Author: Vishwanews.com

  • बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे मन्त्रीद्वयबाट जानकारी

    बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे मन्त्रीद्वयबाट जानकारी

    काठमाडौँ, ६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिएका छन् । मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाकोे गतिविधि बढ्ने जनाएको थियो ।

    बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुगेका हुन् । उनीहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिएको विभागले जनाएको छ । “उक्त प्रणालीको प्रभावले भोलि (बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने छ”, विभागले जनाएको छ ।

  • जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

    जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

    काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ ।
    मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय तहमार्फत उपलब्ध गराइने प्रस्ताव छ । माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का लागि नगदसहित पोशाक तथा पाठ्य र सिकाइ सामग्रीबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


    त्यसैगरी, स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने वेयवस्था गरिएको छ। उक्त कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदन्डमा राखिएको छ ।


    मापदन्डले संस्थागत विद्यालयले प्रचलित कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
    लाभ लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ भने स्नातक तहका लागि सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ ।


    आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था मापदन्डमा उल्लेख छ । मन्त्रालयले तयार गरेको पापदन्डमा जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने र आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

  • राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं ६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज जारी गरेको निर्देशनमा बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको उल्लेख गरिएको छ।


    मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम १ को खण्ड ग विपरीत हुने जनाएको छ। निर्देशनमा त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड ग तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ। मन्त्रालयका उपसचिव लिलानाथ पोखेलद्वारा हस्ताक्षरित पत्रमा उक्त निर्देशन मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको उल्लेख छ। निर्देशनको बोधार्थ शिक्षा विभागलाई समेत दिइएको छ।

  • प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेले कार्यभार सम्हाल्ने

    प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेले कार्यभार सम्हाल्ने

    काठमाडौँ, ६ असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि उनको अनुपस्थितिमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानबमोजिम उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी अर्थमन्त्री डा वाग्लेलाई तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका

    काठमाडौँ, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन् ।


    प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् । सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् ।

    त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ ।

    असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नेछन् । उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत अरनलगायतका अधिकारीहरूले बिदाइ गर्नेछन् । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने तालिका छ ।

  • शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन


    सुदीप राउत/रासस

    सिरहा, ६ असोजः लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीतभण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक्त जग्गामा शीतभण्डार निर्माण भएको छ न त किसानले जग्गाको उपभोग नै गर्न पाएका छन् । मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी योजनाका रूपमा विसं २०७५ फागुन ११ गते तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पडरियामा शीतभण्डारको शिलान्यास गरेका थिए ।


    शीतभण्डार निर्माण भएपछि सिरहा र सप्तरीका किसानले आँप, आलु तथा मौसमी तरकारीलगायत कृषिउपज सस्तो मूल्यमा बिक्री गर्नुपर्ने वा बजार नपाएर खेर फाल्नुपर्ने समस्या हट्ने सरकारको अपेक्षा थियो । सात वर्षपछि निर्माणस्थलमा अधुरा संरचना, झाडी र पशु चराउने ठाउँबाहेक केही बाँकी छैन । एक हजार ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि २०७५ माघ ७ गते सप्तरीको मलेकपुरस्थित शुभनारायण कृषि व्यावसायिक फर्मसँग रु १७ करोड ३२ लाख ७१ हजार ५६ मा सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनामा प्रदेश सरकारको ८० प्रतिशत र सम्बन्धित फर्मको २० प्रतिशत साझेदारी रहने व्यवस्था थियो ।

    सम्झौतापछि फर्मले मन्त्रालयबाट पहिलो किस्ताबापत रु एक करोड भुक्तानी लिएको थियो । सो रकमबाट कार्यालय भवनको ‘डिपिसी’ र केही भागमा ‘कम्पाउन्ड वाल’ निर्माणलगायत प्रारम्भिक काम भए पनि त्यसपछि निर्माण अघि बढ्न सकेन । आयोजना सुरु गर्दा पर्याप्त पूर्वतयारी र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बिना प्रक्रिया अघि बढाइएको, लागत अनुमान र कार्यान्वयन प्रक्रियामा कमजोरी देखिएको तथा भुक्तानी र छानबिनका विषय उठेपछि आयोजना अघि बढ्न नसकेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।

    अधुरो संरचनामै हराउँदै निर्माण सामग्री

    निर्माण रोकिएपछि पडरियास्थित शीतभण्डारको संरचना संरक्षणविहीन बनेको स्थानीयको भनाइ छ । निर्माणस्थलमा रहेका फलामे रड चोरी भएको तथा केही पिलर फुटाएर फलाम निकालिएको स्थानीय बताउँछन् । स्थानीय किसान राजेन्द्रप्रसाद साहले निर्माणस्थल संरक्षणविहीन हुँदा सरकारको लगानीसँगै निर्माण सामग्री नोक्सान भइरहेको बताए । “पिलर फुटाएर फलाम निकालिएको छ, बाँकी फलामे रड पनि हराउँदै गएका छन् । सरकारले बनाउने भनेर छाडेको संरचना अहिले संरक्षण गर्ने मान्छे नभएको जस्तो देखिन्छ”, उनले भने ।

    किसानले भाडा पाएनन्

    शीतभण्डार बन्ने आशामा पडरियाका आठ किसानले करिब एक बिघा दुई कट्ठा उब्जाउ कृषि जग्गा ३० वर्षका लागि भाडामा दिएका थिए । प्रतिकट्ठा वार्षिक रु आठ हजारका दरले भाडामा दिइएको उक्त जग्गाको वार्षिक भाडा करिब रु एक लाख ७६ हजार हुने सम्झौता थियो । निर्माण अलपत्र परेपछि किसानले जग्गाको भाडा मात्र होइन, भाडामा दिएको जग्गामा खेतीपातीसमेत गर्न पाएका छैनन् । स्थानीय किसान सुरतलाल चौधरीका अनुसार नेपाली चौधरी, सियाराम चौधरी, जीवन चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी, अन्तिलाल चौधरी, बिन्तीलाल चौधरीसहित आठ जनाले शीतभण्डार निर्माणका लागि जग्गा भाडामा दिएका थिए ।

    जग्गादाता नेपाली चौधरीले शीतभण्डारका लागि जग्गा दिएको सात वर्षदेखि भाडा नपाएको बताए । उनका अनुसार अहिलेसम्म रु १२ लाखभन्दा बढी भाडा पाउन बाँकी छ । “शीतभण्डार बनाउने भनेकाले जग्गा दियौँ । न शीतभण्डार बन्यो, न भाडा आयो । खेतीपाती गर्न पाएनौँ”, उनले भने । जग्गादाता जीवन चौधरीले आफूले साढे चार कट्ठा उब्जाउ जग्गा शीतभण्डार निर्माणका लागि दिएको बताए । निर्माणको जिम्मा पाएको फर्मका सञ्चालकलाई खोज्दै राजविराजसम्म पुगे पनि भेट्न नसकेको र फोन सम्पर्कसमेत हुन नसकेको उनको भनाइ छ । “न संरचना बन्यो, न जग्गाको भाडा आयो । न त खेतीपाती गर्न पाइयो । अहिले जङ्गल र झाडी मात्रै बाँकी छ”, उनले भने ।


