Author: Vishwanews.com

  • आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना

    काठमाडौँ, १२ फागुनः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ननेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सबैलाई अनुरोध गरेको छ ।

  • प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    रमेश लम्साल\रासस
    काठमाडौँ, १२ फागुनः प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।

    अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा अर्थतन्त्रको तेस्रो चरणको सुधारको योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ प्रमुख राजनीतिक दलले समावेश गरेका छन् । राजनीतिक स्थिरतासँगै आर्थिक विकास र समृद्धिका विषयलाई घोषणापत्रमा समावेश गरेर मुलुकको सवलीकरणमा जोड दिइएको छ ।

    नेपाली कांग्रेसले आगामी पाँच वर्षलाई आर्थिक पुनरूत्थानको अर्धदशक घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई रु ११५ खर्ब बनाउने लक्ष्य राखेको छ । प्रतिव्यक्ति आयलाई दुई हजार ५०० अमेरिकी डलर पु¥याउने सङ्कल्पसमेत कांग्रेसको छ । त्यसका लागि ठूलो मात्रामा लगानी परिचालन गर्ने र त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केबल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित गर्ने लक्ष्य राखिएको छ । यस्तै, मुद्रास्फीतिलाई पाँच प्रतिशतभित्र नियन्त्रण गर्ने योजना कांग्रेसको छ ।

    उदार अर्थतन्त्र निजी क्षेत्रलाई समृद्धिको मुख्य इञ्जिनका रूपमा स्थापित गर्दै नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने जहाँ सरकारले बजारको प्रतिस्पर्धी निष्पक्षता र स्वच्छताका लागि एक कुशल नियामकको भूमिका मात्र निर्वाह गर्ने योजना छ । उत्पादनमुखी अर्थतन्त्र स्रोजगारीमूलक र उत्पादनमा आधारित उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने योजना अगाडि सारेको कांग्रेसले युवा केबल श्रमिक मात्र नभई सम्पत्ति सिर्जना र उद्यमशीलताका वास्तविक साझेदार रहेको तथ्यलाई आत्मसात गरेको छ ।

    न्यून आय भएका र सिमान्तकृत समुदायलाई सम्पत्ति सिर्जना गर्ने, उत्पादक र सम्पत्तिको मालिक बनाउने गरी विशेष आर्थिक अवसर र संरक्षणको सुनिश्चितता गर्ने लक्ष्य कांग्रेसले राखेको दलको छ । हाल सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगले भोग्नु परिरहेका नीतिगत अस्पष्टता, कानुनी झन्झट र संस्थागत जटिलतालाई तत्काल सम्बोधन गर्न एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै झन्झटमुक्त उद्योग सञ्चालनको वातावरण बनाउन कांग्रेसको योजना छ ।

    करका दर र सर्तहरू कम्तीमा पनि १० वर्षसम्म स्थिर रहने व्यवस्था, उद्योग दर्तादेखि नवीकरणसम्मका सबै प्रक्रियालाई कागजविहीन र हैरानीमुक्त बनाउन सरलीकृत डिजिटल प्रणाली लागू गर्ने योजना अगाडि सारिएको छ । यस्तै, लगानी बोर्ड र उद्योग विभागलाई गाभेर पारदर्शी शक्तिशाली, लगानी प्रवद्र्धन एवं संरक्षण बोर्ड स्थापना गर्ने, हाल स्थापना र सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने सो दलले घोषणापत्रमा समावेश गरेको छ ।

    कांग्रेसको प्रतिज्ञा नाम दिइएको घोषणापत्रमा अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक बनाउन आवश्यक ज्ञान सूचना तथा सेवासुविधा दिइ सहजीकरण गर्ने योजना अगाडि सारिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आधा दशकमा रु एक सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य निर्धारण गरेको छ । एक दशकमा रु दुई सय खर्बको अर्थतन्त्र बनाउने योजना राखेको छ । कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखिसम्मको आर्थिक वृद्धि गर्ने लक्ष्य छ ।

    प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर तीन हजार पु¥याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र सामथ्र्य परिचालन गरिनेछ । समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्ने लक्ष्य एमालेको योजना छ । कृषिको आधुनिकीकरण गर्दै यस क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवा क्षेत्रमा स्थानान्तरण गर्ने लक्ष्य एमालेले निर्धारण गरेको छ । समष्टिगत आर्थिक तथा क्षेत्रगत नीतिहरूलाई लगानीमैत्री र उत्पादन सहयोगी तुल्याउने योजना अगाडि सारेको छ । वित्तीय क्षेत्रको पुँजी उत्पादक क्षेत्रमा विनियोजन गर्ने, पुँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी उच्च आर्थिक वृद्धिका लागि लगानी परिचालन गर्ने एमालेले योजना बनाएको हो ।

    आर्थिक वृद्धिमा गुणक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने लक्ष्य राखेको एमालेले अर्थतन्त्रका सबै क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि हुने र आमजनताको जीवनस्तरमा गुणात्मक सुधार आउने प्रमुख आयोजना सम्पन्न गर्न पर्याप्त हुनेगरी बजेट तर्जुमा गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक संस्थानको कार्यकूशलता अभिवृद्धि गर्ने, आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्चबाहेकका अन्य खर्च कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने एमालेको योजना छ । बजेटको अङ्क, निर्धारित समय, नतिजा र गुणस्तरको सीमा उल्लङ्घन गर्ने वा मापदण्ड पूरा नगर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था गरी बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्नमात्रै सार्वजनिक ऋण लिने तथा सार्वजनिक ऋणलाई राष्ट्रिय सामथ्र्यको सुरक्षित अनुपातभन्दा बढ्न नदिने एमालेको भनाइ छ । मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, खाद्यसुरक्षा कायम गर्ने, उत्पादन वृद्धि, मूल्य तथा आपूर्ति नियमन र उपभोक्ता सचेतना वृद्धि गरी उपभोक्तहित संरक्षण गर्ने योजना सो पार्टीले अगाडि सारेको छ ।

