Author: Vishwanews.com

  • एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

    एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

    काठमाडौं । बुधबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

    संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

    तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

  • कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

    कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

    कुवेत । कुवेतमा कोरोबाट संक्रमित नेपालीको संख्या ५१ नाघेको छ । मंगलबार एकै दिन २२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार अब संक्रमित नेपालीको संख्या ५१ पुगेको हो । यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

    कुवेतमा नेपालीमा मानवीय क्षति भने भएको छैन । यस मुलुकमा करीव ७० हजार नेपाली कार्यरत रहेको अनुमान छ । कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    ११ सय ७६ जना उपचारपछि निको भएका छन् । २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ। कुवेतमा समग्र मानवीय क्षति पनि कम छ ।

  • अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

    अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

    काठमाडौं । पछिल्लो केही दिनयता थामिएको कोरोना कहरका कारण मंगलबार भने एकै दिन २५ सय मानिसको ज्यान गएको छ ।

    तथ्यांक अनुसार मंगलबार २४ घण्टामा २४ सय ५६ जनामा मानिसको अमेरिकामा ज्यान गएको हो ।

    आइतबार र सोमबार १३ सय मात्र मानिसको ज्यान गएको थियो । तर, साताको तेस्रो दिन मृतकको संख्या उल्लेख्य बढेको हो ।

    अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएको तथ्यांक आएको छ । यस मुलुकमा अब कुल संक्रमित १० लाख ३५ हजार ४ सय ५४ पुगेको छ।

    अमेरिकापछि इटालीमा धेरै मानिसको ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ ।

    यहाँ २ लाख १ हजार पाँच सय पाँच संक्रमित पुगेका छन् । स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित छन्। त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गएको छ । एक लाख ६५ हजार ९ सय ११ संक्रमित छन् ।  बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ । यहाँ २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाएका छन ।

    जर्मनीमा एक लाख ५९ हजार बिरामी रहेका छन्। त्यहाँ ६ हजार २ सय १४ जना बिरामी छन्। टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन्।

    टर्कीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ। रुसमा एकै दिन ७३ जनाले ज्यान गुमाए ।

    यहाँ ९३ हजार ५ सय ५८ संक्रमित छन्।  रुसमा ८ सय ६७ जनाले ज्यान गुमाएका छन्। इरानमा ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ। त्यहाँ ९२ हजार ५ सय ८४ संक्रमित छन्।

    चीनमा भने मृत्यु शुन्य रहेको छ । चीनमा थप ६ जनामा संक्रमण देखिएको छ। भारतमा ३१ हजार संक्रमित भएका छन् ।

    मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।

    त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ। नेपालमा ५४ जनामा संक्रमण देखिएको छ । १६ जना घर फर्किएका छन् ।

  • बहराइनमा १२६ नेपालीमा कोरोना

    बहराइनमा १२६ नेपालीमा कोरोना

    काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ ।

    बहराइनमा पछिल्लो अपडेट अनुसार थप ७७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्म १ सय २६ जनामा कोरोना देखिएको हो ।

    दूतावासका अनुसार नेपालीलाई सामाजिक दूरी कायम गरी राख्ने व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ ।

    बहराइन धेरै नेपाली कामदार रहेको मुलुक हो । दूतावासका अनुसार बहराइनमा १ लाख २१ हजार २ सय ६० जना मानिसमा कोरोना परीक्षण भएको छ ।

    यस मुलुकमा १ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । ८ जनाले ज्यान गुमाएका छन् ।

    उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार २ सय ४६ रहेको छ ।

  • भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

    भारतमा एकै परिवारका ८ नेपालीले जिते कोरोना

    नयाँ दिल्ली । भारतमा एकै परिवारका ८ जना नेपाली नागरिकले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्य उपचारपछि निको भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा अघिल्लो महिना कोरोना पुष्टि भएको थियो ।

    घर मुली, श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको अहिले उनीहरु सबैले कोरोनालाई जित्न सफल भएका हुन् ।

    उनीहरु झण्डै साढे तीन साता अस्पताल बसेको बताइएको छ । अस्पतालले डिस्चार्ज गरेपछि उनीहरु घरमै बस्न थालिसकेका छन् ।