    प्रदेशका आठ शीतभण्डारको अवस्था उस्तै लहानको आयोजना मात्र होइन, मधेस प्रदेश सरकारले आव २०७५÷७६ देखि अघि बढाएका अधिकांश शीतभण्डार आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशका सात जिल्लामा आठ शीतभण्डार निर्माणका लागि करिब रु एक अर्ब ७९ करोड ९३ लाख बराबरको सम्झौता भए पनि अधिकांश आयोजना फाउन्डेशन, माटो फिलिङ र कम्पाउन्ड वालमै सीमित छन् ।

    धनुषाको लक्ष्मीनियाँमा एक हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जनहित कृषक समूहसँग रु १६ करोड ६५ लाखमा सम्झौता भएको थियो । समूहका अध्यक्ष ललितनारायण यादवका अनुसार कृषकको लगानी रहेको उक्त आयोजनामा हालसम्म करिब रु तीन करोड खर्च भए पनि प्रदेश सरकारबाट रु ८१ लाख ५० हजार मात्र प्राप्त भएको छ ।

    पर्साको वीरगञ्ज–२६ सुगौलीमा पाँच हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि शिवम् एग्रो इन्डस्ट्रिजसँग रु २७ करोड ८२ लाख ९९ हजारमा सम्झौता भएको थियो । त्यहाँ प्रारम्भिक ‘लेआउट’को कामभन्दा अरु अघि बढेको छैन । वीरगन्जकै अर्को आयोजनामा ग्लोबल लेदर ट्रेडिङ इन्डस्ट्रिजसँग रु १७ करोड ११ लाखमा सम्झौता भए पनि कम्पाउन्ड वालसम्मको काम भएको छ ।

    बाराको सिम्रौनगढमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि अमन मत्स्य फार्मसँग रु २४ करोड ७४ लाख ८४ हजारमा सम्झौता भएको थियो । त्यहाँ फाउन्डेशनसम्मको काम भएको छ । रौतहटको गरुडा–१ मा राष्ट्रिय हर्बल प्रोसेसिङ प्रालिसँग रु २६ करोड ८५ लाखमा सम्झौता भएको आयोजना पनि अलपत्र छ ।


    सर्लाहीको बरहथवा–५ मा एक हजार ५०० मेट्रिकटन क्षमताको शीतभण्डारका लागि लवकुश बचत तथा ऋण सहकारी संस्थासँग रु १८ करोड ३५ लाखमा सम्झौता भएको थियो । त्यहाँ माटो फिलिङ र फाउन्डेशनबाहेक काम हुन सकेको छैन । सप्तरीको राजविराज–भल्हीमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जिल्ला सहकारी संस्थासँग रु ३१ करोड पाँच लाखमा सम्झौता भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएको दाबी गरिए पनि आयोजना अझै सञ्चालनमा आएको छैन । यस आयोजनामा सङ्घीय सहकारी विभागबाट रु सात करोड १७ लाख र प्रदेश सरकारबाट रु एक करोड चार लाख भुक्तानी भइसकेको छ ।

    लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले राजनीतिक स्वार्थका आधारमा आयोजना छनोट गर्ने, बजेट विनियोजन गर्ने तर कार्यान्वयनको जिम्मेवारी र जवाफदेहितामा बेवास्ता गर्ने प्रवृत्तिले विकास आयोजना अलपत्र पर्ने गरेको बताए । उनका अनुसार योजना छनोटदेखि ठेक्का, सम्झौता र बजेट खर्चसम्मका प्रक्रियामा राजनीतिक प्रभाव, अनियमितताले स्थान पाउँदा आयोजना समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिन्छ । “आयोजना छनोट हुन्छ, बजेट पनि खर्च हुन्छ तर वर्षौंसम्म सम्पन्न हुँदैन भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ”, उनले भने, “यस्ता आयोजना अलपत्र पर्नुमा राजनीतिक स्वार्थसँगै कार्यान्वयनमा हुने ढिलासुस्ती, अनियमितता र कमजोर जवाफदेहिता पनि जोडिएको हुन्छ ।”

    अख्तियार र महालेखाको प्रश्न

    शीतभण्डार निर्माणका क्रममा योजना छनोट, लागत निर्धारण, सम्झौता तथा भुक्तानी प्रक्रियामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो । विसं २०७९ मा पडरियासहित प्रदेश सरकारले विभिन्न जिल्लामा अघि बढाएका शीतभण्डार आयोजनामा अनियमितता भएको उजुरी परेपछि सम्बन्धित फाइल मन्त्रालयबाट झिकाएर अनुसन्धान गरिएको थियो ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सञ्जयकुमार यादवका अनुसार शीतभण्डार निर्माणका क्रममा भएका केही भुक्तानीलाई महालेखापरीक्षक र अख्तियारका प्रतिवेदनमा बेरुजुका रूपमा औँल्याइएको छ । आयोजना कार्यान्वयनमा देखिएका कानुनी तथा नीतिगत जटिलताका कारण प्रदेश सरकारले आवश्यक निर्णय नगरेसम्म आयोजना अघि बढाउने वा नयाँ ढङ्गले व्यवस्थापन गर्ने विषयमा स्पष्ट दिशा आउन कठिन रहेको उनले बताए ।


    त्यस्तै, मन्त्रालयका प्रवक्ता मनिषकुमार पालका अनुसार तत्कालीन प्रदेश सरकारले विभिन्न जिल्लामा सुरु गरेका शीतभण्डारसम्बन्धी केही विषय अदालतमा विचाराधीन छन् । “शीतभण्डार प्रदेशको गौरवको योजना भए पनि यो धेरै गिजोलिएको छ । विगतमा धेरै कमीकमजोरी देखिएका छन्”, उनले भने, “यसलाई अब अगाडि बढाउन प्रदेश सरकारले कानुनी र नीतिगत निर्णय लिनुपर्छ । नत्र सम्भव छैन ।”

  • डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन

    डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन

    काठमाडौँ, ६ असोजः डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

    धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा २०८३ असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । उक्त समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।

    नेपाल धितोपत्र बोर्डले कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले उक्त घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।


    घटनाको प्राविधिक पक्ष तथा कारोबार स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ । टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसको प्रभाव तथा कारोबार प्रणालीमा पर्न सक्ने जोखिमलगायत विषयमा अध्ययन गर्नेछ ।

    यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएको अवस्थामा नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही परिस्थितिलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० बमोजिम कारोबार स्थगित गरेको जनाएको छ ।

    बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ । बोर्डका प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीको विश्वसनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्राविधिक जोखिमको पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम अघि बढाइने जानकारी दिए ।

  • पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    कास्की, ६ असोजः विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो । पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तरराष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    “पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ”, अध्यक्ष सिग्देलले भने । तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

    सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको सङ्घका सचिव सुमनराज कार्कीले बताए ।


    “भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तरराष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ । यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना गर्ने वातावरण निर्माण हुनेछ”, सचिव कार्कीले भने ।

