Author: Vishwanews.com

  • फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

    फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

    फ्रान्सले कृत्तिम बौद्धिकता र डाटा सेन्टरलगायतका योजनाका लागि ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको विदेशी लगानी गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त योजनाको घोषणा गरेका हुन् । उनले भने, “‘फ्रान्सलाई छान्नुहोस (चुज फ्रान्स)’ को वार्षिक बैठकको एक भागको रूपमा पहिले नै प्रतिबद्धता व्यक्त गरिएको र विगत आठ वर्षमा जम्मा भएको कूल ८७ अर्ब युरो नाघेको छ। यो देशमा प्रविधिको क्षेत्रलाई विकास गर्न प्रयोग गरिनेछ ।”

    म्याक्रोँले भने, “‘चुज फ्रान्स’ को यो संस्करणले फ्रान्सलाई मात्र १५ हजार भन्दा बढी रोजगारीका लागि ९३ अर्ब युरोको उच्च रकम सुनिश्चित गर्न सम्भव बनाउनेछ। यो स्पष्ट रूपमा अहिलेसम्मकै ठूलो कार्यक्रम हो र यो ऐतिहासिक छ।” म्याक्रोँले भने, “यस वर्षको प्रतिबद्धतामा जापानी प्रविधि लगानीकर्ता सफ्टबैङ्कका मासायोसी सनबाट ४५ अर्ब युरो लगानी गर्ने प्रतिवद्धता आएको छ । यसका संस्थापक मासायोशी सोनले उक्त रकम सन् २०३१ सम्ममा उत्तरी फ्रान्सका तथ्याङ्क केन्द्रहरुमा खर्च गरिने बर्ताएका छन् ।”

    “ती कृत्रिम बौद्धिकता, तथ्याङ्क केन्द्र साथै सेमीकन्डक्टरसहित महत्वपूर्ण खनिज, ट्याक्टर, ट्रक, स्टिल र स्वास्थ्य सेवामा पनि खर्च गरिनेछ,” राष्ट्रपतिले भने ।
    राष्ट्रपति म्याक्रोँले भने, “यी परियोजनाहरूले फ्रान्सलाई डाटा केन्द्रहरू उपलब्ध गराउने अग्रणी देश’ र युरोपमा ‘कम्प्युटिङ’ क्षमता बनाउन सम्भव बनाउनेछ, साथै एआईको माध्यमबाट औद्योगिकीकरणको लागि एआई रोबोटको उत्पादनको लागि अग्रगामी आधार निर्माण गर्नेछ ।

    “हामी अमेरिका र चीनलेजस्तै युरोपमा कम्प्युटिङ क्षमतामा रहेको खाडललाई पूर्ण गर्न खोजिरहेका छौँ,” उनले भने । सफ्ट बैङ्कका संस्थापक सोनले फ्रान्सलाई छनौट गर्नुको मुख्य कारण फ्रान्सको आणविक ऊर्जा भएको बताएका छन् । अब हामी ‘बिजुलीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दै अधिक उच्च–मूल्य भएको कृत्तिम बौद्धिकतामा रूपान्तरण र निर्माणपछि निर्यात गर्न सक्छौँ,” उनले भने । “हामीसँग फ्रान्सलाई युरोपको केन्द्र बनाउन सक्ने क्षमता छ,” सोनले भने ।

  • पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

    पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

    पेरिस, १९ जेठ (रासस–एएफपी) । मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैङ्कले आगामी हप्ताहरूमा आफ्नो आर्थिक वृद्धिको पूर्वानुमानलाई कटौती गर्न लागिएको निवर्तमान गभर्नरले सोमबार बताएका छन् । “त्यहाँ धेरै परिदृश्यहरू छन् र पहिलो त्रैमासिकमा अप्रिय आश्चर्यलाई ध्यानमा राख्दै सन् २०२६ को वृद्धि पूर्वानुमान हामीले मार्चमा दिएको तथ्याङ्कबाट संशोधन गरिनेछ,” फ्राँस्वाँ भिलेरोय डे गाल्हाउले रेडियो क्लासिकसँग भने ।


