Category: रोचक खवर

  • रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना

    रुसले गुगललाई लगायो हिसावमा गन्नै नसकिने रकम जरिवाना

    काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २।५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।


    अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ । रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए ।

    रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए । रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ । यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।

  • नेपालले कतारलाई हात्ती उपहार दिने

    नेपालले कतारलाई हात्ती उपहार दिने

    काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

  • भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

    भारतले किन निकाल्यो क्यानडाका कुटनीतिज्ञ

    काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको समाचार सार्वजनिक भएको छ । यसका साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ ।

    क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको छ । क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ । क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो ।

    भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    सोमबार बेलुका भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । हामीलाई क्यानडाको वर्तमान सरकारप्रति कुनै भरोसा छैन । त्यहीभएर भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई भनिसकेका छौं कि ट्रुडो सरकारले जसरी भारतविरुद्ध अलगाववादी र अतिवादको समर्थन गरिरहेको छ । त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतलाई छ ।’

    पत्रकार सम्मेलन गरेर ट्रुडोले भने– हामीले प्रमाण भारतलाई बुझाएका छौं भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाए ।

    उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’

    यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिकको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं । अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’

  • यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति

    यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति

    काठमाडौं । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं र आज फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन् ।

    यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको छ । आज बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो ।


    आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ । बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ ।
    हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

  • चीनले बढायो अवकास हुने उमेर

    चीनले बढायो अवकास हुने उमेर

    काठमाडौं । चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ । यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको छ ।

    पुरुषको अवकाश उमेर भने ६० वर्षबाट बढाएर ६३ वर्ष बनाइएको छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार नयाँ अवकाश उमेर १ जनवरी २०२५ बाट लागू हुनेछ । र, १५ वर्षसम्म केही महिनामा थोरै थोरै अवकाशको उमेर बढाइनेछ । सिन्ह्वाका अनुसार कानुनले तोकेको उमेरभन्दा पहिला अवकाशका लागि अनुमति दिइने छैन ।

  • सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा

    सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा

    काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुखविरुद्ध विपक्षी दलका सांसद एकजुट भएका छन् । त्यसपछि सभाुमख देवराज घिमिरे निर्णय फेर्न बाध्य भएका छन् । सभामुख र विपक्षी दलका सांसदबीच झण्डै आधा घण्टा वादविवाद भयो ।

    सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेका थिए । त्यसपछि विवाद सुरु भयो । मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाका सांसद ढकालले बोल्ने समय पाएका थिए ।

    उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे । सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए ।

    ढकालले विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा ‘’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले माइक काटे ।

    उनले विषय सकिएको भन्दै बस्न आग्रह गरे । यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई समय मागेको समेत उनले बताए । सांसद ढकालले भने आफूले आकस्मिक समयमा तीन मिनेट समय पाएको र त्यति समय नसकिँदै माइक काटिदिएको भन्दै विरोध जनाइरहे । त्यसपछि विपक्षी बेञ्चमा रहेका रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाए ।


    सभामुख घिमिरेले आकस्मिक समयमा एउटा मात्र विषयमा बोल्नुपर्ने र अरु विषय उठाउन संसदमा शून्य समय र विशेष समय हुने भन्दै बस्न आग्रह गरे ।
    रास्वपाका सांसदहरु बसेनन् । रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले सांसदलाई सभामुखले के विषय बोल्ने, के विषय नबोल्ने भनेर बन्देज लगाउन नमिल्ने बताए ।

    रास्वपा र राप्रपा सांसदहरु उठेर विरोध गरिरहेपछि सभामुखले लामिछानेलाई बोल्न २ मिनेट समय दिए । लामिछानेले सांसद ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै माइक काटिएको भन्दै उनलाई आफ्नो समयभरि बोल्न दिन माग गरे । ‘त्यसपछि सभामुखले राप्रपा अध्यक्ष, सांसद राजेन्द्र लिङ्देनलाई पनि २ मिनेट समय दिए । लिङ्देनले भने सांसदहरु सार्वभौम हुने भएकाले जुनसुकै विषय उठाउन सक्ने बताए ।

    ‘सभामुख घिमिरेले संसदको नियमावलीको कुरा उठाएर मर्यादा कायम राख्न आग्रह गरिरहे । ‘सभामुखले पटक पटक बस्न आग्रह गरिरहेपछि प्रमुख प्रतिपक्षी माओवादी सांसदहरु पनि आ–आफ्नो स्थानमा उठे । संसदमा होहल्ला यो । त्यसपछि सभामुख घिमिरेले संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे सहितका अधिकारीसँग सल्लाह लिए । त्यसपछि सभामुख पछि हटे र सांसद हरि ढकाललाई बाँकी समय बोल्न समय दिए ।

  • गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

    गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

    काठमाडौं । गण्डकी प्रदेश सरकारका यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को एक तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल भयो । जसमा उनी गन्जीमा देखिन्छन् । उनी छैटौंपटक मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र राखेनन्, विवादित गतिविधिले सधैं चर्चामा रहन्छन् ।

