Author: Vishwanews.com

  • कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा

    कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट कोरोलाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने भएको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरानाले शिथिल पारेको अर्थतन्त्रलाई पुरानै गति दिने गरी नीति तथा बजेट बनिरहेको छ ।

    आइतवार राष्ट्रिय तथा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

    उनका अनुसार रोजगारीमा परेको प्रभाव कम गर्न कृषि, साना तथा घरेलु उद्योगको प्रवद्र्धन हुने गरी नयाँ बजेट आउनेछ ।

    पर्यटनसहित अतिप्रभावित क्षेत्रलाई सहुलियतको प्याकेज ल्याइने भएको छ । ठूला र युगान्तकारी परियोजनाले बजेट पाउने भएका छन् ।

    कोरोनाको कारण निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गरिन भएको छ ।

    जनताको द्रुत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने समेत उनले जानकारी दिए ।

    आन्तरिक पर्यटनका गतिविधिमा जोड दिइने भएको छ । हवाई पूर्वाधार निर्माणले पनि प्राथमिकता पाउने भएको छ ।

    सरकारको प्राथमिकतामा विकास सहायता परिचालन गर्ने, मूल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, बैंकिङ प्रणालीलाई उत्पादनमुखी तुल्याउने, रोजगारी गुमाएकालाई रोजगारी दिने, साना उद्यमलाई प्रवर्द्धन गर्ने, सिपमुलक तालिमहरु सञ्चालन गर्दै सबैलाई उत्पादनसँग जोड्ने र वैदेशिक रोजगारीमा देखिएको चुनौती पर्ने छ ।

    करको दायरा बढाएर स्रोतको खोजी गर्ने, वैदशिक सहायता परिचालनलाई समेत प्राथमिकता दिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

  • लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल

    लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल

    काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् ।

    नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् ।

    शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता नेपालबाट ४ हजार ८ सय ७४ जना विदेशी नागरिकले नेपाल छाडेका हुन् ।

    व्यवसायिक उडानमा प्रतिवन्ध लागेपनि नेपालबाट बाहिर जाने विदेशीका लागि चार्टर्ड उडानको भने अनुमति दिइएको छ ।

    यस अवधिमा ५१ वटा विशेष उडान भएको अध्यागमन विभागको तथ्यांक रहेको छ । त्यसमध्ये १७ कार्गो र ३४ यात्रु उडान भएका छन् ।

    नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर सम्बन्धित मुलुकले फिर्ता लगेका हुन् ।

    यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६ सय ६६ नागरिक स्वदेश फर्किएका छन् । जर्मनीका ६ सय ५६, अमेरिकाका ५ सय ३५, फ्रान्सका ४ सय २५, क्यानाडाका ३ सय २२, अष्ट्रेलियाका २ सय ३६, नेदरल्यान्डका १ सय ७६, दक्षिण कोरियाका १ सय ६३ र जापानका १ सय ६२ नागरिक फिर्ता गएका छन् ।

    यसैगरी स्पेनका १ सय ३४, स्विट्जरल्यान्डका १ सय १४, इटालीका १ सय १३, रसियाका १ सय ४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलंकाका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५–४५ तथा भुटानका ४४ नागरिक स्वदेश फर्केका छन् ।

    यस्तै, डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हंगेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१, २१ जनासमेत आफ्नो देश गएका छन् ।

  • निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार

    निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार

    काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ ।

    राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढले विमानस्थलका लागि बन्ने सो सडकका लागि तोकिएको क्षेत्रमा उक्त संख्यामा रुख कटान गर्नुपर्ने संख्या तय गरेको हो ।

    बुधबार निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको बैठक बसेको थियो । यो समितिले रुख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    यो समितिको संयोजक पर्यटन मन्त्री योगेश भट्टराई छन् । यो स्वीकृति मन्त्रिपरिषद्बाट मिल्नासाथ पेरीफेरी रोड निर्माणको बाटो खुल्नेछ ।

    समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्वरीङ कार्य समेत तत्काल अघि बढाउने निर्णय गरेको छ ।

    बैठकले २०७४ भाद्र १९ गते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्रमा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित काम अगाडी बढाउने निर्णय समेत गरेको छ ।

    समितिको चौथो बैठकले २०७६ माघ २ मा वस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आफ्नो कार्य जिम्मेवारी बमोजिमका कार्य यथाशिघ्र अगाडि बढाइ त्यसको प्रगति प्रतिवेदन १० दिन भित्र समिति समक्ष पेश गर्ने निर्णय समेत भएको छ ।

    निजगढ विमानस्थल निर्माण गर्न स्रोतको व्यवस्थापनका सम्बन्धमा समेत समितिले चासो लिएको छ ।

    विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक(निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया समेत छिटो सक्ने निर्देशन दिएको छ । निगजढ विमानस्थल नेपालको राष्ट्रिय गौरको आयोजना हो ।

  • सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड

    सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण विरुद्ध एक्सनमै जानुपर्ने धारणा राखेका छन् ।

    त्यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । दार्चुलामा भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा बहस व्यापक भएको छ ।

    यसै सन्दर्भमा आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रचण्डले सरकारले दिने वक्तव्यले मात्र सबै जिम्मेवारी पुरा नहुने स्पष्ट पारे ।

    उनले चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठीक भएपनि अब एक्सन पनि ठिक तरिकाले लिनु पर्ने सुझाव दिए ।

    उनीभन्दा अगाडी बोलेका सांसदले सरकारले चिठी र वक्तब्य मात्र निकाल्ने तर, काम गर्न नसक्ने आरोप लगाएका थिए ।

    प्रचण्डले एक्सन आवश्यक रहेको विषयमा आफू सहमत रहेको उल्लेख गरे । उनले लिपुलेक तथा जहाँजहाँको सीमामा विवाद छ त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको समेत उल्लेख गरे ।

    लिपुलेकको विषय भने भारत र चीनको सम्झौताका आधारमा भएको भन्दै यो त्रिदेशिय मुद्दा भएको समेत उनले उल्लेख गरे ।

    यो समस्या तीन वटै मुलुक मिलेर गर्नुपर्नेमा उनको जोड छ । प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने सोच्नुपर्ने बताए।

    यो विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने उनको भनाई छ ।

  • आइतबार दुई जना कोरोना संक्रमित निको भए

    आइतबार दुई जना कोरोना संक्रमित निको भए

    विराटनगर । आइतबार दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै नेपालमा अब कोरोनालाई जित्ने बिरामीको संख्या ३२ पुगेको छ ।

    आइतबार झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएको कोशी अस्पतालले जनाएको छ ।

    दुबै जना विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । अब भोजपुर पनि कोरोनामुक्त भएको छ ।

    भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो। उनी गत फागुनको अन्तिम साता साउदीबाट नेपाल आएका थिए।

    झापाका पुरुषमा वैशाख १४ गते संक्रमण देखिएको थियो। उनी भारतको दिल्लीबाट आएका थिए। नेपालमा १ सय १० जनामा संक्रमण पुष्टी भइसकेको छ ।

  • भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

    भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

    काठमाडौं । पश्चिम नेपालमा भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

    संसद सचिवालका अनुसार नेकपा सांसद रामकुमारी झाक्री ,गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्टलगायत संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

    उनीहरुले महाकाली नदी पारीको नेपाली भूमि फिर्ता लिन माग गरेका छन् । भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरी संचालनमा ल्याएपछि यतिबेला नेपाल र भारतको सम्बन्ध फेरी चिसिएको छ ।

    भारतले उक्त भूमि आफ्नो भएको दावि गरेको छ भने नेपालले भने आफ्नो भूमिमा भारतले सडक बनाएको दावि गरेको छ ।

    दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

  • नेपालमा पीसीआर परीक्षणको दायरा बढाइयो

    काठमाडौं । नेपालमा कोरोना परीक्षणका लागि पीसीआर विधिको दायरा बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यस विधिबाट गरिएको परीक्षणबाट यकिन तथ्य प्राप्त हुनछ ।

    नेपालमा अहिलेसम्म १६ हजार ८ सय ९८ जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ।

    सरकारले चीनर स्वीटरल्याण्डबाट पीसीआर कीट आएपछि यसको परीक्षणलाई बढाएको हो ।

    अहिले विदेशबाट फर्किएका, संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेका व्यक्ति र जोखिमपूर्ण क्षेत्रलाई लक्षित गरी कोरोनाको परीक्षण बढाइएको छ ।

    नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ । पछिल्लो २४ घण्टामा भने नयाँ संक्रमित देखा परेनन् ।

    अहिलेसम्म ७८ पुरुष र ३२ जना महिलामा कोरोना देखिएको छ । प्रदेश १ मा ३५, प्रदेश २ मा ३१ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ ।

    गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टी भएको छ । उनीहरुमध्ये ३१ जनाले कोरोनालाई जितिसकेका छन् ।

    अहिले वीरगञ्जमा २७, विराटनगरमा २१, बुटवलमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जनाको उपचार भइरहेको छ ।

    त्यसैगरी काठमाडौंमा ३ र काठमाडौं बाहिर १ सय ६१ गरी १ सय ६४ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

  • संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु

    संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या संसारभर करीव ४१ लाख पुगेको छ । यस रोगको संक्रमणबाट ज्यान गुमाउने व्यत्तिको संख्या पनि करीव ३ लाख पुगेको छ ।

    तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभर ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ । २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ।

    यस रोगलाई पराजित गर्ने बिरामीका संख्या १४ लाख ३५ हजार ३ सय ११ रहेको छ । अझै ४७ हजार ६ सय ९० जना बिरामी भने गम्भीर अवस्थाबाट गुज्रिरहेका छन् ।

    पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ।

    यहाँ ८० हजार ३० जनाको ज्यान गएको हो । २४ घण्टामा एक हजार चार सय २१ जनाको ज्यान गएको छ ।

    अमेरिकी सञ्चारमाध्यहरुका अनुसार अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ २ लाख ३७ हजार भन्दा बढी निको भएका छन्।

    त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ। बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ।

    बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ।

    स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ। त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ।

    चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ। त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन्।

    भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ। त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ। नेपालमा ११० जनामा संक्रमण पुष्टी भएको छ । ३२ जना निको भएका छन । यहाँ मानवीय क्षति छैन ।

  • नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

    नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

    काठमाडौं । कोरोना भाइरसका विश्वव्यापी महामारीका बीच नेपाल तुलनात्मक रुपमा सुरक्षित छ ।

    किनकी अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टी भएपनि ३२ जना डिस्चार्ज भइसकेका छन् । अन्यको पनि स्वास्थ्य अवस्था सामान्य छ ।

    अधिकांशलाई कोरोनाको लक्षणसम्म देखिएको छैन । तर, नेपाल बाहिर भने नेपालीले ज्यान गुमाउने संख्या निरन्तर बढ्दो रहेको छ ।

    कोरोना भाइरसका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ ।

    विश्वभर पाँच हजार ५ सय ८१ जना नेपालीमा कोरोना संक्रमण भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाली बेलायतमा ज्यान गुमाउन बाध्य भएका छन् ।

    यहाँ अधिकांश पूर्वगोर्खा सैनिकको ज्यान गएको छ । यस मुलुकमा ५१ जना नेपालीको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ ।

    समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक, एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

    कोरोना भाइरसका पछिल्लो एक सातामा ५ जना नेपालीले ज्यान गुमाएका हुन् । बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक,एकजना नेपालको ज्यान गएको हा ।

    नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

    त्यसमध्ये २ हजारभन्दा बढी नेपालीले कोरोनालाई जित्न सफल भएका छन् । तर, पछिल्लो केही सातायता विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति भने क्रमः कम हुँदै गएको छ ।

    यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको संघले जनाएको छ ।

    विश्वका ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । २० मुलुकमा रहेका नेपालीहरु कोरोना भाइरस बाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी स्पेन र अष्ट्रेलियामा १२\१२ जना तथा जापान र क्यानडामा १०\१० जना नेपाली संक्रमित छन् ।

    बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४\४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

    यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३\३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २\२ जना तथा म्यानमार र फ्रान्समा १\१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

  • आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड

    आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड

    काठमाडौं । सडकमा सवारी चाप बढ्न थालेसँगै गृह प्रशासनले आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरेको छ ।

    अब तोकिएको समयमा तोकिएको संस्थाका सवारी साधनले मात्र गुड्न पाउन भएका छन् । त्यसबाहेक अन्य समयमा गुडेको पाइए कारवाही हुने भएको छ ।

    जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरी टाइम कार्ड तोकिएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले यस्तो निर्णय गरेको छ ।

    जसले गृह मन्त्रालयबाट समेत स्वीकृति मिलेको हो । नयाँ नियम अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।

    यस अवधिमा मात्र सरकारी कर्मचारीले तोकिएको सवारी साधन चलाउनु पर्नेछ । तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा अगाडी नै ढुवानी भ्याउनु पर्छ ।

    बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने गरी नियम बनाइएको छ ।

    त्यसबाहेकका समयमा निस्कन परेमा भने प्रहरीको अनुमति आवश्यक पर्ने भएको छ ।

    खुलेका संस्थाले समेत सामाजिक दुरी कायम गरेर मात्र सेवा प्रदान गर्नुपर्ने नियम छ ।

  • शनिबार साँझ उदयपुरमा थपिए एक संक्रमित, कूल बिरामी ११०

    शनिबार साँझ उदयपुरमा थपिए एक संक्रमित, कूल बिरामी ११०

    विराटनगर । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या ११० पुगेको छ ।

    शनिबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरले जनाएको छ ।

    यसअघि शनिबार बिहान ७ जनामा कोरोना पुष्टी भएको थियो । जसअनुसार शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ ।