    दोस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन फेरि घट्यो भने देशमा यी अधिकांश परिदृश्यहरूमा पूर्वानुमान सकारात्मक रहनेछ। यद्यपि, उनले देशको सम्भावित मन्दीको बारेमा अहिले नै केही नबोल्ने बताए । उनले तेलको मूल्यमा के हुने हो भनेर मध्यपूर्व द्वन्द्वको अवधिबारे धेरै अनिश्चितताहरू रहेको चेतावनी दिए । “जब तपाईं विवरणहरू हेर्नुहुन्छ, त्यहाँ केवल निर्यातको लागि मात्र होइन, घरेलु उपभोग, घरेलु लगानी र कर्पोरेट लगानीजस्ता घरेलु मागको लागि पनि मन्दी छ,” भिलेरोय डे गाल्हाउले भने ।


    पहिलो त्रैमासिकमा फ्रान्सको कूल ग्रार्हस्थ उत्पादन ०.१ प्रतिशतले खुम्चिएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । यो एक आश्चर्यजनक गिरावटले सरकारको पूर्ण वर्षको ०.९ प्रतिशतको वृद्धिको आधिकारिक पूर्वानुमानमा शङ्का उत्पन्न गरेको छ। गत मे महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले पहिलेको अनुमानलाई संशोधन गर्दै फ्रान्सको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहने पूर्वानुमान गरेको थियो ।

    युरोपेली केन्द्रीय बैङ्कको दर–निर्धारण गभर्निङ काउन्सिलका सदस्य भिलेरोय डे गाल्हाउले फेब्रुअरीमा जूनको अन्त्यसम्म आफ्नो पद छोड्ने घोषणा गरेका थिए । उनको यो निर्णय कार्यकाल समाप्त हुनुभन्दा १८ महिना अघि आएको हो । उनको स्थानमा राष्ट्रपति इमानुएल माक्रोँका पूर्व ‘चिफ अफ स्टाफ’ इम्यानुएल मौलिनलाई नियुक्त गरिएको छ, यो कदम आलोचकहरूले आगामी मे महिनामा म्याक्रोँको कार्यकाल समाप्त हुनुअघि सहयोगीहरूलाई शीर्ष पदमा स्थापित गर्ने कदमको एक हिस्सा भएको बताएका छन्।

  • नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    लागोस, १९ जेठ (रासस–एएफपी) । मे २०२६ मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए।

    नाइजेरियामा कोको हराम र अन्य केही अतिवादी मुस्लीम समूहहरूले सरकारलाई आफूविरूद्धको कारबाहीलाई कम गर्न दवाव दिन लामो समयदेखि विद्यालयहरूमा आक्रमण गर्ने र विद्यार्थीसहित शिक्षक तथा कर्मचारीलाई अपहरण गर्ने गरेको पाइन्छ । फिरौतीका लागि अपहरण उत्तरी नाइजेरियाका लागि निरन्तरको प्रमुख समस्या हो तर नाइजेरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्यमध्ये एक ओयोका लागि सामूहिक अपहरण असामान्य घटना हो ।

    अधिकारीहरूका अनुसार यहाँ हालै सात जना शिक्षकहरू र दुई देखि १६ वर्षका २५ देखि ३९ जना बालबालिकाहरू अपहरण भएका छन्। उनीहरुको खोजी कार्य जारी छ । एनयुटीले ओयो राज्यका प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकहरूलाई सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि विद्यालयमा काम बहिस्कार (हडताल) गर्न आग्रह गरेको छ । युनियनले भनेको छ, “अपहरणकर्ताहरूले हाम्रा सहकर्मी र शिक्षार्थीहरूलाई उनीहरूको समयानुकूल उद्धार र सुरक्षित रिहाइको कुनै स्पष्ट सङ्केत बिना निरन्तर हिरासतमा राखेको’ विरोधमा हडताल गरिएको हो ।”

