Category: कानुनी कुरा

  • कैलालीमा विस्फोट, ५ जना घाइते

    कैलालीमा विस्फोट, ५ जना घाइते

    धनगढी । धनगढी उपमहानगरपालिमा बिहीबार साँझ बम विस्फोट भएको छ । कैलाली शहीद गेट नजिकै एक होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको कैलाली प्रहरीले पुष्टी गरेको छ ।

    विष्फोटमा परी ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

    घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे रहेको प्रहरीले बताएको छ ।

    स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । पाण्डे उक्त होटलका सञ्चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।

    घाइतेको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    कसले र किन विस्फोट गराएको भन्नेबारे केही खुलेको छैन ।

  • सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ ।

    श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ ।

    लक्ष्मी १ असारदेखि वेपत्ता थिइन् । रमेशले डेढ लाख रुपैयाँसहित श्रीमती गायब भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

    प्रहरीले अनुसन्धानका क्रममा श्रीमानतर्फ नै शंका बढाएपछि तथ्यको नजिक पुगेको हो । किनकी उनको डेराबाट प्रहरीले श्रीमतीको मोवाइल, सिक्रिजस्ता घरायसी प्रयोजनका वस्तु फेला पारेको थियो ।

    प्रहरीले रमेशलाई पक्राउ गरी हिरासतमा लिएर केरकोर गरेपछि भने उनले स्वयमःले श्रीमतीको हत्या गरी लास फालेको बयान दिएका हुन् ।

    पोखरा, २२ स्थित कर्कले जंगलमा शव कुहिसकेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । श्रीमान र बहिनीको झांगिदै गरेको प्रेमका सम्बन्धमा लक्ष्मीले पत्ता पाइसकेकी थिइन् ।

    उनले मामा माइजुलाई समेत यसबारे सचेत गराएको प्रहरीले उल्लेख गरेको छ । प्रेममा पागल बनेका यी दुईले भने लक्ष्मीको हत्या गरे आफूहरुको बाटो खुल्ने सपना देखे र जघन्य हत्या गरेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

    रमेशलाई श्रीमतीको हत्या गर्न अनुले उक्साएको प्रहरीको भनाई छ । त्यसपछि पोखरामै मोबाइल पसल सञ्चालन र्ने सञ्जय शर्मासँग मिलेर हत्याको योजना बनाएका थिए ।

    त्यसपछि भारतबाट पैसामा मान्छे मार्ने बोलाएर उसकै जिम्मामा त्यो काम सुम्पने र त्यसवापत पैसा दिने योजना बन्यो ।

    प्रहरीका अनुसार ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने जिम्मा दिइएको थियो ।

    शाहले भारतबाट पैसा लिएर मान्छे मार्ने पेशामा संलग्न ३ जना व्यक्तिलाई पोखरा झिकाएका थिए । त्यसपछि ३० जेठमा कर्कले जंगलमा ती हत्यारालाई लगिसकेपछि जंगलमा जडिबुटी खोज्ने बाहनामा श्रीमतीलाई लगेर हत्या गराएको रहस्यको पर्दाफास प्रहरीले गरेको छ ।

    उनकी श्रीमतीको घाटी रेटेर हत्या भएको प्रहरीले बताएको छ ।

    प्रहरीले लक्ष्मीको हत्यामा संलग्न चार जना अपराधीलाई पक्रेको छ ।

    पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

    भाडामा मान्छे मार्ने भारतीयहरु भने फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।

  • लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

    लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

    काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो ।

    उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले

    काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७ वर्षिय राम कुमार राई र नुवाकोटका २७ वर्षिय प्रितम राई रहेको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुको साथबाट एक थान पिस्तोल र गोलीसमेत बरामद भएको प्रहरीले बताएको छ ।

  • लेविको विषयले कांग्रेसको नियमावली विवादमा

    लेविको विषयले कांग्रेसको नियमावली विवादमा

    काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ ।

    काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् ।

    नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै यसले ल्याउन जोखिमतर्फ सचेत हुन नेताहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

    शुक्रबार बसेको पछिल्लो बैठकमा बोल्ने बहुमत सदस्यले लेविको बिरोध गरिरहेका छन् । तर, सभापति देउवा निकट नेताहरु भने लेवीको बचाउमा छन् ।

    समिति बैठक आइतबार पनि जारी रहनेछन । शुक्रबार १९ जना नेताले आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रिय समिति बैठकमा भातृ संगठनहरुमा नेतृत्वले गर्ने हस्तक्षेपबारे पनि कडा आलोचना भइरहेको छ ।

    अनावश्यक हस्तक्षेपले संगठनहरु बलियो नहुने भन्दै नेताहरुले असन्तुष्टी देखाएका हुन् ।

  • सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

    सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

    काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारको प्रतिवाद गर्न सहकार्य गर्ने निर्णय गरेका छन् ।

    सरकारका पछिल्ला निर्णय, संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्याको ऋंखला बढ्दै गएपछि दई दल सरकारविरुद्ध एक साथ उभिन तयार भएका छन् ।

    दुई दलबीच सहकार्यको वातावरण कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेले पहल गरेका हुन् ।

    दुई दलका दोस्रो तहका नेताबीचको सहमति पछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको संयुक्त बैठकसमेत बसिसकेको छ ।

  • चार प्रहरी एक लाख घुससहित पक्राउ

    चार प्रहरी एक लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ ।

    राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ ।

    घुस लेनदेनको गोप्य सूचना पाएपछि अख्तियारको टोली मिठाई पसलमा पुगेको थियो । तर, पक्राउ पर्ने प्रहरीको नाम भने खुलाइएको छैन ।

    पक्राउ पर्नेमा तीन जना ट्राफिक प्रहरी र एक जनपद प्रहरी रहेका छन् । बीमा रकमको दावि गर्न सवारी दूर्घटनाको प्रमाणित कागजात प्रहरीले बनाउनु पर्छ ।

    उनीहरु सोही कागजात बनाउने क्रममा घुस लेनदेन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

  • फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?

    फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?

    रमेश श्रेष्ठ
    कानुन ब्यबसायी ,न्युयोर्क

    मैले मेरो शरणार्थीको निवेदन स्वीकृति भएको आधारमा आई–४८५ एप्लिकेसन एक वर्षअघि युएससीआईएसमा पेश गरेको थिएँ । साथीहरुको सल्लाहअनुसार आई–४८५ एप्लिकेसनको फी नराखी फी वेभरको फर्म आई–९१२ भरेर पठाएको थिएँ । निवेदन प्राप्त भएको रिसिप्ट र फिङ्गर प्रिन्टको एप्वाइन्टमेन्ट पनि आयो । फिङ्गर प्रिन्ट्स दिएको पनि ९ महिना भइसक्यो अहिलेसम्म ग्रीनकार्ड आएन । इन्क्वायरी गर्दा मेरो निवेदन पेन्डिङ छ भन्ने जबाफ मात्र पाइन्छ । के भएको होला ? जबाफको लागि धेरैधेरै धन्यवाद ।

    – धिरेश यादव, न्यूयोर्क

    युएससीआईएसको दस्तुर वा फि वेभ गरी पाउँ भनी निवेदन दिनका लागि मुख्य कुरा सो निवेदकले सो फि तिर्न नसक्ने अवस्था अथवा ‘इनएबिलिटी टु पे’ भनी देखाउनुपर्ने हुन्छ । सो फि तिर्नका लागि आर्थिक कारणले असमर्थतना देखाउनका लागि विभिन्न आधारहरुमध्येमा कम्तीमा एक आधारका कारण सो वेभर वा माफी पाउनका लागि क्वालिफाइड हुनुपर्ने हुन्छ । ती आधारहरु हुन्– १) फेडरल रुलका आधारमा आवश्यकताअनुरुप पब्लिक बेनिफिट पाउन याग्य भएको वा पाइरहेको, (२) अमेरिकी सरकारले तोकेको पोभर्टी गाइडलाइन्सको हाउसहोल्ड इन्कमभन्दा कम हाउसहोल्ड इनकम भएको, (३) ६५ वा सोभन्दा बढी उमेरको वृद्ध भएको, (४) फेडरल गभर्मेन्ट एजेन्सीले अपाङ्ग हो भनी घोषणा गरिएको, (५) निवेदकको बच्चाहरुको उमेर र संख्या जसले निवेदकसँगै डेरिभेटिभ स्टाटसका लागि माग गरेका छन् । (६) मानवता वा अन्य सोही किसिमको कारण (जस्तै– बिरामी वा पीडित स्पाउस वा चाइल्ड) ।
    यी माथिका कुनै पनि एक आधार रहेको अवस्थामा मात्र युएससीआईएस फीको वेभर वा माफी माग्न सकिन्छ । तपाईंले आई–४८५ एप्लिकेसन र फर्म–९१२ पेश गर्दा अवश्य पनि चाहिने कागजपत्रहरु जसले तपाईंको आर्थिक अवस्था कानूनले डिफाइन गरेजस्तै कमजोर भई आवश्यक दस्तुर तिर्न नसक्ने भनी देखाउनुभएको नै होला । फी वेभरको माग राखेपछि सर्वप्रथम युएससीआईएसले तपाईंको फी वेभरको निवेदन स्वीकृत गर्ने कि अस्वीकृत गर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । फी वेभरको रिक्वेष्टलाई तपार्ईंले पेश गर्नुभएको कागजातहरु जस्तै– ट्याक्स रिर्टन्स आदिलाई छानबिन गरी तपाईंलाई वेभर वा फी माफी गर्नुपर्ने भनी निर्णय गरी वेभरको स्वीकृति गरेपछि मात्र तपाईंको आई–४८५ को एड्जडिकेसन हुनेछ । यदि फि वेभरको रिक्वेष्ट अस्वीकृत भएमा, लाग्नी फी पेश गर्न भनी माग पनि गर्न सक्ने हुन्छ । यी विभिन्न प्रक्रियाहरुद्वारा जानुपर्ने भएकाले गर्दा पनि तपाईंको आई–४८५ एप्लिकेसनको प्रोसेसमा डिले भएको हुन सक्छ । मुख्यगरी इमिग्रेसन बेनिफिटको एप्किलेसनहरुको प्रोसेसिङ केस बाई केस हुने भएकाले कुनै कुनै एप्लिकेसनको प्रोसेसिङमा धेरै समय लाग्ने पनि हुन सक्छ ।

  • भागेका थुनुवा फेरी पक्राउ

    भागेका थुनुवा फेरी पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो ।

    लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ, समशेर माझी र रवीकुमार तिमल्सिना हिरासतबाट भागेका थिए । भागेका मध्ये रुद्रलाल श्रेष्ठ, समशेर माझी पक्राउ परेका हुन् ।

    तिमल्सिना अझै फरार छन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार हिरासतबाटै अभियुक्त भागेपछि छानबिन गर्न टोली गठन गरिएको छ ।

  • सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

    सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

    काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ ।

    अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको थियो । त्यसपछि अन्तरिम आदेशमार्फत विषादी परीक्षण गर्ने निर्णय फिर्ता नलिएर निरन्रता दिन सरकारका नाममा आदेश जारी गरेको हो ।

    अदालतले अब असार ३० गते रीटका वादी र प्रतिवादी दुबैलाई बोलाएर छलफल गर्ने भएको छ । सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी सीमा नाकामा चेकजाँच गर्ने निर्णय गरेको थियो ।

    तर, भारतको दवावमा सरकारले फेरी त्यो निर्णय फिर्ता लियो । त्यसपछि सरकारले परिक्षणको क्षमता नभएका कारण निर्णय फिर्ता लिनु परेको बताएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा सरकारको यस निर्णयको विरोधमा रीट दायर गरेका थिए ।

