Author: Vishwanews.com

  • भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    काठमाडौँ, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

    बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् ।

    यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । करिव सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् ।

    बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।

    ‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

    विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत् १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए ।


    साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो ।

    स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पु¥याइरहेका छन् । ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ । यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ ।

    महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँँले भने, न्नुभयो, “ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पु¥यायो । स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए । प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो । यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पु¥यायो । यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पु¥यायो । संकटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो । यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पु¥यायो ।”

    भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए । महासचिव चापागाईँ भन्छन्, “भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्वपूर्ण ‘मोडेल’ बन्न सक्छ । ”

    बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो । उहाँले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सेहायता निरन्तर जारी रहेको बताए ।

    मानवीय सहायता निरन्तर जारी

    महामन्त्री खनालद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एकहजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एकहजार ३२४ थान वितरण गरिएको भने करिव दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । एकमहिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पु¥याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरुमा ट्याङ्करबाट पानी वितरण गरिएको सोसाइटीले जनाएको छ ।

    विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोगबाट एकहजार ७१० बाढी प्रभावित लाभन्वित भएका, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक सेवाबाट एकजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि अन्य आवश्यक सेवा उपलब्ध गराएको, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाबाट दुईहजार २९१ खोजतलाससम्बन्धी ‘केस’मा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरुलाई दुईहजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको उल्लेख छ ।

    विज्ञप्तिमा बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङको १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको, समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा ‘रेफरल’ सेवा प्रदान गरिएको, संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ । मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ ।

    सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता÷सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराएको र सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा÷सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ । साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

    यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पु¥याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी , नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस धन्यवाद तथा आभार व्यक्त गर्दछ । ”

  • कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

    कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात


    मुस्ताङ, ९ असोजः समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।


    कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् ।

    त्यसैगरी कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ भने बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाका पूर्वसूचना अनुसार बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो । मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मौसम प्रतिकूलताका कारण बाढीपहिरो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सूचित गरेको छ । सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए ।


    त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सृजना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

    यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरूमा वर्षाले जोखिम बढाएको छ । घरपझोङ–५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुङ्गा र माटोले बनेका घर निरन्तर वर्षा हुन थालेको सास्ती तुल्याएको बताए । वर्षाले पुराना घर चुहिने र भत्किने डर भएकाले वर्षाबाट जोगाउन स्थानीयले घरको छत र गारोमा त्रिपाल र प्लास्टिकले ढाकेको जानकारी दिए ।

  • भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    काठमाडौँ, ९ असोजः सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुगेका हुन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल जाने क्रम तीन वर्षअघिदेखि सुरु भएको हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।


    आगन्तुक विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर, महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गरे ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले राससलाई जानकारी दिइन् । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

    असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १३ गते मङ्गलबार राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

    वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

  • भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

    भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात


    रसुवा, ९ असोजः रसुवाको भोटेकोशीमा आएको वनाशकारी बाढीले बगाएर बेपत्ता भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुई जना जनप्रतिनिधिको एक महिनासम्म कुनै जानकारी नपाएपछि पीडित परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए । एक महिनासम्म स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले खोजीकार्य जारी राखे पनि उनीहरुको कुनै जानकारी पाउन सकिएको छैन ।

    खोजीकार्यबाट कुनै सफलता नमिल्दा बेपत्ता जनप्रतिनिधिहरू जीवितै भेटिने आशा क्षीण हुँदै गएपछि पीडित परिवारले ‘कतै जीवितै उद्धार भएका छन् कि ?’ आशालाई शोकमा बदल्दै उनीहरुको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन् । बाढीमा परी बेपत्ता भएका तीनै जना जनप्रतिनिधि स्थानीय क्षेत्रमा ऊर्जावान र उदीयमान नेताका रूपमा परिचित थिए ।

    विसं २०७९ को स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित लामाले स्नातकमा नर्सिङ (बिएससी) अध्ययन पूरा गरेकी थिइन् । विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय उनले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेकी थिइन् । राजनीतिमा आउनुअघि उहाँले राष्ट्रिय महिला भलिबल टोलीको खेलाडीका रूपमा समेत देशको प्रतिनिधित्व गरेकी थिइन् ।


    विभिन्न सामाजिककार्यमार्फत जनताको मन जितेर स्थानीय निर्वाचनमा वडा नं २ बाट वडाध्यक्ष पदमा निर्वाचित कामीछिरिङ जनताको सुखदुःखमा सधैँ साथ दिने जनप्रतिनिधि थिए । त्यस्तै, वडा नं ५ बाट निर्वाचित दावामिङ्मार लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा समाजमा स्थापित र परिचित थिए ।

    गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार एकैपटक तीन जना ऊर्जावान्, योग्य र जनताका प्यारा जनप्रतिनिधि गुमाउनुपर्दा सिङ्गो पालिका इतिहासकै ठूलो सङ्कट र शोकमा डुबेको छ । उनले पालिकाले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए । गत भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीको बाढीले भीषण रूप लिएको थियो । उक्त बाढीले स्थानीय बजार, थुप्रै घर र भौतिक संरचना बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।