    यो अवस्थाले शिक्षकहरूमा डर र निराशा सिर्जना गरेको छ, अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन निरुत्साहित गरेको छ र राज्यका सबै समुदायहरूमा त्रास र तनाव निम्त्याएको छ। शिक्षक युनियनले सरकारलाई ‘अपहरणकारीहरूलाई सुरक्षित रूपमा र कुनै ढिलाइ नगरी फिर्ता ल्याउने रणनीतिहरू तीव्र पार्न’ आग्रह गरेको छ र शिक्षकहरूलाई घरमै बस्न र ‘निर्देशन पालना गर्न’ सल्लाह दिएको छ।

    बन्दुकधारीहरूले यावोता समुदायमा रहेको ‘ब्याप्टिस्ट’ नर्सरी र प्राइमरी र नजिकैको एसिलेका दुई अन्य विद्यालयहरूमा एकैसाथ छापा मारी विद्यार्थी, शिषक तथा कर्मचारीहरूलाई अपहरण गरेको थियो । नाइजेरियाको प्रहरीले उक्त घटनाहरूलाई ‘समन्वित आक्रमण’ भनेको छ। ‘क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया’ले ३९ जना बालबालिका र सात शिक्षकलाई विद्यालयबाट अपहरण गरिएको जनाएको छ भने राज्यका गभर्नरले २५ जना विद्यार्थी र सात शिक्षकलाई पक्राउ गरिएको बताएका छन् ।

    नाइजेरियाली सेनाले अमेरिकी सेनासँग मिलेर देशको उत्तरी क्षेत्रमा जिहादीविरुद्ध अभियान बढाएपछि यसले केही समूहलाई दक्षिणतर्फ भाग्न बाध्य पारेको छ। आइतवार राष्ट्रपति बोला तिनुबुले ओयो राज्यमा विद्रोहीलाई लक्षित गरी एक हजार वनपाले भर्ती गरिरहेको र उनीहरूले त्यहाँ सरकारका मन्त्री र राष्ट्रिय प्रहरी महानिरीक्षक सम्मिलित ‘उच्च–स्तरीय’ प्रतिनिधिमण्डल पठाउन लागेको बताएका छन् ।

  • अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    तेहरान, १९ जेठ (रासस–एएफपी) । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।

    इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ। इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताएका छन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताए ।

    यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताए । इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेको थिएन ।

    बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए । इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ ।

    आइतवार इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट रिज कब्जा गरेको दाबी गरेको छ जसमा मध्ययुगीन ब्यूफोर्ट महल इजरायलको नियन्त्रणमा गएको छ । यो इजरायलले लेबनानसँग युद्धविराम पछि कायम गरेको ‘सुरक्षा घेरा’ भन्दा बाहिरको क्षेत्र हो । दुई दशकभन्दा बढी समयपछि लेबनानमा इजरायलको यो सबैभन्दा भित्री भागमा भएको आक्रमण हो । यस कदमलाई अरब जगतका साथै फ्रान्स, जर्मनी र बेलायतले निन्दा गरेका छन् ।

    यसअघि सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका थिए । काट्जले पछि दक्षिणी लेबनानको लितानी नदीको क्षेत्रलाई सैन्य नियन्त्रित क्षेत्रमा परिणत गर्ने र हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा आक्रमण जारी राख्ने वाचा गरेका थिए ।

  • मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

    वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उनलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गरे ।

    “हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ”, उनले भने । नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

    पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्न भनेको थियो ।

  • बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

    सिद्धार्थनगर (भैरहवा), १९ जेठः वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् ।

    निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडक अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल–नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् ।

    सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा सुधार देखिएको छ ।

    विसं २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर हाल काम सम्पन्नतर्फउन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् । आयोजना पूरा भएपछि बुटवल–नारायणगढ सडक खण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।

  • हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

    हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

    काठमाडौँ, १९ जेठः नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

    नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।

    हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए ।

    उनले काठमाडौँ–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ”, उपाध्यक्ष श्रेष्ठले भने ।

    चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।

  • तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

    कर्णाली, १९ जेठः सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस्थित ‘शिव ईम्पोरिय’ पसलबाट रु तीन करोड बराबरका सुनचाँदीका गहनासहित अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।