    त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरण सुरुआत गर्ने विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । नेपालको संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेअनुसार नेकपाले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय आर्थिक परिवेशलाई ध्यान दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने नयाँ चरणको बृहत् र संरचनागत आर्थिक सुधारको प्रक्रिया अगाडि बढाउने नेकपाको सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । सम्पत्ति शुद्धीकरणलगायत विषयमा अध्ययन गर्ने एक अन्तरराष्ट्रिय संस्थाले नेपाललाई खैरो सूचीमा राखेका सन्दर्भमा त्यसलाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना ल्याउने नेकपाको सङ्कल्प छ ।

    नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्रको रुपान्तरण, ऊर्जा तथा पूर्वाधार विकास, औद्योगिक तथा उद्यमशीलता प्रवद्र्धन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नेकपाले उत्पादनमूलक रोजगारीमार्फत जनसाङ्ख्यिक लाभको उच्च उपयोग गर्ने गरी प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक रुपमा पाँच लाख रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । नेकपाले आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै पाँच वर्षमा हालको बहुआयामिक गरिबीको दर २० दशमलव १५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

    उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात निर्भरता क्रमशः न्यूनीकरण गर्ने, स्वदेशी निजी क्षेत्रको लगानी क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग, हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने नेकपाको उद्देश्य छ । सम्भाव्यताका आधारमा प्रत्येक प्रदेशलाई एक विशिष्ट आर्थिक क्रियाकलापको क्षेत्रका रुपमा विकास गर्ने उद्देश्य निर्धारण गरेको नेकपाले सङ्कल्पपत्रमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रबीच सन्तुलन कायम गरेर आर्थिक विकास गरिनेछ ।

    नेकपाले अर्थतन्त्रका तीन खम्बालाई सुदृढ गर्दै सामुदायिक क्षेत्रलाई चौथो खम्बा बनाउने योजना अगाडि सारेको छ । उत्पादन लागत कम गर्ने नीति तथा संरचनागत सुधार गर्ने, स्वदेशी उतपादन मूल्य प्रतिस्पर्धी बनाउने योजना अगाडि सारेको नेकपाले खाद्यान्नलगायत रणनीतिक वस्तु तथा सेवामा आत्मनिर्भरता सुनिश्चित गर्ने योजना अगाडि सारेको छ ।

    व्यापार घाटा नियन्त्रणमा ल्याउन प्रतिस्पर्धात्मक लाभका उच्च मूल्यका वस्तुको उतपादन बढाउने वैदेशिक व्यापारको देशभगत विविधीकरण गर्ने, निश्चित उतपादनमा केन्द्रित रही सरकारी निजी तथा सहकारी क्षेत्रको एकल र साझेदारीमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्ने नेकपाको सङ्कल्पपत्रमा समावेश गरिएको छ । कृषि र उद्योग क्षेत्रको विकासबाट उत्पादन र रोजगारी बढाउने कार्यक्रम नेकपाले अगाडि सारेको छ ।

    नेपालमा वित्तीय क्षेत्रको साधानको ठूलो हिस्सा समिति घरानाले मात्र गर्ने अवस्था हटाउन मझौला र साना कर्जाको लक्ष्य निर्धारण गर्ने व्यवस्था गरी बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नेकपाको योजना छ । फिनटेकको अवधारणाअनुरुप वित्तीय सेवा तथा प्रणालीलाई सजिलो, सरल छरितो र पहुँचयोग्य पारदर्शी बनाउने लक्ष्य निर्धारण गरेको नेकपाले कृषि तथा ग्रामीण अर्थतन्त्र रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गरिबीको दर पाँच प्रतिशतमा झार्ने, एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण र वर्गीकरण गर्ने, पाँच वर्षमा थप ११० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । नेकपाले २० वटा सहरलाई ‘स्मार्ट सिटी’ र १०० वटा ग्रामीण बस्तीलाई ‘स्मार्ट भिलेज बनाउने, २०८८ सम्म सबै नागरिकलाई स्वास्थ्य बिमा र केन्द्रमा २५ जना मन्त्रीबाट घटाएर विज्ञसहितको सानो आकारको मन्त्रिपरिषद् बनाउने योजना नेकपाको प्रतिबद्धतापत्रमा समावेश छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक उन्नयनको हाम्रो मूल आधार उत्पादकत्वमा निरन्तर वृद्धि हुनेछ भन्ने विश्वास राखेको छ । समग्र विकासको मापन केबल आय वृद्धिबाट होइन, रोजगारी विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा देखिने गुणात्मक सुधारबाट हुनुपर्छ भन्ने रास्वपाको धारणा छ । निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरण गर्ने रास्वपाको योजना छ ।

    असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने, झन्झटिला ऐन र तजबिजी प्रक्रिया शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्ने सो दलले वाचापत्रमा समावेश छ । नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत कायम गर्ने रास्वपाले लक्ष्य राखेको छ ।

    आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य सो दलले राखेको छ । सामाजिक न्यायसहितको उदार अर्थनीति निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरूको बोझ घटाउने योजना अगाडि सारेको छ । स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित ‘वान स्टप’ सेवा प्रदान गर्ने सो दलले वाचापत्रमा समावेश गरेको छ । सार्वजनिक आयोजनालाई स्पष्ट उद्देश्य, प्राथमिकता, सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य केन्द्रित कार्यशैली कार्यान्वयन गर्ने सो दलको वाचापत्रमा समावेश गरिएको छ ।

  • निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

    रासस
    काठमाडौँ, १२ फागुनः प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भएरनभएका विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो ।

    काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकामा काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ ।

    प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ–हानि पुग्नसक्नेतर्फ सचेत गराउँदै काउन्सिलले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए । निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुनेहुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ ।

    आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्नरनगराउन ध्यानाकर्षण गराइएको छ ।

  • कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

    कञ्चनपुर, १२ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीन वटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।

    “मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ”, उनले भने, “आचारसंहिताविपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।” उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ । हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, मोटरसाइकल र्‍याली र टोल भेलामार्फत चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

    प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा अनधिकृत रूपमा टाँसिएका पोस्टर, ब्यानर तथा ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन् । तर यस्ता विषयमा लिखित उजुरी भने सीमित मात्रै परेको अनुगमन समितिले जनाएको छ ।

