Author: Vishwanews.com

  • काठमाडौं महानगरको बजेट पारित

    काठमाडौं महानगरको बजेट पारित

    ३२ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि गत आइतबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित भएको छ । कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढिलागरी कामपाले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

    पारित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासका लागि तीन प्रतिशत बजेट ल्याइएको छ ।

  • नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

    नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

    ३२ असार, काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छिन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरे ।

    पदबहाली गरेपछि उनले सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन् ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ नीति तथा कार्यक्रममा सङ्घ प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

  • महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित

    महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित

    ३२ असार, काठमाडौं । मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न विधाका उद्योगी तथा व्यवसायीलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक कार्यक्रमकाबीच उद्योगी व्यवसायीलाई सम्मान गरेको हो ।

    उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताए । मन्त्री भण्डारीले निजी क्षेत्रको योगदानलाई सम्मान गर्नु सरकारको दायित्व भएको उल्लेख गरे । उनले भने, “यो सम्मान केवल सम्मानका लागि होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई प्रेरित र सम्मानित गर्न चाहन्छौँ ।”

    मन्त्री भण्डारीले सो सम्मानले उद्योगी तथा व्यवसायीको मनोबल उच्च बनाउने र उनीहरूलाई निर्यात प्रवर्द्धनतर्फ थप सक्रिय बनाउने विश्वास व्यक्त गरे । “निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास सम्भव छैन”, उनले भने, “देशको समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । त्यसैको दिशामा हामी अगाडि बढिरहेका छौँ ।”

    तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँचवस्तुहरु प्रत्येकबाट एक–एक जनालाई सम्मानित गरिएको छ । जसमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्राली, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोर्टस् प्राली, छुर्पीतर्फ मनराम हिमालयन हेण्डीक्राफ्ट प्राली र पश्मिना वस्तुतर्फ ट्राइकोट इष्डष्ट्रिज प्रालीलाई सम्मान गरिएको हो ।

    भारत बढी निर्यात गर्ने उत्कृष्ट तीन वटा संस्थाका रुपमा डाबर नेपाल लिमिटेड पहिलो, आरती स्ट्रिप्स दोस्रो र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड तेस्रो बढी निर्यात गर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ । चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमङ्गल काठमाडौँलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो बढी निर्यातकर्ताका रुपमा सम्मानित गरिएको छ । नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताका रुपमा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालीलाई सम्मानित गरिएको छ ।

    वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमकितामा राखेका निर्यात सम्भवनायुक्त वस्तुमध्ये कृषि क्षेत्रतर्फ नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, जडीबुटी क्षेत्रतर्फ एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स सम्मानित भएका छन् । निर्यात व्यापारमा कूल रकमका आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताका रुपमा जनकपुर रिफाइनरिज, विप्रेषणतर्फ आइएमई लिमिटेड, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीका रुपमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडलाई सम्मानित गरिएको छ ।

    व्यवसायीका प्रतिनिधिमूलक संस्थालाई पनि सम्मान गरिएको छ । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्यगरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएकाले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलाई सम्मानित गरिएको हो । तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा रु एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीका रुपमा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड, द साङ्ग्रिला कार्पेट एन्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्री प्रालि र एभरेस्ट फेसन रहेका छन् ।

    व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत सङ्घतर्फ तेस्रो मुलुकमा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा कूल रू पाँच अर्ब वा सोभन्दा बढी निर्यात गर्ने वस्तुगत सङ्घका अध्यक्षलाई मानार्थ सिआइपी दिइनेछ । जस्ता सङ्घसंस्थामा नेपाली छुर्पी व्यवसायी सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाली तयारी पोशाक उद्योग सङ्घ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ रहेका छन् ।

    अघिल्ला दुई आर्थिक वर्षमा रू १५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने महासङ्घका अध्यक्षलाई पनि मानार्थ सिआइपी प्रदान गरिएको छ । जसमा नेपाल हस्तकला महासङ्घ र निर्यात व्यवसायी महासङ्घ छन् । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० अन्तर्गतको परिभाषा भित्र पर्ने र अघिल्लो दुई आर्थिक वर्षमा रु चार करोड वा सोभन्दा बढी वस्तु तथा सेवा निकासी गर्ने स्टार्टअपका रुपमा माइण्डफुल क्राप्ट प्रालीलाई सम्मान प्रदान गरिएको छ ।

  • पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    ३२ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ । गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

    प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घरसमेत भत्किएको छ । सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन् । पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।

  • पृथ्वीराजमार्गको वैकल्पिक नौ किलोमिटर सडक कालोपत्र

    पृथ्वीराजमार्गको वैकल्पिक नौ किलोमिटर सडक कालोपत्र

    ३२ असार, दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७।३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १.९ किलोमिटर ढलान गरिएको छ ।

  • वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

    वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

    ३२ असार, तानसेन । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताइन् ।


    “यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, घर्तीले भनिन् । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ। पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छिन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुुरखेती गर्न थालेको उनी बताउँछिन् ।


    उनले भनिन्, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ”, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उनी मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

    यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् । रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

    असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक रु दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए ।


    पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

    अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।


    उनले भने, “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।” एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ ।

  • सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

    सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

    ३२ असार, पाँचथर । एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।

    सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्णरुपमा हुन सकेको छैन । “डेढ किलोमिटर लम्बाईको कुलो शिवादोभानका एक दर्जनभन्दा बढी परिवारका लागि खेतीको आधार थियो, यसबीचमा आयोजना मर्मतका लागि सरकारले रु १५ लाख र निर्माण कम्पनीले रु दुई लाख दिएका थिए, त्यसबाट पक्की कुलो बनाइएको थियो,” उनले भने, “तर बर्सेनि ट्रयाक खोल्दा माटोले कुलो पुरिने गरेको छ, यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।”

    फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ । “कुनै समय वर्षमा तीन बालीसम्म लगाइन्थ्यो, कुलोमा क्षति पुगेपछि मकै मात्रै लगाउँदै आएका थियौँ, अहिले त्यो पनि कम भएको छ ।” सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उनको भनाइ छ । सम्बाहाम्फेकाअनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ । उहाँका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका(४ सरखण्डे, फिदिम(९ लुम्फाबुङ र कुम्मायक(४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् ।

    कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउँछन् । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१–८२ मा कुम्मायक गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उनको भनाइ छ ।

  • टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    ३२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ । स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उनले जानकारी दिए ।

    यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ । उक्त योजनाअन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।

  • अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र

    अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र

    एजेन्सी
    ३२ असार, काठमाडौं । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी (जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ। यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म घटाउन सक्छ। यसले देशको कुल आम्दानीमा ठूलो असर पार्नेछ।

    ब्राजिलको कृषि व्यवसाय अमेरिका निर्यातको झन्डै ३० प्रतिशत हिस्सा ओगट्छ। यसमा कफी, चिनी, सुन्तलाको रसजस्ता सामान पर्छन्। अझै महसुल नलागे पनि, अन्तर्राष्ट्रिय व्यापारको वातावरणमा असुरक्षा बढेको कारण दुई देशबीचको व्यापार सम्बन्धमा असर परिरहेको प्रतिवेदनमा उल्लेख छ। साथै, ट्रम्पको यो निर्णयले विश्व व्यापार संगठनका नियमहरू उल्लंघन गरेको आरोप पनि लगाइएको छ। अमेरिकी सरकारले आगामी अगस्ट १ देखि ब्राजिलका सामानमा नयाँ महसुल लागु गर्ने घोषणा गरेको छ।

  • चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

    चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

    एजेन्सी
    ३२ असार, काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो छ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

    यो तथ्याङ्क देशका ठूला उद्योगहरूको उत्पादनलाई जनाउने हो, जसको वार्षिक कारोबार कम्तीमा दुई करोड चिनियाँ मुद्रा बराबर हुन्छ । उद्योगका विभिन्न शाखाहरूमा छुट्टाछुट्टै हेर्दा, सामान्य उत्पादनमा सात प्रतिशतले वृद्धि भएको छ । उपकरण बनाउने क्षेत्रमा १० दशमलव दुई प्रतिशत र प्रविधिमा आधारित उद्योगमा ९ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ ।