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ, ६ असोजः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    बिहान १०ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ । सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ ।

  • प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

    प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै


    काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै छन् । उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।


    प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते ९सेप्टेम्बर २४० मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो ।

  • फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट


    गण्डकी, ६ असोजः आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल\रेष्टुराँमा छुट सुविधा दिइएको हो ।

    होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । “छुट योेजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ”, उनले भने, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।”

    बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उनको भनाइ छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुनसक्ने अध्यक्ष सुवेदीले बताए । “फ्लाई दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउनु होटल व्यवसायीको पनि दायित्व सम्झेर छुट योजना ल्याइएको हो”, उनले भने ।


    रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु\पर्यटकलाई छुटको सुविधा दिइने बताए । “तीन महिनासम्म छुट योजना लागू हुन्छ, पछि परिस्थिति हेरेर थप्न पनि सकिन्छ”, उनले भने, “पोखराबाट हुन लागेको फ्लाई दुबईको उडानलाई दिगो र सफल बनाउन सबैको हातेमालो चाहिन्छ ।”

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका अन्य पर्यटन व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्ष्य गरेर छुट योजना ल्याउन लागेको बताए । “एकीकृत रुपमा छुट प्याकेज बनाउने र त्यसलाई एप्समार्फत सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ”, उनले भने, “पोखरा–दुबई हवाई उडानलाई दिगो र प्रभावकारी बनाउन पोखरेली पर्यटन व्यवसायी एकजुट छौँ ।”

    पोखरा पर्यटन परिषद्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले पनि यसमा सक्रियता बढाएका छन् । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान गर्न लागेको हो ।

    दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज बुधबार साँझ साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिँह रावतले जानकारी दिए ।

    फ्लाई दुबईको 737 र MAX 8 / MAX 9 ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए । उक्त जहाजमा एक सय ३८ देखि एक सय ८९ सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको सूचना अधिकारी रावतले बताए ।


    विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने जनाइएको छ ।

    एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ । पोखरादेखि दुबईहुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन् । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् ।

    पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानबाट मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिनेछ । यस उडानलाई दिगो रुपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

  • मनसुन सक्रिय बन्दै, सतर्कता अपनाउन आग्रह

    मनसुन सक्रिय बन्दै, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, ५ असोजः आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको विशेष मौसम ‘बुलेटिन’अनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

    त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभाव बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

    महाशाखाले ठूला तथा साना नदी नाला र खोलानालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहणमा जानेले सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

    त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

    काठमाडौँ, ५ असोजः त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । बा५ख ४२७४ नम्बरको बसमा आज आगजनी भएको थियो ।

    समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन् ।


    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो । उक्त विवादपछि बसमा आगजनी भएको थियो । छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गर्नेछ । छानबिन समितिको कार्यादेशमा घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ । यस्तै, घटनास्थललाई प्रत्यक्ष रूपमा देखे जानेका व्यक्तिसँग सोधपुछ गरी जानकारी लिने कार्यादेश समितिलाई दिइएको छ ।

    घटनास्थल वरपरको सिसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण यकीन गर्नुपर्नेछ । यस्तै, घटनाको समग्र पक्षको विश्लेषण गर्ने, पार्किङ बेमा गाडी पार्किङ गरी राखिएको समय र गाडीमा आगजनी भएको समय बीचको ‘टाइमलाइन’ सहितको तथ्यगत विश्लेषण गर्ने उल्लेख छ ।

    घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको मोबाइल वा अन्य कुनै निजको साथबाट प्राप्त हुनसक्ने घटनासँग सम्बन्धित भई निजले सम्प्रेषण गरेका भिडिओ, म्यासेज वा कोही कसैसँग निजको सम्पर्क भएको भए कल विवरण निकाल्ने कार्यादेश समितिलाई दिइएको छ । घटनासँग सम्बन्धित विवरणका आधारमा सत्यतथ्य पत्ता लगाई के कसका कारणबाट उक्त घटना घट्न गएको हो ?

    यकीन गरी प्रतिवेदन पेस गर्ने र आगामी दिनमा यस प्रकृतिका घटना घट्न नदिनका लागि अपनाउनुपर्ने पूर्वसावधानी र नियन्त्रणका लागि उपायसहितको सुझाव समितिले पेस गर्नुपर्नेछ । समितिले छानबिनको कार्यविधि र तालिका आफैँ तय गर्नेछ । समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रहने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उल्लेख गरेका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा टेलिकमद्वारा सञ्चार सुविधा

    बाढी प्रभावित क्षेत्रमा टेलिकमद्वारा सञ्चार सुविधा


    काठमाडौँ, ५ असोजः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ । कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका प्रभावितलाई लक्षित गरी सुविधा उपलब्ध गराएको हो ।

    नेपाल टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेका एनटी फाइबर केवल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि समाप्त भएमा थप तीन महिनाका लागि निःशुल्क सेवा उपलब्ध गराइने भएको छ ।

    टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा रहेको सिमकार्ड पुनः वितरण गरिनेछ । त्यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, ती नम्बर सक्रिय रहेको अन्तिम स्थान (लास्ट लोकेसन) बाढी प्रभावित क्षेत्रमा रहेको हुनुपर्ने र सम्बन्धित नम्बरको ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ । यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एकीकृत विपद् सूचना व्यवस्थापन केन्द्र (आइडिएमसी) मा रहेको मुख्य सर्भरदेखि प्राधिकरणको ब्याकअप सर्भरसम्म निःशुल्क जडानका लागि डार्क फाइबरमार्फत भौतिक सम्पर्क स्थापना गरिएको छ ।

    विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा उपलब्ध गराउँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सिएमसी–नेपाल) को टोल फ्री नम्बर १८१०५०००४०२ मा तीन महिनासम्मको मासिक बिलसमेत निःशुल्क गरिने भएको छ । टेलिकमले जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्सङ्ग व्यास नेपाल, सामाखुसी केन्द्रमा राहत सङ्कलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

    जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन एकाइका लागि एक वर्षसम्म १०० एमबिपिएस क्षमताको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ । त्यसैगरी, रसुवा बाढीबाट प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षति विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो तथा भिडियो लगायतका तथ्याङ्क समयमै सङ्कलन तथा प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।

    कम्पनीले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा यसअघि करिब रु २० करोड सहयोग उपलब्ध गराइसकेको छ । बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेकामा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सेवा पुनःस्थापनाको कामसमेत निरन्तर भइरहेको टेलिकमले जनाएको छ ।

  • ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह

    ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह


    काठमाडौँ, ५ असोजः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइ निरन्तर प्रयास गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले ग्यास सिलिण्डरको आपूर्ति यथाशीघ्र सामान्य बनाउन कार्यक्रम मूल्याङ्कन तथा समीक्षा प्रविधि विश्लेषण (पर्ट एनालाइसिस) गरी आपूर्ति प्रक्रियाका सबै चरणको अध्ययन गरिएको बताए ।


    “भन्सार जाँचपास (क्लियरेन्स)को समय घटाउन अर्थ मन्त्रालय, बाटोमा हुने जाम तथा आवागमन व्यवस्थापनका लागि गृहमन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा एक सातासम्म १६० बुलेटसम्म पुर्‍याउन कूटनीतिक पहल अघि बढाइएको छ”, मन्त्री साहले भने । ग्यास आपूर्ति अल्पकालीन रूपमा सहज र दीर्घकालीनका लागि दिगो तथा व्यवस्थित बनाउन आवश्यक मार्गनिर्देशन तयार गर्ने उद्देश्यले मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको उनले बताए । मन्त्री साहले भने, “मन्त्रालयमा ग्यास उद्योगीसँग गरिएको बैठकबाट काठमाडौँ उपत्यकामा प्रतिदिन ५० हजार सिलिन्डर आपूर्ति गर्ने प्रतिबद्धता प्राप्त भएको छ, जसको कार्यान्वयन दैनिक तथ्याङ्कबाट अनुगमन भइरहेको छ ।”

    यसैगरी अत्यावश्यक वस्तुको मूल्यवृद्धि, कमजोर बजार अनुगमन र कालोबजारीबारे माननीय सदस्यले उठाएको विषयमा सरकार गम्भीर रहेको मन्त्री साहले उल्लेख गरे । अवाञ्छित मूल्यवृद्धि हुन नदिने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    “मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालयबाट संयुक्त तथा आकस्मिक अनुगमन टोली परिचालन गरी अवाञ्छित मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणको काम भइरहेको छ”, मन्त्री साहले भने, “उपभोक्ता हितविपरीत गतिविधि गर्नेमाथि कारबाही गर्दै आइएको छ र यस कार्यलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।”

    मन्त्री साहका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वर्षभरि सुपथ मूल्य पसल १९३ वटा सञ्चालन गरिएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनको तयारी भइरहेको छ । उनले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ अनुसार अनुमतिपत्र रद्द भएका उद्योगले एक वर्षभित्र आफ्नो अचल सम्पत्तिको व्यवस्थापन गर्नुपर्ने र व्यवस्थापन हुन नसकेमा त्यस्तो सम्पत्ति नेपाल सरकारको हुने कानुनी व्यवस्था रहेको बताए ।


    निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनमार्फत व्यापार घाटा कम गर्न ‘वाणिज्य नीति, २०८१’, ‘नेपाल व्यापार एकीकृत रणनीति, २०८०’ र ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना’ अद्यावधिक गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । हेटौँडा सिमेन्ट उद्योग सञ्चालनको मागका सम्बन्धमा अर्थ मन्त्रालयबाट उक्त उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडीए) सम्पन्न भएको बताउँदै मन्त्री साहले उद्योग सञ्चालनको विकल्प, वित्तीय दायित्व, प्रविधिगत अवस्था र बजार सम्भाव्यतालाई समेटेर निर्णय गर्ने विषय हाल छलफलमा रहेको अवगत गराए ।


    खानी तथा खनिज पदार्थको उत्खनन र ढुङ्गा, गिट्टी, बालुवा तथा क्रसर उद्योगको सञ्चालन मापदण्ड समयसापेक्ष बनाई प्रभावकारी नियमन गर्नुपर्ने विषयमा ‘खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक, २०८३’ सङ्घीय संसद्मा पेस भई हाल समितिमा छलफलको क्रममा उनले बताए । उत्तरी नाकाबाट व्यापार र आवागमन सहज बनाउन उठाइएको विषयमा सम्बन्धित व्यापार महाशाखा तथा सरोकारवाला निकायबाट नाकागत अवस्था, पूर्वाधार, भन्सार प्रक्रिया र अवरोधका कारणसम्बन्धी तथ्य सङ्कलन गर्दै आइएको उनले बताए ।

  • डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन, नियमनमा उठ्यो प्रश्न

    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन, नियमनमा उठ्यो प्रश्न

    काठमाडौँ, ५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ ।

    डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएको सूचनामा उल्लेख छ । यसैबीच, स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्सेसमक्ष निवेदन दिएको थियो ।

    सोही सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो । नेप्सेले प्राविधिक समस्या समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ । यसबाट शेयर बजारको सुरक्षा र नियमनमा ठूलो प्रश्न खडा गरेको छ ।

  • न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    मधुकर अधिकारी–रासस
    न्युयोर्क (अमेरिका), ५ असोज । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ ।

    उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस अगाडि जानकारी दिइसकेका छन् । यतिखेर न्युयोर्क सहरका अधिकांश होटलहरु भरिभराउ छन् । होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरुको चहलपहल देखिन्छ । विभिन्न देशका र अमेरिकाकै पनि अन्यत्र ठाउँबाट आएका मिडियाकर्मीहरुको पनि यतिखेर यहाँ भिडभाड देखिन्छ । राष्ट्रसङ्घीको महासभाको समाचार सङ्कलनका लागि उनीहरु खटिएर आएका र आफ्ना काम सुरु गरिसकेका छन् ।

    समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्गटन डिसीबाट न्युयोर्क आइपुग्नुहुने कार्यतालिका रहेको छ । यसैगरी इजरायलका प्रधानमन्त्री वेन्जामिन न्यातन्याओ लगायतका नेताहरु न्युयोर्क आइपुग्दैछन् । विश्वभरिका शासकदेखि प्रशासकसम्म अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी रहेको न्युयोर्कमा आगामी दश दिनसम्म खचाखच रुपमा भरिनेछन् ।

    विदेशी विशिष्ट पाहुनाहरु र त्यसमाथि पनि सरकार प्रमुखहरुको बसाइ यही एक माइलभित्र रहेका सुविधा सम्पन्न र विश्वकै महङ्गा होटलहरुमा रहने गरेका छन् । तीमध्ये मिलेनियम हिल्टन न्युयोर्क वान युएन प्लाजा, द वेष्टटिन न्यूयोर्क ग्राण्ड सेन्ट्रल वालड्रफ अष्टोरिया न्यूयोर्क, हयाट ग्राण्ड सेन्ट्रल लगायतका होटेलहरुमा बुकिङका लागि बन्द गरिएको छ । यस अगाडि बुकिङ भइसकेका या कतिपय मिशनहरु (राष्ट्रसङ्घका लागि दूतावास) अग्रिम बुकिङ गरिसकेका छन् ।

    यतिखेर ती होटलका कर्मचारीहरुलाई भ्याइ नभ्याइ रहेको देखिएको छ । उनीहरु पनि पाहुनाहरुको सहयोगका लागि तत्परताका साथ लागिपरेका देखिन्छन् । उनीहरु कुनै पनि पाहुनाको लागि सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन् । त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भएपनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहल पहल देखिन्छ ।

    अहिले राष्ट्रसङ्घको मुख्यालयमा वरिपरि पैदल हिड्न बन्द गरिएको छ भने न्युयोर्क पुलिसले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ । यहाँ वरपर भारी सङ्ख्यामा ब्यारियरहरु राखिएको छ । उच्चस्तरीय सप्ताह भएकाले कारगेड, स्कर्टिङ्ग गर्नेदेखि पाहुनाहरुलाई होटल र एयरपोर्टसम्म पुरयाउन कतिपय बाटोहरु एकतर्फी आवागमन र कतिपय बन्द गरिएको छ । राष्ट्रसङ्घले नै भिजिटरहरुको लागि अक्टोबर १२ सम्मलाई बन्द गरेको छ ।

