Category: रोचक खवर

  • आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

    आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

    काठमाडौं । साउन पहिलो सातायता कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको थियो । जसले गर्दा निको हुनेको तुलनामा थप हुने संख्या बढी थिए । आज भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या धेरै भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यससँगै अब नेपालमा डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

    यस अवधिमा थप हुने संक्रमितको संख्या भने ३७८ थियो । कुल संक्रमित २२ हजार ५ सय ९२ रहेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म १० हजार ७९२ जना मानिस क्‍वारेन्टीनमा बसेका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । मुत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना भाइरसले अहिले सबैभन्दा धेरै प्रभावित पर्सा बनेको छ ।

  • न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

    न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

    न्युयोर्क

    न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही परतिर नयाँ ठाउँमा घर भाडामा लिएर सरेका थिए । हाल न्युयोर्कमा हजारौं हजार अपार्टमेण्ट खाली भएका छन् ।
    कोरोना महामारी सुरु भएको झन्डै ६ महिना बिति सकेको छ तर यो महामारी कम हुने कुनै लक्षण देखिएको छैन । भ्याक्सिन आउन अझै केही महिना कुर्नै पर्ने देखिएको छ । यसै हप्ताको सुरुमा आयोजित एक पत्रकार सम्मेलनमा गभर्नर कुमोले धनाढ्यहरुलाई न्युयोर्क फर्काउने बिषयमा भनें “जो न्युयोर्कबासी हाल ह्याम्टनको घरमा गएर बसेका छन्, हड्सन भ्यालीमा बसेका छन्, कनेक्टिकटको भेकेसन होममा बसेका छन् ।म प्राय: दिनभर उनिहरुसँग कुरा गरिरहेको हुन्छु र भन्छु ‘तिमिहरु फर्किनु पर्छ । कहिले फर्किने हो ?’ भनेर सोध्छु । मैले भनेको छु; “तिमीहरु फर्किएपछि हामी डिनर खान जाऔंला । म तिमीहरुले खाएको पेय ( ड्रिन्क्स) को पैसा तिर्छु । म तिमीहरुलाई खाना बनाएर खुवाउँछु”।
    कोरोना संक्रमणको भयावय दृष्यपछि ठुलो संख्यामा न्युयोर्क सहरबासीले न्युयोर्क छाडे पनि हाल न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार आएको छ ।

  • प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब शहरी क्षेत्र र तराई भेगमा कोरोनाको दोस्रो लहर फैलने क्रममा रहेको छ ।

    लामो समय पार्टी विवादमा अल्झिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भने कोरोना भाइरसको महामारीका सम्बन्धमा चासो राखे । उनले आज वालुवाटारमा विज्ञहरुलाई छलफलका लागि बोलाएका थिए । उनले आज स्वास्थ्य र अर्थतन्त्र सँगसँगै लैजान सकिने सम्भावनाका विषयमा विज्ञहरुसँग राय लिएको बुझिएको छ ।

    प्रधानमन्त्रीसहित सरकारको सोच केही समय पुनः लकडाउनमा जाने रहेको छ । तर, केही विज्ञले भने अब अर्थतन्त्रलाई वेवास्ता नगर्न समेत सुझाव दिएको वालुवाटार स्रोतको भनाई छ । आज प्रधानमन्त्री विज्ञहरुसँगै करीव ४ घण्टा गन्थन मन्थनमा सहभागी भए । आज उनले छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएका थिए ।

     

     

    धेरैले आजको प्रधानमन्त्रीको प्रस्तुती केही परिपक्क देखिएको बताएका छन् । किनकी यसअघि प्रधानमन्त्रीले बोलाउने अधिकांश बैठकमा आफै बढी बोल्ने र अप्रमाणिक विषय बोलेर बढी आलोचित हुने गरेका थिए । यसअघि उनले गत जेठमा राखेको यस्तै बैठकमा बेसार खाएर कोरोना ठिक हुने देखि नेपालीले कोरोनालाई सजिलै पचाउनेसम्मका अभिव्यक्ति दिएका थिए ।

    मंगलबारको बैठकमा भने उनले विज्ञका कुरा धैर्यपूर्वक सुनेको बैठकमा सहभागी एक अर्थशास्त्रीले जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि राखिएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता थियो । तर, उनी अर्कै छलफलमा व्यस्त भएको बताइएको छ । विज्ञसँग छलफल गरेका प्रधानमन्त्री अब कस्तो कदम चाल्दैछन्, त्यो भने आज बैठकमा सहभागी कसैले पनि अनुमान लगाउन भने सकेनन् ।

  • मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

    मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण संसारभर अब जीवनमा केही न केही परिवर्तन हुँदैछ । यसले व्यक्तिको दैनिक जीवनदेखि व्यवसायिक दैनिकीमा समेत प्रभाव पर्नेछ । यस्तो नियम आएको छ फुटबल खेलमा । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारीका अगाडि कुनै खेलाडी वा पदाधिकारीले खोकेमा त्यो खेल भावना विपरितको आचरण मानिने भएको छ । त्यस्तो खेलाडीले सिधै रातो कार्ड पाउनेछन् ।

    अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तिर खोकेमा खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय गरेको छ । फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको हो ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह मान्यता दिइएको छ । यस्तो व्यवहार देखाएमा रेफ्रीले निर्णय लिनेछन् । यो नियम कार्यान्वयनमा तत्काल आउनेछ ।

  • स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

    स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

    स्पेन । स्पेनमा ४० वर्षभन्दा लामो समय राज गरेका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि एक भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी छ । साउदी अरवमा एक रेल परियोजनाका सम्बन्धमा उनीमाथि अनियमितताको आरोप लागेको छ । स्पेन छाडेपनि आफुले अनुसन्धानमा भने सहयोग गर्ने उनको भनाई रहेको छ । उनी उदारवादी शासक मानिन्छन् ।

    स्पेन अधिनायकबाद शासन व्यवस्थामा रहेको अवस्थामा उनले नै मुलुकमा प्रजातन्त्र ल्याएका हुन् । तर, आफुमाथि आरोप लागेपछि उनले गद्दी त्यागेका छन् । उनी सन् २०१४ यता सत्ता त्याग गरेर बसेका छन् । स्पेन छाडेपनि उनी कहाँ कसरी बस्नेछन् भन्नेबारे भने स्पेनको दरवारले उल्लेख नगरेको बीबीसीले लेखेको छ ।

  • नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

    नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो ।

    ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड १९ लागेर रोगलाई जितिसकेका मानिसलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो । सोहीक्रममा दाताबाट रगत प्राप्त भएको थियो । त्यसको परीक्षण नै सफल भएपछि चिकित्सक भने उत्साहित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २० हजार ४ सय हाराहारी संक्रमित छन् । उनीहरुमध्ये १४ हजार ६०३ जना निको भइसकेका छन् । एनएचआरसीले ती निको भएका व्यक्तिबाट स्वछिक रुपमा प्लाज्मा दान गर्न आग्रह गरेको हो । आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जना इच्छुक देखिएका छन् । उनीहरुले एनएचआरसीमा नाम लेखाएका छन् ।

    दाताको प्लाज्मा स्क्रिनिङ गर्दा मिल्ने भएमा गम्भीर विरामीलाई दिइने भएको छ । प्लाज्मा थेरापीबारे थप अनुसन्धान भइरहेको समेत चिकित्सकको भनाई छ । लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितमा भने प्लाज्मा थेरापी विधि प्रयोग गरिने छैन । सकेसम्म आफ्नै क्षमताले कोरोना जितेको बिरामीलाई राम्रो मानिन्छ ।

    तर, पछिल्लो दिनमा नेपालमा पनि लक्षणसहितका बिरामी देखिन थालेका हुन् । विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागेको छैन । यस अवस्थामा गम्भीर बनेर उपचार गराइरहेका बिरामीका लागि प्लाज्मा थेरापी उपयुक्त बन्ने देखिएको छ ।

  • सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् ।

    दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट भई हातपात गरेको बताएका छन् । सन्जेल भने सुशासन र भष्ट्राचार विरोधी अभियानका अभियन्ता मानिन्छन् ।

  • फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

    फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

    काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार सार्वजनिक गर्यो । समाचार लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन आयोजना गरे । उनले पत्रकार सम्मेलनमा भने बरामद भएको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन रहेको र बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको उल्लेख गरे ।

    सो सामान पानीपोखरी नजिकै रहेको कृष्ण पाउरोटी चोकबाट बरामद भएको र बा६च ५५१९ नम्बरको स्कोर्पियो गाडीबाट सामान फ्याँकेर गाडी फरार भएको जानकारी प्रहरीले गराएको थियो । यो सामानसहित दुई थान पेस्तोलसमेत बरामद भएको थियो । यो घटना रहस्यमय बनेपछि बुधबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरियो ।

    सुरुमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिए पनि पछि थापालाई संयोजकबाट हटाइयो र महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवको संयोजकत्वमा समिति गठन भयो । प्रहरीले पत्रकार सम्मेलनमा दिएको नम्बर झुटो सावित भयो । स्कार्पियो उपत्यकाबाटै पक्राउ पर्यो । यसको नम्बर प्रहरीले नै झुटो दिएपछि अपराधीलाई लुकाउन खोजेको आंशका प्रहरीमाथि पुग्यो । उता, नवलपरासीबाट तीन जना व्यक्ति पक्राउ परे, जसले सुनसहित उक्त धातु फ्याँकेका थिए ।

    प्रहरीले भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पनि नियन्त्रणमा लिएको छ । ती जना व्यक्ति भारततर्फ भाग्न प्रयोग गरेको ट्याक्सीका चालकलाई सेत प्रहरीले नियन्त्रणमा लिएको छ । यता, सुन फ्याँकेर भागेको भनिएको स्कोर्पियो गाडी भने ललितपुरमा भेटिएको छ । उक्त गाडीको समेत स्वरुप परिवर्तन गरिएको छ । प्रहरीका अनुसार यो गाडी बाराका इन्साद हुसिनको नाममा रहेको छ ।

    उता, शुक्रबार नै अनुसन्धानका दौरान प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट प्रहरीले एक किलो पहँलो धातु फेला पारेको छ । उनी यस काण्डमा संलग्न रहेका प्रहरी हुन् । महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रशन्नको बुढानीलकण्ठस्थित डेराबाट उक्त धातु बरामद भएको प्रहरीले जनाएको छ । यससँगै यो काण्डमा समेत प्रहरीले षडयन्त्रपूर्वक घटनालाई दवाउन खोजेको भेटिएको छ । प्रहरीकै मिलेमतो घटना घटाइएको र अपराधीलाई भगाउन प्रहरीले नै सहयोग गरेको खेखिएको छ ।

    अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो प्रकरणको स्थान समेत प्रहरीले नक्कली बताएको पुष्टी भइसकेको छ । सोहीकारण महानगरीय प्रहरी बृत्त, दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक रञ्जन दाहाललाई यतिबेला केन्द्रमा राखेर अनुसन्धान भइरहेको छ । उनले माथिल्लो तहलाई ढाँटेर घटनाको विवरण सार्वजनिक गरेको खुलेको छ ।

  • काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

    काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् ।

    दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियन्ता पक्राउ परेको बताइएको छ । नेतृ रन्जु दर्शनासहित आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत पक्राउ परेका छन् । उनीहरुले आज बालुवाटार घेराउको कार्यक्रम राखेका थिए । सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको हो ।

    कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरु आन्दोलनमा छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनको व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग उनीहरुको छ । सरकारले भने यसरी गरिने भीडभाडले कोरोनाकै संक्रमण बढाउने भन्दै समुहमा भेला नहुन आह्वान गरिरहेको छ ।

  • जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

    जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

    सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ ।

    प्रहरीका अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री छन् । उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । राजधानीसहितका क्षेत्रबाट यसरी ठूलो संख्यामा पक्राउ परेपनि मोफसलमा एकै खालबाट यति ठूलो परिमाणमा रकम बरामद भएको यो सम्भवतः पहिलो घटना हो ।

  • उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल

    उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल

    सियोल । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण भित्रिएको आंशका गर्दै सिमा नाका बन्द गरेको छ । एक जनामा कोभिड – १९ सङ्क्रमणको आशङ्का गरिएपछि उत्तर कोरियाले दक्षिण कोरियाको सीमानाका सिल गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । दक्षिण कोरियासँग सीमा जोडिएको केसङ्ग सहरको सीमा सिल गरिएको हो ।

    उत्तर कोरियाली नेता किम जोङ उनले देशमा सङ्कटकाल समेत घोषणा गरेका छन् । उनले आपतकालिन रुपमा पोलिट ब्युरो बैठक आह्वान गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किम जोङ उनले विषालु भाइरस आफ्नो मुलुकमा समेत प्रवेश गरेको बताएका छन् । उनका अनुसार यदि सङ्क्रमणको आशङ्का गरिएका मानिसमा कोरोना पुष्टि भए यो आधिकारिक रुपमा उत्तर कोरियामा पहिलो सङ्क्रमण हुने बताइएको छ ।

    किनकी उत्तर कोरियाले अहिलेसम्म कोरोनाबाट सुरक्षित रहेको दावि गर्दै आएको छ । तर पश्चिमा मुलुक भने उत्तरको यो दावि स्वीकार गर्ने पक्षमा छैनन् । चीन र दक्षिण कोरियाको नजिक रहेको मुलुक कोरोनाबाट सुरक्षित रहन असम्भव भएको बताउने गरेका छन् । उता, दक्षिण कोरियामा समेत कोरोनाले महामारीको रुप नलिएका कारण उत्तरको दावि सही हो भन्ने जनमत समेत देखिन्छ ।

  • अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

    अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

    एजेन्सी

    हिन्दू, बुद्धिष्ट र जैन धर्ममा ईश्वर र आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई अर्को केही बर्ष वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द लगाईएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टी गरेको छ ।
    सन् १९३० सम्म पश्चिमा देशहरुमा समेत शुभ संकेत र शुभ साईतको लागि प्रयोग हुने स्वस्तिक चिन्ह जर्मनीस्थित नाजीले आफ्नो ब्राण्ड बनाएपछि यो संकेतलाई जर्मन नाजीको चिन्हको रुपमा हेर्ने गरिन्छ ।

    स्वस्तिक चिन्ह भएको मास्क लगाएर किनमेल गर्न वालमार्ट गएका ५९ बर्षीय पुरुष र ६४ बर्षीया महिला जोडीको सोही स्थानमा किनमेल गर्न आएका अर्को ग्राहकले फोनबाट भिडियो खिच्दै भनाभन समेत गरेका थिए । शनिबार वालमार्टमा खिचिएको उनीहरुको त्यो भिडियो सामाजिक संजालमा भाईरल भएको छ । भिडियोमा ती जोडीलाई अर्को ब्यक्तिले भनेका छन्; “स्वस्तिक चिन्ह भएको मास्क लगाउने मान्छे तिमी अमेरिकन हुन सक्दैनौ” । भिडियोमा ती जोडीलाई थुप्रै मान्छेले मास्क फुकाल्न भनेका छन् ।
    नेपथ्यबाट अर्को आवाज सुनिएको छ; ‘मेरो हजुरबुवाले नाजीलाई मारेका थिए’।

    भिडियो भाईरल हुँदै गएपछि शनिबार साँझ वालमार्टले एक बिज्ञप्ति प्रकासित गर्दै भनेको छ; “मिनियासोटाको मार्शलको वालमार्टमा आज जे भयो त्यो अस्वीकार्य छ । हामी हाम्रो ग्राहकलाई सुरक्षित र सुबिधायुक्त खरिद बातावरण दिन चाहन्छौं । कुनै पनि किसिमको अपमान र भेदभाव हामी स्वीकार गर्दैनौं । बर्तमान महामारीको परिस्थितिमा सबैको सुरक्षाको लागि हाम्रो स्टोर भित्र प्रबेश गर्ने सबैले फेस मास्क लगाउन अनुरोध गर्दै आएका छौं” भनेको छ । मार्शल पुलिस डिपार्टमेन्टले स्थानीय न्युज च्यानल केएआरई ११ लाई स्वस्तिकको ठुलो चिन्ह भएको मास्क लगाएर आउने जोडीलाई अर्को एक बर्ष कुनै पनि वालमार्ट प्रबेशमा रोक लगाईएको छ ।

  • सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

    सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

    काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना नेताले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

    उनीहरुले कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराका नाममा संयुक्त राजिनामा पत्र बुझाएका हुन् । सूर्य बहादुर थापाको बिचारलाई बिर्सेर नेतृत्वले ढुलमुले नीति लिएको र सोहीकारण राप्रपाप्रति जन आकर्षण घटिरहेको निष्कर्ष यी नेताले निकालेका छन् । नेपालमा प्रजातन्त्र स्थापनापछि पूर्वपंचहरु संगठित भएर राप्रपा गठन गरेका थिए ।

    राप्रपाका संस्थापक नेता तथा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासहितका नेताले यो पार्टी स्थापनामा ठूलो योगदान गरेका थिए । उनका पुत्र सुनिलसँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्‍नेतसमेतले पार्टी परित्याग गरेका हुन । स्रोतका अनुसार सुनिल कांग्रेस प्रवेशको तयारीमा छन् । उनलाई सभापति देउवाले राम्रो पदसहित भित्राउने तयारी गरेका छन् ।

  • तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

    तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

    न्युयोर्क      

    विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै चर्चित चिट्ठा ‘पावर बल’ सुरुवात हुँदा यदि कुनै दिन दुई जना मध्ये एकलाई चिट्ठा पर्‍यो भने आधा-आधा गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरु दुबै जना हरेक हप्ता जस्तो पावर बल चिट्ठा किन्दै आएका थिए । झन्डै ३० बर्षपछि गत जुन १० तारिखका दिन थोमसलाई दुई करोड २० लाख डलरको चिट्ठा पर्‍यो । उनले साथी टमलाई फोन गरेर आफुलाई पावर बलको २२ मिलियन डलरको चिट्ठा परेको र यो गेम सुरु हुँदा १९९२ मा आफुबीच गरेको प्रतिबद्धता अनुसार आधा पैसा दिने बताएको थोमसले भनेका छन् ।  

     

    https://youtu.be/-JqxvyFI23o

    कयौं बर्षदेखि पावर बल चिट्ठा खरिद गर्दै आएका कुकले २२ मिलियन डलर जितेको चिट्ठा भने मेनोमोनीस्थित साईनर्जी कपमा किनेका थिए । कुकले चिट्ठा जितेपछि काम छोड्नको लागि दुई हप्ते जानकारी दिई सकेका छन् । ३० बर्षअघि हात मिलाएर कुरै कुरामा गरेको सामान्य प्रतिबद्धतालाई आधार मानेर एक करोड १० लाख डलर दिएका कुक भन्छन् ‘ह्याण्ड सेक इज ह्याण्ड सेक’ । दुई करोड १० लाख जितेको चिट्ठाको १० लाख डलर भने कर बापत तिर्नु पर्नेछ ।

  • पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

    पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

    न्युयोर्क

    गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे ‘पनेरा ब्रेड’मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई क्याफेका कर्मचारीले मास्क नलगाएको भन्दै उनको अर्डर लिन मानेन ।खानेकुरा खरिद गर्न नपाएपछि ती महिलाले; “पेण्ट्सले पादको गन्ध रोक्दैन भने मास्कले पनि कोरोनाभाइरस रोक्दैन” भन्दै बाहिरिएकी थिइन ।  

    https://youtu.be/BqRrOTSADM8

    ती महिला पसल भित्र बिना मास्क नै प्रबेश गरेकी थिईन । क्याफेका कर्मचारीले उनलाई तत्काल एउटा मास्क दिएका थिए तर ती महिला त्यो मास्क हातमा लिएर मात्र बसिन् । लगाउन भने मानिनन् । क्यालिफोर्नियामा गत जुलाई १५ देखि कुनै पनि बन्द कोठा भएको सार्वजनिक स्थलमा प्रबेश गर्दा मास्क अनिबार्य गरिएको छ ।

  • आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो

    आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो

    काठमाडौं । आजबाट बजारमा एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटमा अब दुईवटा हात्तिको फोटो रहेको छ । चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

    यसअघि एक हजारको नोटमा एउटा मात्र हात्तीको तस्बिर राखिएको थियो । हात्तीबाहेक भने नोटमा खासै परिवर्तन गरिएको छैन । नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको बैंकले जनाएको छ । बजारमा आउने नक्कली नोटबाट बच्न समेत राष्ट्र बैंकले बेला बेला नयाँ नोट बजारमा ल्याउने गर्छ ।

  • महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् ।

    नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको अर्को कार्ड मात्र भएको पुष्टी भएको छ । आइतबार प्रचण्डले केही नेताहरुसँगको छलफलमा ओलीसँग कुनै सहमति नभएको र आफुलाई परिवन्दमा पारेर शितल निवास बोलाइएको उल्लेख गरेका छन् । आइतबार खुमलटारमा स्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुनलगायत नेता सहभागी थिए ।

    उक्त भेलामा प्रचण्डले प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको महसुस आफुले गरेको उल्लेख गरे । प्रचण्डका अनुसार राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस भएपछि आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएको र सहमतिको भ्रममा नपर्न भनेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका थिए ।

  • ६ वटा जिल्ला बने कोरोना मुक्त

    ६ वटा जिल्ला बने कोरोना मुक्त

    काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोनाबाट पूर्ण मुक्त हुन सफल भएका छन् । यी जिल्लामा संक्रमितको संख्या समेत कम थियो । अहिले संक्रमित धेरैजना भएको जिल्ला भने रौतहट, कैलाली, र बाजुरा हुन् । यी जिल्लामा भने पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । अब देशभर पाँच हजार ८ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    यसमध्ये प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, वाग्मती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जनाको उपचार भइरहेको छ । प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

    प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण सार्वजनिक गर्यो ।

    जसमा प्रधानमन्त्रीको बोली राजनीतिक नभएको र कुनै धर्म र आस्थामाथि प्रहार गर्ने उद्देश्यले नआएको स्पष्ट पार्यो । परराष्ट्रको यो स्पष्टिकरणले भने नेपाल र भारत सम्बन्धमा आउन सक्ने सम्भावित फाटोलाई केही सुधार गरेको पाइएको छ । भारतमा संचारमाध्यमले बहस चलाएपनि भारत सरकारले भने यो मुद्दालाई उचाल्ने संकेत गरेन् ।

    भारतीय विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे पत्रकारले प्रश्न राखेका थिए । उनले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको भन्दै थप टिप्पणी आवश्यक नभएको बताएका छन् । ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ’,उनले भने ।

  • नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

    नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

    काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन ।

    बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए । यस अवधिमा १३९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २५ वटा प्रयोगशालाबाट २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको थियो ।

    जसमा १ सय ८ जना मात्र नयाँ संक्रमित थप भए । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिस छन् ।

    बिहीबार डिस्चार्ज भएका १ सय ३९ सहित अब देशभर ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन्। अहिले देशभर आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन्।

  • प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी

    प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी

    काठमाडौं । प्रधानमन्त्रीको पक्षमा भन्दै नेकपाका केही कार्यकर्ता अहिले सडक आन्दोलनमा उत्रन्छन् । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साथ दिएका छन् । बुधबार प्रचण्डसँगको छलफलमा प्रधानमन्त्रीले सडक आन्दोलन नरोकिने बताएका थिए ।

    अचम्म त प्रधानमन्त्रीले नै सडक आन्दोलनलाई समर्थन गर्दै युवालाई सडकमा आउन आह्वान गरेपछि यसले प्रधानमन्त्रीको सत्ता मोह र हठ प्रदर्शन झनै उदांगो पारेको छ । यसै सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न नेतृत्वसँग माग गरेका छन् ।

    बिहीबार दोस्रो तहका नेताहरुले सिंहदरबार छलफल गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शनले वातावरणलाई थप झटिल बनाइरहेको निष्कर्ष बनिकालेका छन् ।

    अब नेता घनश्याम भुषालले दुबै अध्यक्षलाई भेटेर दोस्रो तहका नेताको सन्देश सुनाउने छन् । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि ओलीको समर्थनमा सडकमा प्रदर्शन भइरहेको छ ।

    तर, प्रधानमन्त्रीले स्थायी कमिटि बैठक भने लगातार स्थगित गराइरहेका छन् । उनी बैठकमा समेत आउँदैनन् ।
    नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जुन सुकै हालतमा जोगाउनुपर्ने तर्क गरेका छन् । यसका लागि दुई अध्यक्षबीच समझदारी कायम गरेर अगाडी बढ्नुको विकल्प नरहेको उनीहरुको भनाई छ ।

  • सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

    सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति उत्तरदायी बन भन्दै केही दिन अगाडी एक स्वतन्त्र अभियान शुरु भयो । इनफ इज इनफ अभियानबाट युवाहरु स्वतःस्फुर्त रुपमा सडकमा आइ सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसबेला सरकारले प्रहरी लगाएर शान्तीपूर्ण आन्दोलनमा दमन गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा हानेर तमासा देखाइएको थियो ।

    उक्त आन्दोलनको माहौल सुक्नै नपाउँदै सडकमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भन्दै जुलुस देखिन थालेका छन् । चोकचोकमा केही दर्जन मानिस भेला भएर प्रधानमन्त्रीको समर्थन र पार्टी भित्रैकै अन्य नेताको विरोधमा नारा लगाउँछन् ।

    प्लेकार्डमा प्रधानमन्त्रीको देवत्वकरण गरिएको हुन्छ । एकतर्फ शीर्ष नेताको पहलमा वार्ताबाट समस्या समाधानमा प्रयास जारी रहँदा सडकमा भइरहेको यो तामासालाई भने धेरैले नौटकींको संज्ञा दिएका छन् ।

    आफ्नै नेता सरकारमा रहेको, आफ्नै पार्टी भित्र सरकारका कामको व्यापक आलोचना भइरहेको, प्रधानमन्त्रीमाथि नेताहरुमाथि गम्भीर धोकाको आरोप लागिरहँदा उनको समर्थनमा भन्दै निस्किएका जुलुसले प्रधानमन्त्रीको तानाशाही शैलीको झल्को फेरी एकपटक दर्शाएको छ ।

    कोरोनाको वेवास्ता गर्दै सडकमा प्रधानमन्त्रीको जयजयकार किन ? भन्दै आइरहेका प्रश्नको भने जवाफ स्वयमः प्रदर्शनकारीसँग समेत छैन ।

  • नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

    भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने भन्ने अफवाह मात्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशको बारेमा मात्र सचेत रहेको बताएका थिए । यसअघि प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भइरहेको बताएको थिए ।

    नेताहरुले भने यसलाई ओलीको सत्ता जोगाउने कार्ड मात्र भएको बताएका छन् । शीतल निवासको छलफलपछि प्रचण्ड ओलीसँग निर्णायक वार्ताका लागि भन्दै प्रधानमन्त्री निवास गएका थिए । प्रचण्ड र ओलीबीच दुई दुई जना दोस्रो तहमा नेतासमेत सहभागी थिए । ओलीको साथमा शंकर पोखरेल र विण्णु पौडेल तथा प्रचण्डको साथमा जनार्दन शर्मा र वर्षमान पुन सँगै थिए ।

    यो वार्तामा सोमबारको स्थायी समिति बैठक अगाडी पुनः सहमतिको प्रयास गर्ने सहमति भएको छ । तर, दुबै नेता आफ्नो अडानमा अडिग रहेपछि सोमबार समेत सहमति हुनेमा भने आशंका जारी नै छ । आइतबार नै प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेता सुवास नेम्बांग काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगे ।

    उक्त भेटमा संवैधानिक निकायमा नियुक्तिको विषयमा कुराकानी भएको बताइए पनि सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने र देउवासँग मिलेर अर्को सरकार गठन गर्ने गरी ओलीको प्रस्ताव देउवासँग पुगेको समेत स्रोतको दावी रहेको छ ।

    यसले आइतबार पनि आशंका र अफवाहका बीच छलफल टुगिंएका छन् । तर, नेकपाको सन्दर्भमा अब के हुन्छ भन्ने सम्बन्धमा भने आइतबार कुनै निष्कर्ष आएन । छलफल सोमबार निर्णायक हुने नेताहरुको दावी रहेको छ ।

  • प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

    प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्रीका पछिल्ला गतिविधिले आफ्नो स्वार्थका लागि पवित्र संस्थाहरुलाई विवादमा तान्ने प्रयास भइरहेको संकेत गरेका छन् । राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गर्दै उक्र संस्थालाई विवादमा तान्ने काम भएको उनको भनाई छ ।

    टुइटमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र भएको बताएका थिए ।

    उनले अब पार्टी विभाजनको संघारमा पुगेको संकेत गर्दै कित्ताकाटका तयार रहन समेत आग्रह गरेका थिए । प्रवक्ता श्रेष्ठले भनेका छन्, राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

    राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था भएको भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

  • नेकपा स्थायी समिति बैठक स्थगित

    नेकपा स्थायी समिति बैठक स्थगित

    काठमाडौं । शनिबारका लागि डाकिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठक सोमबारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)लाई आन्तरिक परामर्श गरी विवाद मिलाउन नेताहरुले आग्रह गरिरहेका छन् ।

    यसक्रममा शुक्रबार दुई नेताबीच तीन घण्टा छलफल भएको थियो । आज दुबै अध्यक्षबीच फेरी छलफल गर्ने बताइएपनि छलफल भने हुन सकेन । बरु स्थायी समिति बैठक नै स्थगित गरिएको छ ।

    शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबारको छलफल बीना निष्कर्ष टुगिएको थियो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने निष्कर्षमा छन् । प्रधानमन्त्री भने दुबै पद नछाड्ने अडानमा छन् ।

  • हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

    हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

    काठमाडौं । नेपाली सेनाको दुई सैनिक अधिकृतमाथि बर्खास्तीको कारवाही गरेको छ । सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गर्ने आदेश गरेको हो । आफुभन्दा माथिल्लो पदका कमाण्डरको लिखित आदेश अवज्ञा गरेपछि उनीहरु सैनिक ऐनअनुसार कारवाहीमा परेका हुन् । एक जना जर्नेल र एक जा कर्णेल बर्खास्तीमा परेका छन् ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएअनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई कारवाहीको फैसला गरेको हो । सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस भएको निर्देशनालयले उल्लेख गरेको छ ।

    दुई अधिकृतले सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गरिएको सैनिकको भनाई छ ।

    यद्दपी कसुर के थियो भन्ने चाही खुलाइएको छैन । सेनाले पद्दति तथा प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

  • नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे ।

    छलफलमा नेताहरुले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई एकता प्रक्रियामा प्रभाव नपर्ने गरी नेतृत्वसँग सहमति गनए सुझाव दिएका थिए । सत्ता संकटमा परेपछि पछिल्ला केही दिन प्रधानमन्त्रीले दौडधुप बढाएका छन् । बुधबार नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यको समेत छुट्टै भेला भएको छ ।

    उनीहरु ललितपुरको एक होटलमा भेला भएका हुन् । बिहीबार बस्ने स्थायी समितिमा बनाउने रणनीतिबारे छलफल गर्न यो भेला भएको बताइएको छ । भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत नेता पुगेका छन् । नेकपाको बैठक असार १३ गतेदेखि जारी छ ।

    मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीको पद संकटमा परेको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा एक कार्यक्रममा आफूलाई भारतको इसारामा हटाइन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध पार्टी भित्रै आलोचना शुरु भएको हो । स्थायी समिति बैठक बिहीबार समेत बस्नेछ ।

  • योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    काठमाडौं । नेकपा भित्रको अन्तरसंघर्षका कारण संकटमा परेको सरकारका एक मन्त्री योगेश भट्टराईले पुनः एक पटक आस्थामा भरोसा गर्दै आजको दिन राम्रो हुने कामना गरेका छन् । सामाजिक संजालमा स्टाटस राख्दै योगेशले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन्, बुधबारलाई अलि बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सहि दिशामा मोडिनेछ, धन्यवाद ।’

    उनको यो स्टाटसलाई धेरैले रहस्यमय मानेका छन् । बुधबार नै प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालिसकेका छन् । उता, नेकपा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनाामा दिन सबैजसो शीर्ष नेताले आग्रह गरिसकेका छन् । पार्टीले नै राजिनामा मागेको सन्दर्भमा अझ उनी कमजोर हुने निश्चित छ ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् ।

    प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु नै लागेको गम्भीर आरोप लगाएका थिए । धेरैले यसलाई सत्ता बचाउने भारतीय कार्डका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका थिए ।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्षनेताले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको अभिव्यक्तिका कारण अन्य विषयमा प्रवेश नै नभएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको भन्दै राजिनामा भारतले नभई पार्टीले माग्ने उल्लेख गरे । उनले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको भन्दै यस्तो अभिव्यक्तिबाट नेपाल अझै पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश विश्वभर जाने उल्लेख गरे ।

    उनले पार्टीका नेतामाथि प्रधानमन्त्रीबाट भएको अविश्वासको समेत समिक्षा हुनुपर्ने उल्लेख गरे । उता, आजको बैठकमा सोमबार निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको सम्बन्धमा समेत चर्चा भएको छ ।

    झापाका मान्छेले यस्तो दल दर्ता गरेका कारण पनि धेरैले यसलाई ओलीकै षडयन्त्रका रुपमा हेरेका छन् । मंगलबार आफुविरुद्ध उठेका प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्रीले भने भारतको विरोध गर्दा पार्टीका नेताको चित्त दुखेको भन्दै आलोचना गरेका थिए ।

    उनले भारतीय मिडियामा आएको पक्षलाई मात्र आफुलाई उल्लेख गरेको उनको स्पटोक्ती थियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको बारे भने आफू अनविज्ञ रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकार संचालनमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

    ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालको आरोप थियो । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै उनको तिब्र आलोचना गरेका थिए ।

    ओलीलाई पार्टी भन्दा गुट चाहिएको भन्दै उनको सोही प्रवृत्ति नै पार्टी र सरकारका लागि समस्या भएको उल्लेख गरे । उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् ।

  • इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

    इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएको छ । इराकको राजधानी बग्दादमा ६ महिना अगाडी ड्रोन आक्रमणमा परी आफ्ना सैन्य कमान्डर मारिएको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रपति ट्रम्पसहित तीन दर्जनविरुद्ध इरानले पक्राउ पूर्जी जारी रहेको हो ।

    उनको हत्या ट्रम्पको योजनामा भएको आरोप इरानको छ । त्यसो त अमेरिकी सैनिकले ड्रोन प्रहार गरी इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो । यस अभियोगमा पक्राउ पूर्जी जारी भएका अन्यको भने नाम सार्वजनिक भएको छैन ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको राजधानी तेहरानका अली अलकासिमेहरले कुदृस फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आरोपसहित पक्राउ पुर्जी जारी गरिएको जानकारी गराएका छन् ।

    ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्ध मुद्दा चल्ने मिडिया रिर्पोटमा उल्लेख गरिएको छ । जनवरीमा भएको यो घटनापछि इरानले आफ्ना सर्वोच्च सैन्य कमाण्डर गुमाएको थियो । एजेन्सी