    खासगरी उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित संवेदनशिल विषय भएका कारण यो निर्णयबाट पछि नहट्न सर्वोच्चले सरकालाई आदेश दिएको हो ।

  • भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

    भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

    भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।

    मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ ।

    यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ ।

    भोजपुर सदरमुकामस्थित हाट बजार लाग्ने क्षेत्रमा बुधबार भएको गोली हानाहानमा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुर प्रहरीले पुष्टी गरेका छ ।

    घटनामा प्रहरी जवान सोम भट्टराई घाइते छन् । सरकारले विप्लव समूहविरुद्ध आक्रामक रवैया अपनाएको छ । प्रहरीले उनीहरुविरुद्ध लिएको आक्रामक नीतिको विरुद्धमा यो समूहले पनि सरकार लक्षित गरी आक्रमण थालेको छ ।

    घटनामा मारिने विप्लव कार्यक्रता निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज भएको बताइएको छ । घटनास्थलबाट प्रहरीले एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद गरेको बताएको छ ।

    प्रहरी जवान राई सादा पोशाकमा रहेको बेला विप्लव समूहको आक्रमणमा परेका प्रहरीको भनाई छ । त्यसपछि गस्तीमा पुगेको प्रहरीले उनीहरुमाथि गोली चलाएको बताईएको छ ।

  • प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे ।

    सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो ।

    यो गैरन्यायिक हत्यामार्फत सरकारले मानवाधिकारको गम्भीर उल्लंघन गरेको सांसदहरुको आरोप थियो ।

    अर्कोतर्फ विप्लव कार्यक्रता विप्लव पौडेललाई पक्राउ गरेपछि प्रहरीले गोली हानी हत्या गरेको भन्दै सांसदहरुले गृहमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

    खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदले गृहमन्त्रीको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सर्लाहीका दुई घटनामा गृहमन्त्रालयबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिन् ।

    सरकारी निकायको  संरक्षणमा क्रसर उद्योगीले अनधिकृत खाल्डा खनेर जोखिम निम्त्याउने र बालकको ज्यान गएपछि त्यसको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको उनको आरोप थियो ।

    राजपा सांसद राजकिशोर यादवले पनि सरकारले तराई क्षेत्रमा मान्छे मारेको भन्दै आलोचना गरेका हुन् । मंगलबारको बैठकमा गृहमन्त्री थापाले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको बताए ।

    गृह मन्त्रीको जवाफमा कांग्रेस र राजपाका सांसदले चित्त बुझाएनन् र निरन्तर विरोध गरिरहे । सांसद भरतकुमार शाहले गृहमन्त्रीको जवाफ सत्य नभएको भन्दै संसदीय समिति गठन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।

    सांसदहरुले गृहमन्त्रीले कर्मचारीको बनिबनाउ उत्तर ल्याएर पढेको भन्दै वास्तविकता लुकाउने षडयन्त्र सरकारले गरिरहेको बताए ।

    गृहमन्त्रको जवाफमा चित्त नबुझेपछि मंगलबार कांग्रेस र राजपाका सांसदले रोष्ट्रम घेर्दै संसद अवरुद्ध पारे ।

  • प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो ।

    विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको विभागले जानकारी दिएको छ ।

    सरकारले नीति तथा कार्यक्रममै विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत नागरिकलाई चालु आव भित्रै परिचयपत्र बाड्ने घोषणा गरेको थियो ।

    विभाग अनुसार सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको थिया
    ।

  • चार राजदूतको नाम अनुमोदन

    चार राजदूतको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो ।

    अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ ।

    सोमबार नै भएको संसदीय सुनुवाईमा राजदूतहरुका विषयमा परेको उजुरीका सम्बन्धमा प्रस्तावित राजदूतहरुले जवाफ दिएका थिए ।

    अष्ट्रेलियाका लागि अनुमोदित नेपाली राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा विदेशमा स्थायी आवासीय अनुमतिपत्र नभएको बताए । समितिमा उनकी पत्नीले अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएको उजुरी परेको थियो ।

    दाहालले भने आफ्नी पत्नीले वर्क परमिट मात्र लिएको र त्यसको म्याद दुई महिनामा सकिने स्पष्टिकरण दिए ।

    कतारका लागि अनुमोदित राजदूत नारदनाथ भारद्वाजले नेपालको पानी कतारको बजारमा बेच्न सकिने सम्भावना रहेको बताए ।

    बंगलादेशका लागि अनुमोदित वंशिधर मिश्रले नेपाल र बंगलादेशबीच विद्युत व्यापार र पर्यटनलाई प्राथमिकतामा दिने बताए ।

  • बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् ।

    उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए ।

    विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरीले  जानकारी दिएको छ ।

    यस्तै, नेपाल वायु सेवा निगमको दोहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमा सुन लुकाएर ल्याएका थिए।

    प्रहरीले दुबै भरिया भएको र सुन तस्करले उनीहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् ।

    गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् ।

    यस्ता निकायहरु राजतन्त्र कालिन समयमा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापना भएको उनको भनाई छ ।

    प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्‍‍न निर्देशन दिएको प्रसंग उठाउँदै भुसालले सेना पुलिसको बजेटबाट श्रीमती संघ चल्नु ठीक नभएको बताइन ।

    हिजोको शाही नेपाली सेना अहिले नेपाली सेनामा परिणत भइसकेको अवस्थामा परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचसहित खडा भएका संरचना खारेज गर्नु उनले माग गरिन् । उनी पूर्वमन्त्री समेत हुन् ।

  • ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो ।

    कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ ।

    त्यसपछि खान फरार भएका थिए । उनलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

    मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा आयमनको बुबा फत्ते मोहम्मदसँग ठेक्का विवादमा कुरा नमिलेपछि बदला लिन हत्या गरेको आरोप उनीमाथि छ ।