    पछिल्लो पटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले गुनासो गरेको खबरमा उल्लेख छ ।


    मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेको बताइएको छ । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेका थिए ।

  • जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

    जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने

    काठमाडौं । जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो । अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ । पीडितले सरकारले क्षतिपूर्ति दिनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै आएका थिए ।

    द्वितीय विश्वयुद्धपछि सन् १९४८ मा लागू गरिएको कानुनअन्तर्गत जन्मजात अशक्तता भएका व्यक्तिसहित झन्डै २५ हजार जनाको जबरजस्ती बन्ध्याकरण गरिएको थियो । यसको मुख्य उद्देश्य भविष्यमा अशक्त बच्चा नजन्मिउन भन्ने रहेको थियो । सन् १९५० को दशकदेखि सन् १९९० को दशकको बीचमा ती मानिसको बन्ध्याकरण गरिएको थियो ।

    शारीरिक तथा बौद्धिक अशक्तता भएका र दीर्घरोग भएका मानिसको हकमा बन्ध्याकरण गर्ने गरिन्थ्यो । जापान सरकारले पनि सहमतिविना १६ हजार ५ सय जनाको बन्ध्याकरण गरिएको स्वीकारेको थियो । अरू बाँकी नागरिकको हकमा सहमति लिएको अधिकारीहरूको दाबी थियो ।

    तत्कालीन अवस्थामा बन्ध्याकरणका लागि प्रयोग गरिएको कानुन सन् १९९६ मा खारेज भएको थियो भने सन् २०१९ मा पारित एउटा कानुनअनुसार हरेक जीवित पीडितले क्षतिपूर्ति स्वरूप ३२ लाख जापानी येन पाउनेछन् ।

  • चुनाव अघि मोदीले थाले ४५ घण्टे ‘ध्यान’

    चुनाव अघि मोदीले थाले ४५ घण्टे ‘ध्यान’

    नयाँ दिल्ली । भारतमा जुन १ मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् ।

    बिहीबार साँझ त्यहाँ पुगेर उनले सुरुमा भगवती अम्मान मन्दिरमा प्रार्थना गरेका थिए । उनले बिहीबार बेलुकादेखि शनिबार (भोलि) साँझसम्म ध्यान मण्डपमा ध्यान गर्ने जनाइएको छ । उक्त स्थानमा हिन्दु दार्शनिक विवेकानन्दले दैवी शक्ति पाएको मानिने गरेको छ ।

    त्यस स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको भ्रमण अवधिभरका निम्ति दुई हजार प्रहरी खटाइएको छ ।

  • बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

    बालेनको आदेशमा महानगरले सडक विभाग र कार्यालयको गेटमा खन्यायो एक\एक ट्रक धुलो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक\ट्रक धुलो र फोहोर खन्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्।

    मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्।

    ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला,’मेयर बालेनले मन्त्री महासेठलाई सम्बोधन गर्दै लेखेका छन्।

  • संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

    संसद बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए । उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे ।

    त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिए । कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिए । सांसदहरूबीच धकेलाधकेल र भनाभना भएपछि सभामुख घिमिरेले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन् ।

  • गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा

    गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसी २२ औं पटक आमरण अनशनमा बसेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।


    ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

    बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् । ‘हजारौं पीडितहरुले अहिलेसम्म न्याय पाएका छैनन् । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि मानवताविरोध र युद्ध अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय कम हुने तथा माफी हुने प्रावधान छैन’, उनले विज्ञप्तिमा भनेका छन् ।

    मानवताविरोधी अपराध र युद्ध अपराधमा जोडिएका कतिपय माओवादी नेताहरु अहिले शक्ति र सत्ताको आडमा सजायबाट जोगिन खोजिरहेको भन्दै केसीले दण्डहीनता कायम गर्न प्रचण्डसँगै केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपालको भूमिका पनि बराबर रहेको बताएका छन् ।

    उनले अगाडि भनेका छन्, ‘त्यसैले नेपालमा लोकतन्त्रको साख बचाउने हो भने ओली, देउवा र माधव नेपालले सत्ता र आआफ्ना पार्टीहरुमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु दल, देश र जनताको बृहत हितमा हुनेछ ।’

    केसीले ३ बुँदे माग राखेर पशुपति क्षेत्रको मृगस्थलीमा अनशन सुरु गरेका छन् । उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ ।

    केसीले सुदूरपश्चिमको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्न पनि माग गरेका छन् ।

    त्यस्तै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी ऐन तुरुन्त पारित गर्न माग गरेका छन् । केसीले गौरीबहादुर कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाही गर्न पनि माग गरेका छन् ।

  • माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने

    माइतीघरदेखि नयाँ बानेश्वरसम्मको निषेधाज्ञा हट्यो, तोडफोड भए बील आउने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सुरूमा २ महिनाका लागि भनेर जारी गरिएको निषेधाज्ञा पटक पटक थप भएको थियो ।


    निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ । साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ ।

    स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

  • भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

    भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

    काठमाडौं । भियतनाममा एक अर्बपति महिला व्यवसायी ट्रूङ मी लानमाथि मृत्युदण्डको सजाय सुनाइएको छ । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। ६७ वर्षीया महिला घरजग्गा कारोबारी हुन्। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो।