    चुनावी अभियान विस्तारसँगै बजार क्षेत्रबाट ग्रामीण बस्तीमा प्रचार सामग्रीको प्रयोग बढेको छ । कतिपय स्थानमा तोकिएको समयभन्दा बाहिर लाउडस्पिकर प्रयोग गरिएको, सार्वजनिकस्थलमा ब्यानर टाँसिएको तथा जुलुस व्यवस्थापनमा कमजोरी देखिएका विषयमा गुनासा आएका छन् । अनुगमन टोलीले दैनिक रूपमा विभिन्न स्थानमा पुगेर आचारसंहिता पालनाको अवस्था मूल्याङ्कन गरिरहेको जनाएको छ ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आचारसंहिता कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र सुरक्षा निकाय सतर्क अवस्थामा रहेका छन् ।

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    रासस
    काठमाडौँ, १२ फागुनः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।

    नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ । यस्तै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीसमेत आचारसंहिताको दायरामा छन् । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्छ ।

    निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी तथा कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा छन् । यस्तै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिता लाग्ने आयोगको भनाइ छ ।

    संवैधानिक निकाय, सो निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, एवं कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति अनुमगन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई निर्वाचन आचारसंहिता लाग्छ । यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पनि आचारसंहिता लाग्छ ।

    स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा सहभागी भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो । सोमबार पुनःसरकारी वा निजी क्षेत्रमा पूर्ण रूपमा आचारसंहिता लाग्ने स्मरण गराएको हो ।

  • किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

    सियोल, १२ फागुन (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उनको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन भएका हुन् ।

    पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ । बयालिस वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहेका छन् । पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आएका छन् ।


    कङ्ग्रेसको प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगीहरू र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ । पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

    बैठकले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिएका थिए । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश छैनन् । अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताए ।


    विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आकलन गरेका छन् । उनले विशेषतः महामारीपछि चीनसँगको व्यापार र रसियासँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

    किमले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर वार्ता गरेका थिए । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले पुनः निर्वाचनमा बधाई सन्देश पठाएका थिए । युक्रेन युद्धमा रूससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि वासिङ्टन र सियोलसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

    उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीति स्थगित गरेको थियो । हालै किमको सरकारले वासिङ्टनसँग वार्ताका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरण पूर्वशर्त हटाउन आग्रह गर्दै आएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियासँगको शान्तिपूर्ण पुनर्मिलन नीति त्याग्दै उसलाई स्थायी शत्रु घोषणा गरेका थिए । यसले अन्तर–कोरियाली सम्बन्ध झन् जटिल बनेको छ ।

  • जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    जेलेन्स्की भन्छन् : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके

    किएभ, १२ फागुन (रासस–एएनआई) । रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गरेका छन् । उनका हाँअनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

    बिबिसीसँगको हालैको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गरे । “तेस्रो विश्वयुद्धका बारेमा विभिन्न दृष्टिकोण छन् । मलाई लाग्छ पुटिनले यसलाई सुरु गरिसकेका छन्, प्रश्न के हो भने, रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने ?” उनले लेखेका छन् । उनका अनुसार उद्देश्य केवल रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयासलाई रोक्नु हो ।


    जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको उल्लेख गर्दै युक्रेन अहिले त्यसलाई पूर्णस्तरको तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने ‘अग्रमोर्चा’ भएको दाबी गरेका छन् । “आज हामी पुटिनलाई रोक्ने चौकी हौँ”, उनले भनेका छन् । उनका टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी पूर्ण आक्रमणको चौथो वार्षिकोत्सवको एक दिनअघि आएको हो ।

    यस अवधिमा युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ । जेलेन्स्कीले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताए । उनले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनलाई उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न आवश्यक इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गरे ।

    “वायु रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो”, उनले लेखेका छन्, “दुर्भाग्यवश, साझेदारहरूले अझैसम्म हामीलाई उदाहरणका लागि प्याट्रियट प्रणाली आफैँ उत्पादन गर्न वा कम्तीमा हामीसँग रहेका प्रणालीका लागि मिसाइल बनाउन लाइसेन्स दिएका छैनन् ।”

    अमेरिकामा निर्मित एमआईएम–१०४ प्याट्रियट प्रणालीको उल्लेख गर्दै उनले युक्रेनलाई कम्तीमा मिसाइल उत्पादनको अनुमति आवश्यक रहेको बताए । उनका अनुसार आकाश सुरक्षित नभएसम्म नागरिक जीवन, शिक्षा, उद्योग र अर्थतन्त्र स्थिर हुन सक्दैन । “यदि नागरिकहरू सुरक्षित छन् भने अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ”, उनले स्पष्ट गरेका छन् ।

    अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले युक्रेनको हवाई क्षेत्र सुरक्षित गर्नु नै युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याएका छन् । उनका यी अभिव्यक्तिले युक्रेनले रुसी आक्रमणको सामना गर्न झेलिरहेको निरन्तर सुरक्षा र सामरिक दबाबलाई पुनः उजागर गरेको छ ।

  • इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    इरानबाट बाहिरिन आफ्ना नागरिकलाई भारतको आग्रह

    नयाँदिल्ली, १२ फागुन (रासस–एएफपी) । तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशङ्काबीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्याङ्कन गर्दै विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।

    तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भनिएको छ, “इरानमा विकसित अवस्थालाई ध्यानमा राख्दै हाल त्यहाँ रहेका भारतीय नागरिकहरूलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी इरान छोड्न सल्लाह दिइएको छ ।”

    दूतावासले सबै भारतीय नागरिक र भारतीय मूलका व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन, विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिइरहन पनि आग्रह गरेको छ ।

    भारतको विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन् । हालको अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्थिति सिर्जना भएको सरकारी धारणा छ । यो चेतावनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बुधबार तय भएको इजरायल भ्रमणअघि सार्वजनिक भएको हो ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार उक्त भ्रमणले ‘कट्टरपन्थी’ चुनौतीहरूको सामना गर्न नयाँ सहकार्य सुदृढ गर्ने अपेक्षा व्यक्त गरेका छन् । मोदीले पनि सामाजिक सञ्जालमार्फत इजरायल भ्रमणका क्रममा हुने छलफलप्रति आफू ‘अगाडि हेर्दै’ रहेको उल्लेख गरेका छन् । “विश्वास, नवीनता र शान्ति तथा प्रगतिप्रतिको साझा प्रतिबद्धतामा आधारित इजरायलसँगको स्थायी मित्रतालाई भारतले गहिरो महत्त्व दिन्छ”, उनले लेखेका छन् ।


    नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य विस्तार गर्दै आएको छ । त्यस्तै, भारतले खाडी राष्ट्रहरू र इरानसँग पनि दीर्घकालीन रणनीतिक सम्बन्ध कायम राखेको छ । इरानको चाबहार बन्दरगाह विकासमा भारतको संलग्नता अफगानिस्तानसम्म व्यापारिक पहुँच विस्तार गर्ने योजनासँग जोडिएको छ, जहाँ भारतले तालिबान प्रशासनसँग पनि सम्पर्क बढाउँदै आएको छ ।

  • अमेरिकासँग अन्तरिम परमाणु सम्झौतामा सहमति हुने अनुमानको इरानद्वारा खण्डन

    अमेरिकासँग अन्तरिम परमाणु सम्झौतामा सहमति हुने अनुमानको इरानद्वारा खण्डन

    तेहरान, १२ फागुन (रासस–एएफपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच अप्रत्यक्ष वार्तामा अन्तरिम परमाणु सम्झौताको सम्भावना रहेको भन्ने अफवाहलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार अस्वीकार गरेका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले अस्थायी सम्झौताको अनुमानमा कुनै आधार नभएको र कुनै पनि विवरण वार्ताको टेबलमा छलफल हुने बताए । उनले भने, “अमेरिकी प्रतिबन्ध र आणविक मुद्दा अन्त्य गर्ने इरानको अडान स्पष्ट छ, हामी अमेरिकी पक्षको दृष्टिकोणसँग राम्ररी जानकार छौँ।”

    बाघाईले भने, “यदि दुबै पक्षले सद्भाव प्रदर्शन गरे भने आगामी दुई–तीन दिनभित्र हामी अर्को चरणको वार्ता गर्न सक्षम हुनेछौँ भन्नेमा हामी आशावादी छौँ ।
    उनले इरान कूटनीतिमा अघि बढ्न कटिबद्ध रहेको तर आफ्नो वैधानिक अधिकारमाथि सम्झौता गर्ने कुरा कहिल्यै नस्वीकार्ने बताए । पश्चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य खटन भइरहेका बेला इरान र संयुक्तराज्य अमेरिकाबीच बिहीबार जेनेभामा तेस्रो चरणको अप्रत्यक्ष आणविक वार्ता हुने अपेक्षा गरिएको छ ।

  • रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    रास्वपा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

    बागमती, ११ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन् । रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    सभापति लामिछानेले लोकतन्त्रको उत्सवका रूपमा रहेको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्दै निर्वाचनबाट आउने परिणाम आफूहरूलाई स्वीकार्य हुने बताए । “निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन । जनताले जे दिन्छ, त्यही स्वीकार्नुपर्छ, जनतालाई मताधिकारबाट वञ्चित गर्ने कार्य कसैले पनि गर्नुहुँदैन”, उनले भने ।

    निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्व सरकार बने सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति लामिछानेले सुशासन र विधिको शासन कायम गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने उल्लेख गरे । पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले मुलुकमा सुशासन र विधिको शासन स्थापित गर्न आफ्नो पार्टीलाई विजयी बनाउन आग्रह गर्नुभयो । यस्तै, रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, क्षेत्र नम्बर २ का उम्मेदवार प्रशान्त उप्रेतीले सम्बोधन गरेका थिए ।

  • गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

    चन्द्रपुर (रौतहट), ११ फागुनः रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो ।

    पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।


    गौर–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका प्रवक्ता बस्यालले जानकारी दिए । जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीन जना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताए ।

    सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजीकार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्थाको लागि यस क्षेत्रमा शनिबारदेखि आज दिउँसो जसम्म कर्फ्यु लगाएको थियो । आज बिहान सबगढा गाउँमा सद्भाव र्याली गरेपछि हाल गाउँको अवस्था सामान्य बनेको छ ।

  • पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

    पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

    वीरगञ्ज (पर्सा), ११ फागुनः पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाश्रिघ सम्पन्न गर्ने र त्यस्ता दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले सहजीकरण गर्ने निर्णय भएको छ ।

    प्रजिअ दाहालका अनुसार बैठकले व्यक्तिगत घटना\दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने\दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउने भाषण प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

    आगामी दिनमा, धार्मिक, सामाजिक सद्भाव कायम राख्न एवं बैठकमा उपस्थिति सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक एवं सम्पूर्ण जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने बैठकले निर्णय गरेको छ । पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा सहभागी विभिन्न पार्टीका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाको उपस्थिति रहेको थियो ।

  • धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल

    धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल

    काठमाडौँ, ११ फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । आज गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

  • स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छः एमाले अध्यक्ष ओली

    स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्छः एमाले अध्यक्ष ओली

    दमक (झापा), ११ फागुनः नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । पार्टी निकट नेसनल ‘भोलेन्टियर फोर्स’ कोशी प्रदेश कमिटी घोषणासभालाई आज दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन बिथोल्न खोजिएकाले सरकारले निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए ।

    एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उनले एमालेले अब देशको समृद्ध र विकासका लागि नेतृत्व गर्नुपर्ने विचार राखे । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका ओलीले भने, “एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ, अब देश बनाउन एमालेले अगुवाइ गर्छ ।”

    सरकारकै सुरक्षा अङ्गलाई सघाउन पार्टीले भोलेन्टियर फोर्स बनाएको उल्लेख गर्दै उनले चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि यो फोर्स गठन गरिएको बताए । “राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो”, उनले भने ।

  • धादिङमा भएको बस दुर्घटनालाई लिएर गृह मन्त्रालयमा आकस्मिक बैठक, के के भयो छलफल

    धादिङमा भएको बस दुर्घटनालाई लिएर गृह मन्त्रालयमा आकस्मिक बैठक, के के भयो छलफल

    काठमाडौँ, ११ फागुनः धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन बुझाएर यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।

    आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ कानुन कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालक तथा सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्नुहुँदै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।


    दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए । निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

    गृहमन्त्री अर्यालले भने, “सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याइँ गरिनु हँुदैन । कसैलाई पनि दण्डहीनता क्षम्य हुनेछैन । त्यसैले सडक सुरक्षालाई मजबुद बनाउन सबै निकाय जिम्मेवारी भएर लाग्नुपर्छ । सडक दुर्घटनासम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिनेछ, राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाइने बताए ।


    छलफलबारे मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताए । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई सक्रिय र जिम्मेवार बनाउने बैठकले निर्णय गरेको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस राति १ः३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने २५ जना घाइतेको काठमाडौँ विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

    बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

    मलेखु (धादिङ), ११ फागुनः दुर्घटनाग्रस्त ग।२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

    भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए । पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।

    “मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भने, “उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उनको अवस्था सामान्य नै देखिएको छ ।”

    पोखराबाट काठमाठौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।

  • ट्रम्पलाई लुलाको समान व्यवहारको सन्देश

    ट्रम्पलाई लुलाको समान व्यवहारको सन्देश

    नयाँदिल्ली, ११, फागुन (रासस–एएफपी) । विश्व व्यापार र कूटनीतिक सम्बन्धलाई तनावमुक्त बनाउने सन्देश दिँदै ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै देशहरूसँग समान व्यवहार गर्न आग्रह गरेका छन् । अमेरिकी सर्वोच्च अदालतको प्रतिकूल फैसलापछि ट्रम्प प्रशासनले आयातमा १५ प्रतिशत कर लगाउने निर्णय गरेलगत्तै लुलाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।


    नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विश्वले नयाँ शीतयुद्धतर्फ जान नहुने बताए । “हामी नयाँ शीतयुद्ध चाहँदैनौँ, कुनै पनि देशमा हस्तक्षेप गर्न चाहँदैनौँ र सबै देशहरूलाई समान रूपमा व्यवहार गर्न चाहन्छौँ”, उनले भने । उनले आफ्नो टिप्पणीलाई अमेरिकी न्यायिक निर्णयप्रति प्रत्यक्ष प्रतिक्रिया नभएको स्पष्ट पार्दै संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध चाँडै सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे ।


    अमेरिकी सर्वोच्च अदालतले शुक्रबार छ–तीनको बहुमतमा फैसला गर्दै सन् १९७७ को कानूनले राष्ट्रपतिलाई व्यक्तिगत देशहरूमा एकतर्फी रूपमा कर लगाउने अधिकार नदिएको ठहर गरेको थियो । उक्त कानूनको आधारमा ट्रम्प प्रशासनले विश्वव्यापी व्यापारमा असर पर्ने गरी विभिन्न देशहरूमा अचानक कर लगाउँदै आएको थियो ।

    असी वर्षीय अनुभवी वामपन्थी नेता लुला अर्को महिना ट्रम्पसँग भेट गर्न वासिङ्टन जाने तयारीमा छन् । “हाम्रो कुराकानीपछि ब्राजिल–अमेरिका सम्बन्ध सामान्य अवस्थामा फर्कनेछ भन्ने कुरामा म विश्वस्त छु”, उनले भने । उनले ब्राजिलको प्राथमिकता शान्तिपूर्ण सहअस्तित्व, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्नु रहेको उल्लेख गरे ।


    केही महिनादेखि वासिङ्टन र ब्रासिलियाबीच बढेको वैमनस्य क्रमशः कम हुँदै गएको सङ्केत देखिएको छ । ट्रम्प प्रशासनले गत वर्ष ब्राजिलमाथि लगाइएको ४० प्रतिशत करबाट ब्राजिलका प्रमुख निर्यात वस्तुहरूलाई छुट दिएको थियो, जसले सम्बन्ध सुधारको बाटो खोलेको मानिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन बुधबार भारत आइपुगेका लुलाले विश्वलाई थप अस्थिरता नभई शान्ति आवश्यक रहेको बताए ।

    “विश्वलाई थप अशान्ति होइन, शान्ति चाहिन्छ”, उनले भने । शनिबार भारत र ब्राजिलबीच महत्त्वपूर्ण खनिज तथा दुर्लभ पृथ्वी तत्वको क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । लुला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि दुवै देशबीच अन्य विभिन्न सम्झौतामा समेत हस्ताक्षर भएको जनाइएको छ ।

  • ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

    जेरुसेलम, ११ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन् । आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गरेको उनले खुलासा गरे ।


    ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ । यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताए ।

    “म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भने, “तर उहाँ उत्सुक हुनुहुन्छ, उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उनले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाइरहेको उल्लेख गरे । “किन उनीहरू हामीकहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् ?” उनले प्रश्न गरे ।


    अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गरे । तर विस्तृत विवरण दिएनन् । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
    विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिएको पृष्ठभूमिमा आएको हो ।

    ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूमा सहमति जनाउन अधिकतम १५ दिनको समयसीमा दिएका थिए । जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताएका थिए । पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।

    इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकारविरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटनाक्रमबीच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशानिर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ ।

  • पोखराबाट बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस

    पोखराबाट बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस

    गण्डकी, ११ फागुनः आज विहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

    उनका अनुुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए । “प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् ।”, उनले भने ।


    उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौँका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    महानगरप्रमुख आचार्यद्वारा दुुःख व्यक्त

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुुबाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    “राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु ।”, उनले भने ।

    दुर्घटनामा घाइते २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन् ।

  • दुर्घटनाग्रस्त बसमा पोखराबाट चढेका थिए ३४ यात्रु

    दुर्घटनाग्रस्त बसमा पोखराबाट चढेका थिए ३४ यात्रु

    गण्डकी, ११ फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।

    “पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने, बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

  • कालीगण्डकी लोकमार्गको एक पुल : दुईवर्षमा सम्पन्न हुनुपर्नेमा ८ वर्ष लाग्यो

    कालीगण्डकी लोकमार्गको एक पुल : दुईवर्षमा सम्पन्न हुनुपर्नेमा ८ वर्ष लाग्यो

    पर्वत, ११ फागुनः उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ । यहाँको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको ढिलासुस्ति र गलत डिजाइनका कारण आठ वर्षमा सम्पन्न भएको हो । यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी विसं २०७४ असार २८ गते सम्झौता भई विसं. २०७४ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो ।

    विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको ढिलासुस्तिका कारण आठवर्षपछि सम्पन्न भएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । रु पाँच करोड ८९ लाख ८९ हजार २७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल सम्पन्न भएपछि कालीगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन थालेका छन् ।

    पुल सम्पन्न भएसँगै दक्षिण पर्वतका बासिन्दालाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न मात्र सहज नभएर लोकमार्ग हुँदै बुटबल, भैरहवा, पाल्पा, गुल्मी तथा यस क्षेत्रबाट मुस्ताङ, पर्वत, बागलुङ, म्याग्दीतर्फ आउने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ । पुल बनेपछि झण्डै एक घण्टा घुमाउरो बाटो हिँड्नुपर्नेमा पाँच मिनेटमै पुग्न सकिने भएको छ ।

    करिडोर अन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्र्याक खुलिसकेको छ, भने पर्वतको सेतीवेणीदेखि लमाएखोला सम्मको सडक कालोपत्रसमेत भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात सञ्चालन हुन सकेका थिएनन् । गत साता पुल निर्माणको सबै काम सम्पन्न भएसँगै सिधा यातायात सञ्चालन हुन थालेको कालीगण्डकी लोकमार्ग आयोजनाका साइड इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।


    कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपछि इञ्जिनियरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

    कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर गौतमले पुलको नयाँ डिजाइन गरेर पुनः निर्माण सुरु गरिएकोले ढिलाइ भएको बताउनुभयो । पुरानै ठाउँलाई संरक्षणको काम गरेर पुल निर्माण गरिएको गौतमले बताउनुभयो । गौतमका अनुसार गत वर्षको बाढीले स्लाब ढलान गर्न थालेको अवस्थामा बगाइदिएपछि झनै ढिला भएको हो ।

    पुल निर्माण सम्पन्न गर्नका लागि छैटाँै पटकसम्म सम्झौताकोे म्याद थपिएको थियो । विसं २०७४ पुसमा काम सुरु गरेका व्यवसायीले विसं २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल विसं २०८० मङ्सिरदेखि काम सुरु भएको थियो ।

    यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्ष अघिनै सम्पन्न भएको थियो । कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्डको १४ किलोमिटर सडक कालोपत्रको काम पनि सुरु भएको छ । यो सम्पन्न भएपछि पर्वतको ५५ किलोमिटर सडक पूरा हुने आयोजनाले जनाएको छ ।

  • म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु

    म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु

    म्याग्दी, ११ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

    गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताए । काउसीबोट तर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ । संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाँडाका बासिन्दा लाभान्वित हुने भएका छन् ।

    धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतको लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिने उनले बताए । बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताइएको छ । धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो ।

    धवलागिरि गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं –३ फलियागाँउ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । हाल म्याग्दीमा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा रहेको छ ।

    रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् ।

  • निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ, ११ फागुनः निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।

    सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमासंलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

  • धादिङ बस दुर्घटनामा दुई विदेशी नागरिक रहेको पुष्टी

    धादिङ बस दुर्घटनामा दुई विदेशी नागरिक रहेको पुष्टी

    ११ फागुन, मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै भएको यात्रुवाहक बस दुर्घटना दुई विदेशी नागरिकको मृत्यु भएको पुष्टी भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

    तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

  • धादिङमा भयानक सडक दुर्घटना, कम्तिमा १७ को मृत्यु

    धादिङमा भयानक सडक दुर्घटना, कम्तिमा १७ को मृत्यु

    ११ फागुन, मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

    तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

  • राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

    राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु

    फ्लोरिडा, १० फागुन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

    अधिकारीहरुका अनुसार घटना वासिङ्टन समय अनुसार बिहान १ः३० बजे भएको थियो । एजेन्सीका प्रवक्ता एन्थोनी गुग्लिल्मीले एक्समा एक पोस्टमा लेखेका छन्, “अमेरिकी गुप्तचर सेवाका कर्मचारीहरू र पिबिसी काउन्टी सेरिफद्वारा एक सशस्त्र व्यक्तिलाई गोली लाग्दा मृत्यु भएको छ।” एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “संदिग्ध २० वर्षको उमेरका एक व्यक्तिलाई मार–ए–लागो रिसर्टको उत्तरी गेटमा बन्दूक र इन्धन क्यान बोकेको अवस्थामा सुरक्षा कारबाही गरिएको थियो ।”

    एजेन्टहरूले ती व्यक्तिको सामना गर्दै गोली चलाएका छन् कुनै पनि अमेरिकी अधिकारी घाइते भएका छैनन् । ती व्यक्तिले ट्रम्पसहित कैयौँ व्यक्तिको हत्याको षड्यन्त्र वा प्रयासको निशाना रचेको बताइएको छ। अमेरिकी चुनावको दुई महिनाअघि सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको ‘गल्फ कोर्स’मा राष्ट्रपतिको हत्याको षड्यन्त्र रचेका ५९ वर्षीय रायन राउथलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

    पेन्सिल्भेनियामा रिपब्लिकन नेतामाथि हत्याको प्रयास गरेको दुई महिनापछि राउथको योजनामा ट्रम्पमाथि आक्रमण भएको थियो । घटनामा २० वर्षीय म्याथ्यू क्रुक्सले एक र्यालीका क्रममा धेरै गोली चलाएका थिए, जसमध्ये एकले ट्रम्पको दाहिने कानमा हल्का लागेको थियो। त्यो आक्रमणमा एक र्यालीका सहभागी मारिएका थिए, जुन घटना ट्रम्पको सत्तामा फिर्ताको लागि पछि एक महत्वपूर्ण मोड साबित भयो। क्रुक्सलाई सुरक्षा बलले तुरुन्तै गोली हानेर मारेको थियो र उनको उद्देश्य अज्ञात छ।

  • रास्वपाले सडकमा घण्टी बजाउँदै हिड्न नपाउने, आयोगले गरायो सचेत

    रास्वपाले सडकमा घण्टी बजाउँदै हिड्न नपाउने, आयोगले गरायो सचेत

    काठमाडौँ, १० फागुनः निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्ययवाट मात्र निर्वाचन प्रचारप्रसार गर्न÷गराउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिन्हको माध्ययवाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरेको हो ।

    आयोगले भनेको छ, ‘उल्लिखित सन्दर्भमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न÷गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।’

    यसको लक्षित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो । सो पार्टीका नेताहरुले अहिले सडकमा भौतिक रुपमा घण्टी बजाउँदै हिँडिरहेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना÷गुनासाहरु प्राप्त भएका आयोगले जनाएको छ ।

    राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने तर सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासोहरुसमेत निर्वाचन आयोगमा प्राप्त भएको आयोगले जनाएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ (१) मा निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३ को उपदफा (१) मा निर्वाचनका लागि दललाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची–३० बमोजिम र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची–३१ बमोजिम हुनेछ’ भन्ने व्यवस्था छ ।

    उल्लिखित ऐन र निर्देशिकाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–३० र अनुसूची–३१ मा उल्लिखित निर्वाचन चिह्न प्रदान गर्ने र सो बमोजिम निर्वाचन चिह्न पाएका दल वा उम्मेदवारले प्रयोग गर्ने दलको झन्डा र चुनाव चिह्नको मापदण्ड निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा व्यवस्था गरेको छ ।

  • निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री

    काठमाडौँ, १० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । आज रासससँग कुराकानी गर्दै उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।”

    सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताए । मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश तथा जिल्लास्तरमा रहेर काम भइरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर काम गरिरहेको जानकारी दिए । एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडपलगायत घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उनको भनाइ थियो ।

    ती घटना नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेको उनको भनाइ थियो । मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौती नरहेको पनि स्पष्ट गरे ।

    उनले भने, “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकार भएकाहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा जानकारी गराउन अनुरोध गरेका छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिलेसम्म आएका छैनन् । अब त्यस खालको असुुरक्षाको भय छैन ।”

    एक अर्को प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट गरे । वर्तमान सरकार विशेषतः चुनावी सरकार रहेकाले सोहीबमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले संविधानले नै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पन्छिने कुरै नआउने बताए ।


    “यो निर्वाचन एक प्रकारले हाम्रो निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन”, मन्त्री अर्यालले भने, “सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका लागि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नु हुँदैन ।”

    उनले निर्वाचन सार्ने भाष्य बनाउने र त्यस खालको परिस्थिति निर्माण गर्न खोज्ने प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने र जनताको साथ तथा सहयोगका साथ अघि बढ्ने पनि बताए । मन्त्री अर्यालले भने, “यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बहाली गर्ने प्रयोजनले आएको हो ।

    यो सरकार राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको हो । राष्ट्रपतिज्यूले फागुन २१ गते नै निर्वाचनको मिति तोक्नाका कारण पनि संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधानअनुसार चल्ने शपथ खाएका छौँ । सोही अनुसार हामीले निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।”

    उनले सरकार विधिको शासन र सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको बताए । मन्त्री अर्यालले सरकारले कुनै शासक नभएर सहजकर्ताका रूपमा राज्यस्तरमा समन्वयात्मक काम गरिरहेको बताए ।

    सरकार बनेको भोलिपल्टदेखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिकलगायत कामबाट निर्वाचन प्रक्रिया सुरु गरेको स्मरण गर्दै उनले अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्ने अवस्था रहेको उल्लेख गरे । “जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै विशिष्ट परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रजातान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सबैले आ–आफ्ना स्थान र कामबाट सहयोग गर्नुपर्छ ।”

    मन्त्री अर्यालले भदौ अन्तिम साताको जेनजी आन्दोलनको त्यो परिस्थतिबाट सबै राजनीतिक दल तथा सरोकार भएकाहरूको सहमतिमा निर्धक्कसँग मतदान गर्नसक्ने आजको अवस्था निर्माण गर्न र त्यस्तो असहज अवस्थामा पनि राजनीतिक सहमतिका माध्यमबाट सबैलाई निर्वाचनमा जान तयार पार्न यो सरकारले निकै मेहनत गरेको बताए । उनले निर्वाचन सफल बनाउने कामलाई सरकारले अर्जुनदृष्टि दिँदै आएको भन्दै यस्तो असहज परिस्थितिमा पनि समयमै हुन गइरहेको निर्वाचनलाई विश्वले नै हेरिररहेको बताए ।

    मन्त्री अर्यालले भने, “यो निर्वाचनले सही पात्र छनोट गर्ने र प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले शान्तिपूर्ण र अहिंसात्मक रूपमा सहभागी भई निर्धक्क भएर मतदान गर्न सबै देशवासीसँग हाम्रो आग्रह छ ।” आज भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा मन्त्री अर्यालले राससको समाचार उत्पादन तथा वितरण प्रणालीको अवलोकन गरी जानकारी लिएका थिए ।

  • ‘कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छ’

    ‘कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छ’

    पाटन (ललितपुर), १० फागुनः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमूलता र जनताको आकाङ्क्षाअनुसार काम नभएको यथार्थलाई कांग्रेसले उच्च जिम्मेवारी बोधका साथ आत्मसात् गर्दै अब सुशासन र सुधार्ने अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको बताएका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले सार्वभौम जनताको जनादेश शासनको वैधताका आधार हो र यो चुनावद्वारा परिलक्षित हुन्छ भन्ने विषयलाई कांग्रेस गहिरोसँग आत्मसात् गरेको बताए ।


    “लोकतन्त्रको सबैभन्दा शक्तिशाली संवाहक प्रेसका सम्मानित प्रतिनिधिहरूबाट आलोचनात्मक समीक्षा खोजेका छौँ, लोकतान्त्रिक आन्दोलनका आदिपुरुष बिपी कोइरालाले भनेझैँ पत्रकारबाट आलोचना भएन भने हामी दुःखी हुन्छौँ, प्रेसले प्राण मान्ने अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो र, कांग्रेस चाहिँ लोकतन्त्रको सेवक र संवाहक भएको नाताले सधैँ प्रेस स्वतन्त्रताको पक्षपोषण र पैरवी पार्टीका रूपमा स्थापित छ,” उनले भने ।


    प्रवक्ता चालिसेले लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविच्छिन्न जोडिएको नेपाली कांग्रेसले चुनावी अभियानलाई सशक्तताका साथ अगाडि बढाइरहेको जानकारी गराउँदै लोकतन्त्रको स्थापना, संवद्र्धन तथा दिगो भविष्यतर्फ लोककल्याणकारी शासन व्यवस्थालाई सुदृढीकरण गर्न वर्तमान परिस्थितिमा भइरहेको निर्वाचन तथा यससँग जोडिएका अवसर र चुनौतीलाई अत्यन्त संवेदनशील भएर हेरेको बताए ।

    “निर्वाचन शान्तिपूर्ण, भयमुक्त, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता हो, हामी अनुरोध गर्न चाहन्छौँ, जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पु¥याउने काम कतैबाट हुन नदिऔँ । सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति गर्ने पनि पार्टीबाट हुनै हुँदैन, कसैको पनि आस्थामा चोट पु¥याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ र यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्छ,” उनले भने ।


    बदलिएको कांग्रेसलाई चिन्तनशील बुद्धिजीवी, पेसाकर्मी र आम गरिखाने वर्गले हार्दिक स्वागत गरेको अवस्था छ भन्दै प्रवक्ता चालिसेले अतिलोकप्रियतावादी उन्माद र प्रतिगामी भड्कावबीच मध्यमार्गी एवं सन्तुलित चरित्रको वैज्ञानिक पद्धति तथा व्यावहारिक उन्नति सुनिश्चित गर्न सम्पूर्ण सचेत वर्गले थप मेहनत गर्नुपर्ने चुनौती रहेकामा जोड दिए ।

    उनले निर्वाचनलाई भयमुक्त र सद्भावपूर्ण वातावरणमा हुन नदिने सामाजिक सञ्जालदेखि विभिन्न माध्यमको प्रयोग गरी कांग्रेस उम्मेदवारहरूलाई अपमान तथा दुरुत्साहित गर्ने प्रयास भइरहेको भन्दै कांग्रेसले भयको राजनीति नगर्ने र गर्न पनि नदिने बताए । उनले इतिहासमा अनेक सङ्घर्षको कसौटीमा उभिएको कांग्रेस अवसरवादी सङ्क्रमणका चुनौतीलाई सहजतापूर्वक सामना गर्न सक्षम छ भने ।

    “कांग्रेसका सम्पूर्ण नेता एवं पार्टी सदस्यहरू, शुभचिन्तक र मतदातालाई कुनै भ्रम र विचलनमा नपरी दृढ भएर प्रचारप्रसारमा लाग्न आग्रह गर्दछौँ । साथै मतदातालाई बदलिएको कांग्रेसलाई जिताएर मुलुकको मुहार फेर्ने अभियानको प्रत्यक्ष हिस्सा बन्न पनि आग्रह गर्दछौँ,” प्रवक्ता चालिसेले भने ।

  • चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

    चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

    रासस
    चितवन, १० फागुनः चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा ९एमाले०का मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् ।
    निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन् ।

    नेपाली कांग्रेसले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का र २०७४ सालमा राप्रपाका उम्मेदवारलाई सघाएको थियो । माओवादी केन्द्रका डा भोजराज अधिकारी र राप्रपाका बिक्रम पाण्डेलाई सघाएकाले मतपत्रमा रुख चुनाव चिह्न नभएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।


    नेकपा एमालेले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सघाएको थियो । जिल्ला इञ्चार्ज देवि ज्ञवालीले २०७० सालको संविधानसभा निर्वाचनपछि अहिले आफ्नो चुनाव चिह्नमा मतदान गर्न लागेको बताए । उनले भने, “निकै उत्साहका साथ १२ वर्षपछि हामी सूर्य चिह्नमा मतदान गर्दै छौँ ।”

    विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित भएका थिए । पछि उहाँ प्रधानमन्त्री पनि बने । अहिले यो निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दुई ठाउँमा निर्वाचित भएपछि कोइरालाले चितवन क्षेत्र नं ४ छाडेका थिए । त्यसपछि भएको उपचुनावमा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका थिए । उपनिर्वाचनमा एमाले र कांग्रेसले आआफ्नै चुनाव चिह्नमा मतदान गरेका थिए । त्यसपछि भएको संसदीय निर्वाचनमा आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका थिएनन् ।

    विसं २०५६ मा चितवनमा चार वटा क्षेत्र थिए । विसं २०६४ मा आउँदा पाँच वटा र विसं २०७० मा पनि पाँच वटै कायम भयो । विसं २०७४ मा तीन वटा क्षेत्र भए । तीन वटा क्षेत्र कायम भएपछि एमाले र तत्कालीन नेकपा (माओवादी) बीच एकता भयो र पार्टी नेकपा बन्यो । नेकपाबाट उम्मेदवार भएका पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा पार्टी एकताका कारण नेकपा एमालेले दाहाललाई मतदान गरेको थियो ।

    विसं २०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । अधिकारी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याएका थिए ।


    यस क्षेत्रमा कांग्रेसबाट बागी उठ्नुभएका दिनेश कोइरालालाई एमालेले सघाउने निर्णय गरेको थियो । उनको निर्वाचन चिह्न माछा थियो । एमालेले मतदातालाई निर्देशन दिएर माछा चिह्नमा भोट हाल्न लगाएको थियो । कोइरालाको १२ हजार ५७ मत आएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गरेका थिए । उनले १४ हजार ८४२ मत ल्याएका थिए ।


    आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं ३ मा कांग्रेस र एमाले दुवै पार्टीका उम्मेदवार रहेका छन् । कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट युवानेता शङ्करराज थपलिया उम्मेदवार छन् । कांग्रेस एमालेका दुवैको चुनाव चिह्न यसपटकको निर्वाचनमा रहेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन् । राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन् । यस क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् ।

    यस क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्दछ । यस क्षेत्रमा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन् । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्नेछन् ।