    शनिबार बिहान उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३२ जना भने निको भएर घर फर्किएका छन् । जसमा २ जनामा बल्झिएको छ ।

  • नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण

    नेपालमा ७२ हजार २ सय ३९ मा कोरोना परीक्षण

    काठमाडौं । नेपालमा ७२ हजार २ सय ३९ नमुनामा कोरोना परीक्षण भएको छ । सरकारले हालसम्म देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५५ हजार ९ सय ३० वटा र पिसिआर विधिमार्फत १६ हजार ३ सय ९ वटा गरी कुल ७२ हजार २ सय ३९ वटा परीक्षण गरिएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार ७ सय ४२ वटा परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सबैभन्दा धेरै सुदुरपश्चिम र बागमति प्रदेशमा नमुनाको परीक्षण् भएको छ ।

    सबैभन्दा कम भने प्रदेश नं १ मा भएको छ । शनिबारसम्म देशभर क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना छन् ।

    देशभर सम्भावित संक्रमित र संक्रमित गरी १ सय ४३ जना आइसोलेशनमा छन्। नेपालमा कूल १ सय ९ जनामा कोरोना पुष्टी भएको छ ।

  • सिंहदरबार अगाडी प्रहरीमाथि हातपात गर्ने चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा

    सिंहदरबार अगाडी प्रहरीमाथि हातपात गर्ने चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा

    काठमाडौं । लकडाउनकै बीचमा सिंहदरबार अगाडी पुगेर धर्ना दिने, निषेधित क्षेत्र तोड्ने र प्रहरीमाथि हातपात गने चिनियाँ नागरिकमाथि अभद्र व्यवहारमा मुद्दा चल्ने भएको छ ।

    शुक्रबार सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच घम्साघम्सी भएको थियो । त्यसक्रममा ३३ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

    उनीहरुमध्ये ४ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएका छ । ४ जनाले प्रहरीको बर्दी समात्ने तथा हातपात गरेका थिए ।

    लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने माथि अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको हो ।

    महानगरीय प्रहरी परिसरले आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने भएको छ । ४ जनाबाहेक अन्य सबै भने छुटिसकेका छन्  ।

    प्रहरीका अनुसार ४ जनामध्ये गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ ।

    चिनियाँ नागरिकले घर जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

  • लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

    लिपुलेकमा भारतले सडक बनाएपछि सरकारले भन्यो : सीमा क्षेत्र एकलौटी प्रयोग गर्न मिल्दैन

    काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएको छ । यसले भारत र चीनसँग सडक मार्गले जोडिएको छ । शुक्रबार भारत सरकारले यो सार्वजनिक गरेको थियो ।

    यस विषयमा नेपाल भित्र भारतको व्यापक विरोध शुरु भएको छ । विरोधका बीच सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले भारतले नेपाली भूमि हुँदै सडक खनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

    नेपालले सन् १८१६ को सुगौली सन्धिबारे समेत भारतलाई सम्झाएको छ । काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने नेपाल सरकारले स्पष्ट पारेको छ ।

    यस सम्बन्धमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद पक्ष भएको परराष्ट मन्त्रालको भनाई रहेको छ ।

    सीमामा रहेका विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने नेपालको धारणा रहेको छ ।

    यस विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने नेपाल सरकारका स्पष्टोक्ती रहेको छ । नेपाल सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता लिन समेत माग गरेको छ ।

    यसअघि सन २०१५ मा भारत र चीनले नेपालको भूमि हुँदै सडक पुर्‍याउन सहमति गरेका थिए । यस विषयको सो समयमा समेत नेपालले विरोध जनाएको थियो ।

    परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा सिमानामा भएका गतिविधिबारे तत्कालै कुटनीतिक छलफलको माग गरेको छ ।

  • ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो

    ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बारे पुन विष वमन गरेका छन् । उनले यो संगठन चीनको कठपुतली भएको पुन दोहोर्याएका हुन् ।

    उनले डब्लूएचओबारे नयाँ घोषणा गर्ने समेत चेतावनी दिएका हुन् । उनले डब्लूएचओले चीनका लागि मात्र काम गरिरहेको उल्लेख गरेका छन् ।

    डब्लूएचओलाई चीनको कठपुतली भएको भन्दै उनले संगठनबारे छिट्टै नयाँ घोषणाको तयारी गरिएको उनले बताए ।

    ट्रम्पले यसअघि पनि डब्लूएचओमाथि चीनलाई सघाएको आरोप लागेको थियो ।

    त्यसबेला उनले डब्लूएचओमाथि सहयोग रोक्ने समेत चेतावनी दिएका थिए । चीनको पक्ष लिएर अमेरिका र अन्य देशलाई गलत सुझाव दिएको ट्रम्पको आरोप छ ।

