Category: रोचक खवर

  • उडिरहेको जहाजमा एक महिलाको हंगामा

    उडिरहेको जहाजमा एक महिलाको हंगामा

    मुम्बई । उडिरहेको जहाजमा एक महिलाले हंगामा मच्याएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आबुधावीबाट मुम्बई आइरहेको भिस्तारा एयरको जहाजकी एक महिला यात्रुले यस्तो हर्कत गरेकी हुन् । समाचार अनुसार इटालीमा रहने ती महिलाले उडानका दौरान क्रु मेम्बरलाई गाली दिएका थिइन् । त्यसपछ उनली मारपिटमा उत्रिइन् ।

    केहीबेरपछि आफ्नो कपडा खोलेर नग्न अवस्थामा करिडोरमा घुमेको समेत समाचारमा उल्लेख छ । समाचार अनुसार उनले इकोनोमी क्लासको टिकट लिएकी थिइन् । तर, उनलाई विजनेश क्लासमा बस्न मन लाग्यो । त्यसपछि क्रु मेम्बरले उनलाई रोक्न खोजेका थिए । ४५ वर्षिय पाओला पेरुशिओलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको छ । यो सोमबारको घटना हो ।

  • उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

    उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

    नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १ बजे जयपुर जाने अनुमति समेत पाएको थियो ।

    राजस्थानको नागौर निवासी मोती सिंह राठौडले दुबई–जयपुर फ्लाइट हाइज्याक भएको बताएका थिए । फ्लाइट ढिला हुने भएपछि आफुले उक्त हर्कत गरेको उनले बयानमा भनेका छन् । हाइज्याकको खबरपछि सुरक्षा एजेन्सीले सबै यात्रुलाई ब्यागेजसहित जहाजबाट उतार्न परेको थियो । त्यसपछि अनुसन्धान थालिएको थियो । जहाजलाई जाँच गरेसँगै उडान गन्तब्यमा पुगेको थियो । राठौडलाई स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमले जहाजको कुन कम्पनीको थियो भन्ने सार्वजनिक गरेका छैनन् ।

  • चोर समाते १० हजार पुरस्कार पाइने

    चोर समाते १० हजार पुरस्कार पाइने

    प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले घुमन्ते व्यापारीलाई अर्को सूचना नआएसम्मका लागि गाउँ प्रवेशमा रोक पनि लगाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ पछिल्लो दुई हप्तालाई हेर्ने हो भने प्यूठानमा चोरीका शृङ्खाबद्ध घटना भएका छन् । नगद र गरगहनासहित लाखौंको लुटपाट भएको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्म गरी दर्जनौं ठाउँमा चोरी भएको छ ।

  • उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

    उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

    काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै हुँदा सुशासन नआउने भन्दै आलोचना गरेका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका छन्। ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साही बनाउँछ ?,’ उनले प्रश्न गरे ।

    उपप्रधानमन्त्री चाहिएकै भएपनि मन्त्रालयसम्मत नभएको पनि बताएका छन्। उपप्रधानमन्त्री बनाएपनि परराष्ट्र मन्त्री, रक्षा मन्‍त्री जस्ता मन्त्रालयलाई दिनुपर्ने उनको भनाइ थियो। यस्ता पदहरू आवश्यकताको आधारमा नभई कुनै व्यक्तिलाई खुसी बनाउनको लागि सिर्जना भइरहेको बताएका छन्।

    ‘हामी आवश्यकताको आधारमा पद सृष्टी गर्छौं कि व्यक्तिलाई खुशी बनाउन पद सृष्टी गर्छौं। केही लामो समयदेखि हामी भागबन्डाको राजनीति हेरिरहेका छौं। यो भागबन्डाको राजनीतिले देशलाई सुशासनको दिशामा लान्छरु भागबन्डाको राजनीतिले व्यक्तिलाई खुसी बनाउने राजनीतिले के देशलाई समृद्धिको दिशामा लान्छरु,’ उनले भनेका छन्।

  • बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

    बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

    लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ ।

    प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत मागेको समाचारमा उल्लेख छ । उनले जरिबाना तिर्ने बताएका छन् । सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ । सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उनलाई जरिबाना गरिएको थियो ।

  • फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

    काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए ।

    उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको डंगोलले बताएका छन् । वायुसेवा सञ्चालक संघले पाइलटमाथि भएको कुटपिटको विरोध गरेको छ । पाइलटले यात्रुले दिएको लोकेसनमा हेलिकप्टर अवतरण गराएको भन्दै सो क्रममा भएको कुटपिटको संघले विरोध गरेको हो । संंघले कुटपिटमा उत्रिएको समूहमाथि कारवाहीको माग गरेको छ ।

  • टिकटकमा जुवा खेल्ने गरेको खुलासा

    टिकटकमा जुवा खेल्ने गरेको खुलासा

    काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता भिडियो राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको पाइएको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यकाभित्र केही व्यक्तिले ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आयो । उक्त सूचनाका आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो ।

    प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् ।

    प्रहरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ ।

    पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुई ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ । यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई–सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई–सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ ।

    चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । रासस

  • मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

    नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरेको थियो ।
    नयाँ दिल्लीस्थित रूसी दूतावासका एक अधिकारीले भारतीय अधिकारीका तर्फबाट विमानमा बम रहेको सूचना दिएका थिए । अधिकारीहरू अनुसार बम रहेको धम्कीपछि विमानलाई सोमबार राति ९ः४९ बजे जामनगरको सेनाको ब्यारेकमा अवतरण गराइएको थियो। अहिले सबै यात्रु सुरक्षित छन्।

  • नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।
    उनले लेखेका छन्ः

    नयाँ सांसदहरू,

    नयाँ गफाडीहरू

    उही पुरानो देश
    उही पुराना व्यापारीहरू।

    उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले बिहीबार शपथ लिएका छन् । यस पटक स्वतन्त्र पृष्ठभूमीका सांसदहरु धेरैले जितेका छन् । अझ नयाँ अनुहारको बाहुल्य छ । मेयर बालेन शाह आफैं पनि स्वतन्त्र हुन्।

  • गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

    गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

    काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।

    ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् । सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल भएको नबिर्सिएको पनि उल्लेख गरेका छन् । उनी पेशाले व्यवसायी हुन् ।

  • केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

    केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् ।

    उनले भनेका छन्, ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन ।’ बालेन अगाडी लेख्छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’

    उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन ।’

    मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, उनले चेतावनी दिएका छन् ।

  • यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

    काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

    मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको हो । माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । तर, उनी गोरखामा उम्मेदवार छन् ।

  • भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

    भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो ।


    निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसकोरुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन” भन्ने व्यवस्था छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत “विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने” व्यवस्था छ ।

    थापालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नहुन निर्देशन दिइएको आयोगले जनाएको छ । भेलुबाजेले आफुलाई २ हजार रुपैयाँ दिएर एमालेमा मत हाल्न भनी उक्साएको बताएका थिए ।

  • राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

    नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो।

    घटना बुधबारको हो। त्यसमा गान्धीले माइकमार्फत राष्ट्रिय गान बजाउन भन्छन्, मन्चमा उपस्थित नेताहरू पनि उभिन्छन्। तर प्राविधिक टोलीले भारतको राष्ट्रिय गान नबजाइ नेपालको बजाउँछन्। गीत बजेको केही सेकेन्ड बितेपछि मात्रै नेताहरूले नेपालको राष्ट्रिय गान बजेको पत्तो पाउँछन् ।

  • नक्कली सुन धितो राखेर २४ लाख ऋण

    नक्कली सुन धितो राखेर २४ लाख ऋण

    काठमाडौं । पोखरामा एक व्यक्तिले नक्कली सुन राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका २५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएका थिए।

    सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो । ऋणको किस्ता तिर्न सुनार नआएपछि सुन जाँच गर्दा नक्कली भेटिएको हो।

    अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाउँदा धितो राखिएको गहना नक्कली भेटिएको परीक्षण प्रतिवेदन उल्लेख छ । सुनारमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको प्रहरीले जनाएको छ।

  • स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड

    स्वीट्जरल्यान्डले बनायो संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड

    एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडेको हो।

    अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार १.९०६ किलोमिटर लामो १०० कोच (डिब्बा) भएको उक्त रेलमा ४ हजार ५५० जना बसेर यात्रा गर्न मिल्छ ।

    गत शनिबार उक्त रेलले स्वीट्जरल्यान्डको हिमाली क्षेत्रमा १ घण्टामा २५ किलोमिटर लामो यात्रा पार गरेको थियो । रेलले ४८ वटा पुल र २२ वटा सुरूङमार्ग पार गरेको थियो। उक्त रेलमा ७ जना ड्राइभर र २१ जना प्राविधिकहरू थिए।

    उक्त रेल बनाएको कम्पनी राइतियान रेलवेका सीईओ डाक्टर रेनाटो फासिआतीले स्वीट्जरल्यान्डका हिमाली क्षेत्रमा रेलमा यात्रा गर्दाको सुन्दरता देखाउन पनि यो रेल बनाइएको बताएका छन्।

    गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिने छन् । सन् १९९१ मा बेल्जियममा १७३२.९ मिटर लामो र ७० कोच भएको रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो। उक्त रेल ६२.५ किलोमिटर गुडेको थियो।

    सबै प्रकारका रेलहरूमा सबैभन्दा लामो रेलको रेकर्ड चाहिँ अष्ट्रेलियाको नाममा छ। सन् २००१ मा अष्ट्रेलियामा ७.२४ किलोमिटर लामो मालवाहक रेल गुडेको थियो।

  • ‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक

    ‘मुस्कुराइरहेको’ सूर्यको तस्विर सार्वजनिक

    काठमाडौं । नासाको एक भूउपग्रहले हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्विर सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्विरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ ।

    नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो । ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो ।

    पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो धब्बाहरूलाई कोरोनल होल९प्वाल० भनिन्छ, जुन ती क्षेत्रमा बन्छन् जहाँ तीव्र गतिमा सौर्य आँधी अन्तरिक्षतर्फ बाहिर निस्कन्छन् ।’

    नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ सौर्य गतिविधि कसरी सिर्जना हुन्छ र तिनले अन्तरिक्ष मौसमलाई कसरी प्रभावित बनाउँछ भन्ने अनुसन्धान गर्ने अन्तरिक्ष यान हो । सन् २०१० फेब्रुअरी ११ मा पहिलो पटक प्रक्षेपण गरिएको यस पर्यवेक्षक अन्तरिक्ष यानले सूर्यको भित्री भाग, वायुमण्डल, चुम्बकीय क्षेत्र र ऊर्जा उत्पादनको मापन गर्दछ ।

    नयाँ सूर्यको तस्बिर सार्वजनिक भएलगतै अनलाइनमा धेरै रमाइला प्रतिक्रियाहरू आइरहेको छ । कयौंले तस्बिरलाई अमेरिकामा लोकप्रिय रहेको पर्व हेलोवीनमा फर्सीलाई खोपेर बनाइने आकार वा हँसिलो सिंह वा बालबालिकाको शो टेलिटुबीजमा देखाइने सूर्यसँग तुलना गरेका छन् ।

    एक समाजिक संजाल प्रयोगकर्ताले नासाको सूर्यलाई ‘बीएन मिनी चकलेट बिस्कुट’सँग तुलना गरेका छन् । हसिलो अनुहारजस्तो देखिए पनि विज्ञहरूले सूर्यको यस्तो कोरोनल होलको कारण शनिबार पृथ्वीलाई सौर्य आँधी आउने बताएका छन् ।

