Author: Vishwanews.com

  • आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने

    आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने

    काठमाडौं । आजबाट नेपालमा लकडाउन खुकुलो हुँदैछ । खासगरी बैंक, वित्तीय संस्थाको सेवा अब सूचारु भएको छ । अत्यावश्यक क्षेत्रका ४४ प्रकारका उद्योग धन्दासमेत आजबाट सूचारु हुने भएका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित खुकुलो बनाएको हो।

    उद्योग खोल्दा भने ३० प्रतिशत मात्र कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने तथा उद्योग परिसरमै बास बस्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

    आफ्ना कर्मचारीलाई समुदायसँग घुममिल नहुने वातावरण समेत उद्योगले मिलाउनु पर्ने छ । खाना र खाजाको व्यवस्था समेत कार्यस्थलमै हुनुपर्ने शर्त सरकारले राखेको छ ।

    अब औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय भएको छ ।

    सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय भएको छ ।
    यसैगरी फलफुल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो।

    उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

    यस्तै राष्ट्रिय गौरबका आउोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

    त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ।

    सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने, त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

    तर, यस्ता उद्योग कलकारखाना संचालनमा ल्याउँदा सामाजिक दूरी कायम गर्नुपर्ने, मजदूर तथा कामदारको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी सम्बन्धित उद्योगले गर्नुपर्ने र पर्याप्त सचेतता समेत अपनाउनुपर्नेछ ।

    उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ ल्याउन र तयारी मालवस्तु विभिन्न बजारहरुमा पठाउन ढुवानीका साधनहरु समेत संचालन गर्न सक्नेछन् । यसका लागि छुट्टै पास चाहिने छैन भने सम्बन्धित उद्योगको पत्रका आधारमा त्यस्ता गाडी चल्न पाउनेछन् ।

  • बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

    बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

    काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ । शुक्रबार राष्ट्रिय र प्रतिनिधिसभा, दुबै सदनको अधिवेशन बस्दैछ ।

    त्यसअगाडी बिहीबार सबै सांसदको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसको नतिजा भोली सम्म आइपुग्नेछ ।

    कोरोना भाइरसको महामारीकोबीच सुरु हुन लागेको बजेट अधिवेशनको संसद सचिवालयले भने सांसदका लागि आचारसंहिता बनाएको छ ।

    यो आचारसंहिता अनिवार्य पालना गर्नपर्ने भएको छ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सहभागी हुने सांसद र अन्य व्यक्तिहरुलाई छुट्टाछुट्टै आधारसंशिता बनाइएको छ ।

    बानेश्वरस्थित संसद भवनमा भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

    यस आचारसंहिता अनुसार बजेट अधिवेशन नसकिएसम्म अब सांसदहरु कुर्सी फेर्न पाउने छैनन् । सदस्यहरुले रोष्टम प्रयोग गर्न पाउने छैनन् ।

    बोल्दा आफ्नो टेवलमा रहेको माइक नै प्रयोग गर्नुपर्नेछ । विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइएको छ ।

    प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरुले रोष्टम प्रयोग गर्न पाउँदैनन् ।

    संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गरिने छ। क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्न तथा दूरी कायम गर्न भनिएको छ।

    संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिइने बताइएको छ।

    दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने सचिवालयले जनाएको छ।

    यी हुन् बैठकका सहभागीले पालना गर्नुपर्ने आचारसंहिताः

    – सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।

    – बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।

    – सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।

    – सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।

    – आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या ९ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी० देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।

    – बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।

    – बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।

    निर्णय

    १. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

    २. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

    ३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

    ४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

    ५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

    ६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

    ७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

    ८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

    ९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।

  • साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

    साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

    काठमाडौं । साउदी अरवमा ४६ जना नेपालीमा कोरोना भाइरसको पुष्टी भएको छ । साउदीको जेद्दा क्षेत्रमा मात्र ४१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    उनीहरुमध्ये ६ जना भने निको भएर स्वस्थ बनिसकेका छन् । अन्यको अवस्था समेत सामान्य रहेको बताइएको छ ।

    दूतावासले सबैको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताएको छ । साउदीमा नेपालीसहित कुनै पनि विदेशी नागरिकलाई त्यहाको सरकारले उपचार र अन्य सुविधामा भने भेदभाव गरेका छैन ।

    सङ्क्रमित ४६ मध्ये ११ जना निको भएका छन् ।

    साउदीमा कोरोना अस्पतालमा भर्ना गर्दा राष्ट्रियता नखुलाइएका कारण कुनै मुलुकका कति नागरिक संक्रमित छन् भन्ने यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।

  • नेपालमा थपिए दुई कोरोना संक्रमित, १ सय १ पुगे कूल बिरामी

    नेपालमा थपिए दुई कोरोना संक्रमित, १ सय १ पुगे कूल बिरामी

    काठमाडौं । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार कपिलवस्तुमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

    अब नेपालमा नेपालमा कोरोना सङ्क्रमितको सख्या १ सय १ पुगेको छ । त्यसमध्ये २२ जना भने निको भइसकेका छन् ।

    निको भएका मध्ये दुई जनाका कोरोना पुन बल्झिएको छ ।

  • रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

    रोल्पा र पर्सामा चट्याङ लागेर तीनको मृत्यु

    काठमाडौं । रोल्पा र पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बिहीबार भएका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएको प्रहरीको भनाई छ ।

    रोल्पामा लुंग्री गाउँपालिका २ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको ज्यान गएको हो ।

    बिहान करिब साढे ८ बजे विकको घर नजिकैको रुखमा चट्याङ पर्दा उनीहरुलाई समेत असर गरेको बताइएको छ । उनीहरु दुवै जना छिमेकी हुन् ।

    बिहीबार नै चट्याङ लागेर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाँडेपुरमा एक बालिकाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह रहेको प्रहरीले जनाएको छ । बिहीबार देशैभर मौसम प्रतिकुल बनेको थियो ।

    नेपाल बढी चट्याङ लाग्ने देशमध्ये विश्वमै अग्रपंक्तिमा आउने गरेको छ ।

  • भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    बारा । नेपाल र भारतीय सिमाना बन्द छ । यसकारण सिमा नाकाबाट एक अर्काको मुलुकमा छिर्न प्रतिवन्ध लागेको छ ।

    तर, बाराको सुवर्ण गाउँपालिकामा भारतीयको ठूलो संख्या नेपाल छिर्न खोजेपछि बिहीबार तनाव उत्पन्न भएको छ ।

    शुरुमा दुई जना भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो संख्यामा भारतीय चेकपोष्टमा आक्रमण गर्न थालेको थिए ।

    त्यसक्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

    बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्रमा भारतीयहरु नेपाल प्रवेश गर्न खोजेका थिए । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

    दिउँसो भएको यस घटनालाई तत्काल नियन्त्रणमा लिइएको ्प्रहरीले जनाएको छ ।

    भारतको बिहार राज्य अन्तर्गत हनुमाननगर गाउँबाट दुईवटा गाडीमा ठूलो समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

    भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेको र त्यस भीडलाई नियन्त्रणमा दिन प्रहरीले हवाई फायर गरेको बताइएको छ ।

    नेपाली सुरक्षाकर्मी माथि भारतीय नागरिकले आक्रमण गर्न खोजेपछि नेपाली समेत प्रतिकारमा उत्रन पुगेका थिए ।

    त्यसपछि स्थिती झनै तनावपूर्ण हुने अवस्था आएको थियो । तर, दुबै मुलुकका सुरक्षाकर्मीले आफ्ना नागरिकलाई सम्झाएर स्थिति नियन्त्रणमा लिएका थिए ।

    यस क्षेत्रमा कतिपय भारतीय नागरिकको खेतमा जान समेत नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता र नेपाल र भारतको सीमानाका बन्द भएको परिस्थितिका कारण यहाँ तनाव उत्पन्न भएको छ । खेतमा बाली खेर जाने भन्दै उनीहरुले जान पाउने माग गरेका थिए ।

  • प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

    प्रचण्ड भन्छन्, ‘एक दुई दिनमै बस्छ स्थायी कमिटि बैठक’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक एक दुई दिनमै बस्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जानकारी दिएका छन् ।

    बिहीबार कोरोना परीक्षणका सिलसिलामा संसद भवनमा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग संक्षिप्त कुराकानी गरेका थिए ।

    त्यसक्रममा उनले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका हुन् । यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो ।

    तर, दुई अध्यक्षले एजण्डा तय गर्न नसक्दा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

    उनले गृहकार्य नपुगेको कारण बिहीबार निर्धारित बैठक नबसेको समेत स्पष्ट पारे । उनका अनुसार दुबै अध्यक्षको सहमतिमा बैठक बोलाइने छ ।

  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार

    काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या पौने तीन लाख पुगेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २ लाख ६५ हजार ५१ मानिसले यस भाइरसका कारण ज्यान गुमाएका छन् ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा यो रोगको फैलावट रहेको छ । विश्वमा यस भाइरसले ३८ लाख २१ हजार ९१७ जना मानिसलाई संक्रमित बनाएको छ ।

    संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर फर्किएका छन् । २२ लाख ५५ हजार १४१ जनाको उपचार भइरहेको छ ।

    उपचाररत मध्ये ४८ हजार २११ जनाको अवस्था गम्भीर रहेको तथ्यांक छ । यस भाइरसले सबैभन्दा धेरै अमेरिकामा ७४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । अब अमेरिकामा कूल मृतक संख्या ७४ हजार ७९९ पुगेको छ ।

    यहाँ पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ४५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।

    अमेरिकापछि बेलायतमा धेरै मानिसको ज्यान गएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ६४९ जनाको मृत्यु भएको छ ।

    यहाँ ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । इटालीमा एकै दिन ३६९ जनाको मृत्यु भएको छ । इटालीमा कूल मृतक संख्या २९ हजार ६८४ पुगेको छ ।

    कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।

    त्यहाँ एकै दिन ८२ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या १ हजार ७८५ पुगेको हो ।

    भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ । नेपालमा ९९ जनामा संक्रमण देखिएको छ । २२ जना निको भएर घर फर्किएका छन् । यहाँ मानवीय क्षति भएको छैन ।

  • आज सांसदहरुको कोरोना परीक्षण गरिदै

    आज सांसदहरुको कोरोना परीक्षण गरिदै

    काठमाडौं । आज राष्ट्रिय तथा प्रतिनिधिसभा सांसदहरुको  कोरोना परीक्षण गरिने भएको छ ।

    शुक्रबारबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालन अगाडी आज सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने भएको हो ।

    कोरोनाको पिसिआर विधिबाट सांसद र कर्मचारीको परिक्षण हुने भएको छ ।

    आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउने संसच सचिवालयले जनाएको छ ।

    बिहान १० बजेदेखि राष्ट्रिय सभा र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने भएको छ ।

    सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण हुने भएको छ ।

    प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद रहेका छन् । भोलीबाट बजेट अधिवेशन शुरु हुँदैछ ।

  • कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

    कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ ।

    पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ ।

    कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न समितिले काम गर्ने भएको छ ।

    विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका नेताहरु रहने गरी समिति गठन गरेको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

    समितिको संयोजक डा. रामशरण महत छन् । समितिमा १४ जना सदस्य राखिएको छ । कांग्रेसका अनुसार महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा, डा.पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्यका रुपमा रहेका छन्।

    समितिले तत्कालीन रुपमा अत्याश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटका प्राथमिकताबारे, धारणा र दीर्घकालीन रुपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने भएको छ ।

  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो ।

    रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ ।

    दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    बहराइनमा हालसम्म ३७ सय २० जना कोरोना संक्रमित पुगिसकेका छन् । आठजनाको ज्यान गइसकेको छ ।

    एक जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ । नेपालीको भने स्वास्थ्य अवस्था सामान्य रहेको दूतावासको भनाई छ ।

    यस मुलुकले अवैधानिकरुपमा बसिरहेका नेपालीसहित आप्रवासीलाई देश छाड्न ७ अप्रिलदेखि लागू हुनेगरी ३१ डिसेम्बर २०२० सम्मको अवसर समेत दिएको छ।

    बहराइनमा अहिले सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन पाइदैन । घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्छ ।

    बहराइन सरकारले सबै नेपालीलाई आफ्ना नागरिकसरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

    दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन समेत आग्रह गरेको छ ।

    समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिएर समस्या समाधान गर्न सहजीकरण भइरहेको दूतावासको भनाई छ ।

  • विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण

    विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण

    काठमाडौं । वैदेशिक रोजगारीको सिलसलामा विभिन्न मुलुक पुगेका युवामध्ये एक लाख २७ हजार हाराहारी नेपाली तत्काल उद्धारको पर्खाइमा रहेको सरकारले अनुमान गरेको छ ।

    वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस संख्यामा नेपालीहरु उद्धार गर्नुपर्ने अवस्थामा रहका छन् ।

    विभिन्न मुद्दामा आममाफी पाएका, भिषा अवधि सकिएका, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदारलगायतका कारण उनीहरुलाई तत्काल उद्धारको आवश्यकता रहेको छ ।

    त्यसो त करीव ४ लाख हाराहारी युवाले विदेशमा काम गुमाउने समेत अनुमान गरिएको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण मुलुकहरुले क्रमशः आप्रवासी कामदारको कटौती थालिसकेका छन् ।

    यस्तो अवस्थामा नेपाली युवाको समेत रोजगारी गुम्ने भएको छ ।

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकमा बोर्ड यो आंकडा सार्वजनिक गरेको हो ।

    एकसाथ लाखौ व्यक्तिलाई उद्धार र नेपाल भित्रको व्यवस्थापन भने नेपाल सरकारको क्षमता भित्र पर्दैन । सोहीकारण अहिलेसम्म नेपाली नागरिकका उद्धारका लागि सरकारले कुनै नीति लिन सकेको छैन ।

    किनकी नेपाली कामदार रहेका अधिकांश मुलुकमा कोरोना फैलिएको छ । नेपालीमा समेत कोरोनाको संक्रमण रहेको छ । उ

    नीहरु नेपाल आउँदा यहाँ व्यवस्थापनको विकल्प सरकारसँग छैन । बोर्डका अनुसार सम्बन्धित देशको दूतावासबाट प्राप्त विवरण, औसत रुपमा दैनिक फर्किनेहरूको आँकडा समेत जोडेर प्रतिवेदन बनाइएको हो ।

    १ लाख २७ हजारमध्ये अत्यन्तै समस्यामा रहेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्कने वातावरण बनाउन समेत बोर्डले सरकारलाई सिफारिस गरेको छ ।

  • बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)

    बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)

    काठमाडौं । सरकारले ५ जेठसम्म लकडाउन थपेको छ । यसअवधिमा मानिसहरुको आवतजावत ठप्प रहनेछ ।

    तर, अत्यावश्यक क्षेत्रका उद्योग, बैंक तथा वित्तीय संस्था तथा निर्माणका काम भने अब सूचारु हुने भएका छन् ।

    यस अनुसार अब लकडाउन केही खुकुलो भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अब सुरक्षा विधि अपनाएर विभिन्न ४४ प्रकारका उद्योगहरु संचालन गर्न सकिने निर्णय भएको छ ।

    औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन अब सूचारु गर्न सकिने भएको छ ।

    कृषिजन्य वस्तु उत्पादन र विक्री वितरण समेत सहज बनाइएको छ । यसका लागि स्थानीय तहले अनुमति दिन सक्ने भएका छन् ।

    कृषि तथा पशुपंक्षीसम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने कामसमेत प्रभावित हुने छैन । फलफूल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्री वितरण समेत सहज बनाइएको छ ।

    स्वास्थ्य सेवा, भेटेनरी सञ्‍चालन र पाठ्यपुस्तक विक्री गर्ने पसल तथा ढुवानी गर्ने सवारी साधन समेत जनक शिक्षा सामग्रीबाट अनुमति लिएर चलाउन पाइने भएको छ ।

    राष्ट्रिय गौरवका आयोजना सूचारु हुने भएका छन् । जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम पनि शुरु गर्ने निर्णय भएको छ ।

    श्रमिकलाई काममा लगाउनु अगाडी दैनिक श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त भने सरकारको छ ।

    गिट्टी बालुवा उत्पादन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थामा बढीमा एक तिहाइ कर्मचारी राखेर सेवा सूचारु गर्न सकिने भएको छ ।

    सार्वजनिक सेवाका क्षेत्रहरुमा एकचौथाई सवारीलाई मात्र पास उपलब्ध हुने भएको छ । श्रमिकहरु स्थानीयसँगको सम्पर्कमा भने जान पाने छैनन् ।

    खाजाको व्यवस्था कम्पनी आफैले गर्नुपर्ने छ। इन्टरनेट, वर्कसप समेत खुल्न सक्नेछन् ।

    शैक्षिक संस्था, गैर खाद्यवस्तु विक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन जस्ता क्षेत्र भने खोल्न पाइने छैन ।

