३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Category: रोचक खवर
-

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध
एजेन्सी
२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ।‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको रूपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरूलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर ५ मा सूचित गरिएको र उनीहरूको पहुँच समाप्त गरिएको थियो। त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरूलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरूबाट पनि अलग गरेका छन् ।
नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टि गर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमित गर्न ‘आन्तरिक कारबाही’ गरेको बताए । उनले प्रतिबन्धहरू संवेदनशील कामहरूको सुरक्षाका लागि आवश्यक थिए। द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरूको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरूमा धेरै जासुसी घटनाहरू चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।
एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्यो भन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो । फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोस्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरू शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताए ।
अमेरिकी रक्षा अधिकारीहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन्। स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरू तीव्र पारेको छ ।चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको छ। -

हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ
२२ भदौ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए । अदालतले २० वर्ष जरिवाना सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरेको ब्यूरोले जनाएको छ ।
-

काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ
११ भदौ, काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौँ महानगरपालिका–३१ का ५४ वर्षीय गोपाल तण्डुकार, रामेछाप, शैलुङ दोरम्बा गाउँपालिका–७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौँ महानगरपालिका–२४ का ५० वर्षीय सानुकाजी महर्जन तथा काठमाडौँ महानगरपालिका–१८ का ४५ वर्षीय राजु नापित रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवातास खेलाइ रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख २१ हजार रुपैयाँ नगद र दश बुक ताससहित पक्राउ गरेको हो ।” पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रवक्ता बोहराले बताए ।
-

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै
२६ साउन, काँक्रेबिहार । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्साङ्कनका आधारमा करिडोर बन्ने भएको हो ।
कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर राउटे बसोबास गर्छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एकवर्षे कार्यप्रगति सार्वजनिक गर्दै राउटेको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा राउटे करिडोर स्थापना गर्न लागिएको बताए ।
राउटे बसाइँ सर्ने क्षेत्र समेटेर बनाइने करिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उनले बताए ।
यस्तै राउटे समुदायका बालबालिकालाई शिक्षाको अवसरतर्फ अग्रसर गराउन आवश्यक सामग्री विकास गरी वितरण गर्नेदेखि आवश्यक क्षमता विकासका कार्यक्रम राउटे करिडोरमार्फत गरिनेछ । करिडारमार्फत राउटे समुदायको संरक्षण गर्न समानुकूल कानुनी प्रबन्धसमेत गरिनेछ ।राउटे समुदाय नेपालको मौलिक सांस्कतिक सम्पदा उल्लेख गर्दै मन्त्री भण्डारीले उनीहरूको संरक्षण र सशक्तीकरणमा राज्य तथा समाज दुवैको साझा जिम्मेवारी भएको बताए । आधुनिक शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको पहुँच अत्यन्त न्यून भए पनि राज्यले भत्ता, स्वास्थ्य जाँच र जीवनस्तर सुधारका विभिन्न कार्यक्रममार्फत उनीहरूलाई समावेश गर्न प्रयास गरिएको भए पनि उनीहरूको परम्परा तथा स्वतन्त्रताको सम्मान गरी विकासको मार्ग तय गर्न चुनौतीपूर्ण रहेको उनले बताए ।
गत आर्थिक वर्षमा उनीहरूलाई आवश्यक लत्ताकपडा, त्रिपाल, खाद्यान्न सामग्रीलगायतका सहायता उपलब्ध गराइएको उल्लेख गर्दै विभिन्न गैरसरकारी सङ्घसंस्थासँगको समन्वयमा राउटेलाई मूल प्रवाहीकरणमा ल्याउने प्रयास भइरहेको मन्त्री भण्डारीले बताउनुभयो । यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने भण्डारीले बताए ।राउटेको मुख्य जीविकोपार्जन काठका सामग्री बनाएर विनिमय प्रणालीमार्फत अन्न वा अन्य सामग्री प्राप्त गर्नु हो । कृषि, पशुपालन वा स्थायी रोजगारीमा उनीहरूको संलग्नता छैन । उनीहरू आफ्नै भाषा बोल्छन् । मौखिक परम्परा र नृत्य, गीतमार्फत सांस्कृतिक अभिव्यक्ति गर्ने यस समुदायको नेतृत्व मुखियाले गर्छन् । कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटेको हालको सङ्ख्या १३५ छ ।
-

सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला
१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । रहस्यमयी तरिकाबाट हराएका उनीहरुका आज दिनभर खोजतलास गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।
सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको थियो । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् । स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझेसँगै आज उनीहरुको खोजि गरिएको थियो । हायु सिमान्तकृत समुदायमा पर्छ । उनीहरुले केही दिन अगाडी मात्र सरकारले दिने सामाजिक भत्तावापत एक वर्षको ८ लाख भन्दा बढी रकम बुझेको समेत खुलेको छ ।
यी हुन वेपत्ताहरु
१. उर्मिला हायू -आमा-५२ वर्ष२. कमला हायू -छोरी-२७ वर्ष
३. कोमल माया हायू -बुहारी-२३ वर्ष
४. उषा हायू -छोरी-२२ वर्ष
५- सुजता हायू -छोरी-२२ वर्ष
६. अस्मिता हायू -छोरी-१८ वर्ष-
७. शान्ता हायू -छोरी-१२ वर्ष
८. राजु हायू -छोरा-२९ वर्ष
९. हिमाल हायू -छोरा-२४ वर्ष
१०. लालबहादुर हायू -छोरा-१६ वर्ष
११. बेगबहादुर हायू – छोरा-१४ वर्ष
१२. लक्की हायू -छोरा-११ वर्ष
१३. सुवर्ण हायू -छोरा-१२ वर्ष
१४. ओमकुमारी हायू -छोरी-१० वर्ष
१५. अर्जुन हायू -नाती-१ वर्ष
१६. रियासा हायू -नातिनी-४ वर्ष
-

प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने
८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको छ । सबै कार्यालयमा परिपत्र पुगेको बताइएको छ ।
आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको प्रहरीको भनाई छ । केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा आइजिपी दीपक थापाले यस विषयमा सहमति जनाएका थिए । साथै आरोपित सबै व्यक्ति दोषि नहुने भएकाले समेत यसले उनीहरुको प्रतिष्ठामा असर पुग्ने गरेको छ ।
-

संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….
८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए ।
सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिनुभएको मुख्य सचेतक बर्तौलाले बताए । सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिए ।
-

प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर
७ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल हरेक दिन जसो जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनःबैठकमा आउने गर्छन् । कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए । “सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उनले भने ।
-

ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए
३० जेठ, ओखलढुङ्गा । यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए ।
जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ । ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।
-

विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
२० जेठ, काठमाडौं । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । “थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ”, भन्सारले भन्यो ।
कुनै विवरण सार्वजनिक नगरिएका ती यात्रुसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर पाँच एसियाली कछुवा पनि थिए । यी भाइपर विषालु हुन्छन् तर सामान्यतया चराहरू जस्ता साना शिकारलाई मात्र लक्षित गर्दछन् । मुम्बई भन्सारले जफत गरिएका सर्पहरूका तस्बिरहरू जारी गरेको छ । तस्बिरमा बाल्टिनमा घुमिरहेका नीलो र पहेँलो सरीसृपहरू समावेश छन् ।
सर्पहरू मुम्बईमा अपेक्षाकृत असामान्य कब्जा हो । भन्सार अधिकारीहरूले नियमित रूपमा तस्करी गरिएको सुन, नगद, गाँजा वा यात्रुहरूले निलिएका कोकेनको संदिग्ध गोलीको तस्वीरहरू पोस्ट गर्छन् । तर, फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँचवटा सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरद्वारा खतरामा परेका रूपमा सूचीबद्ध ती साना जीवहरूलाई यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको टोकरीमा ‘चलाखीपूर्वक लुकाएर’ राखिएको भन्सार अधिकारीहरूले बताए ।
नोभेम्बरमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आइपुगेका विमानहरूमा १२ वटा कछुवा र एक महिनाअघि चारवटा हर्नबिल चराहरू बोकेका यात्रुलाई समातेका थिए । सेप्टेम्बरमा, अलिगेटर परिवारमा पर्ने एउटा सरीसृप, पाँच किशोर कैमन्ससहित दुई यात्रुहरूलाई पक्राउ गरिएको थियो ।
-