    स्पेसवेदर डट कमले यसबारे लेख्दै भनेको छ,‘ यो हंसमुख आकृतिले पृथ्वीतर्फ तीन गुणा बढी सौर्य आँधी पठाउनेछ ।’

    सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ ।

    ठूला सौर्य आँधीहरूबाट मुख्यत भूउपग्रहका सिग्नलहरु प्रभावित हुन्छन् । यसले उत्तरी र दक्षिणी गोलार्धहरूमा ध्रुव प्रकाशको सम्पर्कमा आउँदा तिनलाई थप चहकिलो बनाएर आकर्षक ‘अरोरा’ बनाउँछ ।

  • ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन

    ५० वर्षसम्म ननुहाएका हाजीको नुहाएपछि निधन

    काठमाडौं /बिबिसी । विश्वकै फोहोरी उपमा पाएका इरानी नागरिक आमु हाजीको निधन भएको छ । उनले ५० वर्षसम्म नुहाएका थिएनन । उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।

    आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए।

    दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो।

    दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए।

    तर स्थानीय सञ्चारमाध्यमका अनुसार उनी अन्ततः दबाब सामु झुके र केही महिनाअघि उनले नुहाए।

    इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आईतवार उनको निधन भयो।

    सन् २०१४ मा द तेहरान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनपर्ने खानेकुरा दुम्सी भएको खुलासा गरेका थिए।

    उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए।

    आफू किशोर छँदा व्यहोरेको ‘भावनात्मक क्षति’ बाट पार पाउन त्यस्तो अस्वाभाविक रोजाइको पक्षमा आफू उभिएको उनको भनाई थियो।

    वर्षौँसम्म ननुहाउँदा उनको छाला कालो धुवाँ र कडा पहेँलो फोहोरले ढाकिएको आइआरएनएले जनाएको छ।

    उनको खान्कीमा कुहिएको मासु र थोत्रो तेलको जर्किनमा राखिएको अस्वस्थ्यकर पानी रहने गरेको थियो।

    उनलाई धूम्रपान मन पर्थ्यो र एक पटक भन्दा बढी समय एक भन्दा बढी चुरोट एकै पटक तानिरहेको अवस्थाको उनको तस्बिर खिचिएका थिए।

    इरानी समाचार संस्थाले नुहाउने वा सफा पानी उपलब्ध गराउने प्रयासले उनलाई दुखी तुल्याउने गरेको जनाएको छ।

    यद्यपि लामो समय ननुहाएर बस्ने कीर्तिमान उनको नाममा हुन्छ कि हुँदैन भन्ने विषयलाई लिएर केही विवाद रहेको छ।

    सन् २००९ मा एक जना भारतीय पुरुषले ३५ वर्षसम्म ननुहाएको र आफ्नो दाँत पनि नमाझेको विवरण आएको थियो । त्यसयता उनलाई के भयो भन्ने अझै प्रस्ट छैन ।

  • आज सुर्य ग्रहण, के छ मान्यता ?

    आज सुर्य ग्रहण, के छ मान्यता ?

    काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए 
    करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।
    शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ |
    ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।
    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ  
    ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

  • त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

    त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ ।

    प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी गरिरहेमा भने कानून अनुसार कारवाहीको चेतावनी समेत प्राधिकरणले दिएको छ । दशैंमा चंगा उडाउने परम्परा रहेको छ । तर, घना बस्ती नजिकै विमानस्थल रहेका कारण काठमाडौंमा मानवीय गतिविधिका कारण हवाई सुरक्षामा भने असर परिरहेको हुन्छ ।

  • अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

    अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

    काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको हो ।

    तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ ग्रिडका प्रमुख ई. विनोद लोहनीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । लोहनीका अनुसार अरिङ्गालको गोला पोलिसकिएकाले आइतबार बिहानबाट तार जोड्ने काम सुरु हुँदैछ । मातातीर्थ(हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर (तार जोड्ने मुख्य ठाउँ) जोड्न सकेका थिएनन् । त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो ।

  • गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक बनेका छन् ।

    मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए। यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। चिट्टा जितेपछि उनले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

    यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् । चिठ्ठा जिते पनि कार धुने काम नछाड्ने उनको भनाई छ ।

    युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु।’ तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबको पावर प्लान्टमा काम गर्थे। मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए।

    ‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्,’ सीईओ सामजीले भने।

    लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन्। किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो।

    आफूले पाएको पुरस्कारले अब जीवननै परिवर्तन हुने उनले अपेक्षा गरे। धेरै मानिसहरूका लागि, डिएच ३५ पैसा कमाउने राम्रो अवसर हो, त्यसैले भरतजस्ता पात्रहरूले यो चिठ्ठा किन्ने मजुजका सिईओ फरिद सामजीले भने। ‘भरत हाम्रा विजेतामध्ये सबैभन्दा कम कमाउनेहरू मध्ये एक हुन्, त्यसैले यसले उनी र उनको परिवारमा ठूलो फरक पार्नेछ’, उनले भने, ‘हामीले यी विजेताहरू उत्पादन गरिरहनुको एउटै कारण छ, यो निष्पक्ष र विश्वसनीय, त्यसैले मानिसहरू भाग लिन चाहन्छन्। हामी सपना साकार बनाउँछौं।’

  • जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना

    जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमलाई उम्मेदवार सिफारिस गरेपछि कांग्रेसको आलोचना

    काठमाडौं । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। यससँगै पार्टीको व्यापक आलोचना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। यसको मतलव सो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएमा उनी उम्मेदवार बन्ने निश्चित छ । उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्।

    उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका छन् ।

  • काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

    काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

    साम्पाङले सडकमा थुप्रिएको फोहोरबारे निरन्तर घोचपेच गरिरहेका छन् । उनले काठमाडौंमा खाल्डाखुल्डीको सडक भए पनि धरान नै सफा भएको भन्दै काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको समेत लेखेका थिए । बालेनले सुझावलाई आलोचनाका रुपमा लिएको बारे समेत साङपाङले अर्को स्टाटस लेखेका छन् । त्यसमा भने बालेनले थप प्रतिक्रिया दिएनन् ।

  • फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

    फेसबुकमा छताछुल्ल रवीन्द्र मिश्रको ‘राजा मोह’

    काठमाडौं । गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भित्र वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ राजनीतिमा आएका रवीन्द्र मिश्रको राजा मोह शनिबार अझ छताछुल्ल भएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमा यस्तो लेखेका हुन ।

    ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना,’ उनले लेखेका छन् । आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने तर्क उनको छ । जनताले लामो संघर्ष गरी आफ्नो शासन आफैले गर्न सक्ने व्यवस्था मुलुकमा ल्याएका हुन् । यसै व्यवस्था भित्र टेकेर मिश्रले भने पुनः जहानिया राजत्रतन्त्रको वकालत गरिरहेका छन् ।

  • इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

    इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

    बगदाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। ससद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्। प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्। सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।

    इराकका प्रधानमन्त्री मुस्तफा अल(खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन। इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो।

    तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन। उनी सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोध गरेका हुन्। उनीहरू सुदानीलाई इरानसँग धेरै नजिक रहेको ठान्छन्। कुनै समय तेलको धनी राष्ट्र इरानले सामना गरिरहेका धेरै सङ्कटहरू मध्ये बुधवारको घटना पनि एक हो।


    सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो। ह्युमन राइट्स वाचका अनुसार उक्त प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए। सन् २०१६ मा पनि सदरका समर्थकहरू संसद् भवन प्रवेश गरेका थिए। इराकस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले प्रदर्शन कानुन सम्मत र शान्तिपूर्ण रहेसम्म प्रदर्शनकारीहरूलाई प्रदर्शन गर्न पाउने अधिकार रहने बताएको छ।