    यहाँ आवागमनका लागि बाटोहरु बन्द भएपनि सर्वसाधारणका लागि भने अण्डर ग्राउण्डबाट चल्ने रेलवे सिष्टम भएकाले आफ्ना काममा आवात जावत गर्न लागि गाह्रो हुँदैन । मुख्य रुपमा मिड म्यान हटन, युनाइटेड नेशन हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रमहरुको अयोजना गर्न पनि रोक लगाइएको छ । न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिश्चले संवाददाताहरुसँग कुरा गर्दै भनिन् , न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्ण रुपमा तयार र सतर्क रहेका छौँ ।

    न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलहरुमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो, तर हामीहरुलाई महासभामा भाग लिन आउनेहरुको विषयमा स्पेशल भनेर भनिएको हुँदैन । उहाँका अनुसार यो समयमा होटेलहरुको उच्च दरको वुकिङ्ग भएकाले मूल्य पनि महङ्गो पर्ने हुन्छ । त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायति मूल्यमा होटल प्राप्त गर्न सकिन्छ ।

    म्यानहटनमा नै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवाल यो समयमा उपहारका सामानहरुको व्यापार बढी हुने बताउँछन् । उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार वढी हुने तथ्याङ्क आफूसँग रहेको बताउँछन् । न्युयोर्कमा नै बसेर उवर चलाउँदै आएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने, अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी त हुन्छ । गुरुङ्गका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायति हुन्छ ।

    संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्वरसम्म जारी रहनेछ । यसपटकको महासभाको “विश्वासको पुर्नस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ” भन्ने नारा रहेको छ ।

    नेपालको तयारी

    न्युयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभाको ८१औँ सेसनलाई २४ सेप्टेम्बरमा सम्बोधन गर्नेछन् । सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार महासभामा भाग लिनका लागि न्यूयोर्क आइपुग्ने छन् । भोटेकोशी बाढीका कारण नेपालले निकै ठूलो क्षति व्यहोर्नुपरेकाले यस पटकको महासभामा नेपालमाथि नै विश्वको ध्यान पुग्ने देखिएको छ । त्यसैले पनि यो महासभामा नेपालको सहभागिता र उपस्थिति महत्वपूर्ण रहेको छ ।

    महासभाको एक मुख्य एजेण्डा नै जलवायु परिवर्तन हो । यसलाई नेपालले मुख्य रुपमा प्रभावित देशको उदाहरण सहित आफनो आवाजलाई वुलन्द बनाउन सक्नेछ । एकातिर विश्व जगतले समुन्द्रको सतह बढ्ने र त्यसले मानवीय, ऊर्जा, पूर्वाधारको क्षति वढाउने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । अर्कातर्फ विश्वका उच्च शिखरहरु मध्ये नेपालका आठ शिखर पग्लिदै गएर अन्तत्वगत्वा समुन्द्र सतह वृद्धि नै हुनेछ । त्यसैले नेपालले आयोजना गर्ने ‘सगरमाथा टु दि सी लेभल’ भन्ने नाराका साथ ‘साइडलाईन इभेन्ट’ महत्वपूर्ण हुने नै छ ।

    त्यसमाथि नेपालले हरित ग्याँस उत्सर्जनमा कम योगदान तर क्षतिमा बढी व्यहोर्नु परेकाले हानी नोक्सानीको विषयमा पनि विश्वको ध्यान आकर्षित गर्ने नै छ । विश्वका विकसित देशहरुले यसमा योगदान गर्ने कोष बढाउन दबाब दिने यो समय उपयुक्त भएकाले राष्ट्रसङ्घका अधिकारीहरु नै यसलाई जोडतोडका साथ उठाइरहेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले देशहरु र मानिसहरुको जीवनमा पार्ने असर निकै खराब हुँदै गएको र यसको पछिल्लो प्रमाण नेपालको घटना हो भन्नु भनेका छन् ।


    गत बुधबार मात्रै पनि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुन लागेको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त धारणा राखेका हुन् । संवाददाताहरुले उच्चस्तरीय बैठकहरुमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिको सम्वन्धमा कुनै ठोस नतिजाको अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै महासचिव गुटेरेसले अगाडि थप्नु भयो– तीन वर्ष अगाडि म अन्नपूर्ण र सगरमाथाका हिमनदीहरुमा गएको थिएँ, त्यति बेला नै मैले भनेको थिएँ कि अवस्था निकै खराब हँुदै गइरहेको छ र कुनै पनि विनाशकारी घटना घट्न सक्छ र अहिले त्यस्तै भएको छ ।

    महासचिव गुटेरेसले जलवायु परिवर्तनले देशहरुको अवस्था अझै विग्रन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरेका छन् । यसैले यस पटकको महासभामा नेपालले जलवायु न्याय के कति मात्रामा प्राप्त गर्न सफल हुन्छ भन्ने त भविष्यको विषय हो तर नेपालले आफनो भनाई राख्नका लागि उपयुक्त अवसर भने अवश्य प्राप्त गरेको छ । आशा गरौँ अरु महासभा भन्दा नेपालले यो महासभाबाट बढी भन्दा बढी लाभ लिन सफल होस् ।

    समयमा नै सचेतता नअपाउने हो भने सेप्टेम्बरमा सिमसिम परेको पानीजस्तै झन् बढ्दै जाने र दुई दशकपछि हिमपात भएर राष्ट्रसङ्घको महासभालाई नै अवरोध पुर्याउने पो हो कि ? त्यसैले जलवायु परिवर्तन जस्तो गम्भीर समस्याले विश्वको मानचित्रमा नै धक्का दिने भएकाले यसमा विश्वभरका सरकार प्रमुखहरुले प्रतिवद्धता अनुसारको काम गरेर भावी पिँढीका लागि सवल र सक्षम पृथ्वी हस्तान्तरण गर्न सफलता मिलोस् ।

  • त्रिपुरेश्वरमा ट्राफिकसँगको विवादमा बस चालकले आफु भित्रै बसेर लगाए  बसमा आगो

    त्रिपुरेश्वरमा ट्राफिकसँगको विवादमा बस चालकले आफु भित्रै बसेर लगाए बसमा आगो

    काठमाडौँ, ५ असोजः काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको राससलाई जानकारी दिए । आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए ।

    चालकले ट्राफिक प्रहरीसँगको विवादमा आफु भित्र बसेर बसमा आगो लगाएको खुलेको छ । प्रहरीले उनलाई हर्न नबजाउन भनेको विषयमा विवाद भएको बताइएको छ । त्रिपुरेश्वरको सोही स्थानमा केही समय अगाडी नगर प्रहरीसँगको विवादमा एक पठाओ चालकले आफैलाई आगो लगाउँदा उनको ज्यान गएको थियो ।

  • करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    भद्रपुर (झापा), ५ असोजः झापाको बिर्तामोड नगरपालिका–२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड–२ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुर्मू खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले आवश्यक मुचुल्कालगायत प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बिर्तामोड(२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

    संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

    तेहरान, ५ असोज (रासस–सिन्ह्वा) । इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशनमा सहभागी हुनु आफ्नो ुकानुनी अधिकारु भएको दाबी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा न्यूयोर्कमा हुने महासभा अधिवेशनमा इरानको सहभागिता कुनै देशले प्रदान गर्ने सुविधा वा अनुग्रह नभएको बताए ।

    “न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिका लागि विशेष आकर्षणको विषय होइन। तर यो त्यस्तो महत्वपूर्ण मञ्च हो, जसलाई हामीले छाड्नु हुँदैन,” बघाईले भने । उनका अनुसार महासभामा सहभागी हुनु इरानको कानुनी अधिकार हो। उनले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको पनि उल्लेख गरे ।


    बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न अर्को पक्ष ले विभिन्न उपाय अपनाइरहेको आरोप लगाए। यस्तो अवरोध र नकारात्मक प्रचारले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट पछि हट्न बाध्य नपार्ने उनले बताए । उनले महासभामा सहभागी भएर इरानी जनताको धारणा र देशको अडान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु आफूहरूको दायित्व भएको समेत बताए ।


    यसैबीच, अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानको मुख्य प्रतिनिधिमण्डललाई यूएनजीएमा सहभागी हुन भिसा जारी गर्ने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा अमेरिकाको दायित्वअनुसार गरिएको हो। अमेरिकी पक्षले यस वर्षको इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो हुने जनाएको छ।

  • मस्कोको मतदान प्रणालीमा व्यापक साइबर आक्रमण : रूसी अधिकारी

    मस्कोको मतदान प्रणालीमा व्यापक साइबर आक्रमण : रूसी अधिकारी

    मस्को, ५ असोज (रासस–सिन्ह्वा) । रूसी संसद् (डुमा) को नवौँ सत्रका लागि संसद्को तल्लो सदनका लागि भएको विद्युतीय मतदान प्रणालीमा व्यापक स्तरको साइबर आक्रमण भएको मस्कोमा निर्वाचन अवलोकनका लागि सार्वजनिक मुख्यालयका प्रमुख भादिम कोवालेभले आइतबार बताएका छन् । रूसले आफ्नो प्रविधिको प्रयोग गरी आक्रमणलाई सफलतापूर्वक रोक्न सकेको कोवालेभले बताए ।
    “हाम्रो दुर्गम भेगका विद्युतीय मतदान प्रणालीमा व्यापक र गम्भीर साइबर आक्रमण भइरहेको छ,” कोवालेभले भने । साइबर आक्रमणका बावजुद् पनि अनलाइन मतदान प्लेटफर्म स्थिर रूपमा सञ्चालन भएको र कुनै ढिलाइ वा मतदानका लागि धेरै मानिस लामवद्ध अवस्थामा कुनु नपरेको पुष्टि उनले गरे ।

    रूसको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष एल्ला पाम्फिलोभाका अनुसार आक्रमणहरू मुख्यतः विदेशबाट सुरु गरिएका थिए। “मतदानका दिनहरूमा रुसको निर्वाचन पूर्वाधारविरुद्ध एक हजारभन्दा बढी साइबर आक्रमणका चक्रहरू रेकर्ड गरिएका थिए,” आरआईए नोभोस्तीले उनलाई उद्धृत गर्दै लेखेको छ। निर्वाचनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो कार्यालयमा कम्प्युटरमार्फत मतदान गरेको क्रेमलिनले जनाएको छ। आयोगको निर्णयअनुसार मतदान शुक्रबारदेखि आइतबारसम्म हुनेछ ।

  • सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

    सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम


    लमजुङ, ५ असोजः वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् ।

    हालसम्म एकान्तबासका लागि छुट्टै भवन, चार शय्याको स्वास्थ्योपचार भवन र कार्यालय भवन निर्माण भइसकेको छ । कार्यालय भवनमा करिब १५ जना अट्ने सभाहल तथा सचिव, लेखापाल र संयोजकका लागि छुट्टाछुट्टै कोठा छन् । आश्रमकी संयोजक अनिता अधिकारीका अनुसार आवासीय भवन, कम्पाउन्ड र गेटलगायतका काम पूरा गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिनेछ । त्यसका लागि थप खर्च लाग्नेछ । “हाल निर्माण भएका संरचनालाई पूर्ण रूपमा प्रयोगमा ल्याउन बाँकी काम सम्पन्न गर्नुपर्छ”, उनले भनिन् । आवासीय भवनमा ३५ महिला र ३५ पुरुष गरी ७० जनालाई राख्न मिल्ने संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

    कुल १३ रोपनीमध्ये पाँच रोपनी जग्गा बालसपना समाजले मानवसेवा आश्रमलाई निःशुल्क उपलब्ध गराएको हो । पाँच रोपनी जग्गा आश्रमको नाममा पास भइसकेको छ भने बाँकी आठ रोपनी जग्गा बालसपना समाजकै नाममा छ । सो आठ रोपनी जग्गा पनि आश्रमले भोगचलनका लागि उपयोग गरिरहेको छ । आश्रमको आफ्नै भवन निर्माण २०७८ सालदेखि सुरु भएको हो । भवन निर्माणमा हालसम्म रु चार करोड ५७ लाख ६० हजार ४२८ खर्च भएको छ ।

    भवन निर्माणका लागि प्रदेश सरकारबाट रु एक करोड ३१ लाख २७ हजार ८५३, स्थानीय तहबाट रु ८४ लाख ७५ हजार ९५, व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट रु ७४ लाख ५९ हजार ९८३, महायज्ञबाट रु ९७ लाख ८२ हजार ८१० तथा मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट रु ६९ लाख १४ हजार ६८७ प्राप्त भएको छ ।

    निर्माणका क्रममा आश्रमले विभिन्न चुनौतीसमेत झेल्नुपरेको छ । कोभिड–१९ को प्रभाव र आर्थिक स्रोतको अभावसँगै पहिरोका कारण निर्माण प्रभावित भएको थियो । पहिरो नियन्त्रणमा करिब रु दुई करोड ५० लाख खर्च भएको आश्रमले जनाएको छ ।

    आश्रमको दीर्घकालीन योजनाअनुसार करिब १०० जनालाई सेवा दिनसक्ने संरचना तयार हुनेछ । परिसरमा बालबालिकाका लागि खेलमैदान, मनोरञ्जन तथा दिवा सेवा केन्द्र र चारवटा गाई अट्ने गोठ निर्माण गर्ने योजना छ । हाल आश्रमले बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकस्थित भाडाको घरबाट सेवा दिइरहेको छ । आश्रममा अहिले नौ पुरुष, १३ महिला र सात वर्षीया एक बालिका गरी २३ जना छन् । उनीहरूको उमेर सातदेखि ७४ वर्षसम्म छ ।