    भारतमा ३० हजारभन्दा बढी मानिसमा संक्रमण फैलिइसकेको छ । यद्दपी अधिकारीहरुले यसलाई ठूलो प्रकोप मानेका छैनन् ।

    किनकी भारतमा मृत्यु हुनेको संख्या भने संक्रमितको तुलनामा कम रहेको छ ।

  • राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने

    राष्ट्र बैंकले ल्यायो दोस्रो राहत प्याकेज, ब्याजदर दुई प्रतिशत घट्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी तथा व्यवसायीका लागि दोस्रो पटक राहत प्याकेज सार्वजनिक गरेको छ ।

    मंगलबार एक सूचना जारी गर्दै बैंकले २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी २०७६\७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

    बैंकले सम्पूर्ण बैंक तथा वित्रीय संस्थाहरु लक्षित गर्दै परिपत्र जारी गरेको हो । परिपत्र अनुसार विभिन्न उद्योग तथा व्यवसायले लिएको ऋणमा २ प्रतिशतले व्याजदर घटाउन निर्देशन दिइएको छ ।

    राष्ट्र बैंक नियमन विभागले जारी गरेको सूचनामा खाद्यान्न उद्योग तथा बिक्री वितरण केन्द्र, ग्यास उद्योग तथा वितरक, सोप एन्ड केमिकल्स, औषधि बिक्री वितरण व्यवसाय, इन्टरनेट र दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले भने ब्याजदरमा छुट नपाउने उल्लेख छ ।

    किनकी यी उद्योगको सेवा अहिले पनि प्रभावित भएको छैन । कोरोनाबाट अतिप्रभावित क्षेत्रले मात्र यो सुविधा पाउने भएको हो ।

    साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँ सम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २ प्रतिशत व्याजदरमा पुनकर्जा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।

    यस्तो पुनकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५ प्रतिशत भन्दा बढी व्याज लिन पाउने छैनन् ।

    कर्जाको प्रकार तथा भक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी त्रैमासिक रुपमा कर्जा तथा सापटको व्याजदर निर्धारण तथा प्रकाशन गर्न पनि यसरी व्याजदर निर्धारण तथा प्रकाशन गर्दा निश्चित प्रकारको आवधिक कर्जाका लागि तोकिएको अवधिभर व्याजदर परिवर्तन नहुने गरी स्थिर व्याजदर निर्धारण गरी सो समेत प्रकाशन गर्नु पर्ने सो परिपत्रमा उल्लेख गरिएको छ ।

    त्यसैगरी घ बर्गका लघुवित्त वित्तीय संस्थाहरुले भने चैत मसान्तको व्याजदरमा ३ प्रतिशत विन्दुले घटाउनुपर्ने छ तर थोक कर्जा प्रवाह गर्ने लघुवित्तहरुले भने २ प्रतिशतले नै व्याजदर घटाउनुपर्ने व्यवस्था गरेको छ।

    असार मसान्तपश्चात भने विद्यमान व्यवस्था अनुसार आधार दरको आधारमा कायम हुने व्याजदर निर्धारण गर्न सकिने  बैंकले जनाएको छ।

    यस्तै, केन्द्रीय बैंकले २०७७ बैशाख र जेठ महिनामा असूल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्तसम्मा हुने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

    क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपुँजी प्रकृतिको अल्पकालीन कर्जाहरुको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने सहुलियत समेत केन्द्रीय बैंकले उपलब्ध गराएको छ ।

  • नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

    नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

    काठमाडौं । नेपालमा कोरोना परीक्षणको कूल संखया करीव ५५ हजार पुगेको छ । मंगलबारसम्म देशभर ५४ हजार ८ सय २६ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिमार्फत १० हजार ८ सय ७ र आरडिटीविधिमार्फत ४४ हजार १९ वटा परीक्षण भएको छ ।

    यी परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय ९३ वटा नयाँ नमुना परीक्षण गरिएको छ ।

    सबैभन्दा बढी सुदूरपश्‍चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा परीक्षण भएका छन्। त्यसपछि बागमती प्रदेशमा ८ हजार १४ वटा परीक्षण गरिएको छ।

    सबैभन्दा कम प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८ वटा परीक्षण मात्र गरिएको छ। प्रदेश १ कै तुलनामा गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६ वटा परीक्षण भएको छ।

    त्यस्तै, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८ र कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ वटा परीक्षण गरिएको छ।

  • नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित

    नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित

    काठमाडौं । नेपालमा मंगलबार थप दुई कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टी गरेको हो ।

    उनीहरु दुबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

    जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

    कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

    त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेको बताइएको छ ।

    काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

    यससँगै अ नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

  • नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने

    नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने

    काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलिया र दक्षिण कोरियामा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाका नागरिक र नेपालबाट कोरियाको भिषा लागेर बसेका नेपाली नागरिकलाई बोकेर नेपाल एयरलाइन्स उड्न लागेको हो ।

    आगामी मे ६ मा अष्ट्रेलियाको सिड्नीमा उडानको तयारी गरिएको नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ । टिकट यात्रु आफैले काट्ने गरी चार्टर्ड उडान गर्न लागिएको हो ।

    नेपालमा रोकिएका उक्त मुलुकका नागरिक लैजान यसअघि पनि नेपाल एयरलाइन्स अष्ट्रेलिया गइसकेको छ ।

    अब दोस्रो उडानको तयारी गरिएको हो । यता, मन्त्रीपरिषद्ले कोरिया जाने कामदारलाई कोरिया जाने बाटो खोलेसँगै नेपालबाट नेपाली कामदार बोकेर नेपाल एयरलाइन्स कोरिया जाने भएको छ ।

    त्यसको तयारी भइरहेको नेपाल एयरलाइन्सले जनाएको छ । कोरिया जाने कामदारको स्वास्थ्य चेकजाँच सकिएपछि नेपाल एयरलाइन्सको जहाज कोरिया पुग्नेछ ।

    यी दुबै गन्तब्यमा ए३३० वाइडबडी जहाज जाने कम्पनीले जनाएको छ ।

  • बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक

    बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार भएको भेटले सचिवालयको समय तय गरेको हो ।

    यसअघि सोमबार भएका भेटहरुमा सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो । तर, मंगलबार विभिन्न चरणका भेटपछि बुधबार सचिवालय बैठक बोलाइएको हो । बैठक बुधबार साँझ ५ बजे बस्ने भएको छ ।

    पार्टीमा सोमबार देखिएको रस्साकसी मंगलबार दुई अध्यक्षको भेटपछि भने केही मथ्थर भएको छ ।

    सबै विषय सचिवालय र स्थायी कमिटिको बैठकमा टुंग्याउने भन्दै शीर्ष नेताहरुले अनौपचारिक छलफलको औचित्य नहुने बताउँदै आएका छन् ।

    प्रधानमन्त्री समुह भने माधव नेपाल समूहलाई फकाउने अभियानमा रहेको छ ।

  • बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

    बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

    लण्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पूर्वगोर्खा सैनिकको जीवन रक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

    दूतावासले बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराउँदै त्यसमा पनि पूर्वगोर्खा सैनिक बढी प्रभावित भएको तर्फ ध्यानाकर्षण गराएको हो ।

    बेलायतमा कोरोनाका अन्य मुलुकको तुलनामा नेपालीको बढी ज्यान गएको छ ।  बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको दूतावासको पत्रमा उल्लेख गरिएको छ ।

    संक्रमितमा मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरुको भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको हो ।

    यस सम्बन्धमा राजदूत्ले बेलायत सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासले उल्लेख गरेको छ ।

  • २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो

    २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो

    काठमाडौं । नेपालमा कोरोनाका कारण मर्ने मानिसको संख्या २ लाख ९ हजार नाघेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ९ हजार ७ सय ९९ मानिसको ज्यान गएको छ ।

    संक्रमित मानिसको संख्या समेत ३० लाख भन्दा माथि पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार १ सय १७ पुगेको हो ।

    अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित पुगेका छन् । यस मुलुकमा ९ लाख ८३ हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा २ लाख २९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टी भएको छ । इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

