Author: Vishwanews.com

  • भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    ला गुएरा, भेनेजुएला, ११ असार (रासस–एएफपी) । एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइन्थ्यो ।

    बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

    फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७।२ र ७।५ को भूकम्प गएको थियो। उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् । क्षतिको प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताउनुभएको छ । भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

    ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भन्नुभयो, “अहिले हामीसँग केही पनि छैन । न त शक्ति छ, न साहस नै । उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन । भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन् ।” तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन् ।

    बुधबार गएको ७।५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७।७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    –उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित–

    बुधबारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए । “त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत् खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताउनुभयो, “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन् ।”

    फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ । चीन, भारत, ब्राजिल र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन् । “अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार भन्नुभयो ।

    मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७।२ पहिलो भूकम्प बुधबार साँझ १०ः०४ बजे गएको थियो । एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७।५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ ।

    गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ ।

    “हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्यासको आपूर्तिलाई बन्द गरेका छौँ,” उहाँले भन्नुभयो ।

    काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ । सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन् ।

    भूकम्पले राजधानीमा त्रास फैलाएको थियो र मानिसहरू सडकमा निस्किएका देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

    एएफपीका एक पत्रकारले राजधानीको अल्टामिरा इलाकामा एउटा २२ तले भवन पूरै ध्वस्त भएको आफूले देखेको पुष्टि गरेका छन् ।

    भूकम्प क्रमशः २२ किलोमिटर र १० किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएका थिए ।

    काराकासको एउटा व्यापारिक भवनमा भूकम्पले त्रास फैलाएको एएफपी पत्रकार खिचेको तस्वीरमा देख्न सकिन्छ ।

    “यो अविश्वसनीय थियो, मलाई थाहा छैन कति समयसम्म चलेको थियो,” पसल सञ्चालक हेडी रोमेरोले भन्नुभयो । उहाँ भूकम्प जाँदा माथिल्लो तलामा रहेको बताउनुभयो । “हामीलाई ‘आकस्मिक प्रयोग’का लागि बनाइएको भ¥याङबाट बाहिर निस्किन सहयोग गरिएको थियो,” ४२ वर्षीया रोमेरोले बताउनुभयो ।

    राजधानीका धेरै मानिसहरू भवनबाट बाहिर निस्केर केही समय बाहिर बसेपछि कार्यालय र घर फर्किएका थिए।

    भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।

    भूकम्पको प्रभाव कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । त्यहाँ पनि भूकम्पको चेतावनी दिँदै घण्टी बजेपछि केही बासिन्दाहरू सतर्कताका लागि भवनबाट बाहिर निस्किएका थिए ।

    भूकम्पका लागि जोखिमयुक्त मानिने भेनेजुएलाको हालैका इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९९७ मा उत्तर–पूर्वमा गएको थियो जसमा ७३ जनाको मृत्यु भएको थियो । त्यस्र्त अर्को सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए ।

  • भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुर, ११ असार । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए ।

    बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।

  • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    काभ्रेपलाञ्चोक, ११ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो ।

    पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने बर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकमा खोलिएको ट्रयायकबाट असार दोस्रो साताअर्थात् केही दिनमै सवारीसाधन सञ्चालन गर्नेगरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार हाल पनि चार स्थानमा माथिबाट गाडी सञ्चालन गर्नसक्ने अवस्थामा छ भने तत्कालै पनि बाढी आयो भने माथिबाटै चलाउन सुरु गर्न सकिनेछ । बाढीपपहिरोले राजमार्गको सडक क्षतिग्रस्त बनाएपछि हाल रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ ।

    चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ । “यीबाहेक अन्य क्षेत्रका डाइभर्सनमा समस्या आए अब गाडी रोकिने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो । विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । त्यसपछि पटकपटकका वर्षाले सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रुपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्रे गरिने जनाइएको छ ।

    कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेर सवारीसाधन सञ्चालनमा ल्याइने योगेशले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म असार १५ गतेदेखिनै नयाँ ट्रयाकबाट आवागमनको तयारी भइरहेको छ । उक्त क्षेत्रमा भने आउँदो आर्थिक वर्षमा कालोपत्रको काम थालिने योगेशको भनाइ छ ।

    क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका_ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम भइरहेको जनाइएको छ । वर्षाका बेला भने यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताउनुभयो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।

    सम्भावित जोखिम तथा निर्माणकार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ । यसअघि रोशी खोलामा बाढी आउनेबित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको हो । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आव २०५३-०५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    गोदावरी (कैलाली), ११ असार । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिए । घटना आज बिहानको हो ।

  • कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    काठमाडौँ, ११ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विस्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
    मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने बताए । आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुव्र्यवहार तथा अपमानजनक टिप्पणी नगर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । यसैबीच नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्नुका साथै परीक्षाङ्क र ‘डेटा इन्ट्री’को रुजु गर्नेछ ।

  • देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    काठमाडौँ, ११ असारः किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।

    उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ ।

    कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।

  • मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    काठमाडौँ, ११ असारः सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् ।

    सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

    “यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।” यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।


    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकल गरिए पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ । प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

    बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘¥याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार

    सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ । ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

    सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

  • ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

    ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

    काठमाडौँ, ११ असारः ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो ।

    त्यस अवसरमा ओमानका लागि नेपाल राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिए । उक्त राजदूतावासका अनुसार उहाँले ओमानी लगानीकर्तालाई नेपालमा उपलब्ध अवसरहरूको खोजी गर्न आग्रह गर्दै नेपाल भारत र चीनजस्ता तीव्र गतिमा विकासोन्मुख दुई ठूला अर्थतन्त्रबीच अवस्थित रहेकाले व्यापार, लगानी र पर्यटनका लागि महत्त्वपूर्ण सेतु बन्नसक्ने बताए ।


    कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खावला मोहम्मद अल सदुनीले ओमानको श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्षका साथै श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने कानुनी व्यवस्थाका तथा श्रमसम्बन्धी विवाद समाधानका उपायबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई नेपाल र ओमानबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सम्भावित सहकार्य विस्तार गर्न प्रोत्साहित गरिएको थियो ।

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    काठमाडौँ, ११ असारः राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।

  • कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    काठमाडौँ, ११ असारः कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रृटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् । काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

    राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो । यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

    अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

    बेइजिङ, ११ असार (रासस–सिन्ह्वा) । चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताए ।

    उनले उक्त समझदारीले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताए । प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनःस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे ।

  • आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

    आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

    वाशिङ्टन, ११ असार (रासस–एएफपी) । अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए । आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा त्यसका आधारमा देशनिकालासमेत हुनसक्ने भएकाले धेरै आप्रवासी सुनुवाइमा उपस्थित हुन बाध्य हुने गरेका छन् ।

    अमेरिकी जिल्ला न्यायाधीश पी केसी पिट्सको आदेशमा उक्त नीति प्रशासनिक प्रक्रिया ऐनविपरीत रहेको ठहर गर्दै त्यसलाई ‘मनोमानीपूर्ण’ भनिएको छ । न्यायाधीश पिट्सका अनुसार आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइसीई) र आप्रवासन समीक्षा कार्यकारी कार्यालय (इओआइआर)ले आफ्ना कार्यको पर्याप्त र तर्कसङ्गत आधार प्रस्तुत गर्न सकेका छैनन् । अदालत परिसरमा सुरक्षा अधिकारीको उपस्थितिले आप्रवासीमा त्रास सिर्जना गरेको उनको टिप्पणी छ ।

    गृह सुरक्षा विभागका कानुनी सल्लाहकार जेम्स पर्सिभलले भने उक्त फैसलाको आलोचना गरेका छन् । उनले आप्रवासन न्यायाधीशबाट देशनिकालाको आदेश पाएका गैर–नागरिकलाई अपराधमा दोषी ठहर भएका व्यक्तिसरह व्यवहार गरिनुपर्ने बताए ।

    सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले अदालतको आदेशलाई ‘खुला सीमाना समर्थक एजेन्डा प्रवद्र्धन गर्ने न्यायिक सक्रियता’को सङ्ज्ञा दिए । ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथि कडाइ गर्ने नीति अघि बढाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिका अपराधी तथा अवाञ्छित व्यक्तिको प्रवेशबाट प्रभावित भएको दाबी गर्दै आप्रवासन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाए ।

  • भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी

    भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी

    नयाँदिल्ली, ११ असार (रासस–एएफपी) । भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम भएको जनाएको छ । यद्यपि दुवै पक्षबीच केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले अन्तिम सम्झौता भने सम्पन्न भइसकेको छैन ।

    भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत भ्रमणमा रहेका अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग दुई दिनसम्म भएको वार्ता रचनात्मक तथा परिणाममुखी रहेको बताए । भारत र अमेरिकाले गत फेब्रुअरीमा प्रारम्भिक समझदारी घोषणा गरेका थिए । त्यसअनुसार अमेरिकाले भारतीय वस्तुमाथिको केही भन्सार दर २५ प्रतिशतबाट १८ प्रतिशतमा झार्ने तथा भारतले विभिन्न औद्योगिक र कृषि उत्पादनमा भन्सार शुल्क घटाउने अपेक्षा गरिएको छ ।

    अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार नीतिलाई खारेज गरेपछि वार्ताको गति प्रभावित भएको थियो । त्यसपछि वाशिङ्टनले भारतसहित विभिन्न मुलुकविरुद्ध कथित अनुचित व्यापार अभ्यासबारे अनुसन्धान सुरु गरेपछि वार्ता थप जटिल बनेको बताइएको छ ।

    भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गोयल र ग्रीरबीच विभिन्न चरणमा विस्तृत छलफल भएको थियो । मन्त्रालयले उक्त भ्रमणलाई जारी व्यापार वार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेको छ । दुवै पक्षले अन्तरिम व्यापार सम्झौता छिट्टै अन्तिम रूप दिन सकिने विश्वास व्यक्त गरेका छन् । मन्त्री गोयलले सम्झौताको प्रारम्भिक चरणको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।


    भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि वार्ताकार बाँकी रहेको ‘अन्तिम एक प्रतिशत’ विषयमा सहमति खोज्न केन्द्रित रहेको बताए । मन्त्री गोयलका अनुसार भारतले अन्य प्रतिस्पर्धी मुलुकको तुलनामा आफ्ना उत्पादनका लागि प्रतिस्पर्धी भन्सार दर सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भारतीय वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नयाँदिल्लीले निश्चित अवधि पश्चात् दुवै पक्षलाई सम्झौताका प्रावधान पुनरावलोकन गर्न सकिने व्यवस्था समेट्ने प्रस्ताव पनि अघि सारेको छ ।

  • अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

    अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

    मेलबर्न, ११ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए ।

    अष्ट्रेलियाको डेकिन विश्वविद्यालयका प्राध्यापक युआन रिचीका अनुसार हालसम्म सङ्क्रमण सीमित देखिए पनि यसले अन्य वन्यजन्तु तथा पशुधनमा फैलिने सम्भावना रहेको छ । उनले अष्ट्रेलियाका धेरै स्थानीय प्रजातिको जनसङ्ख्या सानो, घट्दो वा सीमित भौगोलिक क्षेत्रमा केन्द्रित रहेकाले भाइरसले ती प्रजातिलाई विशेष जोखिममा पार्न सक्ने बताए । उनका अनुसार ठूलो मात्रामा एकैपटक हुने मृत्युका घटनाले केही प्रजातिलाई अपरिवर्तनीय क्षतिसमेत पु¥याउन सक्छ ।

    विश्वभर एच–फाइभ एन–वान सङ्क्रमणका कारण लाखौँ चराको मृत्यु भइसकेको छ भने सङ्क्रमित जनावरको शव खाने स्तनधारी जनावरहरूमा समेत सङ्क्रमण फैलिरहेको छ । रिचीले अष्ट्रेलियाका लोपोन्मुख तास्मानियन डेविल तथा क्वोलजस्ता मांसाहारी मार्सुपियल प्रजातिहरू पनि जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार कङ्गारु, वालाबी, पोसम र ब्यान्डिकुटजस्ता जनावरहरू पनि सङ्क्रमित मासुसँग सम्पर्कमा आउन सक्ने भएकाले सङ्क्रमणको जोखिमबाट मुक्त छैनन् । उनले अष्ट्रेलियाली समुद्री सिंह तथा कालो हाँसको जनसङ्ख्याका लागि पनि यो भाइरस घातक हुन सक्ने बताए ।

    गत साता वैज्ञानिकहरूले अष्ट्रेलियाको बाह्य क्षेत्रअन्तर्गत पर्ने हर्ड टापुमा एच–फाइभ एन–वान सङ्क्रमणका कारण करिब १३ हजार दक्षिणी हात्ती सिलका बच्चा मरेको अनुमान सार्वजनिक गरेका थिए । उक्त भाइरस हर्ड र म्याकडोनाल्ड टापुका पेन्गुइन, फर सिल तथा समुद्री चरालगायत अन्य प्रजातिमा पनि फेला परेको छ ।

    विज्ञहरूले सङ्क्रमणले एकल प्रजातिमा मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीमा असर पार्न सक्ने बताएका छन् । शिकारी प्रजातिमा सङ्क्रमण फैलिएमा शिकार प्रजातिको सङ्ख्या असन्तुलित रूपमा बढ्न सक्ने तथा जलचर पंक्षीहरूको ठूलो मात्रामा मृत्यु हुँदा जलस्रोतको गुणस्तरमा असर पर्नुका साथै माछाको व्यापक क्षति हुन सक्ने उनीहरूको भनाइ छ ।

    अष्ट्रेलिया सरकारले मुख्य भूमिमा सङ्क्रमण पुष्टि हुनुअघि नै एच–फाइभ एन–वान विरुद्धको तयारी सुदृढ बनाउन ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । अधिकारीहरूले बिरामी वा मृत अवस्थामा भेटिएका वन्यजन्तुबारे सम्बन्धित निकायलाई जानकारी गराउन तथा वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्क नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

  • ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

    ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

    वासिङ्टन, ११ असार (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरे ।

    उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरे । ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिए । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् । अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

  • कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    जेनेभा, ११ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रणका लागि दुई उपचारात्मक औषधिको परीक्षण अर्को साता सुरु हुने जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा परीक्षणअन्तर्गत दुई एन्टिभाइरल औषधि एमबिपिसी¬–१३४ र रेमडेसिभिरको प्रभावकारिता मूल्याङ्कन गरिने जानकारी दिए ।


    उनका अनुसार हालको प्रकोपको कारण बनेको इबोलाको बुन्डिबुग्यो प्रजातिबाट सङ्क्रमित बिरामीमा यी औषधिले मृत्युदर घटाउन सहयोग पु¥याउन सक्छन् वा सक्दैनन् भन्ने विषयमा अध्ययन गरिनेछ । डब्लुएचओले दुवै औषधिको प्रयोग छुट्टाछुट्टै तथा संयुक्त रूपमा गरेर पनि परीक्षण गरिने जनाएको छ । हाल कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य अधिकारीले विभिन्न रोकथाम तथा उपचारात्मक उपाय लागू गरिरहेका छन् ।

  • ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौँ, ११ असारः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

  • रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    चितवन, ११ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो ।

    प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो । मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने छ । मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् ।

  • विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    काठमाठौँ, ११ असारः ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ । समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

    स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो । यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।

  • स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    काठमाडौँ, ११ असारः स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप(२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २(१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

    स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २(१ गोलको जित निकाल्यो ।

    स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अङ्क छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि प¥यो ।

    आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।

  • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    पाल्हीनन्दन (नवलपरासी पश्चिम), १० असारः बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् । लामो समयदेखि वर्षा नहँुदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् ।

    खेतमा धाँजा फाटी लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँ बन्द गरेको पाल्हीनन्दन–६ निवासी दीनानाथ यादव बताउँछन् । उनका अनुसार यस वर्षको लामो खडेरीसँगै डिपबोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइको अतिरिक्त पिउने पानीको समेत समस्या थपिएको छ ।

    पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठी गण्डक नहरदेखि दक्षिणतर्फका गाउँमा चापाकलमा थारै भए पनि पानी आइदिँदा लत्ताकपडा धुन र नुहाउन राहत मिलेको भए पनि आफ्नो गाउँठाउँतर्फ भने पानीको हाहाकार भएको बताउँछन् । खानेपानीको अभाव भएपछि चन्दा उठाएर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानीको व्यवस्था गर्न बाध्य हुनुपरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।


    अध्यक्ष त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि पानी नपर्दा गर्मी अचाक्ली बढी रोपेको धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम बन्द गरिएको छ ।

    कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय हुँदा खुसी भई रोपेका धानका बिरुवा सुक्न थालेपछि किसान आत्तिन थालेको बताए । जिल्लामा अहिलेम्म करिब चालिस प्रतिशत धान रोपाइँको काम सकिएको जानकारी दिँदै प्रमुख अर्यालले भने, “दुई सातादेखि पानी नपर्दा रोपेका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भइदिँदा किसानसहित स्थानीय जनता आँत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा झन् समस्या देखिएको अवस्था छ ।”

    यसैबीच, देशको पूर्वतर्फबाट मनसुन भित्रियो भन्ने खबर सुन्न पाइएको छ भन्दै स्थानीय किसानबाट अब छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने, धानका बिरुवाले जीवन पाउने र कृषि व्यवसायमा सक्रिय भई आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

  • देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    काठमाडौँ, १० असारः देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२।८ प्रतिशत र बागमती प्रदेशमा २।३ प्रतिशत रोपाइँ भएको छ ।

    मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

    विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ ।

  • प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

    प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

    रासस
    काठमाडौँ, १० असारः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ । सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो । इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा औसत रु ८८ लाख र उपविजेताले त्यसको लगभग तीन गुणा बढी, औसत रु दुई करोड ८३ लाख खर्च गरेका पाइएको छ । निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेका छन् ।

    नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारका लागि रु २५ देखि ३३ लाखसम्म खर्चको सीमा तोकेकोमा, औसतमा उम्मेदवारले रु ७२ लाख अर्थात् कानुनी सीमाभन्दा ११८ प्रतिशत बढी खर्च गरेको पाइएको छ ।

    “उम्मेदवारले खर्च देखिने ब्यानर, र्‍याली, कोणसभा, भोजभतेर आदिको साटो नदेखिने च्यानल ९अदृश्य तर प्रभावशाली सूचना तथा सञ्चार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनौपचारिक परिचालन०तर्फ सरेको देखियो । जसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखियो । मित्थ्या सूचना, दुष्प्रचार, चरित्रहत्याजस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग रोकथाम तथा नियन्त्रणमा आवश्यक कानुनी प्रबन्धको अभाव देखियो”, प्रतिवेदनमा भनिएको छ ।

    कूल खर्चको ८२ प्रतिशत प्रचार अभियान अवधिमा भएको र चार प्रतिशत खर्च निर्वाचनको दिन ९प्रचार निषेधको अवधि०मै भएको देखिएको प्रतिवेदनले जनाएको छ । उम्मेदवारको आम्दानीको स्रोत सार्वजनिक र अनिवार्यरूपमा खुलासा गरिनुपपर्ने, डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन पत्ता लगाउन प्रविधिमैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेस गर्ने हालको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचारसंहिता उल्लङ्घकर्तालाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिइएको इओसीका अध्यक्ष सुवेदीले बताए ।
    यससैगरी छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखापरीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

  • पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    काठमाडौँ, १० असारः मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरुप मासिक रुपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यताबमोजिम आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    यसैगरी अवरोध भएका राजमार्ग÷सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

    बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र, सङ्घ, संस्था, नागरिक समाजलगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज्लगायतलाई अनुरोध गर्नेलगायत निर्णय गरेको छ ।

  • अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    काठमाडौँ, १० असारः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै सङ्गठित अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताए ।

    नेपाल पुलिस क्लबमा आज आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरीको सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

  • गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै बिरामीलाई औषधि सिफारिस गरिएको ‘प्रेस्क्रिप्सन’ फेला परेपछि नेपाल मेडिकल काउन्सिलको कारबाहीका लागि ब्यूरोलाई अनुरोध गरेको थियो ।

    प्रारम्भिक अनुसन्धानपश्चात काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । निजमाथि मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना पक्राउ परेका छन् । पीडित महिलाको अश्लिल तस्बिर–भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।

    उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    काठमाडौँ, १० असारः प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिए । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।

  • चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।


    रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरुले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

    उनले भने, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।” हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

  • रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।


    परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।