    लानले साइगन कमर्शल ब्याङ्क .(एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्। केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाव दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।


    प्रायः गोप्यता राख्न रुचाउने कम्युनिस्ट अधिकारीहरूले यो मुद्दाबारे धेरै कुरा सार्वजनिक गरेका छन्। यो मुद्दामा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए। प्रमाणहरू १०४ वटा बाकसमा राखिएका छन्। तिनको तौल छ टन छ। ट्रूङ मी लानसहित ८५ जनालाई प्रतिवादी बनाइएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्।

    उनीसहित १४ जनालाई मृत्युदण्ड माग गरिएको थियो। “यसरी कम्युनिस्ट शासनकालमा सार्वजनिक रूपमा यो स्तरमा प्रचार गरेर विगतमा कहिल्यै पनि सुनुवाइ भएको थिएन,” अमेरिकी विदेश मन्त्रालयका अवकाशप्राप्त अधिकारी डेभिड ब्राउन भन्छन्। यसलाई कम्युनिस्ट पार्टीका महासचिव नुइन फू चानको नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानको सबैभन्दा नाटकीय अध्याय मानिएको छ।

    यी महिलाले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन्। कम्युनिस्ट पार्टीले दोई मोई नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन्। सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए। ट्रुङ मी लान सन् २०११ सम्म हो ची मिन्ह सिटीमा चर्चित व्यापारीका रूपमा स्थापित भइसकेकी थिइन्। उनले आर्थिक सङ्कट खेपेका तीनवटा साना ब्याङ्क गाभेर एउटा ठूलो ुसाइगन कमर्शल ब्याङ्कु बनाउने अनुमति पाएकी थिइन्।

    भियतनामको कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि ब्याङ्कमा पाँच प्रतिशतभन्दा बढी शेअर राख्न प्रतिबन्ध लगाउँछ। तर अभियोजकहरूका अनुसार सयौँ ुशेल कम्पनीु खडा गरेर र नक्कली मानिसहरू उभ्याएर उनले साइगन कमर्शल ब्याङ्कको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन्।

    लिइएको ऋणको परिमाण पनि छक्क पार्ने खालको छ। सो ब्याङ्कले प्रवाह गरेको ऋणको ९३ प्रतिशत उनले लिएको देखिन्छ। अभियोजकहरूका अनुसार सन् २०१९ को फेब्रुअरीदेखि तीन वर्षको अवधिमा उनले आफ्ना चालकलाई चार अर्ब डलरभन्दा बढी रकम ब्याङ्कबाट निकाल्न लगाएकी थिइन्। त्यो रकम उनको घरको भुइँतलामा थुपारिएको थियो। भियतनामको सबैभन्दा ठूलो ब्याङ्क नोटबाट त्यति रकम निकाल्दा पनि त्यसको कुल तौल दुई टन हुने बताइन्छ।

    आफ्नो ऋणमाथि कहिल्यै पनि अनुसन्धान नगरियोस् भन्ने सुनिश्चित गर्न घुस खुवाएको आरोप पनि उनीमाथि छ। केन्द्रीय ब्याङ्कका एक प्रमुख निरिक्षणकर्तालाई पनि उनीसँग मिलेमतो गरेको अभियोग लागेको छ। उनले ५० लाख डलर घुस लिएको भन्दै आजीवन कारावासको सजाय माग गरिएको छ।

    बीबीसी

  • क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

    क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

    काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्‍याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ।

    संसारको अन्य भागका पनि हजारौँ मानिस दक्षिणपूर्वी एशियामा ठगीमा संलग्न गिरोह सञ्चालकको जालमा परेको समाचार प्राप्त भएको छ। युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई अवैध साइबर गतिविधिमा लगाउने गरेको पाइएको छ । यस्ता गिरोहले विशेषगरी युवा उमेरका तथा प्रविधिमा दख्खल राख्ने मानिसहरूलाई सुरुमा आकर्षक कामको प्रलोभन देखाउँछन् तर त्यसपछि सम्पत्ति शुद्धीकरण र क्रिप्टोकरेन्सीसम्बन्धी ठगीजस्ता अवैध काममा लगाउँछन्।

    साथै प्रेमी वा प्रेमिका बनेर अरूसँग सम्बन्ध गाँस्न लगाई ठगी गर्नेजस्ता गतिविधि पनि त्यहाँ भएको पाइन्छ। त्यसलाई लभ स्क्याम भनिएको छ। सन् २०२३ को अगस्टमा प्रकाशित एक राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार म्यान्मारमा कम्तीमा एक लाख २० हजार मानिसलाई अवैध साइबर गतिविधिमा लगाइएको छ। क्याम्बोडियामा यस्ता पीडितको सङ्ख्या कम्तीमा एक लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

    गत मार्चमा फिलिपिन्सको प्रहरीले यस्ता अवैध काममा जबर्जस्ती लगाइएका सयौँ मानिसहरूलाई उद्धार गरेको बताएको थियो। त्यसको केही साताअघि चीनले म्यान्मारमा यसरी काममा लगाइएका आफ्ना सयौँ नागरिकलाई उद्धार गरेको थियो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ठगीका गतिविधिका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न भारतले क्याम्बोडियाका सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको बताएका छन्।

    अहिलेसम्म उद्धार गरिएका २५० जनामध्ये ७५ जनालाई विगत तीन महिनामा उद्धार गरेको भारतीय अधिकारीहरूले बताएका छन्। बाँकीको उद्धार कहिले भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। बीबीसीले भारतस्थित क्याम्बोडियाको राजदूतावाससँग प्रतिक्रिया मागेको छ। गत साता इन्डियन एक्स्प्रेस पत्रिकामा प्रकाशित एक समाचारका अनुसार क्याम्बोडियामा आफ्नो इच्छाविपरीत काममा लगाइएको भनेर १३० जनाले त्यहाँस्थित भारतीय दूतावासमा उजुरी दिएका छन्।

    सो पत्रिकाका अनुसार क्याम्बोडियामा काम दिलाएर आफूलाई फसाइएको भन्दै दूतावासमा हरेक दिन औसतमा चार-पाँचवटा उजुरी दर्ता भएका छन्। दक्षिणपूर्वी एशियाका विभिन्न देशमा रहेका साइबर सेन्टरले भारतीय नागरिकलाई प्रयोग गर्दै भारतीयहरूलाई नै समेत ठग्ने गरेको बताइएको छ। कतिपयले आफू कानुन कार्यान्वयन गर्ने निकायको अधिकारी भएको बताउँदै पैसा माग्ने समेत गरेका छन्। ुइन्डियन एक्स्प्रेसुका अनुसार विगत छ महिनामा मात्र यस्ता गतिविधिहरूमा भारतीयहरूले कम्तीमा पाँच अर्ब रुपैयाँ गुमाइसकेका छन्।

    स्टेफन भनी चिनाइएका एक पीडितले सो पत्रिकालाई बताएअनुसार मङ्गलुरु नामको दक्षिण भारतीय राज्यका एक दलालले उनलाई क्याम्बोडियामा डेटा इन्ट्रीको काम लगाइदिएका थिए। क्याम्बोडिया पुगेपछि उनलाई महिलाका तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली खाता बनाउन र ती खातामार्फत् मानिसहरूसँग सम्पर्क गर्न लगाइएको उनले बताएका थिए।

  • जर्मनीमा गाँजाले पायो वैधानिकता

    जर्मनीमा गाँजाले पायो वैधानिकता

    काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए । गाँजा कानुनी रूपमा उपलब्ध हुनुपर्ने वकालत गर्दै आएका समर्थकहरू भन्छन्( यसले कालो बजार अन्त्य गर्नेछ र गाँजाको गुणस्तर नियन्त्रणमा सुधार हुनेछ।

    नयाँ नियम अनुसार १८ वर्ष माथिका व्यक्तिले सार्वजनिक स्थानमा जाँदा २५ ग्रामसम्म गाँजा आफ्नो साथमा राख्न पाउँछन् । हरेक घरमा तीन वटासम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । मानिसहरूले विद्यालय र खेल केन्द्र वा पैदल यात्री हिँड्ने क्षेत्रमा बिहान ७ देखि बेलुका ८ बजेसम्म देखिने गरी गाँजा खान पाउने छैनन् । ५०० सदस्यसम्म रहन पाउने गरी गाँजा हुर्काउनेहरूको सङ्गठन वा “सोसल क्लब”हरू खोल्न पाइनेछ । त्यस्ता क्लबका सदस्यको उमेर १८ वर्ष माथि हुनु पर्नेछ र जर्मनीमा बसोबास गर्ने हुनुपर्नेछ । क्लबहरूले गाँजा खेती र गाँजा वितरण गैरनाफामुखी तवरमा मात्र गर्न पाउनेछन् । गाँजाखेती हुने ठाउँमै गाँजा खाने अनुमति हुनेछैन ।

    नयाँ व्यवस्थाले कालो बजारीलाई झन् बलियो बनाउने जर्मन प्रहरी युनियनका एलेक्जेन्डर पोइट्ज ठान्छन् । जर्मन प्रहरी यूनियन गेवेर्कसाफ्ट डेर पोलित्जाई ९जीडीपी०का एलेक्जेन्डर पोइट्ज भन्छन्, “यस्तो व्यवस्थाले कालो बजार झन् बलियो बनाउने हामी ठान्छौँ।” उनको विश्वास छस् “मागचाहिँ कानुनी मान्यताले दिने आपूर्ति भन्दा बढी हुनेछ। किनभने घरमा गाँजा लगाउनु भनेको त्यसको देखभाल गरेर महिनौँ लगाएर मात्र गाँजा उपलब्ध हुनु हो।”

    बच्चाहरूको खेल्ने चौर, विद्यालय र खेल केन्द्रको १०० मिटर वरपरसम्म गाँजा खान पाइने छैन। व्यस्त र भिडभाडयुक्त सहरमा गाँजा खान मात्र पाइने स्थान बनाउनुपर्ने हुन सक्छ। प्रहरीले उपभोक्ता र विक्रेता भनेर छुट्याउन पनि मुस्किल पर्न सक्छ। किनभने एक जनाले सार्वजनिक स्थानमा जाँदा २५ ग्राम सम्म गाँजा साथमा राख्न पाउने भनिएको छ र त्यो दर्जनौँ पटक गाँजा खान सकिने मात्रा हो।


    गाँजालाई वैध बनाउँदा हुने फाइदा र बेफाइदाबारे बहस गरिरहेका मुलुकहरूको लामो सूचिमा जर्मनी समेत छ। जर्मन सरकारले सन् २०२१ मा गरेको एक सर्वेक्षणमा १०.७५ पुरुष र ६.८५ महिलाले गत १२ महिनामा कम्तीमा एक पटक गाँजा प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

    BBC

  • थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

    काठमाडौं । संसद्‌को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो दक्षिण पूर्व एशियाली देश बन्नेछ। यो कदमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि तुलनात्मक रूपमा उक्त क्षेत्रको सबैभन्दा उदार मानिने थाईल्यान्डलाई थप खुला बनाउनेछ।

    ूयो समानताको सुरुवात हो। यो हर समस्याको सर्वस्वीकार्य हल होइन तर समानता तर्फको पहिलो पाइला हो,, सांसद तथा तल्लो सदनस्थित वैवाहिक समानतासम्बन्धी समितिका अध्यक्ष न्यानुफोर्न पुनकान्तले विधेयकको मस्यौदा प्रस्तुत गर्ने क्रममा भने। तल्लो सदनमा उपस्थित ४१५ सांसदमध्ये ४०० जनाले उक्त विधेयकको पक्षमा मतदान गरे। त्यो विधेयकले विवाहलाई महिला र पुरुषबीचको भन्दा पनि दुई व्यक्तिबीचको साझेदारीको रूपमा परिभाषित गरेको छ।

    त्यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीहरूलाई विवाहका कारण पाइने कर छुट सुविधा लिन, सम्पत्ति जोड्न र उपचारका लागि आफ्नो सहयात्रीका निम्ति मञ्जुरी दिन पाउने व्यवस्था गरेको छ। नयाँ कानुन अनुसार विवाहित समलिङ्गी जोडीले सन्तानका रूपमा धर्मपुत्र–पुत्री पाल्न सक्नेछन्।

    तर थाई संसद्‌को तल्लो सदनले बाआमाको साटोमा त्यस्ता जोडीलाई अभिभावक शब्द प्रयोग गर्नुपर्ने भनी समितिले दिएको सुझावलाई स्वीकार गरेन। व्यापक जनसमर्थन हुँदाहुँदै पनि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विगतका प्रयासहरू असफल भएका थिए। गत वर्षको अन्त्यमा गरिएको एउटा सरकारी सर्वेक्षणले त्यसमा सहभागीमध्ये ९६.६ विधेयकको पक्षमा देखिएका थिए।

  • सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

    विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरुको नाम भने गोप्य राखेको छ । सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग विवाहको लागि जन्ती आएको थियो । सामाजिक परम्परा अनुसार विवाहको लागि विधि स्वयम्बर भइसकेपछि मण्डपमा बसेको बेला बेहुलाले सुनको सिक्री नपाएको भन्दै बिहे इन्कार गरी जन्ती फर्काउन खोजेपछि विवाद भएको थियो । विवाद लगतै पुगेको वडा प्रहरी कार्यालय श्रीपुरले बहुलासहित आठजनालाई पक्राउ गरेको थियो

  • उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….

    काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ।

    यद्यपि यसले सुरक्षित अवतरण गरेको थियो। विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट पनि लागेन। गत २५ ज्यानुअरीको त्यो घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको छ। उक्त उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ। त्यसमा २८ वर्षे कोपाइलटले सहमति जनाएको यातायात मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख छ।

    तर केहीबेरमा कोपाइलट पनि निदाए। मन्त्रालयको प्रतिवेदनअनुसार उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो र उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए। जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले उक्त विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जबाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो। ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ।

    त्यसपछि लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएको बताइएको छ। त्यसपछि भने उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएको बताइएको छ। उडानभन्दा अघिको स्वास्थ्यपरीक्षणमा दुवै पाइलट उडानका लागि योग्य रहेको पाइएको थियो। उनीहरूको रक्तचाप र मुटुको गति सामान्य थियो र मदिरा सेवन नगरेको पाइएको थियो।

    साथै दुवै पाइलटले पर्याप्त आराम पाएजस्तो देखिएको थियो। यद्यपि उनीहरूको विश्रामको गुणस्तर पनि राम्रो थियो भनी प्रमाणित गर्न ती परीक्षणहरू विफल रहेका उड्डयनविज्ञ एल्भिन लाईले बीबीसी इन्डोनेशिअनलाई बताएका छन्। घटनापछि अधिकारीहरूले बटिक एअरलाई कडा चेतावनीूदिएका छन्। इन्डोनेशियाका हवाई यातायात प्रमुख एम क्रिस्टी एन्डा मुर्नीले कम्पनीले चालकदलको विश्रामबारे थप ध्यान दिनुपर्ने बताएकी छन्।

    बटिक एअरले भने आफू ूपर्याप्त आरामको नीतिअनुसार नै सञ्चालनमा रहेकोू र ूसुरक्षासम्बन्धी सबै सिफारिस कार्यान्वयनका लागि प्रतिबद्ध रहेकोू बताएको छ। सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो।
    बीबीसी

  • भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने

    भारतमा एक बालकले जब चितुवालाई कोठा भित्र थुने

    काठमाडौं : भारतमा एक बालकले चितुवालाई कोठा भित्र थुनेर आफु भाग्न सफल भएका छन् । यसको भिडियो भाइरल भएको छ । भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको हो । साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए।

    मोहित डरले भागेनन्, बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे। पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए। यो दृष्य भने सीसीटीभीमा कैद भएको थियो । अहिले सोही दृष्य भाइरल भएको हो ।

  • जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

    जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटना बाहिरिएिको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक महिलाले बच्चा चोरेको पाइएको छ । प्रहरीले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् ।

    मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीकहाँ खबर गरिएको थियो । पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताइएको छ । चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन गएका बेला महिलाले बच्चा लगेर भागेकी हुन् ।

  • प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

    प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

    काठमाडौं । आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए ।

    गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई उल्टै थर्काउँदै कुटपिटको समेत प्रयास गरेका थिए । उनलाई सार्वजनिक हित, मूल्य मान्यता र नैतिकताविरुद्धका कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । धम्काउने व्यक्ति प्रहरीका कर्मचारी नभएको पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

  • लुडो खेल्दा प्रहरीको फन्दामा

    लुडो खेल्दा प्रहरीको फन्दामा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुन छन् ।

    उनीहरुलाई पोखरा ११, धरहरा मार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुबाट एउटा लुडो खेल्न प्रयोग हुने बोर्ड, विभिन्न रङका १६ वटा गोटीलगायत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए । त्यस्तै, शनिबार नै प्रहरीले पोखरा १२ अमरसिंहबाट जुवा खेलिरहेको अवस्थामा थप ७ जनालाई पक्राउ गरेको छ । अमरसिंहमा बस्ने नरबहादुर गुरुङको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी विकले बताए ।

    उनका अनुसार पक्राउ पर्नेमा पोखरा १२ का ६५ वर्षीय नरबहादुर गुरुङ, ६७ वर्षीय बलराम थापा, ४४ वर्षीय भीमबहादुर मगर, ५३ वर्षीया कृष्णकुमारी विक, ५२ वर्षीय सोमबहादुर तामाङ, ४९ वर्षीय जसबहादुर गुरुङ र ५० वर्षीया मीना गुरुङ छिन् । उनीहरुकोे साथबाट २ सय १२ पत्ती ताससहित ६४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।

  • न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा

    न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा

    काठमाडौं । न्युरालिंङले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेको छ । मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस विषयको दाबी गरेका हुन्। उनले एक्समा लेखेका छन्, पहिलो व्यक्तिले हिजो न्युरोलिंकबाट प्रत्यारोपण प्राप्त गरेका छन् र उनको स्वास्थमा सुधार देखिँदैछ। न्युरालिंकले गत वर्ष मात्रै मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्न खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट स्वीकृति पाएको थियो। कम्पनीले गत सेप्टेम्बरमा अनुमति पाएको बताएको थियो।

    सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो।
    न्युरालिंकका अनुसार मस्तिष्कको क्षेत्रमा ब्रेन(कम्प्युटर इन्टरफेस (बिसिआई) प्रत्यारोपणका लागि रोबोटको प्रयोग गर्छ। मानिसहरूलाई आफ्नो विचार कै भरमा कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु यसको प्रारम्भिक लक्ष्य हो।

    न्युरालिंकको पहिलो उत्पादनलाई टेलिप्याथी भनिने मस्कले बताएका छन्। टेलिप्याथी एक वायरलेस ब्रेन चिप (कुनै पनि तारबिनाको मस्तिष्कमा राख्न तयार पारिएको चिप) हो।

    न्युरालिंकका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पारेको जसको प्रयोगमा आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्छन्। त्यस्तै शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्छन्। चिपमार्फत् कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ। मस्कले गत मंसिरमा मात्रै आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने घोषणा गरेका थिए।

  • माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

    माल्दिभ्सको संसदमा हंगामा, भिडे सत्तापक्ष र विपक्षी

    काठमाडौं । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

    प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

    मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।


    मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ । एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो । त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको बीबीसीले जनाएको छ । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।

    गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा। अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।

  • कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    काठमाडौं । थाईल्यान्डमा सडकमा कार चढाएर सिंह घुमाउने एक महिला पक्राउ परेकी छिन् । पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेको बीबीसीले जनाएको छ । उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ। घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने व्यक्ति श्रीलङ्काका एक पुरुष थिए। उनले थाईल्यान्ड छाडिसकेका छन्।

    ती व्यक्ति अहिले पक्राउ परेकी महिला सवाङ्जित कोसुङ्ननका साथी भएको ठानिएको छ। थाईल्यान्डमा सिंह पाल्नु गैरकानुनी नभए पनि त्यसका लागि दर्ता गराउनुपर्ने नियम छ। थाई अधिकारीहरूका अनुसार सवाङ्जितले उक्त सिंह थाईल्यान्डकै अर्को एक प्रान्तबाट किनेको र बेच्ने व्यक्तिले पतायासम्म सिंह आफू भएको ठाउँमा ल्याउन सहयोग गरेको दाबी गरेकी छन्। तर सिंह ढुवानी गर्नुअघि ती व्यक्तिले आधिकारिक निकायबाट सिंह पालेको ठाउँको जाँच नगराएको र सिंह पाल्ने स्वीकृति पनि नलिएको हुनाले उक्त जनावर पाल्ने र ओसारप्रसार गर्ने काम दुवै गैरकानुनी मानिएको छ।

    सवाङ्जितलाई नियन्त्रित वन्यजन्तु बिनाअनुमति पालेको अभियोग लागेको छ। यस्तो अभियोगमा एक वर्षसम्मको जेल सजायका साथै एक लाख थाई भाट जरिवाना तिर्नुपर्ने हुन सक्छ। प्रहरीले उक्त सिंह घुमाउने श्रीलङ्काली नागरिकको पनि खोजी गरिरहेको बताइएको छ। उनले आफू भाडामा बसेको एउटा घरमा त्यो सिंह राखेका थिए। तर उनी थाईल्यान्डमा नभएका कारण पक्राउ परेका छैनन्।

    उनलाई नियन्त्रित वन्यजीवलाई सार्वजनिक स्थलमा लगेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। त्यस्तो कसुरमा छ महिना कारावास र ५०,००० थाई भाट जरिवाना हुन सक्छ। स्वाङ्जितलाई सिंह बिक्री गर्ने व्यक्तिलाई पनि अनुमति नलिई वन्यजन्तु ओसारप्रसार गरेको अभियोग लाग्ने भएको छ। अधिकारीहरूका अनुसार थाईल्यान्डमा अनुमति लिएर पालिएका सिंहको सङ्ख्या २२४ छ।

  • त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।

    त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए । यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिएको समेत बताइएको छ ।

    हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लागेको समाचारमा उल्लेख छ । लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । त्यसपछि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

  • थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

    थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय

    काठमाडौं । राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो।

    तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनी ३० वर्षका भए। बिहीवार पुनरावेदन अदालतले उक्त सजायमा २२ वर्ष थपेको हो।


    थाईल्यान्डमा लीज म्याजस्टी कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। तर त्यसको चर्को आलोचना हुँदै आएको छ। थाईल्यान्डमा १० वर्षमा पहिलो पटक गत वर्ष निर्वाचित सरकार गठन भएको भए पनि उक्त कानुनले निरन्तरता पाएको छ। बिहीवारको सुनुवाइपछि न्यायाधीशले सहयोगी व्यवहारका कारण आफूले तिराकोटको सजाय एकतिहाइले घटाइदिएको बताए।

    चियाङराई प्रान्तका तिराकोट अनलाइन माध्यमबाट कपडा व्यापार गर्थे। उनीमाथि किन त्यति कठोर सजाय सुनाइयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन्। थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन्।

    वाचिरालोङ्कोर्न राजा बनेपछि सन् २०१९ मा केही समयका लागि लीज म्याजस्टी कानुन निलम्बित भएको थियो। तर पछि त्यो बिउँत्याइयो। तीन वर्षअघि राजसंस्थामा आमूल सुधार हुनुपर्ने मागसहित विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उक्त कानुन व्यापक रूपमा प्रयोग हुन थाल्यो। राजसंस्थाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेका अभियानकर्ता तथा वकिल आनोन नाम्पाले पाएको जेल सजाय पनि बुधवार चार वर्षले बढाइएको थियो।

    यसै महिनाको अन्त्यतिर संवैधानिक अदालतले उक्त कानुनमा संशोधन गर्नुपर्ने माग गर्दै आएको मूभ फर्वड दल विघटन गर्ने या नगर्ने भन्ने मुद्दामा निर्णय सुनाउन लागेको छ। उक्त दलले गत निर्वाचनमा सर्वाधिक सीट जितेको थियो। लीज म्याजस्टी कानुनमा संशोधन गर्नु भनेको सम्पूर्ण राजनीतिक व्यवस्थालाई उल्ट्याउने प्रयाससरह भएको धारणा केही थाई रूढिवादीहरूको छ।

  • कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

    कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

    काठमाडौं । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो ।

    यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्ररूपमा घटेको छ । युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानूनी घोषणा गर्न दबाब बढिरहेको छ ।

    प्रतिबन्धका लागि आधिकारिक समर्थन राष्ट्रपति युन सुक येओलको नेतृत्वमा बढेको छ । उहाँ आफूलाई पशुप्रेमी दाबी गर्नुहुन्छ । राष्ट्रपति युनले कुकुरको मासुको खपतको प्रमुख आलोचक प्रथम महिला किम केओन–हीसँग आवारा कुकुर र बिराला पाल्नुभएको छ । सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८–० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागु हुनेछ ।

    कानूनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर) जरिवाना लाग्नेछ । “अब ‘कुकुर खाने देश’ का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन”, विधेयक प्रस्ताव गर्ने सत्तारूढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ– होले भन्नुभयो, “सत्तारूढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेबारी लिनुपर्छ ।”

    कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुशी मनाउन संसद भवन बाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर लहराउँदै खुशी मनाएका थिए ।

    कार्यकर्ताहरूले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् । “हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्”, ह्युमन सोसाइटी इन्टरनेसनल÷कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भन्नुभयो, “आज हाम्रा कानुन निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायकरूपले काम गर्नुभएको छ, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुशी छु ।”

    सोलस्थित थिङ्कट्याङ्क वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौ जनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मङ्गलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्ग प्रशस्त भएको बताएको छ । रासस–एएफपी

  • भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

    भारतमा लोकसभाका थप ४९ सांसद निलम्बित

    काठमाडौं । भारतमा सांसद निलम्बनको शृखंला निरन्तर जारी छ । मंगलबार पनि लोकसभाका ४९ जना विपक्षी सांसदलाई निलम्बन गरिएको छ । संसद् बैठकमा अवरोध गरेको भन्दै आज नेसनल कन्फरेन्सका नेतासमेत रहेका सांसद फारुक अब्दुल्लाह, कंग्रेस सांसद शशि थरूर, मनीष तिवारी, कार्ती चिदम्बरम, एनसीपी सांसद सुप्रिया सुले, समाजवादी पार्टीकी सांसद डिम्पल यादवलगायतका सांसदलाई लोकसभा अध्यक्ष ओम बिरलाले निलम्बन गरेका छन् ।

    सोमबार एकैदिन लोकसभाका ३३ र राज्यसभाका ४५ गरी ७८ विपक्षी सांसद निलम्बनमा परेका थिए । यो संख्या भारतीय संसदीय इतिहासकै सबैभन्दा धेरैसमेत हो । सन् १९८९ मा तत्कालीन राजीव गान्धी नेतृत्वको सरकारमा एकैपटक ६३ विपक्षी सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धीको हत्याको अनुसन्धानका लागि गठित न्यायाधीश ठक्कर आयोगको रिपोर्ट पेश गर्न भन्दै विपक्षी सांसदहरूले संसद्मा अवरोध गरेका थिए ।

    अहिले पनि विपक्षी सांसदले संसद्‍मा भएको आक्रमणका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ माग्दै आएका छन् । त्यसक्रममा उनीहरूले संसद् बैठकमा नाराबाजी र प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका छैन ।

    एक साता अगाडि गत बुधबार दुई जना युवाहरू दर्शकदिर्घाबाट बैठक चलिरहेकै बेला संसद् कक्षमा कुदेर प्रदर्शन गरेका थिए । उनीहरूले पहलो रंगको धुँवा संसद्‍मा फैलाएका थिए । संसद् भवनमा आतंकवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर केही युवाले संसद् बैठक कक्षमै प्रदर्शन गरेका थिए । १३ डिसेम्बर २००१ का दिन संसद् भवनमाथि आतंकवादी हमला भएको थियो ।

    घटना भएको अर्को दिनदेखि नै विपक्षी सांसदहरूले सरकारलाई घेर्दै संसद्‍मा विरोध प्रदर्शन थालेका थिए । त्यसदिन नै लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो । पछिल्लो समय उक्त निलम्बनलाई खारेज गरिनुपर्ने मागसमेत थपेर विपक्षी सांसदहरूले संसद्‍मा नाराबाजी गरिरहेका बेला ठूलो संख्यामा थप सांसद निलम्बनमा परेका हुन् ।

    शीतकालीन सत्रका लागि जम्मा लोकसभा र राज्यसभा गरी १४१ सांसद निलम्बनमा परिसकेका छन् । यतिबेला लोकसभामा सांसदहरूको संख्या ५ सय ३८ छ । त्यसमा विपक्षी गठबन्धनसँग १ सय ४२ सांसद छन् । त्यस्तै, राज्यसभाको २ सय ४५ जनामध्ये विपक्षी गठबन्धनको सांसदको संख्या ६४ छ । त्यसमा ४६ जना निलम्बित भएका छन् ।

    भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले गम्भीर सुरक्षा त्रुटिका बाबजुद गृहमन्त्री संसद्‍मा बयान दिनुको साटो विपक्षी सांसदहरूलाई निलम्बन गरिएको बताएका छन् । ुमलाई दुस्ख छ इतिहासमा पहिलोपल्ट यति धेरै सांसदलाई निलम्बन गरिएको छ । यो लोकतन्त्रको धज्जी उठाउनुजस्तै हो । सदनको मर्यादामा पनि यसले गहिरो असर पुगेको छ,उनले भनेका छन् ।

    ४ नोभेम्बरबाट प्रारम्भ भएको शीतकालीन सत्र तीन दिनपछि २२ डिसेमबरमा सकिँदैछ । यस सत्रमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू सरकारले पारित गराउने योजना बनाएको छ । विपक्षीको विरोधले त्यसमा अवराध हुने देखिएपछि सत्तारुढ दलबाट निलम्बनको प्रस्ताव ल्याइएको हो ।