    मृत्यु हुनेमा समेत सबैभन्दा धेरै अमेरिकामा छन् । यहाँ ५५ हजार सात सय ३५ मानिसको ज्यान गएको छ । इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ ।

    स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा कूल ५२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् । नेपालमा मानवीय क्षति भने भएको छैन ।

  • नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोनमा वार्ता

    नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोनमा वार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई समकक्षीबीच सोमबार राती टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    वार्तामा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्धको प्रसंग उठाएकी थिइन् ।

    राष्ट्रपति सीले उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमण महत्वपूर्ण रहेको बताएका थिए ।

    दुबै राष्ट्रपतिबीच कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यससँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा समेत छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरेका मन्त्रालयको विज्ञप्तीमा उल्लेखख छ ।

    राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै यस भाइरसविरुद्धको लडाईमा चीनको सहयोग रहने बताए ।

    राष्ट्रपति भण्डारीले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिइन् ।

    दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुई देशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

  • विपक्षी प्रमुख तीन दल सरकारविरुद्ध एकै स्थानमा

    विपक्षी प्रमुख तीन दल सरकारविरुद्ध एकै स्थानमा

    काठमाडौं । विपक्षमा रहेका प्रमुख ती दलले सरकारका पछिल्लो गतिविधि लोकतान्त्रिक विधि अनुसार नभएको भन्दै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् ।

    ती दलले लोकतन्त्रवादी शक्तिलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस, जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताको बैठक बसेको थियो ।

    बैठकमा सरकारको स्वच्छाचारी र सर्वसत्तावादी रबैयाविरुद्ध एक भएर संघर्ष गर्ने सम्बन्धमा छलफल भएको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

    तीन दल सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको निष्कर्षमा समेत पुगेका छन् ।

    यस्ता अपराधिक कार्यको बैठकले घोर भत्र्सना गर्ने र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन समेत माग गरेको छ ।

    बैठकमा नेताहरुले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग समेत सरकारसँग माग गरेका छन् ।

    कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत तीन दलले माग गरेका छन् ।

  • ओली र नेपाल समूहको भेलामा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

    ओली र नेपाल समूहको भेलामा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेताहरु बिच्किएका छन् ।

    यसले अन्ततः नेकपा भित्रको विवादलाई उत्कर्षमा पुर्याएको हो । यसै सन्दर्भमा सोमबार नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तथा त्यसपछि ती नेता पक्षघर गुटको भेलामा समेत कुनै सहमति जुट्न सकेन् ।

    भेलामा सहमति जुट्न नसकेपछि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पद धरापमा पर्ने देखिएपछि प्रधानमन्त्री पदको बचाउमा सबै उपाय अपनाउने योजनामा छन् ।

    वरिष्ठ नेता माधव कुमार नेपाल भने संकटको समयमा आफ्नो गुटको नेतासमेत आफ्नो गुटलाई बलियो बनाउन सौदाबाजीमा जुटेका छन् ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

    लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए ।

    ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

  • स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति

    स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति

    मड्रिड । स्पेनले समेत अब लकडाउन खुकुलो पारेको छ । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमध्ये एक स्पेनमा कडा लकडाउनको प्रावधान थियो । तर, सरकारले अहिले लकडाउन केही खुकुलो बनाउन थालिसकेको छ ।

    ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण ओरालो लागेसँगै खुकुलो बनाउन लागिएको हो । स्पेनमा बालबालिकालाई घर बाहिर जाने अनुमति दिइएको छ । उनीहरु अब पार्कमा गएर खेल्न सक्नेछन् ।

    खुल्ला भएपछि बालबालिका पैदल, साइकल, स्केटबोर्ड र स्कूटर लिएर सडकमा निस्किएका छन् । अधिकारीहरुले वातावरण सहज बनाउँदै लैजाने क्रममा यस्तो नीति ल्याएको बताउँछन् । स्पेन कोरोना भाइरसका कारण धेरै मानिसको ज्यान गएको मुलुकमध्ये एक हो ।

    यहाँ मार्च १४ मा सरकारले आपतकालिन अवस्था घोषणा गरेको हो । त्यसपछि यस मुलुकमा सार्वजनिक चहलपहल र आर्थिक गतिविधि बन्द भएको थियो ।

    आइतबार पहिलोपटक स्पेनले १४ वर्ष मुनिका बालबालिकालाई घर बाहिर निस्कने अनुमति दिएको छ । बाहिर निस्कदा उनीहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र सामाजिक दुरी भने कायम गर्नुपर्नेछ ।

    स्पेनमा स्कुल भने बन्द छन् । स्पेनमा संक्रमित संख्या हालसम्म २ लाख ७ हजार ६३४ पुगेको छ । मृत्यु हुनेको संख्या २३ हजार १ सय ९० रहेको छ ।

  • लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

    लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

    काठमाडौंमा लकडाउन केही खुकुलो भएको भन्दै मानिसहरु सवारी साधन नै लिएर घरबाहिर निस्कन थालेको छन् । सडकमा समेत प्रदल यात्रुको संख्या बढेको छ ।

    यसै मेसोमा सरकारले लकडाउन कार्यान्वयन कडा गर्ने भएको छ । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेखेको छ ।

    लकडाउन खुकुलो भएको गुनासो आएपछि गृह प्रशासनले सुरक्षा निकाय र प्रशासनलाई पत्र काट्दै कडाई गर्न निर्देशन दिएको हो । अत्यावश्क सेवाभन्दा बाहेक कसैले पनि सवारी साधन चलाउन नपाउने गरी कडाई गर्न लागिएको हो ।

    नेपालमा लकडाउनकै समयमा दैनिक हजारौं मानिस उपत्यका बाहिर गइरहेका छन् ।

  • बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

    बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्कन तयार भएका छन् । कोरोना भाइरसको संक्रमण जित्दै घरमा आराम गरिररहेका उनी एक महिनापछि काममा र्फकन लागेको बीबीसीले उल्लेख गरेको छ ।

    भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताउनु परेको थियो । तीन रात उनलाई आईसीयूमा राखिएको थियो । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारलेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी गराएका छन् । जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए ।

    बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ । यहाँ १ लाख ५० हजारभन्दा धेरै मानिसमा संक्रमित पुष्टी भएको छ ।

  • काठमाडौंमा बिहान १० बजेसम्म पसल खुल्न थाले

    काठमाडौंमा बिहान १० बजेसम्म पसल खुल्न थाले

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बिहान १० बजेसम्म पसल खुल्न थालेका छन् ।

    यसअघि बिहान ७ बजेसम्म मात्र खुल्ने पसलहरुलाई महानगरपालिकाले १० बजेसम्म खुल्ने दिने अघोषित नीति लिएको हो ।

    सोहीअनुसार पसलहरु खुल्न थालेका हुन् । खासगरी साना र खुद्रा व्यापारीले अब १० बजेसम्म आफ्नो व्यापार गर्न सक्ने छन् ।

    यसका लागि व्यापारिले सुरक्षाको प्रवन्ध भने गर्नुपर्ने भएको छ ।

    काठमाडौं उपत्यकामा दैनिक ज्यालादारीमा काम गर्ने र साना व्यापारी लकडाउनको मारमा परेका छन् ।

    ज्यालादारीमा काम गर्ने मानिस समस्याका बीच धेरैजसो गाउँ फर्किसकेका छन् । तर, खुद्रा पसलेहरुले भने बिहान ७ बजेसम्म भए पनि व्यापार गर्दै आएका थिए ।

    नेपालमा २५ वैशाखसम्म लकडाउन लम्बिएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा कोरोना संक्रमण देखिएको छ । १६ जना घर फर्किसकेका छन् ।

  • इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

    इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

    रोम । इटलीमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । भाइरसको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएका छ ।

    यससँगै सरकारले अब सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । इटलीमा मध्य मार्चयता कडा प्रतिबन्ध लगाइएको छ ।

    प्रधानमन्त्री गुइसेपे कोन्टेका अनुसार अब क्रमण्शः ती प्रतिवन्धहरु खुकुलो बनाइदै जाने योजना रहेको छ । उनका अनुसार मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाएर आफन्तसँग भेट्न दिइने भएको छ ।