  • म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
    चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी गराए ।

    ‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौ’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ ।’ घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए ।

    जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए । अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।

  • एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी

    एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच एकै मञ्चमा जुहारी चलेको छ । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्‍ताव गरे । जवाफमा ओलीले आफुलाई कम्युनिष्ट ठान्ने भए गठबन्धन तोडेर आउन चूनौति दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी एकता नभए पनि वाम तालमेल गर्न श्रेष्ठले प्रस्ताव गरेका थिए । अहिले वामपन्थी नेताहरू एकले अर्कालाई सिध्याउन लागिपरेको उनले बताए। यसो गर्दा वामपन्थी आन्दोलन नै सिध्दिने पनि उनले बताए।

    ‘वामपन्थी आन्दोलन सिध्दिएपछि के हुन्छ त नेपाल। नेपालको ठोस सन्दर्भमा चाहिँ वामपन्थी आन्दोलन सिध्दियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ। र यो देशको अस्तित्व संकटमा पर्छ। त्यसैले देश सिध्याउने काम हामीले नगरौं,’ उनले भने। देश बचाउनको लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको उनको भनाइ छ। एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने प्रस्ताव श्रेष्ठले ओलीसमक्ष राखेका थिए। ओलीले भने अहिलेकै अवस्थामा माओवादीसँग तालमेल नहुने सन्देश दिए ।

  • मानवरहित उडानमा नयाँ रेकर्ड

    मानवरहित उडानमा नयाँ रेकर्ड

    काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो।

    व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो। रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याटरीको प्रयोग गरिएको छ। जसकारण यसलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन। उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ।

    बीबीसीले राखेको जिज्ञासामा एअर बसले उडानबारे कुनै प्रतिक्रिया नदिने जवाफ दिएको छ। अमेरिकी सेनाको एउटा इकाई आर्मी फ्युचर्स कमान्डुले द ड्राइभुसँग कुरा गर्दै पछिल्लो उडान विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि गरिएको जनाएको छ। एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले बीबीसीसँग कुरा गर्दै विमानले पार गरेको दुरी एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताएका छन्।

    यसले अघिल्लो रेकर्ड राखेको सन् २०१८ मा भन्दा यो पटक बढी उडान गरेको उनले जानकारी दिए । उनका अनुसार सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो विमानको व्यवहारिक प्रयोगका बारेमा परीक्षण उडानले ढोका खोल्ने काम गरेको छ। यो विमानले भू-उपग्रह जसरी नै तस्बिरहरू पठाउन सक्छ।

    तर यो पृथ्वीको कक्षमा परिक्रमा गर्ने नभई एक ठाउँमा रहेर निरन्तर जानकारी पठाउन काम लाग्न सक्छ। एक पटक प्रक्षेपण गरेपछि पृथ्वीमा फर्काउन नमिल्ने भू-उपग्रह भन्दा यो विमानमा केही सबल पक्षहरू पनि छन्। त्यो भनेको यो पुनः पृथ्वीमा अवतरण गर्न सक्छ। ‘यो पुनः फर्केर हामी भएको ठाउँमा आउन सक्छ। यसको सेन्सरहरूको र यसमा भएका प्रविधिहरूको पनि स्तरोन्नति गर्न सकिन्छ,’ रोबिन्सन भन्छन्।

    यो उडानको रेकर्ड सबैभन्दा पछिल्लो सौर्य ऊर्जाबाट सञ्चालन हुने विमानबाट राखिएको हो। विमानको परिकल्पना र निर्माण यूकेमा गरिएको हो। जेफर नामको यो विमान क्रिस केलेहरले आविष्कार गरेका हुन्। तर उनको सन् २०१५ मै मृत्यु भइसक्यो।
    बीबीसी

  • आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

    आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

    जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन् ।

    पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ का ईश्वर मण्डल र राजेश मण्डल रहेका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।