    उनका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रुपैयाँ दुई लाख १९ हजार ५००, विभिन्न दरका भारतीय रुपैयाँ आठ लाख ११ हजार ९००, नगद रुपैयाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा (पोका) र डिब्बा गरी १८५ थान अनुमानित रु तीन करोड बराबरको सुनचाँदीका गरगहना बरामद गरिएको हो । पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • विकासले फेरिँदै नगरकोटको मुहार

    विकासले फेरिँदै नगरकोटको मुहार

    भक्तपुर, १९ जेठः चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ । नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन् ।

    चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय अगाडिको खुला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीले नगरकोटको विकासले फड्को मारेको देखेर खुसी व्यक्त गरेका छन् ।

    कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले नगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारको वार्षिक रु २० करोडभन्दा बढीको लगानीबाट नगरकोटको मुहार फेरिएको बताए । उनले भने, “विगत चार वर्षमा नगरकोटले मुहार फेरेको छ, ठेकेदारले अलपत्र पारेको भक्तपुर नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो, नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना भयो, यसक्रममा चाँगुनारायण नगरपालिकासँगै नगरकोटसँग छोएको काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्करापुर नगरपालिकाले नगरकोट जोड्ने सडक कालोपत्र गरे, पर्यटकको आगमन ह्वात्तै बढ्यो, नगरकोटवासीमा खुसी छायो ।”

    खानेपानीको ट्याङ्की निर्माण गरि घरघरमा धारो वितरण, बतासेडाँडामा बुद्ध मूर्तिदेखि शालिक, विभिन्न पर्यटकीय संरचना निर्माण, नगरकोट बसपार्कदेखि होटलमा जाने सडकको स्तरोन्नति, स्वास्थ्य, शिक्षाको पहुँचमा वृद्धि, सरसफाइ अभियान, शुक्रबारे हाटबजार, पर्यटकको सुरक्षा यहाँको विकासको गति भएको वडाध्यक्ष लामाले बताए । नगरकोटमा तामाङ सङ्ग्रहालय बनाउने योजनालाई उपयुक्त विकल्पको खोजी भइरहेको, यहाँ कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउँदै नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरिरहेको उनले बताए ।


    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायत जनप्रतिनिधिले नगरकोटको विकास देखेर जनप्रतिनिधिको कार्यप्रति खोट लाउने ठाउँ नभएको र सन्तुष्ट रहेको बताएका थिए । कार्यक्रममा वडासचिव राजेन्द्र गणेशले वडामा चालु आवमा यस वडाबाट चालु आव रु एक करोड ४७ लाख विभिन्न शीर्षकमा रावस्व सङ्कलन गरेको बताए ।

    उनले १०० योजना स्वीकृत भएकामा हालसम्म ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रक्रियामा रहेको १०१ वटा घटना दर्ता गराइएको, चालु आवमा ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पेशल आचार्यले नगरकोटको विकासले यहाँका बासिन्दाको आयस्तरले फड्को मारेको र रोजगार सृजना भएको बताए ।

  • वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

    काठमाडौँ, १९ जेठः विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री पुगेको छ ।

    पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ । देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    बुधबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।

  • कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

    धरान (सुनसरी), १९ जेठः कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन आज सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

    प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताबाट राष्ट्रियस्तरका लागि छनोट भएका ११५ खेलाडी तथा अफिसियललाई आज साँझ बिदाइ गरी काठमाडौँ पठाइएको छ । बिदाइ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई अनुशासन, मेहनत र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।


    त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही जेठ २० गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सातै प्रदेशका कुल ६८६ खेलाडीको सहभागिता रहने (राखेप)ले जनाएको छ ।

    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएका छन् । ती खेलमा कुल ६६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    राखेपका सदस्य सचिवका रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुने छन् ।

  • वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

    वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

    काठमाडौँ, १८ जेठः वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो ।


    विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ । संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ ।

    विभागले विज्ञप्तीमार्फत कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरेको हुनुपर्नेलगायत शर्त अनिवार्य गरेको हो ।


    अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ । विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले आवश्यक सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

  • अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

    अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

    काठमाडौँ, १८ जेठः संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिएकी छिन् । आज यहाँ सञ्चारकर्मीसँग भएको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।


    गत वर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उनले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गरिन् । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उनले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गरिन् ।
    उनले नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि तथा साझा समृद्धिलाई सहयोग गर्न नेपाल सरकार र नेपाली जनतासँगको साझेदारी अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको बताइन् । परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाभेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारलगायत विषयमा आफूले छलफल गरेको उनले जानकारी दिइन् ।

    आइतबार यहाँ भएको ‘एसेन्ट समिट’ मा मुख्य वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गर्न पाउँदा आफ्ना लागि अवसरमा भएको बताउँदै उनले उक्त कार्यक्रममा नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरूले हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे छलफल भएको जानकारी दिइन् । उपविदेशमन्त्री रोजर्सले पाटन दरबार क्षेत्रको भ्रमण गरेर त्यहाँ रहेका सम्पदाको अभिरुचिपूर्वक अवलोकन पनि गरेकी थिइन् ।

  • मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

    मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

    दमौली ९तनहुँ०, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का रु एक अर्ब २१ करोडमा दिइएको हो ।

    मन्त्री लम्सालले आजै मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

  • कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    काठमाडौँ, १८ जेठः नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

  • पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, १८ जेठः विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ करोड ७८ लाख ६८ हजार ९५ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

  • न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

    काठमाडौँ, १८ जेठः प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।


    प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि तयार गरिएको सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रति जनताको विश्वास र आस्था कायम राख्नुपर्ने उनको जोड छ ।

    निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापन सुधार गर्ने, विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन भनिएको छ ।

    गुनासो सुनुवाइका प्रभावकारी संयन्त्र सञ्चालन गर्ने, नागरिक बडापत्र, सूचना कक्ष तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अनलाइन बहस, ‘भिडियो कन्फरेन्सिङ’ तथा ‘लाइभ स्ट्रिमिङ’को उपयोग विस्तार गर्ने, स्वचालित पेशी–तारेख प्रणाली र पारदर्शितालाई संस्थागत गर्ने तथा फैसला लेखन र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

    प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने, मेलमिलाप तथा विवाद समाधानका वैकल्पिक उपायलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, बयान, बकपत्र र प्रमाण परीक्षणमा न्यायाधीशको निगरानी सुनिश्चित गर्ने, वित्तीय अनुशासन कायम गर्ने, बजेटको प्राथमिकताका आधारमा पारदर्शी खर्च सुनिश्चित गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

  • नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

    नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

    काठमाडौँ, १८ जेठः सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिए ।


    भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए । हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे ।


    त्यस अवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो । स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौँदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ । आजै सो प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्नका लागि एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र प्रस्तुतथ गरेको थियो ।

  • भिरबाट लडेर दुई जनाको मृत्यु

    भिरबाट लडेर दुई जनाको मृत्यु

    बाजुरा, १८ जेठः जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

    यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

  • शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो ।

    मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो । सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो । त्यसक्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

    पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

    कास्की, १८ जेठः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदातालगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिए । मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । “काममा केही समस्या भए जानकारी गराउनु, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्दछ । ढिला सुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रमै काम गर्नुहोला ।”

    यसअघि मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड आयोजना प्रमुख कृष्णबहादुर कुँवरले निर्माणाधीन पुलको हालसम्म भौतिक र वित्तीय प्रगति तथा आयोजनामा देखिएका समस्याबारे उनलाई जानकारी गराएका थिए । मन्त्री लम्सालसँगै अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल सहभागी थिए ।

    सेती नदीको उत्तरतर्फका केही जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको र यसको क्षतिपूर्ति दिनुपर्नेलगायत विषयमा सहमति जुटाउन लामो समय लागेकाले आयोजना केही ढिलाइ भएको प्रमुख कुँवरले जानकारी गराए ।


    क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले अब काममा ढिलाइ नहुने जानकारी दिँदै आयोजना प्रमुख कुँवरले हालसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ५५ प्रतिशत भएको जानकारी गराए । विसं २०७९ साउन २६ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको लागत रु एक अर्ब सात करोड छ ।

  • छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    झापा, १८ जेठः मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।


    टाउकामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न गौतमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी, दमक नगरपालिका-१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काका अनुसार शनिबार दिउँसो पुलमुनि खोलामा बगिरहेको अवस्थामा महिलाको शव बोराभित्र भेटिएको थियो ।

    निज मृत व्यक्ति दमक नगरपालिका–८ वसन्त टोलकी २१ वर्षीया रमा तिवारी रहेको आइतबार सनाखत भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । तिवारी गत बुधबार राति ९ः३० बजेतिर घरबाट आफूखुसी हिँडेपछि त्यसयता सम्पर्कविहीन भएकी मृतककी आमा मुना तिवारीलाई उद्द्धृत गर्दै प्रहरीले जनाएको छ ।

    मेचीनगर र विर्तामोडमा दुई व्यक्ति मृतावस्थामा फेला परेका छन् । मेचीनगर–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणतिर अन्दाजी ३५ वर्षीय एक पुरुष मृतावस्थामा शुक्रबार फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, इलामको फाकफोक गाउँपालिका–३ निवासी ४५ वर्षीय राज थेगिमलाई शनिबार विर्तामोड नगरपालिका-३ स्थित सडकमा लडेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । अत्यधिक मदिरा सेवन गर्दै आएका थेगिमको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हुनसक्ने प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

  • संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन

    संसदमा आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौँ, १८ जेठ : प्रतिनिधिसभाको आजको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।


    प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखले जानकारी गराए । प्रतिपक्षले आजपनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।

  • सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

    काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको थियो । साथै नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

    अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् । उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेका उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा गरिन् ।


    उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौती व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन् । लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिका सहयोग गर्न तयार रहेको उनले बताइन् ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए । सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराए ।


    सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न आवश्यक रहेको बताए ।

  • परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    काठमाडौँ, १८ जेठः परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए ।

  • आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

    आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

    कोलम्बो,१८ जेठ (रासस–एएफपी) । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।
    राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढेर ४०७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

    यो मूल्य वृद्धि आईएमएफले श्रीलंकालाई दिइएको २।९ अर्ब डलरको राहत प्याकेजअन्तर्गत ६९५ लाख डलरको अर्को किस्ता जारी गरेको केही दिनपछि आएको हो। सन् २०२३ को सुरुमा सुरु भएको यो कार्यक्रमले आर्थिक संकटमा परेको देशलाई स्थिर बनाउने लक्ष्य राखेको छ। आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् दुवै क्षेत्रमा लागत अनुसार मूल्य समायोजन गर्न दबाब दिँदै आएको छ। सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया अघि बढाउने बताएको छ।


    राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा सेप्टेम्बर महिनासम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख गर्नुभएको छ।
    विश्लेषकहरूका अनुसार फेब्रुअरी २८ पछि मध्यपूर्वमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा असर परेको छ, जसले श्रीलंकाको आयातमा निर्भर अर्थतन्त्रलाई थप दबाबमा पारेको छ। श्रीलंकाले आफ्नो सम्पूर्ण इन्धन आयात गर्छ र विद्युत् उत्पादनका लागि कोइलामा पनि निर्भर छ। सन् २०२२ मा देशले ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट गरेको थियो। त्यसयता आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयास जारी छ।

  • अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ । न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, “ट्रम्पले ‘कडा’ सर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनुभएको छ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन ।

    सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भनेका छन्, “इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ ।” ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन् । उनले भने, “मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरूसँग यस्ता आणविक हतियार हुनेछैनन् । उनीहरू यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ,” उनले शनिबार राति फक्स न्यूजको कार्यक्रममा प्रसारित एक अन्तर्वार्तामा भने ।

    तेहरानले यसअघि ट्रम्पको भनाइमा शङ्का व्यक्त गर्दै आएको छ र दुई पक्षहरू मुख्य विवादका मुद्दाहरूबाट टाढा छन्। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनुअघि रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ । तेहरानले पनि जारी लडाइँको बाबजुद लेबनानलाई कुनै पनि सम्झौतामा समावेश गर्ने कुरालाई जोड दिएको छ । इजरायलले इरान समर्थित हेजबुल्लाहबिरूद्ध अभियान विस्तार गरेपछि बेरुतले उसलाई ‘विनासको नीति’ अबलम्बन गरेको आरोप लगाएको छ ।

    यसअघि सम्झौता नजिकिँदै आएको सङ्केत दिएपछि ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा नयाँ सैन्य कारबाही हसनसक्ने तर हतार नगरिने सङ्केत गरेका थिए ।
    “मलाई कुनै हतार छैन,” ट्रम्पले भने, “यदि हामीले चाहेको कुरा पाएनौँ भने, हामी फरक तरिकाले अन्त्य गर्नेछौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले शनिबार एसियामा भएको रक्षा सम्मेलनमा वासिङ्टन आवश्यक परेको खण्डमा युद्ध पुनः सुरु गर्न ‘आवश्यकताभन्दा बढी सक्षम’ रहेको बताएका थिए ।


    गत अप्रिलमा तेहरान र वासिङ्टनले अस्थायी युद्धविराम गरेपछि र पाकिस्तानको मध्यस्थतामा वार्ता भएपछि इरान र खाडीमा दैनिक आक्रमणहरू रोकिए पनि छिटपुट लडाइँ जारी छ। यसैबीच, इरानको रिभोलुसनरी गार्डले आइतबार इरानको जलक्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ । यसै हप्ताको सुरुवातमा इरानको बन्दर अब्बासस्थित बन्दरगाहमा अमेरिकी सेनाले आक्रमण गरेपछि युद्धविरामपछिको सबैभन्दा खराब द्वन्द्व सुरु भएको थियो ।

    जे होस्, कूटनीतिक नीतिले ट्रम्पलाई एक सम्झौता सुरक्षित गर्न दबाबमा राखेको छ जसले स्ट्रेट अफ हर्मुज वरपरको प्रतिस्पर्धात्मक अमेरिका र इरानको नाकाबन्दी हटाउनेछ, जसले विश्वव्यापी तेल आपूर्तिको लागि महत्त्वपूर्ण मार्गको आवागमन रोकेको छ। ट्रम्पले कुनै पनि सम्झौताअन्तर्गत उक्त जलसन्धि भएर जान सक्ने पानीजहाजमा इरानले कुनै शुल्क नलिने बताएपछि इरानी समाचार एजेन्सी फार्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “त्यस्तो कुनै प्रावधान सम्भावना छैन।” इरानको समाचार संस्था (आइएसएनए) ले सांसद अलिरेजा सलिमीलाई उद्धृत गर्दै नियन्त्रित जलक्षेत्रमा इरानको व्यवस्थापन र सार्वभौमिकता कार्यान्वयन गर्ने योजना छिट्टै संसदमा पेश गरिने बताएको छ ।

  • चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

    चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

    वासिङ्टन, १८ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उनको स्वास्थ्य राम्रो भएको तर उनले तौल घटाउनु उचित हुने सुझाब उनको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ। रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्ने गरेका छन् ।


    उनको निद्रा र हातमा चोटको बारेमा पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफपछि मङ्गलबार वासिङ्टन नजिकैको वाल्टर रीड सैन्य अस्पतालमा ट्रम्पको मेडिकल र दन्त परीक्षणपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो । ह्वाइट हाउसमा प्रकाशित एक जानकारीमा राष्ट्रपति ट्रम्पका निजी चिकित्सक सिन बार्बाबेलाले भनेका छन्, “राष्ट्रपति ट्रम्पको स्वास्थ्य राम्रो छ, उनको हृदय, फोक्सो, न्यूरोलोजिकल र समग्र शारीरिक कार्य तगडा देखिएको छ ।”

    तीन पृष्ठको स्वास्थ्य जानकारीमा ट्रम्पको शारीरिक परीक्षण र निचोड रहेको छ, “पत्रमा बार्बाबेलाले राष्ट्रपति ट्रम्प ‘कमान्डर–इन–चीफ’ र राष्ट्र प्रमुखको सबै कर्तव्यहरू पूरा गर्न पूर्ण रूपमा स्वस्थ छन् । परीक्षणपछि चिकित्सकको परामर्शमा राष्ट्रपति ट्रम्पलाई ‘आहारको बारेमा मार्गदर्शन, कम खुराक लिन, शारीरिक गतिविधिमा वृद्धि र निरन्तर वजन घटाउने सहित रोकथामका लागि’ सुझाब दिइएको थियो । पत्रमा भनिएको छ, “छ फिट तीन इन्च (१९१ सेन्टिमिटर) उचाइ भएका ट्रम्पको तौल २३८ किलोग्राम (१०८ किलोग्राम) छ, जुन गत वर्षको अप्रिलमा उनको अन्तिम पूर्ण वार्षिक मेडिकल परीक्षणका समयभन्दा १४ पाउन्ड (करिब ६.४ किलोग्राम) बढी हो।

    ट्रम्पको मुटुको उमेरको अवस्था उनको मुटुको वास्तविक उमेरभन्दा १४ वर्ष कम उमेरका मानिसको जस्तो स्वस्थ रहेको अनुमान गरिएको छ । ट्रम्पले संज्ञानात्मक मूल्याङ्कनमा ‘३० पूर्णाङ्कमा ३० नै’ अङ्क दिइएको छ। राष्ट्रपति ट्रम्पले दर्जनौँ पटक संज्ञानात्मक परीक्षणको बारेमा बोलेका छन् । जसबारे उनका पूर्ववर्तीहरूले यो नलिएका उनले दाबी गरेका छन् । जुन १४ मा ८० वर्ष पुगेका ट्रम्पले तीनवटा औषधि सेवन गरिरहेका छन् । जसमध्ये दुई कोलेस्ट्रोल नियन्त्रणका लागि र तेस्रो एस्पिरिन मुटु रोकथामका लागि तोकिएको छ ।

    कार्यालयमा फर्किएपछि रिपब्लिकन नेताको प्रायः दाहिने हातमा चोटपटक लागेका जस्तो देखिन्छ, जुन सामान्यतया ‘मेकअप’ले ढाकिएको हुन्छ । हातहरूको पछाडिको परीक्षणमा एउटा घाउ (एक्काइमोसिस) पत्ता लागेको र यो हृदय रोग रोकथामको लागि एस्पिरिनको प्रयोगको कारण भएको हुनसक्ने र यो उहाँले बारम्बार हात मिलाउँदा भएको हुनसक्ने र उक्त घाउ सानो जलनसँग मिल्दोजुल्दो भएको पाइएको छ,” रिपोर्टबारे सार्वजनिक जानकारीमा ट्रम्पको चोटग्रस्त हातको बारेमा भनिएको छ।

    ह्वाइट हाउसका धेरै कार्यक्रमहरूमा राष्ट्रपतिले केही सेकेन्डका लागि आँखा बन्द गरेको पनि देखिएको छ, यद्यपि उहाँले बारम्बार निदाउने गरेको कुरा अस्वीकार गरेका छन् । सन् २०२४ मा पेन्सिल्भेनियाको बटलरमा भएको र्यालीको क्रममा ट्रम्प हत्याको प्रयासको निशाना बनेका राष्ट्रपति ट्रम्पको कानमा हल्का चोट देखिएको छ।

  • फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    पेरिस, १८ जेठ (रासस–एएफपी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्। पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबीच भीड नियन्त्रणका क्रममा झडप भएको थियो ।

    प्रशासनले गत वर्षको बिजयोत्सबपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो । कानून प्रवर्तनलाई लक्षित आतिशबाजीको बढ्दो प्रयोग र झडपलाई प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने, “फ्रान्समा ५७ सुरक्षाकर्मी र २१९ जना बिजयोत्सवमा सहभागी व्यक्ति घाइते भएका छन्भने उनीहरूमध्ये आठ गम्भीर रूपमा घाइते भएका छन् ।”

    पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटनामा एक युवकको मृत्यु भएको घोषणा गरेको छ र राजधानीमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताएको छ । नुनेजले गत वर्ष पिएसजीको च्याम्पियन्स लिग जितको खुसियालीको तुलनामा यो सङ्ख्या ३२ प्रतिशतले बढी भएको बताए ।