    त्यसैगरी, वैकल्पिक ऊर्जा सवारी साधन र उद्योगमा प्रयोग हुने चलायमान यन्त्रहरूको उत्पादनमा क्रमशः ४३ दशमलव १, ३६ दशमलव २ र ३५ दशमलव ६ प्रतिशतको तीव्र वृद्धि भएको छ । अझै, देशको कुल उत्पादन (घरेलु आम्दानी) चालु वर्षको पहिलो छ महिनामा ५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । उपभोग्य वस्तुको बिक्री पाँच प्रतिशतले बढेको छ भने दीर्घकालीन सम्पत्तिमा गरिएको लगानी २ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

  • चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

    चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

    ३२ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पु¥याइएको हो ।


    समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरुले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।

    “दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भने, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।”


    सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ । भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरुलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।


    अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरुले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरन खुलाएर शिलालेख राखिएको छ ।

    अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ । स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।

    जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरु पुग्ने गर्छन् । पाउद्वारदेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

    पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी ‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौरी र भेडाबाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारदेखि एक दिनमा खोप्रा र दुई दिनको पैदलयात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ ।

  • आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    ३२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।

    देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाले आज बिहान ६ः ०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    ३२ असार, चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।

  • भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

    भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

    ३२ असार, गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विचहरू रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ । प्रतिवेदनले जुन १२ को विपत्तिका लागि कुनै निष्कर्ष वा विभाजनको दोष दिएको छैन, तर एक पाइलटले अर्का पाइलटलाई किन इन्धन कटौती गरे भनेर सोधेको र दोस्रो पाइलटले आफूले नगरेको जवाफ दिएको सङ्केत गरेको छ ।

    भारतको नागरिक उड्डयन महानिर्देशालय (डिजिसिए) ले सोमबार ७८७ र ७३७ सहित धेरै बोइङ मोडेलको इन्धन नियन्त्रण स्विचमा लक गर्ने सुविधाको अनुसन्धान गर्न आदेश जारी गरेको छ । बोइङले आफ्ना जेटहरूमा इन्धन स्विच लकहरू सुरक्षित रहेको अपरेटरहरूलाई सूचित रहेको जानकारी दिएपछि यो आदेश आएको हो । तर यो अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जारी गरेको विशेष उड्डयनयोग्यता सूचना बुलेटिन ९एसएआइबी० अनुसार थियो, जसले लकहरू गलत तरिकाले सार्न नसकिने सुनिश्चित गर्न निरीक्षण गर्न सिफारिस गरेको थियो ।

    धेरै भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्सले पहिले नै इन्धन स्विचहरूको आफ्नै निरीक्षण सुरु गरिसकेका छन् । “यो डिजिसिएको ध्यानमा आएको छ, अन्तर्राष्ट्रिय साथै घरेलुसहित धेरै अपरेटरले एसएआइबीका अनुसार उनीहरूको विमान फ्लिटमा निरीक्षण सुरु गरेका छन्”, डिजिसिएले एक विज्ञप्तिमा भनेको छ । एसएआइबीको दृष्टिकोणमा, प्रभावित विमानका सबै एयरलाइन्स अपरेटरले जुलाई २१ सम्म निरीक्षण पूरा गर्नुपर्ने डिजिसिएले भनेको छ ।

    बोइङ ७८७–८ ड्रिमलाइनर पश्चिमी भारतको अहमदाबादबाट लन्डन जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा सवार दुई सय ४२ जना मध्ये एक बाहेक र जमिनमा रहेका १९ जनाको मृत्यु भएको थियो । सोमबार कर्मचारीहरूलाई लेखेको पत्रमा एयर इन्डियाका सिइओ क्याम्पबेल विल्सनले दुर्घटनाको अनुसन्धान जारी रहेको र ‘समयपूर्व निष्कर्ष’ मा पुग्नु मूर्खतापूर्ण हुने बताएका छन् ।

  • तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

    तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

    ३२ असार, काठमाडौं । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ । उनीहरूको स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको थियो र २४ घण्टाभन्दा कम समयमा दक्षिणी क्यालिफोर्नियाको तटमा समुद्रमा प्यारासुटको सहायताले अवतरण गरेको थियो । चार जनाको टोलीले लगभग तीन हप्ताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा चार्टर्ड उडानमा प्रक्षेपण गरेको थियो ।