    यी हुन खोल्न सकिने उद्योग

    • खाद्यान्‍न उत्पादन वा प्रशोधनगर्ने उद्योग
    • दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
    • औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग
    • खानेपानी उत्पादन गर्ने उद्योग
    • इँटा उद्योग
    • पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
    • खाने तेल तथा घ्यू उद्योग
    • चिनी उद्योग
    • चिया प्रशोधन उद्योग
    • एलपीजी ग्याँस उद्योग
    • प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
    • कफि उद्योग
    • पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
    • नूडल्स तथा तयारी चाउचाउ उद्योग
    • मसला उद्योग
    • अलैंची र अदुवा प्रशोधन उद्योग
    • कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
    • धान चामल र चिउरा उद्योग
    • दाल उद्योग
    • पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
    • खानी तथा खनिजजन्य उद्योग
    • बालुवा प्रशोधन तथा क्रसर उद्योग
    • सिमेण्ट उद्योग
    • आइरन तथा स्टिलउद्योग
    • पेन्टिङ्गस उद्योग
    • जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
    • बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
    • जुुस तथा हल्का पेयपदार्थ उद्योग
    • प्लाइउड र भेनिर उद्योग
    • विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योग
    • जस्ता पाता उद्योग
    • हेभी मेशीनरी औजार मर्मत संभार
    • खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
    • समिल र काष्ठ उद्योग
    • आल्मुनियम उद्योग
    • ग्रील उद्योग
    • फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
    • ढुवानी तथा कार्गो सेवा उद्योग
    • मेसिन पार्टपूर्जा वर्कसप उद्योग
    • मोटर ग्यारेज वर्कसप उद्योग
    • छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
    • सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
    • विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
    • औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
  • पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज

    पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज

    काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका कूल २ सय ८१ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नीतर्फ उडेको हो ।

    नेपाल एयरलाइन्सको जहाज पहिलो पटक सिड्नी उडेको हो । यसअघि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्वेनका लागि उडेको थियो ।

    यो जहाजले मलेसियाको क्वालालाम्पुरमा तेल भरेर सिड्नीतर्फ उडेको हो । जहाज बिहीबार बिहान काठमाडौं आइपुग्ने छ ।

    बुधबार नै नेपाल एयरलाइन्सको अर्को जहाज भने चीनको राजधानी बेइजिंगका लागि उडेको छ । यो जहाजले भने कोरोना भाइरससँग लड्न मेडिकल किट ल्याउने भएको छ ।

    चीनको राजधानी बेइजिंगमा समेत नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो पटक उडान भरेको हो ।

  • नेकपा स्थायी समिति बैठक अनिश्चित

    नेकपा स्थायी समिति बैठक अनिश्चित

    काठमाडौं । नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गर्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ ।

    बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा तय गर्नु पर्ने थियो । तर, २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न भने नेताहरु असफल भएका छन् ।

    सोहीकारण स्थायी कमिटि बैठक अनिश्चित बनेको छ । यससँगै नेकपा भित्रको विवाद अझै कायम छ भन्ने संकेत स्पष्ट बनेको छ ।

    बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षबाट हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बुधबारको सचिवालय बैठकले भने कुनै निर्णय गर्न सकेन ।

    बुधबार सचिवालय बैठक चलिरहेका बेला आराम गर्न भन्दै प्रधानमन्त्री बीचमै उठेका थिए । यो सामान्य विषय भएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

  • दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

    दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

    थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
    योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

  • जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

    जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।

    बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। कोरोना परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ । त्यस्तै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण को लागि आन्तरिक एवम् वाह्य हवाई उडान जेठ १८ गतेसम्म रोक्ने निर्णय गरेको छ । यसअघि नै जेठ २ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइ सकेको छ । त्यसपछि १८ गतेसम्म थप बन्द हुनेछ ।

  • जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

    जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो।

    त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

    पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

    त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

    संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको जनाइएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

  • एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित

    एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित

    विराटनगर । नेपालमा ६ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् ।

    कोरोना भाइरस पुष्टी भएपछि विराटनगरस्थित कोशी अस्पतालको कोरोना विशेष कक्षमा उपचार गराइरहेका ६ जनाको आज डिस्चार्ज भएको हो ।

    उदयरपुरमा रहेका बेला कोरोना पुष्टी भएका उनीहरु सबै जना भारतीय नागरिक हुन् ।

    लगातार तीन पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे उनीहरुलाई अस्पतालबाट बिदा गर्न परिसरमै पुगेका थिए ।

    नेपालमा निको भएका केही मानिसमा पुनः संक्रमण दोहोरिएको छ । सोहीकारण उनीहरुलाई समेत १४ दिनसम्म क्वारेन्टाइनमै राखिने भएको छ ।

    उनीहरुले विराटनगर छाड्न पाउने छैनन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुमध्ये कै ६ जना डिस्चार्ज भएका हुन् ।

    विराटनगरको कोरोना विशेष अस्पतालमा कूल ३१ जना संक्रमित भर्ना भएका थिए । त्यसमध्ये उदयपुरमा पुष्टि भएका मात्र २८ जना, दुईजना झापा र एक जना भोजपुरका बिरामी हुन् । यससँगै नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या २२ पुगेको छ ।

  • नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

    नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ ।

    यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी समितिले अनुमोदन गर्न भने बाँकि रहेको छ ।

    नेकपामा प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिरहेको छ । तर, भागबण्डामा सहमती भएपछि तत्कालका लागि नेकपा भित्रको विवाद सचिवालयबाटै कम भएको छ ।

    त्यसलाई स्थायी समितिमा छलफल हुन बाँक रहेको छ । यसअघि स्थायी समितिमा लैजाने एजन्डाबारे नेताहरुबीच विभिन्न चरणमा छलफल भइरहेका छन् ।

    मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गरेका थिए ।

    दाहाल र नेपाल समूहका नेताहरु पनि एजेण्डाबारे छलफलमा छन् । पार्टीमा सल्लाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव उचाईमा पुगेको हो ।

  • विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान

    विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान

    काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मत्यु हुने व्यक्तिको संख्या २ लाख ५८ हजार नाघेको छ ।

    बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजारको नेटो कटेको छ ।

    २ लाख ५८ हजार सात जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोनाले सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा गरेको छ ।

    यहाँ ७२ हजार २५० को ज्यान गएको छ । बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले ज्यान गुमाएका छन्।

    अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित रहेको तथ्यांक छ । स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित पुगेका छन् ।

    इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार पुगेको छ । बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्।

    कोरोनाबाट मर्नेको संख्या अब इटलीमा भन्दा बेलायतमा माथि पुगेको छ ।

    रुसमा पछिल्लो समय महामारी बनेको कोरोनाले १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखाइसकेको छ । रुसमा १ हजार ४ सय १५ कोे ज्यान गएको छ। जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

    यहाँ १ लाख ६७ हजार संक्रमित रहेको तथ्यांक छ । भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् । यहाँ ४९ हजार ४ सयमा सक्रमण भएको छ ।

    विश्वभर २१५ देशमा संक्रमण फैलिएको छ । कारोनाबाट ३७ लाख २४ हजार १५१ जना संक्रमित भइसकेका छन्।

    १२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन्। नेपालमा ८२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २१ जना निको भएकोमा ३ जनाको भने संक्रमण बल्झिएको छ ।

  • विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी

    विराटनगर । कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना कोरोना संक्रमितले यस रोगलाई जित्न सफल भएका छन् ।

    विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कूल ३१ जना संक्रमित उपचारार्थ भर्ना भएका छन् । त्यसमध्ये ६ जनामा लगातार तेस्रो नेगेटिभ रिपोर्ट आएको छ ।

    ६ जना व्यक्ति नै भारतीय नागरिक रहेको बताइएकोछ । कोशी अस्पतालका अनुसार निको भएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।

    वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएको हो ।

    नेपालमा यसअघि १६ जना डिस्चार्ज भइसकेकोमा २ जनामा भने फेरी कोरोना बल्झिएको छ । अर्का एक जनाको समेत परीक्षण जारी रहेको छ ।

  • भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै

    भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप देखाइरहेको छ ।

    जहाँ एकै दिन मर्ने र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामा रेकर्ड ब्रेक वृद्धि भएको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टामा १ सय ९५ जनाको ज्यान गएको छ।

    भारतमा कोरोना संक्रमण शुरु भएयता एकै दिन मर्ने यो सबैभन्दा ठूलो आंकडा हो । भारतमा लकडाउन खुकुलो पारिएको छ ।

    त्यसपछि भएको यो मानवीय क्षतिले भारतीय अधिकारीहरुलाई झस्काइदिएको छ ।

    यस मुलुकमा अहिलेसम्म ४६,४३३ जना कोरोना संक्रमित भेटिएका छन् । १ हजार ५ य ५८ जनाको ज्यान गइसकेको छ ।

    भारत नेपालको खुला सिमाना भएको मुलुक हो । सोहीकारण भारतमा कोरोना बढ्दा त्यसको उच्च जोखिममा नेपाल रहने गर्छ ।

  • नेपालमा फैलिएको कोरोनाको छुट्टै अध्ययन गरिदै

    काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरसबारे छुटटै अध्ययन हुने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गरिदैछ ।

    यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल आयोजना गरेको छ ।

    कोरोनाका विभिन्न जिन हुने र नेपालमा कुन प्रकारको जिन फैलिरहेको छ भन्ने पत्ता लगाउन छुटटै अनुसन्धान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार पुष्पराज खनालका अनुसार नेपालमा आएको जिन कस्तो प्रकारको हो भनेर अध्ययन गरिने भएको हो ।

    उनका अनुसार कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य छ ।

    सोहीकारण नेपालमा यसको विशेषताका सम्बन्धमा अध्ययन गर्न लागिएको हो ।

    अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल शुरु गरिएको हो ।

    नेपालमा अधिकांश संक्रमितमा कोरोनाको लक्षण नै देखिएको छैन । परिषद्ले संक्रमितकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने छ ।

    अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारतलगायत अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लाग्नेछ ।

    नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ । चीन, अमेरिका, भारतलगायत मुलुकमा समेत यस्तो अध्ययन शुरु भएको छ ।

  • एक करोड ९ लाख भारु सहित दुई भारतीय नागरिक पक्राउ

    एक करोड ९ लाख भारु सहित दुई भारतीय नागरिक पक्राउ

    विराटनगर । एक खाली ट्रकमा रहेको एक करोड ९ लाख भारतीय रुपैयाँसहित मंगलबार मोरङबाट दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा उक्त पैसा फेला परेको हो ।

    ट्रकबाट अवैध एक करोड नौ लाख ७९ हजार ५ सय ३० भारू फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    पक्राउपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरी भन्सारमा बुझाइने भएको छ । पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेको प्रहरीले जनाएको छ ।

    उनीहरु विराटनगरमा सामान लोड गरेर सिलुगुडीतर्फ लागेको बताइएको छ ।

    नेपालका लकडाउनपछि अवैध रकमको चलखेल समेत शुरु भइसकेको पाइएको छ ।

  • नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

    नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस

    काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    कुल १६ जना उपचारपछि निको भएर घर फर्किएका थिए । तर, उनीहरुमध्ये दुई जनामा कोरोना पुनः देखा परेको पुष्टी भएको छ ।

    थप एक जनामा पनि पुनः संक्रमणको आंशका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर फर्किएका दुई जनामा कोरोना भाइरसको पुनः संक्रमण पुष्टी भएको हो ।

    रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको छ ।

    यता, सनराइज अपार्टमेण्टका एक जनामा समेत पुनः कोरोना देखिएको आंशका छ । उनको परीक्षण भइरहेको छ ।

    रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए ।

    छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

  • बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान

    बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालको एक ठूलो उत्सव बुद्ध जयन्ती प्रभावित भएको छ । यस दिन सरकारले विदेशी पाहुना बोलाएर धुमधामसाथ बौद्ध सम्मेलन मनाउने गरेको थियो ।

    तर, यो वर्ष बुद्ध जयन्ती तथा वैशाख शूल्क पूर्णिमाका दिन तोकिएको सबै औपचारिक कार्यक्रम रद्द भएका छन् ।

    यसको साटो सरकारले वैशाख २५ गते साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

    मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मान र भगवान गौतमबुद्धको सम्झानामा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

    यस वर्ष लुम्बिनीमा भने २४६४ दीप प्रज्वलन गरी गौतमबुद्धको जन्मदिन मनाइदैछ । यस दिन सामाजिक दूरी कायम गरी लामा तथा बौद्धधर्म गुरुहरुबाट मात्र लुम्बिनीमा पूजा तथा प्रार्थना गरिने भएको छ ।

  • विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

    विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

    काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमाथि समस्या बढ्दै गएको छ ।

    खासगरी रोजगारीको सिलसिलामा गएका धेरै नेपाली नागरिकमाथि रोजगारी, स्वास्थ्य तथा अन्य कानूनी समस्याहरु शुरु भइसकेका छन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी बढ्दै गएका कारण विदेशमा नेपालीहरु माथिको समस्या बढ्दै गएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपस्थित भई मन्त्री ज्ञवालीले अहिलेकै अवस्थामा विदेशमा काम गर्ने १० देखि ३० प्रतिशत नेपालीको रोजगार गुम्न सक्ने जानकारी गराएका हुन् ।

    महामारी सिमित अवधि र सिमित क्षेत्रमा रहने अनुमान विपरित यसको फैलावट फराकिलो भएको छ ।

    जसले गर्दा विदेशमा कामदार र विद्यार्थीहरुमाथि समस्या बढेको छ । अर्कोतर्फ हरेक मुलुकले पहिलो प्राथमिकता आफ्ना नागरिकलाई दिने भएकाले समेत आप्रबासी नेपालीमाथि चूनौति बढ्दै गएका हुन् ।

    महामारीका कारण नेपालीको भिसा अवधि सकिने, श्रमिकको कम्पनीसँग करार अवधि सकिने र अवैध हुन पुग्दा कानूनी समस्या देखिने खतरा झन बढेको उनको भनाई छ ।

    कतिपय देशबाट कामदार कटौती गर्ने र रजिस्ट्रेसन सुरु गरेको जानकारी आएको समेत उनले बताए ।

    विदेशमा रहेका संक्रमित नेपालीको भने अहिलेसम्म निःशुल्क उपचार भइरहेको उनको भनाई छ । तर ती देशमा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले घरमै बसेर आराम गर्न सल्लाह दिइरहेको छ । यसले अझ बढी जोखिम निम्त्याएको हो ।

    कोरोना महामारीका कारण विदेशमा नेपाली समस्यामा पर्ने र उनीहरु घर फर्कन चाहेको अवस्थामा मुलुक भित्र व्यवस्थापन अर्को चूनौति रहेको उनको भनाई छ ।

    वैदेशिक रोजगारी गुमाएर फर्किनेहरुका कारण नेपाली श्रम बजारमा गहिरो समस्या पर्न सक्ने चेतावती उनले दिएका छन् ।

    मुलुक भित्र पनि रोजगारी गुमेको र विदेशबाट पनि बेरोजगार यूवा नेपाल आउँदा एकसाथ ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई रहेको छ ।

    सरकारले युवा व्यवस्थापनको तयारी समेत थालेको भन्दै उनले विदेशमा कुनै पनि नेपालीमाथि समस्या नपरोस भनी कूटनीतिक पहल समेत गरिरहेको उनको भनाई छ ।

  • लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष

    लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपालले अहिले लिएकै नीति प्रभावकारी रहेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ ।

    भोली बस्ने मन्त्रीपरिषद्ले सम्भवतः यसको औपचारिक निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको हो ।

    प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार अहिलेको उपाय प्रभावकारी छ भन्ने निष्कर्षमा समिति पुगेछ ।

    लकडाउनका विभिन्न विकल्पबारे मंगलबारको बैठकमा छलफल भएको छ । यद्दपी निर्णयको अधिकार भने मन्त्रीपरिषद्सँग मात्र रहेको छ ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा समन्वय समितिको बैठक बसेको हो । मंगलबार विभिन्न मन्त्रालयले आफ्नो क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री समक्ष ब्रिफिंग समेत गरेका छन् ।

    मन्त्रालयहरुले भने अब जोखिमपूर्ण र कम जोखिमपूर्ण क्षेत्र छुट्याएर सोही आधारमा क्रमशः लकडाउन खोल्नुपर्ने विकल्प सरकालाई दिएका छन् ।

    नेपालमा ११ चैतबाट लकडाउन शुरु भएको हो । पछिल्लो समय थपिएको लकडाउनको अवधि २५ वैशाख राती १२ बजेपछि समाप्त हुन्छ ।

    यस अवधिमा नेपालमा कूल ८१ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

  • संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै

    संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै

    काठमाडौं । पश्चिमा मुलुकहरु मास्कलाई त्यति निको मान्दैनन् । किनकी यसको प्रचलन चीनबाट शुरु भएको हो । चीनले नै यसको व्यापाक प्रचार गरेको हो ।

    सोहीकारण जर्मनीलगायत कतिपय मुलुकमा मास्कको सार्वजनिक प्रयोगमा समेत प्रतिवन्ध थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै अब त्यो मान्यता कायम रहेन ।

    संसारभर मास्क अनिवार्य भएको छ । अब हवाई यात्राका दौरानसमेत मास्क अनिवार्य गर्ने तयारी थालिएको छ ।

    कम्पनीहरुले आफ्ना यात्रुका लागि त यस्तो नियम ल्याइसकेका छन् । तर, अब अन्तराष्ट्रिय रुपमै यसको अनिवार्य प्रयोगमा जोड दिने तयारी थालिएको । कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा ठूलो सङ्कट उड्ययन र होटेल क्षेत्रमा परेको छ ।

    अब हवाई यात्रुले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

    अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीति र निर्देशनको तयारी गरेका छन् ।

    विश्वका अरू मुलुकका वायुसेवामा समेत यसको प्रारम्भ भइसकेको छ । नेपालमा बुद्ध एयरले समेत सुरक्षा निर्देशिकामार्फत मास्क अनिवार्य गरेको छ ।

    अहिले संसारभर ९० प्रतिशत अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द छन् । अप्रिलपछि भने धेरै जसो कम्पनीले उडान थाल्ने योजना बनाएका छन् ।

    अमेरिकाको डेल्टा एअरलाइन्सका अनुसार चेक इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने नियम ल्याएको छ ।

    अमेरिकन एअरलाइन्स र युनाइटेडमा समेत चालकदल र यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याएका छन् ।