    शुक्रबार फक्स न्युजलाई दिएको अन्तर्वाताका क्रममा ट्रम्पले संगठन आफ्नो उद्देश्यमा चुकिरहेको उल्लेख गरेका हुन् ।

    संगठनलाई उनले असक्षमको संज्ञा समेत दिए । उनले संगठनलाई दिइएको अनुदान कटौतीको सकेत गरेका छन् ।

    डब्लूएचओलाई अमेरिकाले ठूलो सहयोग गर्दै आएको छ । हरेक वर्ष डब्लूएचओलाई ५०० मिलियन डलर दिँदै आएको छ ।

    एजेन्सी

  • आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

    आइतबारबाट उपत्यकामा सबै सरकारी कार्यालय सूचारु

    काठमाडौं । ११ चैतयता लकडाउनका कारण घरमै बसेका सरकारी कर्मचारी अब आइतबार बाट नियमित कार्यालय जानु पर्ने भएको छ ।

    सरकारले निजी क्षेत्रतर्फ धेरैजसो क्षेत्र सन्चालनको निर्णय गरेपछि सरकारी कर्मचारीलाई पनि कार्यालय बोलाएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुनेछन् ।

    कार्यालय सूचारु भएपनि कर्मचारीको उपस्थिति भने प्रभावित हुन सक्नेछन् ।

    बुधबार मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेको हो । सोहीकारण सरकारी कार्यालयहरुले पनि आइतबारदेखि नियमित काममा हाजिर हुन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

    यो समय बजेट निर्माणको हो । नेपालका ५ जेठसम्म लकडाउन जारी छ । यसबेला बीना काम भने घरबाहिर निस्क्न पाइदैन ।

  • नेपालमा थपिए सात संक्रमित, १ सय ९ जनामा पुष्टी

    नेपालमा थपिए सात संक्रमित, १ सय ९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा सात कोरोना संक्रमित थपिएका छन् । अब नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा नयाँ संक्रमित पुष्टी भएका हुन् ।

    यी स्थान पछिल्लो केही दिनयता कोरोना देखिएको रुथान हुन् । मन्त्रालयका अनुसारउदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलामा कोरोना देखिएको छ ।

    कपिलवस्तुमा १७ र १८ वर्षका पुरुष र पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना देखिएको हो ।

    मन्त्रालयका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालउले जनाएको छ । नेपालमा ३२ जना भने निको भएर घर फर्किसकेका छन् ।

  • मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

    मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

    क्वालालाम्पुर । मलेसियाबाट घर फर्कन करीव २६ सय नेपाली आतुर रहेको पाइएको छ । मलेसियास्थित नेतापली दूतावासले गरेको अनलाइन तथ्यांक संकलनका क्रममा २६ जनाले घर फर्कन चाहेको जानकारी गराएका छन् ।

    शुक्रबारसम्म २६ सय जना घर फर्कन आतुर रहेको पाइएको छ । दूतावासले आफुलाई परेको समस्यासहित फारम भर्न आग्रह गरेको थियो ।

    मलेसियामा २० जना नेपाली नागरिकलाई कोरोना भाइरस समेत पुष्टी भइसकेको छ । मलेसियाले सबै गैरकानूनी कामदारलाई घर फर्कन आदेश समेत दिइसकेको छ ।

    मलेसियामा सङ्क्रमित नेपालीमध्ये तीन जना निको भइसकेका छन् । अन्य व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

    उनीहरुको उपचार खर्च मलेसियन सरकारले बेहोरिरहेको छ । मलेसियामा रहेका सबैले अनलाइनमार्फत समस्या टिपाउन सकिने गरी सर्वेक्षण थालिएको हो ।

    यसबाट मलेसियामा रहेका नेपालीको यकिन तथ्यांक समेत प्राप्त हुने अपेक्षा गरिएको छ ।

    जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएका व्यक्ति मलेसियाले लकडाउन खोलेको १४ दिनभित्र उक्त मुलुक छाड्नुपर्छ ।

    मलेसियाले आफ्नो कानून अनुसार मुलुक छाड्न भनेको छ । तर, नेपालमा भने तत्काल हवाई उडान खुल्ने सम्भावना छैन ।

    जसले गर्दा धेरै नेपाली समस्यामा पर्ने देखिएको छ । मलेसियामा मे १२ सम्म मात्र लकडाउन तोकिएको छ ।

  • ५० दिनपछि खुल्ने भयो शेयर कारोबार

    ५० दिनपछि खुल्ने भयो शेयर कारोबार

    काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसँगै शेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ३० वैशाख (मंगलबार) बाट शेयर बजार सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