    सबैभन्दा अनुभवी अमेरिकी अन्तरिक्ष यात्री एक्सिओमकी पेगी ह्विटसनले कमान्डरका रूपमा सेवा गरे । उनीसँगै भारतका शुभांशु शुक्ला, पोल्यान्डका स्लावोस्ज उज्नान्स्की–विस्निएव्स्की र हङ्गेरीका तिबोर कापु थिए । उनीहरुको देशहरूले मिशनका लागि प्रत्येकले छ करोड ५० लाख डलरभन्दा बढी तिरेका थिए । भ्रमण गर्ने अन्तरिक्ष यात्रीहरूले आफ्नो सम्पदाको उत्सव मनाउँदै कक्षामा दर्जनौँ प्रयोगहरू सञ्चालन गरे । भारत, पोल्यान्ड र हङ्गेरीले अन्तिम पटक सन् १९७० र सन् १९८० को दशकको अन्त्यमा सोभियतहरूसँग अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।

    यो सन् २०२२ पछि परिक्रमा चौकीमा एक्सिओमको चौथो मिशन थियो र नासाको थप व्यवसाय र मानिसहरूका लागि ठाउँ खोल्ने चलिरहेको प्रयासको एक हिस्सा हो । कम्पनी हालको स्टेसन प्रतिस्थापन गर्न आफ्नै अन्तरिक्ष स्टेसनहरू विकास गर्ने धेरैमध्ये एक हो । नासाले ३० वर्षभन्दा बढी सञ्चालनपछि सन् २०३० मा चौकी त्याग्ने योजना बनाएको छ ।

  • राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका

    राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका

    ३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् ।
    रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।” यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।

    हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ ।
    यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ ।

    रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राख्नुभएको थियो, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।

    रूसी राजधानी मस्कोमा सर्वसाधारणहरूले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । एभिएसन इन्जिनिय स्वेतलानाले भने, “यो एक रणनीतिक खेलजस्तै हो । उनले ५० दिन दिनेका थिए, त्यसपछि अर्को निर्णय आउनेछ । अब हामी हाम्रो राष्ट्रपतिको आगामी कदम प्रतिक्षा गरिरहेका छौँ ।” त्यस्तै, युक्रेनका अग्रपंक्तिमा रहेर डटेर लडिरहेका सुरक्षाकर्मीहरूले आशावादी भए पनि सतर्क प्रतिक्रिया दिएका छन् ।

    एक सैनिकले भने, “पछिल्ला अभिव्यक्तिहरूको आधारमा मात्र विश्वास गर्न गाह्रो छ । अतीतमा पनि यस्ता धेरै वाचा भएका थिए, तर सबै पूरा भएका थिएनन् ।” एक अन्य सुरक्षाकर्मीले भने, “यदि यी हतियार केही समयअघि आएका भए, हामीलाई धेरै सहयोग पुग्थ्यो । तर अहिले पनि यदि यसले स्थिति सुधार गर्न सघाउँछ भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ ।”

  • मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    ३१ असार, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग मोही तल्सिङको मुद्दा मिलाउन भन्दै कार्यालय परिसरमै घुस लिएको रकम रु २४ लाख ५० हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको हो । उदयपुरका घर भएका कार्यालय प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले आज छापा मारेको अख्तियारले जानकारी दिएको छ ।

  • भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    ३१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    ३१ असार, काठमाडौं । घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।

    उनले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

    केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् । उनी नेकपा एमालेबाट पर्सा ३ बाट प्रतिनिसभामा निर्वाचित हुन् ।

  • पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    ३१ असार, अर्घाखाँची । यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताए । ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।

  • डिजेल र पेट्रोलको मूल्य घट्यो

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    ३१ असार, काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    ३१ असार, काठमाडौं । काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमयरूपमा मृत भेटिएका हुन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ ।

    डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ । मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    रासस
    ३१ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उनले भने, “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”

    उनका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उनले भने ।


    अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको सङ्ख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउँछन् । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउँछन् ।


    उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए ।


    “रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ”, उनले भने, “तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

    निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ । निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् ।

    निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् ।

  • कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

    कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

    ३१ असार, घोडाघोडी । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको हो । प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेको छ ।

    विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए । मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए । घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् । यसलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरुमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए ।
    “सुरुमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परिरहेका छन् । कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । “अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्”, उनले भने । डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गर्दछन् ।

    भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । “तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्”, उनले भने । यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन आउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने श्रेष्ठको भनाइ छ । “प्लानिभेष्टा ग्यागेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने, घडियाल र डल्फिनसँगै यहाँ मगर गोहीले पनि बच्चा हुकाइरहेका छन् ।

  • सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    ३१ असार, अमरगढी । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

    यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए ।
    उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो । एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

    “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

    युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । रासस

  • को-कसले पाए चलचित्र पुरस्कार ?

    को-कसले पाए चलचित्र पुरस्कार ?

    ३१ असार, काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । यहाँ आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरे । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने गरिएको बताए ।


    उनले भने, “हामीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न विशेष समारोहको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेका छौँ । म अध्यक्षको पदभार ग्रहण गरेदेखि चलचित्र ऐन, स्टुडियो निर्माण तथा बक्सअफिसको पूर्ण कार्यान्वयन गर्ने लक्ष्यलाई पूरा गरेको छु । यो वर्ष क्षमता तथा दक्षता अभिवृद्धिका लागि हामीले काम गर्दैछौँ ।” उक्त समारोहमा ‘विशेष योगदान सम्मान’अन्तर्गत मरणोपरान्त प्रकाश व्यवस्थापक (लाइट म्यान) स्वर्गीय श्रवण मास्केलाई नगद राशि रु ५० हजारसहित सम्मान गरिएको छ । उनका भाइ सञ्जिव मास्केले उक्त सम्मान ग्रहण गरे ।
    अन्य कलाकारकर्मी अभिनेता निखिल उप्रेती, सुरक्षा पन्त, उत्तम केसी, प्रेम सुब्बा, गायिका देविका बन्दना, छायाँकार दीर्घ गुरूङ, नाट्यकर्मी अनुप बराल, निर्देशक पर्शुराम चौधरी, प्रदर्शक नकिम उद्दीनलाई पनि ‘विशेष योगदान सम्मान’ मार्फत सम्मानित गरियो । स्वर्गीय माक्सेबाहेक अन्य सम्मानितलाई नगद पुरस्कार भने थिएन ।

    यस्तै, गत वर्ष विसं २०८१ मा प्रदर्शन भएका चलचित्रमध्येबाट नौ विधामा चलचित्रकर्मी तथा कलाकर्मीलाई नगद राशि रु २५ हजारसहित चलचित्र पुरस्कार प्रदान गरिएको छ । उक्त समारोहमा उत्कृष्ट चलचित्र ‘शाम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल (पूर्णबहादरको सारङ्गी), उत्कृष्ट अभिनेत्री उपासनासिंह ठकुरी (खुस्मा), उत्कृष्ट निर्देशक मिनबहादुर भाम (शाम्बाला), उत्कृष्ट सम्पादक भरत रेग्मी (पुजार सार्की), उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान (पीताम्बर), उत्कृष्ट लेखक दिपकराज गिरी (छक्का पञ्जा–५), उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र ‘गालय् वन’ (नेवारी भाषा) लाई प्रदान गर्नुका साथै निर्णायक समितिमार्फत प्रदान गरिने ‘प्रोत्साहन पुरस्कार’ अभिनेता प्रदीप खड्का (पुजार सार्की) लाई प्रदान गरियो ।


    उक्त समारोहमा ‘विशेष चलचित्र पुरस्कार’ लिम्बू भाषाको चलचित्र ‘याक्कथुङ’ र मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई प्रदान गरियो । उक्त दुई चलचित्रले जनही नगद राशि रु दुई लाख प्राप्त गर्नेछन् । चलचित्र पुरस्कारको निर्णायक समितिका संयोजक कलाकार रमेश बुढाथोकी र सदस्यहरू रङ्ग संयोजक करुण थापा, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक सुचित्रा श्रेष्ठ र दीपेन्द्रकुमार खनाल रहेका छन् ।

  • कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    ३१ असार, कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो । “छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ । तीन दिनअघि कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

  • धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    ३१ असार, धरान । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

    उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।


    “रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने । कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।


    उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।
    रासस

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ३१ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    ३१ असार, काभ्रे । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

    सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।