    पार्कहरु पनि अब खुल्ने छन् । स्कुल भने सेप्टेम्बर महिनाअघि खोल्ने तयारी छैन । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या घटेर १४ मार्चअघिको अवस्थामा पुगेको छ ।

    यहाँ आइतबार २ सय ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटलीमा लगातार तीन दिन मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । यसअघि शनिबार ४ सय १५ जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु हुने देशमा अमेरिकापछि इटली रहेको छ । यहाँ मृत्यु हुनेको संख २६ हजार ६ सय ४४ पुगेको छ ।

    इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । इटालीका अधिकारीहरुले भाइरस र्संक्रमणको दर विस्तारै घट्दै गएको र लकडाउन खुकुलो पार्न उपयुक्त अवस्था भएको बताएका छन् ।

  • इपीएस पास गरेका कामदार कोरिया जान पाउने

    इपीएस पास गरेका कामदार कोरिया जान पाउने

    काठमाडौं । सरकारले ईपीएस परीक्षा पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको हो ।

    कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि सयौं नेपाली कोरिया जान पाएका छैनन् । उनीहरुलाई भने लकडाउनकै अवधिमा समेत कोरिया पठाउने भएको हो ।

    भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री युवराज खतिवडाले उल्लेख गरे ।

    सरकारले माघको अन्तिम साताबाटै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई पनि कोरिया पठाउन रोकेको थियो ।

    कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले आपत्ति जनाएको थियो ।

    तर अहिले कोरियामा जोखिम धेरै हदसम्म नियन्त्रणमा आएको छ । ४ चैतपछि भने नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्यो ।

    त्यसपछि भने कुनै पनि नेपाली विदेश जान पाएका छैनन् । कोरियामा कामदारको भिसा आएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम छ ।

    सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदारको कोरिया जाने बाटो पनि यस निर्णयले खुलेको छ ।

  • सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

    सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

    काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको अभियोगमा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता लिन प्रहरीले अस्वीकार गरेको छ ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता लिन अस्वीस्कार गरेको हो । जनता समाजवादी पार्टीको उच्च नेतृत्वमा रहेको सबैजसो नेता जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

    पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो तथा अपहरणमा परेको भनिएका पूर्वस्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादव समेत टेकु पुगेका हुन्।

    परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न नमानेको नेताहरुले जनाएका छन् ।

    उनले यो घटना महत्त्तरीमाभएको भनिएकाले सोही जिल्लामा गएर जाहेरी दर्ता गर्न सुझाव समेत दिएका छन् ।

    यस घटनामा प्रहरीको दोष नभएपनि राज्य आफैले जिम्मेवारी लिनुपर्ने डा. बाबुराम भट्टराईले प्रतिक्रिया दिए ।

    ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको उनको आरोप छ ।

    पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।

    समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरिरहेका छन् ।

    सांसद यादवलाई काठमाडौंमा मेरियट होटेलमा राखिएको थियो । सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

    यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् । खनाल, श्रेष्ठ र बस्नेतले भने सहमतिमा काठमाडौं आएको बताइरहेका छन् ।

  • झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

    झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

    काठमाडौं । नेपालमा कूल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा थप एक जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

    आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार उनी झापाको राजगढ निवासी हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । आइतबार नै वीरगन्जमा दुई जनामा कोरोनाको संक्रमण पुष्टी भएको थियो ।

    आइत्बार थपिएका तीन जनासँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको हो ।

    नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आइतबार नै ४ जना वीरगन्जबाट घर गएका हुन् ।

  • नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

    नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

    काठमाडौं । नेपालमा लकडाउन फेरी १० दिन लम्बिएको छ । सोमबार सकिने पूर्वघोषित लकडाउनलाई सरकारले लम्ब्याएर २५ वैशाखसम्म पुर्याउने निर्णय गरेको छ ।

    आइतबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

    कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

    मन्त्रीपरिषद् बैठकले भने लकडाउनको अवधि १० दिन थपेको हो । नेपालमा ११ चैतपछि लकडाउन घोषणा गरिएको हो ।

    यसबीचमा ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १६ जना भने निको भएर घर फर्किएका छन् ।

  • नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

    नेपालको कोरोना कोषमा शेष घले र जमुनाबाट ३ करोड सहयोग

    काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैया सहयोग गरेको छ ।

    गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी जीवनसँगीनी जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनले यो रकम सरकारलाई प्रदान गरेको हो ।

    फाउन्डेसनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । उडान प्रतिवन्धका कारण घले दम्पत्ति भने नेपाल आउन नपाएको बताइएको छ ।

    सहयोग रकम सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने घलेको अपेक्षा रहेको छ ।

    यस फाउडेसनले नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेलासमेत सहयोग गर्दै आएको छ ।

    अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

    सरकारले खडा गरेका यो कोषमा २ अर्ब भन्दा बढी रकम उठिसकेको छ । तर, सरकारले अझै कोषको रकम उपयोग भने भइसकेको छैन ।

  • विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

    विश्वभर कोरोनाबाट ४९ गैरआवासीय नेपालीको ज्यान गयो, १ हजार ८ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा संक्रमण देखिएको छ ।

    विश्वभर फैलिएको कोरोना भाइरस महामारी ९कोबिड–१९० बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

    स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।

    नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।

    यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।

    संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

    समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

    यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।

    गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।

    कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।

    डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् ।

    यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।

  • नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

    नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

    वीरगञ्ज । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ५१ पुगेको हो । उनीहरु कोरोना संक्रमित भारतीय जमातीको सम्पर्कमा रहेको व्यक्ति रहेको बुझिएको छ ।

    कोरोन परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । अर्को संक्रमित भने सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् ।

    उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । वीरगन्जमै आइतबार ४ जना भने निको भएका छन् ।

  • वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

    वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

    वीरगन्ज । वीरगन्जमा उपचारार्थ ४ जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदैछन् ।

    वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो ।

    छपकैयास्थित जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकले कोरोनालाई जित्न सफल भएका छन् ।

    पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । स्वाबको नमूना शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो।

    शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको हो। चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो ।

    यसपछि अब वीरगन्जमा एक मात्र बिरामी बाँकि रहनेछन् । उनीहरुको डिस्चार्जसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १६ पुग्नेछ ।

    यसअघि शनिबारसम्म १२ जनाले यस रोगलाई जितिसकेका छन् । शनिबार चितवनका एक युवालाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

    नेपालमा कुल ४९ जनामा कोरोना देखिएको छ । पछिल्लो दुई दिन यता भने नयाँ संक्रमित फेला परेको छैन । शनिबारसम्म कूल ५० हजारको नमुना परीक्षण भइसकेको छ ।

  • आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

    आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं । आज नेपालमा लकडाउन थप्ने वा हटाउनेबारे निर्णय हुँदैछ । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले लकडाउन बारे निर्णय गर्ने भएको छ।

    प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकमा लकडाउनबारे निर्णय गर्ने बताएको छ ।

    यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा लकडाउन हटाउन नहुने निष्कर्ष निकालिएको थियो ।

    समितिले एकसाता लकडाउन लम्व्याउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ । आज विभागीय मन्त्रीहरुको सिफारिसमा लकडाउनबारे निर्णय हुनेछ ।

    सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको हो ।

    हिमाली जिल्लामा केही खुकुलो बनाउने र तराई शहरी इलाकामा झन कडा गर्ने सम्भावना रहेको छ ।

    सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमा लगाएको प्रतिवन्ध जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष निकालेको छ ।

  • कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    काठमाडौं । कोरोना भाइरसले मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको हो ।

    विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको तथ्यांक रहेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको ।

    यो मुलुकमा संक्रमित ९ लाख ३६ हजार पुगेको छ । कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो ।

    त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० मुलुकमा फैलिएको छ । अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि रहेको छ ।

    इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

    विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

    अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्फेका छन् ।

    नेपालमा ४९ जनामा संक्रमण भएको छ । ११ जना निको भएर फर्किसकेका छन् ।