    बाढी गएको एक महिना बितिसक्दा स्थानीय प्रशासन र सुरक्षा निकायको खोजीकार्य जारी रहे पनि हालसम्म पनि बेपत्ताहरूको कुनै जानकारी पाइएको छैन । विपद्को यस कठिन घडीमा बेपत्ताका परिवारसँगै सिङ्गो रसुवावासी गहिरो शोकमा डुबेका छन् । गाउँपालिकाका थुप्रै कर्मचारी, शिक्षकशिक्षिका, बालबालिकासमेत बेपत्ता भएका छन् ।

  • प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

    गण्डकी, ९ असोज । निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा प्रभावित भएको छ । फ्लाइ दुबईले बुधबारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई दैनिक उडान पनि आज रद्द भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । “पोखराको मौसम खराब भएपछि फ्लाइ दुबईले पहिले नै उडान नहुने जनाएको थियो”, उनले भने, “आन्तरिकतर्फको उडान पनि दिनभर हुन सकेन, साँझपख बुद्ध एयरको तीनवटा मात्र उडान भयो ।” दुई दिन उत्साहजनक रूपमा उडान गरेको फ्लाइ दुबईको आजको उडानका लागि मौसम बाधक बनेको हो ।

    फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलले जनाएको छ । फ्लाइ दुबईले बिहीबार गरेको दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट दुबईका लागि १४३ जना यात्रु उक्त जहाजबाट गएका थिए । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो ।

  • नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

    चितवन, ९ असोजः वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ः०० बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो ।

    सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।

    सडकलाई एकतर्फी खुलाएर दिउँसो रोकिएका सवारी कटाइएको हो । सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

  • अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

    अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

    सङ्खुुवासभा, ९ असोजः सङ्खुुवासभाको मकालु गाउँपालिका ५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ । अरुण नदीमा जलसतह बढेपछि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याममाथिबाट बगेको छ ।

    निर्माणाधीन स्थायी ड्याममा पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार हाल उक्त क्षेत्रमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ । आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ । आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाइएको छ ।

    पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको हो । निरन्तर नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । वर्षाको गतिविधि बढ्दै जाने र जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी आवश्यक रहेको स्थानीय प्रशासनले जनाएको छ ।

  • बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

    बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

    कपिलवस्तु, ९ असोजः कपिलवस्तुको बाणगङ्गा नगरपालिका(१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ । प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका ८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले आज दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

    सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो । खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए ।


    उनका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ । प्रहरीले नदीमा खोजी कार्य जारी राखेको जनाएको छ ।

  • हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

    हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार


    भक्तपुर, ९ असोजः दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणीस्थलका ९२ जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरेको राससलाई जानकारी दिए । भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ । निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडक तथा जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।


    अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ । अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काँभ्रेको नाला बनेपा जोड्ने सडकखण्डमा यातायात आवागमन सञ्चालन भएको छ । वर्षासँगैको पहिरोले सडक अवरुद्ध भएपछि आज बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा सवारी आवागमन रोकिएको थियो ।

  • पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

    पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता


    पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

    उनका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता छिन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताए । पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उनको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडकमाथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए । सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाइ छ ।

    पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ः०० देखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो ।

  • पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    चितवन, ९ असोजः पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

    पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक रुपमा १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

  • प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव


    काठमाडौँ, ९ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताए ।


    प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उनको भनाइ छ। प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराए ।


    स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री शाहले बढ्दो विपद्सँग जुध्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री शाहले एक महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए ।

  • धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    धवलागिरि हिमाल आरोहण टोली फर्कियो


    म्याग्दी, ९ असोजः म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् ।
    म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण फर्किएका हुन् ।

    आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको पर्वतारोही टोली बिहीबार फर्किएको जानकारी दिए । “असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उनले भने, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

    केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेको शेरचनले बताए । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेका थिए । उक्त टोलीले बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेको शेरचनले बताए । मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ ।

    पर्यटन विभागले सार्वजनिक सूचना जारी गर्दै हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् । चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चारवटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर ९आरोहण० शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

    गत वसन्तयाममा तीनवटा समूहका १२ महिला र १६ पुरुष र २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएको विभागको अभिलेखमा उल्लेख छ । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।


    त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटक पनि फर्किएका छन् । बिहीबारदेखि पदयात्रा बन्द भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । पर्यटकयाम सुरु हुनै लागेको समयमा भोटेकोशी बाढी र भारी वर्षातका कारण धेरै पर्यटकले भ्रमण रद्द गरेको उनले बताए ।

  • प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

    प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता


    न्युयोर्क (अमेरिका), ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसङ्घ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे) महासचिव गुटेरेससँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए । त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे ।

    आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल गएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो । अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा विस्तारबारेमा पनि कुराकानी भएको थियो ।

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक


    कास्की, ९ असोजः दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार दोस्रो दिनको उडान उत्साहप्रद देखिएको छ ।

    पोखरामा साँझ ६ः१९ बजे अतवरण गरेको जहाज ७ ः ४४ मा पुनः दुबई फर्किएको थियो । पहिलो दिन दुबईबाट ११३ जना यात्रु ल्याएको विमानले पोखराबाट फर्किँदा १५२ यात्रु बोकेको थियो । “पोखरामा फ्लाइ दुबईको दुई दिनको उडानलाई हेर्दा उत्साहजनक मान्न सकिन्छ । दसैँ तिहारलगायतका चाडपर्वसमेत निजिकिएकाले दुबईबाट आउने यात्रुको सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरेका छौँ । यहाँ आएका यात्रुलाई फर्किँदा यही विमानस्थल प्रयोग गर्न आग्रह गरेका छौँ । यसबाट अन्तरराष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास छ”, महाप्रवन्धक निरौलाले भने ।
    पोखराबाट विश्वका धेरै सहरसँग सिधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल लामो समय आन्तरिक उडानमा सीमित भएको थियो । फ्लाइ दुबईले उडान भरेपछि पोखरेली उत्साहित छन । फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ अर्थात् छ महिनाका लागि टिकट बुकिङ खुला गरिसकेको छ ।

    फ्लाइ दुबईको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहज भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । उनका अनुसार उडान दिगो र दीर्घकालीन बनाउनका लागि पोखराका विभिन्न पर्यटकीय प्याकेजमा छुट दिइएको छ । नेपाल पर्यटन बोर्डले पोखरा उडानलाई दिगो र नियमित बनाउनका लागि अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड दिन विभिन्न कार्यक्रम अगाडि बढाउने तयारी थालेको बोर्ड सदस्य सन्तोष पोखरेलको भनाइ छ ।

  • सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित


    सोलुखुम्बु, ९ असोजः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्वमञ्चमा प्रतिध्वनित भएको छ । सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्नुभएका महासचिव गुटेरेसले तीव्रगतिमा पग्लिरहेका हिमनदी र बढ्दो जलवायु सङ्कटप्रति विश्वको ध्यानाकर्षण गराउँदै ‘विश्वको छाना खसिरहेको छ’, भन्ने शक्तिशाली सन्देश दिएका थिए ।


    उनले त्यसबेला नेपालले तीन दशकको अवधिमा आफ्नो करिब एकतिहाइ बरफ गुमाइसकेको र पछिल्लो दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको उल्लेख गरेका थिए । हिमालयका हिमनदीले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी उपलब्ध गराउने भएकाले त्यसको क्षयीकरण केवल हिमाली क्षेत्रको समस्या नभई विश्वव्यापी सङ्कट भएको उनको भनाइ थियो ।

    तीन वर्षअघि सगरमाथाको काखबाट व्यक्त गरिएको उक्त चेतावनीलाई महासचिव गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा पुनः स्मरण गरेका छन् । उनले त्यतिबेला आफूले दिएको चेतावनीप्रति विश्वले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउँदै जलवायु परिवर्तनको असर अपेक्षा गरिएभन्दा तीव्र रूपमा देखिइरहेको सन्देश दिएका छन् ।


    गुटेरेसको उक्त चेतावनी सम्झँदै पर्यटनविद् आङछिरिङ शेर्पा भन्छन्, “महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा आउनुभएको थियो । त्यस अवसरमा सगरमाथाको अगाडि रहेको एभरेस्ट भ्यु होटलमा उहाँलाई हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन, तीव्रगतिमा पग्लिरहेका हिमनदी, बढ्दो हिमताल, हिमपहिरो तथा हिमाली समुदाय र पर्वतीय पर्यटनमा परेको प्रभावबारे प्रत्यक्ष रूपमा ब्रिफिङ गर्ने अवसर मैले पाएको थिएँ ।”

    उक्त भेटमा हिमाली क्षेत्रमा देखिएको परिवर्तन नेपाल वा हिमाली मुलुकको मात्र समस्या नभई सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको विश्वव्यापी सङ्कट भएको सन्देश विश्वसामु पुर्याउने प्रयास गरिएको शेर्पाले बताए । “आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालबाट व्यक्त गरेको त्यही चेतावनी र सन्देश स्मरण गर्दा ३० अक्टोबर २०२३ को त्यो क्षण फेरि आँखा अगाडि झल्झली आउँछ”, उनले भने ।


    त्यतिबेला सगरमाथा क्षेत्रबाट गुटेरेसले ‘विश्वको छाना खसिरहेको छ’ भन्दै दिएको सन्देश सामान्य अभिव्यक्ति नभई हिमालमा भइरहेको तीव्र परिवर्तनप्रतिको चेतावनी भएको शेर्पाको भनाइ छ । “त्यो वाक्य केहीलाई त्यतिबेला बढाइचढाइ गरिएको अभिव्यक्तिजस्तो लाग्न सक्छ । तर आज हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्, हिमताल बढिरहेका छन्, नयाँ जोखिम सृजना भइरहेका छन् । हिमपहिरो र बाढीका घटना बढिरहेका छन्”, शेर्पाले भने ।

    हिमाली समुदाय र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष रूपमा प्रभावित भइरहेको छ । “त्यसैले त्यो केवल भावनात्मक अभिव्यक्ति थिएन, हिमालमा देखिइरहेको वास्तविक परिवर्तनप्रतिको चेतावनी थियो”, उनले भने । सगरमाथाको आधारबाट विश्वका नेताहरूलाई दिइएको गुटेरेसको उक्त सन्देश अहिले अझ सान्दर्भिक भएको पर्यटनविद् शेर्पाको भनाइ छ । नेपालका हिमालले विश्वलाई साहस, प्रेरणा, पानी, जैविक विविधता र प्राकृतिक सम्पदा दिएको उल्लेख गर्दै उनले हिमाल संरक्षणका लागि विश्व समुदायले पनि जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिए ।


    नेपालको हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो तथा बाढीका घटनाले जोखिम बढाउँदै लगेका छन् । यस्ता घटनाले हिमाली बस्ती, पूर्वाधार, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पार्दै आएका पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए । हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा मात्र सीमित नरहेको विज्ञहरूको भनाइ छ । हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमा आश्रित दक्षिण एसियाका ठूलो जनसङ्ख्या र कृषि प्रणाली यसबाट प्रभावित हुनसक्ने भएकाले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई विश्वव्यापी जलवायु सङ्कटको महत्त्वपूर्ण सूचकका रूपमा हेरिँदै आएको छ ।

  • ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’

    ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’

    प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रधानमन्त्री शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ भनिएको उल्लेख गर्दै भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए। विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उनले बताए।

    जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनीतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाइ थियो। तापक्रम वृद्धि हुँदा हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रोस्ट पग्लिँदा हिमाली ढलान कमजोर भएको तथा हिमपहिरो, बाढी, पहिरो र अन्य जोखिम बढिरहेको उनले बताए। ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्ने सन्देश दिँदै उनले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने टिप्पणी गरे।

    सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपद्पछि नेपाललाई सहयोग गर्ने भारत, चीन, संयुक्त राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता निकाय, परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गरे। उनले कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको उल्लेख गर्दै भौतिक पुनःस्थापनाको आवश्यकता कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर रहेको प्रारम्भिक मूल्यांकन प्रस्तुत गरे।

    विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्री शाहले बताए। हिमनदी पछाडि हट्नु, हिमाली ढलान अस्थिर हुनु र नदीको प्रवाह अनिश्चित बन्दै जानुले नेपालको विकास उपलब्धिमाथि समेत जोखिम थपेको उनको भनाइ थियो। जलवायु विपद् नेपालका लागि मानवीय संकट मात्र नभई विकास संकटसमेत भएको उनले बताए।

    जलवायु परिवर्तनलाई कुनै देश वा महादेशलाई दोष दिने विषय नबनाई साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचनाअन्तर्गत स्वीकार गरिएको ‘साझा तर विभेदित जिम्मेवारी र सम्बन्धित क्षमता’को सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। ऐतिहासिक रूपमा बढी योगदान गरेका र प्रतिक्रिया दिन बढी क्षमता भएका पक्षले बढी जिम्मेवारी लिनुपर्ने उनको धारणा थियो।

    नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ प्रस्ताव

    प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका छन्। हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै उनले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा बताए।

    प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्यांक र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गर्ने प्रस्ताव उनले अघि सारे। हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने उनको भनाइ थियो।

    नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको बताए। स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको उनले बताए। बढ्दो विपद्को तीव्रता र आवृत्तिसँग जुध्न नेपालले थप तयारी गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

    ‘राहत, पुनर्स्थापना, पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता’

    जलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने प्रधानमन्त्री शाहले बताए। विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले Loss and Damage Fund, Global Environment Facility लगायतका विद्यमान वित्तीय संयन्त्र पर्याप्त नभएको बताए।

    जलवायु वित्तमा पहुँचका लागि कमजोर मुलुकले वर्षौंसम्म कागजी प्रक्रिया पूरा गरेर सहयोग माग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। विपद्का बेला तत्काल सहयोग आवश्यक हुने उल्लेख गर्दै उनले जलवायु न्यायको अर्थ व्यवहारमै देखिनुपर्ने बताए।

    न्यायपूर्ण विश्वव्यवस्थाको आवश्यकता

    प्रधानमन्त्री शाहले वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थामाथि समेत प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको स्थापना सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन, मानव मर्यादा र कमजोर पक्षको अधिकार संरक्षणका लागि भएको उल्लेख गर्दै उनले अहिले अन्तर्राष्ट्रिय प्रणाली दबाबमा रहेको बताए।

