुलुकमा अब कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा संक्रमण पुटी भएको थियो ।

    नेपाली कामदारलाई होम क्वारेन्टाइनमा बस्न भनिएपर्छि कै स्थानमा धेरै जना बस्नु पर्दा त्यसले जोखिम बढाएको छ ।

    बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित भेटिएका छन् । १ हजार ४ सय ९४ जना डिस्चार्ज भएका छन् ।

    बिरामीमध्ये भारत, बंगलादेश, पाकिस्तान र नेपाली आप्रवासीसहित स्थानीय समेत रहेको दूतावासले उल्लेख गरेको छ ।

    कोरोना संक्रमणका कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

    दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढेको हो । बहराइनमा ३५ हजार हाराहारी नेपाली रहेको तथ्यांक छ ।

  • रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो

    रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो

    रोल्पा । रोल्पाको जंगलमा वेवारिसे बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ । जंगलमा छोडिएको बमलाई खेलौना ठानेर खेलाउँदा ४ जना बालबालिकाको ज्यान गएको हो ।

    बालबालिका गाईबाख्रा चराउन गएको बेला बम फेला पारेको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेको प्रहरीले पुटी गरेको छ ।

    ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट भएको हो ।

    यसले बालबालिकोका निधन हुन पुगेको छ । घटना बेलुका ६ बजेतिर भएको थियो ।

    घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी गएको हुँदा बताइएको छ । बम कसले राखेको थियो भन्नेबारे समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?

    इन्टरनेट र विजुलीको महसुलमा निरन्तर छूट, वैशाखपछिको घरभाडा के गर्ने ?

    काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुट दिने निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएको छ ।

    सरकारले कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरणका लागि ल्याएको दोस्रो चरणको आर्थिक प्याकजेमा उक्त निर्णय गरिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयले उल्लेख गरेको छ । निजी सेवा प्रदायकसमेत समेत सोहीअनुसार व्यवस्था मिलाउनु पर्नेछ ।

    नेपाल विद्यूत प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा २५ प्रतिशत छुट दिने सरकारले निर्णय गरेको छ ।

    मासिक २५० यूनिटसम्म विद्यूत महसुल खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्यूत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय समेत भएको छ ।

    लकडाउन अवधिमा बन्द रहेका रहेका उद्योगको डिमाण्ड शूल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    विद्यूत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुनयता जेठसम्मको महसुल भुक्तानी २०७७ असार मसान्त सम्म बुझाएमा विलम्ब वापत लाग्ने जरिवाना तथा अतिरिक्त शूल्क छुट गर्ने व्यवस्था गरिएको छ ।

    माग भन्दा बढी उत्पादन भई खचत हुने विद्युत प्राधिकरणले तोकेको अवधि र समयमा उपयोग गर्ने उत्पादनमुलुक उद्योग प्रतिष्ठानहरुलाई सो अवधिमा खपत गरिएको विद्यूत महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई समेत लकडाउन अवधिभर निरन्तरता दिने निर्णय सरकारले गरेको छ ।

    चैत महिनामा असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई घर भाडामा छूट दिन सरकारले घरबेटीलाई आग्रह गरेको थियो ।

    यसरी घर भाडा छूट भए नभएको बारे सरकारले स्थानीय तहबाट अनुगमन गर्ने भएको छ ।

    वैशाखपछि भने यस्ता मजदुरसँग भाडा नमाग्ने तर, उनीहरुले काम गर्न लागेछि भने कामदारले भाडा भुक्तानी गर्नुपर्ने निर्णय गरिएको छ ।

  • अब काम गरेमात्र सरकारी राहत पाइने

    अब काम गरेमात्र सरकारी राहत पाइने

    काठमाडौं । अब सरकारले राहत वितरणलाई कामसँग जोड्ने भएको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत पाउने गरी सरकारले निर्णय गरेको हो ।

    काम नगरी राहत माग्नेले भने काम गर्नेले पाउने राहतको तुलनामा मात्र २५ प्रतिशत मात्र पाउने भएको मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

    १४ बैशाखमा बसेको मन्त्रीपरिषद् बैठकले दोस्रो चरणको राहत प्याकेज ल्याएको हो ।

    उक्त निर्णयअनुसार सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने भएको छ ।

    यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराउने गरी निर्णय भएको छ ।

    स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गरिने भएको छ ।

    ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्ने र राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्ने गरी निर्णय गरिएको छ ।

    काममा नआउने र काम गर्न नचाहनेले भने काममा आउनेहरुले पाउने ज्याला वा खाद्यान्नको २५ प्रतिशत मात्रै पाउने भएका छन् ।

    राहत दावी गर्नेले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको स्वघोषणा गर्नुपर्ने समेत निर्णय गरिएको छ ।

    गलत घोषणा गरेर राहत लिएमा भने सरकारले कारवाही गर्ने भएको छ ।

  • लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने

    लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने

    काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउनमा घर भित्रै बसेर पर्यटन प्रवद्र्धन गर्ने गज्जबको अभियान थालेको छ ।

    यसै सिलसिलामा झ्याल भित्र बसेर त्यहाबाट देखिने सुन्दर तस्वीर पठाएर त्यसबाट उत्कृष्ट ५ तस्वीरलाई नगद पुरस्कार दिने गरी प्रतियोगिता थालेको छ ।

    लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको उल्लेख गरको छ ।

    नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि, गाउँ घर वा अन्य सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने भएको छ ।

    प्रतियोगितामा भाग लिनेले फोटो नेपाल डट ट्राभलमा आफ्नो आफूले खिचेको फोटो इमेलबाटै पठाउन सकिने भएको छ ।

    सहभागीहरुले आगामी जेठ १८ सम्म फोटो पठाइसक्नुपर्ने बोर्डको सूचनामा उल्लेख छ । सहभागीहरुमध्ये उत्कृष्ट पाँच फोटोले पुरस्कार पाउने भएको छन् ।

    प्रत्येक फोटोको दश हजार रुपैयाँ पुरस्कार दिइने बोर्डले उल्लेख गरेको छ ।

    नेपाल पर्यटन बोर्डले चार वर्षदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित फोटो प्रदर्शनी गर्दै आएको छ ।

    तर, लकडाउनका कारण फिल्डमा गर्ने फोटो प्रदर्शनी भने रोकिएको छ ।

  • अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो

    अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो

    तेहरान । इरान कोरोना भाइरसको तिव्र संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न सफल मुलुक हो ।

    तर, यस मुलुकलाई अहिले मानिसहरुमा रहेको अन्धविश्वासका कारण ठूलो मानवीय मूल्य चुकाउनु परेको छ ।

    कोरोना भाइरसे शुरु भएयता यस भाइरसको संक्रमणबाट बच्न भन्दै विषाक्त रक्सी सेवन गर्दा करीव ७ सय मानिसको ज्यान गएको इरानी संचरमाध्यमले उल्लेख गरेका छन् ।

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण ७ सय २८ जनाको ज्यान गइसकेको छ ।

    यो आंकडा फेब्रुअरी २० देखि अप्रिल ७ सम्मको हो । यसबीचमा अधिक विषाक्त रक्सीको कारोबार भएको बताईको छ ।

    यस देशमा विषाक्त रक्सीले हरेक वर्ष ठूलो संख्यामा मानिस मर्ने गर्छन् । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको तथ्यांक छ ।

    इरानमा फेब्रुअरीको पहिलो साता कोरोना भाइरसको संक्रमण तिब्र थियो । मानिसहरुले ज्यान पनि गुमाएका थिए ।

    त्यसपछि स्थानीय स्तरमा विषाक्त रक्सीको उत्पादन र खपत बढेको हो । यद्दपी इरानमा यस्तो रक्सीको कारोबार र सेवन निषेधित गरिएको छ ।

    इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ९ सय ५७ पुगेको छ भने, ९३ हजारभन्दा बढी संक्रमित भएका छन्।

    मध्यपूर्वी एसियामा इरान सबैभन्दा ठूलो मानवीय क्षति भएको मुलुक हो ।

  • बलिउड अभिनेता ऋषि कपुरको निधन

    बलिउड अभिनेता ऋषि कपुरको निधन

    काठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएका ६७ वर्षीय कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो।

    अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

    फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

    ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए। उनको चलचित्र करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए।

    भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ। हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो।

  • देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

    देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं । बिहीबार देशभरको मौसममा परिवर्तन आउने भएको छ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ ।

    अहिले पूर्वको मौसम सामान्य बदली, मध्य क्षेत्रको मौसम आशिंक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    बिहीबार दिउँसो देशभरि मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने भएको छ ।

    राति देशभरको मौसम सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

  • कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु

    कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु

    काठमाडौं । विश्वभर कोरोनाको कहर जारी छ । यसले ठूलो मानवीय क्षति निम्त्याएको छ । तथ्यांकहरुका अनुसार अमेरिकाले मात्र भियतनाम युद्धपछिकै बढी संख्यामा आफ्ना नागरिक कोरोना भाइरसका कारण गुमाइसकेको छ ।

    बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोभिड १९ का कारण २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ ।

    अमेरिका यसबाट सबैभन्दा बढी मानवी क्षति भएको मुलुक हो । यहा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २३ सय ५२ जनाले ज्यान गुमाए ।

    यस मुलुकमा एकै दिन २७ हजार पाँच सय ८६ जना नयाँ बिरामी थपिए ।

    अमेरिकामा अहिलेसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएको आंकडा रहेको छ ।

    १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्। अमेरिका पछि ठूलो क्षति इटालीमा भएको छ ।

    कोरोना भाइरसका कारण यस मुलुकमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्।

    बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायती स्वास्थ्य मन्त्रालायले जानकारी दिएको छ । बेलायतमा एकै नि ७ सय ६५ जनाले ज्यान गुमाए ।

    यस मुलुकमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित छन्। स्पेनमा पछिल्लो २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाए ।

    हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भएके छ । फ्रान्समा २४ हजारको ज्यान गएको छ।

    त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ। अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाए ।

    भारतमा ३३ हजार ६२ जना संक्रमित छन्। त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् ।

    विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार २ सय ३५ रहेको छ । २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ ।

    नेपालमा ५७ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये १६ जना घर फर्किसकेका छन् ।

    बाँकि संक्रमितमध्ये ठूलो संख्या भारतीय नागरिकको रहेको छ । नेपालको समुदायमा एक जनामा कोरोना देखिएको छ ।

  • सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

    सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

    वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् ।

    खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ ।

    अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम भएके छ ।

    यसले अर्थतन्त्रमा पारेको खाडलको अवस्था देखाउँछ । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र २.१ प्रतिशतले वृद्धि भएको थियो ।

    अमेरिकी अधिकारीहरुका अनुसार पहिलो त्रैमासमा भएको आर्थिक क्षति सन् २००९ को पहिलो त्रैमासयताकै डरलाग्दो हो ।

    मार्च अन्तिमसाता यता अमेरिकामा आर्थिक गतिविधिहरु प्रभावित भएका छन् । करोडौं मानिसले बेराजगारी भत्ताका लागि निवेदन दिएका छन् ।

    मानिसहरुलाई लकडाउनमा राखिएको, अर्थतन्त्रका अवयवहरु संचालन हुन नसकेको र ठूलो खर्च कोरोना विरुद्धको लडाईमा लगाउनु परेका कारण यसको असर अर्थतन्त्रमा देखिएको छ ।

    यसले आगामी दिनमा अमेरिकी अर्थतन्त्रलाई अझ नराम्रोसँग प्रभवित बनाउने संकेत गरेको अधिकारीहरुले बताएका छन् ।

    अमेरिकामा १० लाख भन्दा बढी मानिसमा कोरोना देखिएको छ । ६१ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

  • केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग

    केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् ।

    उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

    उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने तरंग ल्याएको छ ।

    किनकी पार्टीमा अहिले दुई अध्यक्ष छन् । त्यसअवस्थामा माधव नेपाल र बामदेव गौतमलाई प्रचण्डसँग भिडाउन सके आफू बलियो हुने आंकलन प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।

    सोहीकारण उनले सांसद नै नरहेका बामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाइदिएका छन् ।

    नेकपामा आन्तरिक विवाद चर्किएसँगै बुधबार सचिवालय बैठक बसेको हो । ओलीले बैठकमा आफू प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको स्पष्ट बताएका थिए ।

    कोरोना पछि भने प्रधानमन्त्रीबाट राजिनामा गर्न तयार रहेको र त्यो पद बामदेवलाई दिने उनको प्रस्ताव छ ।

    यसअघि बैठकमा प्रचण्डले एकताको समयमा भएको प्रतिवद्धताको भावनामाथि खेलबाड गरिएको भन्दै प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने भनाई राखेका थिए ।

    प्रधानमत्रीले भने सरकार फेर्नु पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका हुन् ।

    यद्दपी सचिवालय बैठकमा भने कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताएका थिए ।

    अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी रहेको भन्दै पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।

  • दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

    दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

    काठमाडौं । नेपाली कामदारले उच्च योगदान गरिरहेका दुई खाडी मुलुकका सरकारले आज नेपाललाई आफ्नै खर्चमा जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री पठाएका छन् ।

    संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री उपहारस्वरुप पठाएका हुन् ।

    कतार एयरवेज र इत्तिहाद एयरको जहाज आज काठमाडौं अवतरण भए । दुबै जहाजले कोरोना भाइरससँग लड्ने विविध मेडिकल सामग्री बोकेका थिए ।

    यी कार्गो उडानका रुपमा नेपाल आएका थिए । विमानस्थल कार्यालयका अनुसार कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ।

    यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेको बताइएको छ । दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।

    यी दुई मुलुकमा लाखौंको संख्यामा नेपाली कामदार रहेका छन् ।

  • बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक

    बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक

    काठमाडौं । नेताहरुबी विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बीना निष्कर्ष सकिएको छ ।

    बैठकमा समसामयिक परिस्थितिको विषयमा गम्भिर रुपले समिक्षा भएपनि कुनै निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिए ।

    उनका अनुसार अर्को सचिवालय बैठक आगामी २० गते बस्ने भएको छ ।

    यस बैठकले अहिलेसम्म उठेका विषय र स्थायी कमिटी बैठकको मागका सम्बन्धमा निर्णय गर्ने उनले जानकारी दिए ।

    नेकपाभित्र शक्ति संघर्ष बढेसँगै राजनीतिक सरगर्मी बढेको छ ।

    आज सचिवालय बैठकबाट ठोस निर्णयको आशामा बसेका नेता कार्यक्रताले भने २० गतेसम्म कुर्नुपर्ने भएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले आफ्नो बहुमत रहेको देखाउन बुधबार बालुवाटारमा हस्ताक्षर अभियान चलाएका थिए ।

  • आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

    आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

    काठमाडौं । काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चने भएको छ ।

    केन्द्रिय तथ्यांक विभागका अनुसार यस वर्ष सरकारले प्रक्षेपण गरेको तुलनामा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने भएको छ ।

    सरकारले चालु आवको बजेटमार्फत आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्याउने महत्वकांक्षी लक्ष्य राखेको थियो ।

    तर, कोरोना कहर प्रारम्भ भएपछि ठप्प भएको आर्थिक गतिविधिले समग्र अर्थतन्त्रलाई नै ओरालो दिशातर्फ धकेलेको हो ।

    कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर खुम्चिएको विभागको भनाई रहेको छ ।

    गत आर्थिक वर्ष २०७५\७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ थियो । आर्थिक वर्ष २०७४\७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर थियो ।

    यो वर्ष नेपालले लगातार चौथो पटक ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने सम्भावना रहेको थियो ।

    अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रको वृद्धिदर २.५४ प्रतिशत मात्र हुने भएको छ । द्वितीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने भएको छ ।

    यो तथ्यांक जेठपछि अर्थतन्त्र सामान्य अवस्थामा फर्कने अनुमान सहित ल्याइएको हो ।

    तर, होटेल र एयरलाइन्सको विजेनश भने चालू आर्थिक वर्षभर प्रभावित हुने अनुमान सरकारले गरेको छ ।

    विभागका अनुसार यस वर्ष स्वास्थ्य र सामाजिक क्षेत्र, उर्जामा नेपालले राम्रो प्रगति गर्नेछ । तर, उद्योग, होटेल रेष्टुरेन्ट, निर्माण लगायतका क्षेत्र भने प्रभावित बनेका छन् ।

  • नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

    नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

    काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतः एक हजार ८५ अमेरिकी डलर पुगेको छ । यसको मतलव १ लाख २६ हजार १८ रुपैयाँ औसतः प्रतिव्यक्ति आय पुगेको हो ।

    केन्द्रिय तथ्यांक विभागले बुधबार मुलुकको आर्थिक विवरण सार्वजनिक गरेको हो । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय १ हजार ८५ पुगेको हो ।

    गत आर्थिक वर्ष २०७५\७६ मा प्रतिव्यक्ति आय १०४७ डलर रहेको थियो ।

    यस वर्ष २.२७ प्रतिशतको आर्थिक वृद्धि हुने अनमुान छ । समग्र अर्थतन्त्र ओरालो लागेपछि त्यसले प्रतिव्यक्ति आयमा समेत प्रभाव पारेको हो ।

    यस वर्ष विप्रेषण आयसमेत घट्ने अनुमान विभागले गरेको छ । विभागका अनुसार यस वर्ष सात खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुनेछ ।

    कुल गार्हस्थ उत्पादन .उपभोक्ता मूल्य)लाई कुल जनसंख्यालाई भाग लगाउँदा प्रतिव्यक्ति आय प्राप्त हुन्छ ।

  • एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने

    एडीबीबाट नेपाललाई ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध हुने

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई २५ करोड अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।

    बैंकबाट २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    करीव ३ लाख डलर बराबरको अनुदान सहयोगमा स्वास्थ्य सामग्री प्रदान गर्न लागेको समेत मन्त्रालयले जनाएको छ ।

    बुधबार अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच टेलिफोन वार्ता भएको थियो ।

    उक्त अवसरमा अर्थमन्त्रीले अध्यक्ष आसाकावालाई सहायताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

    अर्थमन्त्री खतिवडा र अध्यक्ष आसाकावा बीच कोभिड १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयको भनाई छ ।

    सो अवसरमा अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको थियो ।

    अर्थमन्त्रीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराएका थिए ।

    एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगप्रति प्रशंसा अर्थमन्त्रीले गरेका थिए ।

  • बलिउड अभिनेता इरफान खानको निधन

    बलिउड अभिनेता इरफान खानको निधन

    काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

    दुई वर्षदेखि क्यान्सर जुध्दै आएका ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो उपचाको क्रममा मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएका खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

    जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो।

    बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत् चर्चित, अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा समेत लिने गरिन्छ।

    हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।