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी
एजेन्सी
१८ जेठ, काठमाडौं । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरू एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ । पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् ।
-

जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का
एजेन्सी
९ जेठ, टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् । प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् । “गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए”, टोकियो प्रहरीका प्रवक्ताले भने ।प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजाय सम्बन्धी कानूनको उल्लङ्घन’ को आशङु्कामा पक्राउ गरेको थप विवरण नदिई प्रवक्ताले बताए । मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए । रिपोर्टहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका थिए । ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशङ्कामा पक्राउ गरिएको पनि मिडियाले बताएका छन् । कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो ।
-

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा
एजेन्सी
८ जेठ, काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।” चामल अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले जापानमा ठूलो असर पारेको छ । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।कारकहरूमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठूलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि समावेश छ । सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ । इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए ।
खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गरे । “अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो । म उहाँबाट समाधानको अपेक्षा गर्छु”, इसिबाले मङ्गलबार पत्रकारहरूलाई भने । विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएको बताइएको छ, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ ।सोमबार इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोजेका थिए । “उनले मलाई भनिन् कि जब हाम्रो दान गरिएको चामलको भण्डार समाप्त हुन्छ उनी चामल किन्न जान्छिन्”, इटोले भने, “यस्तो होइन कि हाम्रो परिवार पूर्ण रूपमा हामीलाई उपहार दिइएको चामलमा जीवन बिताइरहेको छ ।”

तर बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको भन्दै आत्मसमर्पण गरे । पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उहाँको राजीनामा स्वीकृत गरेको’ बताए । “म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो”, इसिबाले भने, “चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन तर संरचनात्मक हो भन्ने मलाई लाग्छ । हामीले यसबारे पूर्ण छलफल गर्नुपर्छ र अवश्य पनि ती .चामलको मूल्य) घट्नुपर्छ ।”
इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडिया–प्रेमी पूर्ववातावरण मन्त्री एवं लोकप्रिय पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिए । ४७ वर्षीया कोइजुमीले ‘चामलको बढ्दो मूल्यबीच बलियो नेतृत्व’ प्रदर्शन गर्ने अपेक्षा गरेको उनले बताए । टोकियोको एउटा रेस्टुरेन्टमा काम गर्ने ६८ वर्षीया मतदाता क्योको सातोले इटोको टिप्पणीबाट ‘स्तब्ध र निराश’ भएको बताए ।
“मेरा लागि घरमा आइतबारको खानाका लागि मसँग चामलको एउटा मात्र भाग छ । मलाई चामल किन्नु पर्छ तर चामलको मूल्य पहिलेभन्दा दोब्बर छ”, उनले भने, “म हप्ताको दिनमा रेस्टुरेन्टमा कामदारहरूका लागि खाना खाएर जीवित छु । म पेन्सनभोगी हुँ तर मेरो पेन्सनले मात्र पुग्दैन, त्यसैले मलाई काम गर्नु पर्छ ।
-

प्रधानमन्त्रीलाई बालेनको जवाफ : म तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शमा ओली लक्षित कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र दिवस, मूल समारोह समितिमा नगएपछि प्रधानमन्त्री ओलीले बालेनको नाम समितिबाट हटाउन निर्देशन दिएका थिए ।
त्यसको प्रतिउत्तरमा बालेनले स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आइ डन्ट सर्पोट योर करप्ट सिस्टम ।’ उनको यो स्टाटससँगै महानगरमा एमाले बालेन द्धन्द्ध अझ बढ्ने स्पष्ट देखिएको छ ।
-

देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध हुँदा मोवाइलको बत्तिमा बैठक चलाउनु परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ । बैठकमा सहभागी सांसदहरुका अनुसार विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको हो ।
अबेरसम्म उपसमितिमा शिक्षा विधेयकबारे छलफल भएको थियो । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ । उता नेपाल विद्युत प्राधिकरणले बिहीबार भारतका कारण बिजुली अवरुद्ध भएको स्पष्टीकरण दिएको थियो । तर, सोही समस्या आज पनि दोहोरिएपछि सामाजिक संजालमा सरकार र प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।
-

काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला
१ जेठ, काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।
उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पु¥याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ । -

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता : ट्रम्प
३१ वैशाख, काठमाडौं । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए ।
कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने राष्ट्रपति ट्रम्पले बताए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेटको डेलिभरीमा धेरै ढिलो हुने सङ्केत गर्दै लेखेका छन्, “बोइङ ७४७ अमेरिकी वायु सेना, रक्षा मन्त्रालयलाई दिइँदैछ, मलाई होइन । यो एउटा राष्ट्र कतारको अमेरिकालाई उपहार हो, जसलाई हामीले वर्षौँदेखि सफलतापूर्वक प्रतिरक्षा गर्दै आएका छौँ । यसलाई हाम्रो सरकारले नयाँ बोइङहरू नआउँदासम्म अस्थायी एयर फोर्स वनको रूपमा प्रयोग गर्नेछ ।”
उनले भने, “हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् किन करोडौं डलर खर्चिनुुपर्यो ।” उनले भने, “हामीलाई राम्रो कामको लागि जसले इनाम दिन चाहन्छ। त्यो नस्वीकार्ने मूर्खले मात्र हो ।” द हिलका अनुसार कतारको शाही परिवारले संयुक्त राज्य अमेरिकालाई उपहारको रूपमा प्रस्ताव गरेको विमानको मूल्य ४० करोड अमेरिकी डलर अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपतिले कतारबाट उपहारस्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायबाट सामाजिक सञ्जालमार्फत् उक्त निर्णयप्रति आश्चर्य व्यक्त गर्दै निर्णयको आलोचना गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एयर फोर्स वानका रुपमा सेवा गर्न उपहारस्वरुप स्वीकार गर्ने सम्बन्धी कानूनी विवरणलाई अन्तिम रुप दिन लागिएको सोमबार पुष्टि गरेकी थिइन् । लेभिटले सरकारलाई कुनै पनि प्रकारको चन्दा वा उपहार कानूनको पूर्ण पालना गर्दै स्वीकार गरिने बताइन् । सीएनएनले उनलाई उद्धृत गर्दै दिएको रिपोर्टमा भनिएको छ, “सरकारलाई आउने कुनै पनि सहयोग जहिले पनि कानूनको पूर्ण पालनामा गरिन्छ।”
-

अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ
एजेन्सी
३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट ठूलो संशोधन हो । रेडबाउड युनिभर्सिटीको अनुसन्धान पेपरले जर्नल अफ कोस्मोलोजी र एस्ट्रोपार्टिकल फिजिक्समा प्रकाशित गरेको छ । “ब्रह्माण्डको अन्तिम अन्त्य अपेक्षाभन्दा धेरै चाँडै आउँदैछ तर सौभाग्यवश यसले अझै पनि धेरै लामो समय लिन्छ”, प्रमुख लेखक हिनो फाल्केले भने ।
रेडबाउडका तीन वैज्ञानिकले सबैभन्दा ‘टिकाउ’ खगोलीय पिण्डहरू – सेतो पुड्का ताराहरू – अन्ततः कहिले मर्नेछन् भनेर गणना गर्न सुरु गरे । उनीहरूले आफ्नो गणना प्रसिद्ध ब्रिटिश भौतिकशास्त्री स्टिफन हकिङको नाममा राखिएको हकिङ विकिरणमा आधारित गरेका थिए । सन् १९७० को दशकको मध्यमा हकिङले ब्ल्याक होलले विकिरण चुहावट गर्छ, विस्तारै एक गिलास पानीमा एस्पिरिन जस्तै घुलनशील हुन्छ–जसले तिनीहरूलाई एक सीमित जीवनकाल दिन्छ भन्ने धारणा राखेका थिए । रेडबाउडका वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डका अन्य वस्तुहरूमा विस्तार गरे र ‘वाष्पीकरण समय’ घनत्वमा निर्भर गर्दछ भनी गणना गरे ।यसले उनीहरूलाई सबैभन्दा लामो जीवित रहने पिण्ड सेतो पुड्को ताराको सैद्धान्तिक विघटन गणना गर्न सक्षम बनायो । “यस्ता प्रश्नहरू सोधेर र चरम मामिलाहरू हेरेर हामी सिद्धान्तलाई राम्रोसँग बुझ्न चाहन्छौँ र शायद एक दिन हामी हकिङ विकिरणको रहस्य उजागर गर्न सक्छौँ”, सह–लेखक वाल्टर भान सुइजलेकोमले भन्नुभयो, “मानवजातिले ब्रह्माण्डको अन्त्यबारे धेरै चिन्ता गर्नु पर्दैन ।
हामी पृथ्वी ग्रहबाट नभागुन्जेलसम्म केही हुँदैन ।” वैज्ञानिकहरू हाम्रो सूर्य लगभग एक अर्ब वर्षमा समुद्रहरूलाई उमाल्दै जीवनका लागि अति तातो हुनेछ भन्ने सोच्छन् । लगभग आठ अर्ब वर्षमा हाम्रो तारा अन्ततः पृथ्वीतिर विस्तार हुनेछ, अन्ततः हाम्रो बाँझो र निर्जीव ग्रहलाई डुबाएर यसलाई आगोको मृत्युमा परिणत गर्नेछ ।
-

बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी
रासस
२९ वैशाख, जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए ।साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । “खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ । परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने ।
-

न्युजिल्यान्डमा मान्छे भन्दा भेडाको संख्या बढी
२६ वैशाख, न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ । यो सत्य होः यो देश विश्वका केही देशमध्ये एक हो जहाँ अझै पनि मानिस भन्दा बढी भेडाहरू छन् । तर मङ्गलबार सार्वजनिक गरिएको नयाँ तथ्याङ्कहरूअनुसार मानिसहरूले उनीहरूलाई भेट्दैछन् ।
सरकारी तथ्याङ्क निकायको तथ्याङ्कअनुसार दुई करोड ३६ लाख भेडा र ५३ लाख मानिसको जनसङ्ख्या भएको देशमा प्रत्येक न्युजिल्यान्डवासीका लागि करिब ४.५ भेडा छन् । यो सन् १९८२ मा प्रतिव्यक्ति २२ भेडाबाट घटेको हो । त्यसबेला मासु र ऊनका लागि भेडापालन न्युजिल्यान्डको सबैभन्दा ठूलो आम्दानीको स्रोत थियो ।
अब सिन्थेटिक फाइबरहरूतर्फको विश्वव्यापी बदलावले ऊनको मूल्यमा आएको वर्षौंको गिरावटले किसानहरूलाई आफ्नो जमिनमा के गर्ने भन्ने कुरा परिवर्तन गर्न बाध्य पारेको क्षेत्रको सबैभन्दा ठूलो लबी समूहले बताएको छ । भौगोलिक क्षेत्रफलका हिसाबले न्युजिल्यान्ड बेलायतको आकारको लगभग समान छ, तर यसको जनसङ्ख्या बेलायतको भन्दा १३ गुणा कम छ । यसको अर्थ भेडाहरूका लागि प्रशस्त ठाउँ छ ।
करिब एक सय ५० वर्षसम्म भेडापालन उद्योग न्युजिल्यान्डको अर्थतन्त्रको मेरुदण्ड थियो र सङ्ख्या बढ्दै गयो । सन् १९८२ मा चरमोत्कर्षमा पुगेको थियो जतिबेला ७० लाखभन्दा बढी भेडा र ३२ लाख मानिस थिए । ‘लर्ड अफ द रिङ्ग्स’ ले देशमा पर्यटकहरूको लहर ल्याउनुअघि हिउँले ढाकेका पहाडहरूको पृष्ठभूमिमा शान्त भेडाहरू भएका हरियो खेतहरूको चित्रणले देशको विदेशी बजारीकरणमा प्रभुत्व जमाएको थियो ।
तर त्यसयताका वर्षहरूमा विश्वव्यापी ऊनको मूल्यमा आएको गिरावट र हालैका तेजीका बावजुद राष्ट्रिय बथान क्रमिक रूपमा घटेको छ । अहिले डेरी उद्योगले न्युजिल्यान्डको कृषि र बागवानी–प्रधान निर्यात बजारको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।
सन् २०२३ मा सरकारी निकाय स्ट्याट्स एनजेडले न्युजिल्यान्डले सन् २०२२ मा पहिलो पटक प्रतिव्यक्ति पाँचभन्दा कम भेडाको सङ्ख्या भएको बताएको थियो । सन् २०२४ जुनसम्मका पशुधन सङ्ख्या रेकर्ड गरेको राष्ट्रिय बथानले मङ्गलबारको आँकडामा थप १० लाख भेडा गुमाएको थियो ।
क्षेत्रीय लबिङ समूह फेडरेटेड फार्मर्सका प्रवक्ता टोबी विलियम्सले भेडा किसानहरू डेरी वा कार्बन अफसेट बेच्नका लागि खेतीबाट पाइन वनमा जमिनको रूपान्तरण गर्दै अधिक फाइदाजनक व्यवसायतर्फ बदलिएको बताए । “यदि म साँच्चै इमानदार हुँ भने, ऊन उद्योग लगभग त्यो टिपिङ्ग पोइन्टमा छ, यदि पहिले नै छैन भने, अब ऊन उद्योग नहुने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो ।
सरकारले घट्दो सङ्ख्यालाई कम गर्नका लागि उपायहरू तयार गरेको छ । यसमा सन् २०२४ मा उनीहरूले कार्बन वनमा रूपान्तरण गर्न सकिने खेतीयोग्य जमिनको सीमा तोक्ने घोषणा समावेश छ । अप्रिलमा सुरु गरिएको नयाँ सरकारी खरिद निर्देशिकामा नयाँ निर्माण वा पुनर्निर्माण गरिएका सार्वजनिक भवनहरूमा न्युजिल्यान्डको ऊन उत्पादनहरू – जस्तै कार्पेट र इन्सुलेशन – को प्रयोग गर्न आग्रह गरिएको छ । तर ती उपायहरूले घट्दो भेडाको सङ्ख्या रोक्ने अपेक्षा गरिएको छैन ।
केही भेडापालन गर्ने देशले यस्तै प्रवृत्ति देखिरहेका छन् । न्युजिल्यान्डवासीहरूको बारेमा धेरैजसो भेडा ठट्टाहरूको स्रोत रहेको छिमेकी अस्ट्रेलियामा पनि मानिसभन्दा बढी भेडाहरू छन्, तर त्यहाँ पनि राष्ट्रिय बथान घट्दै गएको छ । अन्तर पाताले छः अस्ट्रेलियामा प्रतिव्यक्ति करिब तीन भेडा छन् ।
राससको सहयोगमा -

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन
१६ वैशाख, टोकियो । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो । सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको २६ अप्रिलका दिन गिफु प्रान्तको आफ्नो गृहनगर टोकीको एक अस्पतालमा निधन भएको हो ।
गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उहाँ देशकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् । हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेका छन् ।
-

मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता
१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
-

पीके क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार विजयी
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु चुनावमा नेविसंघको विद्रोही समूहको प्यानल विजयी भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ । पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए । उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीकी प्रजिता दर्नाल सभापतिको उम्मेदवार थिइन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार थिए ।
उनीहरु सबैलाई भुपीको प्यानलले हरायो । पद्मकन्यामा नेविसंघको दबदबा छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् ।
-

मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो
काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरेका हुन्। ओझाले ४०७ मत प्राप्त गरेका छन। उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छन्। सागरले ४२२ मत पाउँदा संस्थापनकी शान्ति लिम्बूले ३९१ मत पाएकी थिइन्।
गएको जेठमा सागर थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने कमिटीमा लिम्बू संयोजक थिइन्। सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याएर विजयी बन्दा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन्। उपसचिवमा सन्तोष वान्तावाले ४९० मत पाएर विजयी भएका छन्। संस्थापनका इरजा लाल राजबंशीले ३११ मत पाएका छन्। उपसचिवमा उषा झा विजयी भएकी छन्। उनले ४१८ मत र संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाएकी छन्।
-

प्रधानमन्त्रीलाई हिटलर भनेकोमा दुई पत्रकारको पास निलम्बन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो । संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय संसद सचिवालयको आरोप छ।
सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा तानाशाह र हिटलरजस्ता अमर्यादित शब्द प्रयोग गरेका थिए । संसद्का महासचिवको निर्णयअनुसार उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ । प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत छन् ।
-

प्रधानमन्त्री भन्छन् : मलाई किन सम्पति चाहियो ? दुईरोटी र अलिकति दाल खाने हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे ।
“हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । हामीले खोलायौँ । अहिले तिनैले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् ।”, प्रधानमन्त्री ओलीले भने, “स्वतन्त्रताका नाममा देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।
”प्रजातन्त्र दिवसको बिदामा स्काईवाक टावर माथि प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैँकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, “मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवा खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।”
उनले सुशासनबाट मात्रै हामी समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटो छरितोरूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए ।
-

धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा
काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ। धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ ।
उर्जामापक यन्त्र ९मिटर०मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्युतको लाइन तानेमा वा जडान गर्ने ९हुकिङ०, मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पु¥याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउलेलगायतका कार्य गरेमा विद्युत् चोरीको कसूर गरेको मानिने कानूनी व्यवस्था छ । चोरीमार्फत अनाधिकृत र असुरक्षित रुपमा विद्युत्को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुनेगरेको छ ।
प्राधिकरणले विद्युत्को पहुँच विस्तार र अनाधिकृत रुपमा हुने विद्युत् प्रयोगलाई रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन ।
धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत चोरी सामाजिक अवराध भएकाले यसको नियन्त्रणका लागि प्राधिकरणकातर्फ गर्नु पर्ने प्राविधिक कामहरुलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइएको जानकारी दिए । घिसिङले विद्युत् नै नपुगेका ठाउँहरुको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरुलाई विद्युत् पुर्याउन पहाडको टुप्पोदेखि मधेशका फाँट, कर्णाली र सुदूरपश्चिमका बिकटबस्तीहरुमा विद्युतीकरणको अन्तिम चरणका कामहरु चलिरहेको बताए ।
‘उज्यालो अभियानअन्तर्गत देशभित्र विद्युत खपत बढाउन विद्युत् पुगका ठाउँमा आपूर्तिलाई भरपर्दोे र गुणस्तरीय बनाउन र नपुगेका विकट ठाउँमा विद्युत् पुर्याउ प्राथमिकताकासाथ काम गरिरहेका छौं, कर्मचारीलाई तलब नखुवाएरै भएपनि घरघरमा विद्युत् पुर्याउने छौं’,घिसिङले भने ‘नेपालको खाद्यान्य भण्डारको रुपमा रहेको तराईका खेत खेतमा विद्युत् पुर्याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ,यसका लागि स्थानीय तहहरुसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं ।’
उनले कृषि र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरुमा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण लागि करिब ४० अर्ब रुपैयाँ लगानीका विभिन्न आयोजनाहरुको काम भइरहेको उल्लेख गरे ।
सिँचाइ र ग्राहस्थतर्फको विद्युतीकरणमा धेरै काम भएको उल्लेख गर्दै नगरपालिका प्रमुख मण्डलले खाना पकाउने ग्याँसलाई विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रममा विद्युत् चोरी सामाजिक अपराध भएको सन्देश दिने नाटक प्रस्तुत गरिएको थियो ।
मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०८१र८२को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४।२० प्रतिशत छ । चालू आवमा मधेश प्रदेशको विद्युत् चुहावट ११।९ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।
प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । ८ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।
-

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो
काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ ।
अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो ।
ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा बन्द छन् । सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो । त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो ।
यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ । यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ । सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो । लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो ।
यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो । तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ ।
त्यसपछि इमरान खानले अल कादिर ट्रस्ट बनाएका थिए । यसमार्फत् तालिम दिका लागि अल कादिर विश्वविद्यालय बनाइएको थियो । त्यसका लागि अरबौं मूल्य बराबरको जग्गा व्यवसायी रियाजले दिएको बताइएको छ । उनले इमरान पत्नी बुशरालाई हिराको औंठी पनि दिएका थिए । त्यसपछि रियाजविरुद्धका मुद्दा खारेज गरिदिएको आरोप इमरान माथि लगाइएको छ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्, ‘यसबाट सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान भएको छ । चार वर्ष भइसक्दा पनि यो विश्वविद्यालयमा केबल ३२ विद्यार्थी छन् ।’
-

भिआइपीको स्वागत र बिदाईमा अब लामो लर्को नलाग्ने व्यवस्था गरिँदै
काठमाडौं । अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ । गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका क्रममा प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष उपस्थित हुनुपर्ने छैन ।
मौजुद कार्यविधिको दफा ३ संशोधन गरेर सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको उपस्थिति हटाइएको हो । राज्यका तीन अङ्गमध्ये अहिले पनि न्यायपालिका प्रमुख (प्रधान न्यायाधीश) यस्ता बिदाइ तथा स्वागतमा उपस्थित हुने व्यवस्था छैन । व्यवस्थापिका प्रमुखलाई पनि कार्यविधि संशोधन गरेर सूचीबाट हटाइएको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन तथा स्वागत तथा बिदाइ कार्यक्रमलाई भिडभाडरहित बनाउन भन्दै सरकारले कार्यविधि संशोधन गरेको हो । संशोधित कार्यविधि मन्त्रालयले आन्तरिक परिपत्र गरिसकेको छ ।
संशोधित व्यवस्था अनुसार राष्ट्रपति विदेश जाँदा वा फर्कंदा भिभिआइपी कक्षमा अब उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव उपस्थित हुनुपर्ने छ । यस्तै दुवै प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक र परराष्ट्रका शिष्टाचार महापाल उपस्थित हुनुपर्ने छ ।
यस्तै उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कंदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव र परराष्ट्रका शिष्टाचार महापालको उपस्थिति विशिष्ट कक्षमा हुने छ । बिदाइका क्रममा कारकेडसम्म जाने सुविधा भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उपराष्ट्रपति कार्यालयका सचिवलाई मात्र हुने छ ।
यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किंदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थिति विशिष्ट कक्षमा हुने छ । यस्तै नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापतिको पनि उपस्थिति विशिष्ट कक्षमा हुने छ । परराष्ट्र र सञ्चार मन्त्रालयका सचिव, दुवै प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक पनि विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने छ ।
शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोग प्रमुख पनि प्रधानमन्त्रीको बिदाइका क्रममा उपस्थित हुन सक्ने छन् । मिनी कारकेडसम्म उपस्थित हुने अधिकार भने कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव र शिष्टाचार महापाललाई हुने कार्यविधिमा उल्लेख छ ।