    घटनापछि बालकका परिवारले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरु फरार थिए ।

    त्यसो त नसिमविरूद्व अन्य सात जघन्य हत्याको मुद्दा पनि दर्ता छ ।

    तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्यामा उनको संलग्नताको आरोप रहेको छ ।

    कपिलवस्तु प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका उनीविरुद्ध हत्याबाहेक अपहरण र डकैतीका समेत मुद्दा जाहेरी रहेका छन् ।

  • आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

    आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

    काठमाडौं । भ्रष्टाचारमा दोषि सावित नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले बिहीबार आत्मसमर्पण गरेका छन् ।

    सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

    सुडान भ्रष्टाचार काण्डमा दोषि सावित उनी विगत दुई वर्ष देखि फरार थिए । आत्मसमर्पण गर्दै कारागार बाहिर बसेर पुनरावेदन लड्न पाउनु पर्ने उनको माग थियो । तर, उनको मागलाई सर्वोच्चले सदर गरेन ।

    प्रहरीको सुडान मिसन घोटाला काण्डमा उनी दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले १७ वैशाख २०७४ मा उनीमाथि कैद र जरिमानाको फैसला भएको थियो ।

    सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो। चन्दसँगै पूर्व आइजिपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ पनि यस घोटालामा दोषि सावित भएका थिए ।

    पूर्वएआइजी श्यामसिंह थापा, दीपकसिंह थाङ्देङ, डिआइजी दीपककुमार श्रेष्ठ, एसएसपी रविप्रताप राणासमेत यस काण्डमा दोषि ठहर भएका थिए ।

    सुडान मिसनमा करिब ४३ करोड रुपैयाँ बराबरको सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

  • उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

    उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

    काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । देशभर रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने छ ।

    आयोगका अनुसार अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ती स्थानमा पद खाली छ ।

    आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पद रिक्त अवस्थामा छन् ।

    पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दूर्घटनामा परी निधन भएपछि प्रतिनिधिसभातर्फ कास्कीमा एक स्थान रिक्त भएको हो ।

    आयोगले पद रिक्त रहेका स्थानका मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेको छ । योग्यता पुगेर पनि नाम नभएकाहरुका लागि नाम लेख्न आयोगले आग्रह गरेको हो ।

    जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम लेखाउन सकिने आयोगले उल्लेख गरेको छ ।

  • विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

    विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

    काठमाडौं । सरकारले शान्तिपूर्ण प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नरहने चेतावनी दिएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह राजनीतिक नभएर संगठित आतंककारी समूह भएको भन्दै शान्तीपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकार विप्लव समूहविरुद्ध कडा रणनीति रहेको संकेत गरेका हुन ।

    विप्लव समूह मार्क्सवादी नरहेको र उनीहरु कुनै पनि वाद, विचार र दर्शनबाट पनि सञ्चालना नरहेको उनले बताए ।

    उक्त समूहलाई अराजकतावादी, धनकमाउवाला र उपयोगभावी समूहको संज्ञासमेत उनले दिए । मिहेनत गरेर नभई लुटेर खाने प्रवृत्तिका कारण समूह संगठित आतंकवादतिर अघि बढेको उनको भनाई थियो ।

    सरकारले विप्लवसँग वार्ताको प्रयास गरेको भए पनि समूह वार्ताका लागि इच्छुक नदेखिएको उनले उल्लेख गरे ।

    कानून विपरितका काम गर्नेलाई नियन्त्रणमा लिई त्यस्ता गतिविधि निस्तेज पार्ने दायित्व सरकारको हुने भन्दै उनले कसैविरुद्ध पनि सरकारले बल प्रयोग नगरेको बताए ।

    नेपाली जनताले आपैले लडेर ल्याएको परिवर्तनलाई आत्मसाथ गरी शान्तिपूर्ण बाटोमा आउने उनले समूहलाई आग्रह गरे । उक्त समूहले अहिले लिएको मार्गले अन्ततः सत्यनास निम्याउने उनको भनाई थियो ।

    पछिल्लो समय यस समूहविरुद्ध सरकारले धरपकड बढाएको छ । विभिन्न स्थानमा प्रहरी कारवाहीमा विप्लवका कार्यक्रतामाथि गोली समेत चलेको छ ।

    कार्यक्रममा मन्त्री बास्कोटाले आइफा अवार्ड रोक्न निर्देशन दिने संसदीय समिति प्रति व्यंग्य गरे ।

    विषयवस्तुको गाम्भीरता नबुझी हचुवाको भरमा निर्णय गरेको संकेत गर्दै उनले संसदीय समितिले आइफामा थेसिस गरेको होला भन्दै ठट्टा गरे ।

  • आउट अफ स्टाटसमा आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ ?

    आउट अफ स्टाटसमा आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ ?

    रमेश श्रेष्ठ
    कानुन ब्यबसायी ,न्युयोर्क

    कानूनी कुरामार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध् गराइदिनुभएकोमा अमेरिका स्थित विश्व संदेश मिडिया ग्रुपलाई धेरै धेरै धन्यवाद । मैले लगभग ६ महिनाअगाडि ग्रीनकार्ड होल्डरको नाताले मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा थिइन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ । गत महिना म युएस सिटिजन भएपछि युएससीआईएसलाई जानकारी गराई पेन्डिङ आई–१३० पेटिसनलाई इमिडियट रिलेटिभ अफ युएस सिटिजनमा परिवर्तन गरिसकेको छु । अहिले मेरो श्रीमतीको भिजिटर भिसा समाप्त भएको ५ महिना बितिसक्यो र हालको आउट अफ स्टाटस अवस्थामा मैले उसका लागि आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ कि मिल्दैन । यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ ।
    – सुरेन गिरी, भरमन्ट

    विश्व सन्देश र विश्व न्युज डट कमबाट प्रकाशित हुने कानूनी स्तम्भको पाठक हुनुभएकोमा धन्यवाद । अध्यागमन कानूनअनुसार अमेरिकी नागरिकहरुको अति निकटको नातेदारहरु अर्थात् श्रीमान-श्रीमती, नाबालक छोरा छोरीहरु र बुबाआमाहरुलाई उक्त अमेरिकी नागरिकले ग्रीनकार्डका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नेछन् । यी निकटको नातेदारहरुको आई–४९५ निवेदन पेश गरेका बेलामा वैध भिसा भए–नभए जे भए पनि यदि उनीहरु कानूनी तवरबाट भिसा प्राप्त गरी अध्यागमनका अधिकारीहरुले अमेरिका प्रवेश गरेका बेलामा इन्सपेक्सन गरी एड्मिसन गरेको खण्डमा उहाँहरुले अमेरिकी नागरिकको नजिकको नातेदार वा इमिडियट रिलेटिभको आधारमा स्थायी बासिन्दा अर्थात् पर्मानेन्ट रेसिडेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।
    तपाईंको केसमा तपाईंको श्रीमतीले बी–२ वा भिजिटर भिसा लिई अमेरिकामा प्रवेश गर्नुभएकोले उहाँ इन्सपेक्टेड र एड्मिटेड हुनुहुन्छ । त्यसैले अहिले भिसा गुजारेर बसिरहनुभए तापनि अमेरिकी नागरिकको श्रीमतीको हैसियतले उहाँको स्टाटस एड्जष्ट गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले अहिले तपाईंले अमेरिकी नागरिकता प्राप्त गरी सो आई–१३० पेटिसनलाई प्रिफरेन्स रिलेटिभ (एफ२ए)बाट इमिडियट रिलेटिभ (आईआर)मा परिवर्तन गरिसक्नु भएकाले उक्त आई–३० पेटिसन स्वीकृत नभई पेन्डिङ वा विचाराधिन रहेको अवस्थामा भए पनि तपाईंको श्रीमतीले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ ।

  • त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास

    त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहितका पदाधिकारी नम्बर थप गरेर विद्यार्थी उत्तीर्ण गराउने काममा संलग्न रहेको पुष्टी भएको छ ।

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार शिक्षा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी ईन्दिरा तिवारीविरुद्ध मुद्दा हालेको छ ।

    साथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षेत्रीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    त्रिवि सेवा आयोगले विभिन्न पदमा मागेको विज्ञापनमा विद्यार्थी उत्र्तीण गराउने क्रममा आफन्तहरुलाई पास गराउन आयोगका पदाधिकारीकै संलग्नतामा नम्बर थप गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    आयोगले प्राविधिक र प्रशासनका विभिन्न १६ पदका लागि कर्मचारी भर्ना खुलाएको थियो ।

    ति पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक पदमा लिखित परीक्षाका ३५ थान उत्तरपुस्तिकाको नम्बर थपघट भएको अख्तियारद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

    यसरी उत्तीर्ण गराइएका व्यक्ति आयोग अध्यक्ष शर्माका आफन्त, प्रशासन प्रमुख परशुराम कोइरालाकी छोरीदेखि कर्मचारी तथा नेताका श्रीमती, बहिनी, सालीलगायत थिए ।

    उनीहरुको यस हर्कतबाट नेपालमा नीतिगत अनियमितताको डरलाग्दो पाटो समेत खुलासा भएको हो ।

    अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार २४ शाखा अधिकृतका लागि भएको परीक्षामा सहभागीमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद तरिकाबाट केरमेट गरी अङ्क थपघट गरिएको थियो ।

    त्दुई जनालाई क्रमशः ३३ र ४ अंक थप गरेर पास गराएको रदुई जनालाई क्रमशः १४ र ६ अंक थपेर मेरिट लिस्टमा ल्याइएको छ ।

    पास हुनुपर्ने एक परीक्षार्थीको भने नाम छुटाएर तथा अर्काको १४ अंक घटाएर अनुतीर्ण गराएको भेटिएको हो ।

    २४ लेखा अधिकृतका लागि भएको परीक्षामा ७ उत्तरपुस्तिककामा केरमेट भटिएको छ । जसमध्ये ५ जनाको उत्तर पुस्तिकामा क्रमशः ९, १०, ३, ७, २ अंक थपेर मेरिट लिस्टमा पारिएको छ भने अर्को परीक्षार्थीको ९ अङ्क घटाई मेरिटमा तल पारिएको छ ।

    एक परीक्षार्थीको उत्तर पुस्तिकामा भने ३ अंक थप गरेको पाइएको छ । सहायक कानुनी सल्लाहकारको परीक्षामा भने ३ जनाको उत्तर पुस्तिकामा केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गरिएको अख्तियारले उल्लेख गरेको छ ।

    पाँचौं नम्बरमा रहेकालाई १५ अङ्क थपेर मेरिट लिस्टको पहिलो नम्बरमा ल्याइएको छ भने पहिले नम्बरमा परेकाको ८ अंक घटाएर दोस्रोमा झारेर बदमासी गरेको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

    अर्का एक परीक्षार्थीको उत्तरपुस्तिकामा भने २ अंक घटाएर मेरिट लिस्टको चौथो नम्बरमा झारिएको छ ।

    २४ जना मुख्य लेखा सहायक पदका लागि लिइएक लिखित परीक्षामा सहभागी मध्ये दुई जनाको उत्तर पुस्तिकामा नम्बर थप गरेको तथा ५ जनाको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरिएको छ ।

    तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः २८ १३, र १० अंक थप गरिएको छ । तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः ६, १४ र १४ अंक घटाएर फेल गराइएको छ ।

    १२ मुख्य कार्यालय सहायकका लागि लिएको परीक्षामा ९ जनाको उत्तर पुस्तिकामा अंक थपिएको छ । फेल भएका एक परीक्षार्थीले पाएको अंकमा ५ पटकसम्म केरमेट गरी उत्तिर्ण गराएको भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

    एक परीक्षार्थीले पाएको अंकमा भने १० घटाएर मेरिटमा नपारेको पाइएको छ । यस्तै १४ कार्यालय सहायकका लागि लिएको परीक्षामा भने खुलामा नआएका दुई जनालाई अंक थपेर मेरिटमा पारेको पाइएको छ ।

    यसरी अंक थपघट गर्ने क्रममा अधिकांश उत्तरपुस्तिकामा शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता त्रुटि भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

  • लोकसेवाको विज्ञापन रद्द नहुने

    लोकसेवाको विज्ञापन रद्द नहुने

    काठमाडौं । लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । यससँगै अब लोकसेवाको विज्ञापनले निरन्तरता पाउने भएको छ भने परिक्षा पनि हुने भएको छ ।

    आयोगले गत १५ जेठमा विभिन्न ७ सय ५३ स्थानीय तहका लागि विज्ञापन खोलेको थियो । तर, उक्त विज्ञापन समावेशीताको सिद्धान्त अनुरुप नभएको भन्दै अधिवक्ता विकास ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अश्विकार गरेको हो । विज्ञापनमा ४ लाख भन्दा बढी आवेदन परिसकेका कारण उनीहरुले प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित गर्न नहुने निष्कर्षमा सर्वोच्चले अन्तरिम आदेश नदिएको हो ।

    न्यायाधीश हरिकृष्ण कार्की र आनन्द मोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। त्यसो त लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा ३ वटा रिट परेका थिए।

    आयोगले स्थानीय तहमा ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरी दरखास्त मागेको थियो । यस विज्ञापनमा ४ लाख भन्दा बढीले प्रतिस्पर्धा गर्दैछन् ।

  • फेमिली पेटिसनको रिसिप्ट आयो तर एप्रुभल लेटर आएन, के गर्ने होला ?

    फेमिली पेटिसनको रिसिप्ट आयो तर एप्रुभल लेटर आएन, के गर्ने होला ?

    रमेश श्रेष्ठ
    कानुन व्यवसायी, न्युयोर्क

    मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ । मेरो विवाहपछि मेरो श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली पेटिसन गरें । त्यसपछि मेरो एसाइलमको निवेदन विथड्र गरें । तर पछि युएससीआईएसबाट सोही एसाइलमको निवेदनलाई कोर्टमा पठाई फेरि अन्तरवार्ताका लागि चिट्ठी पठाएको छ । मेरो युएससीआईएसमा पेश गरेको फेमिली पेटिसनको रिसिप्ट लेटर प्राप्त भयो । तर, एक वर्ष भयो एप्रुभल लेटर आएको छैन । अब मैले के गर्नुपर्छ होला, सुझाव पाए आभारी हुने थिएँ ।
    डोमा शेर्पा, न्यूयोर्क

    डोमाजी, अमेरिकी अध्यागमनले कुनै पनि विदेशी नागरकको भिसा नभएको वा कुनै पनि लिगल स्टाटसमा नभएको भन्ने जानकारी पाएपछि सो विदेशी नागरिकलाई रिमुभल प्रोसिडिङमा राखी कारबाहीका लागि इमिग्रेसन कोर्टमा पठाउनुपर्ने हुन्छ । तपाईंको केसमा पनि तपाईंको श्रीमान्ले अमेरिकी नागरिकता प्राप्त गरेर उहाँले तपाईंका लागि भिसा पेटिसन (आई–१३०) युएससीआईएसमा पेश गरे तापनि तपाईंको भिसा स्टाटस अहिले पनि गैरकानूनी नै रहेको मानिनेछ । त्यसैले तपाईंले एसाइलमको निवेदनतलाई लिखितरुपमा फिर्ता लिए पनि तपाईंको भिसा नभएको वा गैरकानूनीरुपमा अमेरिकामा बसेको भन्ने युएससीआईएसलाई लागेकाले कारबाहीका लागि तपाईंको केस इमिग्रेसन कोर्टमा पठाएको हुनुपर्छ । माथि उल्लेख गरेअनुसार एसाइलमको निवेदनमा कोर्टमा पठाउनु भनेको तपाईंलाई अमेरिकाबाट निष्काशनका लागि रिमुभल प्रोसिडिङमा राखेको हुनुपर्छ । यस अवस्थामा यदि तपाईंंलाई इमिग्रेसन कोर्टबाट सुनुवाइका लागि नोटिस आइसकेको छ भने उक्त सुनुवाइ मिटिमा अनिवार्यरुपमा कोर्टमा तोकेको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ । त्यस अवस्थासम्म यदि तपाईंको श्रीमान्ले पेश गर्नुभएको पेटिसन स्वीकृत भएको छैन भने कोर्टको केसलाई लम्ब्याएर राख्नुपर्ने हुन्छ । तपाईं रिमुभल प्रोसिडिङमा भएकाले तपाईंको आई–१३० पेटिसन स्वीकृत भए पनि उक्त प्रोसिडिङ टर्मिनेट नभएसम्म एड्जष्टमेन्ट अफ स्टाटस अर्थात् ग्रीनकार्ड प्राप्त भने गर्न सक्नु हुने छैन । त्यसरी नै यदि सुनुवाइको मितिमा कोर्ट जानु नभएमा तपाईंको अनुपस्थितिमा इमिग्रेसन जजले तपाईंको विरुद्धमा डिपोर्टेसन अर्डर पनि जारी गर्न सक्नेछ । डिपोर्टेसनको अर्डर जारी भएको खण्डमा तपाईंको युएस सिटिजन श्रीमान्ले पेश गर्नुभएको आई–१३० पेटिसन एप्रुभ भए पनि तपाईं ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनुहुनेछ र तपाईंको केस धेरै कम्प्लिकेकेड हुनेछ । त्यसैले अनुभवी इमिग्रेसन लयरको सहयोग लिन सुझाव छ ।

  • जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

    जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ” 

    काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सरकारले ल्याएका विभिन्न कानून तथा विधेयकका सम्बन्धमा पहिलो पटक मुख खोलेका छन् ।

    उनीहरुले शनिबार एक संयुक्त अपिल सार्वजनिक गर्दै नागरिकलाई रैती बनाउन खोज्ने सरकारी रबैयाको विरोध गरेका हुन् । अपिलमा भनिएको छ, “हामी रैती बन्न इन्कार गर्छौं ।”

    सूचना, ज्ञान, न्याय र मानवाधिकार वर्जित गर्ने गरी सरकारले एक पछि अर्को कदम चालिरहेको र यसले नागरिकलाई रैतीमा परिणत गर्न खोजिएको भन्दै नागरिक अगुवाहरुले त्यस कदमको विरोध गरेका हुन् ।

    संचार सम्बन्धी विधेयकले बोल्न र लेख्न पाउने नागरिकको अधिकार बन्चित गर्ने उनीहरुको भनाई रहेको छ ।

    मानवाधिकार आयोग सम्बन्धी विधेयकले उक्त आयोगलाई नेताभक्त वकिलको जागिरे अड्डामा परिणत हुने नागरिक अगुवाको चिन्ता छ ।

    राज्यले जति मानवाधिकार हनन् गरेपनि आयोग निकम्मा हुने गरी कानून आउन लागेको उनीहरुले उल्लेख गरेका छन् । पुस्तकमाथि लगाइएको अविवेकपूर्ण कर ज्ञानको उद्यम धरासायी बनाउने कुचेष्टा भएको अपिलमा उल्लेख छ ।

    सार्वजनिक जग्गामा सरकारले आफ्ना दलालहरुलाई पोषिरहको उनीहरुले उल्लेख गरेका छन् ।

    न्यायबाट वन्चित गरिएका निर्मला पन्त, अजित मिजा र कृष्ण विकका आफन्तको कहर समेत सरकारले नसुनेको भन्दै उनीहरुले कडा शब्दमा सरकारको आलोचना गरेका छन् ।

    जनतालाई अधिकारबाट वच्चित गराएर विगतमा भएका क्रान्तीको नेतृत्व गरेका र अनेकन आन्दोलनमा संलग्न भएका मानिस नै संलग्न सरकारले आफ्नै इतिहासमाथि घात गरिरहेको नागरिक अगुवाहरुको भनाई छ ।

    सरकार बेलैमा सचेत नभए ठूलो मूल्य चुकाउनु पर्ने भन्दै उनीहरुले जनताको चेतनालाई चानचुन नठान्न समेत सत्ताधारीलाई आग्रह गरेका छन् ।

    स्वनाम साथी, सुन्दरमणि दीक्षित, गौरी प्रधान, विजय कर्ण, लोकनारायण शर्मा, उज्ज्वल प्रसाई, खगेन्द्र संग्रौला लगायतले संयुक्त अपीलमा हस्ताक्षर गरेका छन् ।

  • जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

    जथाभावी सवारी पार्किङ गर्ने विरुद्ध प्रहरी कारवाही तिब्र

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा जथाभावी पार्किङ गरी सवारी जाम बढाउन भूमिका खेल्ने चालकविरुद्ध कारवाही तिब्र बनाएको छ ।

    प्रहरीले ठूलाबडा र कानून पालना गराउने व्यक्तिहरुका समेत गाडीमा लक लगाउँदै अहिले कारवाहीलाई तिब्र बनाएको हो ।

    प्रहरीले पछिल्लो ८ महिनामा निषेधित क्षेत्रमा सवारी पार्क गरि राखेका ५ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिएको छ ।

    कारवाहीमा पर्ने अधिकांश निजी सवारी साधनका चालक छन् । सामान्यतया निजी सवारी साधन चालक चढेलेखेका, कामकाजी र शिक्षित वर्ग मानिन्छन् ।

    नेपालमा कानून उल्लंघन गर्नेमा उनीहरु नै अगाडी रहेको तथ्यांक छ । निजी प्रयोजनका कार, जिप, मोटरसाइकलले बढी नियम उल्लंघन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

    सरकारले बाटो बिस्तार गर्दा सर्वसाधारणका घर भत्काएको थियो । घर भत्काएर बिस्तार गरेको बाटोमा धनीमनी मानिसले सवारी पार्क गरेर राखेपछि सर्वसाधारण आक्रोसित हुँदै आएका छन् ।

    जनताबाट व्यापक गुनासो आएपछि निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारी चालक विरुद्ध कारवाही तिब्र बनाएको प्रहरीको भनाई छ ।

    पछिल्लो समय सर्वसाधारणले जथाभावि पार्किङ गरेका र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको फोटो, भिडियो खिचेर समेत प्रहरीलाई दिने गरेका छन् । यसबाट पनि कारवाही गर्न सहयोग पुगेको प्रहरीको भनाई छ ।

  • भारतीय नागरिकको नेपाली नागरिकता खारेज

    भारतीय नागरिकको नेपाली नागरिकता खारेज

    काडमाडौं । सरकारले नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीपरिषद्ले ५ जना भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

    असार ५ र ८ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

    भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

    उनका अनुसार जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए।

    खुला सीमानाको कारण उठाउँदै तराई भेगमा भारतीय नागरिकको खुला आवगमन भइरहेको छ । उनीहरु नेपालमा सरकारी अधिकारीहरुलाई छक्याएर नेपाली नागरिकता लिन सफल भएका थिए ।

    मन्त्रीपरिषद्ले नेपाली सेनाका ५ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा गर्ने निर्णय समेत गरेको छ।

    बैठकले लेखा समिति सभापति भरतकुमार शाहसहित ७ सदस्यीय भ्रमण टोलीलाई ४ देशका कूटनीतिक निकायको भ्रमणमा जान सैद्धान्तिक सहमति दिएको जानकारी बास्कोटाले गराए ।

  • खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ

    खुट्टामा नोट बाधेर ल्याउने दुई पक्राउ

    पर्सा । १८ लाख अवैध नेपाली नोटसहित प्रहरीले दुई भारतीय नागरिकलाई वीरगन्जबाट पक्रेको छ ।

    खुट्टामा बाँधेर भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित बाला यादव र रंजन दास पक्राउ परेका हुन् ।

    उनीहरु भारतको मोतिहारीस्थित रक्सौल ग्राम पंचायतका बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।

    लुकाई छिपाई श्रोत नखुलेको अवैध १८ लाख रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुले नेपाली मोटरसाइकल प्रयोग गरी भारतबाट नेपाल प्रवेश गरेका थिए ।

    पर्सा प्रहरीका अनुसार वीरगन्जस्थित शंकराचार्य गेट नजिकैबाट उनीहरु पक्राउ परेका हुन् । प्रहरीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनाको बयान लिने

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २९९ रोपनी जग्गा अनियमितता काण्डमा छानविन थालेको छ ।

    यसैक्रममा अख्तियारले यस काण्डमा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयान दिन अख्तियार बोलाएको छ।

    बुधबार सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई अख्तियारले बयानका लागि बोलाएको हो ।

    यस काण्डमा मुछिएका सबै सात दिन भित्र अख्तियार पुगी बयान दिनु पर्ने भएको छ ।

    सूचना अनुसार भाटभटेनीका संचालक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ पनि अख्तियारले बोलाएको सूचिमा रहेका छन् ।

  • भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति

    भन्सारका नासुसँग दुई करोड अकुत सम्पत्ति

    काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भन्सारका नायव सुब्बा रामप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।

    कंचनपुर भन्सार कार्यालयमा कार्यरत भट्टराईविरुद्ध दुई करोडभन्दा बढी स्रोत नखुलेको रकम रहेको अख्तियारको दावि छ ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीसँग रहेको २ करोड ८ हजार ५ सय ४० रुपैयाँको स्रोत खुलेको छैन ।

    सरकारीमा जागिरमा लागेपछि उनले बैधरुपमा १ करोड १४ लाख ९१ हजार रुपैयाँ बैध रुपमा कमाएका थिए । तर, अन्य रकमको भने उनले स्रोत खुलाउन नसकेको अख्तियारको दावि रहेको छ ।

    उनीसँग अहिले रहेको ३ करोड १४ लाख ९१ हजार ६ सय ९१ रुपैयाँमध्ये दुई करोड अवैध रहेको अख्तियारको भनाई रहेको छ । उनी गत वर्ष साउनमा १० हजार घुस लिदालिदै अख्तियार टोलीबाट रंगेहात पक्राउ परेका थिए ।

    आयोगले सोमबार अन्य तीन कसुरमा समेत मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार नेपाल प्रहरीका इन्सपेक्टर, मालपोतका नासु, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।

    दुई साता अगाडी घुससहित पक्राउ परेका प्रहरी इन्सपेक्टर केशव बस्नेत, मालपोत कार्यालय चावहिलका नासु चन्द्रबहादुर श्रेष्ठ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

  • खाडीको जेलमा कति छन् नेपाली कैदी ?

    खाडीको जेलमा कति छन् नेपाली कैदी ?

    काठमाडौं । वैदेशिक राजेगारीको अवसर खुलेसँगै अहिले करीव ४० लाख हाराहारी नेपाली यूवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ । यसमध्ये विविध अपराधमा संलग्न करीव साढे ५ सय नेपाली बिभिन्न देशको जेलमा कैदि जीवन बिताइरहेका छन् ।

    वैदेशिक रोजगार बोर्डका अनुसार अहिले खाडीका विभिन्न देशमा ५ सय ४५ जना नेपाली कैदी बन्दी रहेका छन् ।

    मलेसिया, कुवेत, यूएई, ओमान, साउदी अरब, कतार र बहराइनमा धेरै नेपाली कैदि जीवन बिताइरहेको बोर्डको तथ्यांक छ । यस मध्ये १९ जना महिला पनि समावेश छन् । जेलमा रहेका मध्ये २ सय ९३ जनाको सजाय तोकिएको छैन ।

    बोर्डको चैत मसान्तको तथ्यांक अनुसार २५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, ७ जना आजीवन काराबासको सजाय भोगिरहेका छन् । जरिवाना तोकिएर जेलम बसिरहेका नेपाली १८ जना छन् ।

    मृत्युदण्ड सुनाइएका मध्ये मलेसियामा सबैभन्दा धेरै रहेको बोर्डको तथ्यांक छ । मलेसियामा दुई महिला सहित २ सय ५ नेपाली जेलमा छन् । त्यसमध्ये १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

    १ सय ९० जनाको भने अझै सजाय तोकिएको छैन । यूएईमा १२ महिला र १ सय ७३ पुरुष गरी १ सय ८५ नेपाली कामदार कारागारको जीवन बिताइरहेका छन् । त्यसमध्ये एकजनालाई मृत्युदण्ड र ४ जनाले आजीवन काराबासको सजाय भोगिरहेका छन् ।

    कुवेतमा ३ महिलासहित ५८ जना नेपाली कामदार जेलमा रहेकोमा ३ जनालाई मृत्युदण्ड र ९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ ।
    खाडीका धेरै देशमा रक्सी तथा लागुपदार्थ प्रतिवन्धित छ । तर, नेपालीले यही सेवन तथा बेचबिखन गर्छन् पक्राउ पर्छन् । भिसा अवधि सकिएपछि पनि देश नछाड्ने प्रवृत्ति पनि नेपालीमा छ ।

    स्थानीय कानून नमान्दै निषेधित क्षेत्रमा छिर्ने, जथाभावी फोहोर गर्ने कारणमा पनि नेपाली जे पर्छन् । ज्यान मारेको केशमा पनि नेपाली जेल पुग्ने गरेका छन् ।