    यससँगै ५० औं दिनपछि शेयर बजार पुनः सूचारु हुने भएको हो । ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि शेयर बजार समेत ठप्प भएको थियो ।

    बोर्डमा शुक्रबार सरोकारवालाको छलफल भएको थियो । छलफलले पहिलो चरणमा शेयर बजार कारोवार दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउने निर्णय भएको हो ।

    बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था मिलाइने भएको छ ।

    धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने समेत निर्णय गरिएको छ ।

    आगामी साउनदेखि भने पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गर्ने तयारी समेत भएको छ ।

    अब नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द हुने गरी सर्किट ब्रेक लाग्नेछ । यो भने बजारमा हुन सक्ने अधिक चलखेल रोक्न ल्याइएको हो ।

  • भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

    भारतमा कोरोनाबाट ज्यान गुमाउने झण्डै २ हजार पुगे

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको आंकडा हरेक दिन उकालो लागिरहेको छ ।

    शुक्रबारसम्मको तथ्यांक अनुसार त्यहा १ हजार ८ सय ८६ जना व्यक्तिको कोरोनाका कारण ज्यान गएको हो । यस मुलुकमा कोभिड–१९ बाट संक्रमितको संख्या भने ५६ हजार ३४२ पुगेको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजार ५३९ जना रहेको छ ।

    भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । यहाँ १८ हजार १२० नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    गुजरातमा ७ हजार १३ जनामा कोरोना भाइरस देखिएको छ । दिल्लीमा ५ हजार ९८० जना संक्रमित रहेका छन् ।

    भारतमा अहिले लकडाउन खुकुलो पारिएको छ । शर्तसहित व्यवसाय संचालनमा आउन लागेको छ ।

  • भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु

    भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु

    महाराष्ट्र । भारतमा रेलको पटरीमा सुतेका मजदुरमाथि रेल गुडेको छ । भारतको महाराष्ट्रस्थित औरंगाबादमा मालबाहक रेल मजदुरमाथि गुडेको हो ।

    यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका थिए ।

    बिहान ६ बजेको घटना हो । उनीहरु भुसावलतर्फ गइरहेका, पैदल हिँडिरहेका र थकानका कारण पटरीमै सुतेका थिए ।

    त्यसैसमय अकस्मात आएको रेल उनीहरुमाथि गुडेको हो । भारतमा कमाइका लागि गाउँदेखि शहर पसेका आप्रबासी कामदार घटनामा परेको बताइएको छ ।

    भारतमा लामो लकडाउनका कारण गाउँ फर्कन पैदल हिँड्दै थिए । भारतमा रेलसेवा बन्द भएपनि कार्गोरेल अकस्मात आएका कारण घटना भएको बताइएको छ ।

    घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । यसको अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

    भारतमा रेलसँग जोडिएका दूर्घटनाका कारण वर्षेनी हजारौं मानिसको ज्यान जाने गरेको छ ।

  • रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

    रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

    मस्को । कोरोना भाइरसको चपेटामा आइरहेको रुसमा रहेक दिन १० हजार माथिको संक्रमण पुष्टी भइरहेको छ ।

    यो क्रम पछिल्लो ६ दिन देखि जारी रहेको छ । रसियामा पछिल्लो २४ घण्टामा मात्र १० हजार बढी कोरोना भाइरसका संक्रमित पुष्टी भएका छन् ।

    शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार २४ घण्टा भित्र १० हजार ६ सय ९९ जना बिरामी थपिएका हुन् ।

    यसरी १० हजार माथि बिरामी थपिएको शुक्रबार छैटौं दिन हो । बिहीबार एकै दिन ११ हजार २ सय ३१ जनामा कोरोना भाइरस पुष्टी भएको थियो ।

    रुसमा अहिलेसम्म १ लाख ८७ हजार ८ सय ५९ जनामा कोरोना भाइरस पुष्टी भएको छ । शुक्रबारसम्म रुसमा १ हजार ७ सय २३ जनाको ज्यान गइसकेको छ ।

    २६ हजार ६ सय ८ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् ।

    अहिले यूरोपमा अन्य मुलुकमा भने कोरोना धेरैहद सम्म नियन्त्रणमा आइसकेको छ । तर, रुस, अमेरिका र भारतमा यसको तिब्र फैलावट जारी रहेको छ ।

  • नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज

    नेपालमा शुक्रबार एक जना संक्रमित थप, ९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोनाले घातक असर गरेको छैन । शुक्रबार मात्र ९ जना बिरामी एकै पटक डिस्चार्ज हुनुबाट पनि यसको पुष्टी भएको छ ।

    शुक्रबार कोशी अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका ८ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।

    यससँगै अब सुदूरपश्‍चिम प्रदेश कोरोना मुक्त भएको छ ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमण निको भएर शुक्रबार घर फर्किएसँगै सुदूरपश्‍चिम हाललाई कोरोना संक्रमित हुनेबाट शून्यमा झरेको हो।

    यहाँ ५ जनामा कोरोना देखिएकोमा ५ जना नै निको भएर घर फर्किएका छन । यता, विराटनगरमा डिस्चार्ज भएका भने उदयपुरमा कोरोना देखिएका मानिस हुन् ।

    उनीहरुमध्ये १ जना भारतीय रहेका छन् । शुक्रबार नै थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    अब नेपालमा कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ।

    नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष हुन् ।

    नेपालमा अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला छन् । शुक्रबार डिस्चार्ज भएका ९ जनासँगै अब नेपालमा निको हुने बिरामीको संख्या ३१ पुगेको छ।

  • बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

    बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले बिदेशमा अफ्ठ्यारो अवस्थाका रहेका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गरेका छन् ।

    शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले विदेशमा नेपाली कोरोनाबाट प्रताडित रहेको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य रहेको बताए ।

    उनले यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरी संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न माग गरेका छन् ।

    देउवाले कोरोनाको परिस्थिति विश्लेषण गर्दै गम्भीर रुपले अघि बढ्न समेत सरकारलाई सुझाव दिए । उनले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन माग गरेका हुन् ।

     

    कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको स्वास्थ्य लाभको कामना समेत देउवाले गरे ।

    उनले स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेका स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्ने बताए ।

    अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको समेत उनले प्रशंसा गरेका थिए ।

    कोरोनाका कारण उत्पन्न अनेक जटिलता असीम धैर्य साथ सामना गरिरहेका स्वदेश र विदेशका समस्त नेपालीको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न समेत उनले आह्वान गरेका छन् ।

     

    उनले लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पारेको उल्लेख गरे । सरकारले पर्याप्त राहत नदिँदा हजारौं श्रमिक पैदल हिँडेर गाउँ फर्किएको उनको भनाई छ ।

    सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको तर्क नभएको समेत बताए ।

    श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीदेखि साना व्यापारी हुँदै उद्योगी व्यवसायीसम्मलाई विविध ढंगले राहत दिने बृहत्तर प्याकेज ल्याउन उनले आग्रह गरे ।

     

    सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप उनले लगाए ।

  • सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ

    सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ

    काठमाडौं । नेपालबाट चीन फिर्ता हुन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ ।

    लकडाउनपछि नेपालमै अड्किएका चिनिया नागरिकले पैसा सकिएको र आफुहरु स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् ।

    सिंहदरबार अगाडी निषेधित क्षेत्रमा भेला भएर प्रदर्शन गरेका उनीहरुले प्रहरीमाथि नै जाइलागेका थिए । त्यसपछि प्रहरीले लाठिचार्ज गरेको थियो ।

    विहीबार दुई वटा जहाजले ३ सय भन्दा बढी चिनियाँ नागरिकलाई घर फर्काएको थियो । तर, नेपालमा छुटेका चिनियाँ भने प्रदर्शनमा उत्रिएका थिए ।

    लकडाउन समयमा निषेधित क्षेत्र नै तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो । तर, चाइनिजहरु भने हातपातमा उत्रिएका थिए ।

    महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक भेला भएका थिए ।

    हातपातमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्रिएको छ ।

    झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

  • शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

    शुरु भयो बजेट अधिवेशन, भट्टराईले मागे प्रधानमन्त्रीको राजिनामा

    काठमाडौं । बजेट अधिवेशन शुरु भएको छ । कोरोना भाइरसको त्रासका बीच पूर्ण सृुरक्षा सचेतना अपनाएर शुक्रबारबाट संसदको अधिवेशन प्रारम्भ भएको हो ।

    बजेट अधिवेशनको पहिलो दिन नेताहरुले आफ्नो धारणा राखे । त्यसक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताए ।

    उनले जीर्ण शरीरलाई आराम दिन समेत प्रधानमन्त्री समक्ष अपिल गरे ।

    उनले संसदमा प्रधानमन्त्रीले केही दिन अगाडी गरेको हर्कतको प्रसंग निकाल्दै दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।

    उनले यस कदमलाई लोकतन्त्रविरोधी हर्कतको समेत संज्ञा दिए ।

    सांसद अपहरण काण्डमा समेत प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको प्रसंग निकाल्दै उनीहरु विरुद्ध प्रहरीले जाहेरी नलिन गलत भएको उनको भनाई छ ।

    प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी खालका गम्भीर गतिविधि भइरहेको उनको भनाई छ ।

    उनले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री समक्ष आग्रह गरेका हुन् ।

    उनले ६०, ६५ वर्ष उमेर कटेका व्यक्ति प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउने भन्दै उनले युवापुस्तालाई अवसर दिने वातावरण बनाउनु पर्ने समेत उल्लेख गरे ।

  • जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु

    जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु

    काठमाडौं । कोरोनाको कहरबीच केही सुखदः समाचार आउन थालेका छन् । कुनै समय कोरोनाबाट सबैभन्दा प्रताडित भएको यूरोप र त्यसमा नि जर्मनीले अब राष्ट्रिय फूटबल लीग संचालनको तयारी गरेको छ ।

    जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय भएको हो ।

    जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेस लिगा १६ मेबाट सुरु हुने जानकारी गराएको हो ।

    कोरोनाको फैलावटसँगै मध्य फेब्रुअरीपछि प्रतियोगिता अनिश्चित बनेको हो । अब खेलाडीलाई मैदान प्रवेशका लागि अनुमति दिइएको छ ।

    जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबारबाट प्रतियोगिता सुरु हुने बताएका छन् ।

    उनका अनुसार पहिलो दिन ६ वटा खेल खेलाइने भएको छ । जर्मनी लीग स्थगन पछिको पहिलो भिडन्तमा डर्बीद्वय साल्के र बोरुसिया डर्टमुन्डबीच खेल हुने छ ।

    आइतबार साविक विजेता बार्यन म्युनिखले युनियन बर्लिनविरुद्ध प्रतिस्पर्धा गर्ने छ। सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ।

    जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगाको अवरुद्ध सिजन पुनः सुरु गर्ने घोषणा गरेकी थिइन् । कोरोना करीव नियन्त्रणमा आएको भन्दै जर्मनीले लकडाउन समेत खुकुलो पारिरहेको छ ।

  • आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम

    आजबाट बजेट अधिवेशन, ४ जेठमा नीति तथा कार्यक्रम

    काठमाडौं । आजबाट सङ्घीय संसद्को छैटौँ अधिवेशन शुरु हुने भएको छ । शुक्रबार ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ ।

    बजेट अधिवेशनका दौरान सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने गर्छ । सरकारले ४ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

    शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाइने भएको छ ।

    आागामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

    जेठ १३ मा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण आउने छ ।

    जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।

  • उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज

    उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज

    विराटनगर । नेपालमा कोरोना संक्रमणको दर तुलनात्मक रुपमा सुस्त छ । त्यसमा पनि कोरोनाबाट रिकोभर हुनेको संख्याले समेत उत्साहित बनाइरहेको छ ।

    उदयपुरको भुल्केबाट कोरोना संक्रमित पुष्टी भई बिराटनगरमा उपचार गराइरहेका थप ८ जना आज डिस्चार्ज हुँदैछन् ।

    लगातार तेस्रो पटकको परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो । ८ जना मध्ये एक जना भने भारतीय नागरिक हुन् ।

    विराटनगरको कोशी अस्पतालले आज उनीहरुलाई बिदाई गर्दैछ । अब नेपालमा कोरोना जित्ने संक्रमितको संख्या ३० पुगेको छ ।

    जसमा दुई जनामा फेरी संक्रमण बल्झिएको छ । कोशी अस्तपालबाट यसअघि ६ जना डिस्चार्ज भइसकेका छन् ।

    उदयपुरमा मात्र २८ जनामा संक्रमण पुष्टी भएको थियो । त्यसमध्ये १५ जना निको भएका हुन् । अझै १३ जना अस्पतालमा छन् ।

    उनीहरुको समेत स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

  • कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

    कपिलवस्तुमा लुकिछिपी नेपाल छिरेका दुई जनामा देखिएयो कोरोना

    काठमाडौं । बिहीवार कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी दुई युवा एक साता अगाडी मात्र खुला सीमानाको फाइदा उठाउँदै लुकिछिपी नेपाल छिरेको पाइएको छ ।

    १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि मात्र कपिलवस्तु आएका थिए । उनीहरु भारतबाट आएको थाहा पाएलगत्तै स्थानीयले क्वारेन्टाइनमा लगेका थिए ।

    त्यहाबाट नमुना परीक्षण गर्दा कोरोना देखिएको छ । सोहीकारण कपिलवस्तुमा समेत समुदायमा संक्रमित नभई आयातित भएको खुलेको छ ।

    उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा निर्माण गरिएको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा थिए ।

    नेपालमा भेटिएका अधिकांश भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

    संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ ।