Author: Vishwanews.com

  • रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।


    परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

  • ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    पाटन (ललितपुर), १० असारः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ रु तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेको हो ।

    उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ ।

    यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ ।

    प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

    महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् । यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

  • गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौँ, १० असारः नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

  • द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    पेरिस, १० असार (रासस–सिन्ह्वा) । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ हर्मुज’ हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ‘ले मोन्डे’ले जनाएको छ । समुद्री विश्लेषण कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै मङ्गबार प्रकाशित समाचारमा उक्त सङ्ख्या द्वन्द्व सुरु भएयताकै उच्च रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार शान्तिकालमा ‘स्टे«ट अफ हर्मुज’ हुँदै दैनिक औसत १२० जहाज आवतजावत गर्ने गरेका थिए । सोमबारको आवागमन सामान्य अवस्थाको करिब एक तिहाइ बराबर रहेको जनाइएको छ ।

    ‘स्टे«ट अफ हर्मुज’ विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ । द्वन्द्वअघि विश्वव्यापी तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को २० प्रतिशतभन्दा बढी हिस्सा यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । खाडी क्षेत्रतर्फ अन्न तथा उपभोग्य वस्तु आपूर्तिका लागि पनि यो मार्ग महत्वपूर्ण मानिन्छ । यसैबीच कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिकी तथा इरानी वार्ताकारबीच आइतबार मध्यस्विट्जरल्याण्डस्थित बुर्गेनस्टक पर्वतीय रिसोर्टमा वार्ता सुरु भएको छ । गत साता इस्लामाबाद समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएपछि दुवै पक्षबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।

    समझदारीपत्रअनुसार अमेरिका र इरानले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । साथै, अधिकतम ६० दिनभित्र वार्तामार्फत अन्तिम शान्ति सम्झौतामा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

    आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

    तेहरान, १० असार (रासस–एएफपी) । इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविकस्थलको निरीक्षणका लागि संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्याण्डमा पहिलो चरणको वार्ता सम्पन्न भएपछि इरानले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो । तेहरान र वासिङ्टनबीच भएको समझदारीपछि इरानको आणविक कार्यक्रम तथा प्रतिबन्ध राहतलगायत विषयमा अन्तिम सहमति खोज्न ६० दिनको वार्ता प्रक्रिया सुरु भएको जनाइएको छ ।

    मङ्गलबार अन्तिम सम्झौताका लागि कूटनीतिक प्रयास तीव्र बनाइएको छ । इरानी अधिकारी मध्यस्थकर्ता पाकिस्तानसँग वार्ताका लागि अघि बढेका छन् भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खाडी क्षेत्रका सहयोगी राष्ट्रको भ्रमण सुरु गर्नुभएको छ । लेबनान र इजरायलका प्रतिनिधि पनि वासिङ्टनमा प्रत्यक्ष वार्ताका लागि जाने तयारीमा छन् ।

    यसैबीच इरानले अन्तरराष्ट्रिय आणविक ऊर्जा निकाय ९आइएइए०का निरीक्षकलाई पुनः प्रवेश दिन सहमत भएको भन्ने अमेरिकी दाबी अस्वीकार गरेको छ ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले आइएइएका महानिर्देशकसँग कुनै भेटवार्ता नभएको तथा अमेरिका र इजरायलको सैन्य आक्रमणबाट क्षति पुगेका आणविक केन्द्रको निरीक्षणसम्बन्धी कुनै योजना नरहेको बताउनुभयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले भविष्यमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको दाबी गर्नुभएको छ । गत वर्ष अमेरिका इजरायलसँगको द्वन्द्वमा सहभागी भएपछि फोर्डो, नातान्ज र इस्फहानस्थित इरानका आणविक केन्द्रमा आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट भएको क्षतिको वास्तविक अवस्था भने स्पष्ट नभएको जनाइएको छ ।

    इरानका संयुक्त राष्ट्रसङ्घका राजदूत अली बहरेनीले पनि आइएइए निरीक्षकलाई प्रवेश दिने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभयो । यसैबीच इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले हर्मुज जलडमरू युद्धअघिको पूर्ण स्वतन्त्र अवस्थामा तत्काल फर्कन नसकिने धारणा राख्नुभएको छ । यद्यपि दुवै पक्षले जलमार्ग खुला राख्न सञ्चार संयन्त्र स्थापना गर्न सहमति जनाएका छन् ।

    समुद्री अनुगमन संस्था केप्लरका अनुसार सोमबार हर्मुज जलडमरू हुँदै ३५ वटा वस्तुवाहक जहाज पार भएका थिए, जुन द्वन्द्व सुरु भएयताकै उच्च सङ्ख्या हो । यसैबीच ओमान र इरानले हर्मुज जलडमरूको व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने लागतबारे अध्ययन गर्ने सहमति गरेका छन् ।

  • चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    वासिङ्टन, १० असार (एएफपी–रासस) । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा सोमबार आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’ २०२६मा सार्वजनिक गरिएको चर्चित शीर्ष पाँचसयको सूचीमध्ये ‘लाइनशाइन’ नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो ।

    सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो । सन् १९९३ देखि वर्षमा दुई पटक सार्वजनिक हुँदै आएको शीर्ष पाँच सय सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ । लाइनशाइनले यसअघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभागअन्तर्गतको ‘एल क्यापिटन’ सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

    दक्षिणी चिनियाँ सहर शेन्जेनमा रहेको यो मेसिनले निरन्तर कार्यसम्पादनमा दुई दशमलव दुई एक्साफ्लप्स गति हासिल गरेको छ । एक्साफ्लप्सले कम्प्युटरले एक सेकेन्डमा गर्न सक्ने गणनाको सङ्ख्या मापन गर्छ । विशेष रूपमा, लाइनशाइन पूर्णरूपमा चिनियाँ डिजाइन गरिएका प्रोसेसर प्रयोग गरेर निर्माण गरिएको बताइएको छ । यसले विश्वका धेरैजसो शक्तिशाली प्रणालीमा प्रयोग हुने अमेरिकी प्रविधिमा आधारित चिपको विकल्पका रूपमा चीनको स्वदेशी क्षमता देखाएको छ ।

    यद्यपि अमेरिका अझै पनि शीर्ष चारमध्ये तीन स्थानमा रहेको छ । क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला मा रहेको एल क्यापिटन दोस्रो स्थानमा छ । युरोपमा जर्मनीको जुपिटर बूस्टर प्रणालीले शीर्ष पाँचमा स्थान बनाएको छ ।

  • चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    काठमाडौँ, १० असारः नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

    समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको मूर्ति काठमाडौँस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल)को अनुपम कलाकृति मानिन्छ । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा उल्लेख छ भने सन् १९७१ र १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पु¥याइएको ठानिएको छ ।

    त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । उक्त मूर्ति सन् १९६९ र १९८३ बीच कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ । पछि यो मूर्ति न्युयोर्कस्थित महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो । यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरेर नेपाललाई हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरे । उनले सबैको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, नेपाललाई पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए ।


    नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको सहकार्य अन्तरराष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको तथा साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो । उनले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानका लागि धन्यवाद दिए ।

    हस्तान्तरणपछि ती दुवै सम्पदालाई यही जुन २५ मा नेपाल पठाइने जनाइएको छ । ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा गरिनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन् ।

    काठमाडौँ आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभागलगायत सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिनेछ । समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

  • डलरको दबाबमा येन

    डलरको दबाबमा येन

    टोकियो, १० असार (रासस–एएफपी) । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ । अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताएका छन् । मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण येनमाथि लगातार दबाब बढ्दै गएको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिकाबीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको बताए । जापानी सरकारले पुष्टि गरेको उक्त वार्तापछि बजारमा जापान पुनः हस्तक्षेपको तयारीमा रहेको सङ्केत देखिएको छ । टोकियोले गत महिना मात्रै येनलाई समर्थन गर्न ७० अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ ।

    सोमबार प्रकाशित समाचारपछि डलरको तुलनामा १६१।९३ येनसम्म झरेको जापानी मुद्रा केही सुधार भई मङ्गलबार टोकियो बजारमा प्रतिडलर करिब १६१।६० येनमा कारोबार भएको थियो । यो सन् १९९६ डिसेम्बरपछि देखिएको सबैभन्दा कमजोर विनिमय दरमध्ये एक हो । सन् २०११ मा भने एक डलर बराबर करिब ७५ येनसम्म पुगेको थियो ।

    कमजोर येनले ऊर्जा र कच्चा पदार्थ आयातमा निर्भर जापानका लागि आयात खर्च बढाएको छ । विशेषगरी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो हुँदा घरेलु अर्थतन्त्रमा थप दबाब परेको छ । अर्कोतर्फ, कमजोर येनका कारण विदेशी पर्यटकका लागि जापानमा किनमेल, होटल तथा भोजन खर्च सस्तो बनेकाले पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ ।

    एमयुएफजीका विश्लेषक माइकल वानले दीर्घकालीन सुधारका लागि अमेरिकाको तुलनामा जापानको वास्तविक ब्याजदर अन्तर घट्नुपर्ने बताए । उनका अनुसार बैंक अफ जापानले थप आक्रामक मौद्रिक नीति अपनाउने स्पष्ट सङ्केत दिन सके मात्रै येनलाई स्थायी रूपमा बलियो बनाउन सकिन्छ । बैंक अफ जापानले गत साता ब्याजदरलाई ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याएको थियो । त्यही समयमा अमेरिकी फेडरल रिजर्भले पनि थप कडा मौद्रिक नीति अपनाउने सङ्केत दिँदै यसै वर्ष पुनः ब्याजदर बढ्न सक्ने जनाएको छ ।

    यद्यपि बैंक अफ जापानले थप ब्याजदर वृद्धि गरेमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारबाट प्रतिरोध हुन सक्ने विश्लेषकहरूको भनाइ छ । उच्च उधारो लागतले आर्थिक वृद्धि प्रभावित हुन सक्ने चिन्ताले सरकार थप कडाइतर्फ जान सावधानी अपनाइरहेको छ ।

  • हर्मुजमा इरानको दाबी

    हर्मुजमा इरानको दाबी

    तेहरान, १० असार (रासस–एएफपी) । अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताए ।

    स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्किएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गरे । उनले हर्मुज जलघाँटी, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको बताए ।


    इरान र संयुक्त राज्य अमेरिका सोमबार हर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए । मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।

    घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताए । उनका अनुसार यो यात्रा विशेषगरी जलघाँटीको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ । वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पुनः देशभित्र काम गर्न अनुमति दिने जानकारी दिएका थिए । त्यसलगत्तै अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गरेको जनाइएको छ ।

    सम्झौताअनुसार तेहरानले प्रतिबन्धमा आंशिक राहत पाउने तथा विदेशमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा हुने अपेक्षा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घालीबाफले वार्तापछि ओमानमा पनि भ्रमण गर्नुभएको थियो । ओमान हर्मुज जलघाँटीसँग जोडिएको मुलुक हो । युद्धको सुरुआती चरणमा इरानले बन्द गरेको हर्मुज जलमार्ग अमेरिका र इरानबीचको सहमतिपछि गत साता पुनः सञ्चालनमा आएको थियो । तर लेबनानमा भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप तेहरानले शनिबार फेरि जलघाँटी बन्द गर्ने घोषणा गरेको थियो ।

    कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार त्यसयता तेहरान र वासिङ्टनले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । समुद्री यातायात निगरानी गर्ने संस्थाहरूका अनुसार अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलघाँटीमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको छ ।

  • रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”

    निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।

  • सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    मिला दरै / रासस

    डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उहाँले सुनाउनुभयो ।

    पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन । एकापसमा भाषा बोलिएको हो र अहिले आफ्नो भाषामा पठनपाठन नहुने र खस भाषामा पढ्न सिक्दा आफ्नो मातृभाषा नै बोल्न नजान्ने भएका उहाँ बताउनुहुन्छ । “सिक्नुपर्छ भन्ने कुरा कहिलेकाहीँ हुन्छ”, उहाँ भन्नुहुन्छ, “सबैलाई मिल्ने भाषा बोलिँदा नै हामीले आफ्नै भाषा बिर्सिएका छौँ ।”

    व्यास नगरपालिका–१० बोटेगाउँका हर्षबहादुर बोटे पनि आफ्नो समुदायका बालबालिकाले परम्परागत भाषा नजानकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी काममा हिँड्नुपर्छ, छोराछोरीलाई विद्यालय पठाइन्छ, उनीहरुले भाषा, कला, संस्कार, संस्कृतितर्फ ध्यान दिन सकेका छैनन् । उसो त बोटे समुदायको भाषा मात्र हैन पेसा जोखिममा छ । सुन चाल्ने मादी, सेती, बूढीगण्डकी, त्रिशूली र कालीगण्डकी नदीमा जेसिबी लगाएर गिट्टी, बालुवा निकाल्दा पेसा सङ्कटमा परेको छ ।”

    त्यस्तै, गुनासो व्यास नगरपालिका–१० डिहीगाउँका सीमान्त कुसुण्डाको पनि छ । उहाँ भन्नुहुन्छ, “भाषाको महत्व छ भनेर बुझ्दै गएको छु । मलाई कुसुण्डा भाषा बोल्न सिकाउने बाबु बितेपछि त्यो भाषा घरभित्रै हरायो ।” विश्वमा नै दुर्लभ मानिएको कुसुण्डा भाषा सिकाउने व्यक्तित्व कहाँ खोज्ने र सिक्ने भन्ने चिन्ता लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “बाबासँग बिलीन भएको मेरो भाषा संरक्षण र बोल्न सिक्ने ठाउँ चाहिएको छ, यसका लागि सरकारी सहयोगको आशा छ”, उहाँ भन्नुहुन्छ ।

    कुसुण्डा भाषा जोगाउन सङ्घर्ष गरिरहनुभएका सीमान्तजस्तै गण्डकीका धेरै सीमान्तकृत समुदाय अहिले आफ्नो पहिचान, भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउने लडाइँमा छन् ।

    नेपाल सरकारले आदिवासी जनजाति, लोपोन्मुख र सीमान्तकृत समूह भनेर सूचीकृत गरेको छ । ती समुदायमध्ये गण्डकी प्रदेशमा लोपोन्मुख तथा सीमान्तकृत समूहमा पर्ने कुसुण्डा, दरै, बोटे भुजेल, हायु, थकाली, छन्त्याल, बरामलगायत समुदायको बसोबास छ ।

    राज्यले समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायका नीति अघि सारे पनि कुसुण्डाका साथै दरै (दराई), बोटे र भुजेलजस्ता सीमान्तकृत अल्पसङ्ख्यक समुदाय अझै विकासको मूलधारबाट अपेक्षित रूपमा पुग्न सकेका छैनन् ।

    नेपालका सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्थामा पछिल्ला वर्षहरूमा केही सुधार देखिए पनि उनीहरू अझै पनि गरिबी, शिक्षा, स्वास्थ्य, रोजगारी र प्रतिनिधित्वका क्षेत्रमा विभिन्न चुनौतीसँग जुधिरहेका छन् । संविधानले समानता, समावेशिता र सामाजिक न्यायको प्रत्याभूति गरे पनि व्यवहारमा धेरै समुदाय अझै विकासको मूलधारबाट टाढा छन् ।

    हिमाल, पहाड र तराईमा फैलिएका १४० भन्दा बढी जातजाति र १२० भन्दा बढी भाषाले नेपालको पहिचान निर्धारण गरेको छ । तर, यही विविधताभित्र केही समुदाय यस्ता पनि छन्, जसको अस्तित्व, भाषा र संस्कृति आज गम्भीर सङ्कटमा छन् ।

    राष्ट्रिय जनगणना–२०७८ अनुसार भुजेल समुदायको जनसङ्ख्या करिब एक लाख २० हजार २४५ पुगेको छ । दरै समुदायको जनसङ्ख्या १८ हजार ६९५, बोटे समुदायको ११ हजार २५८ छ । कुसुण्डा समुदायको जनसङ्ख्या अत्यन्त कम छ । कुसुण्डाको सङ्ख्या २०० भन्दा कम छ । जनसङ्ख्याको हिसाबले कम भए पनि यी समुदायले नेपालको सांस्कृतिक विविधतालाई जीवन्त राखेका छन् ।

    तनहुँमा कसुण्डा परिवारको एक घर छ । गोरखामा पनि कुसुण्डाको बसोबास छ । तनहुँ मुख्य केन्द्र रहेको दरै समुदाय गोरखा र नवलपुरमा पनि भेटिन्छ । भुजेल तनहुँ, गोरखा, स्याङ्जा, कास्की र लमजुङमा छन् । बरामको बसोबास गोरखालाई मानिएको छ । हायु गोरखा र आसपासका क्षेत्रमा बस्दै आएका छन् । छन्त्याल म्याग्दी र बाग्लुङमा बस्दै आएका छन् ।

    दरै समुदाय
    यस समुदायको थातथलो तनहुँको दमौली र मादी नदीको किनार हो । उनीहरुको जनसङ्ख्यामध्ये २३।५ प्रतिशत उद्गम थलो तनहुँमा नै छन् । बाँकी अरू जिल्लामा छरिएका छन् । मातृभाषा बोल्ने १२ हजार १६५ जना छन् । कुल जनसङ्ख्याको ६५।०२ प्रतिशतले भाषा बोल्न सक्ने तनहुँ दरै समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो ।

    दरै समुदायको भाषा, रहनसहन, संस्कृति र संस्कार रहे पनि लिपि भने नभएको उहाँले बताउनुभयो । दरै भाषा भारोपेलीमा पर्ने भएकाले अरू जनजातिको भन्दा फरक रहेको छ । उहाँका अनुसार पहाड र तराईका फाँट, टार, उर्वराभूमि भएको र सकभर पानीको सुविधा भएको ठाउँमा दरैको बसोबास छ ।

    “विगतमा गाउँबस्तीका अगुवाका रूपमा मुखिया हुने गर्दथ्यो । पारिवारिक झैझगडा मिलाउन, गाउँ ठाउँमा रीतिथिति बसाउन, अपराधीलाई दण्ड सजाय दिन र सार्वजनिक हितका कार्य गर्न समुदायको परिचालन गर्न मुखियाले नेतृत्वकारी भूमिका लिनाका साथै पूजाआजाको व्यवस्था मिलाउने र परम्परागत स्वास्थ्य उपचार गर्ने प्रचलन थियो”, अध्यक्ष दरैले भन्नुभयो । उहाँका अनुसार धेरै कुरा छुट्दै आए पनि परम्परागत पूजाआजाले भने निरन्तरता पाइरहेको छ ।

    बोटे समुदाय
    तनहुँ र कास्की हुँदै बग्ने मादी नदी, सेती नदी र कालीगण्डकी नदीको किनारा यिनीहरूको थातथलो मानिन्छ । कुनै समयका फिरन्ते यस जातिको बासस्थान छरिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार ११ हजार २५८ मध्ये गण्डकीको पूर्वी नवलपरासी ९नवलपुर० २२ प्रतिशत, तनहुँमा १४ प्रतिशत बसोबास छ । कुल जनसङ्ख्याको ६८ प्रतिशतले भाषा बोल्ने गरेका छन् ।

    पेसाका आधारमा यो समुदायलाई दुई समूहमा वर्गीकृत गरिएको छ, पाखे बोटे र पानी बोटे । पाखे बोटे कृषि र पशुपालनमा आधारित हुन्छन् भने पानी बोटे डुङ्गा खियाउने र माछा मारेर जीविका चलाउने बोटे समाज नेपालका महासचिव शेरबहादुर बोटेले बताउनुभयो । साथै पानी बोटेको परम्परागत पेसा नदीको बालुवा चालेर सुन खोज्ने रहेको उहाँको भनाइ थियो ।

    भुजेल समुदाय

    भुजेल समुदायको बाग्लुङको ढोरपाटन उपत्यकास्थित भुजी क्षेत्रलाई उद्गम थलो मानिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल एक लाख २० हजार २४५ छ । तीमध्ये गण्डकी प्रदेशमा २४ प्रतिशतको बसोबास रहेको देखिन्छ । कुल जनसङ्ख्याको १०।९ प्रतिशतले मात्रै भाषा बोल्न सक्ने अवस्था रहेको भुजेल समाज केन्द्रीय महिला अध्यक्ष बसुन्धरा घर्तीले बताउनुभयो । यस समुदायको मुख्य धर्म प्रकृति पूजा हो । तर, यस समुदायको मुख्य पर्व उधौली उभौली भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार कृषि, पशुपालनका साथै हस्तकलाका रूपमा बाँसको चोयाबाट डोको, नाम्लो, नाङ्लो (सुपो), डालोलगायत सामग्री उत्पादन गर्ने गर्दछन् । यसका साथै ज्यालादारी तथा मजदुरीमा आबद्ध भएको पाइएको घर्तीले बताउनुभयो ।

    नदी, वन र प्रकृतिसँग जोडिएको जीवन

    जल, जमिन र जङ्गलसँग सम्बन्धित भएर बसोबास गर्न रुचाउने सीमान्तकृत अल्पसङ्ख्यक समुदाय यीसँग टाढिएर रहन मुस्किल भएको बताउँदै आएका छन् । केही दशकअघिसम्म दराई र बोटे समुदायको जीवन नदीसँग जोडिएको थियो । तनहुँ, चितवन, नवलपुर, गोरखा र आसपासका क्षेत्रमा बसोबास गर्ने दराई समुदाय खेतीपाती गर्ने र वनजन्य उत्पादनमा निर्भर रहेको पाइन्छ । उनीहरूको आफ्नै भाषा, वेशभूषा, संस्कार, संस्कृति र सामाजिक संरचना छ ।

    नेपालमा सडक सञ्जाल विस्तार, शिक्षा र सञ्चारको पहुँच बढ्दै जाँदा यी समुदायको जीवनशैलीमा पनि परिवर्तन आएको छ । विद्यालय जाने बालबालिकाको सङ्ख्या बढेको छ । सरकारी सेवामा प्रवेश गर्ने युवा पनि बढ्दै गएका पाइन्छ । तर, विकासले अवसर मात्र ल्याएन, चुनौती पनि थपिएको महसुस भएको बताउने गरेका छन् ।

    बोटे समुदायको परम्परागत डुङ्गा व्यवसाय पुल निर्माणपछि लगभग समाप्त भएको छ । नदी पार गराउने कामबाट जीविका चलाउने परिवार आज मजदुरी वा वैदेशिक रोजगारमा निर्भर हुन थालेको समाजका महासचिव शेरबहादुरले बताउनुभयो ।

    दरै समुदायमा पनि परम्परागत कृषि पेसा क्रमशः घट्दै गएको छ । नदी प्रदूषण, जलवायु परिवर्तन र जलस्रोतको दोहनले उनीहरूको पुरानो जीवनशैली प्रभावित बनेको अध्यक्ष ठाकुरबहादुरले बताउनुभयो । “बालबालिकादेखि नै प्रविधिको उपयोग गरिँदै गर्दा मातृभाषा नै बोल्न छाडिएको छ । जसले भाषा लोप भएको छ”, उहाँले भन्नुभयो ।

    कुसुण्डा समुदायमा त झन् ठूलो परिवर्तन आएको छ । जङ्गलमा आधारित घुमन्ते जीवन अन्त्य भइसकेको छ । अधिकांश कुसुण्डा परिवार स्थायी बस्तीमा बस्न थालेका छन् । तर, आधुनिक जीवनमा घुलमिल हुने क्रममा उनीहरूको भाषा र सांस्कृतिक पहिचान गुम्ने खतरा छ ।

    सङ्कटमा भाषा

    यी समुदायको सबैभन्दा ठूलो चुनौती भाषा संरक्षण मानिएको छ । भाषासँग जोडिएका कला, संस्कार र संस्कृति लोप हुँदै गएका छन् । नेपालमा मातृभाषा बोल्नेको सङ्ख्या निरन्तर घटिरहेको छ । दरै समुदायका धेरै युवाले बोलचालमा नै पूर्णरुपमा खस भाषालाई प्राथमिकता दिन थालेका भादगाउँ दरै समाजका कोषाध्यक्ष वीरबहादुर दरैले बताउनुभयो ।

    “बालबालिकासँगै घरका भाषाका विज्ञ नै बोल्न छाडिदिएपछि बालबालिकाले सिक्न सकेका छैनन् । शिक्षा नै खस भाषामा हुने भएकाले घरमा पनि बालबालिकासँग बोल्ने बनाउन सकिएको छैन । घरमा भाषा बोल्न सिकाउने क्रममा विद्यालय शिक्षाका लागि बोलिने खस भाषा नै बोल्न नसक्ने हुँदा पठनपाठनमा समस्या हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै, बोटे समुदायमा पनि मातृभाषा बोल्ने नयाँ पुस्ताको सङ्ख्या घट्दो छ । यस समुदायका कतिपयले त भाषा नै बोल्न नसक्ने अवस्था पुगेका छन् । भाषा पठनपाठनमा ल्याउनकै लागि पनि प्रशिक्षक नपाउने अवस्थामा रहेको बोटे समाजका केन्द्रीय महासचिव शेरबहादुरले बताउनुभयो ।

    भुजेल समुदायको अवस्था पनि उस्तै छ । कुसुण्डा भाषाको अवस्था झन् संवेदनशील बनेको छ । केही दशकअघि यो भाषा पूर्ण रूपमा लोप हुने अवस्थामा पुगेको थियो । पछिल्ला वर्षमा भाषा संरक्षणका केही प्रयास भए पनि भाषा बोल्ने व्यक्तिको सङ्ख्या अत्यन्त कम छ । भाषा केवल सञ्चारको माध्यम होइन, समुदायको इतिहास, ज्ञान, संस्कृति र पहिचानको भण्डार पनि हो । भाषा हराउनु भनेको एउटा सभ्यता हराउनु हो ।

    शिक्षामा सुधार, तर गुणस्तरीय पहुँच अझै चुनौतीपूर्ण

    विगतको तुलनामा यी समुदायमा शिक्षाको पहुँच बढेको छ । सरकारले छात्रवृत्ति, आरक्षण र विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरेसँगै आधारभूत शिक्षाको पहुँच पुगेको हो । दरै, बोटे र भुजेल समुदायका विद्यार्थी विद्यालय र विश्वविद्यालयसम्म पुग्न थालेका छन् भने केही युवा निजामती सेवा, सेना, प्रहरी, पत्रकारिता र शिक्षण पेसामा पनि स्थापित भएको पाइन्छ । तर, ग्रामीण क्षेत्रमा अझै पनि विद्यालय छाड्ने दर उच्च रहेको छ । आर्थिक अभाव, रोजगारीको दबाब र शैक्षिक वातावरणको कमीले यी समुदायका अधिकांश विद्यार्थीले उच्च शिक्षा हासिल गर्न सकिरहेका छैनन् ।

    विशेषगरी कुसुन्डा समुदायका बालबालिकालाई मातृभाषामा शिक्षा उपलब्ध गराउने व्यवस्था अझै पर्याप्त छैन । यसले भाषा संरक्षणलाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ ।

    गरिबीको चक्र अझै कायम

    अधिकांश दराई, बोटे, कुसुण्डा र भुजेल परिवार आज पनि न्यून आय भएका समूहमा पर्दछन् । खेतीयोग्य जमिनको अभाव, सीपमूलक तालिमको कमी, सीमित रोजगारीका अवसर र परम्परागत पेसाको अन्त्यले उनीहरूको आर्थिक अवस्था कमजोर बनेको हो । अन्य समुदायका युवा गुणस्तरीय शिक्षा, रोजगारीको पहुँचको खोजीमा गाउँ छाड्ने गरेको पाइन्छ भने यी समुदायका गुणस्तरीय शिक्षाको अभावले नै युवाहरू खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र भारतमा रोजगारी खोज्न बाध्य छन् । गाउँमा वृद्ध, महिला र बालबालिका मात्र रहने प्रवृत्ति बढ्दै गएको देखिन्छ । आर्थिक कमजोरीका कारण स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा पनि प्रत्यक्ष असर परेको छ ।

    स्वास्थ्य सेवामा पहुँचको समस्या

    सीमान्तकृत समुदाय बसोबास गर्ने अधिकांश क्षेत्र अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट टाढा छन् । स्वास्थ्य चौकी भए पनि दक्ष जनशक्ति र आवश्यक औषधिको अभावलगायत सामान्य समस्या बनेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकाले धेरै परिवारले समयमै उपचार गराउन सक्ने अवस्था छैन ।

    महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था अझ चुनौतीपूर्ण छ । केही अवस्था परिवर्तन भए पनि पोषण, मातृ स्वास्थ्य र सरसफाइका विषयमा अझै सुधार आवश्यक देखिन्छ । संविधानले दिएका अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन भएमा यी समुदायलाई सहज तवरबाट स्वास्थ्यको पहुँचमा पु¥याउन सकिनेछ ।

    राजनीतिक प्रतिनिधित्व अझै न्यून

    नेपालको संविधानले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । स्थानीय, प्रदेश र सङ्घीय तहमा आरक्षण तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि छ । तर, व्यावहारिक रूपमा दराई, बोटे, कुसुण्डा र भुजेल समुदायको राजनीतिक उपस्थिति सीमित छ । निर्णय प्रक्रियामा उनीहरूको पहुँच नहुँदा अझै कमजोर देखिएका हुन् ।

    भाषाविज्ञ तथा आदिवासी जनजाति अध्ययनकर्ता बुद्धवीर बहिङले आदिवासी जनजातिलाई एउटै भाँडोमा राखिएको बताउनुभयो । “पहिला त सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय जनसङ्ख्याले नै कम छ । त्यसमाथि पनि आदिवासी जनजातिको टोकरीमा राखिएको छ । कम जनसङ्ख्या भएका आदिवासी जनजातिअन्तर्गतका सीमान्तकृत अल्पसङ्ख्यकको पहुँच पुग्दैन,” उहाँले भन्नुभयो, “सरकारले समावेशीकरण भनिरहँदा गरिबी, शिक्षालगायत विषयले राजनीतिक तथा नेतृत्व लिने स्थानसम्म यी समुदायको पहुँच पुग्दैन । जसले अझैसम्म पनि पछि बस्न बाध्य छन् ।”

    राजनीतिक दलहरूले चुनावका बेला यी समुदायलाई प्राथमिकतामा राखे पनि नीतिनिर्माण र नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व पर्याप्त रूपमा सहभागी गराउन सकेको छैन । उनीहरूको आवश्यकता र कार्यान्वयनमा पनि समस्या देखिएको उहाँको भनाइ छ ।

    भाषा र संस्कृति जोगाउने सङ्घर्ष

    आधुनिक सञ्चारमाध्यम, बसाइँसराइ र बाह्य सांस्कृतिक प्रभावका कारण यी समुदायको मौलिक संस्कृति सङ्कटमा परेको छ । आधुनिकीकरण र प्रविधिको विकाससँगै यी समुदायको वास्तविक पहिचानका रूपमा रहेको भाषा र संस्कृति लोप हुने अवस्थामा रहेको भाषाविज्ञ तथा अध्ययनकर्ता बहिङले बताउनुभयो । “यी समुदायले आफैंले पनि चासो दिनुपर्ने हुन्छ । तर, यतिले मात्रै पुग्दैन”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले यी समुदायलाई अमूल्य गहनाका रूपमा लिएर संरक्षण गर्ने प्रयत्न गर्दैन । तबसम्म यी समुदायको न त संरक्षण हुन्छ । न त यिनका भाषा, संस्कृति ।”

    परम्परागत नाच, गीत, बाजागाजा, धार्मिक संस्कार र लोककथा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेका छैनन् । वैवाहिक सम्बन्ध र आधुनिकीकरणले अल्पसङ्ख्यक समुदायको पहिचान गुम्ने अवस्थामा पुगेकोले संरक्षणको प्रयास भइरहेको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

    “नगरपालिकाले यी लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदायको भाषा, कला, सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ । हामीले मात्रै प्राथमिकतामा राखेर उनीहरूको भाषा, संस्कृति संरक्षण हुँदैन”, उहाँले भन्नुभयो, “यी समुदायको अग्रसरताले मुख्य भूमिका खेल्दछ ।”

    कतिपय स्थानमा समुदायले सांस्कृतिक महोत्सव आयोजना गरी आफ्नो पहिचान जोगाउने प्रयास गरिरहेका छन् । तर, आर्थिक स्रोतको अभावले यस्ता प्रयास निरन्तर हुन सकेका छैनन् ।

    राज्यका प्रयास

    नेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय समावेशी आयोग तथा विभिन्न मन्त्रालयमार्फत सीमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यी समुदायलाई सहयोग पु¥याउने आयोग र प्रतिष्ठान खारेजीमा पर्दा अब यस समुदायको उत्थान हुने कसरी भन्ने पनि प्रश्न उब्जिएको छ । गण्डकी प्रदेशले सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको क्षमता विकास, आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिमका साथै उद्यमशीलतातर्फ उन्मुख बनाउने कार्यमा अग्रसर भएको छ ।

    गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास कार्यालय तनहुँमार्फत अल्पसङ्ख्यक सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई उद्यमशील बनाउनका लागि साबुन, हार्पिक, फिनेल बनाउने तालिम प्रदान गरिएको एकीकृत विकास कार्यालय तनहुँका सहायक प्रशासकीय अधिकृत गुरु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममार्फत यी समुदायका महिलालाई उद्यमशील बनाउन प्रोत्साहन गरिएको हो ।

    गण्डकी प्रदेश सरकारले यी समुदायलाई आत्मनिर्भर, उद्यमशील, संस्कृतिमार्फत पर्यटनलाई जोडेर आयआर्जन वृद्धि गर्दै जीविकोपार्जनमा सहज बनाउने योजना लिएर अगाडि बढेको पाइन्छ । तनहुँमा जस्तै यी समुदायको बसोबास रहेका क्षेत्रमा यी समुदायको संरक्षण, प्रवद्र्धन र क्षमता विकासका साथै जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यमा सरकारबाट बजेट विनियोजन हुँदै आएको छ । जसले यी समुदायलाई अभिभावकको संरक्षणमा भएको जस्तो आभास गराउन मद्दत पुगेको बताउँछन् ।

    छात्रवृत्ति, सीप विकास तालिम, भाषा संरक्षण, सांस्कृतिक प्रवद्र्धन तथा आयआर्जन कार्यक्रम सञ्चालन गरिए पनि ती कार्यक्रमको प्रभाव अझै अपेक्षाकृत नदेखिएको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय स्तरमै लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “दरै, बोटे, कुसुन्डा र भुजेल समुदायको भविष्य सुरक्षित गर्न भाषा संरक्षण, सांस्कृतिक पुनर्जागरण, गुणस्तरीय शिक्षा, सीप विकास र आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिनुपर्नेछ ।”

    मातृभाषामा शिक्षा, स्थानीय इतिहासको दस्तावेजीकरण, सांस्कृतिक केन्द्र स्थापना र परम्परागत ज्ञानको संरक्षण गर्न सके यी समुदायको पहिचान जोगाउन सहयोग पुग्ने निश्चित छ । कृषि, पर्यटन, हस्तकला र प्राकृतिक स्रोतमा आधारित आयआर्जन कार्यक्रममार्फत यी समुदायको आर्र्थिक अवस्था उकास्न सकिन्छ ।

  • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।


    राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।


    शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन् ।


    प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय छन् । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
    यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगार्इंले जानकारी दिए । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रुपमा चिनिन्छन् ।


    उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए । उनले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उहाँको योगदान उल्लेखनीय थियो ।


    ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए । वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सोही कारण उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन् ।


    प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ । ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छिन् ।


    उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन् । उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी छिन् ।

  • इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

    इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

    काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

    विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    काठमाडौँ, १० असारः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे ।

    खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

    जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ । विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

  • लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    काठमाडौँ, १० असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, कोशी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

  • कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

    कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

    नयाँदिल्ली, ९ असार (रासस–सिन्ह्वा) । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी) मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतार स्थित भारतीय दूतावासले बताएको छ । उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ ।

    मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भईरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ । गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन् ।

  • रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

    रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

    चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए । यससँगै उनी निर्वाचित भएका छन् ।

  • ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

    ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

    ललितपुर, ९ असारः ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।

    महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडानकार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७।९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।

    ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले रु १० करोड तथा नेपाल विद्युत् प्राधिकरणले रु तीन करोड सहयोग गरेको छ । यसरी कुल रु १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको हो ।

    नगरप्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, आठ मिटर अग्ला १९५, सात मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ ।

    महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७।९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ ।महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ ।

    नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

  • सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

    सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

    इनरुवा (सुनसरी), ९ असार स् बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।


    सोही मोटर साइकलको पछाडि सवार उहाँको श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङहोम मै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए ।

    ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय डा राजेन्द्र चौधरी सुनसरीका प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

    उम्मेद्वार बिरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।


    बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

  • धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

    धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार

    रासस
    काठमाडौँ, ९ असार । देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ५५ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

    केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा अपलोड नगरेका कारण सङ्ख्या कम देखिएको छ । काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा उपलब्ध भइसकेको छैन ।

    पोखरा महानगरपालिकाले रु सात अर्ब १५ करोड बराबरको बजेट सार्वजनिक गरिसकेको छ । भरतपुर महानगरपालिकाले रु पाँच अर्ब ५१ करोड बराबरको बजेट ल्याएको छ । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आव २०८३र८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख बराबरको बजेट सार्वजनिक गरिसकेको छ । ललितपुर, विराटनगर महानगरपालिकाले बजेटको अन्तिम तयारी गरिसकेका छन् ।

    मन्त्रालयको पोर्टलमा उपलब्ध विवरणअनुसार कोशी प्रदेशका चार, मधेसका १४, बागमतीका १० स्थानीय तहले आगामी आवको बजेट प्रस्तुत गरेका छन् । गण्डकीका १०, लुम्बिनीका छ, कर्णालीका चार र सुदूरपश्चिमका छ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । बुधबार धेरैजसो स्थानीय तहले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छन् ।

    संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असारको पहिलो साता वा १० गते बजेट प्रस्तुत गर्ने गरेका छन् । देशभर छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० गाउँपालिका छन् । आजसम्मको विवरणअनुसार सात दशमलव तीन प्रतिशत स्थानीय तहले मात्रै बजेट पेस गरेका छन् । बुधबार धेरै स्थानीय तहले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको बुझिएको छ ।

    सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार, स्थानीय तहलाई रु ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनेछ । सङ्घीय सरकार आयोजना कार्यान्वयनका लागि स्थानीय तहमा रु दुई खर्ब छ अर्ब आठ करोड सशर्त अनुदान उपलब्ध गराइनेछ ।

    पूर्वाधार आयोजना कार्यान्वयन गर्न रु आठ अर्ब ९३ करोड समपूरक अनुदान उपलब्ध गराइनेछ । रु नौ अर्ब बराबरको विशेष अनुदान उपलब्ध गराइने घोषणा सङ्घीय सरकारको बजेट वक्तव्यमा उल्लेख छ । राजस्व बाँडफाँड र रोयल्टीसमेत उपलब्ध हुनेछ ।

  • एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    काठमाडौँ, ९ असार । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।


    झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ । हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

    कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुुलो बनाइएको डा दाहालले बताउनुभयो । पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो । झापा, मोरग, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ ।

    सावधानी अपनाउन आग्रह

    उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको विभागमा महानिर्देशक डा दाहालले जानकारी दिए ।


    फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ । यस्तै कागलगायत जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरि थुनेर पन्छीपालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ ।

  • एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

    काठमाडौँ, ९ असारः विशेष अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    बुर्गेनस्टक, स्विट्जरल्यान्ड, ९ असार (रासस–एएफपी) । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताउनुभएको छ। “हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,” बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भन्नुभयो । यो वार्ता आइतबार सुरु भएको थियो र राति अबेरसम्म चलेको थियो।

    उहाँले भन्नुभयो, “मध्यपूर्वको शान्तिका लागि अन्तिम सम्झौता एउटा पूर्ण संरचना हो भने हामीले स्वीट्जरल्याण्डमा भइरहेको वार्ताबाट यसका लागि जग बसालेका छौँ । राम्रो ठाउँमा पुग्न सफल आधार तयार पारेका छौँ।” “हामी सबैले कति काम भयो भन्ने कुराको महत्व बुझ्नु आवश्यक छ, तर इमानदारीपूर्वक भन्नुपर्दा अझै धेरै काम बाँकी छ । हामीले आणविक वार्ता, आर्थिक वार्तामा प्रगति गरिरहेका छौँ, जलमार्गहरूबाट विस्फोटक पदार्थ हटाउने काम गरिरहेका छौँ र त्यहाँ यातायातको प्रवाह फेरि बढोस् भन्ने सुनिश्चित गरिरहेका छौँ।”

    “धेरै प्रगति भएको छ तर अझै केही काम गर्न बाँकी छ । हामी ठ्याक्कै त्यही गर्न प्रतिबद्ध छौँ ।” उहाँले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरु मार्ग ‘खुला रहेको’ बताउनुभयो र विगतमा रोकिएको लाखौँ ब्यारेल कच्चा तेल र प्राकृतिक ग्यासको ढुवानी अहिले भइरहेको उल्लेख गर्नुभयो ।

    पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा यो अमेरिका–इरान वार्ता भएको हो। भान्सले पत्रकार सम्मेलनपछि अमेरिका फर्किने बताउनुभयो । यसैबीच, ‘प्राविधिक स्तरमा’ छलफलहरू आगामी दिन र हप्ताहरूमा बुर्गेनस्टकमै जारी रहने उहाँले बताउनुभयो ।

    यदि मध्यपूर्व युद्ध समाप्त गर्नका लागि गरिने कुनै सम्झौताअन्तर्गत इरानी कोषहरू कहिल्यै फुकुवा भएमा पनि वाशिङ्टनले त्यस पैसाले आतङ्कवादलाई वित्तीय सहयोग नपुग्ने सुनिश्चित गर्न सक्ने उपराष्ट्रपति भान्सले जोड दिनुभयो । “यदि हामीले कहिले इरानी “सम्पत्तिहरू फुकुवा गरे पनि, हामी सुनिश्चित गर्न सक्छौँ कि इरानी पैसा आतङ्कवादलाई कोष दिन नभई इरानका जनतालाई सहयोगका लागि जानेछ,” बुर्गेनस्टकमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भन्नुभयो ।

    उहाँले स्विट्जरल्यान्डको उक्त रिसोर्टमा भएको वार्ताले यो सुनिश्चित गरेको बताउनुभयो । “यदि इरानी रोक्का सम्पत्तिहरू कहिल्यै फुकुवा भए भने त्यो कोष अमेरिकी किसानहरूलाई धनी बनाउन र इरानका जनतालाई खाना खुवाउन जाने छ ।”

  • इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    बर्गेनस्टक, ९ असार (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ । दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।

    पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ । बाँकी प्राविधिक विषयमा यसै साता बर्गेनस्टकमा थप छलफल हुने जनाइएको छ । वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नुभएको छ ।

    त्यसैगरी, ‘स्टे«ट हफ हर्मुज’ हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बच्न दुवै पक्षले विशेष ‘सञ्चार लाइन’ स्थापना गरेका छन् । यो व्यवस्था प्रारम्भिक समझदारीपत्रमा उल्लेख गरिएको ६० दिने अवधिभर लागू रहनेछ ।

    इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी प्रतिबन्ध हटाइएको, केही रोक्का सम्पत्ति फुकुवा गरिएको र पुनर्निर्माण तथा विकास कार्यक्रम सुरु गरिएको दाबी गर्नुभएको छ । यद्यपि पाकिस्तान–कतारको संयुक्त विज्ञप्तिमा इरानी सम्पत्ति फुकुवासम्बन्धी कुनै उल्लेख गरिएको छैन ।

    यसअघि हस्ताक्षर भएको समझदारीपत्रमा अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने तथा रोक्का वा प्रतिबन्धित कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख छ । यद्यपि अराघचीको दाबीबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    वार्ताको सफलतासँगै पाकिस्तान र कतारले मध्यस्थकर्ताका रूपमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरेका छन् । संयुक्त विज्ञप्तिमा दुवै देशले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • युद्ध अन्त्य वार्तामा प्रगति

    युद्ध अन्त्य वार्तामा प्रगति

    बुर्गेन्स्टक, ९ असार (रासस–एएफपी) । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् । स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन् । उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ । साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ ।

    लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डि–कन्फ्लिक्सन सेल’ पनि गठन गरिएको छ । प्राविधिक वार्ता बाँकी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलले आइतबार औपचारिक वार्ता सुरु गरेका थिए । गत साता भएको प्रारम्भिक सहमतिअनुसार दुई महिनासम्म वार्ता प्रक्रिया अघि बढ्नेछ ।

    फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलघाँटीको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो र त्यसको प्रत्युत्तरमा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको थियो ।

    लामो समयसम्म विभिन्न प्रयास असफल भएपछि अमेरिका र इरानले अन्ततः युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीमा इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । यद्यपि त्यसपछि पनि लेबनानमा पटक–पटक झडप भइरहेका छन् ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी र कतारी मध्यस्थताको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण प्रगति भएको बताउनुभएको छ । उहाँले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, नाकाबन्दी हटाइएको, केही रोकिएका सम्पत्ति फुकुवा गरिएको तथा इरानको पुनर्निर्माण र विकासका लागि योजना सुरु गरिएको उल्लेख गर्नुभयो ।

    वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समय वार्तास्थलबाट बाहिरिएको थियो ।

    ट्रम्पले इरानले लेबनानमा आफ्ना समर्थक समूहहरूलाई रोक्न नसके अमेरिकाले कारबाही गर्न सक्ने चेतावनी दिनुभएको थियो । त्यसको जवाफमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आफ्ना सशस्त्र बल कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो ।

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

    आइतबार साँझसम्म दक्षिण लेबनानमा नयाँ इजरायली आक्रमण वा ठूलो सैन्य भिडन्तको समाचार आएको छैन । केही स्थानीय बासिन्दा सावधानीपूर्वक आफ्नो घर फर्किन थालेका छन् । यद्यपि इजरायल–हिजबुल्लाहबीचको द्वन्द्वले शान्ति प्रयासलाई पटक–पटक चुनौती दिँदै आएको छ ।

    गत शुक्रबार लेबनानमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले गरेको आक्रमणका कारण तय गरिएको अमेरिका–इरान वार्ता समेत केही समयका लागि स्थगित भएको थियो ।

    इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाह गम्भीर रूपमा कमजोर बनेको दाबी गर्नुभयो । उहाँका अनुसार हिजबुल्लाहले ठूलो क्षति व्यहोरेको छ र त्यसको पुनर्गठन रोक्न इजरायल तयार छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँको द्वन्द्वमा हालसम्म चार हजार एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा भएको वार्तालाई ऐतिहासिक बैठकको संज्ञा दिँदै दुवै पक्षले मिलेर मध्यपूर्वको भविष्य परिवर्तन गर्न सक्ने सम्भावनाबारे आशावाद व्यक्त गर्नुभएको छ । उहाँले अब मुख्य प्रश्न पुरानो द्वन्द्वको बाटोमा फर्किने कि नयाँ सम्बन्ध निर्माण गर्ने भन्ने रहेको बताउनुभयो ।

    यद्यपि क्षेत्रभरि सक्रिय इरान समर्थित सशस्त्र समूहहरूबारे वार्तामा ठोस छलफल भएको सङ्केत भने प्राप्त भएको छैन ।

    यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार नत्याग्ने स्पष्ट पार्दै आफ्नो देशले आणविक हतियार निर्माण गर्ने कुनै उद्देश्य नरहेको दोहोर्‍याउनुभएको छ । उहाँले इरानको बम निर्माण गर्ने कुनै योजना नरहेको कुरा लिखित रूपमा समेत दिन सकिने बताउनुभयो ।

  • ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

    ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

    दुबई, ९ असार (रासस–एपी) । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली प्रभावित भएपछि यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत पर्न सक्ने देखिएको छ ।

    रस लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो । युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनःसञ्चालनको काममा जुटिरहेका थिए ।

    कतार एनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो । प्रारम्भिक विवरणमा केही व्यक्तिमात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ । बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

    विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । यद्यपि, उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर पारेको आशङ्का गरिएको छ । इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कडा बनाएपछि कतारले केही समयअघि ग्यास उत्पादन र निर्यात गतिविधि रोकेको थियो । त्यसका कारण आफ्ना अन्तर्राष्ट्रिय ग्राहकसम्म ग्यास आपूर्ति गर्न कठिन भएपछि उत्पादन स्थगित गरिएको थियो । पछिल्लो समय युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अगाडि बढ्दै जाँदा इरानले जलघाँटीमा आफ्नो नियन्त्रण केही खुकुलो पारेपछि कतारले पुनः निर्यात सञ्चालन गर्ने तयारी थालेको थियो ।

    बार्जान ग्यास प्लान्टको दैनिक उत्पादन क्षमता करिब एक अर्ब ४० करोड मानक घनफिट बिक्रीयोग्य ग्यास रहेको थियो । उक्त ग्यास मुख्यतः घरेलु विद्युत् उत्पादन तथा अरब प्रायद्वीपका मरुभूमि क्षेत्रमा सञ्चालन हुने महत्त्वपूर्ण पानी प्रशोधन तथा डिसेलिनेसन केन्द्रहरू सञ्चालन गर्न प्रयोग हुँदै आएको छ । उक्त प्लान्टको अधिकांश स्वामित्व कतारसँग रहेको छ भने अमेरिकी ऊर्जा कम्पनी एक्सोनमोबिलको पनि सानो हिस्सेदारी रहेको छ । घटनापछि कम्पनीसँग प्रतिक्रिया मागिए पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

    यसअघि मार्च महिनामा इरानले प्रहार गरेको एक क्षेप्यास्त्र रस लाफान क्षेत्रमा खसेर ठूलो आगलागी भएको थियो । अधिकारीहरूका अनुसार त्यस घटनाले व्यापक क्षति पुर्‍याएको थियो । त्यही आक्रमणपछि कतारले उक्त क्षेत्रमा उत्पादन गतिविधि रोक्न बाध्य भएको थियो । कतार र इरानले पर्सियन खाडीमा अवस्थित विशाल अपतटीय प्राकृतिक ग्यास क्षेत्र साझा गर्दै आएका छन् । यही प्राकृतिक ग्यास भण्डारले कतारलाई विश्वकै धनी राष्ट्रहरूमध्ये एक बनाएको छ । ऊर्जा आम्दानीकै आधारमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गरेको थियो भने अल जजीरा समाचार सञ्जालको स्थापना तथा विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक मध्यस्थतामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

    हालको विस्फोटले कतारको ऊर्जा उत्पादन, निर्यात क्षमता र विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ । युद्धपछिको पुनःस्थापनाको प्रयास भइरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय अस्थिरताको असर ऊर्जा पूर्वाधारमा अझै कायम रहेको सङ्केत गरेको छ ।

  • चट्याङ लागेर मृत्यु

    चट्याङ लागेर मृत्यु

    सुरुङ्गा (झापा), ९ असारः झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताए ।


    महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिए । उनले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

    कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

    कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ ।

    पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ । आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

  • दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    रासस
    जनकपुरधाम, ९ असारः नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् ।

    सो बस्तीका उर्मिला सदाका लागि खुला स्थानमा शौच गर्नु दैनिक जीवनको बाध्यता बनेको छ । घरमा शौचालय नहुँदा उहाँ राति वा बिहान सबेरै अँध्यारोमा शौच गर्न खेततिर जान्छिन् । “खुला ठाउँमा शौच गर्दा लाज लाग्छ, कतिपय खेतधनीले गालीसमेत गर्छन्”, उनी भन्छिन्, “यो समस्या महिलाका लागि झन् जटिल बनेको छ ।”

    एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् । उक्त वडा २०७५ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो । तर दलित समुदायको यो बस्ती भने सरसफाइ सुविधाको पहुँचबाट टाढै रहेको छ ।

    स्थानीय शोभेन्द्र सदाका अनुसार बस्तीमा करिब ३७० जनाको बसोबास छ । वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासमेत खुला स्थानमै शौच गर्न बाध्य छन् । कतिपय परिवारसँग शौचालय निर्माणका लागि आवश्यक जग्गा छैन भने कतिपयले आर्थिक अभावका कारण निर्माण गर्न नसकेको स्थानीय परमदेवी सदाको भनाइ छ । केहीले भने सरकारी सहयोगको आशामा शौचालय निर्माण नगरेको उनी बताउँछिन् ।
    परमदेवीका अनुसार महिला राति पुरुष सुतेपछि वा बिहान उज्यालो हुनुअघि खेततिर जान बाध्य छन् । “खुला ठाउँमा बस्दा सर्प तथा विषालु किराको डर हुन्छ, कसैले देख्ला कि भन्ने चिन्ता पनि उत्तिकै हुन्छ”, उनी भन्छिन्, “वर्षायाममा खेत डुबान हुँदा समस्या अझ गम्भीर बन्ने गर्छ ।”

    उक्त बस्तीका अधिकांश परिवार सुकुमवासी छन् । उहाँहरूसँग न पर्याप्त जग्गा छ, न शौचालय निर्माण गर्न आवश्यक आर्थिक स्रोत नै । बसोबास गरिरहेको सानो घरबाहेक अन्य जमिन नभएकाले ती बस्तीका स्थानीय अरुको खेतबारीमा निर्भर हुनुपरेको छ । यसले सरसफाइ मात्र होइन, मानव मर्यादा र सुरक्षासँग सम्बन्धित प्रश्न उठाएको स्थानीय रामदयाल सदाको भनाइ छ ।

    रामदयालका अनुसार खुला दिसापिसावका कारण बस्ती वरपरको वातावरण फोहर बन्दै गएको छ । “शौचालय अभावका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको छ”, उनी भन्छन्, “सरसफाइको कमीले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।”

    हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार शौचालयविहीन छन् । धनुषाको सबैला नगरपालिका, विदेह नगरपालिका, मिथिला विहारी नगरपालिका तथा क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहका विपन्न बस्तीमा अझै शौचालयको समस्या रहेको उनको भनाइ छ ।

    नेपाललाई २०७५ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यसबेला दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेको दाबी गरिएको थियो । तर पचहर्वा मुसहर बस्तीको यथार्थले घोषणाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । सरसफाइ अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भए पनि विपन्न, दलित र सुकुमवासी समुदायसम्म आधारभूत सुविधा पुग्न नसक्नु चुनौतीका रूपमा देखिएको सहिदनगर नगरपालिकाका स्थानीय युवा कमलेश यादव बताउँछन् । विपन्न दलित समुदायको आधारभूत सरसफाइको अधिकार सुनिश्चित नभएसम्म खुला दिसामुक्त राष्ट्रको उपलब्धि पूर्ण रूपमा सार्थक हुन नसक्ने उनको भनाइ छ ।