    विसं २०७३ चैत १२ गते लमजुङ शाखा स्थापना भएयता आश्रमको संरक्षणमा रहेका ६३ जना परिवारसँग पुनर्मिलन भएका छन् । यस्तै, २४ जनाको आश्रममै निधन भएको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि आश्रमको सेवा थप व्यवस्थित र विस्तार हुने आश्रमले जनाएको छ ।

  • क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

    क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए


    वाशिङ्टन, ५ असोज (रासस–एपी) । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको एउटा डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले ‘नार्को–आतङ्कवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका यस्ता ६९ वटा आक्रमणमा ती मानिस मारिएको जनाइएको छ ।

    अमेरिकी दक्षिणी कमाण्ड (युएस सदर्न कमाण्ड) ले तस्करीका लागि परिचित समुद्री मार्गमा लागुऔषध तस्करलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । यद्यपि, आक्रमण गरिएको डुङ्गामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि हुने प्रमाण सेनाले सार्वजनिक गरेको छैन । कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको जस्तो देखिने एउटा डुङ्गा र त्यसपछि देखिएको चम्किलो प्रकाशको दृश्य देखिन्छ ।

    ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न सहयोगी राष्ट्रसँग सहकार्यको प्रयास गरिरहेको छ । रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताएका थिए । ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता भएको अस्वीकार गरेको छ ।

    इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताए । अमेरिकामा भित्रिने लागुऔषधको प्रवाह र अत्यधिक सेवनबाट हुने मानवीय क्षति रोक्न यी आक्रमण आवश्यक रहेको भन्दै उनले कारबाहीको बचाउ गर्दै आएका छन् । यद्यपि, प्रशासनले आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन ।

  • डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

    डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा


    बागलुङ, ५ असोजः बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना सङ्कलन र अध्ययनमा लागेको हो ।

    डेङ्गुको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखेर समग्र अवस्थाको अनुसन्धान गर्न चार जनाको विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले पछिल्लो तीन दिनयता बजारका घरघरमा पुगेर बिरामीको अवस्था बुझेको छ । यस्तै, धवलागिरि अस्पतालको अनुगमन, कीटको अवस्था परीक्षण तथा नमूना सङ्कलनलगायतका काम गरिरहेको छ ।

    दाहालसँगै विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य सङ्गठनका शिशिर पन्त, स्वास्थ्य सेवा विभागका कौशल सुवेदी हुनुहन्छ । “डेङ्गुको चार प्रजातिमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको छ । अस्पतालमा आएका शङ्कास्पद बिरामीको नमूना सङ्कलन, अस्पतालमा परीक्षण भइरहेको कीटको अवस्था, डेङ्गु नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ”, कार्यालय प्रमुख शर्माले भने । डेङ्गुको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेकोे महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धान तीव्र बनाएको छ ।

  • यमनी हुथी विद्रोहीद्वारा अमेरिकाविरुद्ध नलड्ने बताएको राष्ट्रपति ट्रम्पको भनाइ

    यमनी हुथी विद्रोहीद्वारा अमेरिकाविरुद्ध नलड्ने बताएको राष्ट्रपति ट्रम्पको भनाइ

    वासिङटन, ५ असोज (रासस–एएफपी) । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ ।
    प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लेखेका छन्, “वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।”

    राष्ट्रपति ट्रम्पले यसअघि पनि हुथीहरू क्षेत्रमा रहेका अमेरिकी सेनामाथि आक्रमणमा नउत्रिएको बताएका थिए । “हुथीहरूले हामीलाई फोन गरी जानकारी गराएका छन्, उनीहरू हामीसँग लड्न चाहँदैनन्”, राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १२ मा आयरल्यान्ड भ्रमणका क्रममा भनेका थिए, “उनीहरू हामीलाई आक्रमण गर्न चाहँदैनन्।”

    फक्स न्युजलाई दिएको पछिल्लो टिप्पणी नजिकको अमेरिकी सहयोगी साउदी अरब बढ्दो दबाबमा रहेको समय आएको हो । शनिबार राजधानी रियादलाई लक्षित गरी एक मिसाइल प्रहार भएको थियो । हुथीहरूले यमनभित्र पनि तीव्र आक्रमण गरेका छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबाट ठूलो भूभाग कब्जा गरेका छन् । यो सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको समर्थन छ ।

    फक्स न्युजले रिपोर्ट गरेअनुसार ट्रम्प इरानबारे ‘निर्णय गर्ने मोड’ मा छन् । अमेरिकी र इजरायली सेनाले फेब्रुअरी २८ मा ठूलो हवाई आक्रमण सुरु गरेका थिए र अहिले लगभग सात महिनादेखि गतिरोधमा छन् । यिङ्गस्टका अनुसार ट्रम्पले उनीसँग बताएअनुसार ‘यमनबारे निकट भविष्यमा ठूला निर्णयहरू हुनेछन्’ साथै ‘इरानीहरूले राम्रो व्यवहार गर्नुपर्छ र उनीहरूले इरानलाई ध्वस्त पार्ने कि जोगाउने भन्ने निर्णय उनीहरूको हातमा रहेको र यो उनले छिट्टै कार्यान्वयनमा लाने तयार गर्दै छन् ।’

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, ५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनानेछन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।

    बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले ‘सङ्क्रामक पुश रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

  • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन


    दमौली (तनहुँ), ५ असोज : तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको गोठ सुधारदेखि आधुनिक उपकरण तथा प्रजनन पशु उपलब्ध गराउनेसम्मका कार्यक्रम सञ्चालन गरेको छ ।

    केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएकामा रु ५८ लाख ८० हजार खर्च भएको छ । कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


    कार्यक्रमअन्तर्गत दुईवटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठवटा नयाँ गोठ निर्माण गरिएको छ । त्यस्तै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ । पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न तथा दूध सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याट उपलब्ध गराइएको ठकुरीले जानकारी दिए ।


    त्यसैगरी, दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनमा सहजताका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याटलगायतका उपकरण खरिद गरी किसान तथा सहकारीलाई सहयोग गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले एक प्रजनन राँगोसमेत वितरण गरिएको छ ।

    कार्यक्रमअन्तर्गत बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ । बाख्राको दाना तथा घाँस व्यवस्थापनलाई सहज बनाउन एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ । त्यस्तै नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आठवटा प्रजनन बोका सहयोग गरिएको ठकुरीले बताए ।


    कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका गरी ६९ जना किसान लाभान्वित भएका छन् । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिकतातर्फ लैजान आवश्यक पूर्वाधार, उपकरण र प्रजनन पशुमा सहयोग केन्द्रित गरिएको कार्यालयले जनाएको छ । स्थानीय स्रोतसाधनको प्रयोगबाट उत्पादन लागत कम गर्न सकिने र किसानले उत्पादनबाट बढी लाभ लिनसक्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताए । उनका अनुसार आधुनिक उपकरण, सुधारिएको गोठ, नश्ल सुधार तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारको विकासले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।


    कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने आधार तयार गरेको केन्द्रको भनाइ छ ।

  • बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा


    बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उनकै हेरचाहमा बितिरहेको छ । श्रीमानको दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनु पर्यो । श्रीमानको हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो ।

    सीताजस्तै सोही ठाउँका देवीराम थारूको पनि आठ वर्षदेखि आमाको हेरचाहमै बितिरहेको छ । उच्च रक्तचापलगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनले बाहिर गएर रोजगारी गर्ने अवस्था गुमाउनु पर्यो । घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि सीता र देवीराममा नयाँ आशा पलाएको छ । बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एक महिनाको तालिम दिन थालेपछि खुसी थपिएको छ । सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिन्छ कि भन्ने आशा बढेको सीताले चौधरीले बताइन् ।

    फुर्सदको समयमा घरमा नै बेतबाँसका सामग्री बनाउन सक्षम भएकाले आम्दानी गर्न सकिन्छ कि जस्तो लागेको उनको भनाइ छ । “सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ”, उनले भनिन् । “यसअघि आमाको हेरचाहका लागि घरमा यत्तिकै दिन बित्ने गरेको थियो”, देवीरामले भने, “बाहिर जाने अवस्था थिएन । अहिले घरमा नै बसेर मुडा, पूजा टोकरी, ह्याङ्गरलगायत समाग्री निर्माण सक्ने भएको छु ।”

    सीता र देवीराम उदाहरणमात्रै हुनुहुन्छ । उहाँहरूजस्तै बर्दियाको गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवार उक्त तालिमबाट लाभान्वित भएका छन् । तालिमपछि उहाँहरूले विभिन्न सामग्री निर्माण गर्न थाल्नुभएको छ । आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित अपाङ्गता भएका व्यक्ति र उहाँहरूको परिवारलाई उन्नतस्तरको तालिम, सीप र आयआर्जनमा जोडिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ ।

    बर्दियामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये परिवारको सहारामा बाँचिरहेका करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा हेर्न नहुने उनले बताए ।

    “अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्, आफ्नै सहारामा पनि जीवनयापन गर्न सक्ने बनाउन सकिन्छ”, उनले भने, “त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ ।” उत्पादित वस्तु बिक्री नभएको अवस्थामा त्यसको बजारीकरणको जिम्मा संस्थाले लिएको छ । बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग राम्रो रहेकाले सीपलाई उत्पादन र बजारसँग जोड्न आफूहरू लागिपरेको उनले बताए ।


    कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहल भइरहेको केन्द्रले जनाएको छ । स्थानीय स्रोतसाधनको उपयोगसँगै बेतबाँसबाट उत्पादित सामग्री वातावरणमैत्री हुने भएकाले यसबाट आर्थिक र वातावरणीय दुवै लाभ लिन सकिने केन्द्रको भनाइ छ । पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने हुँदा त्यस्ता परिवारमा आयआर्जनका अवसर सीमित हुने गरेका छन् ।

    औषधोपचार, हेरचाह तथा दैनिक आवश्यकताका लागि हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पर्ने गरेको छ । त्यसैले घरमै बसेर गर्न सकिने सीप र रोजगारीका अवसर उपलब्ध गराउनु त्यस्ता परिवारका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।

  • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी


    म्याग्दी, ५ असोजः वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उनले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।


    तेह्र वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेर फर्किएका क्षेत्रीले विसं २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आएका छन् । साउदीमा बिरामी भएपछि स्वदेश फर्किएका उनले अन्य रोजगारीको विकल्प नदेखेपछि तीनवटा गाईभैँसीबाट पशुपालन सुरु गरेका थिए । हाल १४ वटा गाईभैँसी रहेका उहाँको फार्मबाट दैनिक रु दुई हजार ७०० मूल्यबराबरको ९० लिटर दूध बिक्री हुने गरेको छ । पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ । क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्छन् ।


    “अहिले व्यवसायमा घाटा छैन । मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ”, क्षेत्रीले भने, “पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपथ्र्यो । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।” पशुपालनकै आम्दानीबाट उहाँले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन् । व्यवसाय विस्तारका क्रममा करिब रु ६० लाखसम्म ऋण लागेको भए पनि पशुपालनबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए ।
    फार्ममा तोपबहादुर र श्रीमती गोमा स्वरोजगार बन्नुका साथै एक जनालाई रोजगारी दिएका छन् ।

    कोरोना महामारीका समयमा बजारमा दूध लैजान नपाउँदा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उनले बताए । सुरुआती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नभएका कारण विभिन्न समस्या झेलेका क्षेत्रीले पछिल्लोपटक गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरे ।


    तालिम तथा व्यावसायीक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उनले बताए । छिमेकी र आफन्तले समेत व्यवसायप्रति विश्वास नगरेको अवस्थामा निरन्तर मिहिनेत र अनुभवबाट फार्मलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ। “पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन”, उनले भने, “तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।”

    फर्से, लस्तीका किसानले उत्पादन गर्ने दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरेर बागलुङमा बजारीकरणको व्यवस्था मिलाएको छ । कुल ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटर दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्ने व्यवस्था मिलाएको संस्थाका सचिव खड्ग केसीले बताए । गाउँपालिकाले प्राविधिक सहयोग र प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ ।

    फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० वटा पुर्याउने खत्रीको योजना छ । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरणलाई विस्तार गर्ने उनले बताए । पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको क्षेत्रीको भनाइ छ । नियमित हेरचाह, दानापानी र सरसफाइमा निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनले बताए ।


    विदेशमा वर्षौँ बिताएर स्वदेश फर्किएका क्षेत्रीका लागि अहिले गाईभैँसी फार्म वैकल्पिक रोजगारीमात्रै नभई परिवारको आर्थिक अवस्था परिवर्तन गर्ने आधार बनेको छ । तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसायले अहिले नियमित आम्दानीको स्रोत बनाउँदै परिवारको आर्थिक हैसियतसमेत बदलिएको उनी बताउँछन् ।

  • म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    खोटाङ, ५ असोजः चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।
    दसैँतिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।

    संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्यवस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर नष्ट गरिएको हो । जिल्लामा पटकपटक होलसेल तथा किराना पसल अनुगमन गरेर म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताए ।

    “बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ । प्रशासनले गर्ने अनुगमन गाउँगाउँमा पनि पुग्नुपर्ने नागरिकको माग छ”, उनले भने, “सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगन गर्न आग्रह गर्छौँ ।”

    जिल्लाका व्यापारीको लापरवाहीको विषयमा गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय आउनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सञ्चारकर्मीले उपभोक्ताको गुनासा राखेका थिए । पत्रकारको गुनासोपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

    सामग्री खरिद गर्ने ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए÷नभएको मिति अनिवार्य एकिन गर्न र म्याद गुज्रेको भेटिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए । “म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ”, उनले भने, “उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ ।”

    जिल्लामा दश स्थानीय तह छन् । उपभोक्ताले आफ्नो गाउँमा आएका दैनिक उपभोग्य सामग्रीको न मूल्य हेरेर खरिद गर्छन्, न त म्याद छ÷छैन भनेर एकिन नै गर्छन् । गाउँमा बिक्री गर्न ट्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य वस्तुको म्याद गुज्रिएको फेला पारेपछि नियन्त्रण गरिदिन अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले आरोप लगाएका छन् ।