    सैन्य तथा आर्थिक शक्तिले कसको आवाज सुनिने भन्ने विषय निर्धारण गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले थप न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता औँल्याए।

    नेपालको जनजीवन र आपूर्ति प्रणालीका समस्यालाई पनि अन्तर्राष्ट्रिय व्यवस्थासँग जोड्दै उनले किसानले समयमा मल नपाउने, सडक निर्माणका लागि बिटुमिन अभाव हुने र परिवारले खाना पकाउने इन्धनको अभाव सामना गर्नुपर्ने अवस्थाको उल्लेख गरे। युद्धका हतियार विश्वका विभिन्न ठाउँमा समयमै पुग्ने तर किसानका लागि मल र इन्धनको आपूर्ति सहज नहुने अवस्थामाथि प्रश्न उठाउँदै उनले विश्वले युद्धका लागि प्रभावकारी आपूर्ति प्रणाली तर खाद्यान्नका लागि कमजोर आपूर्ति प्रणाली निर्माण गरेको टिप्पणी गरे।

    बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायत क्षेत्रका मुलुकले पनि जलवायु संकट र युद्धका असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन र युद्धका कारण सिर्जित संकटले विश्वव्यापी सहकार्यको वर्तमान व्यवस्थामा रहेका कमजोरी उजागर गरेको बताए।

    आफू यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको केन्द्र आफू नभई विश्वका कमजोर समुदायको आवाज भएको बताए। विश्वमा जहाँसुकै हतियार पुर्‍याउन सक्ने क्षमता हुँदा किसानलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक साधनबाट वञ्चित राख्न नहुने उनको धारणा थियो।

    बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उनले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताए। जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई लागत कसले व्यहोर्ने, निर्णय प्रक्रियामा कसको आवाज सुनिने र भावी पुस्ताको भविष्यलाई कसरी समान महत्व दिने भन्ने विषयसँग जोडिएको उनले बताए।

    नयाँ पुस्ता, नयाँ जिम्मेवारी

    सम्बोधनको अन्तिम भागमा प्रधानमन्त्री शाहले विश्व अहिले गम्भीर अनिश्चितताको अवस्थामा रहेको र नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेशको आवश्यकता रहेको बताए। नेपालका युवाले इमानदारी र जवाफदेहिताको राजनीति मागेको उल्लेख गर्दै उनले यसलाई द्वन्द्व, असमानता र अवसरको अभावविरुद्ध विश्वव्यापी पुस्तान्तरणको हिस्सा बताए।

    राज्यले नागरिकलाई सेवा दिने, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षा उपलब्ध गराउने तथा प्रत्येक नेपालीलाई स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्ने आफ्नो सरकारको प्रतिबद्धता रहेको उनले बताए।

    नेपालका पछिल्ला बाढीले बढ्दो जलवायु जोखिमको भविष्य संकेत गरेको भन्दै प्रधानमन्त्री शाहले पुराना आधाररेखा अब पर्याप्त नभएको बताए। आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने उनले बताए।

    सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने, “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।”

  • केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि


    काठमाडौँ, ८ असोजः काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा डा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायत पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यसअघि शिक्षा मन्त्रालयमा शोक पुस्तिका राखिएको थियो । शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चूडामणि पौडेल, प्रमुख सल्लाहकार झालगायत मन्त्रालय तथा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गर्दै शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरे ।


    मन्त्री पोखरेलले शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौँ विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे । मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको बताए । शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भने, “स्व शर्माको सपना पूरा गर्ने गरी चाँडै संसद्मा विधेयक लैजान्छौँ । काठमाडौँ विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ ।”

    नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माको बुधबार निधन भएको थियो । उनले दुई दशकभन्दा लामो समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गर्दै विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तरराष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


    बेलायतबाट रसायनशास्त्रमा पिएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)का संस्थापक निर्देशकसमेत हुन् । उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए । शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए । उच्च तथा प्राविधिक शिक्षाको विकासमा उनले पुर्‍याउनुभएको योगदानका कारण उनलाई नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिएको छ ।

  • सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो


    काठमाडौँ, ८ असोज । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाँघेको हो ।

    कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्य ऋण दायित्वतर्फ रु १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख बराबर छ । जिडिपीका आधारमा आन्तरिक ऋण दायित्वको प्रतिशत २० दशमलव ६३ र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत हुन आउँछ । सरकारले चालु आर्थिक वर्षका लागि रु छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गत भदौ मसान्तसम्ममा रु ६१ अर्ब पाँच करोड ऋण प्राप्ति भइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति नौ दशमलव २८ प्रतिशत बराबर हो ।

    कार्यालयका अनुसार यसवर्ष सरकारले आन्तरिकतर्फ रु चार खर्ब १० अर्ब र बाह्यतर्फ रु दुई खर्ब ४८ अर्ब २८ लाख ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा आन्तरिकतर्फ रु ५० अर्ब र बाह्य ऋणतर्फ रु ११ अर्ब पाँच करोड उठाइएको छ । यस अवधिसम्ममा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि पनि ठूलो रकम खर्च भएको छ ।

    कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि सरकारी ऋणको साँवा र ब्याज तिर्न रु चार खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन भएको छ । जसमध्ये भदौ मसान्तसम्ममा रु ८५ अर्ब एक करोड छ लाख भुक्तानी भईसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २० दशमलव ३४ प्रतिशत बराबर हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च एक दशमलव २९ प्रतिशत रहेको छ ।

  • न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

    न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची


    न्युयोर्क, ८ असोजः संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आउनुभएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधि मण्डलसँगको भेटघाटमा व्यस्त भए । व्यस्त कार्यसूचीकाबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रुपमा महत्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उनले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहेका छन् ।


    मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै दुःखद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरे । त्यस अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनालमार्फत नेपाल र नेपाली जनताप्रति हार्दिक सहानुभूति व्यक्त गरे ।


    त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गरे । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपतकालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् ।


    उनले आपतकालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिए । दुवै देशका परराष्ट्रमन्त्रीहरु यहाँ आयोजित संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्र«मन्त्री तोसिमीत्सुले उक्त भनाइ राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोए ।


    न्युयोर्कस्थित नेपाली मिसनका अनुसार जापानको घनिष्ट मित्रका हैसियतले नेपाललाई यथासक्य सहयोग गर्ने जापानको चाहना रहेको पनि मन्त्री तोसिमीत्सुले भेटमा बताएका थिए । यसैगरी, नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ७० वर्षको वर्षगाँठ यसैवर्षसमेत परेकाले त्यस अवसरमा ‘नोभेम्वर’मा काठमाडौँमा आयोजना हुने नेपाल–जापान ‘फेष्टिवल’ले दुई देशको मितवत् सम्बन्धलाई थप उचाई पुर्याउने विश्वास उनले व्यक्त गरे ।


    व्यस्त कार्यसूचीका बीच परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताअन्तर्गत नै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटघाट गरे । मन्त्री खनालसँगको भेटपछि उपविदेशमन्त्री हुकरले बाढीका कारण अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अमेरिकाकोतर्फबाट नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय सार्वजनिक भएको थियो ।

    अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हुकरले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण पीडित व्यक्ति तथा परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी थिइन् । सोही अवसरमा उनले एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणको लागि प्रदान गरिने जानकारी पनि गराइन् । यसैगरी, उहाँले ८० लाख अमेरिकी डलर रकम सरसफाई, पिउने पानी, आश्रयस्थल निर्माण र बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि समुदायलाई प्रदान गरिने उल्लेख गरिन् । सो विज्ञप्तिमा प्रकोपका बारेमा जानकारी दिने प्रयोजनका लागि करिब एक करोड ३० लाख अमेरिकी डलर बराबरका ड्रोन उपलब्ध गराइने पनि उल्लेख गरिएको छ ।

    यसैगरी, साइडलाइन भेटवार्ताकै क्रममा परराष्ट्रमन्त्री खनालले युगाण्डा, माल्दिभ्सलगायतका देशका परराष्ट्र मन्त्रीहरुसँग पनि भेटघाट गरेर जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका बारेमा जानकारी गराए । व्यस्त कार्यसूचीकाबीच परराष्ट्रमन्त्री खनालले जलवायु न्यायका पक्षमा ऐक्यबद्धतासहित आवश्यक सहयोगका पक्षमा सदस्य राष्ट्रहरुसँग ‘लविङ’ गरिहेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।

    उनले यी भेटवार्ताका क्रममा नेपालमा जलवायु परिवर्तनका कारण विविध समस्या उत्पन्न भइरहेको र भोटेकोशी नदीमा गएको बाढी त्यसको पछिल्लो उदाहरण रहेको जानकारी गराउँदै जलवायु न्यायका लागि नेपाललाई सहयोग गर्न विश्वका नेता, आफ्ना समकक्षीहरु र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आग्रह गरिरहेका छन् । मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्शका प्रतिनिधिलाई भेटेर लगानी, व्यापारलगायत विषयमा छलफल पनि गरे ।


    साथै मन्त्री खनालले मङ्गलबार नै भारत सरकारले अयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागिता जनाएर मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन पनि गरे । यसैबीच, राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह बुधबार न्युयोर्क आइपुगेका छन् ।

    प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने कार्यक्रम रहेकाले परराष्ट्रमन्त्री खनाल साइडलाइन बैठकमा व्यस्त रहने कार्यसूची छ । मन्त्री खनाल अरु केही दिन न्युयोर्कमै रहने भएकाले साइडलाइन भेटवार्ता एवं बैठक अरु पनि हुने कार्यसूचीमा रहेको छ । मन्त्री खनालसँगै परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राई र वासिङ्टनडिसीस्थित नेपाली दूतावासका प्रतिनिधि पनि सहभागी छन् । यसैगरी, कतिपय राष्ट्रसङ्घीय साइडलाइन बैठकहरूमा संयु्क्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी छन् ।

  • वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    पाल्पा, ८ असोजः गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी आर्यभञ्ज्याङ–रामपुरखण्डमा यातायात प्रभावित भएको छ ।
    सोही राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा निरन्तर पहिरो झरिरहेको छ ।

    प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ । पहिरोले ट्रकमा सामन्य क्षति भएको छ । पहिरो पन्छाउन दुई वटा डोजर परिचालन भएका छन् । लगातारको वर्षाले पाल्पाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । तिनाउलगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन स्थाननीय प्रशासनले आग्रह गरेको छ ।

  • बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

    बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक


    बनेपा (काभ्रे), ८ असोजः काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५ः०० बजेसम्म बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।


    उनका अनुसार असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भइरहेका सन्दर्भमा सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो । बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरिएको अधिकारीले बताए ।


    बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

    त्यस्तै, नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरलाई उद्धारमा खटिने टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ । स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा आवश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ ।

  • बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा

    बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा


    काठमाडौँ, ८ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइएको बताइन् ।

    “प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ । बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भनिन् ।
    विशेष संरक्षण आवश्यक पर्ने, आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक एवं आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको उनले बताइन् ।

    ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको उनले बताइन् ।


    बाढीबाट अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण र स्वास्थ्य उपचार तथा कम्तीमा १२ वर्षसम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन् । राष्ट्रिय बाल अधिकार परिषद्मार्फत बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम स्थलगत रूपमा तीव्र पारिएको उनले जानकारी दिइन् । प्रभावित क्षेत्रमा कुनै बालबालिका समस्यामा परेको पाइएमा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत जानकारी गराउन उनले आग्रह गरिन् ।


    विपद्का समयमा प्रभावित बालबालिकाको संरक्षणका लागि सरकारको मात्र प्रयास पर्याप्त नहुने बताउँदै उनले सबैको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । बालबालिकाको संरक्षण र शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पार्दै मन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानूनी हुने बताइन् ।


    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिरहेको उनले बताइन् । विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाको व्यवस्था मिलाइएको उनले बताइन् ।
    नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको मन्त्री बादीले जानकारी दिइन् ।

    सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको जानकारी दिँदै मन्त्री बादीले बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था गरिने बताइन् ।

  • विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी

    विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी


    काठमाडौँ, ८ असोजः काठमाडौँ, ८ असोजः काठमाडौँ महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ ।
    कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेकोे महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउन उक्त निर्णय गरिएको छ ।

    उहाँले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असर र प्रतिकार्य, विपद्का घटनामा राहत वितरण सिफारिस प्रणालीलगायत विषयमा छलफल गर्दै बैठकले, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)बाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय गरेको छ ।

    बङ्गालको खाडीबाट विकसि चक्रवात विकास भएपछि नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्मको सम्भावित धेरै भारीको सम्भावना रहेको पूर्वानुमान भएपछि यसको प्रभावबाट बच्न पूर्वतयारी तथा प्रतिकार्यका विषयमा बैठक बसेको थियो । चौबिस घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नु भारी वर्षा हो । एकसय मिलिमिटरदेखि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी र २०० मिलिमिटर वा त्योभन्दा धेरै वर्षा हुनु अति भारी वर्षा हो भनी मापन गरीएको छ ।

    वर्षाको पानीबाट हुनसक्ने जोखिमको आकलन गर्दा कति समयभित्र कति पानी प¥यो ? कुनकुन ठाउँमा पानी प¥यो रु कुन ठाउँमा परेको पानीले कुन ठाउँमा असर पुर्‍याउँछ भन्ने कुरालाई क्षेत्र विशेष निगरानी गर्नुपर्छ । उक्त आधारमा सुरक्षा सावधानीका लागि सूचना प्रवाह गर्नुपर्छ । बैठकमा प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञान विज्ञान प्रा डा नरेशमान शाक्यले भने, “काठमाडौँमा यसअघि धेरै पानी परेकाबेला ११० देखि १२० मिलिमिटर सम्म रेकर्ड भएको छ । यस वर्ष १३३ मिलिमिटरसम्म पानी पर्ने आँकलन देखिन्छ । तर, यसो भन्दैमा डराउनु पर्दैन । सचेत भने हुनुपर्छ ।”

    जोखिमका दृष्टिले कति मिलिमिटर पानी प¥यो भन्दा पनि कति अवधिमा कति मिलिमिटर पानी परेको हो रु जान्नु अनिवार्य हुन्छ । यसबाट सचेत हुन र सम्भावित जोखिमबाट बच्न सकिन्छ । प्रा डा शाक्यको भनाइ थियो । महानगरपालिकाको तयारीका विषयमा प्रस्तुतीकरण गर्दै बैठकमा विपद् व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले, महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य सामग्री तथा उद्धार सामग्री तयारी अवस्थामा राखी आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने तयारी गरिएको बताए । महानगरपालिकाले पूर्वतयारीअन्तर्गत छ वटा र्‍याफ्टिङ बोट, छ वटा पानी तान्ने पम्प, पाँच वटा जेट मेसिन, २०० जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको छ ।

    डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति र नियमित सफाइका लागि दैनिक ३०० सरसफाइकर्मी परिचालन गरिरहेको छ । विपद्का समयमा मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न आज नै केही विद्यालयको निरीक्षण भएको छ ।

  • प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

    प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान


    काठमाडौँ, ८ असोजः आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो । महाशाखाका बाढीविद् सौहार्द जोशीले कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरे ।


    महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ । पूर्वानुमान अनुसार कोशीका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आगामी पाँच दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ।

    नारायणीका नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती तथा कालीगण्डकी नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान छ । त्यसैगरी, कर्णालीका कर्णाली, भेरी, तिला तथा पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्ने जनाइएको छ । महाशाखाका अनुसार केही नदी तथा जलाधारमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

    आज ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र केही स्थानमा आकस्मिक बाढीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    बुलेटिनअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीपूर्व तथा पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व तथा पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, कञ्चनपुरलगायत जिल्लामा ससाना नदीमा बहाव बढ्ने सम्भावना छ । महाशाखाका बाढीविद् जोशीले नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरे ।

  • दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको छ : कानुनमन्त्री

    दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको छ : कानुनमन्त्री


    काठमाडौँ, ८ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताएकी छिन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा सम्बोधन गर्दै मन्त्री गौतमले संविधानबमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्ति हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयकमार्फत कानुन तर्जुमा गर्न लागिएको जानकारी दिइन् ।


    “दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन बनाउन फैसला पनि गरेकाले सोलाई पनि मध्यनजर गर्दै कानुन तर्जुमा गर्न लागेका हौँ ।” मन्त्री गौतमले सेवानिवृत्त भएका कर्मचारी फेरि नियुक्ति भएर दुवै खालका सेवासुविधा नलियोस भन्ने उद्देश्यले नै कानुन बनाउन लागेको स्पष्ट पारिन् ।

    “राज्यसँग भएका स्रोतसाधनको समुचित प्रयोग होस् । कसैले पनि दोहोरो सेवा सुविधा लिने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि यो कानुन आवश्यक भएको हो,” उनले भनिन् । उनले संशोधन विधेयकमा धेरै दफा पनि भएको उल्लेख गर्दै व्यवस्थित गर्न खोजेको पनि स्पष्ट पारिन् ।


    उनले विधेयक मार्फत कुनै पनि कर्मचारीले निवृत्तीभरण र र तलब दुवै नपाउने गरी योजनाबद्ध ढंगले व्यवस्थित गर्न लागेको पनि बताइन् । “कुनै पनि व्यक्तिले दोहोरो सेवासुविधा नलियोस र राज्यको सीमित स्रोतसाधनलाई वैधानिक ढंगले प्रयोग गर्न सकियोस भन्ने नै मुलभुत उद्देश्य हो,” उनले भनिन्, राज्यको स्रोतलाई समुचित प्रयोग गरियोस भन्ने नै हो ।”

  • भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    गण्डकी, ८ असोज । कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाका ग्रामिण भेगमा दिउँसो ४ बजेदेखि नै सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो । कास्कीका पर्यटकीयस्थलमा हुने पदयात्रामा पनि रोक लगाइएको छ । पदयात्रामा गएकालाई सुरक्षित स्थानमा फर्कन सम्बन्धित पर्यटन संस्थाहरुमार्फत सूचित गर्ने निर्णय गरिएको छ ।

    अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाहरुलाई सम्भावित विपद्पछिको उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको सहायक प्रजिअ बरालले बताए । फेवाताल, बेगनासताललगायत तालतलैयामा जल पर्यटन सम्बद्ध गतिविधि सञ्चालन गर्दा सुरक्षाका माफदण्डको पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको छ । मौसम प्रतिकुल भएका अवस्थामा जल पर्यटनसम्बद्ध गतिविधि सञ्चालनमा रोक लगाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना रहेको अवधिसम्म नदी तथा खोलाको तटीय क्षेत्रमा नजान, अत्यावश्यक अवस्थामा बाहेक लामो दुरीको यात्रा नगर्न र विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह र स्थानीय प्रशासनलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय तहलाई नदी तथा पहिरोको जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न तथा परिस्थितिअनुसार विद्यालय बन्द गर्न भनिएको छ ।

    सम्भावित विपद्लाई दृष्टिगत गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न जिल्ला विपद् समितिले आग्रह गरेको । विपद्का बेला तत्काल उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने जनाएको छ ।

  • प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो


    काठमाडौँ, ८ असोजः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ ।

    सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ ।

  • रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

    रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

    काठमाडौँ, ८ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ । विशेष अवस्थामा बाहेक संसद्मा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुनेछ ।

  • बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

    बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने


    लमजुङ, ८ असोजः बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो । साथै, उहाँले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताए ।